बागलुङ महोत्सवमा ८ करोड रुपैयाँको कारोबार, ४ लाखले गरे अवलोकन
काठमाडौं । उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजनामा भएको बागलुङ महोत्सवमा ८ करोड रुपैयाँको कारोबार भएको छ । सङ्घका अनुसार महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरिएका छन् । बागलुङ नगरपालिका-१ स्थित बाङ्गेचौर खेल मैदानमा पुस ११ गतेदेखि सुरु भएको महोत्सव यही पुस २२ गतेसम्म सञ्चालन गरिएको थियो । महोत्सवमा विभिन्न व्यासायिक स्टल साथै, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ‘मेड इन बागलुङ’ नाम दिएर बागलुङमा उत्पादन हुने वस्तुको विक्री वितरण तथा प्रदर्शन निकै महत्वपूर्ण रहेको थियो । महोत्सवमा निसी खोलामा भेडाको उनबाट बनेका काम्ला, अल्लोको कपडा, गुन्द्रुक, भाँगो, मकैको पिठो, कोदोको पिठोलगायत वस्तु, सिस्नोको धुलो, भुटेको मकै, टिमुर, आलु, सिल्टिमुर, सुन्तला, किवीलगायतका स्थानीय उत्पादनले बजार पाएको जनाइएको छ । महोत्सवमा अटो मोबाइलदेखि होटल रेष्टुरेण्ट र विभिन्न प्रकारका व्यापारिक स्टलहरू राखिएको थियो । स्टलमा पनि उल्लेखनीय व्यापार भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिए । महोत्सवमा रमाइलो मेला सञ्चालन गर्नुका साथै गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, महिलाहरूका लागि लठ्ठो तान्ने प्रतियोगिता, घैटोफोर प्रतियोगिता, भाले छुने लगायन विभिन्न प्रतियोगिता संचालन गरिएको थियो । सङ्घले महोत्सवबाट सङ्कलन भएको रकमबाट सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम बागलुङका लागि ५ लाख ११ हजार १११ लाख रुपैयाँ र नेपाल पत्रकार महासङ्घ बागलुङका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेको सङ्घका निवर्तमान अध्यक्ष नरेश कँडेलले जानकारी दिए । महोत्सवबाट बचेको रकम व्यवसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षय कोष निर्माण, कोशेली घर सञ्चालन आदिमा खर्च गरिनेछ ।
माघदेखि बीमा कम्पनीका सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन मंगलबार निर्देशन दिएको हो । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ मा बीमकले बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बीमालेखका शर्त वा प्रचलित कानून बमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी भुक्तानी गर्नु पर्ने व्यवस्था रहेको र नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैंकिङ प्रणाली मार्फत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो । यसअघि, प्राधिकरणले बीमा कम्पनीका स्थायी, अस्थायी, करार वा ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकहरूलाई दिइने पारिश्रमिक वा ज्याला बापतको भुक्तानी अनिवार्य रूपमा बैंक वा वित्तीय संस्था मार्फत सम्बन्धित कर्मचारी तथा श्रमिकको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो ।
वीरगञ्जमा कर्फ्यू आदेश हट्यो
काठमाडौं । वीरगञ्जमा कर्फ्यू आदेश हटेको छ । जिल्ला प्रशासन कार्यालय, पर्सामा बसेको सर्वपक्षीय सर्वदलीय बैठकले प्रदर्शन नगर्ने निर्णय गरेसँगै कर्फ्यू हटेको हो । प्रशासनले सोमबारदेखि कर्फ्यू आदेश जारी गरेको थियो । कर्फ्यू मंगलबार (आज) पनि अपरान्ह ३ः३० बजेदेखि लागू हुने आदेश जारी गरिएको थियो । सर्वपक्षीय बैठकले जिल्लाको शान्ति सुव्यवस्था सुदृढ हुँदै गएकोले कर्फ्यू आदेश हटाएको हो । विगत केही दिनदेखि भइरहेको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति–सुव्यवस्था कायम गर्न सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेको हो । बैठकले अन्य मुलुक वा स्थानमा भएका घटना तथा दुर्घटनालाई आधार बनाएर वीरगञ्जमा आन्दोलन तथा प्रदर्शन नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ । पीडित पक्षले आन्दोलनका कार्यक्रम सञ्चालन गर्नुअघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र पेश गर्नुपर्ने निर्णय गरेको गरिएको प्रमुख जिल्ला आधिकारी भोला दाहालले जानकारी दिए । ज्ञापनपत्र पेश गरेपछि मात्र आन्दोलनका कार्यक्रम अघि बढाउन जोड दिइएको छ । भविष्यमा हुनसक्ने धार्मिक, सामाजिक सद्भावविरुद्धका गतिविधि नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्ला सद्भाव संयन्त्र गठन गरिएको उनले बताए । उनका अनुसार संयन्त्रमा जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधि र विभिन्न धार्मिक समुदायका अगुवाहरू रहनेछन् । संयन्त्रमा हिन्दु समुदायबाट रञ्जित शाह र रञ्जन सिंह तथा मुस्लिम समुदायबाट महमद महबुव अली शेरु र अली अस्गर मदानी सदस्य रहने निर्णय भएको प्रजिअ दाहालले जानकारी दिए । आवश्यकताअनुसार अन्य धार्मिक समुदायका प्रतिनिधि पनि समेटिने जनाइएको छ । साथै जिल्लास्थित प्रत्येक राजनीतिक दलबाट एक–एक जना प्रतिनिधि रहनेछन् । नेपाल पत्रकार महासंघका अध्यक्ष र नागरिक समाजका प्रतिनिधि पनि संयन्त्रमा सहभागी रहने व्यवस्था गरिएको छ । बैठकले सञ्चारमाध्यमलाई समाचार प्रकाशन तथा प्रसारण गर्दा सामाजिक सद्भावमा खलल नपुग्ने गरी संयम अपनाउन अनुरोध गरेको छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव विथोल्न प्रोत्साहन गर्ने समूह वा आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय पनि गरिएको प्रजिअ दाहालले बताए । वैठकमा सबै पक्षले आ–आफ्नो समुदायभित्र भएका कमजोरीको आत्मसमीक्षा गर्दै अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकमा उपस्थित सबैले निर्णयलाई आ–आफ्नो सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गर्दै निर्णयको पक्षमा विज्ञप्ति जारी गर्ने सहमति पनि भएको छ ।
सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्लास्थित हरिवन नगर अस्पताललाई विभिन्न अत्याधुनिक प्रसूति उपकरण हस्तान्तरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले पुस १७ गते आयोजित कार्यक्रममा उक्त उपकरणहरू अस्पताललाई हस्तान्तरण गरेका हुन् । उपकरण हस्तान्तरण कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो । बैंकले हाइड्रोलिक शल्यक्रिया टेबल, चार सेटयुक्त एलईडी शल्यक्रिया कक्ष डोम बत्ती, बिरामी निगरानी यन्त्र, पाँच कार्य गर्न सक्ने पूर्ण सुविधायुक्त इलेक्ट्रिक आईसीयू बेड, फाइबर बेडसाइड लकर तथा इलेक्ट्रिक डबल जार हाई–भ्याकुम सक्सन मेसिन गरी सबै उपकरण एक–एक थान अस्पताललाई उपलब्ध गराएको हो । हरिवन नगर अस्पतालको नवनिर्मित भवनमा शल्यक्रियासहित बर्थिङ सेवा सञ्चालन गरी समुदायमा गुणस्तरीय प्रसूति सेवाको पहुँच विस्तार गर्ने तथा आमा र नवजात शिशुका लागि सुरक्षित र सहज प्रसूति वातावरण सुनिश्चित गर्ने उद्देश्यले उपकरण सहयोग गरिएको बैंकले जनाएको छ । सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकतामा राख्दै समाज विकासमा योगदान पुर्याउने उद्देश्यसहित विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने योजना बैंकको रहेको छ ।
एमआईटी कलेजमा नयाँ गिनिज रेकर्ड बनाउने तयारी, मैदानमा नेपाली मेमोरी एथलेट कृष्ण पाण्डे
काठमाडौं । प्रख्यात मेमोरी एथलेट तथा पूर्व गिनिज वर्ल्ड रेकर्डधारी कृष्ण पाण्डेले नेपालमै नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने प्रयास गर्ने भएका छन् । मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेज, बागबजारको आयोजनामा माघ ६ मा काठमाडौं मोडल सेकेन्डरी स्कूल बागबजारमा उक्त रेकर्ड प्रयास हुन लागेको हो । ‘फास्टेस्ट टाइम टु स्पेल फिफ्टी वर्ड्स ब्याकवार्ड्स’ शीर्षकअन्तर्गत हुने यस प्रयासले गिनिज वर्ल्ड रेकर्ड्सका कडा मापदण्डअनुसार नयाँ कीर्तिमान स्थापित गर्ने लक्ष्य लिएको छ । कार्यक्रम एमआईटी कलेजले केएमएसएससँगको सहकार्यमा आयोजना गर्न लागेको हो भने बेस्ट वेस्टर्न प्लस हस्पिटालिटी पार्टनरका रूपमा जोडिएको छ । एमआईटीका सहसंस्थापक आरके दाहालका अनुसार रेकर्ड प्रयास पूर्ण रूपमा नियन्त्रित र ध्यान भंग नहुने वातावरणमा सम्पन्न गरिनेछ । आयोजकका अनुसार यो कार्यक्रमले नेपाली प्रतिभालाई विश्वस्तरमा चिनाउने छ । ‍एमआईटीले आफ्नो शैक्षिक दृष्टिकोणअनुसार युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्दै उनीहरूको क्षमता पहिचान र विकास गर्न यस्ता कार्यक्रमहरू गर्दै आएको जनाएको छ । अन्तर्राष्ट्रिय अमेरिकी विश्वविद्यालयसँग आबद्ध एमआईटी कलेजले आईटी तथा व्यवस्थापन विषयमा विश्वस्तरीय शिक्षा प्रदान गर्दै व्यवहारिक सिकाइलाई प्राथमिकता दिँदै आएको छ । कार्यक्रमलाई व्यवस्थित र विश्वसनीय बनाउन सबै सरोकारवालाबीच औपचारिक सम्झौता भइसकेको आयोजकले जनाएको छ ।
विशेष महाधिवेशनको माग गर्दै कांग्रेस कार्यकर्ताले गरे सानेपा घेराउ
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग चर्कँदै जाँदा त्यसका पक्षधर नेता–कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । नियमित १५ औं महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुन नसकेपछि उत्पन्न असन्तुष्टिका बीच उनीहरू सानेपामा भेला भएर दबाबमूलक प्रदर्शनमा उत्रिएका हुन् । नियमित महाधिवेशनको प्रक्रिया अवरुद्ध भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र पारिएको नेता रामप्रसाद अधिकारीले जानकारी दिए। पार्टी विधानअनुसार समयमै महाधिवेशन हुन नसकेको र नेतृत्वले स्पष्ट मार्गचित्र दिन नसकेको भन्दै विशेष महाधिवेशन नै वर्तमान संकटको निकास हुने अधिकारीको दाबी छ । सानेपामा भेला भएका नेता–कार्यकर्ताले पार्टीभित्र देखिएको अन्योल अन्त्य गर्न, वैधानिकता कायम राख्न र आन्तरिक लोकतन्त्र सुदृढ गर्न विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् । उनीहरूले नेतृत्वसँग तत्काल निर्णय लिन आग्रह गर्दै ढिलासुस्ती भए थप दबाबका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको अधिकारीले बताए । महाधिवेशनको प्रकृति र मितिलाई लिएर कांग्रेसभित्र मतभेद तीव्र बन्दै गएको छ । एक पक्ष नियमित महाधिवेशनको पक्षमा उभिँदा अर्को पक्ष विशेष महाधिवेशनमार्फत पार्टीलाई नयाँ दिशामा लैजानुपर्नेमा जोड दिइरहेको छ ।
भेनेजुएला प्रकरणपछि ताइवान केन्द्रमा : चीनलाई अमेरिको कदमले के सन्देश दियो ?
