किताबखानाका महाशाखा खारेज, तीन सहसचिवको दरबन्दी कटौती

काठमाडौं । सरकारले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणपछि राष्ट्रिय किताबखानाको संरचनामा व्यापक पुनर्संरचना गरेको छ । 

पुनर्संरचनासँगै यसअघि राष्ट्रिय किताबखाना अन्तर्गत महाशाखाका रूपमा सञ्चालन हुँदै आएका शिक्षक, प्रहरी र निजामती किताबखाना अब महाशाखामा कायम नरहने भएका हुन् । 

ती महाशाखाहरूलाई शाखामा रूपान्तरण गरिएको छ भने नेतृत्व गरिरहेका सहसचिव तहका दरबन्दी पनि कटौतीमा परेका छन् । 

पुनर्संरचनापछि अब राष्ट्रिय किताबखानाको नेतृत्व एक जना सहसचिवले महानिर्देशकका रूपमा गर्ने व्यवस्था गरिएको छ । यसअघि महाशाखाको नेतृत्व गर्ने उपमहानिर्देशक तहका सहसचिवहरूको पद खारेज भएसँगै शाखा प्रमुखको जिम्मेवारी उपसचिवहरूले सम्हाल्नेछन् ।

राष्ट्रिय किताबखानाका सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार पुनर्संरचनाअघि तीनवटै किताबखानाको नेतृत्वका लागि तीनवटा सहसचिवको दरबन्दी रहेको थियो भने एक सहसचिव महानिर्देशक रहन्थे । 

नयाँ संरचनामा तीमध्ये तीनवटा सहसचिव दरबन्दी कटौती गरिएको छ भने प्रशासनतर्फको एक जना सहसचिवले मात्रै सम्पूर्ण राष्ट्रिय किताबखानाको महानिर्देशकका रूपमा नेतृत्व गर्नेछन् ।

दरबन्दी संरचनामा पनि उल्लेख्य कटौती गरिएको श्रेष्ठले जानकारी दिए । यसअघि राष्ट्रिय किताबखानामा कुल १३८ कर्मचारी दरबन्दी रहेकोमा पुनर्संरचनापछि त्यो संख्या घटेर १०६ मा झरेको छ । ओ एण्ड एमपछि ३२ वटा दरबन्दी कटौती गरिएको छ ।

सरकारले सार्वजनिक प्रशासनलाई छरितो, मितव्ययी र प्रभावकारी बनाउने उद्देश्यअनुसार विभिन्न निकायमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेको थियो । 

सोही अनुसार राष्ट्रिय किताबखानाको संरचनामा पनि परिवर्तन गरिएको हो । 

सरकारको अपेक्षा अनुसार एउटै संस्थामार्फत निजामती, शिक्षक तथा प्रहरी कर्मचारीको सेवा अभिलेख, व्यक्तिगत विवरण र पेन्सनसम्बन्धी कामलाई एकीकृत रूपमा सञ्चालन गर्दा प्रशासनिक दोहोरोपन हट्ने, निर्णय प्रक्रिया छोटिने तथा सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास किताबखानाको रहेको छ ।

पुनर्संरचनापछि शाखाहरूको कार्यविभाजन, कर्मचारी व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन आवश्यक आन्तरिक कार्यविधि र जिम्मेवारी बाँडफाँटको काम पनि अघि बढाइने राष्ट्रिय किताबखानाले जनाएको छ ।

Share News