राष्ट्रिय सहकारी बैंकले घटायो ब्याजदर, अब ५.५० प्रतिशतमै कर्जा पाइने
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले मंगलबारदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरी सार्वजनिक गरेको छ । बैंकले बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा साधारण बचत खातामा १ प्रतिशत, विशेष बचतमा १.१० प्रतिशत, सुपर बचतमा १.२५ प्रतिशतदेखि १.५० प्रतिशत तोकिएको छ । यस्तै, एनसीबीएल समुन्नत बचत खातामा न्यूनतम १.२५ प्रतिशतदेखि अधिकतम १.५० प्रतिशत, एनसिबिएल प्रिमियम बचतमा १.२५ प्रतिशत, अनिवार्य नियमित बचतमा ४ प्रतिशत र क्रमिक बचतमा ३.२५ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । त्यसैगरी बैंकले कर्जातर्फ न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा कृषि तथा कृषि परियोजना कर्जा (आवधिक/चालुपूँजी) न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ५.७५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । व्यवसायिक आवधिक कर्जाको लागि ६.८५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, व्यावसायिक कर्जा (चालु पूँजी) ७.५० प्रतिशत, इन्फास्ट्रक्चर डेभलपमेन्ट कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, लघु तथा गरिबी निवारण कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, साना तथा मझौला कर्जा ६.५० प्रतिशत निर्धारण गरिएको छ । यस्तै हायर पर्चेज कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, पर्यटन प्रवर्द्धन कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, तरलता व्यवस्थापन कर्जा ६.९९ प्रतिशत, महिला सशक्तीकरण कर्जा ५.७५ प्रतिशत, एनसीबीएल सहज कर्जा ६ प्रतिशत, उज्यालो नेपाल कर्जा ६.९९ प्रतिशत सदस्य सम्बन्धी कर्जा ६ प्रतिशत र मुद्दती निक्षेप कर्जामा थप २ प्रतिशत तोकिएको छ । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । अपाङ्ग, दलित र महिलाद्वारा सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुने गरी प्रदान गरिने छैन ।
एआई कोर्षमा विद्यार्थीको आकर्षण, कति लाग्छ खर्च ?
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) मानव जीवनको एक अभिन्न अंगजस्तै भइसकेको छ । कुनै पनि विषयमा जिज्ञासा भयो वा त्यसको कुनै चित्त बुझ्दो जवाफ आएन भने सबैभन्दा पहिले एआईलाई सोध्ने अभ्यास बढिरहेको छ । ओपनएआईको च्याटजीपीटी, एक्सएआईको ग्रोक, गुगलको जेमिनाई, क्लाउडी एआई र चिनियाँ एआई डीपसीक लगायतका एआईले जिज्ञासुको जिज्ञासा सजिलै मेटाइदिन्छन् । सूचना र प्रविधि क्षेत्रमा एआईको विकास तीव्र भएसँगै नेपालमा पनि विद्यालय तथा कलेजहरूले एआई विषय पढाउन सुरु गरेका छन् । जसमा विद्यार्थीको आकर्षण निकै बढिरहेको बुझिएको छ । आज हामीले एआई पढाउने विद्यालय तथा कलेजको बारेमा चर्चा गर्दैछौं । सनवे कलेज सूचना प्रविधि क्षेत्रमा १५ वर्षदेखि जनशक्ति उत्पादन गर्दै आइरहेको कलेज हो सनवे कलेज । काठमाडौंको मैतीदेवीमा रहेको यो कलेजले पछिल्लो समय एआईसँगै कम्प्युटर साइन्सकाे कक्षा सञ्चालन गरिरहेको छ । स्नातक तहमा एआई विषयमा दक्ष एक सयभन्दा बढी विद्यार्थी बर्सेनि बजारमा पठाउँदै आएको दावी कलेजको छ। २०२२ सालदेखि एआई विषय पढाउन सुरु गरेको कलेजले गत वष ११२ विद्यार्थी भर्ना गरेको थियो । अहिले पनि ब्याचलरमा भर्ना कार्यक्रम जारी रहेको कलेजले जनाएको छ । ‘यहाँ यति सिटमात्र विद्यार्थी लिन पाइन्छ भन्ने छैन, कम्तीमा एक सय बढीमा जति विद्यार्थी पढ्न आउनुहुन्छ, उहाँहरू सबैलाई हामी पढाउँछौं,’ एडमिसन शाखामा कार्यरत निशा गौतम भन्छिन्, ‘यो वर्षको लागि अहिले भर्ना जारी छ, विद्यार्थीहरू भर्नाको लागि आइरहनुभएको छ ।’ यो कलेजले अब छिट्टै स्नातकोत्तरका पनि एआई कोर्ष सुरु गर्ने योजना बनाएको छ । कलेजका अनुसार यो विषयमा विद्यार्थीको आकर्षण बढेसँगै स्नातकोत्तरमा पनि कार्यक्रम सुरु हुन लागेको छ । कलेजले विद्यार्थीलाई पढाउनेमात्र नभई जब प्लेसमेन्ट सुविधा पनि दिइरहेको छ । विभिन्न ६० बढी कम्पनीसँग साझेदारी गर्दै काम सुरु गरेको छ । यो कोर्ष पूरा गर्न एउटा विद्यार्थीले करिब १० लाख रुपैयाँ तिनुपर्ने हुन्छ । सफ्टवेरिका कलेज डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेज पनि एआई पढाउँदै आइरहेको छ । यो कलेजले सन् २०२१ सालदेखि स्नातक तहमा एआई पढाउन सुरु गरेको थियो । बदलिँदो विश्वको परिवेश र नागरिकको जीवनलाई मध्यनजर गर्दै एआई पढाउन सुरु गरेको विषयमा अहिले थप विद्यार्थीको आकर्षण बढेको कलेजले जनाएको छ । २.४ जीपीए ल्याएको विद्यार्थीले पनि सफ्टवेरिकामा एआई पढ्न पाउँछन् । कलेजले कुनै सीमित विषय पढेका विद्यार्थीलाई मात्र यो विषय पढ्न पाइने भन्ने नरहेको कलेजका बजार रणनीति म्यानेजर सुमन बस्यालले बताए । सफ्टवेरिकामा तीन वर्षीय स्नातक कोर्स छ । यो कोर्स पुरा गर्न एक जना विद्यार्थी १३ लाख रुपैयाँ खर्च गर्नुपर्छ । कलेजले विभिन्न किसिमका छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय आईटी क्षेत्रमा शिक्षा दिँदै आइरहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले तीन वर्ष अगाडिदेखि एआई पढाउन सुरु गरेको छ । विश्वविद्यालयमा ४८ जनाको सिट निर्धारण गरिएको छ । पहिलो वर्ष १६ जना विद्यार्थी भर्ना भएकोमा दोस्रो वर्ष बढेर २० पुगेको थियो । यो वर्ष भर्ना खुलेको दुई सातामै ४० जना विद्यार्थी आइसकेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले जनाएको छ । ‘हामीसँग अझै केही सिट बाँकी छ, भर्ना जारी राखेका छौं । अरू विद्यार्थी पनि आउनुहुन्छ भन्ने अपेक्षा छ,’ विश्वविद्यालयका कम्प्युटर अपरेटर प्रकाश चौधरीले भने । लुम्बिनी प्राविधिक विश्वविद्यालयमा यो कोर्ष चार वर्षमा पुरा हुन्छ । चार वर्षमा पूर्ण शुल्क तिरेर पढ्ने विद्यार्थीले पाँच लाख रुपैयाँभन्दा बढी तिर्नुपर्छ । तर प्रायः सबै विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको विश्वविद्यालयको दाबी छ । चौधरीका अनुसार १२ जना विद्यार्थीलाई ७५ प्रतिशत छुट दिइएको छ भने १३ देखि २० सम्म र्याङ्किङ भएका विद्यार्थीलाई पनि ५० प्रतिशत छुट दिदाँ धेरै खर्च नलाग्ने उनको भनाइ छ । इस्लिङटन कलेज सूचना तथा प्रविधि क्षेमा विद्यार्थी उत्पादन गर्दै आइरहेको इस्लिङटन कलेजले एआई विषय पढाउन थालेको चार वर्ष भयो । अहिले १ सय ६० जना विद्यार्थी भर्ना भइसकेका छन् । गत वर्ष १ सय ३० जना विद्यार्थी भर्ना भएका थिए भने पहिलो वर्ष ३० जना विद्यार्थी भर्ना भएका थिए । यो कलेजमा कोर्ष पुरा गर्न तीन वर्ष लाग्छ । यो कोर्ष पढ्ने विद्यार्थीमध्ये ६० प्रतिशत ग्राजुएट हुनेबित्तिकै जागिर सुरु गर्ने भएकाले पनि यसमा रुचि बढेको हुनसक्ने एआई कोर्ष लिडर दिपेश्वर सिलवाल बताउँछन् । यो कलेजले तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै कसरी काम खोज्ने, कस्तो कम्पनीमा इन्टर्न गर्ने भन्ने विषयमा सिकाउँछ । यसका लागि केही कम्पनीसँग साझेदारी पनि गरेको छ । यसमा विद्यार्थीले इन्टर्नसिप गर्छन् भने यसैबाट जागिर पनि उनीहरूले पाउने गर्छन् । काठमाडौं विश्वविद्यालय एआई विषयमा विद्यार्थीको रुचि बढेसँगै काठमाडौं विश्वविद्यालयले अहिले सिट संख्या समेत बढाएको छ । पहिले काभ्रेको पाँचखालमा ३० जनालाई अध्ययन गराउँदै आएको केयुले अहिले धुलिखेलमा सारेर ६० जना विद्यार्थी पढाउन थालेको छ । केयुले विद्यार्थीको संख्या अझै बढे पहिले अध्ययन भइरहेको ठाउँमा पनि विद्यार्थी पढाउन मिल्ने गरी व्यवस्थापन गर्ने तयारी भइरहेको डिपार्टमेन्ट अफ एआई प्रमुख डा. मनोज शाक्यले बताए । उनका अनुसार केयुमा एआई विषय पढ्ने विद्यार्थीले प्लस टुमा फिजिक्स, केमेस्ट्री र म्याथ लिएर पढेको हुनुपर्छ । अथवा कम्प्युटर साइन्स गरे पनि हुन्छ । द ब्रिटिस कलेज ब्रिटिस कलेजले स्नातक तहको बिएस्सी कम्प्युटर साइन्सअन्तर्गत एआई अध्ययन गराउँदै आएको छ । युनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्याण्डको सहकार्यमा कलेजले कार्यक्रम सुरु गरेको हो । कलेज प्रशासनका अनुसार यो कलेजमा पनि एआई पढ्ने विद्यार्थीको संख्या अहिले बढ्दै गएको छ । चार वर्षे यो कोर्स पुरा गर्न विद्यार्थीले करिब २० लाख रुपैयाँसम्म तिर्जुपर्ने हुन्छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्विद्यालय एआईप्रति विद्यार्थीको रुचि बढेपछि मकवानपुरको चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्विद्यालयले स्नातक तहमा पनि कार्यक्रम सुरु गर्ने योजना बनाएको छ । स्नातकोत्तर र पीएचडीमा एआई विषय पढाउँदै आएको विश्वविद्यालयले ब्याचलरका कार्यक्रम सुरु गर्ने योजना बनाएको छ । स्नातकोत्तरको पहिलो ब्याचमा ९ जना विद्यार्थी भर्ना भएकोमा दोस्रो ब्याचमा संख्या बढेर १२ जना अध्ययन गरिरहेका छन् भने पीएचडीमा दुईजना विद्यार्थी अध्ययन गरिरहेका छन् । विश्वविद्यालयले बढीमा १६ जना विद्यार्थीलाई मात्र भर्ना गर्न सक्छ । एआई विभाग प्रमुख राजीब सुब्बा भन्छन्, ‘हामीले धेरै विद्यार्थी लिनुभन्दा पनि कम र क्वालिफाइड विद्यार्थीलाई मात्र भर्ना गर्छौं, हामी अनुसन्धान बेसमा काम गर्ने भएकाले अरूभन्दा फरक छौं ।’ यहाँ अध्ययन गर्ने विद्यार्थीले दुई वर्षको कोर्ष पुरा गर्न डेढ लाख खर्च गर्नुपर्छ । एआईमा विद्यार्थीको आकर्षण बढ्दै एआई विषय पढाइरहेका सबै कलेजले विद्यार्थीको सिट संख्या बढाएका छन् । यो विषयमा विद्यार्थीको रुचि बढेसँगै सिट संख्या पनि बढाएको कलेजहरू बताउँछन् । विश्वमा एआई हाबी भइरहेको बेला नेपाली शिक्षा पनि यहीअनुसार अघि बढ्न सक्नुपर्ने कलेजहरूको टिप्पणी छ । विश्व परिवेशलाई मध्यनजर गर्दै सञ्चालन गरिएका कोर्षमा विद्यार्थीको रुचि बढ्दै गइरहेको हो । विभिन्न कलेजले सञ्चालन गरिरहेका एआई कोर्षहरू फरकफरक छन् । कतिपय कलेज, विश्वविद्यालयले तीन वर्षे र कतिपयले चार वर्षे कोर्सहरू सञ्चालन गरिरहेका छन् । एआई विषय पढ्न म्याथम्याटिक्स, स्टाटिस्टीक, प्रोग्रामिङ र डाटा स्ट्रक्चर्स, आर्टिफिसिएल इन्टेलिजेन्स फन्डामेन्टल, मेसिन लर्निङ, एआई एपिल्केसन कम्प्युटर भिजन लगायत एआईसँग सम्बन्धित सबै विषयहरू पढ्नुपर्छ भने साथै रिसर्च मेथड पनि पढ्नुपर्छ । विद्यार्थीहरू उद्यमी बनून, आफ्नो काम आफै गरून्, जागिरभन्दा पनि आफ्नै बिजनेस गरून् भन्ने हिसाबले उद्यमशीलता पनि पढाउने गरेको कलेजहरूको प्रतिक्रया छ । एआई कोर्सभित्र २० वटा विषय पढाइ हुने गरेको सफ्टवेरिका कलेजका मार्केट स्टाटेजी म्यानेजर सुमन बस्यालले बताए । नेपालमै अवसर अहिले सूचना प्रविधिको बजार ठूलो छ । हरेक कम्पनीमा प्रविधिको विकास बढ्दो छ । सफ्टवेयर डेभलप गर्न, डेटा एनालाइज गर्न र सफ्टवेयर इन्जिनियरिङको काम पनि एआई पढेका विद्यार्थीले गर्न सक्छन् । एआई पढेका विद्यार्थीलाई अहिले नेपालमा पनि थुप्रै अवसर रहेको केयुको एआई विभागका प्रमुख डा. शाक्य बताउँछन् । नेपालमा पनि एआईको कम्पनी छ । एआई रिसर्चरदेखि लिएर डेटा साइन्स डेभलपर, डेटा साइन्स इन्जिनियर, विभिन्न काम नेपालमै भइरहेका छन् । यस्ता विद्यार्थीले यो क्षेत्रमा काम गर्न पाउँछन् ।
पशुपतिमा स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित ७ सय जना परिचालन, राति २ बजेदेखि ड्युटी
काठमाडौं । तीजका लागि पशुपति क्षेत्रमा सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित करिब ७ सय जनशक्ति परिचालन गरिने भएको छ । जसमध्ये १५० महिला सशस्त्र प्रहरी कर्मचारीहरू खटिने जनाइएको छ । दर्शनार्थीको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा आज राति २ बजेदेखि ड्युटी परिचालन हुने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालीदास धौवजीले जानकारी दिए । पशुपति परिसरमा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरिएको छ भने मेलाको सम्पूर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्ने उनको भनाइ छ । उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरूबाट एक सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचालन हुने बताइएको छ ।
शिक्षक महासङ्घले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र
काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै देशव्यापी आन्दोलन सुरु गरेको छ । महासङ्घले सोमबार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र बुझाएको हो। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनको पहिलो चरणअन्तर्गत ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए । आन्दोलनरत शिक्षकहरूलाई नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले विद्यालय शिक्षा ऐनमा राम्रा कुराहरू पनि भएकोले तिनीहरूलाई स्वागत गर्न आग्रह गरे । उनले शिक्षकहरूका धेरै माग पुरा गरिएको र केही मागहरू भने सम्बोधन गर्न बाँकी रहेकोले आगामी दिनमा सम्बोधन गर्दै जाने बताए । सरकारलाई ठुलो आर्थिक भार नपर्ने खालका शिक्षकका मागहरू सम्बोधन गरेर अगाडि बढ्न सकिने उनको भनाइ छ । नेपाली काङ्ग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतक कृष्णबहादुर रोकायले अहिले शिक्षा विधेयक आउनु नै महत्त्वपूर्ण भएको बताए । सङ्घीयतालाई कार्यन्वयन गर्नको लागी विद्यालय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी ऐन बन्न आवश्यक रहेको औंल्याउँदै उनले यो विद्येयक आउनु नै महत्त्वपूर्ण कुरा भएको दावी गरे । उनले विद्येयक अपरिवर्तनीय नभएकोले अभ्यास गर्दै जाँदा समस्या परेको अवस्थामा संशोधन गर्न सकिने बताए । महासङ्घले विद्यालय शिक्षा विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको जनाएको छ । शिक्षकहरूको गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो, तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको महासंघ पुनः आन्दोलनमा होमिएको महासङ्घका अध्यक्ष सुवेदीले बताए । महासङ्घले २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागू गर्न, अस्थायी शिक्षकका लागि ७५५ आन्तरिक र २५५ खुला पदपूर्ति (हालको ६०५–४०५ को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।
करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौंको शंखमूलमा विस्तार
काठमाडौं । करेन्ट नुडल्सका उत्पादक यसोदा फुड्स प्रालिले लोकप्रिय आउटलेट ’करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ। बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटले पाएको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै, यसोदा फुड्सले हरितालिका तीजको अवसर पारेर नयाँ शाखा सुरु गरेको हो । नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकार उपलब्ध हुनेछन् । विशेषगरी नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स, र चिज पकेट जस्ता नयाँ र आकर्षक परिकारको स्वाद लिन सकिने कम्पनीले जनाएको छ । साथै, ग्राहकहरूले आफ्नो रुचिअनुसार मसला र स्वाद रोज्न सक्ने सुविधा पनि पाउनेछन् । उद्घाटन समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले करेन्ट पोइन्टले बुटवल र अनामनगरमा पाएको अपार माया र सफलताले आफूहरूलाई काठमाडौंमा थप विस्तार गर्न प्रेरित गरेको बताए । उनले भने, 'काठमाडौंका नुडल्स पारखी, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेका लागि शंखमूललाई नयाँ गन्तव्य बनाउन हाम्रो लक्ष्य हो । यो नयाँ यात्राले उपभोक्ताको स्वादलाई अझ उचाइमा पुर्याउने अपेक्षा राखेका छौं ।' त्यस्तै, यसोदा फुड्सका ग्लोबल सिइओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्सबारे विस्तृत जानकारी प्रस्तुत गरे ।
विद्युत् आपूर्ति व्यवस्थित बनाउन म्याग्दीमा १० करोडको योजना सुरु
म्याग्दी । जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले विद्युतीय दुर्घटनाको जोखिम घटाउने, विद्युत् आपूर्ति र वितरणलाई व्यवस्थित तथा गुणस्तरीय बनाउनका लागि चालु आर्थिक वर्षमा योजना सुरु हुने जानकारी दिए । 'जोखिमयुक्त ठाउँमा नाङ्गो तार हटाएर एबिसी केबुल राख्ने, ट्रान्सफर्मरको क्षमता बढाउने, फिडर थप्ने र ट्रिपिङ हुन नदिने उपकरण जडान गरिनेछ', उनले भने, 'ट्रिपिङका कारण विद्युत् आपूर्ति अनियमित हुने समस्यालाई हटाउन यो योजनाले मद्दत गर्नेछ ।' मिलनचोक, रातोढुङ्गा र घराप सबस्टेसनमार्फत म्याग्दीमा वितरण हुने केन्द्रीय प्रसारणलाइनको कुनैएक ठाउँमा समस्या हुँदा सबै ठाउँमा विद्युत् आपूर्ति बन्द हुने (ट्रिपिङ) को समस्या भएकाले सो समस्या अन्त्यका लागि उक्त योजना सहयोगी हुने म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले विश्वास व्यक्त गरे । विद्युत् वितरण प्रणाली सुदृढीकरणका लागि जिल्लामा पहिलोपटक पर्याप्त बजेट विनियोजन गरेर योजना भित्र्याइएको राज्यमन्त्री गर्बुजाले बताए । यहाँको राहुघाट र म्याग्दी नदी ‘बेसिन’का जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारणलाइनलाई पूर्णताः दिन मन्त्रालयबाट पहल भएको उनले उल्लेख गरे । जिल्लाका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि २२ करोड रुपैयाँ बजेटको योजना सञ्चालन गरेको प्रमुख गामीले जानकारी दिए । उनका अनुसार ‘उज्यालो म्याग्दी कार्यक्रम’मार्फत धौलागिरि गाउँपालिका–१ गुर्जाबाहेकका बस्तीहरूमा यो वर्ष केन्द्रीय प्रसारणलाइनको विद्युतीकरण गर्ने तयारी भएको छ । उक्त कार्यक्रममार्फत आर्थिक वर्ष २०८१/८२ मा ८७४ र आव २०८०/८१ मा एक हजार ४३८ घरमा विद्युतीकरण भएको गामीले बताए । उनका अनुसार म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार ८६९ सेवाग्राही छन् । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बारीबेनी क्षेत्रमा पनि केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेसनमार्फत विद्युत् वितरण हुँदै आएको छ ।
सेनाले सम्पन्न गर्यो साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना
काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ । सांस्कृतिक तथा पुरातात्विक महत्त्वका संरचनाको मर्मत सम्भार गरी इतिहास एवं संस्कृतिको संरक्षण र समुदायको आवश्यकतामा प्रत्यक्ष टेवा पुर्याउन दुई करोड ५६ लाखको लागतमा ती आयोजना सम्पन्न गरिएको नेपाली सेनाका सहायकरथी एवम् प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । गतवर्ष उपत्यका पृतनाअन्तर्गत एक, पूर्वी, मध्यपूर्वी, मध्य, पश्चिम, मध्य पश्चिम, उत्तर पश्चिम र सुदूरपश्चिम पृतनाअन्तर्गत तीन/तीन वटा शीध्र प्रभावी आयोजना कार्यान्वयनमा ल्याएको थियो । इतिहाससँगै स्थानीय संस्कृतिको जगेर्ना तथा नेपाल एकीकरणको दौरान प्रयोग भएका रणनीतिक एवं ऐतिहासिक महत्वका विभिन्न मठमन्दिर, कोटगढी र दरबारको मर्मत-सम्भार गरिएको छ । सेनाले पुरातत्व विभागसँगको समन्वयबाट परम्परागत निर्माण सामग्रीको प्रयोग गरी बाजुरा स्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ । गत वर्ष सेनाले उदयपुरस्थित चौदण्डी गढी, ओखलढुंगाको तलुवागढी, चितवनको उपरदाङ्ग गढी, नुवाकोटको बेलकोट गढी, लमजुङको पुरानकोट, सुर्खेतको बयलकाँडा गढी, डडेलधुराको अमरगढी र पाल्पाको माथागढी तथा गुल्मीको मुसिकोट दरबारको स्तरोन्नति तथा मर्मत-सम्भार गरेको प्रवक्ता बस्नेतले जानकारी दिए । त्यसैगरी सामाजिक मूल्य र मान्यतालाई अक्षुण्ण राखी एकताभाव जागृत गर्ने सांस्कृतिक तथा पर्यटकीय महत्वकाविभिन्न सम्पदाको जगेर्ना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । इलामको माई स्थान मन्दिर, रामेछापको तिल्केस्थान गढीमा रहेको देवी मन्दिर, नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिरको स्तरोन्नति गरिएको छ । चितवनको देवघाटस्थित महेश आश्रममा गौशाला, मुस्ताङस्थित कागबेनीमा श्राद्ध स्थलमा ट्रसघर, पर्वतको कटुवाचौपारीमा पुजारी बस्ने कोठासहितको ट्रसघर निर्माण गरिएको छ । महिला तथा विकट क्षेत्रका छात्र/छात्राको विद्यालय पहुँचमा सहजता पुर्याउने उद्देश्यले छात्रा शौचालय निर्माण गरिएको छ । सेनाले महोत्तरीको सोनम गाउँपालिकास्थित सरस्वती जनता माविमा छात्रालाई लक्षित गरी चार कोठे छात्रा शौचालय तथा दैलेखको दुल्लु नगरपालिका स्थित तीर्थस्थल पञ्चकोशी मावि वेद विद्या आश्रममा अध्ययनरत छात्रका लागि सेड घर निर्माण गरेको छ । यस्तै ‘एक पालिका, एक हेलिप्याड’को नीतिमा सहयोग पुर्याउने लक्ष्यका साथ मुगुको मुगुम कार्मारुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । यसले जटिल प्रसूति समस्यामा पर्न सक्ने सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार एवं विपद् तथा विभिन्न दुर्घटनाका दौरान आकस्मिक उद्धार कार्यमा समेत सहज बनाउने विश्वास गरिएको छ । डडेलधुरा र डोटीका स्थानीयलाई खानेपानीको सहज पहुँच पुर्याउन पिउने पानी ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा धाराको जडान गरिएको छ । पर्यटन तथा पर्यावरणलाई टेवा पुर्याउने उद्देश्यले काठमाडौंको नारायणहिटी सङ्ग्रहालय परिसरमा रहेको झिल पोखरीको मर्मत सम्भारका साथै बाराको कलैया बजारमा नेपालको झन्डा तथा मोनोग्राम निर्माणको कार्य सुरु गरिएको पनि सेनाले जानकारी दिएको छ । गत आवमा सम्पन्न भएका शीघ्र प्रभावी आयोजना सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको पनि सेनाले जनाएको छ । शीघ्र प्रभावी आयोजनाको कार्यान्वयनबाट स्थानीय जनतामा आफ्नो टोल तथा सहरको विकास निर्माण सरसफाइलगायत सौन्दर्यीकरणमा अपनत्व जागृत गराउनुका साथै जनसमुदायमा राष्ट्रिय एकताको भावना समेत अभिवृद्धि हुने विश्वास लिएको छ । रासस