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई हटाएको अमेरिकी कदमप्रति चीनसहित अन्य विदेशी सरकारहरूले तीव्र आलोचना गरेका छन् । तर ट्रम्प प्रशासनको यो कदमले राष्ट्रपति सी जिनपिङलाई ताइवानमाथि कदम चाल्न प्रेरित गर्छ कि गर्दैन भन्ने विषयमा भने विज्ञहरू विभाजित छन् । अमेरिकी सेनाले जनवरी ३ मा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर लागूऔषध र आतंकवादसम्बन्धी आरोपमा न्यूयोर्क ल्याएको थियो । आधुनिक इतिहासमै दुर्लभ मानिने यस कदमलाई राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले स्वागत गरे पनि आलोचकहरूले चीन झनै आक्रामक बन्दै गएको सन्दर्भमा यसले गलत उदाहरण स्थापित गरेको भन्दै चिन्ता व्यक्त गरे । क्वान्टम स्ट्राटेजीका डेभिड रोचले सीएनबीसीलाई भने, ‘यदि डोनाल्ड ट्रम्प कुनै देशमा पस्दै त्यसलाई कब्जा गर्न सक्छन् भने ‘युक्रेनबारे पुटिन गलत किन हुन्छन् र चीनले ताइवान कब्जा गर्न किन नपाउने ?’ तर अन्य विज्ञहरू यसमा सहमत छैनन् । सोमबार सीएनबीसीमा बोल्दै पूर्व अमेरिकी वाणिज्य सचिव (जर्ज डब्लु बुश प्रशासन) कार्लोस गुटिएरेजले चीन–भेनेजुएला सम्बन्धलाई ‘रणनीतिक सुविधामात्र’ को रूपमा व्याख्या गरे र यसले पूर्वी एसियामा सैन्य कारबाहीको उत्प्रेरक बन्ने सम्भावना कम रहेको बताए । ‘चीनले यसलाई ताइवानमाथि आक्रमण गर्ने बहाना वा औचित्य बनाउनेछ भन्ने मलाई विश्वास छैन । यो उनीहरूको सोच्ने तरिका होइन,’ गुटिएरेजले भने । ‘चीनले कडा र आक्रामक वक्तव्य दिनेछ— त्यो अपेक्षित नै हो । उनीहरूले त्यसो गर्नुपर्छ । तर चीनतर्फबाट ठोस र महत्त्वपूर्ण कारबाही हुन्छ जस्तो मलाई लाग्दैन,’ उनले थपे । हालै सार्वजनिक गरिएको राष्ट्रिय सुरक्षा रणनीतिमा अमेरिकाले ‘ट्रम्प कोरोलरी’ भन्ने अवधारणा अघि सारेको छ, जसले १८२० को दशकको मोन्रो सिद्धान्तलाई पुनर्जीवित गरेको छ । उक्त सिद्धान्तअनुसार अमेरिकाले पश्चिमी गोलार्धमा आफ्नो प्रभाव क्षेत्र कायम राख्ने दाबी गर्दछ । ‘प्रभाव क्षेत्र’ भन्नाले कुनै शक्तिशाली देशले औपचारिक रूपमा भूभाग कब्जा नगरी राजनीतिक, सैन्य वा आर्थिक निर्णयहरूमा प्रभुत्व जमाउन खोज्ने क्षेत्रलाई जनाउँछ । यो अवधारणा ऐतिहासिक रूपमा ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपलाई औचित्य ठहराउने ‘रूजवेल्ट कोरोलरी’सँग मेल खान्छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानुनका नियमहरूको सम्मान नगरिएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै भेनेजुएलाका घटनाक्रमलाई ‘खतरनाक नजीर’ भनेका छन् । रोचले चेतावनी दिए, ‘एकातिर तपाईंले थुप्रै खतरा सिर्जना गर्नुभएको छ, अर्कोतिर आफ्नो दायराबाहिरको भूभाग कब्जा गर्न चाहने हरेक तानाशाही र अधिनायकवादी शासनलाई अनुमतिजस्तै सन्देश दिनुभएको छ ।’ ताइवान प्रश्न ट्रम्पको भेनेजुएलामाथिको आक्रमणअगावै चीन ताइवानमाथि दबाब बढाउन हौसिएको हो कि भन्ने प्रश्न उठ्दै आएका थिए । बेइजिङले लामो समयदेखि ताइवानलाई आफ्नो भू-भागको हिस्सा मान्दै आएको छ । डिसेम्बरमा चीनले ताइवान वरिपरि प्रत्यक्ष गोली–बारुदसहितका सैन्य अभ्यासहरू गर्यो, जसलाई उसले विदेशी हस्तक्षेपविरुद्धको चेतावनीका रूपमा प्रस्तुत गर्यो । नयाँ वर्षको सम्बोधनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँगको एकीकरण ‘अपरिहार्य’ रहेको घोषणा गरे, जुन अमेरिकी गुप्तचर मूल्यांकनसँग मेल खान्छ । जसअनुसार चीनले यो दशकभित्रै बल प्रयोग गरेर टापु कब्जा गर्न प्रयास गर्न सक्छ । तर ब्रुकिङ्स इन्स्टिच्युसनका वरिष्ठ फेलो तथा पूर्व अमेरिकी कूटनीतिज्ञ रायन हासले प्रत्यक्ष तुलना गर्न नहुने चेतावनी दिए । उनले एक्स (पूर्व ट्विटर) मा लेखे, ‘विदेश नीति विश्लेषकहरूमा ताइवानसँग तुलना गर्ने र ट्रम्पले चीनलाई ताइवानविरुद्ध प्रयोग गर्न सक्ने नजीर स्थापित गरे भनेर चेतावनी दिने आवेग हुनेछ । तर म त्यसप्रति सावधान रहन आग्रह गर्छु ।’ हासका अनुसार चीनले ताइवानविरुद्ध प्रत्यक्ष सैन्य कारबाही अन्तर्राष्ट्रिय कानुन वा मान्यताका कारण टारेको होइन, बरु हिंसाभन्दा तलको दबाब रणनीतिमा भर परेको हो । ‘बेइजिङ आजका घटनाबाट प्रेरणा लिएर ताइवानप्रतिको आफ्नो नीति बदल्नुभन्दा आफ्नो हित जोगाउने, अमेरिकी कदमको निन्दा गर्ने र अन्तर्राष्ट्रिय प्रणालीमा अमेरिकासँगको भिन्नता झन् तीव्र पार्नमै बढी केन्द्रित हुनेछ,’ हासले लेखे । आक्रमणपछि जारी वक्तव्यमा चीनको विदेश मन्त्रालयले ‘एक सार्वभौम राष्ट्रविरुद्ध अमेरिकाले गरेको खुला बल प्रयोग र राष्ट्रपतिको विरुद्धको कदमप्रति गहिरो आघात र कडा निन्दा’ व्यक्त गरेको छ । बेइजिङले यसलाई ‘वर्चस्ववादी कार्य’ भन्दै वासिङ्टनलाई ‘अन्य देशको सार्वभौमिकता र सुरक्षाको उल्लंघन रोक्न’ आह्वान गरेको छ । बीसीए रिसर्चका म्याक्रो–जियोपोलिटिकल प्रमुख रणनीतिकार मार्को पापिचका अनुसार ‘हालसम्मकै कुनै पनि अमेरिकी प्रशासनभन्दा ट्रम्प प्रशासन चीन र रुसजस्ता ठूला शक्तिहरूले आफ्ना प्रभाव क्षेत्र राख्न सक्छन् भन्ने अवधारणामा बढी सहज देखिन्छ ।’ ‘तर यसको अर्थ वासिङ्टनले ती देशहरूलाई आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न अनुमति दिएको हो भन्ने होइन,’ उनले थपे । पापिचले सीएनबीसीको ‘स्क्वाक बक्स एसिया’ कार्यक्रममा भने, ‘ट्रम्प प्रशासनले ताइवानलाई ‘त्यागेको’ संकेत देखिँदैन ।’ उनले डिसेम्बरमा ताइवानले घोषणा गरेको ११ अर्ब डलरको हतियार खरिद सम्झौतालाई उदाहरण दिए । अमेरिकासँग ताइवानको पारस्परिक रक्षा सन्धि छैन, तर १९७९ को ताइवान सम्बन्ध ऐनले ताइवानको आत्मरक्षाका लागि आवश्यक हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नियम तिम्रो लागि हो, मेरो लागि होइन कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेशनल पिसका इभान फाइगेनबाउमका अनुसार अमेरिका सम्भवतः आफ्नो प्रभाव क्षेत्र पछ्याउनेछ, तर चीनलाई त्यस्तो अधिकार दिन चाहँदैन । उनले एक्समा लेखे, ‘संयुक्त राज्य अमेरिका एसियामा चिनियाँ प्रभाव क्षेत्रलाई ‘स्वीकृति’ दिनेवाला छैन । बरु उसले आफ्नै गोलार्धमा अमेरिकी प्रभाव क्षेत्र कायम राख्न खोज्नेछ र एसियामा चीनलाई त्यस्तो गर्न नदिने प्रयास गर्नेछ ।’ अर्को पोस्टमा उनले थपे, ‘अमेरिकी विदेश नीतिमा विरोधाभास र दोहोरो मापदण्ड छैनन् भनेर नसोचौं ।’ बीसीए रिसर्चका पापिचका अनुसार समय चीनको पक्षमा छ, र उसले ताइवानमा तुरुन्त कदम चाल्नैपर्ने दबाब छैन । बरु अमेरिका आफ्नै ‘पश्चिमी गोलार्ध’ मा केन्द्रित रहने सम्भावना बढी छ । उनले भने, ‘२०२६ को जनवरीमै ताइवानलाई सैन्य रूपमा एकीकरण गर्ने प्रयास गरेर सम्पूर्ण पश्चिमी विश्वलाई चीनविरुद्ध एकजुट गराउने जोखिम किन लिने ? जब आगामी १० वर्षमा समय सम्भवतः चीनकै पक्षमा छ र अमेरिका आफ्नो नजिकको क्षेत्रमै बढी ध्यान दिनेछ, विश्वभर कम ।’ (सीएनबीसीबाट अनुदित तथा सम्पादित)
