साँसद पोल्देन छोपाङ गुरुङ स्याउ खेतीमा, ३० करोड लगानीमा एग्रो मनाङ स्थापना

मनाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको बिहीबार उद्घाटन गरेका छन् ।सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार व्यक्त गरे। उनले सरकारले यो वर्ष स्याउ कृषकका लागि १० करोड रुपैयाँ अनुदान दिएको र १ लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको जानकारी दिए।अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य रहेको भन्दै विकट र असुरक्षित स्थानमा विकास गर्न कठिनाइ हुने भएकाले त्यस्ता बस्तीलाई सारेर एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिए । मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले स्थापना गरेको स्याउ बगैँचामा ६८ हजार स्याउका बिरुवा छन् । आगामी वर्ष १० हजार बिरुवा थप्ने उनले बताए। ७३५ रोपनी क्षेत्रफलमा स्याउ लगाइएकामा ४२५ रोपनी क्षेत्रफलबाट उत्पादन भएको छ । स्याउ बगैँचा ३० करोड रुपैयाँ लगानी रहेको छ । प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार ५५ जना कर्मचारी रहेका छन् । उहाँका अनुसार अत्याधुनिक चिस्याङ केन्द्रमा जुस उद्योगको समेत स्थापना गरिएको छ ।रासस

पावर ट्रान्सफरमर उत्पादनमा नेपाल इकरातकाे फड्काे, अब नेपालमै १० एमभीए

काठमाडौं । नेपालमा विद्युत प्रवाह गर्न ठुलो क्षमताको (पावर ट्रान्सफरमर) उत्पादन शुरु भएको छ । निजी क्षेत्रको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्राइभेट लिमिटेडले १० एमभीए १३२ केभी क्षमताको पावर ट्रान्सफरमर उत्पादन थालेको हो । १० एभीए क्षमताका ट्रान्सफरमर नेपालमा उत्पादन नभएपछि भारतबाट आयात हुँदै आएको छ । पावर ट्रान्सफरमर उत्पादन गरी बिक्री पनि भइसकेको नेपाल इकरातका प्रवन्ध निर्देशक कुशकुमार जोशीले बताए । नेपाल इकरातले १० एमभीए पावर ट्रान्सफरमर वार्षिक ४० वटासम्म बनाउने भएको छ । विस्तारै उत्पादन क्षमता बढाउने जोशीले जानकारी दिए । एउटा पावर ट्रान्सफरमरको मूल्य न्युनतम १ करोड ५० लाख रुपैयाँ हुने उनले बताए । कम्पनीले वार्षिक २ हजार थान ट्रान्सफरमर उत्पादन गर्दै आएको छ । हालसम्म कम्पनीले ५ एमभीए क्षमताको मात्र ट्रान्सफरमर उत्पादन गर्दै आएको थियाे । वार्षिक ६ हजार थान ट्रान्सफरमर उत्पादन हुने गरी क्षमता विस्तार गरिएको जोशीले जानकारी दिए । कम्पनीले पहिलो चरणमा माथिल्लो मैलुङखोला जलविद्युत आयोजनालाई ७.९ एमभीए क्षमताको पावर ट्रान्सफरमर आपूर्ति गरेको उनले सुनाए । अर्डर आएपछि मात्र पावर ट्रान्सफरमरको उत्पादन शुरु हुने जोशीले बताए । पावर ट्रान्सफरमर ठुला जलविद्युत आयोजनालाई आवश्यक पर्ने गर्छ । भारतलगायत तेस्रो मुलुकबाट वार्षिक औसत २०० वटा पावर ट्रान्फरमर आयात हुने गरेकोमा अब नेपालमा बन्न शुरु गरेकाले विदेशबाट किन्नु पर्ने अवस्थाको अन्त्य हुने जोशी बताउछन् । नेपाल इकरातले अझ बढी सुरक्षित ड्राइटाइपको ट्रान्सफरमर बनाउनका लागि स्पेनको आईएमईएफवाइ कम्पनीसँग सहाकार्य गर्न लागेको जोशीले सुनाए । केही समयपछि ड्राइटाइपको ट्रान्सफरमरको नेपालमै उत्पादन थालिने उनले सुनाए । पछिल्लो समयमा स्वदेशमा विद्युतीय ट्रान्सफरमरको माग बढ्दै गएको नेपाल इकरातको ट्रान्सफरमर टेलिकम, स्कुल, जलविद्युत आयोजना, सामुदायिक विद्युतीकरण, सिमेन्ट, डण्डी उद्योग, हाउजिङ र अस्पताललगायत बढी बिजुली खपत हुने क्षेत्रमा प्रयोग हुदै आएको छ । कम्पनीले विभिन्न क्षमताको ४ हजार ट्रान्सफरमर भुटानमा निर्यात गरेको थियो । त्यहाँ वार्षिक २०० थान ट्रान्सफरमर निर्यात हुने गरेको छ ।

