काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाले आफूहरू दुई महिनाभित्र नेपाल फर्किने र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
देउवा दम्पत्तिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्र पठाउँदै हाल उपचारका क्रममा विदेशमा रहे पनि साउन २८ गतेभित्र स्वदेश फर्किने जानकारी दिएका हुन् । साथै, आफूहरू अनुसन्धानबाट भाग्न वा कानुनी प्रक्रियालाई प्रभावित पार्न खोजेको भन्ने प्रचार निराधार रहेको दाबी पनि गरेका छन् ।
ललितपुरको पुल्चोकस्थित विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाइएको पत्रमा २०८२ भदौ २४ गते बुढानीलकण्ठस्थित आफ्नै निवासमा जेनजी समूहले प्रवेश गरी ज्यान लिन खोजेको, घरभित्र लुटपाट गरेको तथा भवनमा आगजनी गरेको उल्लेख गरिएको छ ।
देउवा दम्पत्तिले नेपाली सेनाको उद्धारका कारण मात्रै आफूहरू ज्यान जोगाउन सफल भएको दाबी गरेका छन् । उक्त घटनापछि लामो समय सैनिक अस्पताल तथा विदेशमा उपचार गराइरहेको अवस्थामा आफूहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको उनीहरूको भनाइ छ ।
घरमा नगद जलेको भन्ने दाबी गलत
पत्रमा विभागकै अनुसन्धान टोलीले गरेको स्थलगत निरीक्षणको उल्लेख गर्दै निवासमा आगजनीका क्रममा ठूलो परिमाणमा नगद वा बहुमूल्य सामग्री जलेर नष्ट भएको भन्ने दाबी तथ्यहीन रहेको जिकिर गरिएको छ ।
उनीहरूका अनुसार विभागका उपमहानिर्देशक निर्मल ढकालको संयोजकत्वमा गठित टोलीले घटनास्थलमा पुगेर खानतलासी गर्दा कुनै पनि नगद रकम वा बहुमूल्य वस्तु जलेको प्रमाण फेला पारेको थिएन ।
देउवाका नातेदार रामबहादुर देउवाको रोहबरमा तयार पारिएको खानतलासी मुचुल्काले पनि घरका विभिन्न तला, जलेका धातु तथा कागजातहरूको निरीक्षण गर्दा नगद वा बहुमूल्य वस्तु नष्ट भएको पुष्टि नगरेको उनीहरूको दाबी छ ।
यही आधारमा आफूहरूलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने कुनै औचित्य नरहेको तर्क पत्रमा गरिएको छ ।
पूर्वाग्रहपूर्ण प्रचार
देउवा दम्पत्तिले आफूहरू लामो समयदेखि सार्वजनिक जीवनमा सक्रिय रहेको, कानुनअनुसार नियमित रूपमा सम्पत्ति विवरण बुझाउँदै आएको र राज्यका उच्च जिम्मेवारी सम्हालिसकेको व्यक्तिलाई पूर्वाग्रहका आधारमा लक्षित गरिएको गुनासो गरेका छन् ।
उनीहरूले आफूहरू उपचारका लागि विदेशमा रहेको अवस्थालाई बहाना बनाएर इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गर्ने तयारी भइरहेको जानकारी कानुन व्यवसायीहरूबाट प्राप्त भएको उल्लेख गर्दै त्यसप्रति समेत आपत्ति जनाएका छन् ।
पत्रमा सर्वोच्च अदालतबाट यसअघि नै अन्तरिम आदेश जारी भइसकेको अवस्थामा आफूहरूविरुद्ध पक्राउ अनुमति लिनुपर्ने कुनै संवैधानिक वा कानुनी आधार नरहेको दाबी गरिएको छ ।
पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीजस्ता जिम्मेवार राजनीतिक पद सम्हालिसकेका व्यक्तिका रूपमा आफूहरूको अनुसन्धान रोक्ने वा कानुनी प्रक्रियाबाट बच्ने कुनै उद्देश्य नरहेको देउवा दम्पत्तिले स्पष्ट पारेका छन् ।
‘पारदर्शी र निष्पक्ष अनुसन्धानमार्फत आफ्नो निर्दोषिता प्रमाणित गर्न हामी तयार छौं,’ पत्रमा उल्लेख छ ।
हाल स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने अवस्था रहेको जनाउँदै उनीहरूले आजको मितिले दुई महिनाभित्र नेपाल फर्किएपछि विभागलाई जानकारी गराई अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।