काठमाडौं । सडक डिभिजन जनकपुरले माइस्थान-गौशाला-सम्सी तथा बर्दिबास-जलेश्वर सडक खण्डमा भएका अतिक्रमण ३५ दिनभित्र हटाउन अल्टिमेटम दिएको छ । कार्यालयले सार्वजनिक सडक ऐन, २०३१ बमोजिम सडकको केन्द्र रेखादेखि दायाँ-बायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र गरिएको सबै प्रकारका अतिक्रमण हटाउन निर्देशन दिएको हो ।
सडक क्षेत्रमा सवारी पार्किङ, व्यापारिक मालसामान राख्ने, निजी व्यवसायका विज्ञापन बोर्ड राख्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारमा खुद्रा व्यापार सञ्चालन गर्ने तथा अस्थायी संरचना निर्माण गर्ने जस्ता गतिविधिले यातायात सञ्चालन, ट्राफिक व्यवस्थापन र सर्वसाधारणको आवतजावतमा बाधा पुगेको कार्यालयले जनाएको छ । त्यसैले आव सूचना प्रकाशित गरी अबका ३५ दिनभित्र सडक क्षेत्र खाली गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरिएको छ ।
निर्धारित अवधिभित्र अतिक्रमण नहटाए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ र २० बमोजिम अनधिकृत संरचना भत्काउने तथा हटाउने प्रक्रिया अघि बढाइने डिभिजनले जनाएको छ । अतिक्रमण हटाउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुलउपर गरिने सूचनामा उल्लेख छ ।