नेप्से ९ अंकले उक्लियो, मेगा बैंक सहित ५ कम्पनीको एक करोड बढी सेयर कारोबार

काठमाडौं । बिहीबारको नेप्से परिसूचक ९.०३ अंकले बढेर १२२७.३६ अंकमा पुगेको छ । सो दिनको बजार अघिल्लो दिनको तुलनामा ०.७४ प्रतिशतले उकालो लागेको हो । बजार खुलेदेखि उकालो लागेको बजारमा कुल १६५ कम्पनीको सेयर किनबेच भएको छ । ८ लाख ६२ हजार कित्ता सेयर २५ करोड २२ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । कुल कारोबार मध्ये सबैभन्दा बढी मेगा बैंकको सेयर किनबेच भएको छ । यस बैंकको एकैदिन एक करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ रहेको छ । त्यस्तै, एक करोड रुपैयाँ भन्दा बढी सेयर करोबार गर्नेमा मेगा सहित अन्य ४ कम्पनीहरु रहेका छन् । एनआईसी एशिया बैंकको एक करोड ५१ लाख, एनएमबी बैंकको एक करोड ३८ लाख, जनता बैंक नेपालको एक करोड २० लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एकल अंकले बढेको बजारमा सबैभन्दा बढी यूनाईटेड फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ७.९५ प्रतिशतले बढेको छ । सो दिन निर्जीवन बीमा समूहको सूचक ४८ अंकले उकालो लागेको छ । उत्पादन मूलक १२ र होटल समूह ३१ अंकले ओरालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेका छन् ।

नागीडाँडा विमानस्थल कमिसनको चक्करमा, माधव नेपालले भने- यो योजना बन्द गर्नुपर्छ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तावित नागीडाँडा विमानस्थल बनाउने योजना कमिसनको चक्करमा अगाडि बढेको बताएका छन् । उनले उक्त योजना अगाडि बढाउन नहुने तर्क अगाडि सारेका छन् । बिहीबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले नागीडाँडा विमानस्थल बनाउने योजना बन्द गर्नु पर्ने बताए । निजगढ विमानस्थल बारे अध्ययन गर्न गठन भएको संसदीय उपसमितिको संयोजकको हैसियतमा बोल्दै नेपालले आन्तरिक विमानस्थल र अन्तराष्ट्रिय विमानस्थल एकै ठाउँमा हुनुपर्ने बताए । ‘कुनै पनि देशबाट आएको यात्रु अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ओर्लिएर पोखरा, विराटनगर, धनगढी अन्य कुनै शहर जानु पर्दा लामीडाँडा जानुपर्ने गरी विकासका योजना बनाउनु कमिसनको चक्कर बाहेक अरु केही होइन’ पूर्वप्रधानमन्त्री नेपालले भने-‘संसारमा कुनै पनि देशमा अन्तराष्ट्रिय विमानस्थलसँगै आन्तरिक विमानस्थल हुन्छ, नेपालमा किन अलग गर्न खोजिदैछ ?’ उनको भनाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीप्रति लक्षित थियो । मन्त्री अधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्ने योजना अगाडि सारेका हुन् । उनले काभ्रेको नागीडाँडा विमानस्थल बनाउन स्थलगत अध्ययन समेत गरेका थिए । उक्त विमानस्थल निर्माणको काम शुरु गर्न तत्काल २५ करोड बजेट पनि छुट्याइएको छ । सम्बन्धित समाचार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्ने तयारी, काभ्रेको नागीडाँडामा अध्ययन शुरु नागीडाँडामा विमानस्थल: ४० मिटर खार्नुपर्ने, २० लाख क्युबिक मिटर माटो अन्तर्राष्ट्रिय विमानस्थल ल्याइने काभ्रेको नागी डाडाँमा ‘बनेपा आन्तरिक विमानस्थल’, अघि बढ्यो काम

हिमालय ऊर्जा विकासले चैतदेखि १९ मेगावाट बिजुली उत्पादन थाल्ने, यो वर्ष ३ करोड नाफा गर्ने

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालय ऊर्जा विकास कम्पनी लिमिटेले निर्माण गरिरहेको २ जलविद्युत आयोजनाबाट आउदो चैतदेखि १९ मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्तीबाट बिजुली उत्पादन हुने जानकारी दिएको छ । कम्पनीले साधारण सेयर (आईपीओ ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको आब्हान पत्रमा आउदो चैतभित्र बिजुली उत्पादन गर्ने प्रतिवद्धता नेपाल विद्युत प्राधिकरणसंग गरेको जानकारी दिएको छ । कम्पनीले आउदो बैंशाखदेखि बिजुली बिक्रीबाट आम्दानी गर्ने समेत जानकारी दिएको छ । आयोजना बनाउन ३ अर्ब १४ करोड ७३ लाख रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ । आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५६ लाख रुपैयाँ रहेको छ । लागत सस्तो भएकाले वित्तीय रुपमा दुबै आयोजना आकर्षक रहेका छन् । आयोजनाबाट वार्षिक ११ करोड ५९ लाख रुपैयाँ बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनामा २५ प्रतिशत स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत कर्जा लगानी छ । चैतबाट बिजुली उत्पादन हुने भएपछि चालु आर्थिक वर्षमा कम्पनीले ३ करोड ३० लाख रुपैयाँ खुद नाफा गर्ने प्रकाशित आब्हान पत्रमा उल्लेख गरिएको छ । आगामी वर्ष नाफा बढेर १६ करोड र आर्थिक वर्ष ०७७/०७८ मा १८ करोड ७० लाख रुपैयाँ खुदनाफा गर्ने कम्पनीले जानकारी दिएको छ । चालू आर्थिक वर्षमा बिजुली बिक्रीबाट १४ करोड, आगामी वर्ष ५७ करोड ५२ लाख र ३ वर्षपछि ५९ करोड २१ लाख आम्दानी हुने कम्पनीले दाबी गरेको छ । । आम्दानी बढेपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा वृद्धि भई १८ रुपैयाँ ८९ पैसा पृुग्ने छ ।कम्पनीले कात्तिक ६ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा कात्तिक २० र ढिलोमा मंसिर ५ गतेसम्म तोकिएको छ । न्युनतम ५० देखि अधिकतम् ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिने छ ।जलविद्युत आयोजनाबाट प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीयबासिन्दालाई आईपीओ निष्कासन हुन लागेको हो ।

