अमेरिका र क्रोएसिया पठाउने भन्दै साढे ४० लाख ठगी गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै ४० लाख ५० हजार रुपैयाँ ठगी गर्ने २ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका-२ की ४५ वर्षीया रुकु कुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका-६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए । 

उनले भने, ‘रुकुकुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै ३५ लाख रुपैयाँ तथा शैलेन्द्र शाक्यले क्रोएसिया पठाउने भन्दै ३ लाख ५० हजार रुपैयाँ लिई विदेश नपठाइ सम्पर्क विहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।’

उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए । 

Share News