काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरू सडकमा आएका छन् । सरकारले स्वीकृत गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोधमा उनीहरू सडकमा आएका हुन् ।
आन्दोलनअन्तर्गत व्यवसायीहरूले शुक्रबार काठमाडौंको पुतलीसडक चोकमा प्रदर्शन गरेका छन् । नयाँ नियमावली व्यवसायमैत्री नभएको, अव्यावहारिक रहेको तथा व्यवसाय सञ्चालनमा अनावश्यक जटिलता थप्ने खालको भएको भन्दै तत्काल संशोधन वा खारेज गर्न सरकारसँग माग गरेका छन् ।
संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ । आन्दोलनबाट पनि समाधान ननिस्किए देशभरका शैक्षिक परामर्श संस्थाका सञ्चालकहरूले आफ्ना कार्यालयको चाबी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाएर अनिश्चितकालीन आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिले जनाएको छ।