
काठमाडौ । धितोपत्र बजारमा यस साता मेगा बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कारोबार रकमको आधारमा मेगा बैंक अग्रस्थानमा पुगेको हो ।
मेगा बैंकको ७ करोड २७ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै शेयर संख्याका आधारमा मेगा बैंक नै अग्रस्थानमा छ । सो बैंकको ४ लाख ७ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
भरखरै सेयर कारोबार खुलेकाले लगानीकर्ता मेगा बैंकको सेयर किन्न झुम्मिएका हुन् । प्रतिकित्ता २२८ रुपैयाँमा कारोबार सुरु भएकोमा बिहीबारसम्म घटेर प्रतिकित्ता १७७ रुपैयाँमा झरेको छ ।
बजार घट्दै गएको कारण मेगाको सेयर पनि ओरालो लागेको हो । टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रिया सुरु भएपछि कारोबार एक वर्षभन्दा बढी बन्द भएको थियो लगानीकर्ता बढी मेगामा आर्कर्षित भएका हुन् ।
गत साता लाभकरको विरुद्धमा लगानीकर्ताले आन्दोलन गरेपछि एक दिन सेयर कारोबार बन्द भएको थियो । १७९ कम्पनीको १ अर्ब ६८ करोड ४५ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक
एक्सचेन्जकाअनुसार यस साता ४० लाख २६ हजार ८१० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९ .३० प्रतिशत कम हो । गत साता १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता सेयर २ अर्ब ८ करोड ७३ लाख ५१ हजार रुपैयाँको कारोबार भएको थियो ।
यस साता नेपाल सेवा लघुवित्त संस्था लिमिटेडको ६० लाख कित्ता साधारण शेयर स्टकमा सूचीकृत भएको छ । रासस