बैंकहरु पुगे सीसीडी रेसियोको डिलमा, कर्जा दिन नसक्ने
काठमाडौं । वाणिज्य बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७८ प्रतिशत बढी रहेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८०ः२० कायम गरेको छ । वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने ७ बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । नेपाल बंगलादेश बैंकको सीसीडी रेसियो ७९.१३ प्रतिशत पुगेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको देखाएको छ । यस्तै नेपाल एसबीआई बैंकको ७७.३, मेगा बैंकको ७९.३७, लक्ष्मी बैंकको ७७.९३, सिटिजन्स बैंकको ७७.४, सानिमा बैंकको ७८.९९ र सिद्धार्थ बैंकको ७८.३३ प्रतिशत सीसीडी रेसियो पुगेको छ । निक्षेप नबढाइ थप कर्जा लगानी गरेमा वा ठुलो निक्षेप बाहिरिएमा बैंकको सीसीडी रेसियो ८० प्रतिशत नाघ्ने देखिएको छ । सबै बैंकले अहिले सीसीडी रेसियोको डिलमा पुगेको वित्तीय प्रतिवेदनले देखाएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकसंग पर्याप्त तरलता रहेको छ । बैंकले थप लगानी गर्ने अवस्था नरहेको नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बताउछन् । “निक्षेप नबढाइ कर्जा लगानी गर्न नसक्ने अवस्थामा बैंक पुगेका छन्” उनले भने । विस्तारै निक्षेप पनि बढ्दै गएकाले लगानीयोग्य पुँजीको समस्या हट्दै जाने संकेत देखिएको उनी बताउँछन् । यस्तै, माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठ पनि कर्जा लगानी गर्न नसकेको बताउछन् । निक्षेप परिचालन नबढेकाले थप कर्जा लगानी गर्न नसकिएको उनको भनाई छ । बैंकले लगानी गर्न नसकेको सानिमाका सीईओ भुवनकुमार दाहाल बताउछन् । सीसीडी रेसियोको डिलमा रहेको उनको भनाई छ । बजारमा कर्जाको माग अत्याधिक रहेकाले माग अनुसार दिन नसकेको दाहालको भनाई छ । एक महिनाको अवधिमा बैंकहरुले ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४२ अर्ब रुपैयाँ लगानी गरेका छन् । यस्तै, अन्तर बैंक ब्याजदर बढेर ४.७ प्रतिशत पुगेको छ । एक साताअघि ३ प्रतिशतको हाराहारीमा रहेको अन्तर बैंक ब्याजदर बढेको छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा तल भएपछि राष्ट्र बैंकले डेढ महिनादेखि रिपोमार्फत बजारमा पैसा पठाउन पाएको छैन । बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि यसको असर सेयर बजारमा परेको छ । बैंकबाट ऋण लिएर ठुलो परिमाणमा सेयर किन्ने समूह चर्को ब्याजदरका कारण बजारबाट बाहिरिएको लगानीकर्ताको भनाई छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ५ महिनाको आर्थिक परिदृष्यमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १६.१ प्रतिशतले विस्तार भएको छ । निक्षप परिचालन १२.७ प्रतिशतले मात्र बढेको छ । निक्षेपको तुलनामा बैंक तथा वित्तीय संस्थाले ३.४ प्रतिशत कर्जा लगानी बढाएको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा तरलता कम भएपछि राष्ट्र बैंकले आज बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउदै छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितो लिएर बजारमा थप पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता घटेर २२ अर्ब रुपैयाँमा झरेपछि बिहीबार पैसा पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बजारमा पठाउने पैसा बैंकको तरलता व्यवस्थापनलाई मात्र हो । यसलाई निक्षेपको रुपमा गणना गरेर कर्जा लगानी गर्न पाइँदैन । यसअघि राष्ट्र बैंकले ३ पटक गरेर ३५ अर्ब रुपैयाँ बजारमा पठाएको थियो । बैंक तथा वित्तीय संस्थाले २८ अर्ब रुपैयाँ मात्र लिएका थिए ।
विद्युत प्राधिकरणमा ७ जना उपकार्यकारी निर्देशकमा बढुवा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७ जना निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गरेको छ । विद्युत प्राधिकरणको बुधबारको सञ्चालक समिति बैठकले निर्देशकहरु लेखनाथ कोइराला, शान्तिलक्ष्मी शाक्य, जगदिश्वरमान सिंह, मोहनरत्न शाक्य, हरराज न्यौपाने, हितेन्द्र देव शाक्य र अनिलराज भण्डारीलाई बढुवा गरेको हो ।