हिमालयन लाइफ इन्स्योरेन्सले सम्पन्न गर्यो सम्पत्ति शुद्धीकरण निवारण कार्यक्रम
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार हिल्टन होटलमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण महाशाखा प्रमुख शाम्बराज लामिछाने र शाखा प्रमुख पदम सोडारीले जीवन बीमा कम्पनीहरूले सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा निर्वाह गर्नुपर्ने विविध जिम्मेवारीबारे जानकारी गराएका थिए । कार्यक्रममा निर्देशक लामिछानेले बीमा प्राधिकरणले हालै जारी गरेको ‘सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिका, २०८२’ लाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरे । उनले हिमालयन लाइफले यसअघि सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा गरेका कामहरू प्रशंसनीय रहेको उल्लेख गर्दै अझ प्रभावकारी कार्य गर्न सुझाव पनि दिए । सो अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले कम्पनीले सम्पत्ति शुद्धीकरण निवारणलाई प्राथमिकतामा राखेर नीति–नियमअनुसार काम गरिरहेको बताए । साथै सञ्चालक समिति सदस्य प्रमिला केसी र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले पनि यस विषयमा कम्पनी गम्भीर र प्रतिबद्ध रहेको प्रष्ट पारे । कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, सेयरधनी तथा उच्च व्यवस्थापकीय पदाधिकारीहरूको उपस्थिति थियो ।
१ करोडमा पोखरा ‘ग्रेट ट्रेल’ निर्माण हुँदै, ४ हजार ५ सय सिँढी
काठमाडौं । पोखरा महानगरपालिका-११ मणिपाल कालीखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पद मार्गको निर्माण पूरा हुनेछ । उक्त ट्रेलमा करिब ४ हजार ५ सय सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ । कालीखोलादेखि काँहुकोटसम्म १ किमी ८०० मिटरको पद मार्ग निर्माण विसं २०८० वैशाखदेखि सुरू गरिएको थियो । यसका लागि महानगरले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको यस ट्रेल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र आकर्षक रहेको बताए । उनका अनुसार फुट ट्रय्याकका लागि चालू आवमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘पर्यटकीय राजधानी पोखरामा बिहान र साँझको समयमा हिँड्न रमाउनेका लागि यो एक उपयुक्त थलोका रूपमा विकास हुने विश्वास गरेका छौँ । स्थानीय विशेषता झल्कने र पहिचानसहितको अग्र्यानिक पदमार्ग भनेका छौँ, यो पदमार्गमा यात्राका क्रममा अग्र्यानिक उत्पादनको स्वाद लिन सकिनेछ,’ नगर प्रमुख आचार्यले भने । निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार पदमार्गमा ढुङ्गा काटेर विच्छ्याइएको छ । पदमार्गका विभिन्न चार स्थानमा विश्राम स्थल हुनेछन् भने १० स्थानमा ‘भ्युपोइन्ट’ निर्माण हुनेछ । पदमार्ग १० फिट चौडाइको हुने र बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने बस्नेतले बताए । पोखराको प्राकृतिक ‘भ्युपोइन्ट’का रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवर्द्धनमा पदमार्ग निर्माणले सहयोग पुग्ने आशा गरिएको छ । ‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियान अन्तर्गत आइतबार सो ट्रेलको दायाँबायाँ करिब ४०० फलफूलका बिरुवासमेत रोपिएको छ । पोखरा महानगरको दुई लाख २६ हजार विरुवा लगाउने ‘मेगा ’अभियान अन्तर्गत सो क्षेत्रमा आरु, आरूबखडा, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँसलगायतका विरुवा रापिएका हुन् ।
चित्त बुझेन विशेष अदालतको फैसला, अन्तःशुल्क स्टिकर छपाइको मुद्धा लिएर सर्वोच्च पुग्यो अख्तियार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छपाइ गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले अन्तःशुल्क स्टिकर छाप्दा त्यसमा संलग्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा.बैकुण्ठ अर्याल समेतका १२ जना प्रतिवादीले बदनियतपूर्वक सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गराई भ्रष्टाचारजन्य कसुर गरेको आरोप लगाएको थियो । आयोगले ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो । विशेष अदालतले सो मुद्दामा २०८१ मंसिर १३ गते फैसला गरेको थियो । त्यसमा केही प्रतिवादीलाई आशिक ठहर गर्दै केही प्रतिवादीलाई सफाइ दिएको थियो । उक्त फैसलामा चित्त नबुझेको भन्दै आयोगले आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
बीमालेखको सुरक्षणमा दिइएका कर्जाका बारेमा स्पष्ट जानकारी दिन प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय-तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा विद्युतीय माध्यम वा पत्रमार्फत स्पष्ट बुझिने गरी समयमै जानकारी दिन सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ। बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा प्रदान गरिएका कर्जा असुलीका क्रममा भुक्तान हुन बाँकी रहेको कर्जा रकम तथा ब्याजको गणना विधिका सम्बन्धमा बीमितलाई पर्याप्त जानकारी नदिने र अन्तिममा परिपक्व भुक्तानी तथा दाबी रकमबाट कट्टा गर्ने गर्दा बीमित तथा हिताधिकारीरूलाई मर्का परेको भनी गुनासाहरू आएको सन्दर्भमा प्राधिकरणले बीमा कम्पनीहरूलाई त्यस्तो निर्देशन दिएको हो । प्राधिकरणले दिएको निर्देशनमा भनिएको छ, ‘बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा बीमितलाई कर्जा दिँदा कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय-तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा कर्जाको ब्याज भुक्तानी गर्ने अवधि समाप्त हुनुभन्दा कम्तीमा तीस (३०) दिन अगावै बीमितले स्पष्ट बुझ्ने गरी एसएमएस वा इमेल वा पत्रमार्फत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न/गराउन परिपत्र गरिएको छ ।’ प्राधिकरणले बीमा कम्पनीहरूले ऋण तथा व्याज असुलीका लागि स्मरणपत्र वा जानकारी दिई वीमितको ध्यानाकर्षण गर्नु उनीहरूको कर्तव्य भएको समेत स्मरण गराएको छ ।
