सुमेरु ग्रुपको सम्पत्ति बचेर बचतकर्ताको पैसा फिर्ता गर्ने सुमेरु सहकारीको प्रतिवद्धता, भन्छ : महर्जन भागेका छैनन्

  २०८० वैशाख १९ गते १७:१९     विकासन्युज

काठमाडौं । सुमेरु बचत तथा ऋण सहकारी संस्थाले सुमेरु ग्रुपको सम्पत्ति बेचेर बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्धता गरेको छ । सहकारीले मंगलबार विज्ञप्ति नै जारी गरेर सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न सम्पत्ति बेच्ने प्रतिवद्धता गरेको हो । त्यसका लागि बचतकर्तालाई धैर्य गर्न सहकारीले आग्रह गरेको हो ।

यस्तै, विज्ञप्तिमार्फत् सहकारीले सञ्चालकहरु नभागेको पनि दावी गरेको छ । विभिन्न सञ्चार माध्यमममा सहकारीका सञ्चालक भरत महर्जन लगायतका सञ्चालकहरु विदेश भागेको विषय आएपनि उनीहरु नभागेको सहकारीको दाबी छ ।

आर्थिक मन्दी र तरलता अभावको कारण निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्न महत्वपूर्ण र कठोर निर्णय गरेको संस्थाले जनाएको छ । ‘निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्ने प्रयासमा लागेको बेला संचालक विदेश पलायन हुने भाग्ने जस्तो गैर जिम्मेवार कार्य संस्थाको संचालकबाट कदापी हुने छैन यस प्रति हामी हाम्रा निक्षेपकर्तालाई विश्वास र आश्वस्त हुन हार्दिक अपील गर्दछौं’, सहकारीका व्यवस्थापक धनेन्द्र कटेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हाल सो सहकारीले सर्वसाधारणको झण्डै ८ अर्ब रुपैया बचत रकम फिर्ता गर्न नसकेको बुझिएको छ । सुमेरु समूहले सहकारीका सदस्यको रकम सुमेरू हस्पिटल, कलेज, घरजग्गा लगायतका क्षेत्रमा लगानी गरेको बताइएको छ । यो विषय सहकारीले पनि स्वीकार गरेको छ ।
हाल सहकारीका पूर्व अध्यक्ष भरत महर्जन बेलायतमा रहेको भनिएपनि सहकारीले भने नरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तो छ विज्ञप्ति

विगत २५ वर्ष देखी सहकारी मूल्य मान्यता र प्रचलित सहकारी ऐन नियम÷विनियम अनुसार संचालित यस सुमेरु बचत तथा ऋण सहकारी संस्था आफ्नो २३ औं वार्षिक साधारण सभा सम्पन्न गरी आजको समय सम्म संचालित हुँदै आइरहेको व्यवहोरा सम्बन्धित सबैमा विदितै छ ।
हजारौ सदस्य एंव शुभेच्छुकको विस्वास, आशा र भरोसाको प्रतिविम्ब बनेको यस संस्थालाई विश्व परिवेश र नेपालमा निम्तिएको आर्थिक मन्दी र बजारमा देखा परेको तरलताको अभावले प्रत्यक्ष प्रभाव परेको तितो यथार्थता हामीमा अवगत नै छ । आर्थिक मन्दी र तरलताको अभावको प्रत्यक्ष असर यस संस्थाबाट प्रवाह भएको ऋण तथा व्याजको असुली अत्यन्तै कम भएको घर जग्गाको खरिद बिक्री न्यून र निक्षेपकर्ताको निक्षेप प्राप्ति समेत शुन्य प्राय भएको कारणले संस्थाले हाम्रा निक्षेपकर्ताको निक्षेप फिर्ता र व्याजको भुक्तानी नियमानुसार गर्न नसकेको प्रति क्षमाप्रार्थि छौं ।

संस्थाको यस प्रतिकूल अवस्थामा समेत हाम्रा शेयर सदस्य एवं निक्षेपकर्ताले दर्शाउनु भएको धैर्यता र सहानुभूतिले हामीलाई आगामी दिनमा निक्षेपकर्ताको निक्षेपको सुरक्षा प्रत्याभूती दिन थप हौसला र साहस बढेको छ । संस्था अत्यन्त अप्ठेरो अवस्थामा पुगेको समयमा यसलाई नै आधार बनाएर विभिन्न संचार माध्यम अनलाइन मिडिया र बजारमा समेत संस्थाको मान मर्यादा र साख माथि धावा बोल्ने प्रयास भएको सबै निक्षेपकर्ता शेयर सदस्य शुभेच्छुकहरुले महशुस गर्नु भएकै छ । यस बीचमा संस्थाका संस्थापक अध्यक्ष भरत महर्जनको नाम जोडेर निक्षेपकर्ताको निक्षेप जोखीममा र संचालक भाग्दै छ भन्ने भ्रामक र कल्पित समचार प्रेषित गरेकोमा त्यस प्रति हामी संचालक सदस्यको तर्फबाट खेद प्रकट गदछौं ।

संस्थाको यस विषम परिस्थितीमा शेयर सदस्य निक्षेपकर्ता र शुभेच्छुकको आशा भरोसा माथी धावा बोल्ने यस प्रकारको कार्यको हामी घोर भर्सना गर्दछ र प्रतिवाद गर्दछौ । आर्थिक मन्दी र तरलता अभावको कारण निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्न हामीले अत्यन्त महत्वपूर्ण र कठोर निर्णय गरेका छौं । निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्ने प्रयासमा लागेको बेला संचालक विदेश पलायन हुने भाग्ने जस्तो गैर जिम्मेवार कार्य संस्थाको संचालकबाट कदापी हुने छैन यस प्रति हामी हाम्रा निक्षेपकर्तालाई विश्वास र आश्वस्त हुन हार्दिक अपील गर्दछौं ।

अन्त्यमा हाम्रा समस्त निक्षेपकर्ता एवं शेयर सदस्यहरुको निक्षेप सुरक्षित गर्न हामीले संस्थाबाट प्रवाह भएको ऋणको असुली सुमेरु ग्रुप भित्र रहेको विभिन्न कम्पनीको शेयर एवं जग्गामा शेयर वितरण गर्ने एव कम्पनीको नाममा रहेको घर जग्गा बिक्री वितरण गरी यथाशिघ्र छिटो निक्षेप सुरक्षित गर्ने मूल अभियानमा लागेको हुदाँ सो समय सीमा सम्म हाम्रा निक्षेपकर्ता शेयर सदस्यहरुलाई केही समय धैर्य धारण गरिदिनु हुन हार्दिक अपिल गर्दछ । निक्षेपकर्ताको निक्षेप सुरक्षित किसिमले अवतरण गर्ने कार्यको रुपमा महसुस एव ग्रहण गरिदिनु हुन समेत हामी हार्दिक अनुरोध गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.