नेपाल बंगलादेश बैंकको नाफा ४३ करोड मात्रै, उच्च ब्याजदरको असर नाफामा
काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा ४३ करोडमै सिमित भएको छ । बैंकको नाफा चालु आवको पुस मसान्त अवधीमा ११ करोडले घटेर ४३ करोडमा खुम्चिएको हो । बैंकले गत आवको सोही अवधीमा ५४ करोड नाफा कमाएको थियो । ब्याजदर वृद्धिको प्रभाव बैंकको नाफामा परेको देखिन्छ । बैंकले गत आवको पुस मसान्त अवधीमा ८४ करोड ब्याज खर्च गरेको थियो । तर चालु आवको सोही अवधीमा भने बैंकको ब्याज खर्च १ अर्ब ७२ करोड पुगेको छ । बैंकको खराब कर्जा पनि ०.९९ प्रतिशतबाट १.४७ प्रतिशत पुगेको छ । प्रति सेयर आम्दानी पनि २७ रुपैंयाँबाट घटेर ११ रुपैंयाँमा झरेको छ ।
नेपाल एसबीआई बैंकको नाफा ९१ करोड, निष्क्रिय कर्जा न्युन
काठमाडौं । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षका ६ महिनामा नाफा बढाएको छ ।चालु आर्थिक वर्षको पुससम्म बैंकले ९१ करोड ३० लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा ७५ करोड ८७ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा एसबीआईले १६ करोड रुपैयाँ बढी नाफा गरेको छ । बैंकले बिहीबार चालु आवको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै निक्रिय कर्जा ०.१३ प्रतिशत मात्र रहेको जानकारी दिएको छ । निक्षेप लागत ५.१४, सीडी रेसियो ७७, आधार ब्याजदर ९.५० प्रतिशत भएको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर ८५ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ७७ अर्ब ५९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भएर ७१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ५९ अर्ब ७७ करोड रुपैयाँ थियो । पुससम्म बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । यस्तै संचित कोषमा ३ अर्ब ७० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंकले माग्यो ४७ कर्मचारी
काठमाडौं । ग्लोबल आईएमई बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर ४७ जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ । बैंकले सहायक प्रबन्धक ३ जना, बरिष्ठ अधिकृत ५ जना, अफिसर ४ जना, जुनियर अधिकृत ९ जना, बरिष्ठ सहायक २६ पदका लागि दरखास्त मागेको हो । बैंकले जनवरी ३१ तारिखसम्ममा आवेदन दिन सकिने जनाएको छ ।
क्रिकेटर शरद भेषवाकरद्धारा राईजिङ पोखरा एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकरद्धारा पोखरामा अवस्थित राईजिङ पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेका छन् । पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवम् वृज सिमेन्ट इण्डष्ट्रीजद्धारा प्रायोजन गरिएको क्रिकेट सामाग्री बुधबार एक समारोहका बीच भेष्वाकारले हस्तान्तरण गरे । भेषवाकर वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा बिगत एक बर्षदेखि आवद्ध छन् । क्रिकेट एकेडेमीमा करीव ३० जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् । एकेडेमीको स्थापना एक बर्ष अगाडि भएको हो । वृज सिमेन्ट केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । सिमेन्ट उद्योग भैरहवा–लुम्विनीमा छ । उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पि.एस.सि.) सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ ।
सेयर बजार सामान्य अंकले उकालो, एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले कमाए सबैभन्दा बढी
