सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ५ हजार ३ सयमा कारोबार

काठमाडौं । सुनको मूल्य लगातार बढेर नयाँ–नयाँ रेकर्ड कायम गर्न थालेको छ । प्रतितोला २ लाख नाघेपछि मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भएकाे थियाे । सोमबार फेरि २ हजार बढेर प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ। आइतबार प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर २ हजार ४७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

पूर्वीनाका काँकरभिट्टाबाट साउन महिनामा एक अर्ब २३ करोडको कृषि जन्यवस्तु निर्यात

झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/ ८३ को साउन महिनामा रु एक अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु ३७ करोड ९८ लाख ६८ हजार, अलैँची रु ३२ करोड ४३ लाख २१ हजार, प्लाइ तथा भेनियर रु २६ करोड ८७ लाख, अम्लिसो रु आठ करोड ८७ लाख मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु छ करोड १० लाख, बन्दा रु चार करोड सात लाख, मसुरो दाल रु दुई करोड १३ लाख मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी थापाका अनुसार सोही अवधीमा पूर्वी नाकाबाट रु एक अर्व ६९ करोड १७ लाख ५२ हजार मूल्य बराबरको कृषिजन्य मालबस्तु आयात भएको छ । आयत हुने मुख्य कृषिजन्य बस्तुहरुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।

तारागाउँ रिजेन्सीले सच्यायो त्रुटी, कर पछिको नाफा ४६ करोड ८५ लाख रुपैयाँ

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले आफ्नो त्रुटी सच्याएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय प्रतिवेदनमा भएको त्रुटी सच्याएको हो ।  कम्पनीको कर पछिको नाफा ४६ करोड ८५ लाख ७६ हजार ३३४ रुपैयाँ हुनुपर्ने हो । तर, यसअघि सार्वजनिक गरेको तथ्याङ्कमा ५१ करोड ५४ लाख ३३ हजार ९६७ रुपैयाँ उल्लेख गरेको थियो ।  सच्याइएको तथ्याङ्क अनुसार कम्पनीको नाफा ९.५८ प्रतिशत अर्थात् ४ करोड ९६ लाख ९२ हजार रुपैयाँ घटेको छ । अघिल्लो वर्ष कम्पनीले ५१ करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा वर्षमा कम्पनीको सञ्चालन आम्दानी १.६८ प्रतिशत बढेर १ अर्ब ५२ करोड १६ लाख ४९ हजार रुपैयाँ, अन्य आम्दानी ११.४१ प्रतिशत घटेर २१ करोड ४३ लाख ७ हजार रुपैयाँ र कुल आम्दानी ०.१३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ५९ लाख ५६ हजार रुपैयाँ गरेको छ ।  यस्तै, गत वर्ष कम्पनीको प्रशासनिक खर्च ९.२३ प्रतिशत बढेर २४ करोड ७२ लाख ९० हजार रुपैयाँ गरेको छ ।  समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ र जगेडा कोष ३२.२५ प्रतिशत बढेर १ अर्ब २० करोड ९६ लाख ८६ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २६.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.०२ गुणा छ ।

एनआईसी एशिया बैंकको 'साथी घर कर्जा योजना' सार्वजनिक, ३ करोडसम्म कर्जा सुविधा

काठमाडौं । एनआईसी एशिया बैंकले घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, पुनःनिर्माण र घडेरी खरिद गर्न सक्ने उद्देश्यसहित नयाँ घर कर्जा योजना सार्वजनिक गरेको छ ।  'एनआईसी एशिया साथी घर कर्जा' नाम दिइएको यस योजनाअन्तर्गत ग्राहकले न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोड रुपैयाँसम्मको कर्जा सहज प्रक्रियाबाट प्राप्त गर्न सक्नेछन्। ‘सपना तपाईंको, साथ हाम्रो' भन्ने नारासहित सार्वजनिक गरिएको यो योजना आकर्षक ब्याजदर र अन्य सेवासहित उपलब्ध हुनेछ । यस कर्जाको अवधि अधिकतम २५ वर्ष रहने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकलाई अधिकतम ८० प्रतिशतसम्म धितो सुरक्षणको आधारमा कर्जा उपलब्ध हुनेछ भने अन्य अवस्थामा अधिकतम ७० प्रतिशतसम्मको धितो सुरक्षणअनुसार कर्जा प्रदान गरिनेछ ।  

डेल्टा अटोकर्पको फेस्टिभ अफरमा १० लाख नगद र थाइल्याण्ड भ्रमणको अवसर

काठमाडौं । नेपालका लागि भेस्पा–एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्पले दशैं, तिहार तथा छठ पर्वको अवसरमा 'डबल या तेब्बर बबाल' फेस्टिभ अफर सार्वजनिक गरेको छ । नेपालीहरूको महान पर्वलाई अझ उत्साहपूर्ण बनाउन ल्याइएको यस अफर अन्तर्गत भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत आकर्षक नगद पाउनेछन् । कार्डमा दिइएको क्युआर कोड स्क्यान गरी जितिएको रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिने कम्पनीले जनाएको छ । यससँगै, हरेक हप्ताको लक्की ड्रमार्फत ग्राहकले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउनेछन् । बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली ग्राहकले रु। १० लाख नगद प्राप्त गर्ने विशेष मौका पाउनेछन् । त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ४० हजार रुपैयाँ मूल्याङ्कन पाउने र स्क्र्याच कार्डमार्फत थप १ लाख ५० हजारसम्म लाभ लिन सकिनेछ । ४.९९ प्रतिशत ब्याजदरमा इएमआइ सुविधा र शून्य सेवा शुल्कसहितका फाइनान्स सुविधाहरू पनि उपलब्ध छन् । अफर नेपालभरका सबै भेस्पा–एप्रिलिया शोरूममा लागू हुने कम्पनीले जनाएको छ । योजनाबारे जानकारी दिँदै डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, 'ग्राहकहरूलाई हरेक वर्ष नयाँ अनुभव र लाभ दिलाउने हाम्रो प्रयास हो । ‘डबल या ट्रिपल बबाल’ अफरले यसपटकको पर्वलाई थप रोचक र यादगार बनाउनेमा हामी विश्वास गर्छौं ।'

