काठमाडौं । चीन, अमेरिका, दक्षिण कोरिया, भारतलगायत मुलुकहरूले पाँचौं पुस्ताको मोबाइल सेवा फाइभ–जीलाई उद्योग, स्वास्थ्य, शिक्षा र सार्वजनिक सेवासम्म विस्तार गरिरहेका बेला नेपाल भने अझै फाइभ–जीको व्यावसायिक सुरुवातको मिति तय गर्नै संघर्षरत छ ।
अझ रोचक त के छ भने विश्व दूरसञ्चार क्षेत्र अहिले छैटौं पुस्ताको मोबाइल प्रविधि सिक्स–जीको अन्तर्राष्ट्रिय मापदण्ड तयार गर्ने अन्तिम चरणमा प्रवेश गरिसकेको छ ।
नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले तीन वर्ष पहिले काठमाडौंका सीमित क्षेत्रमा फाइभ–जी परीक्षण सम्पन्न गरेको थियो । त्यसयता नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए), सूचना तथा सञ्चार मन्त्रालय र सेवा प्रदायकहरूले पटक–पटक आवश्यक तयारी भइरहेको र छिट्टै सेवा सञ्चालन हुने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।
तर परीक्षण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि न फाइभ–जी स्पेक्ट्रमको व्यावसायिक वितरण टुंगिएको छ, न सेवा सञ्चालनको स्पष्ट समयतालिका सार्वजनिक भएको छ ।
पछिल्लो समय भने एनटीएले फाइभ–जी स्पेक्ट्रम लिलामको तयारी पूरा भएको र फ्रिक्वेन्सी वितरणपछि सेवा प्रदायकहरूले प्रमुख सहरबाट सेवा विस्तार गर्ने तयारी गरेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
यसबीच विश्व भने अर्को पुस्ताको प्रविधितर्फ अघि बढिसकेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघले आईएमटी २०३० अन्तर्गत सिक्स–जीको प्राविधिक कार्यसम्पादन मापदण्ड तयार गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सञ्चारमाध्यमहरूका अनुसार रेडियो इन्टरफेस मूल्याङ्कनको दिशानिर्देशसमेत विकासको चरणमा पुगेका छ । यी मापदण्डका आधारमा आगामी केही वर्षभित्र सिक्स–जी प्रविधिको मापदण्ड पूरा गरी २०३० को सुरुवातमा व्यावसायिक सेवा सुरु गर्ने लक्ष्य राखिएको छ ।
परीक्षण भयो, तर सेवा किन सुरु भएन ?
नेपालमा फाइभ–जीको चर्चा सुरु भएको पाँच वर्षभन्दा बढी भइसक्यो । नेपाल टेलिकमले परीक्षण सफल भएको जनाएको थियो भने निजी सेवा प्रदायक एनसेलले पनि आवश्यक स्पेक्ट्रम उपलब्ध गराइए सेवा विस्तारका लागि तयार रहेको बताउँदै आएको छ । तर दूरसञ्चार क्षेत्रका अधिकारीहरूका अनुसार परीक्षण सफल हुनु र व्यावसायिक सेवा सञ्चालन हुनु दुई फरक प्रक्रिया हुन् ।
व्यावसायिक फाइभ-जी सञ्चालनका लागि पर्याप्त रेडियो स्पेक्ट्रम, स्पष्ट मूल्य निर्धारण, फ्रिक्वेन्सी वितरण, नयाँ रेडियो नेटवर्क, उच्च क्षमताको अप्टिकल फाइबर ब्याकहोल, एज कम्प्युटिङ तथा डेटा सेन्टरजस्ता पूर्वाधार आवश्यक पर्छ ।
यी सबैमा ठूलो लगानी आवश्यक पर्ने भएकाले सेवा प्रदायकहरूले नीतिगत स्पष्टता र लगानीको सुनिश्चितता खोजिरहेको नेपाल टेलिकमका एक उच्च अधिकारीले जानकारी दिए ।
टेलीकमले नियामकले स्पेक्ट्रम वितरण प्रक्रियालाई अन्तिम रूप दिन समय लगाएको आरोप लगाएको छ । टेलिकमका प्रवक्ता कमल लामिछाने नियामकले अक्सन आह्वान गरे भाग लिने तयारीमा टेलिकम रहेको बताउँछन् ।
उनी फाइभ–जीमा राज्यका निकायहरूको सहयोगको अपेक्षा रहेको बताउँछन् ।
दूरसञ्चार क्षेत्रका जानकारहरूका अनुसार नेपालमा अझै फोर–जी सेवाको गुणस्तरीय पहुँच देशभर समान रूपमा विस्तार हुन सकेको छैन । धेरै ग्रामीण क्षेत्रमा फोर–जीकै गुणस्तर चुनौतीपूर्ण रहेका कारण सेवा प्रदायकहरू नयाँ पुस्ताको प्रविधिमा ठूलो लगानी गर्न हतारिएका छैनन् ।
कहाँ पुग्यो दक्षिण एसिया ?
