काठमाडौं । मण्डला थिएटर–नेपालले मण्डला ड्रामा स्कूलको तेस्रो ब्याच (२०२६–२०२७) का १५ जना विद्यार्थीलाई स्वागत गर्दै १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ ।
युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित ‘रंग परियोजना’ अन्तर्गत सञ्चालन हुने कार्यक्रममा देशभरबाट आवेदन दिएका युवामध्ये प्रतिस्पर्धात्मक छनोटमार्फत १५ जना विद्यार्थी चयन गरिएको मण्डला थिएटरले जनाएको छ ।
स्वागत कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले रंगमञ्च संवाद, सांस्कृतिक संरक्षण र सामाजिक रूपान्तरणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी कलाकारका रूपमा अघि बढ्न प्रेरित गरिन् ।
मण्डला ड्रामा स्कूलको १८ महिने पाठ्यक्रममा अभिनय, सिर्जनात्मक लेखन, सामुदायिक रंगमञ्च, प्राविधिक पक्ष तथा स्वतन्त्र नाटक निर्माणलगायतका विषय समेटिएका छन् । प्रशिक्षणमार्फत विद्यार्थीलाई अभ्यास, अनुसन्धान र समुदायसँगको सहकार्यका आधारमा सक्षम, सिर्जनशील र सामाजिक रूपमा सचेत रंगकर्मीका रूपमा विकास गर्ने लक्ष्य राखिएको मण्डला थिएटरले जनाएको छ ।
कार्यक्रमले नेपाली रंगमञ्चका लागि दक्ष जनशक्ति उत्पादन गर्नुका साथै कला र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।