खराब कर्जाभन्दा तरलता खतरा, १५ प्रतिशत रकम बैंकमै थुप्रियो

काठमाडौं । ‘विगत डेढ वर्षदेखि तरलता सहज छ । अहिलेको अवस्थामा बैंकहरूसँग पैसा नै पैसा छ । नेपाल राष्ट्र बैंकको व्यवस्थाबमोजिम कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न सकिन्छ । तर, अहिले ७५/७६ प्रतिशत हाराहारीमा सीडी रेसियो छ । अझै १५ प्रतिशत थप लगानी गर्न सक्ने अवस्थामा बैंकहरू छन् । तरलताका आधारमा बैंकहरू धेरै सहज अवस्थामा छन्,’ एक बैंकरले विकासन्युजसँग भने । तर, तरलता धेरै हुँदा बैंकलाई तत्काल ढाल्ने खतरासमेत रहेको उनको भनाइ छ । बैंकका लागि खराब कर्जा (एनपीएल) भन्दा पनि तरलता धेरै खतरा रहेको उनले बताए । ‘एनपीए स्लो पोइजन हो बैंकको लागि । एनपीएले तुरुन्तै ढाल्दैन बैंकलाई । तर, लिक्विडीटीले तुरुन्तै ढाल्छ बैंकलाई । त्यो भनेको किलर नै हो । यो दिन दिनैको दबाब पनि हो,’ ती बैंकरले भने, ‘भोलि गएर लिक्विडीटीका कारण निक्षेपकर्ताले पैसा निकाल्न आउन थाले भने बैंक मर्छ ।’ उनका अनुसार कुनै समयमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको एनपीएल ६० प्रतिशतसम्म पुगेको थियो । तर, क्यासफ्लोले बैंक चलिरहेका थिए । कर्जा प्रवाह नहुँदा नयाँ योजना तत्काल केही पनि नरहेको उनले बताए । ‘कुल ऋणको ५०/६० प्रतिशत कर्जा डिफल्ट हुँदा पनि बैंक चलेको थियो । डिटोरेड भएर कस्टमरलाई प्यानिक क्रेट हुने र विथ ड्र भएको थियो भने बैंक तुरुन्तै मर्थ्यो,’ उनले भने, ‘तर, बैंकको आफ्नो क्यासफ्लो चलिरहेको थियो । साथै फाइनान्सियल सुधारमा राष्ट्र बैंक गयो र घरजग्गा क्षेत्रमा पनि सुधार आएपछि सहज भयो ।’ गत असारसम्ममा वाणिज्य बैंकको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७५.९९ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको असारको तुलनामा ३.५४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असारमा बैंकहरुको औसत सीडी रेसियो ७८.७८ प्रतिशत बिन्दु थियो । समीक्षा वर्षमा सबैभन्दा कम सीडी रेसियो राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । बैंकको सीडी रेसियो ६२.३९ प्रतिशत बिन्दुमा छ । जुन अघिल्लो वर्षको तुलनामा २.५८ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकको सीडी रेसियो ६०.८२ प्रतिशत थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले सीडी रेसियो मेन्टेन गरेको देखिन्छ ।  तर, गत वर्ष कृषि विकास बैंकको सीडी रेसियो घटेको छ । बैंकको सीडी रेसियो ११.७२ प्रतिशत घटेर ६८.६८ प्रतिशत बिन्दुमा झरेको छ । अघिल्लो वर्षको असारमा बैंकको सीडी रेसियो ७७.८ प्रतिशत बिन्दु थियो ।  समीक्षा वर्षमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९.५६ प्रतिशत घटेर ६९.४८ प्रतिशत बिन्दु, एनआईसी एशिया बैंकको ७.१८ प्रतिशत घटेर ७३.९७ प्रतिशत बिन्दु, कुमारी बैंकको ७.०५ प्रतिशत घटेर ७५.७३ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ६.०३ प्रतिशत घटेर ७४.४४ प्रतिशत बिन्दु, लक्ष्मी सनराइज बैंकको ५.४९ प्रतिशत घटेर ७७.१५ प्रतिशत बिन्दुमा सीडी रेसियो रहेको छ ।  यस्तै, प्रभु बैंकको ५.१९ प्रतिशत घटेर ७०.७८ प्रतिशत बिन्दु, नेपाल एसबिआई बैंकको ४.८४ प्रतिशत घटेर ७०.७५ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको ३.४९ प्रतिशत घटेर ७७.४८ प्रतिशत बिन्दु, प्राइम बैंकको ३.२५ प्रतिशत घटेर ८३.३९ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको ३.२४ प्रतिशत घटेर ८०.६२ प्रतिशत बिन्दुमा सीडी रेसियो छ ।  यस्तै, नेपाल बैंकको ३.११ प्रतिशत घटेर ७०.७२ प्रतिशत बिन्दु, हिमालयन बैंकको २.४२ प्रतिशत घटेर ८१.३५ प्रतिशत बिन्दु, नबिल बैंकको १.३३ प्रतिशत घटेर ८२.४८ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको ०.३१ प्रतिशत घटेर ७६.९२ प्रतिशत बिन्दुमा सीडी रेसियो कायम राखेका छन् ।  गत वर्ष सानिमा बैंकको ०.६२ प्रतिशत बढेर ८१.०३ प्रतिशत बिन्दु, एनएमबि बैंकको ०.५० प्रतिशत बढेर ८४.३३ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ०.२६ प्रतिशत बढेर ७६.०७ प्रतिशत बिन्दु र सिटिजन्स बैंकको ०.१२ प्रतिशत बढेर ८१.