काठमाडौं । केही समयअघि देखि निरन्तर ओरालो लागेको सेयर बजार बुधबार भने सामान्य अंकले उकालो लागेको छ । सो दिनको नेप्से परिसूचक १.६९ अंकले उकालो लागेर १३९४.७३ अंकमा पुगेको छ । बुधबारको परिसूचकमा केही सुधार आएता पनि सेयर कारोबारमा भने गिरावट भएको छ । मंगलबार ३२ करोडको कारोबार भएको बजारमा बुधबार भने जम्मा २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार सबैभन्दा बढी नेपाल फाइनान्सको ३ करोड ५४ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् । सामान्य वृद्धि भएको बुधबारको बजारमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो दिन यस इन्स्योरेन्सका लगानीकर्ताले ५.६४ प्रतिशत कमाएका छन् । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६४९ रुपैयाँ रहेको छ, जुन अघिल्लो दिनको तुलनामा ८८ रुपैयाँ बढी हो । उता हिमालयन डिष्टिलरीको सेयर मूल्य भने ५.८० प्रतिशतले घटेको छ । बजारमा उत्पादनमूलक, माइक्रोफाइनान्स र फाइनान्स समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकी सबै समूहको सूचक उकालो लागेका छन् । बीमा र होटल समूहको परिसूचक क्रमशः १६ र १४ अंकले उकालो लागेका छन् ।
दुई लाखभन्दा बढी भूकम्प पीडित दोस्रो किस्ताका लागि प्रमाणीकरण
काठमाडौं । भूकम्प अति प्रभावित १४ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको सङ्ख्या दुई लाख नाघेको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईको मंगलबार दिउँसो ४ बजेसम्मको तथ्यांकअनुसार प्रमाणीकरण हुने लाभग्राहीको सङ्ख्या दुई लाख चार हजार ९९३ पुगेको हो । विसं २०७३ पुस मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन गर्ने समयसीमा गत पुस मसान्तसम्म तोकिएको थियो । यस अवधिमा दोस्रो किस्ताका लागि योग्य लाभग्राहीको सङ्ख्या उल्लेखनीय रुपमा बढेको हो । यो तथ्यांकले पछिल्लो समय निजी आवास पुनःनिर्माण तीव्र रुपमा भइरहेको देखाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिएका छन् । ‘‘भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा इन्जिनियर, प्राविधिक खटिएका तथा दोस्रो किस्ता लिने समयसीमा तोकिएका कारण पनि निजी आवास पुनःनिर्माणले गति लिएको हो’’, उनले भने । दोस्रो किस्ताका लागि प्रमाणीकरण भएकामध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकका ३७ हजार ३८८ लाभग्राही छन् । सबैभन्दा कम भक्तपुरका एक हजार ९२१ लाभग्राही रहेको प्राधिकरणले जनाएको छ । पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार घरको जग राखेपछि पुनःनिर्माणका लागि प्राविधिकले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिश गर्छन् । भूकम्प कम प्रभावित १७ जिल्लाका दोस्रो किस्ताका लागि लाभग्राहीको लगत संकलन पनि भइरहेको छ । मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाईका अनुसार अति प्रभावित १४ जिल्लामा पुनःनिर्माण सम्पन्न भएका र निर्माणाधीन घरको सङ्ख्या तीन लाख ६० हजार ४७८ पुगेको छ । तथ्यांकअनुसार निर्माण सम्पन्न भएका घरको सङ्ख्या ९० हजार २६२ छ भने निर्माणाधीन घरको सङ्ख्या दुई लाख ७० हजार २१६ छ । प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांकअनुसार धादिङमा सबैभन्दा धेरै १८ हजार ९४० घर पुनःनिर्माण भएका छन् । सबैभन्दा कम भक्तपुरमा ३६२ भूकम्पले भत्किएका घर बनाइएको प्रवक्ता भुसालले बताए । भूकम्प पीडित भई लाभग्राही सूचीमा परेका पीडितले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख गरी रु तीन लाख अनुदान पाउँछन् । रासस
कालीगण्डकी करिडोरको कुस्मा-मिर्मी खण्डको ट्रयाक असारभित्रै खोल्ने
