कालीगण्डकी करिडोर सडक अवरुद्ध
गुल्मी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएको जानकारी पाएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी टोलीलाई बिहानै सडक सुचारुका लागि पहिरो गएको स्थानका खटाई सकिएको प्रहरीले जनाएको छ । अहिले पनि उक्त क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सडकमा थुप्रिएको पहिरो पन्छाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । वर्षा रोकिनासाथ सडक सुचारु गर्नका लागि स्थानीय निर्माण कम्पनी कालिका कन्ट्रक्सनले पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको सूचना अधिकारी सारुले बताएका छन् । पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध हुने गर्दछ ।
कर्फ्यु आदेश खुकुलो गर्दै सेना, बिहान ४ घण्टा र साँझ २ घण्टा आवतजावत गर्न पाइने
काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएको छ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कर्फ्यु खुकुलो तुल्याइने जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कर्फ्यु भने भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ । निर्देशनालयका अनुसार नागरिकलाई अत्यावश्यक कार्यको लागि भदौ २६ गते बिहान ६ बजेदेखि १० बजेसम्म र सोही दिन बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ । निषेधाज्ञा तथा कर्फ्युको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनाहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ । उक्त समयमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने जनाएकाे छ । यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नु हुने सेनाले स्पष्ट गरेको छ । सेनाले आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोध समेत गरेको छ । काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरूप जिल्ला सुरक्षा समितिहरूबाट निर्णय तथा समन्वय गरिए बमोजिम हुने जानकारी दिइएको छ । जस्तोसुकै परिस्थितिमा पनि आमनेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पुर्याउन सबैमा सेनाले अपिल गरेको छ ।
जेनजी आन्दोलनमा बैंकको पैसा लुटपाट, लकर तोडफोड, कुन बैंकमा कति नोक्सान ?
काठमाडौं । जेनजी आन्दोलनकारीहरुले बैंक तथा वित्तीय संस्थाहरूका दर्जनौं शाखा, काउण्टर र एटीएम मेसिनमा क्षति पुर्याएका छन् । बैंकरहरुका अनुसार देशभर बैंकलाई टार्गेट गरी दर्जनौं शाखा कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् । साथै, बैंकको शाखा कार्यालय तोडफोड गरी पैसा समेत लुटिएको पाइएको छ । एनआईसी एशिया बैंकका १४ वटा एटीएम मेसिन, ५ वटा शाखा कार्यालय, ६ वटा काउण्टरमा क्षति पुगेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीले जानकारी दिए । उनका अनुसार भौतिक संरचनामा क्षति पुर्याएको भएपनि पैसा भने चोरी नभएको उनले बताए । उनले कर्मचारीहरू भने सुरक्षित रहेको जनाए । कुमारी बैंकको दुलेगौंडा शाखा कार्यालयमा क्षति पुगेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालले जानकारी दिए । घरमा बाहिरबाट ढुंगामुढा गर्ला बैंकको सिसा फुटेको उनले बताए । साथै, हेटौंडाको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिन ड्यामेज भएको उनले जनाए । कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको टाउकोमा गोली लागेको कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । उनका अनुसार बैंकको केन्द्रीय कार्यालयमा काम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले हान्दा बैंकका कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गोली लागेको हो । ‘स्वास्थ्य मन्त्रालयमा आगजनी भइरहेको थियो । त्यही क्रममा हुलदङ्गामा गोली प्रहार हुँदा बैंकका सहयोगी कर्मचारी अशोक श्रेष्ठको टाउकोमा लाग्यो । गोली कसले हानेको स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘उहाँ बैंकको कम्पाउन्ड भित्रै हुनुहुन्थ्यो । काम गरिरहेको अवस्थामा गोली लागेको हो ।’ उनका अनुसार हिजो नै अन्नपूर्ण अस्पतालमा लगेर उपचार गरिएको छ । साथै, घाइते श्रेष्ठको परिवारसहित उपस्थितिमा अप्रेशन गरेर गोली निकालिएको उनले बताए । ‘प्रेसर स्टेबल हुन नसकेका कारण डक्टरको सल्लाह अनुसार आज अप्रेशन गरियो । र, गोली निकालिएको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ भनेर डक्टरले भन्नु भएको छ,’ उनले भने । उनका अनुसार बैंकको कीर्तिपुर शाखामा रहेको एटीएम मेसिन तोडफोड गरिएको छ । लहानमा खाद्य संस्थानको डिपो जलाउन खोज्दा बैंकको शाखामा समेत क्षति पुगेको छ भने धनगढी शाखामा गाडीमा क्षति भएको छ । हिमालयन बैंकको बत्तीसपुतली शाखा पूर्ण रुपमा क्षति भएर खरानी भएको सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खालीले जानकारी दिए । तर, लकर र भल्टमा भने क्षति नभएको उनको भनाइ छ । न्युरोड शाखामा क्षति हुन्छ की भन्ने आशंका गरिएको भएपनि खासै क्षति हुन नपाएको उनले बताए । उनका अनुसार भैरहवा एयरपोर्ट, आईटी प्लाजा कमलादी, हिलटन होटल परिसर, विराटनगरको भाटभटेनीको र बुटवलको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको छ । तर, नगद भने सुरक्षित रहेको उनले बताए । ‘अन्य संरचनामा आगजनी गर्दा क्षति भएको भन्दा पनि आन्दोलनकारीले फुटाउनै खोजेको देखिएको छ । उनीहरुले एटीएम नै झिकेर फालेका छन्,’ उनले भने । ग्लोबल आइएमई बैंकका अनुसार कान्तिपुर भवनमा रहेका बैंकका २ वटा विभागमा क्षति पुगेको छ । भवनमा आगो लगाउँदा बैंकको सेन्ट्रल ट्रेड र इन्टरनल अडिट विभागमा क्षति पुगेको बैंकका चिफ फाइनान्स अफिसर चन्द्रराज शर्माले जानकारी दिए । उनका अनुसार आन्तरिक राजस्व विभाग, यातायात व्यवस्था, मालपोत कार्यालय लगायतमा रहेको बैंकको राजस्व संकलन काउन्टरमा भौतिक क्षति पुगेको छ । देशभर के कति क्षति भएको छ भनेर भोलीसम्म तथ्याङ्क आउन सक्ने उनले बताए । ‘चितवन र सर्वाेच्च अदालत परिसरका एक/एक, पोखरामा ३ वटा, तुलसीपुरमा २ वटा काउण्टर गरी ७ वटा काउण्टरमा क्षति भएको छ,’ उनले भने । राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी तथा उप-कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार कुन ठाउँमा बैंकमा कति क्षति भएको छ भनेर विवरण संकलनको काम भइरहेको बताउँछन् । बानेश्वर शाखा, दुहबी शाखा, भैरहवा शाखा र केही एटीएम मेसिन तोडफोड भएको सूचना आएको उनले बताए । ‘शाखा, काउण्टर र एटीमए मेसिन गरेर एक दर्जन संरचनामा क्षति पुगेको छ । बानेश्वर शाखामा पैसा पनि चोरि भएको जानकारी आएको छ । अरु शाखामा कम्प्युटर चोरी भएका छन् । कति रकम चोरी भएको छ त्यो संकलन भइरहेको छ । ५ वटा एटीएम तोडफोड भएका छन् । पैसा भने निकालिएको छैन । थप क्षतिको विवरण आउन बाँकी छ,’ उनले भने । नेपाल बैंकका सीईओ तिलकराज पाण्डेयका अनुसार बैंकको काँकडभिट्टा, गौरादह, ताप्लेजुङमा गरी ३ वटा काउण्टर र एउटा एटिएम मेसिनमा क्षति भएको छ । माछापुच्छ्रे बैंकको भरतपुर मालपोत, सिंहदरबार परिसर, अख्तियार दुरूपयोग अनुसन्धान आयोग परिसर गरी ३ वटा एटीएम मेसिनमा क्षति पुगेको बैंकका सीईओ सन्तोष कोइरालाले जानकारी दिए । सिटिजन्स बैंकको नक्सालस्थित भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको जनाएको छ । प्रभु बैंकको लैनचौर शाखामा पनि तोडफोड भएको बैंकले जानकारी दिएको छ ।
कृषि विकास बैंकका कर्मचारीको टाउकोमा लाग्यो गोली
काठमाडौं । जेनजी आन्दोलनका क्रममा मंगलबार कृषि विकास बैंकका कर्मचारीलाई गोली लागेको छ । बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको टाउकोमा गोली लागेको कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । उनका अनुसार बैंकको केन्द्रीय कार्यालयमा काम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले हान्दा बैंकका कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गोली लागेको हो । ‘स्वास्थ्य मन्त्रालयमा आगजनी भइरहेको थियो । त्यही क्रममा गोली प्रहार हुँदा बैंकका सहयोगी कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गाेली लाग्यो । गोली कसले हानेको हाे स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘उहाँ बैंकको कम्पाउन्ड भित्रै हुनुहुन्थ्यो । काम गरिरहेको अवस्थामा गोली लागेको हो ।’ उनका अनुसार हिजो नै अन्नपुर्ण अस्पतालमा लगेर उपचार गरिएको छ । साथै, घाइेते श्रेष्ठको परिवारसहित उपस्थितिमा अप्रेशन गरेर गोली निकालिएको उनले बताए । ‘प्रेसर स्टेबल हुन नसकेका कारण चिकित्सकको सल्लाह अनुसार आज अप्रेशन गरियो । र, गोली निकालिएको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ भनेर चिकित्सकले भन्नु भएको छ,’ उनले भने । यस्तै, बैंकको किर्तीपुर शाखामा रहेको एटीएम मेसिन तोडफोड गरिएको उनले बताए । तर, के कति क्षति भएको र पैसाको अवस्था के छ भन्ने स्पष्ट हुन नसकेको उनको भनाइ छ । ‘प्रदर्शनकारीहरुले फुटाउन खोजेका रहेछन्, जेनजी समूहले नै त्यो फुटाएको एटीएम मेसिन बैंकमा आएर बुझाएका छन् । के कति क्षति भएको छ, एकिन छैन,’ उनले भने । उनका अनुसार लहानमा खाद्य संस्थानको डिपो जलाउन खोज्दा बैंकको शाखामा समेत क्षति पुगेको छ भने धनगढी शाखामा गाडीमा क्षति भएको छ । ‘लहान शाखामा ढुंगामुडा गरेका छन् । कम्प्युटर र सिसाहरु फुटेको जानकारी आएको छ । खाद्य संस्थाको डिपो जलाउन खोज्दा बैंकको शाखामा क्षति पुगेको छ,’ उनले भने, ‘धनगढीको शाखामा बैंकको गाडीमा क्षति भएको सूचना छ । के कति क्षति भएको भन्ने एकिन तथ्याङ्क आएको छैन ।’ पौडेलका अनुसार बैंकका अन्य कर्मचारीहरु भने सबै सुुरक्षित रहेको जानकारी दिए । साथै बैंकको प्रणाली सूचारु राख्न आईटीका कर्मचारीहरु निरन्तर खटिरहेको उनले बताए । संकटको बेलामा बैंकका कर्मचारीहरु कसरी परिचालन गर्ने र सम्पत्ति कसरी सुरक्षित गर्ने भनेर टिम समेत खडा गरिएको उनको भनाइ छ ।
बीमा कम्पनीहरूलाई घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन प्राधिकरणको अनुरोध
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई आग्रह गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्म घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई आग्रह गरेको हो । सूचनामा भनिएको छ, 'हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपालभर रहेका बीमा कम्पनीहरु तथा तिनका शाखा र उपशाखा कार्यालयबाट सम्पादन हुँदै आइरहेका कार्यलाई सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्मका लागि घरबाटै कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।’ प्राधिकरणले आफ्ना कर्मचारी तथा भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नका लागि सुरक्षा निकायहरुको आदेश पूर्ण रुपमा पालना गर्न तथा कुनै पनि अवाञ्छित गतिविधि देखा परेमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई खबर गर्नसमेत प्राधिकरणले अनुरोध गरेको छ ।
रसुवामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
काठमाडौं । रसुवामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार बिहान सूचना प्रकाशित गर्दै जिल्लाभर कर्फ्यू लगाइएको जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीद्वारा जारी सूचनाअनुसार भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सम्पूर्ण सीमा क्षेत्रमा कर्फ्यू लागू हुनेछ । कर्फ्यू अवधिभर आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा–बैठक र घेराउ गर्न प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ । हालैका विरोध प्रदर्शनका क्रममा तोडफोड, आगजनी, लुटपाट र आक्रमणका घटना भएपछि नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरिसकेको छ ।
देशभर कर्फ्यू आदेश, बिहीबार बिहान ६ बजेसम्म जारी रहने
काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आदेश लागू गरिएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यू रहने र त्यसपछि पनि निरन्तर भोलि बिहान ६ बजेसम्म आदेश जारी रहने सेनाको विज्ञप्तिमा उल्लेख छ । सेनाले आन्दोलनको नाममा अराजक व्यक्ति र समूहले सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि गर्दै आएको भन्दै यसलाई नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरिएको स्पष्ट पारेको छ । यस्तै, व्यक्ति लक्षित हिंस्रक आक्रमण तथा बलात्कार प्रयासजस्ता आपराधिक गतिविधि हुने वा हुनसक्ने सम्भावना पनि रहेको सेनाले जनाएको छ । आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी तथा आक्रमणलाई दण्डनीय अपराध मानी कडा कारबाही गर्ने चेतावनी सेनाले दिएको छ । निषेधाज्ञा तथा कर्फ्यू अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारीसाधन सञ्चालनमा कुनै रोकताेक नहुने जनाएको छ । आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ । यस्तै, सम्पूर्ण अवकाशप्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकलाई अफवाहमा नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न सेनाले आग्रह गरेको छ । राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन सेनाले निरन्तर दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।
जेनजीद्वारा देउवा चोकलाई ‘जेनजी चोक’ नामाकरण
काठमाडौं । आन्दोलनका प्रदर्शनकारीहरूले बुढानिलकण्ठस्थित देउवा चोकलाई सांकेतिक रूपमा ‘जेनजी चोक’ नामाकरण गरेका छन् । मंगलबारको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सडक छेउको भित्तामा लेखेर देउवा चोकलाई नयाँ नाम दिएका हुन् । यसअघि प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण गरेका थिए। आक्रमणमा परेर देउवा दम्पती घाइते भएको बताइएको छ । ‘जेनजी’ आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारीहरूले विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निजी निवास र सरकारी निकायहरूमा तोडफोड तथा आगजनी गरिरहेका छन् ।
आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल
काठमाडौं । सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौं उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गरेका छन् । कर्मचारी तन्त्रका प्रमुख र चारवटै सुरक्षा निकायका प्रमुखले आज संयुक्त अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृतसमेत भएको अवस्थामा सबैलाई संयमित हुन आग्रह गरेका हुन् । उनीहरुले वर्तमान विषम परिस्थितिमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा अपिल गरेका छन् । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त रुपमा उक्त अपिल गरेका हुन् । सोमबारदेखि काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनीहरुले त्यसबाट ज्यान गुमाउने व्यक्तिप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
६० जना लेखक र संस्कृतिकर्मीद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग
काठमाडौं । ६० जना लेखक र संस्कृतिकर्मीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । ‘जेनजी’ आन्दोलनमा समर्थन जनाउँदै उनीहरूले सरकारले प्रदर्शनकारीमाथि गरेको दमनप्रति चर्को आलोचना गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले प्रधानमन्त्री ओलीलाई तुरुन्तै पदत्याग गर्न आग्रह गरेका छन् । साथै, सर्वपक्षीय संवादमार्फत आन्दोलनकारीका माग पूरा गर्ने पहल लिन जिम्मेवार राजनीतिक दल र राज्यका निकायलाई समेत आव्हान गरेका छन् ।
काभ्रेपलाञ्चोकमा पनि लगाइयो कर्फ्यु
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसो करिब १२:१५ बजेदेखि कर्फ्यु लागू भएको हो । बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु जारी गरेको जनाएको छ। कर्फ्यु लागू भएपछि काभ्रे हुँदै चल्ने राजमार्गहरू पूर्णरूपमा बन्द भएका छन् । सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको छ ।
कर्फ्यु तोड्दै सडकमा युवा: चर्किँदै आन्दोलन