९४ प्रतिशत बिन्दुमा सीडी रेसियो कायम राखेका छन् । पूर्वबैंकर अनलराज भट्टराईका अनुसार सीडी रेसियोका कारण बैंकलाई केही समस्या हुँदैन । अहिले अधिकांश बैंकको सीडी रेसियो ७० प्रतिशतभन्दा तल रहेकाले कर्जा दिन सहज रहेको उनको भनाइ छ । ‘विगतमा केही समय टाइट थियो । तत्कालीन समयमा सीसीडी रेसियो थियो । क्यापिटल पनि जोड्न पाउँथ्यो । तर, पछि क्यापिटल हटाएर निक्षेप र कर्जा मात्रैको अनुपात राखियो । सामान्यतया कतिपय देशमा तरलता अनुपात मात्रै राख्छन् । सीडी रेसियो राख्दैनन् । धेरै जसो देशमा सीडी रेसियो छैन । त्यहाँ लिक्विडीटी रेसियो राख्ने गरिएको छ,’ उनले भने, ‘हामीकहाँ २० प्रतिशत लिक्विडीटी राख्नैपर्ने हुन्छ । त्यसमा पनि स्ट्रेस स्ट्रेस टेस्टिङ गरेर लिक्विडीटी मेन्टेन गर्ने गर्नुपर्ने हुन्छ । सीडी रेसियो नभएपनि हुन्छ ।’ भट्टराईका अनुसार स्ट्रेस टेस्टिङमा यदि १० वटा ठूला निक्षेपकर्ताले एकैपटक निक्षेप तान्यो भने बैंकलाई समस्या आउँछ । नेपालमा ठूला निक्षेपकर्ता भनेका सरकारी संस्थाहरू भएकाले उनीहरूले एक बैंकबाट निक्षेप झिकेर अर्काे बैंकमा राख्ने भएकाले खासै समस्या नहुने उनको भनाइ छ ।  ‘आर्मी, प्रहरी कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा कम्पनी, सामाजिक सुरक्षा कोष लगायतको निक्षेप धेरै छ । उनीहरुले लगानी गरेपनि एउटा बैंकबाट निकालेर अर्काे बैंकमा जाने हो । बैंकिङ प्रणालीबाट बाहिर जाँदैन । किनभने हाम्रोमा डेब्थ मार्केट बलियो छैन । ऋणपत्र व्यापार पनि ठूलो भएको भए बैंकिङ क्षेत्रबाट त्यो रकम झिकेर बाहिर जान्थ्यो । यदि त्यो रकम डेब्थ मार्केटमा नै गयो भनेपनि जसले त्यो ऋण उठायो उसले त्यो रकम ल्याएर बैंकमा नै राख्ने हो,’ उनले भने । नेपाल सरकारले ऋण उठाउँदा बैंकलाई १० प्रतिशत किन्नै पर्ने व्यवस्था गरेको छ । यदि ठूला निक्षेपकर्तालाई पनि १०/२० प्रतिशत किन्नै पर्ने बाध्यात्मक अवस्था गर्‍यो भने समस्या हुन सक्ने उनले बताए । राष्ट्र बैंकको टार्गेट ६/७ खर्ब कर्जा बढाउने भएकाले अझै ३० खर्ब रुपैयाँ तरलता रहेको उनले बताए । ‘सरकारलाई स्रोत पुगेन, पैसा उठाउनुपर्ने अवस्था आयो भने बैंकलाई जस्तो निक्षेपकर्ता संस्थालाई अनिवार्य गर्याे भने त्यो पैसा राष्ट्र बैंकमा जान्छ र त्यतिबेला लिक्विडीटी समस्या आउँछ,’ भट्टराईले भने, ‘अरू लगानीका क्षेत्र नभएपछि बैंकले पनि केही गर्न सक्दैनन् । त्यसैले तत्काल निक्षेपकर्ताकर्ता डराउनुपर्ने अवस्था छैन । कुनै एउटा बैंकलाई दबाब होला । तर, तरलताबाट बैंकलाई दबाब हुने अवस्था छैन । अझै १/२ वर्ष दबाब रहँदैन ।’ सीडी रेसियोमा अधिकतम सीमा तोकिएपनि न्यूनतम सीमाको अभ्यास नरहेको उनले बताए । सीडी रेसियो भनेको कर्जा कति दिन सक्ने भन्ने मात्रै भएकाले बैंक आफैले न्यूनतम सीमा राखेर व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । तर, निक्षेप धेरै हुँदा लागत बढी हुने भएकाले बैंकको ब्याज खर्च बढ्ने उनले बताए । राष्ट्र बैंकका अनुसार सीडी रेसियो तरलता व्यवस्थापन गर्न जारी गरिएको एक उपकरण हो । कहिलेकाहीँ निक्षेपकर्ताले बढी पैसा मागे भने बैंकसँग पैसा नहुँदा अप्ठेरो स्थिति आउन सक्ने र ९० प्रतिशतभन्दा बढी कर्जा दिँदा बैंकका लागि नै जोखिम हुने भएकाले अधिकतम सीडी रेसियो तोकिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ‘कुनै समय ८० प्रतिशतसम्म पनि सीडी रेसियो थियो । अहिले तरलता सहज भएकाले ९० प्रतिशत पुर्याइएको हो । कहिलेकाहीँ कुनै बैंकलाई अप्ठ्यारो पर्दा अर्काे बैंकबाट पनि सापटी लिएर काम चलाउन सकिन्छ । किनभने बैंकिङ प्रणाली विश्वासमा चल्ने हो,’ राष्ट्र बैंकका अधिकारीले भने, ‘निक्षेपकर्ताले पैसा मागेको बेलामा पाएनन् भने त्यो विश्वास गुम्छ । त्यतिबेला पैसा पाएनन् भने बैंक धराशायी हुन्छ । यो धेरै संवेदनशील विषय भएकाले तत्कालका लागि सीडी रेसियो ९० प्रतिशत राम्रो नै हो ।’  न्यूनतम सीमा भने बैंक आफैंले व्यवस्थापन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । धेरै तरलता हुँदा बैंकको लागत बढ्ने र त्यसको असर नाफामा पर्ने उनको भनाइ छ । ‘अधिकतम सीडी रेसियो राष्ट्र बैंकले तोकेको छ । तर, न्यूनतम सीमा भने बैंक आफैंले व्यवस्थापन गर्नुपर्छ । आफूलाई कति तरलता चाहिने हो भनेर बैंक आफैंले सोचेर लगानी गर्ने हो । सबै विषय राष्ट्र बैंकले तोकेर मात्रै हुँदैन । राष्ट्र बैंकले तोक्ने, कानुन बनाउने निर्देशन जारी गर्ने भन्दा पनि सम्बन्धित बैंकलाई जिम्मेवार बनाउने हो,’ उनले भने । 

