पुरस्कार विजेता प्रोटोन ई.एमएएस-५ नेपालमा आउँदै

काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन (ईभी) बजारमा नयाँ विकल्प थपिने भएको छ । जगदम्बा मोटर्सले विश्वस्तरीय पुरस्कार प्राप्त कम्प्याक्ट विद्युतीय एसयूभी प्रोटोन ई.एमएएस–५ छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार पूर्ण रूपमा विद्युतीय यो एसयूभी आधुनिक प्रविधि, स्मार्ट फिचर र विश्वस्तरमा प्रमाणित गुणस्तरका साथ नेपाली ग्राहकका लागि ल्याउन लागिएको हो । बदलिँदो जीवनशैली र विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै विकसित गरिएको ई.एमएएस–५ ले सुरक्षित, सहज र आधुनिक ड्राइभिङ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रोटोनले विश्वका अग्रणी अटोमोबाइल समूहहरूमध्ये एक जिलीसँगको रणनीतिक सहकार्यमा यो मोडल विकास गरेको जनाएको छ । जिलीको अत्याधुनिक विद्युतीय प्रविधि र प्रोटोनको इन्जिनियरिङ क्षमताको संयोजनले गाडीलाई विश्व बजारमै प्रतिस्पर्धी बनाएको कम्पनीको दाबी छ ।

प्रोटोन ई.एमएएस–५ ले हालै मलेसियाको प्रतिष्ठित एलायन्स डीएसएफ भेहिकल अफ द इयर अवार्ड–२०२६ अन्तर्गत ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर’ उपाधि जितिसकेको छ । आधुनिक डिजाइन, उन्नत विद्युतीय प्रविधि, आरामदायी फिचर र दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका आधारमा उक्त सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।

ई.एमएएस–५ मा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा समावेश गरिएको छ । यसमा अगाडि ७० लिटर क्षमताको फ्रङ्क (फ्रन्ट स्टोरेज), सिटमुनि २८ लिटर क्षमताको स्टोरेज र सेन्टर कन्सोलमुनि २० लिटर क्षमताको स्टोरेज रहेको छ । कम्पनीका अनुसार यी सुविधाले दैनिक प्रयोगका सामग्री व्यवस्थित राख्न र गाडीभित्रको स्थानको प्रभावकारी उपयोग गर्न सहयोग गर्नेछ ।

जगदम्बा मोटर्सले प्रोटोन ई.एमएएस–५ ले नेपाली ग्राहकलाई आधुनिक प्रविधि, सुरक्षा, व्यवहारिकता र उत्कृष्ट मूल्य–प्रतिफल उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ । कम्पनीका अनुसार विश्वस्तरीय पुरस्कार प्राप्त यो विद्युतीय एसयूभी छिट्टै नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।

Share News