पर्वत । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको कुस्मा-मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्रयाक खोल्ने कार्य सकिने भएको छ । करिडोरको मिर्मी-कुस्मा खण्डमा पर्वतको मुडिकुवादेखि अर्मादी र स्याङ्जाको मोहनडाँडादेखि मिर्मी सम्मको थोरै भूभागमा बाँकी रहेको ट्रयाक खोल्ने काम असार सम्ममा नै सक्न लागिएको हो । करिडोरको मिर्मी-कुस्मा खण्डमा झण्डै दुई किलोमिटर मात्रै सडकमा ट्रयाक खोल्न बाँकी रहेको छ । भारतसँगको सिमाना सुनौलीदेखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्लासम्म पुग्ने गैँडाकोट-मिर्मी-फलेवास-जोमसोम-कोरल्ला सडक ३७७ किलोमिटर लामो छ । सेतीवेणी-मिर्मी खण्डमा पर्ने पिँडीखोलाको ठूलोखोलादेखि मिर्मी सम्मको सय मिटर कठिन पहरोमा ट्रयाक खोल्न बाँकी छ भने पर्वतको मोदीवेणीदेखि अर्मादीसम्म मात्रै डेढ किलोमिटर मिटर ट्रयाक खोल्नका लागि काम भइरहेको छ । “थोरै मात्र ट्रयाक खोल्न बाँकी छ, यसै वर्षभित्र खोलिसक्ने गरी काम अगाडि बढाइएको छ”, करिडोरको गैँडाकोट-राम्दी-मालढुंगा आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले भने । मोदीवेणी र मोहनडाँडा मिर्मी खण्डको पहरोमा ट्र्याक बनाउन विस्फोटन गर्नुपर्ने आवश्यकता भएकाले नेपाली सेनाको सहयोग लिनुपर्ने देखिएको छ । कालीगण्डकी करिडोरमा कालीगण्डकी पश्चिममा पाल्पा-गुल्मी-बागलुङ खण्डमा सडकको अधिकांश ट्रयाक नेपाली सेनाले खोलेको छ भने विभिन्न खोलामा बेली ब्रिज बनाउने कामसमेत सम्पन्न गरिसकेको छ । पर्वत खण्डमा भने ठेकेदारले समयमा काम नगर्दा गत वर्ष नै ट्रयाक खोल्ने भनिए पनि अझै काम हुन सकेको छैन । अहिले फलेवास नगरपालिकाको मुडिकुवादेखि अर्मादी खण्डमा ट्र्याक खोल्ने काम भइरहेको छ । मोहनडाँडादेखि मिर्मीसम्म विस्फोटन गर्नुपर्ने भएकाले सेनाले सहयोग नगरेसम्म काम अधुरै छ । आयोजना कार्यालयका अनुसार फलेवासदेखि अर्मादी सम्मको सडकको ट्र्याक खोल्ने काम असार सम्ममा सक्ने लक्ष्य छ । रानीपानीदेखि फलेवाससम्मको २२ किलोमिटर सडक चक्लाबन्दी गरी ग्राभेल स्ट्याण्डर्डको बनाउन टेण्डर आह्वान भइसकेको छ । त्यसका लागि रु ३९ करोड ३० लाख बजेट विनियोजन भएको छ । अहिले पनि मोदीखोला, लमायखोला र सेतीखोलामा पक्कीपुल निर्माणका लागि काम शुरु भएको छ भने आँधीखोलामा पुल निर्माणका लागि टेण्डर आह्वान गर्न अन्तिम चरणमा रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । “सडकको धेरै क्षेत्रमा काम भइरहेको छ, बजेटको पनि अभाव छैन”, उनले भने, “भूगोल र ठेकेदारका कारण कहिलेकाहीँ समस्या आएको छ”, उनले ठेकेदारलाई दबाब दिएर पनि लक्ष्यअनुसार समयमा काम सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन् । कालीगण्डकी करिडोरको पर्वत-मिर्मी खण्ड जम्मा ५५ किलोमिटर छ भने बागलुङ-गुल्मी-पाल्पा खण्ड यो भन्दा झण्डै ३० किलोमिटर बढी छ । पर्वत खण्डमा समयमा पुल र सडकको काम सक्ने हो भने उत्तर दक्षिण आउने सवारी साधनले यही मार्ग प्रयोग गर्ने सम्भावना छ । कालीगण्डकी करिडोरको पर्वत खण्डका लागि निरन्तर अभियान चलाइरहेका प्रदेशसभा सदस्य विकास लम्साल यो खण्डको काम जुनसुकै हालतमा पनि समयमा पूरा गराउने बताए । “कुस्मा-मिर्मी खण्डमा पुल र सडक निर्माणका लागि निरन्तर दबाब र अनुगमन जारी रहन्छ”, उनले भने, “समयमा नै काम सम्पन्न गर्न बजेटदेखि प्रक्रियागत ढिलाइ हुन दिइने छैन ।” पर्वतका प्रतिनिधिसभा सदस्य पदम गिरीले पनि करिडोरको कामलाई जुनसुकै हालतमा पनि सम्पन्न गराउन बजेटको कमी हुन नदिने बताए । ठेकेदारका कारण ढिलाइ हुने अवस्थामा नेपाली सेनालाई जिम्मा दिएर पनि काम अघि बढाउनुपर्ने उनको धारणा छ । गिरी सहितको टोलीले बागलुङ-गुल्मी खण्डमा नेपाली सेनाले गरेको काम अवलोकन गरेर फर्केको छ । अवलोकनका क्रममा नेपाली सेनालाई जिम्मा दिएमा सोचेको भन्दा छिटो र गुणस्तरीय हुने देखिएको उनले बताए । रासस
मेगा बैकको नाफा ३९ करोड ३६ लाख, निष्क्रिय कर्जा घट्यो
काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । गत पुससम्म बैंकले ३९ करोड ३६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३७ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आवमा मेगाले २ करोड रुपैयाँ मात्र नाफा बढाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा घटेर ०.९६ प्रतिशतमा झरेको छ । गत असोजमा यस्तो कर्जा १.६७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ७.५८, सीडी रेसियो ७९.३७, आधार ब्याजदर १०.९६ र स्प्रेड दर ३ प्रतिशत मात्र छ । प्रतिसेयर आम्दानी १०.६४ प्रतिशत रहेको बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप बढेर ४५ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा निक्षेप ३७ अर्ब ९८ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि बढेर ४० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिम कर्जा लगानी ३४ अर्ब ११ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर १ अर्ब ६७ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
आर्टिफिसिएल इन्टेलिजेन्स मोवाइल एप बनाउदै कुलप्याड, ३००० हजार अनुसन्धाकर्ता अनुसन्धान र विकासमा व्यस्त
काडमाडौं । कुलप्याडले नयाँ प्रविधिसहितको मोवाइल निर्माण गर्न ३० करोड अमेरिकी डलर लगानी थप्ने भएको छ । सो लगानीमा कम्पनीले सिलिकन भ्यालीमा नयाँ प्लान्ट राख्ने भएको छ । पावर सन भन्चर मार्फत उक्त लगानी हुन लागेको कम्पनीले जनाएको छ । कुलप्याडका सिईओ जिया चावको अनुसार कुलप्याडले आफ्नो फोकस मोबाइल फोनमा निर्माणमा मात्र नभए र ए.आई प्रविधि भएको एप्प निर्माण गर्ने छ । नयाँ एप्स हेल्थ, एजुकेशन र गेमिङमा पनि कन्द्रीत हुनेछ, जसले आर्टिफिसिएल इन्टेलिजेन्सको काम गर्नेछ । कुलप्याड मोवाईलको व्यवसाय गर्ने कम्पनी मात्र नभई आर्टिफिसिएल इन्टेलिजेन्स टेक्नोलोजिको विकासमा केन्द्रीत भएको उनले बताए । कम्पनीले ३००० हजार अनुसन्धानकर्तालाई नया प्रविधिको लागि अध्यायन र आविष्कारमा खटाएको जनाएको छ । ‘जियाङ र उनको टोलिले गरेको काममा हामी विश्वस्त छौं कि दुई वर्षभित्रमा संसारमा हाम्रो बास्तविक व्यवसाय पस्कने छौं’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कुलप्याडले अहिलेसम्म १० हजार भन्दा बढी आविस्कारको प्याटेन्ट राईट सुरक्षित गरेको छ जसको प्रयोग विश्वभर उत्पादन हुने विभिन्न ब्राण्डका मोबाइलमा हुने गरेको छ । कुलप्याडले विकास गर्ने नयाँ प्रविधिले दुई वर्षमा उल्लेख्य व्यवसाय वृद्धि गर्ने किकी ग्रुपको फाउन्डर र हेड चेङ वाले बताए । कुलप्याडले नेपालीमा बजारमा आफ्नो उपस्थिति फेब्रुवरी २०१७ बाट कुलवान, मेगा २.५ डी, मेगा ३, नोट ३एस र एनएक्स१ बाट गरेको हो । जयमा इन्टरकन्टिनेटल प्रा. लि. नेपालका लागि कुलप्याड स्मार्टफोनको आधिकारिक बिक्रेता हो ।
दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा, निर्माण लागत ३८ करोड रुपैयाँ
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ । विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी दिएका छन् । “दक्षिण एशियामा यस्तोखालको वातावरणमैत्री भवन अहिलेसम्म कसैले बनाएको छैन, बनाउँदा बनाउँदै अरु कसैले बनायो भने मात्र हो नत्र हामी नै हौँ पहिलो”, उनले भने । मुलुकको मौसमी सूचना प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउन अत्याधुनिक भवन बनाइएको महानिर्देशक शर्माको भनाइ छ । चार रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त भवनमा बढीभन्दा बढी सौर्य ऊर्जा प्रयोग गरिनेछ । ‘एयर टनेलिङ’ को व्यवस्था गरिने हुँदा यसले भवनको प्रत्येक कोठाको तापक्रम एउटै बनाउन मद्दत गर्छ । सामान्यतः वायुमण्डलमा तापक्रमको घटबढ असाध्यै धेरै हुन्छ । जमिनको पाँच/दश मिटर तलतिर जाँदा तापक्रमको भेरिएसन बिहान, दिउँसो र राति त्यति धेरै हुँदैन । महानिर्देशक शर्माले भने, “अहिले बनाउन खोजिएको जमीनको तापक्रम सबै कोठामा पुर्याइनेछ, किनकि त्यहाँको हावा धेरै तातो पनि नहुने, धेरै चिसो पनि नहुने हुँदा त्यो हावा माथि पठाउँदा कोठाको तापक्रम बाहिरको जस्तो नभएर चिसोमा तातो र तातोमा चिसो हुन्छ । यसले एयर कण्डिसन (एसी) लगाउन नपर्ने हुँदा ऊर्जा बचत हुने भएकाले हामीले वातावरणमैत्री भनेका हौँ ।” भवनमा मौसमी सूचना प्रवाह गर्न अत्याधुनिक मौसमी टिभी स्टुडियो, मौसमी उपकरण गुणस्तर मापनको प्रयोगशालालगायत अन्य थुप्रै प्रयोगशाला