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आइतबार नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आज थप ३ हजार रुपैयाँ बढेर प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि हालसम्मकै उच्च स्तरमा पुगेको छ । आइतबार प्रतितोला ६५ रुपैयाँले वृद्धि भई चाँदीको मूल्य २४२५ रुपैयाँमा पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २३६० रुपैयाँमा कारोबार भएको थियो । सुन र चाँदी दुवैमा देखिएको लगातारको वृद्धिले बजारमा नयाँ रेकर्ड कायम गरेको हो ।

पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध

जुम्ला । कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिराले सडक अवरुद्ध भएको जानकारी दिए ।  वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी दिएको उनले बताए  ।  त्यसैगरी, वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ– गिरेगडा सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडकमा पहिरोसँगै ढुङ्गा खसेर सडक अवरुद्ध भएको हो ।  अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको  भए पनि ढुङ्गाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।  पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको उपकरणले प्रयास गरे पनि पहिरोसँगै खसेको ढुङ्गाले गर्दा समस्या भएको उनले बताए ।        उनले भने, 'हिजो रातिसम्म जेसिभीले पहिरो पन्छाउन प्रयास गरे पनि ठूलो ढुङ्गाका कारण सम्भव हुन सकेन ।' आज स्काभेटरको सहायताले ढुङ्गा हटाइने र सडक सञ्चालन गरिने उनले बताए । बैतडीसहित सुदूरपश्चिममा आज गौरापर्व मनाइँदैछ । सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्री बीच बाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाएर यातायात सञ्चालन हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

हिमालयन इन्भेष्टमेन्ट बैंकरको एचएलआई लार्ज क्याप फण्ड बिक्री खुला

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकरले आज भदौ १५ गतेदेखि एचएलआई लार्ज क्याप फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकरले ४ अर्ब रुपैयाँको पहिलो बन्दमुखी योजना बिक्री गरेको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ४० करोड इकाई बिक्रई गरेको हो । जसमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २० करोड इकाई कोष प्रबद्र्धक हिमालयन लाइफलाई सुरक्षित राखि बाँकी २ अर्ब रुपैयाँको २० करोड इकाई सर्वसाधारणक लगानीकर्ताहरुलाई बिक्री गरेको हो । उक्त म्युचुअल फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाईदेखि अधिकतम ४ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पूर्ण रुपमा सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजनाको बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर रहेको छ । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

पाउ पाथीभरामा भेटीबाट डेढ करोड रुपैयाँ संकलन, ४ गुरुसहित ९ कर्मचारी करारमा नियुक्त

काठमाडौं । झापा मेचीनगरको चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा भक्तजनले चढाएको भेटी लगायतबाट एक वर्षमा १ करोड ४२ लाख ८१ हजार रुपैयाँ सङ्कलन भएको छ । पूर्व पश्चिम राजमार्गसँग जोडिएको मेचीनगर-१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथीभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१/८२ मा दान पेटिकाबाट ७४ लाख ७४ हजार रुपैयाँ, सहयोग रसिदबाट ४४ लाख ४१ हजार रुपैयाँ, जिन्सी सामान बिक्रीबाट १२ लाख ३८ हजार रुपैयाँ र आजीवन सदस्यताबाट ८८ हजार रुपैयाँ आम्दानी भएको बताए ।  बैंकमा रहेको बचतको ब्याज बापत ५ लाख ६० हजार रुपैयाँ, अनलाइनमार्फत आय २ लाख ५४ हजार रुपैयाँ र विविध आम्दानी बापत ३० हजार ७२० रुपैयाँ सङ्कलन भएको उनले जानकारी दिए । प्रसिद्ध पाथीभरा देवीको पाउ रहेको पवित्र स्थानको रूपमा पूजापाठ र दर्शन गर्न मन्दिरमा दैनिक सयौँ भक्तजन आउने गर्छन् । भारतको पश्चिम बङ्गाल, सिक्किम, आसामलगायत स्थानबाट पनि यहाँ दर्शनार्थी आउने गरेका छन् । समितिले आम्दानीलाई बैंकमा जम्मा गर्ने र बैंकमार्फत् नै खर्च गर्दै आएको जनाएको छ ।  आम्दानीबाट मन्दिरको पुजारी तथा कर्मचारीको नियमित पारिश्रमिक दिने, आवश्यक भौतिक संरचना निर्माण गर्ने र भक्तजनको सुविधाका लागि विभिन्न खर्च गर्दै आएको छ । मन्दिरको शौचालय, धाम परिसरमा मार्बल तथा टायल्स बिछ्याउने कार्य र एउटा भवनसमेत बनाउँदा सो आवमा ५७ लाख रुपैयाँ खर्च भएको समितिका अध्यक्ष ढकालले बताए । मन्दिरको नाममा १ करोड १२ लाख २१ हजार रुपैयाँ बैंक मौज्दात रहेको छ । समितिले चार गुरुसहित ९ कर्मचारीलाई करारमा नियुक्त गरेर पारिश्रमिक दिँदै आएको छ । 

जलवाष्पयुक्त हावाको प्रवाह बढ्यो, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थान र अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गलकोट । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध भएको छ ।  राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको करिडोरको बागलुङखण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए । पहिरोका कारण उक्त खण्डमा यातायात सञ्चालन ठप्प भएको छ ।  कालाखोला छेत्रमा यस अघि समेत ठूलो पहिरो खसेको थियो । ठूलो पहिरोका कारण खुलाउन समस्या भइरहेको छ । कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउन प्रयास गर्ने प्रहरीको भनाइ छ ।   

कर्णाली प्रदेशमा दश वर्षमा विपद्का घटना : ६१९ जनाको मृत्यु, साढे तीन अर्बको क्षति