भन्सार छलि गरी ल्याइएको डेढ करोड बराबरको सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल भन्सार गुल्मले साउनदेखि हालसम्ममा भन्सार छली गरी ल्याइएको रु एक करोड ४६ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख पदमबहादुर खड्काले सो सामान गुल्मले कार्यालयलाई बुझाएको बताए। भारतबाट तस्करी गरी ल्याइएको लत्ताकपडा, हार्डवेयरका सामान, खाद्यान्न, सवारीसाधन मोटरपार्टस्लगायतका सामान बरामद गरिएको हो । सो अवधिमा लागुऔषध डाइजोल्याब ८५७ थान, नोल्फीस ८६१ थान, फेनारगन ८६० थानसहित लागुऔषध प्रयोगकर्तालाईसमेत पक्राउ गरिएको थियो ।

पञ्चकन्या माई हाइड्रोको सेयर कारोबार खुला, एक करोड १० लाख कित्ता सेयर सूचिकृत

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको आज(बुधबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १०२.४९ देखि ३०७.४७ रुपैयाँसम्म मूल्य तोकेको छ । जुनसुकै कम्पनीको सेयर नेप्सेमा सूचिकरण भएको ७ दिनमा पहिलो कारोबार शुरु हुनेछ । पुलचोकमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालै एक करोड १० लाख कित्ता साधारण सेयर सूचिकृत भएको छ । साथै, कम्पनीको स्टक सिम्बोल पीएमएचपीएल रहेको छ ।

रामशाहपथमा ७१ करोडमा ७ तले महान्यायाधिवक्ताकाे भवन निर्माण शुरु, २ वर्षमा सकिने

काठमाडौ । महान्यायाधिवक्ता कार्यालयले सिंहदरवार परिसरमा ७ तले भवन निर्माण शुरु गरेको छ । नयाँ भवनको बुधबार महान्यायधिवत्ता अग्नीप्रसाद खरेलले शिलन्यास गरेका छन् । ८ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको भवन बनाउन झण्डै ७१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्लास्तरीय परियोजना कार्यान्वयन एकाइले शर्मा/समानान्तर जेभीसँग ७० करोड ९५ लाख ६७ हजार रुपैयाँमा भवन निर्माण गर्न ठेक्का सम्झौता गरेको आयोजना प्रमुख लिला खतिवडाले जानकारी दिए । ठेकेदार कम्पनीले २०७७ पुस मसान्तसम्ममा भवन निर्माण गरिसक्ने उनले बताए । उनका अनुसार रामशाहपथमा रहेको भवनलाई भत्काएर पुननिर्माण हुन लागेको हो । पुरानो भवन भूकम्पले चर्किएपछि महान्यायाधिवक्ता कार्यालयले नयाँ भवन बनाउन थालेको हो । नायब महान्यायाधिवक्ता खगराज पौडेलले नयाँ भवन बनेसँगै न्याय सम्पादनमा सहयोग पुग्ने बताए। नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले महान्यायाधिवक्ताको कार्यालय र बार मिलेर न्यायप्रणालीमा सुधार गर्नुपर्ने बताए। उनले छरिएर रहेका अनुसन्धानलाई संविधान संशोधन गरेर भए पनि एकीकृतरुपमा महान्यायाधिवक्ता मातहतमा ल्याउनुपर्ने बताए । पुरानो भवन २०२९ सालमा निर्माण गरिएको हो ।

७ तल्ले अत्याधुनिक भवन बनाउँदै बीमा समिति, ८० करोड लागत

काठमाडौं । नियामक निकायमध्ये सबै भन्दा अत्याधुनिक भवन बीमा समितिले बनाउने भएको छ । समितिले ८० करोडको लागतमा ७ तले अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । सो भवन बिभिन्न नियामक निकायहरु बस्दै आएको हालसम्मकै अत्याधुनिक हुनेछ । कुपण्डोलस्थिल समितिको वर्तमान भवनको पछाडी समितिको नयाँ भवन निर्माण हुनेछ । त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ संस्थानको कन्सल्टेन्सी सर्भिसेजले बीमा समितिको नयाँ भवनको डिजाइन तयार पारेको हो । एक तल्ला अण्डर ग्राउण्ड पार्किङ, भुई तल्लामा क्याण्टिनका साथै तालिम हल, पहिलो तल्लामा अन्तराष्ट्रियस्तरको सम्मेलन स्थल र दोश्रो देखि छैठौं तल्लासम्म समितिको कार्यालय रहनेछ । सातौ तल्लामा भने बीमा क्षेत्रमा काम गर्ने स्वदेशी तथा विदेशी कन्सल्टेन्सीहरुका लागि छुट्याइनेछ । बीमा समितिका निमिक्त कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार ललितपुर महानगरपालिकामा नक्सा पासका लागि पठाईको छ । नक्सा पास भए लगत्तै विद्युतिय ठेक्का( ई बिडिङ) गरिनेछ । ३ रोपनी क्षेत्रफलमा बन्ने भवन आगामी साढे ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य तय भएको छ । समितिको नयाँ भवन ४६८६.३२ वर्गमिटर क्षेत्रफलको हुनेछ । समितिले केहि बर्ष अघि नेपाल बैंकसँग ४८ करोड रुपैंयाँमा ९ रोपानी जमिन खरिद गरेको थियो । सोही जमिनको ३ रोपनीमा नयाँ भवन बन्नेछ । नयाँ भवन निर्माण भएपछि नियामक निकायहरुमध्ये समिति सबै भन्दा अत्याधुनिक भवनमा सर्नेछ ।

