अर्घाखाँचीमा २६ जना बाँदर हेरालु छनोट

काठमाडौं । डिभिजन वन कार्यालय, अर्घाखाँचीले जिल्लामा बाँदरबाट हुने बाली क्षति न्यूनीकरण तथा किसानलाई राहत पुर्याउने उद्देश्यले २६ जना बाँदर हेरालु छनोट गरेको छ ।

कार्यालयका अनुसार बाँदर हेरालु पदका लागि कुल ६४ वटा आवेदन परेका थिए । 

ती आवेदनमध्ये सार्वजनिक सूचनामा उल्लेख गरिएका योग्यता, मापदण्ड र छनोट प्रक्रियाका आधारमा २६ जना उम्मेदवार अन्तिम रूपमा छनोट भएका हुन् ।

डिभिजन वन कार्यालयले छनोट भएका उम्मेदवारलाई दुई महिनाका लागि बाँदर हेरालुको जिम्मेवारी दिने जनाएको छ । 

उनीहरूलाई सम्बन्धित क्षेत्रमा खटाई बाँदरको गतिविधि नियन्त्रण, बाली जोगाउने तथा किसानलाई हुने क्षति कम गर्न परिचालन गरिनेछ ।

कार्यालयका अनुसार छनोट प्रक्रिया पूर्ण रूपमा सूचनामा तोकिएका मापदण्डअनुसार पारदर्शी ढंगले सम्पन्न गरिएको हो ।

बाँदरको बढ्दो आतंकका कारण जिल्लाका विभिन्न स्थानमा मकै, धान, तरकारी तथा अन्य कृषि बालीमा क्षति पुग्दै आएको गुनासो बढेपछि अस्थायी रूपमा बाँदर हेरालु परिचालन गर्ने कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

Share News