लचिलो नीतिमा बैंकहरू उत्साहित, दोब्बरले बढाए सेयर कर्जा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सेयर धितो कर्जामा खुकुलो नीति अघि सारेपछि बैंकहरूले लगानी ह्वात्तै बढाएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा मार्जिन प्रकृतिको कर्जा (सेयर कर्जा)को सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएसँगै बैंकहरूले पनि सेयरमा लगानी बढाएका हुन् । साथै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेको छ । जसले गर्दा पुँजी बजारमा बैंकहरूले खुलेरै लगानी गरेको लगानीकर्ताहरू बताउँछन् । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले १ खर्ब १६ अर्ब ८० करोड ९४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष ६६.०५ प्रतिशत अर्थात् ४६ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए । समीक्षा वर्षमा अधिकांश बैंकले सेयरमा लगानी बढाएका छन् भने विभिन्न ८ वटा बैंकको दोब्बरभन्दा बढाएका छन् । गत वर्ष माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै सेयर कर्जा बढाएको छ । गत असारसम्ममा माछापुच्छ्रे बैंकको ४४२.०९ प्रतिशत अर्थात् २ अर्ब ६ करोड रुपैयाँ बढेर २ अर्ब ५३ अर्ब १९ लाख रुपैयाँ लगानी गरेको हो । अघिल्लो वर्ष बैंकले ४६ करोड ७० लाख रुपैयाँ मात्रै सेयर प्रवाह गरेको थियो । समीक्षा अवधिमा सबैभन्दा धेरै सेयर कर्जा दिने बैंकमा नबिल अग्रस्थानमा छ । नबिल बैंकको ४६.६८ प्रतिशत अर्थात् ५ अर्ब ३३ करोड ५४ लाख रुपैयाँ बढाएर १६ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ सेयरमा लगानी गरेको हो । जुन वाणिज्य बैंकमा सबैभन्दा धेरै सेयर कर्जा हो । अघिल्लो वर्ष बैंकले ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ मात्रै सेयरमा लगानी गरेको थियो । यस्तै, नेपाल एसबिआई बैंकको २०७.१५ प्रतिशत अर्थात् ४१ करोड ७६ लाख रुपैयाँ बढाएर ६१ करोड ९१ लाख रुपैयाँ, कृषि विकास बैंकको १९२.६६ प्रतिशत अर्थात् ३ अर्ब ६ करोड ६४ लाख रुपैयाँ बढाएर ४ अर्ब ६५ करोड ८० लाख रुपैयाँ, एनएमबि बैंकको १४४ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड २४ लाख रुपैयाँ बढाएर २ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । यस्तै, लक्ष्मी सनराइज बैंकको १४३.५३ प्रतिशत अर्थात् ४ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ बढाएर ८ अर्ब २५ करोड ४५ लाख रुपैयाँ, कुमारी बैंकको १३८.४० प्रतिशत अर्थात् ६ अर्ब ५ करोड ७० लाख रुपैयाँ बढाएर १० अर्ब ४३ करोड ३२ लाख रुपैयाँ, प्राइम बैंकको १०४.२९ प्रतिशत अर्थात् ४ अर्ब २२ करोड ७७ लाख रुपैयाँ बढाएर ८ अर्ब २८ करोड १५ लाख रुपैयाँ, सानिमा बैंकको १००.५१ प्रतिशत अर्थात् १ अर्ब ६६ करोड रुपैयाँ बढाएर ३ अर्ब ३१ करोड १५ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि)को ८१.३० प्रतिशत अर्थात् १ अर्ब ५१ करोड रुपैयाँ बढाएर ३ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ, एभरेष्ट बैंकको ६९.७२ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड रुपैयाँ बढाएर ३ अर्ब ४४ करोड रुपैयाँ, प्रभु बैंकको ६८.०६ प्रतिशत अर्थात् २ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बढाएर ५ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ६३.७४ प्रतिशत अर्थात् ४ अर्ब ७९ करोड २० लाख रुपैयाँ बढाएर १२ अर्ब ३० करोड ९३ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् । सिद्धार्थ बैंकको ६०.२९ प्रतिशत अर्थात् ३ अर्ब ४९ करोड ९ लाख रुपैयाँ बढाएर ९ अर्ब २८ करोठ ७ लाख रुपैयाँ, सिटिजन्स बैंकको ४६.१७ प्रतिशत अर्थात् २ अर्ब २१ करोड ९६ लाख रुपैयाँ बढाएर ७०२६.६२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४४.४९ प्रतिशत अर्थात् १ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ बढाएर ६ अर्ब १५ करोड ८७ लाख रुपैयाँ, हिमालयन बैंकको ३४.८८ प्रतिशत अर्थात् ७० करोड १७ लाख रुपैयाँ बढाएर २ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ र नेपाल बैंकको १५.९५ प्रतिशत अर्थात् १ अर्ब ८ करोड १५ लाख रुपैयाँ बढाएर ७ अर्ब ८६ करोड २४ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् । तर, समीक्षा वर्षमा एनआईसी एशिया बैंकले भने सेयरमा कर्जा घटाएको छ । एनआईसी एशियाको ४८.२१ प्रतिशत अर्थात् १ अर्ब ९१ करोड ३८ लाख रुपैयाँ घटाएर २ अर्ब ५ करोड ५२ लाख रुपैयाँ मात्रै सेयरमा लगानी गरेको छ ।
नाडा अटो शोको अन्तिम दिन आज, दीपलको आकर्षक अफरले झुम्मिए ग्राहक
काठमाडौं । काठमाडौंमा जारी नाडा अटो शोमा नयाँ सवारीसाधन र विशेष अफरहरूले अवलोकनकर्ताहरूको ध्यान खिच्न सफल भएको छ । विशेषगरी विद्युतीय गाडी ब्रान्ड दीपलले भर्खरै सार्वजनिक गरेको एस-०५ एसयुभी र दुई पाङ्ग्रे सवारीको लोकप्रिय ब्रान्ड हिरोले ल्याएको नयाँ जुम १२५ स्कुटर तथा सुपर स्प्लेन्डर १२५ बाइकले ग्राहकहरूको ध्यान केन्द्रित गरेका छन् । कम्पनीहरूले नाडालाई लक्षित गरी सीमित अवधिका लागि विशेष छुट र योजनाहरू घोषणा गरेका छन् । जसकारण स्टलहरूमा ग्राहकहरूको भीड उल्लेख्य देखिएको छ । दीपलको स्टलमा नयाँ विद्युतीय एसयुभी एस-०५ हेर्न र बुझ्न आउनेहरूको बाक्लो उपस्थिति छ । दीपलका मार्केटिङ म्यानेजर रमेश दनेखूका अनुसारका नाडा अगाडि लन्च गरिएको एस ०५ ले छोटो समयमै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । एस-०५ को सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँदेखि हाइ भेरियन्टको ५७ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ । यसैगरी, कम्पनीकी सेल्स रितु भट्टराईका अनुसार यो गाडीमा ९९ किलोवाटको मोटर र ५६.१ किलोवाटको ब्याट्री छ । जसले एक पटकको फुल चार्जमा ४०५ किलोमिटरको रेन्ज दिन्छ । नेपाली सडकका लागि उपयुक्त १८० एमएमको ग्राउन्ड क्लियरेन्स, १६० लिटरको फ्रंक स्पेस (अगाडिको बुट) र ४९२ लिटरको विशाल बुट स्पेस यसका थप विशेषता हुन् । यसमा पार्क असिस्ट, १४ वटा स्पिकर, कुलिङ बक्स, र दुवै अगाडिका सिटमा हिटिङ तथा कुलिङजस्ता प्रिमियम फिचरहरू छन् । नाडाको अवसरमा एस-०५ खरिद गर्ने ग्राहकले एक वर्षको रोड ट्याक्स, ७ किलोवाटको चार्जर, फ्लोर म्याट र आकर्षक छुट पाउनेछन् । दीपलको चर्चित मोडल एस-०७ (२०२५ मोडल) मा कम्पनीले ‘जेरो ओनरसिप’ र ‘बाई ब्याक’ नामक विशेष अफर ल्याएको छ । भट्टराईका अनुसार ‘जेरो ओनरसिप’ अफर अन्तर्गत ग्राहकले ५ वर्षसम्मको इन्स्योरेन्स, रोड ट्याक्स, सर्भिसिङ र चार्जिङ खर्चसमेत कम्पनीले व्यहोर्नेछ । ‘बाई ब्याक’ योजनामा ग्राहकले निश्चित समयपछि आफ्नो गाडी कम्पनीलाई नै फिर्ता बेच्न सक्नेछन् । नाडामा दीपपलका गाडीहरूको १५० भन्दा बढी युनिट बुक भइसकेको कम्पनीले जनाएको छ । दुई पाङ्ग्रे सवारीको सेगमेन्टमा सिजी मोटर्सद्वारा वितरित हिरो मोटोकर्पले पनि आफ्ना नयाँ उत्पादनहरूसहित ग्राहकलाई आकर्षित गरिरहेको छ । सिजी मोटर्सका सहायक सेल्स म्यानेजर सोहन शाहीका अनुसार नाडामा ४वटा मोडल प्रदर्शनमा राखिएको छ । जसमध्ये दुईवटा नयाँ मोडल सुपर स्प्लेन्डर १२५ र जुम १२५ को बुकिङ खुला गरिएको छ । ‘सुपर स्प्लेन्डर हिरोको एक लेजेन्ड बाइक हो, जसलाई अहिले बीएस ६ इन्जिन र एफआई सिस्टमसहित अपग्रेड गरिएको छ,’ शाहीले भने, ‘यसको मुख्य विशेषता भनेकै यसको उत्कृष्ट माइलेज हो, जसले ६० किलोमिटर प्रतिलिटरभन्दा बढी माइलेज दिन्छ ।’ नाडा अवधिभरका लागि यसको परिचयात्मक मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, हिरोले भर्खरै नेपाली बजारमा ल्याएको जुम १२५ स्कुटर पनि आकर्षणको केन्द्र बनेको छ । ११० सीसीको पुरानो मोडलमा ग्राहकबाट आएको पावर र अफरोड क्षमताको सुझावलाई ध्यानमा राखेर यसलाई १२५ सीसी इन्जिन र १४ इन्चको ठूलो टायरसहित अपग्रेड गरिएको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी र टर्न-बाई-टर्न नेभिगेसनसहितको डिजिटल मिटर जडान गरिएको छ, जुन यो सेग्मेन्टमा नयाँ हो। यसको परिचयात्मक मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ राखिएको छ र नाडामा बुकिङ गर्ने ग्राहकले उपहारस्वरूप ‘अल्तिमा’ को एयरबड्स पाउनेछन् । हिरोका सबै मोटरसाइकल तथा स्कुटरहरू नेपालमै एसेम्बल हुने र सबैमा ५ वर्षको इन्जिन वारेन्टी, ४ पटक निःशुल्क सर्भिसिङ र एउटा हेल्मेट उपलब्ध गराइने शाहीले जानकारी दिए । यी बाहेक १६० सीसीको स्कुटर र २१० सीसीको बाइक पनि प्रदर्शनमा छन्, जुन परीक्षणपछि जनवरी-फेब्रुअरीतिर लन्च गर्ने कम्पनीको योजना छ । अब नेपाली सडकमा दीपलका गाडीहरुको बाक्लो उपस्थिति रहेको कम्पनीले दाबी गरेको छ । नाडा अटो शो नयाँ गाडी खरिद गर्न चाहनेहरूका लागि उत्कृष्ट अवसर बनेको छ, जहाँ एकै ठाउँमा विभिन्न ब्रान्डका नयाँ उत्पादनहरू हेर्न, तुलना गर्न र विशेष छुटमा खरिद गर्न सकिन्छ । यी परिचयात्मक मूल्य र विशेष अफरहरू नाडा अवधिभरका लागि मात्र सीमित भएकाले खरिदकर्ताका लागि यो सुनौलो मौका हो । नाडा अटो शो आज अर्थात् आइतबार सकिँदै छ । १७औं संस्करणको ६ दिने नाडा अटो शोमा हालसम्म १ लाख ५० हजारभन्दा बढीले अवलोकन गरिसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । नाडाले यसपटको नाडा अटो शो सोचेको भन्दा उत्कृष्ट भएको भन्दै गरिरहेको छ । चाडबाडको मुखमा आयोजना गरिएको अटो शोमा टायर, ब्याट्रीदेखि चारपांग्रे सवारीसाधनसम्म बुकिङ गर्न पाइने सुविधा रहेको छ । यो पटक प्रायः प्रिमियमदेखि सस्तो गाडीसम्म विद्युतीय सवारीसाधन (ईभी) मा आकर्षण देखिएको छ । आज अन्तिम दिन भएकाले प्रर्दशनी स्थलमा ग्राहक तथा अवलोकनकर्ताको घुइँचो लागेको छ ।
बाढीले मेडिसिटीलाई ३२ करोड घाटा, राष्ट्र बैंकको राहत र साढे २ अर्बको व्यापार हुँदा पनि ५ अर्ब ऋणको दबाब
काठमाडौं । गत वर्षको बाढीले ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पताललाई साढे ३२ करोड रुपैयाँको नोक्सानी गरेको देखिएको छ । बाढीले अस्पताल परिसरमा क्षति पुर्याउँदा ३२ करोड ४० लाख रुपैयाँको क्षति भएको देखिएको हो । बाढीले ठूलो क्षति गरेपछि कम्पनीले बैंक तथा वित्तीय संस्थाको तिर्नुपर्ने सावाँ ब्याजमा पनि दबाब परेको बताइएको छ । कम्पनीको आग्रहमा राष्ट्र बैंकले पनि नेपाल राष्ट्र बैंकले पुन: संरचनामार्फत विशेष राहत दिएको विषय रेटिङ एजेन्सी केयर रेटिङले उल्लेख गरेको छ । सार्वजनिक विज्ञप्तिमा उल्लेख भएअनुसार २०८० माघ र २०८१ बैशाखमा तिर्नुपर्ने ब्याजको ९० प्रतिशत स्थगित गरिएको छ । स्थगित ब्याजलाई २०८१ साउनदेखि सुरु हुने गरी आठ त्रैमासिक किस्तामा तिर्नुपर्ने व्यवस्था गरिएको छ । साथै सावाँ फिर्ता गर्ने समायवधि पनि थप गरेर सन् २०३८ पुर्याइएको छ । ललितपुरको भैंसेपाटीमा रहेकाे मेडिसिटी अस्पताललाई आश्विन्स मेडिकल कलेजले सञ्चालन गर्दै आएको छ । सार्वजनिक तथ्यांक अनुसार सो मेडिकल कलेजले सन् २०२५ मा २ अर्ब ५५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । यो कलेजले सन् २०२४ मा २ अर्ब ७४ करोड ४० लाख, सन् २०२३ मा २ अर्ब ८२ करोड ६० लाख र सन् २०२२ मा २ अर्ब ७८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । विगतका वर्षहरूका तुलनामा यस मेडिकल कलेजको व्यापार घटेको उल्लेख छ । बाढीकै कारणले कम्पनीको व्यापार घटेको हो । कम्पनीको नाफा मार्जिन पनि विगतका वर्षहरूका तुलनामा घटेको छ । सन् २०२४ मा २७.७८ प्रतिशत रहेको नाफा मार्जिन सन् २०२५ मा २१.५३ प्रतिशत कायम भएको छ । २००७ सालमा स्थापना भएको आश्विन्स मेडिकल कलेज एण्ड अस्पताल ७५० शैयाको छ । जसले बहु–विशेषज्ञता स्वास्थ्य सेवा सुविधा पनि दिरहेको छ । यो अस्पतालले चिकित्सा, शल्यक्रिया र डायग्नोस्टिक सेवाहरूको विस्तृत श्रृङ्खला प्रदान गर्दै आएको छ । १ सय १२ रोपनी जग्गामा रहेको यो अस्पताल व्यावसायिक घराना महतो ग्रुपले सञ्चालन गरेको हो । यसको अध्यक्ष डा. उपेन्द्र महतो हुन् । अस्पतालमा १७ वटा अत्याधुनिक अपरेशन थिएटरहरू, ६० भन्दा बढी विशेषज्ञ डाक्टर, बहिरंग बिरामी विभाग, ७५ भन्दा बढी सघन उपचार शैयाहरू रहेको उल्लेख छ । नेपाल मेडिसिटी अस्पतालले कार्डियोलोजी, क्यान्सर उपचार, न्यूरोसर्जरी, मिर्गौला प्रत्यारोपण, स्त्रीरोग, बालरोग, ग्यास्ट्रोएन्टेरोलोजी, फिजियोथेरापी, पुनःस्थापना सेवा र आपतकालीन चिकित्सा सेवा लगायत सुविधा प्रदान गर्दै आएको छ । कम्पनीको कुल ४ अर्ब ९४ करोड १० लाख रुपैयाँ ऋण रहेको छ । कम्पनीले डबल बी को रेटिङ पाएको छ ।
७.२८ करोडको फायर वाल र राउटर खरिद गर्दै राष्ट्रिय वाणिज्य बैंक, ७ वटाको आवेदनमा २ कम्पनी छनोट
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सवा ७ करोड रुपैयाँभन्दा बढीको नेटवर्क र सुरक्षासम्बन्धी उपकरण खरिद गर्ने भएको छ । बैंकले ७ करोड २८ लाख ७८ हजार ९४२ रुपैयाँ बराबरको नेटवर्क एण्ड रिलेटेड इक्विपमेन्ट फायर वाल तथा राउटर, स्वीचहरू र कोर फायर वाल खरिद गर्न लागेको हो । नेटवर्क तथा सुरक्षा उपकरणको खरिद, आपूर्ति तथा सञ्चालनका लागि बैंकले विभिन्न दुईवटा कम्पनीलाई छनोट गरेको छ । बैंकका अनुसार फायर वाल तथा राउटर र कोर फायर वाल खरिद, आपूर्ति तथा सञ्चालनका लागि डिजिटल नेटवर्क सोलुसन प्रालिलाई छनोट गरेको छ भने स्वीचहरूका लागि ग्रन्थ नेटवर्क्स प्रालिलाई छनोट गरेको छ । डिजिटल नेटवर्क सोलुसन प्रालिले ५ करोड ४५ लाख ८० हजार २५४ रुपैयाँमा फायर वाल तथा राउटर र कोर फायर वाल सञ्चालन गरिदिनेछ भने ग्रन्थ नेटवर्क्स १ करोड ८२ लाख ९८ हजार ६८८ रुपैयाँमा स्वीचहरू उपलब्ध गराउनेछ । बैंकका अनुसार उक्त सामानहरू खरिदका लागि ७ वटा बोलपत्र परेका परेका थिए । तीमध्ये डिजिटल नेटवर्क र ग्रन्थ नेटवर्क्सको न्यूनतम् मूल्याङ्कन भएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) बमोजिम छनोट गरिएको बैंकले जनाएको छ ।
घरबीमा गर्न कर्णालीको अग्रसरता, अरु प्रदेशमा छैन पहल