रहनेछ । विभागका अनुसार हाल भवनको करिब ४० प्रतिशत काम सकिएको छ । दशतले र पाँचतले दुई भवनमध्ये पाँचतले भवन ढलान भइसकेको छ । एक वर्षअघि शुरु भएको भवन निर्माण अबको करिब एक वर्षभित्रै सकिने महादिर्नेशक शर्माले बताए । नेपाली ठेकेदार कम्पनीबाटै निर्माण भइरहेको भवनको कूल लागत मूल्यअभिवृद्धि करसहित रु ३८ करोड हुनेछ । भवन बनेपछि विभागले हाल भाडामा प्रयोग गरिरहेको कामपा-१ नागपोखरीको केन्द्रीय कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम पूर्वानुमान महाशाखालाई बबरमहलमै सारेपछि मौसमी गतिविधिसम्बन्धी सबै काम नयाँ भवनबाटै हुन्छ । विभागका हाल देशभर ठूला छ कार्यालय धरान, विराटनगर, नारायणगढ, पोखरा, सुर्खेत र नेपालगञ्जमा छन् भने १५ एकाइ कार्यालय छन् । विभागले मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित सुर्खेत, पाल्पा र उदयपुरमा अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया थालेको छ । मौसम पूर्वानुमानलाई थप परिष्कृत गर्न विभागले आगामी फागुनमा मौसम मापन गर्ने मौसमी बेलुन उडाउने तयारी गरेको छ । यसबाट विश्वको मौसम पूर्वानुमानलाई नेपालको तथ्यांक पनि प्रयोग गरेर सही मौसम पूर्वानुमान गरिनेछ । रासस
हिमालयन बैंकद्धारा पाटन दरवार क्षेत्रको पुनर्निर्माणमा १ करोड सहयोग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । २५औँ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्रष्टलाई सो मात्राको सहयोग प्रदान गरेको हो । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहितकुमार रन्जितकारलाई ह्यात रिजेन्सीमा आयोजित एक समारोहमा सो सम्बन्धि एक पत्र हस्तान्तरण गरेका हुन् ।
सेयर बजार घटेका बेला राम्रो प्रतिफल दिने म्युचअल फण्डमा पनि लगानीकर्ताको आकर्षण कम
काठमाडौं । सेयर बजार घटिरहदा राम्रो प्रतिफल दिने सामूहिक लगानी कोष (म्युचअल फण्ड) मा लगानीकर्ताको आकर्षण कमी आएको छ । एनआईसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रति इकाई १० रुपैयाँ दरका २ अर्ब रुपैयाँको २० करोड इकाई म्युचअल फण्ड बिक्री नभएपछि म्याद थप गरेका छन् । दुबै बैंकको म्युचअल फण्ड निष्कासनको म्याद सोमबारसम्म थियो । एनआईसी एसियाले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड र सिटिजन्सले पनि १ अर्ब रुपैयाँकै सिटिजन्स म्युचअल फण्ड १ निष्कासन गरेका हुन् ।सिटिजन्सको सोमबारसम्म ६० करोड रुपैयाँको मात्र म्युचअल फण्ड खरिदका लागि १४ हजार आवेदन परेको छ । यस्तै एनआईसी एसियाको यही हारहारीमा आवेदन परेको एनआईसी एसिया क्यापिटल लिमिटडले जनाएको छ । राम्रो प्रतिफल दिने भएपनि म्युचअल फण्डमा लगानीकर्ताको आकर्षण कम देखिएको सीबीआइएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । “ आकर्षक प्रतिफल हुदाहुदै खरिद नहुदा हामी अचम्म परेका छौ” उनले भने “निर्धारित समयमा पुरै बिक्री नभएपछि आउदो १७ गतेसम्म म्याद थप गरेका छौ ।” यस्तै एनआईसी क्यापिटलका सीईओ जनकराज ढुङेलले पनि म्युचअल फण्ड पुरै बिक्री नभएकाले म्याद थप गरिएको बताए । विकास न्युजसंग कुरा गर्दै उनले २१ गतेसम्म समय थपेको बताए । राम्रो प्रतिफल दिने भएपनि लगानीकर्ताको आकर्षण कम देखिएको उनले स्वीकारे । यसअघि सानिमा बैंक र सिद्धार्थ बैंकले निष्कासन गरेको म्युचअल फण्ड पनि लगानीकर्ताको चासो कम देखिएको थियो । सिटिजन्स र एनआईसी दुबै म्युचअल फण्डको अवधि ७ वर्ष छ । एनआईसी एसियाले वार्षिक औसत १६ प्रतिशत र सिटिजन्सले वार्षिक औसत २२ प्रतिशत भन्दा बढी लाभांश दिने प्रक्षेपण गरिएको छ । ग्रोथ फण्डको योजना व्यवस्थापक एनआईसी क्यपिटल लिमिटेड र सिटिन्जन्सको सीबीआइएलले गरेका छन् । सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष ७.४, दोसो वर्ष १७, तेस्रो वर्ष १५.१८, चौथो वर्ष २०, पाँचौ वर्ष १९.८५, छैठौ वर्ष ३८.५ र सातौ वर्ष ३८.