काठमाडौं । नयाँ पुस्ताका युवामाथि प्रहरीले गरेको दमनको विरोधमा आज देशभर प्रदर्शनहरू भइरहेका छन् । कर्फ्यु आदेश जारी गरिएको अवस्थामा पनि देशका विभिन्न स्थानमा युवाहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा चक्रपथभित्र कर्फ्यु आदेश लागु गरिएको भए पनि प्रदर्शन रोकिएको छैन । उपत्यकाका विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शनहरू जारी छन् । यस्तै, ललितपुरमा सञ्चारमन्त्रीको निवासमा आगजनी भएको पुष्टि भएको छ । यद्यपि आगजनी कसले र कसरी ग¥यो भन्ने विषयमा विस्तृत जानकारी आउन बाँकी छ । सोमबार प्रहरीले गोली चलाएको नयाँ बानेश्वर क्षेत्रमा आज बिहानैदेखि फेरि प्रदर्शनहरू भइरहेका छन् । सातदोबाटो र कलंकीको चक्रपथ खण्डमा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन् । प्रदर्शन बढ्दै गएकाले सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिन्छ भने केही स्थानमा स्थिति तनावपूर्ण बन्दै गएको छ ।
प्रचण्डको घरमा तोडफोड, सुरक्षाकर्मी र प्रदर्शनकारीबीच मुडभेड
काठमाडौं । जेनजीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को घरमा तोडफोड गरेका छन् । नेताको घर र निवासमा तोडफोड गर्ने तयारीका साथ प्रदर्शनकारी प्रचण्डको घरमा तोडफोड गर्न पुगेका हुन् । प्रदर्शनकारीले तोडफोड गरेपछि सुरक्षाकर्मीसँग मुडभेड भएको छ ।
कर्फ्यु लागेका क्षेत्रमा बैंक नखुल्ने, आज सेयर कारोबार पनि नहुने
काठमाडौं । काठमाडौंको उपत्यकाका तीन जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरेपछि बैंक तथा वित्तीय संस्थाका कार्यालय पनि बन्द हुने भएका छन् । काठमाडौं, ललितपुर, रभक्तपुर जिल्ला प्रशासन कार्यालय कर्फ्यु आदेश जारी गरेका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका कार्यालय नखुल्ने भएका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरेको छ । चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ । यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चार किल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका कार्यालय नखुल्ने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानले जानकारी दिए । उनका अनुसार कर्फ्यु लागेका क्षेत्रमा बैंकको डिजिटल सिस्टममा काम गर्ने कर्मचारीहरू भने बैंकमा गएर आन्तरिक रुपमा काम गर्न सक्नेछन् । ‘सकेसम्म कर्फ्यु लागेको क्षेत्रमा शाखा, एटीएममा कर्मचारीहरू नजान नै भनिएको छ । कहिलेकाहीँ अत्यावश्यक परेको छ भने स्थानीय प्रशासनको समन्वयमा जान सकिन्छ । सकेमसम्म नजाने नै हो,’ उनले भने । राष्ट्र बैंकको पनि अत्यावश्यक पेमेन्ट सिस्टम राष्ट्रियस्तरमा चल्ने भएकाले आईटी, पेमेन्टको काम भने सुचारु हुने उनले बताए । ‘कफ्र्यु लागेको क्षेत्रमा आवतजावत नै बन्द गरेपछि नखुल्ने हो । तर, बैंक तथा वित्तीय संस्थाको केन्द्रीकरण भएको हुँदा आन्तरिक रुपमा डिजिटलको काम भने चल्छ,’ उनले भने । साथै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार पनि नहुने भएको छ । नेप्सेका सहायक प्रबन्धक निरन्जय फुयालका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथभित्र कर्फ्यु जारी गरेको तथा धेरै कारोबार सदस्य, लगानीकर्ताहरुले कारोबार स्थगन गर्न अनुरोध भएको हुँदा सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आज भदौ २४ गतेको सम्पूर्ण सेयर कारोबार स्थगन गरिएको छ कर्फ्यु लागू भएपछि तोकिएको सिमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । प्रशासनका अनुसार कर्फ्यु को आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुनेछ । नेपाल धितोपत्र बोर्डको कार्यालय भने खुला रहने जनाएको छ ।
काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु
काठमाडौं । काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चित कालीन कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको हो । चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ । कर्फ्यु लागू भएपछि तोकिएको सिमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
ललितपुरमा बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यु आदेश, आवतजावत गर्न समेत नपाइने
काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् । कर्फ्यु आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चार किल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । कर्फ्यु आदेश जारी भएका क्षेत्र भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५): पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णु देवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म । सानेपा क्षेत्र (वडा नं २): पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म । च्यासल क्षेत्र (वडा नं ९): पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म । प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको जनाए ।
इटहरीमा जेनजीको प्रदर्शनका क्रममा १२ जना सुरक्षाकर्मी घाइते
काठमाडौं । सुनसरीको इटहरी उप-महानगरपालिकामा सोमबार जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरी र सर्वसाधारण घाइते भएका छन् । आन्दोलनका क्रममा भीड अनियन्त्रित भएपछि प्रहरीमाथि ढुङ्गा मुढा प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए । प्रहरीको तर्फबाट अश्रुग्यास, हवाइफायर र जङ्गी राउण्डसमेत फायर भएको उनले बताए । उनका अनुसार कुन-कुन हतियारबाट के-कति फायर भएको भनी यकीन गर्न बाँकी छ । प्रदर्शनका क्रममा १२ जना सुरक्षाकर्मी घाइते भएका जनाउँदै १३ जना प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा रहेका प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए । घटनामा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी, प्रहरी सहायक निरीक्षक महेन्द्रप्रसाद यादव, प्रहरी निरीक्षक मेघराज अर्याल, प्रहरी निरीक्षक कोमल ठाकुर, प्रहरी नायब निरीक्षक सोमनाथ ढुङ्गाना, प्रहरी सहायक हवल्दार पुरुषोत्तम थानदार, प्रहरी जवान नितेशकुमार मण्डल, रवीन दर्जी घाइते भएका प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीतर्फ सञ्जय थोकर, कुसाङ सिंह सशाङ्क, सञ्जय थारु र सुशील थारु घाइते भएका छन् । प्रदर्शनका क्रममा दुई जनाका मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, प्रदर्शनका क्रममा मोरङ बूढीगङ्गा गाउँपालिका-७ का १९ का सान्तनु ढकाल, इटहरी-४ का १६ वर्षीय अनमोल पन्त, इटहरी-१० का १६ वर्षीया सम्झना विक, रामधुनी-८ का १६ वर्षीय आशिष चौधरी, १८ वर्षीय आदर्श चौधरी, इटहरी-५ का १६ वर्षीय विकुल साह घाइते भएका छन् । घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आन्दोलनका क्रममा धनकुटा छथर जोरपाटी गाउँपालिकाका २१ वर्षीय अङ्कीत भण्डारी, धनकुटा नगरपालिका-८ का २४ वर्षीय गोपी बस्नेत, महालक्ष्मी नगरपालिका-१ घर भई इटहरी-५ डेरा गरी बस्ने २९ वर्षीय रोशन कार्की, मोरङ सुन्दरहरैँचा-७ गोठगाउँका १९ वर्षीय कोमल मिश्र, सुनसरी धरान-१८ का १९ वर्षीय मानस राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक तिम्सिनाले बताए । मोरङ सुन्दरहरैँचा-१० की १३ वर्षीया युविका महत, मोरङ सुन्दरहरैँचा-१० का १६ वर्षीय सञ्जु छाला याख्खा, भोजपुर हतुवागढी गाउँपालिका-१ घर भई इटहरी-४ डेरा गरी बस्ने १९ वर्षीय प्रवेश राई, इटहरी-४ डेरा गरी बस्ने २६ वर्षीय आशकुमार राई, २१ वर्षीय भुपाल राई, झापा भद्रपुर घर भई इटहरी-९ मा डेरा गरी बस्ने मनोज आचार्य, धनकुटा महालक्ष्मी नगरपालिका-२ घर भई इटहरी-५ मा डेरा गरी बस्ने १७ वर्षीय सरोज बूढाथोकी र इटहरी-१७ का १६ वर्षीय सुशन खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कर्फ्यूमा खटिएका नेपाली सेनासँग सडकमा भिडन्त गर्दै जेनजी प्रदर्शनकारी
काठमाडौं । जेनजी प्रदर्शनकारीहरू नेपाली सेनासँग सडकमा भिडिरहेका छन् । विकासन्युजका संवाददाता नरेश बोहराले कर्फ्यूमा खटिएका नेपाल आर्मी (नेपाली सेना)सँग दोहोरो भीडन्त गरिरहेको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश जारी लगत्तै नेपाल आर्मी सो क्षेत्रमा खटिएका छन् । तर, कर्फ्यूको बेवास्ता गर्दै प्रदर्शन जारी राखेपछि नेपाल आर्मी र जेनजी प्रदर्शनकारीहरू बीच भिडन्त जारी रहेको बोहराले बताए । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी भएको हो । साथै प्रधानमन्त्री निवास बालुवाटार, शीतलनिवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर पनि कर्फ्यू थप गरेको छ । जेनजीले प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनमा आगजनी गरेका छन् भने संसद भवनभित्र छिरेर आगजनी समेत गरेका छन् ।