काठमाडौं । कर्णाली प्रदेश सरकारले विगत केही वर्षयता बीमा प्राधिकरण, बीमा कम्पनीहरू र स्थानीय तहहरूसँग सहकार्य गर्दै घर बीमा अभियानलाई निरन्तरता दिँदै आएको छ । कर्णालीका केही स्थानीय तहहरूले पनि अनुदानसहित घर बीमा कार्यक्रम अगाडि बढाइरहेका छन् । यस क्षेत्रमा कर्णाली अग्रणी देखिएको छ । चालु आवमा कर्णाली प्रदेश सरकारले विपद् जोखिममा रहेका नागरिकका लागि ‘घरबीमा कार्यक्रम’ कार्यान्वयनमा ल्याइसकेको छ । प्रदेश सरकारले पहिलो चरणमा १५ स्थानीय तहका १६ हजारभन्दा बढी घरहरूको बीमा गरिसकेको छ । जसका लागि प्रदेश सरकारले करिब ९८ लाख २४ हजार रुपैयाँ प्रिमियम भुक्तानी गरेको छ। प्रदेशले ‘घरबीमा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८१’ स्वीकृत गरी यो कार्यक्रम लागू गरेको हो । प्रदेशले चालु आव २०८२/८३ को घरबीमा कार्यक्रमलाई निरन्तरता दिँदै ३ करोड ५० लाख रुपैयाँ विनियोजनसमेत गरिएको छ । कर्णाली प्रदेशले विपद् जोखिममा आधारित रहेर घरबीमालाई प्राथामिकताका साथ अगाडि बढाइरहँदा त्यसैको सिको गर्दै केही प्रदेशले घरबीमा कार्यक्रमलाई अगाडि बढाउने तयारी गरेका छन्, छलफल अगाडि बढाएका छन् । तर घरबीमा सम्बन्धमा बागमती, लुम्बिनी, गण्डकीलगायतका प्रदेशमा भने हालसम्म ठोस पहलकदामी देखिएको छैन । मधेशमा सुरुवात मधेश प्रदेश सरकारले घरबीमा कार्यक्रमको सुरुवात गरेको छ । प्रदेश सरकारले निम्न आय भएका वर्गलाई लक्षित गरी १ लाख देखि पाँच लाख रुपैयाँसम्मको घरबीमा कार्यक्रम लागू गर्ने निर्णय भएको बीमा प्राधिकरण मधेश प्रदेशका कायम मुकायम प्रमुख शिवप्रसाद खनालले बताए । उनका अनुसार घरबीमा कार्यक्रम सुरु गर्ने भनिएपनि कसरी र कति घरको गर्ने भन्ने विषयमा भने प्रदेशले बीमा कम्पनीहरूसँग छलफल गरिरहेको छ । यस्तै, घरबीमा सम्बन्धमा प्राधिकरणले स्थानीय पालिकाहरूसँग पनि समन्वय गर्दै आइरहेको खनालले जानकारी दिए । मधेश प्रदेशले चालु आवको लागि बीमाकै लागि भनेर बजेट छुट्याएको छैन । यद्यपि बीमाको बारेमा चासो भने दिन थालेको उनको भनाइ छ । सुदूरपश्चिममा छलफल र पहलको चरणमा सुदूरपश्चिम प्रदेश सरकारले विपद् व्यवस्थापन र घरबीमा कार्यक्रमलाई अगाडि बढाउन पहल थालेको छ, तर कार्यक्रमले अझै ठोस रूप लिइसकेको छैन । प्रदेशमा बसोबास गर्ने निम्न आय भएका वर्गको घर बीमा गर्ने कार्यक्रम सञ्चालन गर्नका लागि बीमा प्राधिकरणको प्रादेशिक कार्यालयले प्रदेश सरकारसँग छलफल गरेको नेपाल बीमा प्राधिकरण सुदुपश्चिम प्रदेश प्रमुख केदारनाथ भट्ट्ले जानकारी दिए । ‘प्राविधिक रूपमै प्रदेशमा घरबीमा कार्यक्रम कसरी सुरु गर्न सकिन्छ भनेर गएको वैशाखमा मूख्यमन्त्रीसँग भेटेर छलफल गरे,’ प्रमुख भट्टले भने । कर्णाली प्रदेशमा घरबीमाको जुन खालको अभ्यास छ त्यसैलाई आधार मानेर त्यस्तै खालको पोलिसी डिजाइन गरेर अवधारणापत्र तयार पारेको उनले बताए । प्रमुख भट्टका अनुसार बीमा प्राधिकरण प्रादेशिक कार्यालयले घरबीमासम्बन्धी पोलिसी ड्राप्ट गरेर प्रदेश सरकारलाई बुझाइसकेको छ । सुदूरपश्चिम प्रदेशले चालु आव २०८२/८३ को बजेटमार्फत विपद् व्यवस्थापनका लागि भनेर एक करोड रुपैयाँ बजेट छुट्याएको छ । तर घरबीमा कार्यक्रमकै लागि भनेर भने बजेट विनियोजन गरेको छैन । घरबीमा पनि विपद् जोखिम व्यवस्थापनभित्रै पर्ने हुँदा प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त बजेटबाट व्यवस्थापन गर्न सक्ने अवस्था भने छ । घरबीमाको लागि प्रदेश सरकारले नै प्राथमिकता दिनुपर्ने प्रमुख भट्ट बताउँछन् । ‘घरबीमाको लागि भनेर सरकारले कार्यक्रम नै त ल्याएको छैन तर सरकार यस सम्बन्धमा सरकार सकारात्मक छ भन्ने हामीले बुझेका छौं,’ उनले भने, ‘हामीले गर्नुपर्ने पहल गरिरहेको छौं तर यसमा इनिसेसन सरकारले नै लिनुपर्छ ।’ बागमतीमा अध्ययनकै चरणमा बीमा कम्पनीहरूको सबैभन्दा धेरै व्यवसाय आर्जन हुने र सुविधाको हिसाबले पनि सम्पन्न मानिने बागमती प्रदेशमा घरबीमा सम्बन्धी कुनै कार्यक्रम सुरु गरिएको पाइँदैन । बागमती प्रदेश आन्तारिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रविता कार्कीका अनुसार घरबीमासम्बन्धी प्रदेशले भने चासोको रूपमा लिन थालेको छ । घरबीमा सम्बन्धमा पछिल्लो समय प्रदेश सरकारले अध्ययन गरिरहेको र अहिले अध्ययनकै चरणमा रहेको उनले बताइन् । अध्ययनपछि घरबीमा गर्नुपर्ने आवश्यकता देखिएमा त्यसकै आधारमा कार्यक्रम अगाडि बढाउने योजना रहेको उनले जानकारी दिइन् । गण्डकीमा छैन कुनै तयारी गण्डकी प्रदेश सरकारले चालु आवको नीति तथा कार्यक्रममा कर्मचारीहरूको स्वास्थ्यबीमा र दुर्घटनाबीमाको विषयलाई समेट्ने प्रयास गरेको छ । नीति तथा कार्यक्रममा लक्षित वर्गलाई स्वास्थ्यबीमा, निःशुल्क रगत, क्यान्सर रोगीलाई आर्थिक सहायता जस्ता सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिने गरिएको भएपनि घर वा अन्य सम्पत्तिको बीमाबारे कुनै विशेष कार्यक्रम घोषणा गरेको देखिँदैन । हालसम्म नागरिकका घर तथा सम्पत्तिको बीमा गर्ने कुनै विशेष कार्यक्रम सञ्चालनमा आएको छैन । सम्पत्तिबीमाअर्न्तगत घर बीमाको महसुुस गरी बीमा प्राधिकरण प्रादेशिक कार्यालयले छलफल अगाडि बढाए पनि प्रदेश सरकारले यस विषयमा ठोस निर्णय लिन नसकेको बीमा प्राधिकरण प्रादेशिक प्रमुख शम्भुप्रसाद मिश्रले बताए । यसका लागि प्राधिकरणको तर्फबाट अथक प्रयास जारी रहेको उनको भनाइ छ । लुम्बिनी र कोशीमा पनि छैन कुनै पहल लुम्बिनी प्रदेशले हालसम्म घरबीमासम्बन्धी कुनै विशेष निर्णय वा कार्यक्रम ल्याएको छैन । बीमा प्राधिकरण गण्डकी प्रदेशका सहायक प्रथम बलराम गिरीका अनुसार एउटा गाउँपालिकाले भने नयाँ आर्थिक वर्षदेखि विपन्न परिवारहरूको घर बीमा गरिदिने कार्यक्रम सुरु गरेको छ । उक्त गाउँपालिकाले विपन्न वर्ग परिवार पहिचान गरी बीमा गरिदिने प्रक्रिया सुरु गरिसकेको उनले बताए । यसबाहेक प्रदेश सरकारले घर बीमा सम्बन्धमा प्राधिकरण, बीमा कम्पनीहरूसँग कुनै विशेष समन्वय वा पहल नगरेको उनको भनाइ छ । कोशी प्रदेशमा पनि प्रदेश सरकारले घरबीमा सम्बन्धी त्यस्तो कुनै कार्यक्रम ल्याएको छैन । प्रदेश सरकारले विपद् व्यवस्थापन शीर्षकमा बजेट छुट्याएको छ तर घर बीमा सम्बन्धमा भने कसरी जाने भनेर छलफलकै चरणमा रहेको कोशी प्रदेश विपद् व्यवस्थापन शाखाका फोकल पर्सन शोभानन्द भट्टराईले जानकारी दिए । उनका अनुसार प्रदेशले घर बीमासम्बन्धी कार्यविधि बनाइसकेको छ । ‘घरबीमासम्बन्धमा कार्यविधि बनेको छ, तर कसरी जाने भन्ने विषय छलफलकै चरणमा छ,’ उनले भने । विपद् व्यवस्थापन बजेटको चुनौती नेपालमा विपद् व्यवस्थापनका लागि बजेटको अभाव एक प्रमुख चुनौतीको रूपमा रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्वतयारी र व्यवस्थापनका लागि आवश्यक बजेट उपलब्ध हुन सकेको छैन । प्राधिकरणले माग गरेअनुसार सरकारले बजेट उपलब्ध गराउन नसक्दा काम गर्न गार्हो भइरहेको छ । आर्थिक स्रोतको अभाव सबैभन्दा ठूलो चुनौती देखिन्छ ।
अमेरिकी करले इटालीको बारोलो वाइन उद्योग संकटमा
काठमाडौं । उत्तरी इटालीको बारोलो वाइन क्षेत्रमा नेब्बिओलो अंगुर पाक्ने समय नजिकिँदै गर्दा, संयुक्त राज्य अमेरिकाले इटालियन वाइनमाथि लगाएको १५ प्रतिशत नयाँ करले वाइन निर्माताहरूलाई संकटमा पारेको छ । यो क्षेत्रको सबैभन्दा ठूलो निर्यात बजार अमेरिकामा गत वर्ष २ अर्ब युरो (लगभग २.३ अर्ब डलर) को वाइन बिक्री भएको थियो, तर नयाँ करले व्यापारमा अनिश्चितता ल्याएको छ । ला मोर्रास्थित डोसियो भिग्नेटी वाइनरीमा हजारौं बोतल वाइन, अमेरिकी ग्राहकहरूले महिनौंअघि अर्डर गरेका, डेलिभरी हुन नसकेर भण्डारणमा थुप्रिएका छन् । वाइनरीका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक फ्रान्सेस्को डाभिकोले भने, 'राष्ट्रपति ट्रम्पको बारम्बार बदलिने नीतिले अमेरिकी ग्राहकहरू अर्डर लिन र भुक्तानी गर्न हिचकिचाइरहेका छन् । बजार अझै अप्रत्याशित छ ।' सेरालुंगा डी’आल्बाका गुइडो पोरो वाइनरीका प्रमुख फाबियो पोरोले मूल्य वृद्धि गर्न नचाहे पनि करको बोझले ग्राहकहरूले कम वाइन किन्ने जोखिम रहेको बताए । 'हामी वाइन बनाउने भएकाले बढी प्रभावित छौं,' उनले भने । बारोलो क्षेत्रका पर्यटन व्यवसायी सर्जियो बेनेडेटोले अमेरिकी बजारमा निर्भर हुनु जोखिमपूर्ण भएको भन्दै वैकल्पिक बजार खोज्नुपर्ने सुझाव दिए । इटालियन वाइन उद्योग संगठन फेडेरभिनीका अनुसार, अमेरिका इटालियन वाइनको सबैभन्दा ठूलो बजार हो, र यो करले समग्र निर्यातमा ठूलो असर पार्न सक्छ ।
बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हुरीबतास चल्ने
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेसलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागमा हुरीबतासको पनि सम्भावना छ । त्यसैगरी, आज राति मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका केही स्थान र बाँकी तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपाली सेनाको व्यवस्थापनमा राष्ट्रिय करिडोर सडक आयोजनामा शतप्रतिशत प्रगति
काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनामा वार्षिक लक्ष्यअनुसार शतप्रतिशत प्रगति हासिल भएको रक्षा मन्त्रालयले जनाएको छ । यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, राष्ट्रिय चुरे–तराईरमधेस संरक्षण र बङ्कर टु व्यारेक कार्यक्रममा पनि सोहीअनुसार नतिजा प्राप्त भएको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक महत्वको ‘काठमाडौँ–तराईरमधेस द्रूतमार्ग सडक आयोजना’को प्रगति भने उक्त आर्थिक वर्षमा ६७ दशमलव ५ मा सीमित भएको छ । दु्रत मार्गको प्रस्थान विन्दुदेखि ६।५ किमीसम्म पर्ने प्याकेज नं ११ मा जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको तथा प्रस्थान विन्दु र सवारी अवागमन सम्बन्धमा निर्णय नहुँदा आयोजनाको भौतिकतर्फ वार्षिक लक्ष्य प्राप्त हुन नसकिएको मन्त्रालयले जनाएको छ । कोशी करिडोरअन्तर्गत खाँदबारी–किमाथाङ्का (च्याम्ताङ्ग–घोङ्घप्पा) सडक आयोजनाअन्तर्गत १० दशमलव ५१, कर्णाली करिडोरको (घाटपारीचौर–बद्रिगाउँ–भुक्काखोला) सडक आयोजनाको दुई दशमलव पाँच र लाँलीबगर–दुल्लीकुनाको ११ किलोमिटर सडकको ट्रयाक खोलिसकिएको छ । कर्णाली करिडोरको बोक्चे गौडा र भीर गौडामा दुईरदुई सय मिटर तथा याङ्चु भीरमा ४०० चार सय मिटर लम्बाइको सडक निर्माण र खार्पुनाथस्थित चुवाखोलामा बेलिब्रृज निर्माण सम्पन्न भएको छ । यस्तै बेनीघाट–आरुघाट–लार्केभञ्जयाङ् सडक आयोजनामा दुई दशमलव पाँच किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ । सोही सडक खण्डको तातोापनी भीरमा सडक चौडा पार्ने कार्य पनि लक्ष्यअनुसार सम्पन्न भएको मन्त्रालयले जनाएको छ । महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडक आयोजनाअन्तर्गत गत आवसम्ममा १७ दशमलव ५ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ । गत आवमा सो सडकमा एक दशमलव आठ किलोमिटत नयाँ ट्रयाक निर्माण र एक दशमलव दुई किलोमिटर ट्रयाक स्तरोन्नति गर्ने वार्षिक लक्ष्य लिएको थियो । यस्तै दार्चुला–टिङ्कर सडकखण्डमा दुई दशमवल तीन किलोमिटर नयाँ ट्रयाक निर्माण भएका मन्त्रालयले जनाएको छ । भौगोलिक कठिनाइ भएका स्थानमा सडक पूर्वाधार निर्माणमा संलग्न नेपाली सेनाका एक सय आठ सकल दर्जाले वीरगती प्राप्त गरेका छन् । निर्माण सम्पन्न भएका त्रिशुली–सोमदाङ सडक आयोजनामा १२, कटारी–ओलखढुङ्गा सात, बेनी–जोमसोम १८, कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला) ६२, नाग्मा–गमगढी एक, बेशिसहर–चामे तीन र जाजरकोट–डोल्पा एक गरी एक सय चार जनाले वीरगती प्राप्त गरेका छन् । ती सडक आयोजना निर्माणका क्रममा गैरसैनिकतर्फ २४ जनाले ज्यान गुमाएका छन् । हाल निर्माणाधीन सडक आयोजनातर्फ कर्णाली करिडोरमा चार जना सैनिक र निर्माणाधीन विभिन्न सडक आयोजनामा २८ जना गैर सैनिकको क्षति भएको छ । बङ्करदेखि व्यारेक कार्यक्रमअन्तर्गत गत आवमा विभिन्न ७३ वटा संरचना निर्माण भएका छन् । सोही कार्यक्रमअन्तर्गत एक हजार नौ सय ९५ संरचना निर्माण गर्न बाँकी रहेको सेनाले जनाएको छ । यस्तै रणनीतिक महत्वको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माणमा पनि गत आवमा शतप्रतिशत सफलता प्राप्त भएको वार्षिक प्रगतिमा उल्लेख छ । विश्वविद्यालयको भौतिक संरचनाको निर्माणलाई निरन्तरता दिने लक्ष्य राखिएको आयोजनाको समष्टिगत भौतिक प्रगति ७४ दशमवल ०४ प्रतिशत र वित्तीय प्रगति ७४ दशमलव ०२ प्रतिशत रहेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा निर्माण भइरहेको उक्त विश्वविद्यालयको भौतिक पूर्वाधार, कानुन र पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको छ । प्रकृति संरक्षण कार्यमा पनि नेपाली सेनाले असरदार भूमिका निर्वाह गर्दै आएको छ । सोही क्रममा उक्त आर्थिक वर्षमा दुई लाख ५४ हजार एक सय ३३ पट्रोल, ३७ हजार आठ सय ६७ एम्बुस, नौ हजार दुई सय २४ आकस्मिक छड्केलगायतका गतिविधि सञ्चालित गरिएको मन्त्रालयको वार्षिक प्रगति विवरणमा उल्लेख छ । प्रकृति संरक्षणको सिलसिलामा हालसम्म एक सय १६ सैनिकले आफ्नो ज्यान गुमाएका छन् । बेरुजु फछ्र्योट लक्ष्यभन्दा माथि आर्थिक वर्ष २०८१/८२ मा रक्षा मन्त्रालयतर्फ तीन अर्ब ४५ करोड ८३ लाख ४० हजार बेरुजु रहेकामा त्यसको ६१ दशमलव ३९ प्रतिशत फछ्र्योट भएको मन्त्रालयले जनाएको छ । सो वर्ष ६० प्रतिशत बेरुजु फछ्र्योट गर्ने लक्ष्य राखिएको थियो । रासस
नाडा अटो शो २०२५ ले तोड्यो रेकर्ड, ४ दिनमै एक लाखभन्दा बढी अवलोकनकर्ता
काठमाडौं । नाडा अटो शो २०२५ ले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शो सुरु भएको चार दिनमै १ लाख ४ हजार ३४७ दर्शकले अवलोकन गरिसकेका छन् । यसले नेपाली जनतामा अटोमोबाइल प्रविधिप्रतिको चासो र उत्सुकता उच्च रहेको प्रष्ट पारेको छ । यसपटकको अटो शो अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्च राजनीतिक नेतृत्व उपस्थित भएका थिए । यस्तै, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना र नेपाल प्रहरीका उच्च अधिकारी, पूर्व गभर्नर, बैंक तथा वित्तीय संस्थाका शीर्ष व्यक्तिहरू, उद्योगी–व्यवसायी, खेलकुद क्षेत्रका प्रतिनिधि तथा महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सबित्रा भण्डारीसम्मले समेत अटो शोको अवलोकन गरेका छन् । अन्तर्राष्ट्रिय स्तरबाट पनि सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चर्स (सियाम) र अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चर्स एसोसिएशनका प्रतिनिधिहरूले अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षले यस सफलतालाई नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउनको लागि नयाँ प्रेरणा भएको बताए । नाडाले यो अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव बनेको जनाएको छ ।