साईनिङ्ग स्टार सहकारीबाट ४ करोड ठगी गरी काठमाडौंमा घर किन्ने अजय महर्जन पक्राउ

काठमाडौं । सहकारीको ४ करोड रुपैयाँ घोटला गरेका साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका तत्कालिन संचालक समिति सदस्य अजय महर्जन पक्राउ परेका छन् । महर्जनलाई केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबीले) पक्राउ गरको हो । काठमाडौं महानगरपालिका वडा नं १३ ताहाचल बस्ने महर्जनलाई ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७२ बैशाख १७ गते ४० लाख ७८ हजार ८८१ रुपैयाँ जरीवाना र २ वर्ष ८ महिना जेल सजाय तोकेको थियो । अदालतको फैसलापछि उनी वेपत्ता भएका थिए । महर्जनलाई व्यूरोको टोलीले असोज २२ गते सोमबार राजधानीको ताहाचलबाट पक्राउ गरेको सीआईबीका प्रहरी नायव उपरिक्षक निरन्जनदत्त भट्टले बताए । उनका अनुसार सीआइबीले फैसला कार्यान्वयनका लागि मंगलबार जिल्ला अदालतमा पेश गरिएको जनाएको छ । पक्राउ परेका महर्जनलाई कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाएको छ । सहकारीको तत्कालिन संञ्चालक समितिमा रहेका महर्जनले आकर्षक ब्याज र उपहारको झुटा प्रलोभनमा देखाई बिभिन्न मितिमा निक्षेपकर्ताहरुबाट संकलित ४ करोड १७ लाख ५८ हजार ७०० रुपैयाँ हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरी, निक्षेपकर्ताको साँवा र सोको ब्याज समेत फिर्ता नगरी ठगी गरेका थिए । ठगीमा संलग्न रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठ समेत दुई जनालाई गत साउन १० गते पक्राउ गरिएको थियो ।