एकै वर्षमा ८ अर्ब ५० करोड रूपैयाँ वैदेशिक लगानी भित्रियो
काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी क्रमशः बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा आठ अर्ब ५० करोड रूपैयाँ मात्रै वैदेशिक लगानी भित्रिएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा उक्त वर्ष ३६.१ प्रतिशतले वैदेशिक लगानी वृद्धि भएको हो । सो वर्ष वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो । आर्थिक वर्ष २०७९/८० मा वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो । त्यसअघिको वर्ष हेर्ने हो भने आर्थिक वर्ष २०७८/७९ मा १८ अर्ब ६० करोड रूपैयाँसम्म वैदेशिक लगानी भित्रिएको थियो । नेपालले हालसम्म ६० भन्दा बढी मुलुकबाट वैदेशिक लगानी आकर्षित गर्दै आएको छ । सर्वेक्षण अनुसार तीन देशले मात्रै कुल विदेशी लगानीको कुल ५० प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको देखिन्छ । कुन देशबाट बढी लगानी ? विदेशी लगानीमध्ये सबैभन्दा धेरै आउने देश भारत रहेको छ । हाल भारतको मात्रै १ खर्ब ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको लगानी रहेको छ, जुन ३२.२ प्रतिशत बराबर हो । त्यस्तै चीनबाट ३३ अर्ब ८२ करोड रुपैयाँ अर्थात १०.२ प्रतिशत, सिंगापुरबाट २७ अर्ब ६६ करोड अर्थात् ८.३ प्रतिशत, आयरल्याण्डबाट २३ अर्ब १४ करोड अर्थात् ७ प्रतिशत, दक्षिण कोरियाबाट २० अर्ब १८ करोड अर्थात ६.१ प्रतिशत तथा अस्ट्रेलियाबाट १९ अर्ब ७१ करोड अर्थात ५.९ प्रतिशत लगानी प्राप्त भएको छ । क्षेत्रगत रुपमा वैदेशिक लगानी सबैभन्दा बढी उद्योग क्षेत्रमा भएको छ । यो क्षेत्रको हिस्सा सबैभन्दा धेरै ५९.४ प्रतिशत छ भने सेवा क्षेत्रमा ४०.५ प्रतिशत लगानी पुगेको छ । सर्वेक्षण अवधिसम्म देशमा कुल ३ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको कुल विदेशी लगानी कायम छ । राष्ट्र बैंकले २०१२÷१३ देखि नियमित रूपमा वैदेशिक लगानीको सर्वेक्षण गर्दै आएको छ । दक्षिण एशियाको अवस्था के छ ? दक्षिण एशियामा गएको वर्षको तुलनामा वैदेशिक प्रत्यक्ष लगानी ठूलो मात्रामा घटेको छ । सन् २०२४ मा दक्षिण एशियामा कुल वैदेशिक लगानी ३४.६ अर्ब अमेरिकी डलर मात्र भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८.८ प्रतिशत कम हो । सबैभन्दा ठूलो गिरावट भारतमा देखिएको छ । भारतमा वैदेशिक लगानी २०२३ मा २८.१ अर्ब डलरबाट घटेर २७.६ अर्ब डलरमा झरेको छ, जुन ४३.१ प्रतिशत कमी हो । तर नेपालले भने लगानी आकर्षणमा सुधार देखाएको छ । नेपालमा सन् २०२४ मा ६० करोड डलर वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.८ प्रतिशत वृद्धि हो । यसैगरी पाकिस्तानमा त्यस्तो लगानी ४०.१ प्रतिशतले बढेर २.६ अर्ब डलर पुगेको छ भने माल्दिभ्समा पनि ४.८ प्रतिशत वृद्धि भएको छ । यस्तै, बंगलादेश, भूटान र श्रीलंकामा लगानी घटेको छ ।
राष्ट्रपति र प्रधानमन्त्री निवासलगायत क्षेत्रमा पनि कर्फ्यू जारी, बानेश्वरमा सेना परिचालन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रपति र प्रधानमन्त्री निवासलगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यू लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटार, शीतलनिवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर पनि कर्फ्यू थप गरेको छ । यसअघि प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको छ । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी भएको हो । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन गेट नजिक आगजनी गरेका छन् । अहिलेसम्म त्यहाँ दमकल जान सकेको छैन । अहिले बानेश्वर क्षेत्रमा सेना पनि परिचालन भएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजीले कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोतलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नाराबाजी गरिरहेका छन् । जेनजीको प्रदर्शनले सरकार दबाबमा परेको छ ।