पुँजीगत खर्च ४६.७९ प्रतिशतमात्रै

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा निकै न्यून पुँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले पुँजीगततर्फ १ खर्ब ९० अर्ब ८४ करोड ६६ लाख  रुपैयाँमात्रै खर्च गर्न सकेको छ।

यो पुँजीगततर्फको कुल विनियोजनको ४६.७८ प्रतिशत मात्र हो ।

गत आव २०८२/८३ मा सरकारले पुँजीगत खर्चतर्फ चार खर्ब सात अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको थियो । अघिल्लो आवमा सरकारको २ खर्ब २२ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको थियो ।

त्यस्तै, सरकारले गत आवमा चालुतर्फ सरकारले १० खर्ब ४५ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ । यो कुल लक्ष्यको ८८.४ प्रतिशत हो । सरकारले चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो ।

वित्तीय व्यवस्थापनतर्फ सरकारले तीन खर्ब ४७ अर्ब ३३ करोड रुपैयाँ खर्च गरेको छ । जुन लक्ष्यको ९२.५६ प्रतिशत खर्च भएको छ । गत आवमा सरकारले वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो ।

गत आवमा सरकारले १२ खर्ब ४१ अर्ब ३१ करोड रुपैयाँ संकलन गर्न सकेको छ । उक्त आवमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा त्यसको ८३.८७ प्रतिशत संकलन भएको हो ।

सरकारले वैदेशिक अनुदानबाट ३१ अर्ब २६ करोड रुपैयाँ संकलन गरेको छ । जुन लक्ष्यको ५८.५ प्रतिशत हो । गत आवमा सरकारले वैदेशिक अनुदानबाट ५३ अर्ब ४४ करोड संकलन गर्ने लक्ष्य लिएको थियो ।

त्यसैगरी, सरकारले करबाट ११ खर्ब २१ अर्ब ८ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यो रकम लक्ष्यको ८४.५७ प्रतिशत रहेको छ । सरकारले गत आवमा १३ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ करबाट राजश्व संकलन गर्ने लक्ष्य थियो । 

त्यस्तै, सरकारले गत आवमा गैर करबाट १ खर्ब २० अर्ब २३ करोड रुपैयाँ राजश्व  संकलन गरेको छ । 

१ खर्ब ५४ अर्ब ४१ करोड रुपैयाँ गैर करबाट राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ७७.८७ प्रतिशत संकलन भएको हो ।

सरकारले गत आवमा १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा १५ खर्ब ८२ अर्ब १६ करोड ८२ लाख मात्रै  खर्च भएको छ ।

Share News