भेरीगङ्गा । कर्णाली प्रदेशमा पछिल्लो दश वर्षमा विपद्का घटनामा परी ६१९ जनाको मृत्यु भएको छ भने अर्बौँको क्षति भएको छ ।  कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा २०७२ देखि २०८१ सम्मको दश वर्षको अवधिमा ६१९ जना व्यक्तिको विपद्का घटनामा परी मृत्यु भएको हो ।  तथ्याङ्कअनुसार दश वर्षमा प्रदेशभर ६८ जना बेपत्ता भएका छन्भने एक हजार २६६ जना घाइते भएका छन् । यो अवधिमा सबैभन्दा बढी जाजरकोट जिल्लामा विपद्बाट १८४ जनाको मृत्यु भएको छभने सबैभन्दा कम मुगुमा २६ जनाको मृत्यु भएको छ ।  यस्तै, रुकुममा ९२ जना, कालीकोटमा ८४ जना, जुम्लामा ४७ जना, हुम्लामा ४६ जनाको विपद्मा घटनामा परी मृत्यु भएको छ ।  यसैगरी, सल्यानमा ३९ जना, दैलेखमा ३६ जना, डोल्पामा ३५ जना र सुर्खेतमा ३० जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । एक दशकको अवधि सबैभन्दा धेरै पहिरोबाट १८० जनाको मृत्यु भएको छ । यस्तै भूकम्पबाट कारण १५४ जनाको मृत्यु हुँदा आगलागीबाट ६४ जनाको मृत्यु भएको प्रदेश सरकारका विपद् सहजकर्ता उज्वल अधिकारीले जानकारी दिए ।  उनका अनुसार चट्याङबाट ४६ जना, बाढीबाट ३९ जना, महामारीबाट ३४, लेक लागेर २५ जना, वन डढेलोमा परी १५ जना, डुबेर १४ जना र भारी वर्षाका कारण १३ जनाको मृत्यु भएको छ ।  कर्णाली प्रदेशमा विशेषगरी भूकम्प, पहिरो, आगलागी, चट्याङ, बाढी र महामारीजस्ता प्रकोपको कारण अत्यधिक रूपमा क्षति भएको आँकडाले देखाउँछ । यसका साथै महामारी, लेक लाग्ने, नदी कटान, डुबान, भूक्षय, जनावर आक्रमण, रोगको प्रकोप, असिना, हुरीबतासजस्त प्रकोपका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । विभिन्न वैज्ञानिक अध्ययनअनुसार कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको छ ।  तथ्याङ्कअनुसार विपद्बाट दश वर्षमा झण्डै साढे तीन अर्ब रुपैयाँको क्षति भएको छ । सबैभन्दा धेरै क्षति भूकम्पबाट भएको छ । गत वर्ष जाजरकोटमा आएको भूकम्पले धेरै क्षति पुर्‍याएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार भूकम्पबाट मात्रै दुई अर्ब ४७ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।  यता, प्रदेश सरकारले सम्भावित विपद्का कारण हुनसक्ने क्षति न्यूनीकरणको लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर काम गरिरहेको जनाएको छ । यस्तै मनसुनको बेला हुनसक्ने विपद् जोखिम कम गर्नसमेत मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार काम भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले जानकारी दिए ।  उनका अनुसार कक्षा ९ देखि १२ सम्म १३ हजार विद्यार्थीलाई विपद्बाट जोगिन सक्ने उपायबारेमा हाते पुस्तक वितरण गर्ने योजना बनाइएको भन्दै उनले यसले सचेतनामा सघाउ पुग्ने उल्लेख गरे । सरकाले यस कार्यका लागि विभिन्न नीतिगत व्यवस्थासमेत गरेको उनले जानकारी दिए । रासस

खुला प्रतिस्पर्धाबाट बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गरिने, ७ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । खुला प्रतिस्पर्धाबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गरिने भएको छ । बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष नियुक्तिको लागि गठित सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको हो ।  प्राधिकरणको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन भने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा बुझाउनुपर्ने सिफारिस समितिले जनाएको छ ।  सिफारिस समितिका अनुसार बीमा ऐन, २०७९ को दफा ६ को उपदफा (१) (क) बमोजिम बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन पाउने छन् ।  यस्तै, उच्च नैतिक चरित्र भएको, बीमा ऐनको दफा ८ को उपदफा (३) बमोजिम अयोग्य नभएको, ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको व्यक्ति आवेदन दिन पाउनेछ ।  आवेदन दिँदा दस्तुर बापत ७ हजार ५ सय रुपैयाँ भौचर बुझाउनुपर्नेछ । अध्यक्षले पाउने मासिक पारिश्रमिक, भत्ता, सुविधा तथा सेवाका अन्य सर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनोटका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । प्राधिकरणको अध्यक्ष सिफारिस समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल रहेका छन् ।

भैँसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडिबुटी निर्यातमा चीनले सहजीकरण गर्ने