कर्म र फलको बेजोड नजिर
‘देश बनेन, केही विकास भएन भन्नेहरूलाई म धुलिखेल अस्पतालमा निम्तो गर्छु’ अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. रामकण्ठ माकजु भन्छन् । उनको भनाइ र गराई ठ्याक्कै मिल्छ पनि । स्वास्थ्य उपचार गर्न पैसा नहुनेलाई निःशुल्क उपचार । उपचार गर्न अस्पतालसम्म आउन नसक्नेलाई घर नजिकै सेवा । अमेरिका, जर्मनी, अष्ट्रिया, सिंगापुर लगायत सुविधा सम्पन्न देशमा हुने उपचार धुलिखेल अस्पतालमै । धुलिखेल अस्पताल आज नेपालको स्वास्थ्य क्षेत्र विकासको सर्वोत्कृष्ट उदाहरणको रूपमा परिचित छ । भू–बनोट र प्राप्तिका आधारमा बनेको फरक–फरक भवनका बीच फैलिएको विशाल धुलिखेल अस्पताल जहाँ आज अत्याधुनिक सर्जरी, गम्भीर रोगहरूको उपचार, अनुसन्धान र उत्कृष्ट मेडिकल शिक्षाका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यो त्यही ठाउँ हो जहाँ तीन दशकअघि लासहरू गाडिन्थ्यो । धुलिखेलवासीको फोहोर फाल्ने ठाउँ थियो । त्यही फोहोर फाल्ने र लासहरू गाड्ने ठाउँलाई डा. श्रेष्ठले मान्छेलाई नयाँ जीवन दिने स्थलका रूपमा रूपान्तरण गरे । अस्पतालको संरचना र वातावरण रिसोर्टको जस्तै छ । एउटै बिरामी अर्को अस्पतालमा ७ दिनमा निको हुन्छ भने यस अस्पतालमा ५ दिनमै निको होला जस्तो प्रकृति र वातावरण । र, आज देश–विदेशमा धुलिखेल अस्पतालको सर्वसुलभ र गुणस्तरीय सेवाले चर्चा पाएको छ । गरिबलाई आधारभूत मात्र होइन, उत्कृष्ट सेवा दिन सकिन्छ भन्ने उदाहरण यहीँबाट संसारलाई देखाएका छौं । धुलिखेललाई उत्कृष्ट स्वास्थ्य सेवा, उत्कृष्ट स्वास्थ्य शिक्षा र उत्कृष्ट अनुसन्धानका केन्द्रको रूपमा उभ्याएका छौं । अमेरिका, जर्मनी, अष्ट्रिया, सिंगापुरजस्ता सुविधासम्पन्न देशमा पाइने उपचार धुलिखेलमै सम्भव बनाउने पात्र तिनै डा. श्रेष्ठ हुन् । उनी अहिले गर्वका साथ भन्छन्, ‘मेरो सोचले काम ग¥यो, टिमको कडा मिहिनेतले साथ दियो, स्थानीयवासी, सरकार र दातृ निकायहरूको सहयोगले धुलिखेल अस्पताल एउटा सुविधा सम्पन्न, नमुना र सबैको पहुँचयोग्य स्वास्थ्य संस्थाको रूपमा विकास भयो ।’ आज धुलिखेल अस्पताल एउटा अस्पताल मात्रै होइन, यो स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको त्रिवेणीका रूपमा स्थापित छ । दैनिक १७००–२००० बिरामी ओपीडीको सेवा लिन्छन् । ४७५ बेड क्षमताको यस अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामी पनि लगभग भरिभराउ नै हुने गर्दछन् । दैनिक दर्जनौं अत्याधुनिक सर्जरीहरू हुन्छन् । नेपालमै पहिलोपटक नर्सिङ फेलोसिपदेखि विभिन्न मेडिकल फेलोसिप कार्यक्रम सञ्चालन भइरहेका छन् । जहाँ २० भन्दा बढी फेलोजले नेपाली भूमिमा नै विशेषज्ञता हासिल गरिसकेका छन् । सयौं नयाँ चिकित्सक जन्मिएका छन् । विदेशमा मात्र सम्भव हुने उच्चस्तरीय उपचार र अध्ययन अहिले धुलिखेलमै सम्भव छ र यसले देशभर चिकित्सक उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको छ । धुलिखेल अस्पतालभित्र पैसा नभएका बिरामीले उपचार पाउँदैनन् भन्ने कुरा कल्पना नगरे पनि हुन्छ । ८०० रुपैयाँ शुल्कमा बिरामीले चिकित्सकको परामर्श, खाना, ब्रेकफास्ट र नर्सिङ सेवा पाउँछन् । डा. श्रेष्ठ भन्छन्, ‘गरिबीकै कारण उपचार रोकिनु हुँदैन । यो अस्पताल गरिबका लागि हो, स्वास्थ्य उपचार धनी र गरिबका लागि फरक हुनु हुँदैन, सबैका लागि समान सुविधाको उपचार हुनुपर्छ, त्यसको थालनी हामीले गर्यौं ।’ कुराभन्दा कामलाई प्राथमिकता डा. श्रेष्ठ धेरै कुरा गर्न रुचाउँदैनन्, आफूलाई फ्रन्टलाइनमा देखाउन चाहँदैनन् । तर, काममा विश्वास गर्छन् । उनको त्यही मिहिनेतले आज धुलिखेल अस्पताल एक अस्पतालमामात्रै सीमित छैन, एक सामूहिक ज्ञानको थलो बनेको छ । उनलाई भेट्न आउने अधिकांशको सुरुवाती प्रश्न हुन्छ, ‘कार्यकक्षमा कार्पेट किन नराखेको ?’ त्यो प्रश्नको जवाफमा उनी भन्छन्, ‘मेरो कोठामा कार्पेट राखेपछि बिरामी यता आइहाल्छन् नि, मैले मभन्दा बढी प्राथमिकता मेरो बिरामीलाई राख्छु ।’ उनी प्रतिप्रश्न गर्छन्, ‘हाम्रो प्राथमिकता बिरामीको उपचार हो कि आफ्नो सेवा सुविधा ?’ डा.श्रेष्ठ सम्पन्न भनेको सोंचमा हुनुपर्ने धारणा राख्छन् । यही मनस्थिति लिएर उनी धुलिखेलका लागि मात्र होइन, देशकै लागि एउटा नमुना अस्पताल बनाउनुपर्छ भन्ने धारणा बोकेर अगाडि बढे । तीन दशकअघि यहाँ न चिकित्सक थिए, न कुनै स्वास्थ्य संरचना र पूर्वाधार । उनले आफू जन्मेकै ठाउँमा देखेको स्वास्थ्य समस्यालाई मनन गरे र एउटा गतिलो स्वास्थ्य संस्था खोल्नुपर्छ भनेर विसं २०५३ सालमा यो अस्पतालको सुरुवात गरे । सम्मानपत्र ग्रहण गर्दै डा. रामकण्ठ मकाजु श्रेष्ठ । धुलिखेलवासीले उनलाई विश्वास गरे, अस्पताल खोल्न स्थान दिए, साथ दिए । सकेसम्मको सहयोग गरे । र, धुलिखेल अस्पतालको सेवा प्रारम्भ भयो । उनी अस्पताल स्थापनाका दिन स्मरण गर्दै भन्छन्, ‘समुदायले नै इच्छाएको ठाउँमा अस्पताल बनाइएको हो । समुदायको सदासयताले धुलिखेल अस्पताल यो चरणसम्म आइपुग्यो, नेपाल बाहिरको मान्छेले पनि यसको उद्देश्य देखेर सहयोग गरे । पछि सरकारले पनि साथ दियो । आज गौरव गर्नलायक गैरनाफामूलक सामुदायिक अस्पतालका रूपमा चिनाउन सफल भएका छौं ।’ समुदायले गरेको भरोसा, सरकारले दिएको विश्वास र सहयोगी हातहरुको ऊर्जाले यो संस्थालाई निरन्तर उकास्दै लग्यो । आज धुलिखेल अस्पतालसँग १५ सयभन्दा बढी जनशक्ति छन् । ३०० भन्दा बढी चिकित्सक छन् । १८ वटा आउटरिच सेन्टर छन् । गरिबले सहज र गुणस्तरीय स्वास्थ्य सवा पाएका छन् । दर्जनौं देशहरूबाट विद्यार्थी पढ्न आउँछन् । डा. श्रेष्ठको नेतृत्वमा एउटा मौलिक सोच विस्तारै संस्थागत रूपमा परिणत हुँदै गयो । ‘धेरै साथीहरू जोडिए, सुरुवाती चरणदेखि जोडिएका साथीहरू अहिलेसम्म कार्यरत छन् । म एक्लैले यति विशाल अस्पताल सम्भव थिएन । सोच मेरो हो, मिहिनेत मेरो टिमको हो, यो सफलताको श्रेय मेरो टिम, समुदाय, सरकार र विदेशी दातृ निकायलाई जान्छ,’ उनले भने । उनी आफ्नो टिमले यो संस्थाबाट के पाउँछु भन्दा पनि मैले यो संस्थाका लागि के दिन सक्छु भनेर काम गरेकै कारण आज एक सफल स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको सुनाउँछन् । धुलिखेल अस्पताल डाक्टर, नर्ससहित १५ सयभन्दा बढी कर्मचारी, विभिन्न देशबाट विद्यार्थी र दर्जनौं विज्ञहरूको साझा थलो बनेको छ । लाखौं मानिस धुलिखेल अस्पतालको सेवाबाट लाभान्वित भएका छन् । धुलिखेल अस्पतालले काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेर मेडिकल शिक्षा पनि दिइरहेका छ । जहाँ अमेरिका, जापान, नर्वे, अष्ट्रेलिया, अष्ट्रिया र कोरिया लगायत विभिन्न देशबाट मेडिकल शिक्षा पढ्न आउने विद्यार्थीको संख्या बढ्दो छ । अहिले विभिन्न देशबाट आएका २०० जना विद्यार्थी मेडिकल शिक्षा अध्ययन गरिरहेका छन् । अहिले धुलिखेल अस्पताल हजारौं बिरामीको जीवन बचाउने केन्द्रमात्र होइन, सयौं स्वास्थ्यकर्मी उत्पादन गर्ने शैक्षिक थलो पनि बनेको छ । जहाँबाट सयाैं विद्यार्थी डाक्टर बनिसकेका छन् ‘सुरुमा कति जनालाई उपचार गरियो भनेर गणना गरिन्थ्यो, अहिले त गणना गर्न पनि छोडियो,’ डा. श्रेष्ठ खुसीका साथ भन्छन्, ‘लाखौं मानिस यस संस्थाबाट लाभान्वित भएका छन्, काठमाडौंका महँगा अस्पतालबाट पनि बिरामी रिफर भएर आउँछन्, स्वास्थ्यकर्मीको पनि रोजाइको संस्था धुलिखेल बनेको छ ।’ घरमै सेवा, १८ ठाउँमा आउटरिच सेन्टर धुलिखेल अस्पतालले सस्तो, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवामात्रै दिइरहेको छैन, अस्पतालसम्म आउन नसक्ने बिरामीहरूको नजिकै पुगर पनि सेवा दिइरहेको छ । अहिले अस्पतालले देशका विभिन्न १८ वटा ठाउँमा आउटरिच सेन्टर (हेल्थ सेन्टर) स्थापना गरेको छ । अहिले काभ्रेको बलुवा, दाप्चे, बोडे, कात्तिके देउराली, सलम्बु, धुनेखर्क, धादिङको छत्रेदेउराली, सिन्धुपाल्चोकको मानेखर्क, हिन्दी, दोप्रु, बाहुनीपाटी, दोलखाको किर्नेटार, गौरी शंकर, डुम्जा हेल्थ सेन्टर, सोलुखुम्बुको खारीखोला, पर्वतको फलेवास, नुवाकोटको थाङसिङ, सर्लाहीको बलेरा हेल्थ सेन्टर र पत्तर हेल्थ सेन्टर सञ्चालनमा छन् । दोलखाको जिरीमा अस्पताल नै सञ्चालनमा छ । ‘अस्पतालमा आउन नसक्ने बिरामीकहाँ हामी नै पुग्नुपर्छ भन्ने मान्यताका साथ हामीले विभिन्न ठाउँमा आउटरिच सेन्टर स्थापना गरेका छौं । त्यहाँ नर्स, चिकित्सकहरू पनि कार्यरत छन्, आउटरिच सेन्टरहरूले ग्रामीण क्षेत्रको स्वास्थ्य सेवामा राम्रो प्रभाव पारेका छन्,’ डा. श्रेष्ठले भने । उनका अनुसार आउटरिच सेन्टरमार्फत गाउँगाउँमा २४ घण्टा सेवा दिने काम भइरहेको छ । ‘पहिले दुई दिन हिँडेर मात्र पुगिने ठाउँमा हामीले आउटरिच सेन्टर स्थापना गरेर सहज स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौं, यसले सकारात्मक प्रभाव परेको छ,’ उनले खुसीका साथ भने, ‘३०० बढी चिकित्सक छन्, १५ सय बढीले रोजगारी पाएका छन् ।’ म त्यहाँ उभिन्छु, जहाँ धेरैले मेरो उभ्याईको अनुभूति गरून् । म मेरै देशमा उभिन चाहन्थें । विदेशमा वर्षौं बिताएपछि म जन्मिएकै ठाउँमा फर्किएँ, अहिले जति खुसी छु, म विदेशमा जति सेवा सुविधा र पैसा भएको भए पनि यति खुसी हुन्थिनँ । डा. श्रेष्ठले धुलिखेल अस्पतालमा काम गर्ने नर्सको तलब न्यूनतम ४० हजारदेखि अधिकतम २ लाख रुपैयाँसम्म रहेको जानकारी दिए । उनी भन्छन्, ‘यहाँ भुइँ पुछ्ने मान्छेहरूको छोराछोरी अहिले यहीँ चिकित्सक बनेका छन् । म त्यसमा खुसी छु, तपाईंले समाजमा छोडेको र दिएको कुरा महत्वपूर्ण हो ।’ जहाँ आफू उभिइन्छ, त्यहाँ आफू उभिएको महसुस अरूले गर्नेगरी काम गर्नुपर्ने धारणा डा. श्रेष्ठको छ । ‘मान्छेको उद्देश्य पवित्र भयो भने सहयोगी हातहरू आफै आउँछन् । मलाई धुलिखेलवासीले सहयोग गरे, विदेशमा पढ्दाका साथी र शिक्षकहरूले सहयोग गरे र सरकारले पनि सहयोग गर्यो, मैले सबैको विश्वास कायम राख्दै काम गरें,’ उनी भन्छन्, ‘इमानदारिता, निष्पक्षता र पारदर्शी भयो भने सफल भइन्छ ।’ धुलिखेल अस्पताल सबै कर्मचारीको स्वास्थ्य बीमा गर्ने पहिलो स्वास्थ्य संस्थासमेत हो । जुन अस्पतालको भान्सामा विगत ३० वर्षदेखि बिरामी, गाडी चालक र अन्य स्वास्थ्यकर्मीदेखि अस्पतालका लिडर डा. श्रेष्ठ सँगै खाना खान्छन् । सबैको एउटै भान्सा छ । उनका अनुसार धुलिखेल अस्पतालले आफ्ना कर्मचारीका छोराछोरीको लागि भनेर विद्यालय पनि खोलेको छ। अहिले धुलिखेल अस्पतालमा नहुने कुनै उपचार छैन । अस्पतालमा ओपीडी, इमर्जेन्सी सेवासँगै प्रसूति तथा मातृ–शिशु स्वास्थ्य, कार्डियोलोजी, मष्तिस्कघात, सर्जरी, हड्डी रोग, क्यान्सर स्क्रिनिङ, स्पाइन सर्जरी, हेयर सर्जरी, डायलाइसिस, रेडियोलोजी, डेन्टल, आँखासम्बन्धी उपचारलगायत लगभग सबै प्रमुख सेवा प्रदान गरिँदै आएको छ । अहिले अस्पतालले १०० शैया क्षमताको ट्रमा सेन्टर निर्माण गरिरहेको छ । जहाँ काभ्रे, सिन्धुपाल्चोक, दोलखासहित राजधानीदेखि पूर्वी क्षेत्रमा हुने सडक दुर्घटना, आकस्मिक चोटपटकका समस्याहरूको समयमै उपचार हुने विश्वास छ । अहिले पनि अस्पतालमा विभिन्न ठाउँबाट रिफर भएर भएर आउने एम्बुलेन्स ट्र्याकिङ गर्ने प्रणाली अस्पतालले विकास गरेको छ । यसले दुर्घट्नास्थलमा छिटोभन्दा छिटो एम्बुलेन्स सेवा पु¥याउन मद्दत गर्दछ । डा. श्रेष्ठका अनुसार अस्पताल अहिले पूर्वी क्षेत्रका लागि ‘मिनी रिफरल हब’का रूपमा विकास भइरहेको छ । ‘आगामी दिनमा थप उत्कृष्ट सेवा दिँदै जाने हो, धुलिखेललाई उत्कृष्ट स्वास्थ्य सेवा, उत्कृष्ट स्वास्थ्य शिक्षा र उत्कृष्ट अनुसन्धान केन्द्रका रूपमा अगाडि बढाउन चाहन्छौं,’ उनले भने । सानो कोठाबाट सुरु भएको धुलिखेल अस्पताल अहिले वार्षिक ४ अर्ब बजेटको पुगिसकेको छ । चार सय रोपनी क्षेत्रफलमा फैलिएको छ । डा. श्रेष्ठले सुरुवातमा ६ किसिमको सर्जरी आफैले गर्थे । तर अहिले उनको टिम निकै क्षमतावान बनिसकेको छ । आफ्नो अनुपस्थितिमा पनि धुलिखेल अस्पताल अब्बल र थप परिस्कृत बन्दै अगाडि बढ्न सक्नेमा ढुक्क छन् डा. श्रेष्ठ । धुलिखेल अस्पतालमा विगत २२ वर्षदेखि काम गर्दै आएकी वरिष्ठ परामर्शदार्ता तथा प्रसूति तथा स्त्री रोग विभागमा कार्यरत प्रा.डा. आभा श्रेष्ठले डा. रामकण्ठ मकाजु श्रेष्ठको नेतृत्वदायी भूमिका र सोचकै कारण आज धुलिखेल अस्पताल एक गौरव गर्न लायक स्वास्थ्य संस्था बनेको बताइन् । उनका अनुसार आज धुलिखेल अस्पताल नेपालमा स्वास्थ्य, शिक्षा, अनुसन्धान र समुदाय विकासको आदर्श मोडल भनेर चिनिएको छ । ‘उहाँले सानैदेखि अस्पताल चाहिन्छ भन्ने सोचका साथ पढेपछि नेपालमै फर्किएर अस्पताल खोल्न नेतृत्वदायी भूमिका खेल्नुभयो, त्यसमा धेरैले साथ दिनुभयो । सुरुवाती दिनमा जोडिएका साथीहरू अहिले पनि सँगै छौं, सबैको यो संस्थालाई बनाउनुपर्छ भन्ने भावना छ । त्यही भावनाका साथ मिहिनेत गर्दा आज पैसा नहुनेले पनि सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य सेवा पाएका छन्,’ डा. श्रेष्ठले भनिन् । धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्यान्जु श्रेष्ठ पनि धुलिखेल अस्पताल र अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठको खुलेर प्रशंसा गर्छन् । उनकै योगदानकै कारण आज धुलिखेल नगरपालिका एसियामै दोस्रो र नेपालमै पहिलो ‘हेल्दी सिटी’को रूपमा चिनिएको उनको भनाइ छ । धुलिखेललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दक्षिण पूर्वी एसियाको ‘हेल्दी सिटी’को सदस्यता प्रदान गरेको उनले बताए। ‘धुलिखेल अस्पतालको निर्माण र यसको विकासले धुलिखेलको सामाजिक–आर्थिक विकासमा ठूलो योगदान मिलेको छ । धुलिखेलमात्रै होइन, अन्य जिल्लाका नागरिकले पनि सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाएका छन्, नगरपालिकाले पनि सकेसम्मको सहयोग गरिरहेको