आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंक ‘चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६’ मा ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्डबाट सम्मानित भएको छ ।

भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित कार्यक्रममा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन् ।

बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सरोकारवालाको निरन्तर सहयोगका कारण यो उपलब्धि हासिल भएको जनाएको छ । बैंकका अनुसार उक्त सम्मानले बैंकिङ सेवा तथा नवप्रवर्तनलाई अझ प्रभावकारी बनाउन थप प्रेरणा मिल्नेछ ।

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नु बैंकका लागि गौरवको विषय भएको बताए । उनले बैंकप्रति विश्वास र साथ दिने ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे ।

यस वर्षको अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरू सहभागी भएका थिए ।

इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) भारतको उद्योग तथा वाणिज्य क्षेत्रको अग्रणी संस्था हो । यसले भारतका प्रमुख व्यावसायिक समूहहरूको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापार र लगानी प्रवर्द्धनका लागि काम गर्दै आएको छ ।

नबिल बैंकले हालै युरोमनी अवार्ड्स फर एक्सेलेन्सअन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधिसमेत जितेको थियो । बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व र समग्र बैंकिङ उत्कृष्टताका आधारमा ती सम्मान प्रदान गरिएको थियो ।

Share News