२ प्रतिशत प्रतिफल दिने छ । अन्तिम वर्ष फण्ड बिक्री गरेर रकम लगानीकर्तालाई बितरण हुनेछ । सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष २ करोड ३७ लाख २६ हजार रुपैयाँ नगद लाभांश दिने छ । त्यसपछि दोस्रो वर्ष २ करोड ९८ लाख, तेस्रो वर्ष ४ करोड ९ लाख, चौथो वर्ष ९ करोड १ लाख पाँचौ वर्ष ४ करोड २१ लाख, छैठौ वर्ष १८ करोड ९९ लाख र सातौ वर्ष बढेर २५करोड ३७ लाख रुपैयाँ लाभांश दिने सीबीआईएलले जनाएको छ । सीबीआईएलले कुल इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख सिटिजन्स बैंकलाई सुरक्षति गरी साढे ८ करोड इकाई बिक्रीका लागि खुला गरेको छ । फण्डको नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार गर्न सकिने छ । इकाइ अंकित मूल्यका आधारमा लाभांश वितरण गर्ने र संचित नाफालाई पुनः लगानीका लागि उपयोग गरिने जानकारी दिइएको छ । यस्तै एनआईसी एसिया ग्रोथ फण्डले वार्षिक १६.१३ प्रतिशतसम्म प्रतिफल दिने भएको छ । उसले सार्वजनिक गरेको लगानी आब्हानपत्रमा ७ वर्ष अवधिको योजनाले पहिलो वर्ष १५.७५, दोस्रो वर्ष १६.१४ र त्यसपछिका वर्षमा १६.१३ प्रतिशत लाभांश दिने प्रतिवद्धता जनाएको छ । ग्रोथ फण्डले सुरुको वर्षमा १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । त्यसपछिका वर्षमा ११ करोड, १२ करोड, १३ करोड १४ करोड र छैठौ वर्षमा १५ करोड रुपैयाँ नगद लाभांश बाड्ने एनआईसीले जनाएको छ । लाभांश दिन ग्रोथ फण्डले पहिलो वर्ष १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गर्नेछ । त्यसपछिको बढ्दै गएर अन्तिम वर्षमा आम्दानी बढेर २५ करोड ३८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ । ग्रोथ फण्डले पहिलो वर्ष १५ करोड ५६ लाख ८४ हजार रुपैयाँ नाफा गर्ने छ । त्यसपछि लगातार नाफा बढाउने प्रक्षेपण गरेको छ । योजनाका इकाइ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार हुने छ ।
लुम्बिनी विकास बैंकको नाफा १४ करोड ३७ लाख
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा लुम्बिनी विकास बैंकको नाफा सामान्य वृद्धि भएको छ । गत पुससम्म बैंकले १४ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ११ करोड २३ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार वित्तीय अवस्था सन्तोषजनक रहेको देखाएको छ । गत पुसम्म बैंकको खराब कर्जा साढे २ प्रतिशत रहेको छ । निक्षेप लागत ८.७९, सीडी रेसियो ७७, आधार ब्याजदर १२.३६ र स्प्रेड दर ३.८५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर १९ अर्ब १८ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा निक्षेप १५ अर्ब ३९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानीमा पनि विस्तार भएको बैंकले जनाएको छ । गत पुससम्म बैंकले १७ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी १३ अर्ब २१ करोड रुपैयाँ थियो । हालसम्म बैंकको संचित कोषमा १ अर्ब १ करोड रुपैयाँ वचत छ । चुक्तापुँजी २ अर्ब रुपैयाँ छ ।
गण्डकी विकास बैंकको खुदनाफा साढे २० करोड, खराब कर्जा न्युन
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गण्डकी विकास बैंकले नाफा बढाएको छ । गत पुससम्म २० करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १८ करोड १५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणअनुसार नाफामा सामान्य वृद्धि गरेको छ । गत पुससम्म खराब कर्जा ०.८८, निक्षेप लागत ८.४७, कर्जा निक्षेप अनुपात ७६.८१, कर्जा निक्षेपबीचको ब्याजदर अन्तर ५.५६ र आधार ब्याजदर ११.८६ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १८ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप १२ अर्ब ५९ अर्ब रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भएको छ । गत पुससम्म बैंकले १७ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ११ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको संचिति कोष बढेर १ अर्ब १३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । चुक्तापुँजी १ अर्ब ८४ करोड रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।