काठमाडौं । नेपालले भैँसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडिबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ । चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबीच काठमाडौंमा भएको द्विपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जनाएको छ ।  बैठकमा नेपालको नेतृत्व कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरेका थिए भने चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनले चिनियाँ पक्षको नेतृत्व गरेका थिए । नेपालबाट थर्मलरूपमा प्रशोधित भैँसीको मासु र भैँसीको कार्टीलेज (कुरकुरे हाड) निर्यातका अलावा दुग्ध पदार्थ विशेष गरी घ्यू, नौनी, वटर तथा छुर्पी चीन निर्यातका लागि कृषि मन्त्रालयले जोड गरिरहेको छ । त्यस्तै हेलेज साइलेज पशु आहरा निर्यातका लागि पनि द्विपक्षीय बैठकमा नेपालले कुरा राखेको छ । नेपालले कुखुराको मासु र पञ्जा, तरकारी, सुन्तला जन्य फलफूल, चिया तथा कफी र जडिबुटी निर्यातका लागि सक्षम रहेको र यसका लागि थप सहजीकरण गरिदिन पनि आग्रह गरेको छ । हाल नेपालबाट ३४ प्रकारका कृषि वस्तु ६१ कम्पनीमार्फत निर्यात हुँदै आएको छ । त्यस्तै हरियो घाँस हेलेज पाँच वटा कम्पनीमार्फत चीन निर्यात हुँदै आएको छ । नेपालले पशु आहार साइलेज निर्यातका लागि पनि चीनसँग प्रस्ताव गरेको छ । बैठकमा चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्गले चीनले नेपालबाट कृषि वस्तु निर्यातको विषयलाई उच्च महत्व दिएको बताए । १०० भन्दा बढी देशबाट यस्ता प्रस्ताव आउने गरेको भएपनि छिमेकी मुलुकको रूपमा हामीले नेपाललाई महत्व दिएर प्रयास अघि बढाएको बैठकमा उनले जानकारी दिए ।  ‘व्यापार सहजीकरणको लागि हाम्रो एकल प्रयासले मात्र पुग्दैन त्यसैले दुवै देशको संयुक्त प्रयासमा यो गाह्रो र जटिल छैन, सहजीकरण गर्न हामी तयार छौँ,’ उपमन्त्री वाङ्गले भने । बैठकमा कृषि मन्त्री अधिकारीले नेपालबाट मासु निर्यातका लागि आधारभूत सर्त खोरेत मुक्त क्षेत्र घोषणालगायतका प्रकृयादेखि चीनको क्वारेन्टाइन मापदण्ड पुरा गर्न प्रयास भइरहेको र सुन्तला जातका फलफूल निर्यातका केही सर्तमा लचकता अपनाई दिन समेत चिनियाँ पक्षलाई आग्रह गरेका थिए । द्विपक्षीय बैठकमा नेपालको कृषि उपज निर्यातका लागि सहजीकरण गर्न दुवै मुलुकको संयुक्त संरचना स्थापना गर्न नेपालले गरेको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको छ । बैठकमा मन्त्रालयका तर्फबाट सचिव द्वय डा गोविन्दप्रसाद शर्मा, डा दीपककुमार खराल र सहसचिव सहभागी रहनुभएको थियो भने चिनियाँ टोलीमा चीनको भन्सार प्रशासनका अधिकारी सहभागी थिए ।

'जिकर फेस्टिभ थ्रिल' अभियान सुरु, जीकर एक्समा १५ लाख छुट

काठमाडौं । नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले  चाडपर्वको अवसरमा 'जिकर फेस्टिभ थ्रिल' अभियान सार्वजनिक गरेको छ । यो अभियान जिकर एक्सका लागि लागू हुने छ । दशैं, तिहार र छठको चाडपर्वलाई लक्षित गर्दै जिकर एक्समा विशेष अफर सार्वजनिक गरिएको हो । यो चाडपर्व अफरअन्तर्गत अब ग्राहकहरूले ८४ लाख ९९ हजार मूल्य रहेको जिकर एक्स गाडी मात्र ६९‍ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् ।  यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर र ७ किलोवाट वाल चार्जर समावेश रहेको थप सुविधाहरू पनि प्राप्त गर्नेछन् ।  जिकर एक्समा २०० किलोवाट मोटर पावर, लेभल २ एडीएएस प्रणाली, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७ वटा एयरब्याग छन् र यो गाडीले यूरो एनक्याप, चाइना एनक्याप र ग्लोबल एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । पायोनियर मोटोकर्पले सबै ग्राहकलाई नजिकैको जिकर सोरूम भ्रमण गरी यस अफरको लाभ लिन आग्रहसमेत गरेको छ । कम्पनीले नेपालमा जिकर गाडीका बिक्री, सेवा, स्पेयर पार्ट्स तथा अन्य सुविधाहरू उपलब्ध गराउँदै आएको छ।  

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सिटिजन्स बैंकको सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशस्थित शाखा प्रमुख, क्लस्टरहेड, शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूका लागि प्रेरणादायी नेतृत्व र कार्यसम्पादन सेमिनार सम्पन्न गरेको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थिति रहेको थियो ।  सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षका प्राथमिकताबारे छलफल गरिएको थियो । साथै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहन अन्तरक्रिया भएको बैंकले जनाएको छ । यसअघि बैंकले मधेश, बागमती र कोशी प्रदेशमा पनि यस्तै कार्यक्रम सम्पन्न गरिसकेको थियो। त्यसैको निरन्तरतामा काठमाडौंलाई केन्द्र बनाएर गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखाहरूलाई लक्षित गरी सेमिनार गरिएको हो । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप तथा खुद ब्याज आम्दानीमा दोहोरो अंकको वृद्धि हासिल गर्न सफल भएको छ । यस अवधिमा कर्जा प्रवाह ११.१५ प्रतिशतले बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । त्यस्तै निक्षेप संकलन ११.६९ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानीमा ११.२० प्रतिशत वृद्धि भई ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशतमा कायम रहँदा बैंकको तरलता व्यवस्थापन सन्तुलित रहेको देखिन्छ। सम्पत्ति प्रतिफल दर (आरओए) ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर (आरओई) ५.८१ प्रतिशत रहेको छ। सिटिजन्स बैंकले फोनपेसँग सहकार्य गर्दै नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवामा पहुँच दिने सुविधा पनि पहिलो पटक उपलब्ध गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ३१ हजार ग्राहकलाई आधुनिक वित्तीय सेवा दिँदै आएको छ ।

