आउटसोर्सिङको विरोधमा टेलिकम कर्मचारी यूनियन

काठमाडौं । नेपाल टेलिकमका कर्मचारी संगठनका प्रतिनिधिहरूले व्यवस्थापनले गरेको पछिल्ला निर्णयप्रति असन्तुष्टि जनाउँदै संस्थाको सेवा प्रवाह, अनुभवी जनशक्तिको व्यवस्थापन र आउटसोर्सिङको प्रभावबारे विरोध जनाएका छन् ।

टेलिकमले सेवा प्रभावकारिता र कार्यसम्पादन सुधार गर्ने उद्देश्यले अघि बढाएको आउटसोर्सिङको निर्णयले अपेक्षित सुधार ल्याउनुको सट्टा झन् समस्या थपेको कर्मचारी संगठनहरूको आरोप छ । उनीहरूका अनुसार आउटसोर्सिङपछि मर्मतसम्भारलगायतका काममा ढिलाइ भइरहेको छ ।

नेपाल टेलिकम वर्कर्स युनियन (एनटीसीडब्ल्यु) का केन्द्रीय सल्लाहकार कृष्णप्रसाद अर्यालले पछिल्लो समय संस्थामा गरिएका केही निर्णयका कारण सेवा प्रवाह नै धराशायी बन्न थालेको जानकारी दिए ।

उनले ग्राहकले सेवा शुल्क तिरेको लामो समयसम्म पनि सेवा नपाउने अवस्था सिर्जना भएको उल्लेख गरे । ग्राहकले पैसा तिरेको ६ दिनसम्म पनि लाइन जडान नभएको, बिग्रिएको सेवा समयमै मर्मतसम्भार नभएको उदाहरण दिँदै उनले व्यवस्थापनको कार्यशैलीप्रति प्रश्न उठाए ।

केन्द्रीय सदस्य अर्यालले भने, ‘सार्वजनिक संस्थाको सेवा प्रवाहमा ग्राहकको विश्वास सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तर, सेवा विस्तार र मर्मतसम्भारजस्ता आधारभूत काममै ढिलाइ हुन थालेपछि त्यसले संस्थाप्रतिको ग्राहकको भरोसामा समेत असर पार्न सक्छ ।’

अर्यालले व्यवस्थापनलाई आउटसोर्सिङका नाममा संस्थाका सबै काम बाह्य पक्षलाई जिम्मा लगाउँदै नजान चेतावनीसमेत दिए । नेपाल टेलिकम सार्वजनिक तथा राज्यको महत्वपूर्ण निकाय भएकाले संस्थाको दीर्घकालीन हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने उनको भनाइ छ । 

आउटसोर्सिङको प्रभाव प्रत्यक्ष रूपमा सेवा प्रवाह, प्राविधिक दक्षता र संस्थाको आन्तरिक जनशक्ति व्यवस्थापनसँग जोडिएको उल्लेख गर्दै उनले यसमा व्यवस्थापन पक्षले तत्काल कदम चाल्नुपर्ने बताए । 

नेपाल राष्ट्र कर्मचारी संगठनका अध्यक्ष तेजबहादुर शाहीले पनि बागमती प्रदेशमा ‘पाइलट प्रोजेक्ट’का नाममा गरिएको आउटसोर्सिङको कडा विरोध गरेका छन् । 

उनले ५० वर्षभन्दा माथिका अनुभवी कर्मचारीलाई ‘आँखा देख्दैनन्’ भन्ने बहाना बनाएर रसुवा, मन्थली र हेटौँडालगायत टाढाका क्षेत्रमा पठाएर अनुभवी कर्मचारीलाई विस्थापित गर्न खोजेको भन्दै असन्तुष्टि जनाए । 

यसरी अनुभवी कर्मचारीलाई विस्थापित गर्दै नयाँ आउटसोर्सिङ व्यवस्थामार्फत काम गराउँदा मर्मतसम्भारको काम झन् प्रभावकारी हुन नसकेको उनको दाबी छ ।