छ, यसको सबै श्रेय डा. माकजुलाई जान्छ,’ मेयर श्रेष्ठले भने। भीसी बनेर उत्कृष्ट काम डा. रामकण्ठ माकजु सर्जन हुन् । एउटा अब्बल चिकित्सक र व्यवस्थापकको भूमिका निर्वाह गरिरहेका उनलाई २०६९ सालमा काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न अफर आयो । उनी त्यो अफरलाई आफूले बाध्यताबस स्वीकार गरेको बताउँछन् । ‘म त्यतिखेर उपकुलपति बन्नु बाध्यता थियो, देशमा राजनीतिक अस्थिरता थियो, अप्ठ्यारो अवस्थामा नियुक्त भएको हुँ । मलाई पत्याएर अफर गरेपछि किन नबन्ने भनेर उपकुलपति बनेको हुँ, पछि काम पनि राम्रै गरें, भीसी बन्दाका दिनहरू स्मरण गर्दै डा. श्रेष्ठले भने । आफ्नो कार्यकालमा काठमाडौं विश्वविद्यालयको पूर्वाधार निर्माण र अनुसन्धानको कामले ठूलो प्रगति हासिल गरेको उनको भनाइ छ । ‘साउथ एसियामा नमुना विश्वविद्यालय भनेर चिनाउनका लागि धेरै काम गरें, मैले दुई वर्ष थप काम गरेको भए त्यो लक्ष्य पनि पूरा हुन्थ्यो,’ उनी भन्छन्, ‘कुनै पनि प्रोफेसरले कुनै पनि गुनासो गर्ने वातावरण सिर्जना गरिनँ ।’ डा. श्रेष्ठले आफ्नो कार्यकालमा विभिन्न विधा र विद्यार्थी पनि बढेको सुनाए । प्राज्ञिक व्यक्तित्वहरू पनि काठमाडौं विश्वविद्यालयमा आकर्षित भएको उनको भनाइ छ । उनले आफ्नो दुई कार्यकालमा काठमाडौं विश्वविद्यालयमा रहेर देखिने काम गरेको सुनाए । उनी काठमाडौं विश्वविद्यालयमा (केयू) ‘कक्षा कोठाबाट समुदायतर्फ’ भन्ने मूल नारा लिएर अघि बढे । उनले दोस्रो कार्यकालमा विश्वविद्यालय २५ वर्ष पूरा भएको अवसरमा अघि सारेका शैक्षिक गुणस्तर तथा नवप्रवर्तनका कार्यक्रमले अहिले पनि कार्यान्वयनमा छन् । उनकै नेतृत्वमा केयूलाई विदेशी शैक्षिक संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने कार्यलाई पनि तीव्रता दिएको थियो । धुलिखेलमै जन्म, विदेशबाट उच्च शिक्षा धुलिखेलमा जन्मिएका डा. श्रेष्ठले एसएलसीसम्मको पढाइ धुलिखेलमै पूरा गरे भने काठमाडौंको अस्कल कलेजबाट आईएस्सी पूरा गरे । त्यसपछि उनी चिकित्साशास्त्र अध्ययनका लागि अष्ट्रिया पुगे । उनले अष्ट्रियाको युनिभर्सिटी अफ भियनाबाट एमडीको अध्ययन पूरा गरे भने भोरालबर्ग अस्ट्रेलियाबाट शल्यचिकित्सामा विशेषज्ञता हासिल गरे । अध्ययन पूरा गरेपछि उनी स्वदेश फर्किएर धुलिखेल अस्पताल स्थापनामा महत्वपूर्ण योगदान दिए । डा. श्रेष्ठकी छोरी पनि अहिले धुलिखेल अस्पतालमा साइकोलोजिष्टको रूपमा कार्यरत छिन् । डा. माकजु भन्छन्, ‘म त्यहाँ उभिन्छु, जहाँ धेरैले मेरो उभ्याइको अनुभूति गरून् । म मेरै देशमा उभिन चाहन्थें । विदेशमा वर्षौं बिताएपछि म जन्मिएकै ठाउँमा फर्किएँ, अहिले जति खुसी छु, म विदेशमा जति सेवा सुविधा र पैसा भएको भए पनि खुसी हुन्थेनँ ।’ म सुविधासम्पन्न देशमा पढेर पनि स्वदेशमै फर्किएँ । म सानैदेखि आफ्नै ठाउँ र देशमा सुविधा सम्पन्न स्वास्थ्य संस्था होस् भन्ने चाहन्थें । त्यही सोंचका साथ पढाइ सकेर नेपाल फर्किएपछि धुलिखेल अस्पतालको स्थापनामा लागेँ । यसमा धुलिखेलवासी, मेरा साथीहरू, शिक्षकहरू र सरकारले पनि साथ दियो । समुदायले गरेको भरोसा, सरकारले दिएको विश्वास र बाहिरबाट अघि बढ्ने हजारौं सहयोगी हातहरूको ऊर्जाले यो संस्थालाई निरन्तर उकास्दै लग्यो । आज धुलिखेल अस्पतालसँग १५ सयभन्दा बढी जनशक्ति छन् । र, विभिन्न देशबाट नियमित रूपमा विद्यार्थी, चिकित्सक तथा विज्ञहरू ज्ञान आदान–प्रदानका लागि यहाँ आउने गर्छन् । अमेरिका, जर्मनी, इटाली, नर्वे, कोरिया, जापानलगायत मुलुकबाट २०० भन्दा बढी विद्यार्थीहरूले धुलिखेलमा मेडिकल शिक्षा लिइरहेका छन् । नेतृत्व भनेको आफूमा भएका मूल्य मान्यताहरूलाई जोगाउँदै नपुग र कमजोरी पहिचान गर्दै अघि बढ्ने निरन्तर यात्रा हो । कमजोरी देखिनु स्वयं खराब होइन, कमजोरी देखेर पनि वास्ता नगरिनु नै संस्थाको पतनको संकेत हो । त्यसैले नेतृत्वमा इमानदारिता, निष्पक्षता, पारदर्शिता आवश्यक पर्छ । आज मेरो टिमका चिकित्सकहरू मभन्दा पोख्त र धेरै दक्ष छन् । संस्था मेरो अनुपस्थितिमा पनि सहजै गतिशील रूपमा अघि बढ्छ भन्ने विश्वास छ । अब मसँग अझै एउटा ठूलो सपना बाँकी छ, नेपालका तीन करोड नागरिकलाई जहाँ भए पनि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको समान पहुँच दिलाउने । धुलिखेल अस्पताल व्यापार होइन, ‘भ्वाइसलेसको भ्वाइस’ बन्ने चाहनाबाट जन्मिएको संस्था हो । गरिबहरूका लागि स्थापना भएको संस्था हो । आज लाखौं बिरामी यो संस्थाबाट लाभान्वित भएका छन् । हजारौंले पुर्नजन्म पाएका छन् । ४ सय रोपनीभन्दा बढी क्षेत्रफलमा पूर्वाधार विस्तार भएको छ । करिब ४ अर्बको वार्षिक बजेटबाट सेवा सञ्चालन भइरहेको छ । यो सम्पूर्ण उपलब्धि दान, विश्वास, श्रम र सामूहिक भावना मिलेर बनेको एउटा ठूलो धरोहर हो । गरिबलाई आधारभूत मात्र होइन, उत्कृष्ट सेवा दिन सकिन्छ भन्ने उदाहरण यहीँबाट संसारलाई देखाएका छौं । धुलिखेललाई उत्कृष्ट स्वास्थ्य सेवा, उत्कृष्ट स्वास्थ्य शिक्षा र उत्कृष्ट अनुसन्धानका केन्द्रको रूपमा उभ्याउने कार्यमा निरन्तर लागिरहेका छौं । म धेरै बोल्दिनँ, काम गरेर देखाउँछु । म कस्तो छु र के काम गरेको छु भनेर सोध्नुभन्दा यहाँका कर्मचारी, चिकित्सक र सेवाग्राहीले दिएको जवाफ नै मेरो कार्यको वास्तविक मूल्याङ्कन हो । देश विकास भएन भन्नेलाई म धुलिखेल आउन निम्तो दिन्छु । ‘विकास नायक’को रूपमा पाएको सम्मान म आफ्नै सफलता ठान्दिनँ । यो मेरो टिम, समुदाय, देश–विदेशमा बसेर सहयोग गर्ने सबै शुभेच्छुकहरूको श्रम र विश्वासको प्रतीक हो । यो धुलिखेल अस्पतालले दिएको फलप्रति गरिएको सम्मान हो ।
वीरगञ्जमा कर्फ्यू आदेश मंगलबार दिउसो १ बजेसम्म थप
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मंगलबार बिहानसम्म कफ्र्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिए । 'स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमनाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरिएको छ', उनले भने । स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ । प्रजिअ दाहालले कफ्र्युका बेलामा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनका लागि अनुरोध गरे । कफ्र्यु आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ ।