सहुलियतपूर्ण कर्जामा ठूलो परिवर्तन : युवादेखि विपद् पीडितसम्म लाभान्वित हुने

काठमाडौं । सहुलियतपूर्ण कर्जासम्बन्धि हालै संशोधित कार्यविधि कार्यान्वयनमा गएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई परिपत्र पर्दै सहुलियतपूर्ण कार्यविधिका संशोधित व्यवस्थाहरूलाई कार्यान्वयनमा लैजान बैंकहरूलाई भनेको हो ।  राष्ट्र बैंकका अनुसार अब ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम बैंकहरूले कर्जा प्रवाह गर्नुपर्नेछ । प्रवाहित कर्जामा नेपाल सरकारबाट प्रदान नगरिएको अनुदान रकम राष्ट्र बैंकले उपलब्ध गराउने छ ।  त्यसो त, त्यसरी प्रवाह गरेको पुरानो १ अर्ब बढी बक्यौता बैंकहरूले पाएका छैनन् । राष्ट्र बैंकका अनुसार गत असारसम्म नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८२ असार मसान्तमा कुल ९४ हजार ९२० ऋणीलाई प्रवाह भएको ७८ अर्ब ६६ करोड कर्जा वक्यौता रहेको छ।  यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ३५ हजार ८६१ ऋणीलाई प्रवाह भएको ५७ अर्ब ५५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ५७ हजार ६३६ महिला उद्यमीलाई प्रवाह भएको २० अर्ब ९ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत १ हजार ४२३ ऋणीको १ अर्ब २ करोड कर्जा बक्यौता रहेको छ ।  तर राष्ट्र बैंकले नयाँ परिपत्र गर्दै कार्यविधिअनुसार प्रवाह भएको कर्जा नेपाल सरकारबाट पाउनुपर्ने ब्याज अनुदान वापतको रकमलाई पुँजीकोष अनुपात गणना प्रयोजनका लागि सरकार माथिको दाबीसरह शून्य प्रतिशत जोखिमभार प्रदान गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।  राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ बमोजिम हाल कायम रहेका ऋणी र ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण आफ्नो वेबसाइटमार्फत त्रैमासिक रुपमा सार्वजनिक गर्नुपर्नेछ ।   हालै सरकारले परम्परागत सीप र पेशाको आधुनिकीकरण एवं प्रवर्द्धन गर्दै उद्यमशीलताको विकास तथा प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण गर्न प्रदान गरिने सहुलियतपूर्ण कर्जामा लाग्ने ब्याज, बीमाशुल्क वा सुरक्षण शुल्कमा अनुदान रकम उपलव्ध गराउने उद्देश्यले सरकारले कार्यविधि संशोधन गरेको थियो । कृषि तथा पशुपंक्षी कर्जा अन्तर्गत पाँच करोड रूपैयाँसम्म कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुले सक्न व्यवस्था बनाइएको थियो । पहिले व्यवसायीक कृषिलाई मात्रै दिइने दिइन्थ्यो भने अब सबै खालेलाई दिइँदैछ ।  त्यस्तै, महिला उद्यमशील कर्जालाई कार्यविधि संशोधन गरेर पच्चीस लाख रूपैयाँसम्म पुर्‍याइएको छ । वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार बन्न चाहेमा अब सरकारले २० लाख रुपैयाँसम्म कर्जा दिनेछ ।  शिक्षित युवा परियोजना कर्जालाई २० लाख रूपैयाँसम्म पुर्‍याइएको छ भने दलित समुदाय भगत सर्वजित उद्यम विकास कर्जालाई समेत २० लाख रूपैयाँसम्म पुर्‍याइएको छ । त्यस्तै संशोधित कार्यविधिअनुसार स्टार्टअप उद्यम कर्जाको सीमा पच्चीस लाख रुपैयाँसम्म पुर्‍याइएको छ । उद्योगमा ब्रोइलर प्रतिस्थापन कर्जाका लागि अधिकतम २५ लाख रुपैयाँसम्म सरकारले सीमा तोकेको छ । प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जा पाँच लाख रूपैयाँसम्म तोकिएको छ । यसअघि यस्तो व्यवस्था राखिएको थिएन । 

ललितपुरका महिला उद्यमीको उत्पादन अब एपबाटै किनबेच, बजारीकरणको समस्या न्यूनीकरण हुने

ललितपुर । ललितपुर महानगरपालिकाले उद्यमी महिलाको उत्पादनलाई बजारसम्म पुर्‍याउन एलएमसी हाटबजार एप सार्वजनिक गरेको छ । महानगरमा दर्ता भएका उद्यमीले उत्पादन गरेका सामग्रीलाई बजारमा पुर्‍याउन यो एप निर्माण गरी सार्वजनिक गरिएको हो । महिला उद्यमीले आफ्नो उत्पादनको सम्पूर्ण विवरण उक्त एपमा राख्नुपर्छ । क्रेताले एप्समा राखेको सामान खरिद गर्न लगइन गरी अर्डर गर्न सक्छन् । उत्पादित सामग्री एपमा राख्नका उद्यमीले महानगरका सम्पर्क गरी लगइन गर्नुपर्छ ।  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महिलाको उत्पादनलाई बजारिकरणका लागि ल्याइएको एप एक महत्त्वपूर्ण ‘टुल’ भएको बताए ।  उनले भने ‘आइटीको जमानामा महानगरले सार्वजनिक गरेको यो एप महत्वपूर्ण हो ।’ महिला उद्यमीको उत्पादन बजारमा ल्याउन यो एपले धेरै मद्दत गर्ने उनले जानकारी दिए ।  प्रमुख महर्जनले सम्पूर्ण महिला उद्यमीलाई यो एप सक्दो प्रयोग गर्न अनुरोध गरेका छन् । यो एपले ‘उत्पादन छ तर बजार छैन’ भन्ने कुरालाई हल गर्न केही हदसम्म सहयोग गर्ने महानगरको विश्वास छ । महानगरका उपप्रमुख तथा महिला उद्यमशीलता सहजीकरण केन्द्रका संयोजक मञ्जली शाक्य बज्राचार्यले उद्यमीले उत्पादन गरेको उत्पादनले बजार नपाइराखेको अवस्थामा बजारसम्म उत्पादनलाई पु¥याउन यो एप महत्त्वपूर्ण हुने बताइन् ।  उनले भनिन्, ‘उद्यम र व्यवसाय एकै होइन, उद्यमीले व्यवसाय सञ्चालन गर्न गाह्रो हुन्छ, यो एपले उद्यमीलाई क्रेतासँग जोड्न सजिलो बनाउँछ, जसले बजार खोज्ने सहयोग पुग्छ ।’  वर्षैपिच्छे वडा र महानगरले धेरै वटा हाट बजार सञ्चालन गरेपनि सधैं सञ्चालन भइरहने बजारका लागि यो एप ल्याएको उपप्रमुखको भनाइ छ ।  महिला शाखा प्रमुख शोभादेवी खरेलले महिला उद्यमीलाई आफ्नो उत्पादनको बिक्री वितरण गर्न यो एप महत्त्वपूर्ण हुने धारणा राखिन् । उनका अनुसार एपमार्फत खरिद बिक्री गर्दा मध्यस्तकर्ताको आवश्यकता पर्दैन ।  क्रेताले विक्रेतासँगको सिधैं मोलमोलाई गर्न सक्छन् । सामानको गुणस्तरको बारेमा  सोधपुछ गर्न सक्छन् ।  काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) कलेजका  डा. विनोदकृष्ण श्रेष्ठले महानगरले उद्यम र उद्यमशीलतालाई महत्त्व दिएर एप सार्वजनिक गरेकोमा खुसी व्यक्त गरे । उद्यमी र क्रेताबीच सिधै सम्पर्क हुने यो एपले उत्पादनको बजारिकरणलाई सहयोग पुग्ने बताए । यसैगरी, एप सार्वजनिक कार्यक्रमपछि उद्यमशीलतासम्बन्धी जानकारी दिन अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको छ ।  महानगरले पहिलो चरणमा यो एपमा ५० जनाभन्दा बढी महिलाहरूलाई तालिमसहित आबद्ध गराइसकेको छ । विस्तारै अन्य महिला उद्यमीहरूलाई यो एपमा आबद्ध गराउने योजना महानगरले राखेको छ ।  महानगरका अनुसार महानगरभित्र २५ सय १ जना महिलाहरूले आफ्नो उद्यम व्यवसाय दर्ता गरेर सञ्चालन गरिरहेका छन् । महानगरका अनुसार दर्ता नभएका समूहमा आबद्ध भएर उद्यम गरिरहेका महिलाहरूको तथ्यांक भने संकलन हुन बाँकी छ । ती महिलाहरूले उत्पादन गरेको उत्पादनलाई पनि यस एपमा आबद्ध गराउने लक्ष्य महानगरले राखेको छ । 