नेपालको तुलनामा दक्षिण एसियाका अधिकांश मुलुकले फाइभ–जी कार्यान्वयनमा उल्लेख्य प्रगति गरिसकेका छन् । भारतले २०२२ देखि देशव्यापी फाइभ–जी विस्तार गर्दै औद्योगिक प्रयोग, स्मार्ट सिटी, स्वास्थ्य सेवा र निजी फाइभ-जी नेटवर्क सञ्चालन गरिरहेको छ । भारत सरकारले भारत सिक्स–जी भिजन सार्वजनिक गरेर सिक्स–जी अनुसन्धानलाई राष्ट्रिय प्राथमिकतामा राखिसकेको छ ।
भुटानले सीमित क्षेत्रमा फाइभ–जी सेवा उपलब्ध गराइसकेको छ भने बंगलादेश र श्रीलंकाले परीक्षण तथा चरणबद्ध विस्तारको नीति अपनाएका छन् । पाकिस्तानले पनि स्पेक्ट्रम व्यवस्थापनमार्फत व्यावसायिक फाइभ जी सेवाको तयारी गरिरहेको छ ।
यस परिप्रेक्ष्यमा हेर्दा नेपाल दक्षिण एसियामै फाइभ–जी व्यावसायिक सेवामा सबैभन्दा पछाडि पर्ने देशहरूमध्ये एक देखिन्छ ।
विश्व किन सिक्स–जी तर्फ केन्द्रित छ ?
सिक्स–जीलाई केवल अझ छिटो इन्टरनेटका रूपमा मात्रै बुझ्न नहुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । यसले कृत्रिम बौद्धिकतालाई नेटवर्कको आधारभूत संरचनामै समावेश गर्ने, टेरेस्टोरीयल र स्याटेलाइट सञ्चारलाई एकीकृत गर्ने तथा सञ्चार र सेन्सिङलाई एउटै प्रणालीमा जोड्ने अवधारणा अघि सारेको छ ।
यस प्रविधिबाट स्वचालित सवारीसाधन, होलोग्राम सञ्चार, डिजिटल ट्विन, स्मार्ट उद्योग, रिमोट सर्जरी तथा अत्यन्त न्यून छिटो आवश्यक पर्ने सेवा सम्भव हुने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय टेलिकम युनियनका अनुसार सिक्स–जीले फाइभ–जीभन्दा नयाँ सातवटा प्राविधिक क्षमता थप्ने लक्ष्य राखेको छ, जसमा सर्वव्यापी बौद्धिकता, दिगोपन, उच्च ऊर्जा दक्षता र अझ उन्नत नेटवर्क समन्वय प्रमुख रहेका छन् ।
नेपालले गुमाइरहेको अवसर
नेपालमा फाइभ–जी ढिलो हुनुको असर केवल मोबाइल इन्टरनेटको गतिमा सीमित नहुने एनटीएका एक उच्च अधिकारी बताउँछन् ।
उनका अनुसार सूचना प्रविधिमा आधारित उद्योग, एआई, क्लाउड सेवा, स्मार्ट उत्पादन, डिजिटल स्वास्थ्य, स्वचालित उद्योग र उच्च क्षमताको डेटा अर्थतन्त्र निर्माणमा पनि यसको प्रत्यक्ष प्रभाव पर्न सक्छ ।
विश्वका धेरै देशले फाइभ–जीलाई डिजिटल अर्थतन्त्रको आधारभूत पूर्वाधारका रूपमा प्रयोग गरिरहेका बेला नेपाल भने अझै नीतिगत निर्णयकै चरणमा अल्झिएको उनले जानकारी दिए । उनका अनुसार यसले विदेशी लगानी, प्रविधि हस्तान्तरण र डिजिटल प्रतिस्पर्धात्मक क्षमतामा समेत असर पार्न सक्छ ।
टेलिकमका विज्ञहरूका अनुसार नेपालले अब फाइभ–जीलाई केवल दूरसञ्चार सेवाको विषय नभई राष्ट्रिय डिजिटल पूर्वाधारको परियोजनाका रूपमा लिनुपर्ने आवश्यकता रहेको बताउँछन् ।
त्यसका लागि स्पेक्ट्रम वितरण शीघ्र टुंग्याउने, स्पष्ट कार्यतालिका सार्वजनिक गर्ने, फाइबर पूर्वाधार विस्तार गर्ने, डेटा सेन्टरमा लगानी बढाउने तथा निजी क्षेत्रलाई दीर्घकालीन नीतिगत स्थिरता प्रदान गर्नुपर्ने उनीहरूको सुझाव छ ।
फाइभ-जी स्पेक्ट्रम किन्न १० मेगाहर्जकै २६० करोड रुपैयाँ
फाइभ-जीको प्रक्रिया अगाडि बढाउँदै प्राधिकरण
दशैंसम्म चक्रपथभित्र फाइभ-जी सञ्चालन गर्ने योजना, न्यून प्रतिफल र महँगो लागतले अलमल