माइग्रेन राेग, भ्रम र निराकरणका उपाय

काठमाडौं। पहिला पहिले माईग्रेनलाई भ्यास्कुलर रोग भनिन्थियो । तर, अहिले यसलाई न्युरोलोजिकल रोग भनेर भन्ने गरिन्छ। माइग्रेन एक प्रकारको टाउको दुखाइ हो, जुन निकै कडा हुने गर्दछ। यसको कारणले टाउको दुखेमा कम गर्न गाह्रो पर्छ । यो अवस्थामा रोकी रोकी टाउको दुख्ने र दुई घन्टादेखि कैयौँ दिनसम्म पनि दुखिरहने पनि हुनसक्छ । यो एक न्युरोलोजिकल समस्या हो । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ । मस्तिष्क रसायनमा हुने असन्तुलन नै माइग्रेनको प्रमुख कारण हो तर सबै टाउको दुख्नेलाई माईग्रेन पनि भनिदैन। यसको टाउको दुक्ने तरिका बेग्लै प्रकारको हुनेगर्छ जस्तै एक तर्फ मात्र टाउको दुख्ने। दुखाई धेरै जसो समय टाउकोको अगाडि भागबाट सुरु भएर बिस्तारै पछाडी तर्फ प्रस्थान गर्दछ। यदी टाउको दुख्न सुरु भएको केही समयमै औषधी खाएमा दुखाई कम हुनसक्छ । यदी त्यही समयमा औषधी खाईएन भने ७२ घण्टा सम्म पनि टाउको दुख्न सक्छ। यो बिशेष गरी युवाहरु माझ देखिन्छ। कसैलाई घाममा बस्दा टाउको दुख्छ भने कोही मान्छेलाई एकदम नराम्रो गन्ध वा सुगन्धले पनि टाउको दुख्न थाल्छ । यसलाई माइग्रेनको ट्रीगर भनिन्छ। माइग्रेनको ट्रिगर भन्नाले यस्ता चिजहरु हुन् जसले माईग्रेनलाई निम्त्याउन मद्त गर्दछ। यिनलाई अउरा पनि भनिन्छ। कुनै मान्छेलाई द्र्श्यबाट समस्या हुनसक्छ जस्तै उज्यालोमा हेर्दा घामको किरणहरु छरिएको देख्ने,समस्या हुने देखिन्छ। कुनै मानिसलाई अउरा गन्धबाट आउने गर्दछ। पेट्रोल, नेलपालिस, केहीको गन्ध आउने बित्तिकै टाउको दुख्ने, वाकवाकी आउँला जस्तो हुने गर्दछ। माईग्रेन हुनु आँफैमा एउटा मेडिकल कन्डिसन हो। यो वंसानुगत पनि हुनेगर्छ। यदी परिवारको कुनै सदस्यलाई माइग्रेन छ भने उसलाई पनि माईग्रेन हुने ८० प्रतिशत सम्भावना हुनेगर्छ। यो धेरै जसो महिलामा बढी देखिने गर्दछ। हर्मोनल चेन्जको कारणले गर्दा पनि महिलामा यो बढी देखिएको हो। एक अध्ययन अनुसार विश्वका करिब १८ प्रतिशत महिला तथा ६ प्रतिशत पुरुष माइग्रेनबाट पीडित रहेका छन। खानेकुराले पनि माइग्रेन निम्त्याउ छ पक्कै पनि खानेकुराले माईग्रेनलाई निम्ताउने मद्त गर्दछ। यसको मतलब खाने कुराले गर्दा माइग्रेन हुने होईन। खानेकुराले गर्दा विरामीलाई माईग्रेनबाट हुने पीडा निम्ताउनु हो। मानिसलाई माइग्रेनको बिरामी भएको अवस्थामा हुने गर्दछ। केही खानेकुरा त्यस्ता हुन्छन् जसले टाउको दुख्न मद्त गराउँदछ। त्यसका लागि बिरामीले एउटा हेडेक डायरी बनाउन जरुरी छ। किनभने बिभिन्न मानिसलाई बिभिन्न खानेकुराले माइग्रेन निम्ताउन मद्त गर्दछ। हेडेक डायिरीमा आफुलाई कती बेला टाउको दुख्न सुरु भयो, कुन समयदेखी कुन समयसम्म टाउको दुख्यो, यो भन्दा अगाडि मैले के खाए,के गरिरहेको थिए, मलाई उज्यालोले पो असर गर्‍यो कि, आवाजले पो टाउको दुख्यो कि भन्ने सबैकुरा टिप्न जरुरी छ। यसरी डायरी बनाउँदा आफुलाई के के कुराले असर गरिरहेको देखिन्छ र त्यसलाई ध्यान दिने हो भने पक्कै पनि हामीले आफुलाई माईग्रेनबाट हुने दुखाईबाट टाढा राख्नसक्छौ। कसैलाई दही खायो भने समस्या देखिन सक्छ । दही नै नखानु यसले माइग्रेन हुन्छ भन्नु होईन। कसैलाई बोतलको अचारले हुनसक्छ, कसैलाई कडा कफीले हुनसक्छ। हरेक मानिसलाई बिभिन्न कारणले गर्दा माईग्रेनबाट हुने दुखाई निम्ताउन थप मद्त गर्नेहुन्छ । त्यसैले आफुलाई के खानेकुरा, के तरिकाले असर गर्छ भन्ने पत्ता लगाउन जरुरी छ। माइग्रेन सम्बन्धी भ्रम यस्ता छन माइग्रेन सम्बन्धी मानिसहरुमा धेरै किसिमको भ्रम हुने गरेको छ। सबैभन्दा पहिला उनिहरुलाई यो त निकै नहुने रोग हो र यो लागेपछी कहिले पनि निको हुँदैन, अब सधैंभर यसरी नै बाँच्न पर्छ भन्ने धारणा रहेको हुन्छ। यो एकदमै गलत धराण हो।