एकै वर्ष साढे ४६ करोड रुपैयाँ पर्यटक शुल्क, अन्नपूर्णमा २५ प्रतिशत बढे पर्यटक

काठमाडौं । पर्यटक आगमनमा वृद्धि भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको छ । एक्यापका अनुसार गत आवमा विदेशी पर्यटकबाट ४६ करोड ४८ लाख ८१ हजार ४८३ रुपैयाँ सङ्कलन भएको छ । आव २०८०/८१ को तुलनामा गत आवमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि एक्यापको भनाइ छ । ‘एक्याप’को आँकडाअनुसार अघिल्लो आवमा २ लाख २२ हजार १८० विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा गत आवमा पर्यटक सङ्ख्या बढेर २ लाख ७८ हजार ११३ पुगेको थियो । तीमध्ये दक्षिण एसियाली मुलुकका १ लाख ५७ हजार ७८६ र अन्य देशका १ लाख २० हजार ३२७ पर्यटक थिए । आव २०८०/८१ मा पर्यटक प्रवेश शुल्कबापत ३८ करोड ९४ लाख ६१ हजार ४८३ रुपैयाँ सङ्कलन भएको थियो ।  आयोजना प्रमुख डा. रविन कडरियाले दक्षिण एसियाली मुलुकका पर्यटकका लागि १ हजार रुपैयाँ र अन्य विदेशी पर्यटकका लागि ३ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको बताए । पर्यटक शुल्कलगायतबाट हुने आम्दानीको ठूलो हिस्सा संरक्षण गतिविधि र पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च हुने गरेको उनको भनाइ छ । ‘एक्यापका लागि सरकारले छुट्टै बजेट दिँदैन, आन्तरिक आम्दानीबाट कार्यालय, कर्मचारी व्यवस्थापदेखि वार्षिक कार्यक्रम सञ्चालन हुने गर्छन्,’ आयोजना प्रमुख डा कडरियाले भने, ‘स्थानीयस्तरमा रहेका संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत बजेट र कार्यक्रम कार्यान्वयन हुन्छ ।’ चालु आवका लागि ३८ करोड रुपैयाँको बजेट स्वीकृत भएको उनको भनाइ छ । ‘एक्याप’ले पदमार्ग निर्माण, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन, संरक्षण शिक्षालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी ‘एक्याप’मै रहने र जडीबुटी सङ्कलनलगायत प्राकृतिक स्रोतको उपयोगबापत उठ्ने रकम नेपाल सरकारको राजश्वमा जम्मा हुने गरेको आयोजना प्रमुख डा कडरियाले बताए ।  ‘एक्याप’भित्र सञ्चालित जलविद्युत् आयोजनाको शुल्क, पर्वतारोहण शुल्क, निषेधित क्षेत्र प्रवेश शुल्क आदिबाट पनि राज्यलाई महत्वपूर्ण लाभ पुगिरहेको उनको भनाइ छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा प्रवेश गर्ने पर्यटकबाट गत आवमा ३० करोड १७ लाख ५२ हजार रुपैयाँ प्रवेश शुल्क सङ्कलन भएको जनाइएको छ । निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुने गरेको छ । उपल्लो मुस्ताङ घुम्ने पर्यटकले ५०० डलर र नार फू जाने पर्यटकले एक हजार डलर तिर्ने गरेका छन् । पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा दुई मुख्य पर्यटकीययाम असोज–कात्तिक र चैत–वैशाखमा पदयात्राका लागि बढी पर्यटक आउने गरेका छन् । सोही याममा धार्मिक भ्रमणमा आउने पर्यटकको सङ्ख्या पनि उल्लेख्य रहने गरेको आयोजना प्रमुख डा कडरियाले बताए । आव २०७९/८० मा जम्मा १ लाख ७२ हजार १०८ विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएकामा पछिल्लो आवमा आइपुग्दा एक लाख बढी पर्यटक थपिएका हुन् । वर्षात् र जाडोयाममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य सययमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । कार्यालयले अन्नपूर्ण संरक्षण क्षेत्रमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । ७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् ।