६ महिनामा लक्ष्मी बैंकको नाफा ५१ करोड ९२ लाख
काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । बैंकले गत पुससम्म ५१ करोड ९२ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४० करोड ६३ लाख रुपैयाँ गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष नाफा ११ करोड रुपैयाँ बढेको बैंकले जनाएको छ । बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा १.२९, कर्जा र निक्षेपबीचका ब्याजदर अन्तर (स्प्रेप) दर २.९५, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७७.९३, आधार ब्याजदर १०.८८ र निक्षेप लागत ७.४२ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३२ पैसा छ । समीक्षा अवधिमा बैंकले ६० करोड २७ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ५५ करोड ६१ लाख रुपैयाँ थियो । गत आवको तुलनामा बैंकको निक्षेप ५ अर्ब रुपैयाँ बढेको छ । यस्तै कर्जा लगानी पनि बढेर ५५ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ४७ अर्ब ४७ करोड रुपैयाँ थियो । कर्जा लगानी झण्डै ८ अर्ब रुपैयाँ बढेको बैंकले जानकारी दिएको छ । बैंकको संचित कोषमा १ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ छ । चुक्तापुँजी बढेर ८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
सनराइज बैंकद्धारा बचतकर्ता सामुहिक दुर्घटना बीमा रकम भुक्तानी
काठमाडौं । सनराइज बैंकले वचतकर्ताको मृत्यु दावी भुक्तानी गरेको छ । सवारी दुर्घटनामा परी निधन भएका नारायणगढ शाखाका निक्षेपकर्ता मनोजकुमार पोखरेलकी श्रीमतिलाई २ लाख ५६ हजार रुपैयाँ प्रदान गरेको छ । वचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था अन्र्तगत मृतककी श्रीमति सुशीलाकुमारी बाँनियालाई रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । आफ्ना बचत खाताका ग्राहकहरुको लागि बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दावी भुक्तानी हुने बैंकले जनाएको छ ।
१५ करोड खर्चेर विश्व बजारमा नेपाली पर्यटन गन्तव्यको प्रचार प्रसार
काठमाडौं । नेपाल पर्यटन बोर्डले १५ करोड रूपैयाँ खर्चेर विश्व बजारमा नेपाली पर्यटन गन्तव्यहरुको प्रचार प्रसार गरेको छ । बोर्डले गत आर्थिक बर्ष २०७३/०७४ मा १५ करोड ५८ लाख ६८ हाजार ३ सय खर्च गरी विश्व बजारमा नेपाली पर्यटन गन्तव्यहरुको प्रचार प्रसार गरेको हो । बोर्डले बीबीसी, सीएनएन र इनफ्लाइट म्यागेजिन लगायतका विश्व व्यापी पहुँच भएका सञ्चार माध्यम मार्फत पर्यटन क्षेत्रको प्रचार प्रसार गरेको हो । बीबीसीमा ३ करोड ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो । सि एन एनमा ३ करोड ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो । इनफ्लाइट म्यागयजिनमा ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो । उक्त विज्ञापनले नेपालको पर्यटकीय स्थलहरुको बारेमा विश्वासामु जानकारी पुर्याउने, विज्ञापनले नेपालको पर्याटक आगमनमा वृृद्घि गराउने भएको छ । साथै, भूकम्पबाट अस्तव्यस्त भएको नेपालको पर्यटन क्षेत्रलाई उत्थानका निम्ती सहयोग गर्ने र विश्वलाई जानकारी नभएको पर्यटकीय स्थलहरुको जानकारी समेत गराउने नेपाल टुरिजम बोर्डका अधिकृत सूदन सुवेदिले बताएका छन् ।
एनआईसी एशिया बैंकको २ नयाँ शाखा झापाको धुलाबारी र काकरभिट्टामा
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २ नयाँ शाखा झापाको काकरभिट्टा र मेचिनगरमा विस्तार गरेको छ । सोमबार एक समारोहका बीच मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले उक्त नयाँ शाखाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । यस २ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकले १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।