‘आउटसोर्सिङ लागू भएपछि मर्मतसम्भारका काममा झन् समस्या सिर्जना भएको छ, उनले भने, ‘घण्टामै सम्पन्न हुनुपनेै कामसमेत ६ दिनसम्म लम्बिने अवस्था आएको छ ।’ 

अध्यक्ष शाहीले व्यवस्थापनमाथि दोहोरो मापदण्ड अपनाएको आरोपसमेत लगाए । उनका अनुसार युनियनसँग सहमति गरेर हस्ताक्षर गरिएको आउटसोर्सिङसम्बन्धी निर्णय कार्यान्वयन गर्ने व्यवस्थापनले युनियनकै सहमतिमा तयार भएका वैदेशिक तालिम, सरुवालगायतका सकारात्मक कार्यविधि भने कार्यान्वयन नगरेको अभिव्यक्ति दिएका छन् । 

उनले व्यवस्थापनले कर्मचारीसँग भएका सहमति र सम्झौतालाई समान रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।
एनटीसीडब्ल्युका अध्यक्ष राेशन बजगाईंले पनि व्यवस्थापनले आउटसोर्सिङलाई छलकपटपूर्ण रूपमा प्रयोग गरी कर्मचारीलाई पीडित बनाएको उल्लेख गरे । 

उनका अनुसार युनियनले व्यवस्थापनलाई नयाँ मोडालिटीको अभ्यास गर्नका लागि मात्र आउटसोर्सिङलाई स्वीकार गरेको थियो । तर, व्यवस्थापनले त्यसलाई कर्मचारीमाथि दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गरेको उनको आरोप छ ।

कर्मचारीले काम गर्न नसकेको बहाना बनाएर उनीहरूलाई उपत्यकाबाहिर सरुवा गर्ने तथा बुढेसकाल वा स्वास्थ्य समस्या देखिन थालेको उमेरमा अनुचित व्यवहार गर्ने गरिएकोमा उनले आपत्ति जनाए । यस्तो व्यवहारलाई उनले अनुचित श्रम अभ्यासको संज्ञा दिँदै आलोचना गरे । 

व्यवस्थापनको यस्तो कार्यशैलीले कर्मचारीको मनोबल कमजोर बनाउनुका साथै कम्पनीको व्यापारसमेत खस्किएको र संस्थाको साखमा असर परेको दाबी उनको छ ।

ट्रेड युनियनको धर्म र मर्मअनुसार कर्मचारीको मर्यादा र अधिकार कायम राख्न युनियन प्रतिबद्ध रहेको बजगाईंको भनाइ छ । 

उनले टेलिकमको माइक्रो–म्यानेजमेन्टमा मन्त्रालय तथा सरकारको हस्तक्षेप बढ्दै गएकोसमेत आरोप लगाएका छन् । साथै सञ्चालक समितिका सदस्यहरू खरिद प्रक्रियालगायतका जिम्मेवारीबाट पन्छिन खोजेको विषयमा समेत उनले प्रश्न उठाए ।

ट्रेड युनियन आन्दोलनलाई कसैले चाहेर पनि रोक्न नसक्ने भन्दै बजगाईंले नेतृत्वबाट भएका गलत निर्णय र कमजोरीलाई सुधार गर्दै अघि बढ्न आग्रह गरेका छन् । 

आगामी दिनमा व्यवस्थापनले कर्मचारीप्रति इमानदार व्यवहार गर्दै उनीहरूलाई प्रोत्साहित गर्ने र संस्थागत सुधारको बाटो अपनाउने अपेक्षा व्यक्त गरेका छन् ।

टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले भने कम्पनीको हितमा आफू पूर्ण प्रतिबद्ध भएर काम गरिरहेको बताइन् । हालसालै मात्रै अदालतबाट सफाइ पाएर काममा फर्किएकी पहाडीले कर्मचारीकै हितमा हुने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

उनले आफू ‘कुलडाउन’ हुन समय नलिई कम्पनीका अधुरा काम पूरा गर्न र कम्पनीलाई थप उचाइमा पुर्याउन कार्यक्षेत्रमा खटिएको बताएकी छन् । कम्पनीभित्र देखिएको समस्या र विवादमाथि आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले समस्या समाधानतर्फ लाग्ने बताइन् ।

Share News