टिकट काउन्टरमा लागूपदार्थ सेवन, ७ जना कर्मचारी पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत ७ जना कर्मचारी लागूऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगन्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागूपदार्थ खाएको प्रमाणित गरेपछि पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए । उनका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई बल्खु बस्ने २० वर्षीय वसन्त कुमार यादव, चितवनको कविलास घर भई लैनचौर बस्ने २७ वर्षीय साजन गुरुङ, तनहुँको बन्दीपुर घर भई ललितपुरको सातदोबाटो बस्ने २३ वर्षीय पारस गुरुङ र अनुप गुरुङ रहेका छन् । त्यस्तै, झापा घर भई बल्खु बस्ने ३८ वर्षीय विक्की श्रेष्ठ, काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने ४२ वर्षीय अर्जुन भण्डारी र धादिङको गल्छी घर भई काठमाडौं चन्द्रागिरि बस्ने २४ वर्षीय अस्मिन लामिछानेलाई पक्राउ गरिएको उनले जानकारी दिए । लागूपदार्थ सेवन गरी यात्रु तथा पैदलयात्रीलाई दुःख, हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्न सो क्षेत्रमा प्रहरीको टोली खटिएको थियो । उनीहरूलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा सोमबार अदालतले लागूपदार्थ सेवन कसुरमा अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए । उनका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
३ करोड लगानीमा चिया खेती, १ हजार ३०० जना सेयर सदस्य
काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित वृहत् चिया खेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले आर्थिक विकासलाई दिगो बनाउने लक्ष्यसाथ योजनाबद्ध रूपमा चिया खेती विस्तार थालेको हो । गाउँपालिका तथा आमचोक चिया तथा कफी सहकारीका सेयर सदस्यहरूको संयुक्त लगानीमा हालसम्म चिया खेतीका लागि ३ करोड रुपैयाँ लगानी भइसकेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए । उनका अनुसार चिया खेती विस्तारमा १ हजार ३०० जना सेयर सदस्यको सहभागिता छ । ‘आमचोक गाउँपालिकामा चिया खेतीको प्रशस्त सम्भावना छ । हाल हामी वृहत् रूपमा चिया खेती विस्तार गरिरहेका छौँ । चिया खेतीलाई पर्यटन र आर्थिक गतिविधिसँग जोड्दै स्थानीयको जीवनस्तर सुधार गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने । प्राकृतिक सौन्दर्य र पर्यटनको उच्च सम्भावना बोकेको आमचोक क्षेत्रका नाङ्गा तथा खाली पाखालाई हरियालीमा रूपान्तरण गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले चिया खेती विस्तार गरिएको हो । हालसम्म करिब ७ सय रोपनीमा चिया खेती विस्तार भइसकेको अध्यक्ष राईले जानकारी दिए । खाली जमिनको सदुपयोग गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ देखि योजनाबद्ध रूपमा चिया खेती विस्तार सुरु गरेको हो । गाउँपालिकाभित्र चिया खेतीको राम्रो सम्भावना रहेको वडा नं १, २, ३ र ६ मा प्राथमिकताका साथ खेती विस्तार थालिएको छ । यी वडामा प्रशस्त खाली जमिनसँगै पर्यटन प्रवर्द्धनको सम्भावना रहेकाले दीर्घकालीन योजनासहित कार्यक्रम अघि बढाइएको अध्यक्ष राईले बताए । ‘गाउँपालिकाले योजनाबद्ध रूपमा चिया खेती विस्तार गरिरहेको छ । यहाँका खाली जमिनको सदुपयोग गर्दै आयआर्जन वृद्धि र पर्यटन विकासलाई सँगसँगै अघि बढाउने हाम्रो प्रयास हो,’ उनले भने । आमचोक गाउँपालिकाको माथिल्लो भेगमा प्रशस्त खाली चौर रहेको र उक्त क्षेत्र चिया खेतीका लागि उपयुक्त भएको अध्यक्ष राई बताउँछन् । गाउँपालिकासँगै स्थानीयलाई निजी खाली जमिनमा चिया खेती विस्तार गर्न प्रोत्साहित गर्ने कार्यक्रम पनि सञ्चालन गरिने उनले जानकारी दिए । उत्पादन भएको चियाको प्रशोधनका लागि वडा नं २ मा चिया प्रशोधन कारखानाको संरचना निर्माण भइसकेको गाउँपालिका जनाएको छ । मेसिन जडानको काम भने बाँकी छ ।
त्रिभुवन विमानस्थलबाट १ वर्षमा अन्तर्राष्ट्रिय यात्रा गर्नेको संख्या करिब ५० लाख, ५ वर्षमा ३४९ प्रतिशतले वृद्धि
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा साढे ५० लाखभन्दा बढी अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२५ मा त्रिभुवन विमानस्थलबाट ४९ लाख ६३ हजार ४६६ जना यात्रुले यात्रा गरेका छन् । सन् २०२५ मा त्रिभुवन विमानस्थलबाट ४९ लाख ६३ हजार ४६६ जना यात्रुले यात्रा गरेका छन् । यो तथ्यांक आगमन र प्रस्थान गर्ने दुवैको संख्या हो । क्यानका अनुसार सन् २०२५ मा सन् २०२० को तुलनामा ३४९ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ लाख ५ हजार ८५८ जनाले यात्रा गरेका थिए । तथ्यांकअनुसार हरेक वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्या बढ्दो क्रममा देखिन्छ । तथ्यांकअनुसार सन् २०२२ मा २२ लाख २३ हजार ३३३ यात्रुले विमानस्थलबाट यात्रा गरेका छन् । सन् २०२३ मा यो संख्या दोब्बरले बढेको छ । क्यानको तथ्यांकअनुसार सन् २०२३ मा ४३ लाख २९ हजार ४ सय जना यात्रुले आवतजावत भएका छन् । आन्तरिकतर्फ ४५ लाख पर्यटकले गरे यात्रा वर्षभरिमा त्रिभुवन विमानस्थलबाट ४५ लाख १९ हजार ३२२ जना आन्तरिक यात्रुले आवतजावत गरेका छन् । यो संख्या आव २०२० को तुलनामा २२१.४८ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा १४ लाख ५ हजार ७७७ जनाले यात्रा गरेका छन् । सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट सबैभन्दा धेरै यात्रुले आन्तरिकमार्फत यात्रा गरेका छन् । उक्त वर्षमा ४९ लाख १३ हजार ३५७ जना पर्यटकले यात्रा गरेका छन् । सन् २०२१ मा त्रिभुवन विमानस्थलबाट ३५ लाख ७६ हजार ९४२ जना आन्तरिक हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ मा ४३ लाख २५ हजार ५६ जना यात्रुले यात्रा गरेका छन् । कुन विमानस्थलबाट कति पर्यटकले यात्रा गरे ? क्यानको तथ्यांकअनुसार भैरहवा विमानस्थलबाट सन् २०२३ र २०२४ मा मात्रै अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका छन् । तथ्यांकअनुसार उक्त विमानस्थलबाट सन् २०२३ मा २ हजार ३ सय १५ र सन् २०२४ मा ९ हजार २०२ जना यात्रुले आवतजावत गरेका छन् । आन्तरिकतर्फ सन् २०२४ मा ६ लाख १० हजार ४३७ जनाले यात्रा गरेका छन् । सन् २०२० मा उक्त विमानस्थलबाट १ लाख ८१ हजार ७०३ जना यात्रुले आवतजावत गरेका थिए । तथ्यांकअनुसार गौतमबुद्ध विमानस्थलबाट सन् २०२१ मा ५ लाख ५८ हजार र सन् २०२३ मा ५ लाख ४९ हजार यात्रुले यात्रा गरेका छन् । एक वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १० लाख १६ हजार, नेपालगञ्ज एयरपोर्टबाट ४ लाख ९९ हजार, विराटनगर एयरपोर्टबाट ६ लाख ५९ हजार, चन्द्रगढी एयरपोर्टबाट ३ लाख ७२ हजार आन्तरिक यात्रुले यात्रा गरेका छन् । त्यस्तै, लुक्ला एयरपोर्टबाट २ लाख ४ हजार, भद्रपुर एयरपोर्टबाट २ लाख ३४ हजार, सुर्खेत एयरपोर्टबाट १ लाख ५९ हजार, जनकपुरबाट २ लाख ९५ हजार, सिमराबाट २ लाख ७३ हजार, धनगढी एयरपोर्टबाट २ लाख ८५ हजार यात्रुले यात्रा गरेका छन् । जोमसोम एयरपोर्टबाट २४ हजार, जुम्ला एयरपोर्टबाट ११ हजार, रामेछाप एयरपोर्टबाट ४६ हजार, सिमकोट एयरपोर्टबाट १६ हजार, फाप्लु एयरपोर्टबाट ११ सय, बाजुरा एयरपोर्टबाट ८८ हजार यात्रुले यात्रा गरेका छन् । त्यसैगरी, एक वर्षमा डोल्पाबाट ५ हजार, सल्लेबाट २ हजार, तुम्लिङटार एयरपोर्टबाट ३१ हजार, ताप्लेजुङबाट २ हजार, राराबाट ८ हजार, भोजपुरबाट ४ हजार, राजविराजबाट ३६ हजार, गुलीमीबाट १ हजार साँफेबजारबाट ७५१, दाङबाट ७७६, खानीडाँडाबाट ७५२, बझाङबाट २ हजार, इलामबाट ५३१ र थामखर्कबाट ६२ जना आन्तरिक यात्रुले यात्रा गरेका छन् । २०२५ मा पर्यटन क्षेत्रलाई फर्केर हेर्दा
