उपायको कारोबार एक वर्षमै ५४ प्रतिशत बढ्यो, १५ सयभन्दा बढीलाई रोजगारी

काठमाडौं । लजिस्टिक्स सेवा प्रदायक उपायले पछिल्लो एक वर्षमा कारोबार, शाखा विस्तार, रोजगारी सिर्जना र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।

कम्पनीका अनुसार चालु आर्थिक वर्षमा कारोबार ५४ प्रतिशतले वृद्धि भएको छ भने कर्मचारी संख्या चार गुणाभन्दा बढी बढेर १ हजार ५ सय नाघेको छ ।

सन् २०२० मा स्थापना भएको उपायले ई–कमर्स, डिजिटल व्यापार तथा विभिन्न व्यवसायलाई लक्षित गर्दै देशभर लजिस्टिक्स सेवा विस्तार गर्दै आएको छ । हाल कम्पनीको सेवा सबै जिल्लासहित ५ हजारभन्दा बढी वितरण केन्द्रसम्म पुगेको छ ।

कम्पनीका अनुसार गत आर्थिक वर्षसम्म करिब ३८० कर्मचारी रहेकोमा अहिले १ हजार ५ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । प्रत्यक्ष रोजगारीसँगै डेलिभरी पार्टनर, स्थानीय साझेदार, यातायात सेवा प्रदायकलगायतमार्फत अप्रत्यक्ष रूपमा ५ हजारभन्दा बढी रोजगारी सिर्जना भएको कम्पनीले जनाएको छ ।

त्यस्तै, एक वर्षअघि ४० शाखा रहेको कम्पनीले अहिले ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । दैनिक पार्सल वितरण क्षमता पनि करिब १ हजारबाट बढेर औसत १५ हजार पुगेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार कारोबार वृद्धिमा देशव्यापी शाखा विस्तार, ढुवानी सेवाको बढ्दो माग, नयाँ व्यावसायिक ग्राहक, फुलफिलमेन्ट सेवाको विस्तार तथा ई–कमर्स बजारको तीव्र वृद्धिले महत्वपूर्ण भूमिका खेलेको छ ।

उपायले काभ्रेको साँगामा १८ रोपनीभन्दा बढी क्षेत्रफलमा करिब ४५ हजार वर्गफिटमा अत्याधुनिक थर्ड पार्टी लजिस्टिक्स (३पीएल) वेयरहाउस निर्माण गरिरहेको जनाएको छ । करिब १ लाख ४० हजार वर्गफिट भण्डारण क्षमता रहने उक्त वेयरहाउस आगामी ६ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको कम्पनीको भनाइ छ ।

वेयरहाउस सञ्चालनमा आएपछि स्टोरेज, इन्भेन्टरी व्यवस्थापन, पिक एन्ड प्याक, फुलफिलमेन्ट तथा देशव्यापी वितरणलगायतका एकीकृत ३पीएल सेवाहरू एउटै स्थानबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । हाल कम्पनीले काठमाडौंको पेप्सीकोलास्थित १८ हजार वर्गफिटको ३पीएल वेयरहाउसबाट सेवा सञ्चालन गरिरहेको छ ।

उपायका फुलफिलमेन्ट डिभिजनका अध्यक्ष संगम पौडेलले नेपाली व्यवसाय गर्ने शैली तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै त्यसअनुसार लजिस्टिक्स क्षेत्रलाई पनि आधुनिक बनाउनु आवश्यक रहेको बताए । निर्माणाधीन ३पीएल वेयरहाउसले नेपाली व्यवसायलाई अझ प्रभावकारी, व्यवस्थित र विस्तारयोग्य लजिस्टिक्स समाधान उपलब्ध गराउने उनको विश्वास छ ।

त्यस्तै, कम्पनीका एभीपी–ह्युमन रिसोर्सेस राजु केसीले कर्मचारी संख्या बढाउनु मात्र नभई दक्ष जनशक्ति उत्पादनमा पनि कम्पनीले जोड दिएको जानकारी दिए । नियमित तालिम, सुरक्षित कार्य वातावरण, करियर विकास र कर्मचारी कल्याणलाई प्राथमिकतामा राखेर उपायलाई दीर्घकालीन रोजगारीको उत्कृष्ट कार्यस्थल बनाउने लक्ष्य रहेको उनले बताए ।

हाल उपायले ई–कमर्स कम्पनी, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग, हाइड्रोपावर आयोजना, रिटेल ब्रान्डलगायतलाई एन्ड–टु–एन्ड लजिस्टिक्स समाधान उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीले आगामी वर्षहरूमा देशव्यापी नेटवर्क विस्तार, थप ३पीएल वेयरहाउस, फुलफिलमेन्ट सेवा तथा कृत्रिम बाैद्धिकता (एआई) मा आधारित आधुनिक लजिस्टिक्स पूर्वाधारमा थप लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।

Share News