माइग्रेन मानसिक रोग हो र ? यो भयो भने मानिस पागल हुन्छ भन्नु मानिसहरुमा भएको अर्को भ्रम हो। त्यस माइग्रेनको औषधी खानुहुदैन यसको साईड एफेक्ट धेरै हुन्छ भनेर उनिहरु आफुलाई कोठामा टाउको बाँधेर एकदम थुनथान पारेर बसिदिन्छन्। त्यो सबैभन्दा ठुलो भ्रम हो। त्यसरी समय बर्बाद गरेर हुँदै हुँदैन। बाँच्न चाँही १०० बर्ष बाँच्ने तर हरेक महिनाको ३÷४ दिन आफुलाई त्यसरी थुनेर राख्ने भने त जीवन जिउनुको कुनै अर्थ नै हुँदैन। जब बाँचिन्छ तब रमाएर बाँच्न सक्नुपर्छ त्यसका लागि औषधी खान जरुरी छ किनभने औषधीले त्यसलाई ठीक हुन मद्त गर्दछ। माईग्रेन सम्बन्धी मानिसहरुमा भएको भ्रम मेटाउनुपर्छ मानिसहरुमा माईग्रेन सम्बन्धी भ्रम हटाउन सबैभन्दा पहिला हाम्रो शिक्षा प्रणाली नै बदल्न जरुरी छ। धेरै अगाडी देखीको हाम्रो शिक्षा प्रणालीमा चाँही रेप्रोडक्टिभ र सेक्सुअल हेल्थको बिषयमा पढाई हुन्छ तर मेन्टल हेल्थको बारेमा पढाई हुँदैन मानौ कि मेम्टल हेल्थ महत्वपुर्ण छैन। यो मान्छेले पछी गएर बच्चा जन्माउनु पर्छ भनेर रेप्रोडुक्टीभ हेल्थको बारेमा पढाईइन्छ तर पछि गएर व्यक्तिले आफ्नो मेन्टालिटीलाई स्थिर राखेर काम गर्नुपर्छ, समस्या परेको खण्डमा आफुलाई सम्हाल्न पर्छ र पछी गएर समाजलाई योगदान गर्नुपर्छ भन्ने सोच राख्दैनन। मेन्टल हेल्थको बारेमा बुझेको मानिसले अरुलाई बुझ्न सक्छ र चाहिएको खण्डमा त्यस ब्यक्तीलाई मद्दत पनि गर्नसक्छ। एउटा मानिस स्वस्थ हुनलाई उसको मेन्टल हेल्थ ठिक हुन एकदम जरुरी छ। मेन्टल हेल्थ ठिक भएको अवस्थामा मात्र मानिसले आनन्दको साथ काम गर्नसक्छ। त्यसैले यदी मानिसहरुमा भएको भ्रम मेटाउने हो भने सबैभन्दा पहिला मानिसहरुलाई मेन्टल हेल्थ सम्बन्धी शिक्षा दिन जरुरी छ। माइग्रेन हुनुको कारण महिलामा शरीरमा हुने मेजर हर्मोनल परिवर्तनका कारण माइग्रेन हुने गर्छ । गर्भावस्था, मिन्सुरेसन, रजोनिवृत्ति हुने समय महिलाको शरीरमा हर्मोनल परिवर्तन हुन्छ । जुन टाउको दुखाइको कारण पनि बन्न सक्छ । एक अध्ययनअनुसार माइग्रेनबाट पुरुषको तुलनामा महिला बढी प्रभावित हुन्छन् ।तनावका कारण पनि माइग्रेनको समस्या हुन्छ । तनावले मस्तिष्कमा सीधा असर पार्छ । कहिलेकाहीँ मस्तिष्कले त्यस्ता पदार्थ रिलिज गर्छ, जसले टाउको दुखाउने माइग्रेन पनि पैदा गर्छ । अत्यधिक या अपर्याप्त निद्राका कारण पनि माइग्रेन हुन्छ । कफिको अत्यधिक प्रयोग पनि माइग्रेनको कारण हो । अत्यधिक कफी सेवन गर्दा र अत्यधिक कफी सेवनलाई एकैपटक बन्द गर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । वातावरणमा आउने परिवर्तनले पनि माइग्रेन हुन्छ । कडा हल्ला, माइग्रेनको कारण बन्न सक्छ । अधिक प्रकाश र अत्यधिक गर्मीले पनि माइग्रेन हुन्छ । तापमानमा हुने परिवर्तनको कारण पनि अत्यधिक टाउको दुखाइ हुन सक्छ । धूम्रपान र मदिराको अधिक सेवन माइग्रेनको कारक हो । चकलेट, मसलेदार खानेकुराले पनि माइग्रेन हुन सक्छ । माइग्रेनको लक्षण टाउकोको नसा धड्किरहेको आभास हुन्छ । टाउकोको एउटा भागबाट दुख्न सुरु हुन्छ र पूरै भाग चर्को दुखाइले आक्रान्त बन्छ । जुन मानिस माइग्रेनको दुखाइबाट पीडित हुन्छ, उसले कुनै पनि नियमित काम गर्न सक्दैन । यसले आँखा दुखाउनुका साथै बान्तासमेत हुने गर्छ। यस्तो समस्या भएका मानिस प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुन्छन् । माइग्रेनको टाउको दुखाइले मानिसमा निकै छटपटी सिर्जना गर्छ । माइग्रेनको समस्या भएका मानिसमा कहिल्यै पनि राम्रोसँग निद्रा पर्दैन । शरीरमा थकान महसुस त हुन्छ तर निद्रा भने पर्दैन । माइग्रेनले अत्यधिक आँखा दुख्नुका साथै आँखा चिम्लिँदा जलन हुन्छ । माइग्रेनले मुडमा तीव्र परिवर्तन ल्याउँछ । यसले मानिस विनाकारण अकास्मात् उदास र उत्साहित हुने गर्छन् । माइग्रेनको दुखाइ हुनुभन्दा पहिले खानाप्रति निकै आशक्ति राख्ने गर्छन् । यस्ता मानिसलाई पटक–पटक पिसाब लागेको अनुभूति हुन्छ । माईग्रेन पूर्ण रुपमा निको हुन सक्छ समयमा औषधी खाई, आफुलाई के के कुराले असर गर्छ त्यो पत्ता लगाउन सक्यो भने पक्कै पनि माइग्रेन पूर्ण रुपमा निको हुनसक्छ।  ट्रिगरको पहिचान र त्यसको त्याग, उचित औषधिको सेवन, उचित जीवनशैली तथा व्यायाम , माइन्ड बडी मेडिसिन जस्तैः बायोफिड ब्याक तथा योग, सप्लिमेन्ट्स जस्तैः रिबोफ्लोविन तथा म्याग्निसियम, एक्युपन्चर तथा एक्युप्रेसर,  रोग ठीक पार्ने उद्देश्यका साथ आफ्नो हरेचाह गर्ने हो भने माईग्रेन निको भएर जान्छ। यो पूर्ण रुपमा निको हुँदैन भन्नु भ्रम मात्र हो। (मनोवैज्ञानिक डा. नम्रता प्रधानसँगको अन्तर्वातामा आधारित )

सवारी लाइसेन्स् अनियमितता गर्ने कार्यालय प्रमुख सहित ९ जना कर्मचारी विरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौं । यातायात व्यवस्था कार्यालय ९ जना कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीहरुबाट अनियमितता गरेको पुष्टी भएपछि मुद्दा दायर गरेको हो । मुद्दा दायर हुनेहरुमा तेजनारायण यादव, शाखा अधिकृत इश्वरराज रेग्मी, मेकानिकल इन्जिनियर श्याम के।सी।, शाखा अधिकृत भूपराज दाहाल, शाखा अधिकृत शिवप्रसाद सुवेदी, शाखा अधिकृत विष्णुप्रसाद सुवेदी, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमति, ठूलोभर्यासङ्ग काठमाडौं कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी रहेका छन् । सवारी चालक अनुमतिपत्र , बागमतिमा कार्यरत कर्मचारीहरु आर्थिक लाभ घुस रिसवत लिएर परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमतिपत्र जारी गरेको अख्तियारले आरोप लगाएको छ । उनीहरु विरुद्ध भ्रष्टाचार ऐन अनुसार मुद्दा चल्नेछ ।

१६० करोड लगानीमा दाङमा गजराज सिमेन्ट स्थापना, दैनिक १८ सय टन उत्पादन

लमही । दाङमा नयाँ सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ । दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हुँदै आएको छ । अहिले लमहीबाट गजराज सिमेन्ट उत्पादन शुरु भएको छ । लमही नगरपालिकाबाट सिमेन्ट उत्पादन थालेको उद्योगका प्रबन्ध निर्देशक वासु पाण्डेले जानकारी दिए। उत्पादन आसपासका नागरिकको स्वास्थ्यलाई कुनै असर नपर्ने गरी उद्योग सञ्चालनमा ल्याएको उनले जानकारी दिए। दैनिक १ हजार ८०० टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योग स्थापना गर्न १ अर्ब ६० करोड रुपैयाँको लगानी भएको पाण्डेले बताए । उद्योगले दाङको काभ्रे, लोहरपानी, स्यूजा, रोल्पाको डुब्रिङ र प्यूठानको रम्दीबाट चुनढुङ्गा ल्याउने गरेको छ । यस्तै उद्योगले क्लिङ्गर तत्कालका लागि सोनापुर सिमेन्ट उद्योग र भारतबाट ल्याउने गरेको पाण्डेले जानकारी दिए । सिमेन्ट उद्योगले गजराज र सम्राट ब्राण्डका पिपिसी र ओपिसी सिमेन्ट उत्पादन गर्ने उद्योग प्रशासनले जनाएको छ । जर्मन प्रविधिको मेसिनले सिमेन्ट उत्पादन थालेको उनको भनाइ छ । रासस

नेपाल वायुसेवाको कर्णालीका लागि नियमित उडान शुरु

बाँके । नेपाल एयरलाइन्सले कर्णालीका जिल्लामा आजबाट नियमित उडान शुरु गरेको छ । हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा र रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सको एउटा जहाज नेपालगञ्ज विमानस्थलमै राखेर कर्णालीवासीलाई नियमित हवाई सुविधा दिने व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए। टिविनटर जहाजमा खराबी र पाइलट नभएको समस्या देखाउँदै नेपाल एयरलाइन्सले एक महीनादेखि कर्णालीमा नियमित उडान गर्न सकेको थिएन । आज नेपाल एयरलाइन्सले डोल्पाको जुफाल, मुगुको ताल्चा, रुकुमको सल्ले र बाजुरा उडान गरेको विमानस्थल प्रमुख ठाकुरले जानकारी दिए । कर्णालीवासीका लागि जिल्लाबाहिर आवतजावत गर्ने भरपर्दो माध्यम जहाज नै भएकाले नेपाल एयरलाइन्सको नियमित उडानसँगै कर्णालीवासीलाई राहत मिलेको बताइएको छ । रासस

‘अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म’ शुरु, उद्यमीलाई कर्जा लिन सजिलो

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनल प्रा.लि.ले ‘अनलाइन रिभर्स फ्याक्टरिङ प्ल्याटफर्म’ शुरु गरेको छ । कम्पनीले साना, मझौंला र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिन युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम (सक्षम) सँगको सम्झौता गरी उक्त प्ल्याटफर्म तयार पारेको हो । होटल हिमालयमा आयोजित कार्यक्रममा सक्षमका टिम लिडर निर्मल दाहाल तथा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो साझेदारी अन्तर्गत एफवान सफ्ट इन्टरनेशनलले क्विक भुक्तानी नामक एउटा प्ल्याटफर्म तयार पारेर त्यसलाई सञ्चालन गर्नेछ । यो प्लेटफर्मले ठूला व्यापारिक फर्म तथा कम्पनीका साना तथा मझौला आपूर्तिकर्तालाई बैंकमार्फत जोड्नेछ । जसबाट ठूला व्यापारिक फर्म तथा कम्पनीका लागि सामान आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले तुरुन्तै कर्जा पाउनेछन् । यो प्लेटफर्म प्रयोग गरेर बैंकले आपूर्तिकर्तालाई उनीहरुले सामान तथा सेवा बिक्रि गर्ने ठूला व्यापारिक फर्म तथा कम्पनीले जारी गरेको विलका आधारमा छोटो अवधिको जोखिमरहित कर्जा दिन सक्नेछन् । यसबाट सामान तथा सेवा आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले विना धितो सहज ढङ्गले ऋणको सुविधा पाउनेछन् । सक्षमका टिम लिडर निर्मल दाहालले व्याक्ति तथा व्यापार दुवैले डिजिटल इनोभेसनमार्फत वित्तीय स्रोतमा सहज पहुँच प्राप्त गरेको बताएका छन् ।

बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म १ अर्ब ५० करोडमा केवल कार बन्ने, २ वर्षभित्र सञ्चालनमा आउने

काठमाडौं । बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म ३ किलोमिटर लामो केवलकार बन्ने भएको छ । लुम्बिनी केवलकार कम्पनीले अायाेजना निर्माण सुरु गर्न लागेको हो । याे  वर्षदेखि निर्माण सुरु हुने लुम्बिनी केवलकार कम्पनीले जानकारी दिएको छ । केवलकारकाे अनुमानित लागत १ अर्ब ५० करोड रुपैयाँ छ । अाउँदाे २०२० को जनवरी सम्ममा केवलकार सञ्चालनमा आउने छ । करिब ३ किलोमिटर लामो सो केबलकारको निमार्णका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुायिक वन उपभोक्ता समिति सहमत भइसकेको छ । तिनाउ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले केबलकारको लागत खुलाउने बितिकै गाँउपालिकाबाट अायाेजना पारित हुने बताए । उनले केवलकार सञ्चालनका लागि कुनै समस्या नभएको जानकारी दिए । उपभोक्ता समितिको बैठकले समेत आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १५० जनाभन्दा बढीले रोजगारी प्राउने कम्पनीले जनाएको छ । केवलकारमा ९० वटा डिब्बा राख्ने कम्पनीको योजना छ । केवलकारको लागि करिब ७ बिगाहा जग्गा आवश्यक पर्ने र सो जग्गा खरिदको लागि प्रक्रिया समेत अघि बढाएको कम्पनी जानकारी दिएको छन् । देशभर विभिन्न स्थानमा झण्डै ३ दर्जन केवलकार निर्माण सुरु हुन लागेको छ । हालसम्म मनकामना, चन्द्रागिरी र कालिञ्चोकमा केवलकार सञ्चालनमा आइसकेका छन् । यस्तै केही महिनभित्र पोखराको फेवातालदेखि सराङकोटसम्म केवलकार सञ्चालनमा आउने भएकाे छ ।

८ अंकले बढेको बजारमा नाडेप लघुवित्तका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको बजार दोश्रो दिन करिब ८ अंकले बढेको छ । सोमबारको नेप्से परिसूचक ७.९९ अंकले बढेर १२२२.३५ अंकमा पुगेको छ । सो दिनको बजार कारोबार खुलेदेखि नै उकालो लाग्ने क्रममा रहेको थियो । बजारमा १६३ कम्पनीको ३७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४ लाख ५१ हजार ५७२ कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी माछापुच्छ्रे बैंकको ९ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया, एनसीसी, हिमालयन डिष्टिलरी र मेगा बैंकको एक करोड भन्दा बढी सेयर कारोबार भएको छ । एकल अंकले बढेको बजारमा सबैभन्दा बढी नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । सोमबार उक्त संस्थाका सेयरधनीले ९.९६ प्रतिशत कमाएका छन् । सोमबार होटल समूहको सूचक ४८ अंकले बढेको छ । सो दिन जलविद्युत समूहको सूचक ३ अंकले घटेको छ भने कारोबारमा आएका बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् ।

पूर्णिमा विकास बैंकले ११ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ४६ करोड नाघ्ने

काठमाडौं । पूर्णिमा विकास बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र करसहित ६.३७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरको हो । उक्त प्रस्ताव गत असोज १९ गते बसेको संचालक समितिले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पुँजी ४४ करोड ४ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि कम्पनीको पुँजी ४६ करोड रुपैयाँ नाघ्ने छ ।

छत्रेश्वरी विमानस्थल निर्माण अध्ययन प्रतिवेदन सार्वजनिक, ८१ करोड लाग्ने

सल्यान । सल्यानमा एक गाउँपालिकाले विमानस्थल निर्माणसम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत छत्रेश्वरी गाउँपालिकास्थित लेखपोखराको डाँडामा प्रस्ताव गरिएको छत्रेश्वरी विमानस्थल सम्भावित अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । ८१ करोड रुपैयाँ लागत अनुमान गरिएको प्रस्तावित विमानस्थल निर्माणका लागि धावनमार्गका लागि चाहिने ६३० मिटर उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । भूवनावटको हिसाबले जमीन उपयुक्त रहेको तथा धावनमार्गका लागि समेत जमीन उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सल्यान र रोल्पा जिल्लाका पश्चिमी भेगका करीब ३ लाख ५० हजार जनसङ्ख्यालाई लक्षित गरी अध्ययन थालिएको विमानस्थलमा १९ सिट क्षमताका ट्वीनटर विमान अवतरण गर्न सक्नेछन् । विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनले उपयुक्त देखाएकाले अब विमानस्थल निर्माणको कार्य अगाडि बढाइने छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले जनाकारी दिए । “सम्भाव्यता अध्ययनबाट विमानस्थल निर्माणका लागि छनौट गरिएको स्थान उपयुक्त देखिएको छ । अब छिट्टै निर्माणको कार्य अगाडि बढाइनेछ”, अध्यक्ष केसीले भने । विमानस्थल निर्माणका लागि गाउँपालिका लागि ठूलो रकम भए पनि यसका लागि सङ्घीय सरकार तथा प्रदेश सरकारलाई अनुरोध गर्ने जानकारी दिए। “हाम्रो भन्दा कमजोर र सानो जमीन भएका स्थानमा विमानस्थल निर्माण भएका छन्, शुरुमा सुन्दा धरैलाई अपत्यारिलो लाग्न सक्छ तर सबैको सहकार्य सहयोगले यो सम्भव बनाउँछु,”अध्यक्ष केसीले भने। छत्रेश्वरी गाउँपालिका–५ मा अवस्थित प्रस्तावित छत्रेश्वरी विमानस्थलको अध्ययन गर्ने जिम्मा पाएको आरम्भ आर्केटेक्ट एण्ड इञ्जिजिनियर्सको टोलीले अध्ययन प्रतिवेदन सार्वजानिक गरेकोे हो । रासस

विद्युत प्राधिकरण र फेदीखोलाबीच पीपीए, ४ वर्षमा बिजुली उत्पादन हुने

काठमाडौं । नेपाल विधुत् प्राधिकरण र फेदीखोला हाइड्रोपावर कम्पनीबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएको छ । कम्पनीले ३.५ मेगावाटको फेदी (थुम्लुङ) खोला जलविद्यबाट उत्पादन गरेको बिजुली खरिद गर्ने छ । विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिह र कम्पनीका अध्यक्ष चन्द्रप्रसाद वाँस्तोलाले पीपीएमा हस्ताक्षर गरेका छन् । कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिचो गा।पा।मा निर्माण गर्ने यो आयोजनाबाट उत्पादित विधुत अपर ईर्खुवा खोला जलविद्युत् आयोजना १४.५ मेगावाटको स्वीचयार्डसम्म ३३ केभी प्रसारणलाईन र त्यसपछि १३२ केभी प्रसारणलाइन मार्फत संखुवासभाको सितलपाटीमा बन्ने २२० केभी सवस्टेशनमा जोडिने कम्पनीले जनाएको छ । आयोजनाले २०७९ फाल्गुन ३० गतेबाट व्यापारीक विधुत् उत्पादन गर्ने कम्पनीका सञ्चालक प्रकाश दुलालले जानकारी दिए । आयोजना बनाउन ६५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।