सिटिजन्स सन्तुलित योजनामा लगानीकर्ताको आकर्षण, मागभन्दा २५ प्रतिशत बढी आवेदन
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’मा मागभन्दा बढी आवेदन परेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी यही पुस ४ गतेदेखि १८ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिएको १ अर्ब रुपैयाँ आकारको यस योजनामा प्रारम्भिक विवरणअनुसार सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ । यो माग तोकिएको रकमभन्दा करिब २५ प्रतिशत बढी हो । सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार यो योजना बढी आवेदन प्राप्त गर्ने म्युचुअल फण्ड योजनामध्ये एक बन्न सफल भएको छ । योजनाप्रति देखिएको लगानीकर्ताको आकर्षण र उल्लेखनीय सहभागिताले सिटिजन्स क्यापिटललाई नेपालको पूँजी बजारमा दक्ष, व्यवसायिक र विश्वसनीय संस्थाका रूपमा स्थापित गराएको प्रतिबिम्बित हुने कम्पनीको भनाइ छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ । कम्पनीका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् । कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार सेवा र संस्थागत परामर्श सेवासहित पूँजी बजारसम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको जनाएको छ । आगामी दिनमा पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधिमैत्री तथा लगानीमैत्री सेवामार्फत लगानीकर्तालाई विश्वसनीय र प्रतिस्पर्धी सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता रहेको छ । साथै, निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोष सञ्चालन गर्ने र हाल सञ्चालनमा रहेका योजनाबाट उच्च प्रतिफल दिलाउने लक्ष्यसहित काम गरिरहेको कम्पनीले जनाएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको हो । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान पुर्याएकोप्रति अर्थमन्त्री खनालले नेपाल सरकारको तर्फबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरेका छन् । अर्थ मन्त्रालयका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको योगदानसहित हालसम्म सो कोषमा १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भइसकेको छ ।
नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच सम्झौता, कर्मचारी र ग्राहकलाई उपचारमा छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र चावहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । पौष १८ गते भएको उक्त सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, उनीहरूका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहक, बैंकका क्रेडिट कार्ड होल्डर तथा अवकाश प्राप्त कर्मचारीहरूले मेडिकेयर हस्पिटलमा उपचार गर्दा बिल रकममा १० प्रतिशत छुट पाउनेछन् । सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लिमिटेडको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपाल बैंकका कर्मचारी, अवकाश प्राप्त कर्मचारी तथा बैंकसँग आबद्ध ग्राहकहरू मेडिकेयर हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा सहुलियत दरमा उपचार सुविधा लिन सक्नेछन् । बैंकले यस किसिमका सहकार्यबाट आफ्ना कर्मचारी र ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ ।
शिक्षामा कर्जा माग्दा बैंकले ऋण दिएन, कार किन्न जाँदा सजिलै पाइयो: सुलभ बुढाथोकी
काठमाडौं । आईएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले समयानुकूल शिक्षा नीति लागू गर्न नसक्दा विद्यार्थीहरू अझै विदेश पलायन हुने खतरा रहेको बताएका छन् । उनका अनुसार आजभन्दा ३० वर्षअघिको शिक्षा नीतिलाई अहिले पनि लागू गर्ने हो भने देशभित्र कलेज र विद्यालयमा विद्यार्थी टिकाइराख्न गाह्रो हुन्छ । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै बुढाथोकीले समय सापेक्ष शिक्षा नीति अवलम्बन गर्दा कलेज र विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने बताए । ‘हामीले समयअनुसार शिक्षा नीतिलाई अगाडि बढाएकै कारण कलेजमा विद्यार्थीको भीड देखिएको हो,’ उनले भने । उनका अनुसार आजका युवाहरू अर्थात् जेनजी पुस्ताले शिक्षकको ज्ञान मात्र नभई सिकाइको वातावरण, सुविधा र मनोरञ्जनात्मक पद्धतिलाई पनि प्राथमिकता दिन थालेका छन् । ‘विद्यालयमा सिकाइसँगै मनोरञ्जनको वातावरण बनाइयो भने विद्यार्थी आफैं आकर्षित हुन्छन्,’ उनले स्पष्ट पारे । बुढाथोकीले आफ्नो संस्थाले विद्यालयमा समय सापेक्ष वातावरण सिर्जना गरेकाले विद्यार्थीको चासो बढेको दाबी गरे । साथै, शिक्षालाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले शिक्षा क्षेत्रमा लगानी गर्न खोज्दा बैंकबाट सहजै कर्जा नपाएको गुनासो गरे । ‘शिक्षामा कर्जा माग्दा बैंकले ऋण दिन मानेन, तर एउटा कार किन्न जाँदा सजिलै ऋण पाइयो,’ उनले भने । बुढाथोकीले शिक्षा क्षेत्रमा देखिएको राजनीतिक हस्तक्षेप अन्त्य गर्न सके मात्र वास्तविक सुधार सम्भव हुने बताए । ‘शिक्षा क्षेत्रलाई राजनीतिक झण्डा बोकेको झुण्डबाट मुक्त गर्न सकियो भने शिक्षामा आमूल परिवर्तन ल्याउन सकिन्छ,’ उनले बताए ।
१६१ किलोमिटर लामो बुटवल–लमही प्रसारण लाइन बनाउँदै प्राधिकरण, पूर्वको बिजुली पश्चिममा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही ४ सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल १६१ किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आयोजनाको बिजुली प्रवाहका लागि सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा प्राधिकरणले सो आयोजना कार्यान्वयन गर्न लागेको हो । प्रसारण लाइनको प्रभावित क्षेत्रमा वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण) प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दै आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरिएको छ । कुल ४ सय केभी क्षमताको सो प्रसारण लाइनको ४६ मिटर क्षेत्राधिकार तोकिएको छ । प्रसारण लाइनको केन्द्रबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ रहने गरी क्षेत्राधिकार तोकिएको छ । सो प्रसारण लाइनमा कुल ४०५ वटा टावर रहने छन् । यस्तै, दाङको लमही नगरपालिका वडा नं ९ स्थित रिहारमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेसन निर्माण हुनेछ । प्राधिकरणले वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक, आर्थिक प्रणालीमा के-कस्तो प्रभाव पर्दछ पनि एकिन गर्न लागिएको सूचनामा उल्लेख छ । त्यस क्षेत्रका आयोजनाका कारण पर्न जाने प्रभावका बारेमा आवश्यक जानकारी, सुझाव एवं सल्लाह दिन प्राधिकरणले आग्रह गरेको छ । वातावरणीय प्रस्तावका सम्बन्धमा आवश्यक राय, सुझाव र सल्लाह प्राधिकरणको केन्द्रीय कार्यालय र परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड ललितपुरमा उपलब्ध गराउन भनिएको छ ।
झापा इनर्जीले ५ महिनामा बेच्यो पौने ५ करोडको बिजुली, प्रतियुनिट ७.३० रुपैयाँ
काठमाडौं । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले ५ महिनामा ४ करोड ७० लाख ९३ हजार ४९७ रुपैयाँको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालनमा छ । झापा इनर्जीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युत्को व्यावसायिक उत्पादन गर्दै आएको छभने त्यसअघि २०७८ साल मङ्सिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत् खरिद बिक्रीको सम्झौता (पीपीए) गरेको थियो । बुलुचोकमा २२ बिघा जग्गा खरिद गरेर इनर्जीले परियोजना निर्माण गरेको छ । परियोजनास्थलमा २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन् । परियोजनाबाट उत्पादित सौर्य विद्युत्लाई एक किलोमिटरको दूरीभित्रै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेशनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । झापा इनर्जीले आव २०८०/८१ मा ५ करोड २८ लाख ८४ हजार ७७७ रुपैयाँको सौर्य विद्युत् उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो । आव २०८१/८२ मा बिक्री बढेर ९ करोड १० लाख ५९ हजार ४७५ रुपैयाँ पुगेको अध्यक्ष लिम्बूले बताए ।
बीमाको महत्व विद्यालय तहदेखि पढाइने, प्राधिकरण–शिक्षा निकायबीच छलफल
काठमाडौं । विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा बीमा शिक्षा सम्बन्धी विषयवस्तु समावेश गर्ने विषयमा नेपाल बीमा प्राधिकरणले सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । शनिबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र तथा सामाजिक अध्ययन विषय समितिका पदाधिकारी, विज्ञ र लेखकहरूको सहभागिता रहेको थियो । विद्यालय तहका सामाजिक अध्ययन पाठ्यपुस्तक परिमार्जन तथा पुनर्लेखनका क्रममा बीमा शिक्षा समेट्ने विषयमा ठोस निष्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले विद्यालय तहदेखि नै बीमाको आवश्यकता र महत्वबारे पाठ्यपुस्तकमार्फत जानकारी दिनु आवश्यक रहेको बताए । उनले बीमालाई मानव जीवनको अभिन्न अङ्गका रूपमा विकास गर्न प्रारम्भिक तहदेखि नै सचेतना आवश्यक रहेको उल्लेख गरे । 'बीमाले मानव जीवन र सम्पत्तिको वित्तीय सुरक्षण गर्छ भन्ने जानकारी सानैदेखि दिनुपर्छ,' अध्यक्ष शर्माले भने, 'यसले बीमाको दायरा विस्तार, लागत घटाउने, जोखिम न्यूनीकरण गर्ने र समग्रमा मुलुकको आर्थिक विकासमा टेवा पुर्याउँछ ।' शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले विद्यार्थीहरूले विद्यालय तहबाटै बीमाका बारेमा बुझ्न सकून् भन्ने उद्देश्यले सामाजिक अध्ययन पाठ्यपुस्तकमा बीमा सम्बन्धी विषयवस्तु समावेश गरिँदै आएको बताए । उनले पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरिरहेको जानकारी दिँदै परिमार्जित पाठ्यक्रम सबै प्रक्रिया पूरा गरी आगामी २०८४ सालको शैक्षिक सत्रदेखि देशव्यापी रूपमा लागू गरिने बताए । त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक तथा सामाजिक अध्ययन विषय समितिका अध्यक्ष प्रा.डा. रामकृष्ण तिवारीले सामाजिक अध्ययनका पाठ्यपुस्तक लेखन र प्रश्नपत्र निर्माणमा बीमा सम्बन्धी विषयवस्तु समावेश गर्न विषय विज्ञ र लेखकहरूलाई आग्रह गरे । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले विद्यालय तहका सामाजिक अध्ययन विषयका प्रस्तावित पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकामा समावेश गर्न सकिने बीमा शिक्षा सम्बन्धी विषयवस्तु पहिचान गरी सुझावसहित पाठ्यक्रम विकास केन्द्रलाई उपलब्ध गराइने जानकारी दिए । कार्यक्रममा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले बीमा शिक्षा सम्बन्धी प्रस्तुति दिएका थिए । छलफलका क्रममा कक्षा ४ देखि १२ सम्मका प्रस्तावित पाठ्यक्रममा समावेश गर्न सकिने बीमा शिक्षा सम्बन्धी विषयवस्तुहरूबारे विस्तृत विचार–विमर्श भएको थियो । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सामाजिक अध्ययन विषय समिति तथा नेपाल बीमा प्राधिकरणका पदाधिकारी, विज्ञ र लेखकहरूको सहभागिता रहेको थियो ।
सुनिल शर्माले मोरङको विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने
मोरङ । मोरङको रतुवामाई नगरपालिका- ९ स्थित श्री जनता माध्यमिक विद्यालयमा करिव चार करोड रुपैयाँको लागतमा नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आफ्ना बाबुआमाको नाममा उक्त भवन निर्माण गरिदिने घोषणा गरेका हुन् । विद्यालय भवनको शिलान्यास गर्दै डा. शर्माले १० कोठे अत्याधुनिक भवनमा कम्प्युटर ल्याव र शौचालयसहित करिव ६ हजार ४ सय वर्गफुट क्षेत्रफलमा निर्माण हुने बताए । विद्यालय भवनको शिलान्याससँगै विद्यालयको नाम पनि परिवर्तन गरी श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय राखिएको छ । रतुवामाई नगरपालिकाको आधारभुत तथा माध्यमिक शिक्षा ऐन, २०७२ (तेस्रो संशोधनसहित) अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर विद्यालयको नाम परिवर्तन गरिएको हो । डा. शर्माले काठमाडौं डिकल कलेजअन्तर्गत एमबीबीएस, बीडीएसलगायत उपलब्ध सबै विषयमा पीएचडीसम्म अध्ययन गर्न सकिने गरी थप एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा समेत गरेका छन् । छात्रवृत्तिमध्ये ५० लाख रुपैयाँ विद्यालयलाई जग्गा दान गर्ने स्वर्गीय नरेन्द्रबहादुर थापाको नाममा, २५ लाख रुपैयाँ डा. शर्माका हजुरबुवा स्वर्गीय गुणलाल न्यौपाने नाममा र २५ लाख रुपैयाँ जिजुबा. गणपति न्यौपानेको नाममा स्थापना गर्ने उनले घोषणा गरे । डा. शर्माले आफूले अध्ययन गरेको विद्यालयमा लगानी गर्नु नै विद्यालयप्रतिको ऋण तिर्ने प्रयास भएको बताए । ‘५० लाख बराबराको हजुबुबाको नाममा हामीले छात्रवृत्ति थप गरिदिन्छौँ । भवन त साँढे ३ करोडको बन्यो, बन्यो, ४ करोड पनि पुग्नसक्छ । यो थप हो । ५० लाख बराबरको छात्रवृत्तिको नाम नै श्री नरेन्द्रबहादुर थापा छात्रवृत्ति कार्यक्रम हुन्छ । मेरो जि बा गणपति न्यौपाने र हजुरबुबा गुणलाल न्यौपानेको नाममा २५/२५ लाख गरेर हामीले आज यसै कार्यक्रमबाट भवन र उपचार सुविधा बाहेक अरु एक करोड रुपैयाँको हामीले यो विद्यालयमा न्युनतम ५ वर्ष पढेको र आर्थिक स्थिति कमजोर यो विद्यालयबाट एसईई दिएको विद्यार्थीहरुमध्ये एमबीबीएस, बीडीए पढ्न छात्रवृत्ति उपलब्ध गराउनेछौँ,’ उनले भने । रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर सिंह, कोशी प्रदेशसभा सदस्य गणेश उप्रेतीले डा. शर्माको योगदानको प्रशंसा गर्दै यस्तो निःस्वार्थ सहयोगले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरे ।