एसबीआई बैंकको सिन्धुली शाखामा ३ करोड ११ लाख लुटपाट, सुरक्षागार्डमाथि खुकुरी प्रहार

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखामा मंगलबार (हिजो) साँझ लुटपाट भएको छ । बैंकका एक उच्च अधिकारीका अनुसार साँझ करिब साढे ६ बजेतिर एक समूहले बैंक शाखामा प्रवेश गरी लुटपाट गरेको हो । लुटपाटमा संलग्न समूहले ठूलो रकम लुटेको प्रारम्भिक जानकारी आएको बैंकका उच्च अधिकारीले बताए । उनका अनुसार प्रारम्भिक विवरणअनुसार करिब ३ करोड ११ लाख रुपैयाँ लुटिएको छ । यद्यपि लुटेराले लुटपाटकै क्रममा १ करोड ८० लाख रुपैयाँ फालेको र उक्त रकम फेला परिसकेको उनको भनाइ छ । घटनापछि मंगलबार राति नै बैंकको केन्द्रीय कार्यालयबाट बागमती प्रदेशका प्रमुख सुशील श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको र बिहान करिब ४ बजे त्यहाँ पुगिसकेको उनले बताए । घटनाको यथार्थ विवरण संकलन तथा औपचारिक रिपोर्टिङको प्रक्रिया जारी रहेको उनको भनाइ छ । लुटपाटमा प्रयोग गरिएको गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बैंकका उच्च अधिकारीले बताए । लुटपाटका क्रममा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरिएको छ । गार्ड घाइते भए पनि अवस्था गम्भीर नभएको उनले बताए । बैंकका अन्य कर्मचारीलाई भने कुनै शारीरिक क्षति नभएको उनले बताए । लुटेराले केहीबेर कर्मचारीहरूलाई नियन्त्रणमा लिएर कोठाभित्र डोरीले बाँधेर राखेको भए पनि हाल सबै कर्मचारी सुरक्षित रहेको जानकारी प्राप्त भएको उनको भनाइ छ ।  घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान तथा चेकजाँच भइरहेको उनले बताए । 

सलिकोको २९औं वार्षिक साधारणसभा सम्पन्न, ५० करोडभन्दा बढी नाफा आर्जन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आर्थिक वर्ष २०८१/०८२ को २९औं वार्षिक साधारणसभा मंगलबार (आज) सम्पन्न भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा ५० करोड २ लाख ४८ हजार ५२३ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ८.५२ प्रतिशतले वृद्धि हो । त्यसैगरी, कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ८३ कराेड ३२ लाख ९२ हजार ६१४ दाबी भुक्तानी गरेकोमा चालु आर्थिक वर्षमा  ३ अर्ब ६२ करोड ५१ लाख ५५ हजार २५५ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ।  सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ । साथै सञ्चालक समितिको सिफारिसअनुसार सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सर्वसम्मत रूपमा पारित गरिएको छ । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सलिकोको व्यवसायिक प्रगति, वित्तीय अवस्था तथा आगामी कार्यदिशा बारे सेयरधनीहरूलाई विस्तृत जानकारी गराए । उनले चुनौतीपूर्ण बजार परिस्थितिका बीच पनि कम्पनीले सन्तुलित र दिगो वृद्धितर्फ अग्रसर भएको बताए । आगामी वर्षहरूमा पनि ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित कम्पनी अघि बढिरहेको विश्वास दिलाउँदै उनले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा थप जोड दिइने बताए ।

नेपाल ईन्स्योरेन्सको ७७ औं साधारण सभा सम्पन्न, १६ करोड लाभांश पारित

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७७ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा भएको हो । कम्पनीले आ.व. २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरू पारित गरेको छ । सभाले आ.व. २०८१/८२ को नाफाबाट २५४ करोड रुपैयाँ  चुक्ता पूँजीको ६.३१५८ प्रतिशत दरले १६ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मति पारित गरेको छ। साथै, आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको पुनर्नियुक्ति समेत गरेको छ। नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित यस कम्पनीले विगत ७८ वर्षदेखि नेपाली बीमा बजारमा आफ्नो विश्वासिलो पहिचान कायम राख्दै आएको छ । कम्पनीले देशभर ५४ शाखा/उपशाखा कार्यालयमार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।

कालिका पावरको आम्दानी ९ करोड नाघ्यो, होल्डिङ कम्पनीका रूपमा विकास गरिँदै

चितवन । कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१/८२ मा सेयर आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा १५ दशमलव ९५ प्रतिशतले सेयर आम्दानी वृद्धि भएको हो ।      कम्पनीको १८औँ वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष सुरेन्द्र पाण्डेद्वारा प्रस्तुत प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा जम्मा प्रतिसेयर आम्दानी नौ दशमलव शुन्य नौ रहेकामा २०१/८२ मा १० दशमलव ५४ पुगेको छ । कालिका पावर कम्पनीले गरेको आम्दानी हाइड्रो पावरमा सबैभन्दा राम्रो दाबी गरिएको छ ।      कम्पनीले गत वर्षभन्दा यस अर्थिक वर्षमा रु एक करोड ३५ लाख १३ हजार ७७० कूल आम्दानी बढाएको छ । अघिल्लो आर्थिक वर्षमा रु आठ करोड ४९ लाख आठ हजार ५८९ आम्दानी गरेकामा पछिल्लो आर्थिक वर्षमा नौ करोड ८४ लाख २२ हजार ३५९ रुपैयाँ आम्दानी भएको छ ।      गोरखाको अजिरकोट र वारपाक सुलिकोट (साविकको सिम्जुङ, मुच्चोक र सौरपानी गाविस)को सिमानामा पर्ने दरौँदी नदीबाट छ मेगावाटको विद्यत् उत्पादन गरिसकेको कालिका पावर कम्पनीले सात प्रतिशत बोनस सेयर वितरण गरेको छ । कम्पनीले विद्यत् बिक्रीबाट मात्रै छ करोड ९३ लाख ६२ हजार ६५१ रुपैयाँ आम्दानी गरेको छ ।      कम्पनीमा कायम रहेको चुक्ता पुँजी ९३ करोड ३९ लाख ४९ हजार ५०० रुपैयाँको सञ्चित मुनाफाबाट सञ्चालक समितिको निर्णयबमोजिम सात प्रतिशतले हुन आउने रकम छ करोड ५३ लाख ७६ हजार ४६५ रुपैयाँ बराबरको सेयर वितरण गर्ने प्रस्ताव पारित भएको प्रतिवेदनमा उल्लेख छ ।      गतवर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको शून्य दशमलव तीन हजार ६८४ प्रतिशतले हुन आउने रकम रू ३४ लाख ४० हजार ८६६ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।      कम्पनीलाई ‘होल्डिङ कम्पनी’को रूपमा विकास गरिँदै      कालिका पावर कम्पनी लिमिटेडले अन्य कम्पनीमा पनि लगानी गर्न कम्पनीको नाम परिवर्तन गरेर ‘होल्डिङ कम्पनी’ बनाउने तयारी गरेको छ । सोमबार नारायणघाटमा सम्पन्न १८औँ वार्षिक साधारणसभाको क्रममा कम्पनीले होल्डिङ कम्पनीको रूपमा विकास गर्न सोहीअनुसारको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न लागेको जनाएको छ ।      कम्पनीको साधाणसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सहमहामन्त्री रीना गुरूङले स्वदेशमै रोजगार दिलाउन र देशमै खेर गइरहेको पानीको सदुपयोग गरी ऊर्जा उत्पादन गर्ने कार्यमा कालिका पावर कम्पनी लागेको हुँदा समग्र देश र जनतालाई नै फाइदा पुग्ने खालको कामप्रति सबैले खुसी मान्नुपर्ने बताए । साधारणसभामा कम्पनी सचिव किशोरकुमार डङ्गोलले सभाको वैधानिकताबारे जानकारीसहित स्वागत मन्तव्य दिएका थिए ।   

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित

दार्चुला । अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर दिनुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन् । हाइड्रोपावर कम्पनीले सेयर जारी गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै मकरीगाड सेयर वितरण सङ्घर्ष समिति गठन गरी कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् । सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । ज्ञापनपत्रमा आयोजनाका कारण प्रभावित सडकमा पक्की पर्खाल र तटबन्ध निर्माण गर्नुपर्ने माग राखिएको छ । यस्तै प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार विकास, पानीका मुहान सुक्ने स्थानमा खानेपानी योजना निर्माण तथा विस्थापित पुराना घट्टको सट्टा नयाँ पानी घट्ट निर्माण गर्नुपर्ने मागमा उल्लेख छ । यसअघि मकरीगाडमा परम्परागत घट्ट थिए ।  त्यसैगरी, आयोजना प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण तथा आधारभूत स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउन कम्पनीसँग माग गरिएको छ । मकरीगाड हाइड्रोपावरलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेखित माग तीन दिनभित्र सम्बोधन नगरिए हाइड्रोपावर बन्द गर्ने चेतावनी पनि दिइएको छ । हाइड्रोपावरलाई ज्ञापनपत्र बुझाएको सङ्घर्ष समितिले अपिहिमाल गाउँपालिकासँग पनि सेयर वितरण र आयोजनाका विषयमा आवश्यक समन्वय गर्न आग्रह गर्दै ज्ञापन बुझाएको छ । गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई ज्ञापन बुझाउँदै स्थानीयले पाउने सेवा–सुविधाका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न माग गरिएको छ ।  

प्रमुख जिल्ला अधिकारीसहित गृहका ८ कर्मचारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले सोमबार प्रमुख जिल्ला अधिकारीसहित ८ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले सोमबारको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजीअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजीअमा र बझाङका प्रजीअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ । सोमबार साँझ सार्वजनिक गरिएको सरुवा तथा पदस्थापन विवरणअनुसार मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई डोल्पाको प्रजीअ, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीलाई बझाङको प्रजीअ तथा गृह मन्त्रालयका उपसचिव नवराज बराललाई बागलुङको सहायक प्रजीअमा पदस्थापन गरिएको छ ।  यस्तै, मन्त्रालयका उपसचिव भविश्वर घिमिरेलाई कपिलवस्तुको सहायक प्रजीअ, उपसचिव कृष्णप्रसाद गैरेलाई धनुषाको सहायक प्रजीअमा पठाइएको छ भने बागलुङका सहायक प्रजीअ जनकराज पन्तलाई गृह मन्त्रालयमा ल्याइएको छ । 

मुस्ताङको तापक्रम माइनस २० डिग्री, कर्मचारीले छाडे जिल्ला, विकास निर्माण ठप्प

काठमाडौं । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँद यामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँच वटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक खण्ड अन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । अत्यधिक चिसोका कारण विकास निर्माणमा परिचालित उपकरण पनि थन्किन पुग्छन् । पुस अगावै कोरला सडक अन्तर्गत मुस्ताङ खण्डमा आयोजनाको काम स्थगित गरिएको उनले बताए । राष्ट्रिय गौरवको कोरला सडक खण्ड अन्तर्गत मुस्ताङमा चिसोले प्रभावित बनेका पूर्वाधार निर्माणका काम चैत महिनापछि पुनः सञ्चालनमा आउने प्रमुख शर्माको भनाइ छ । उनका अनुसार कोरला सडक अन्तर्गत चालु आवमा ठेक्का सम्झौता भएको (कागबेनी-छुसाङ) ९.८ किमी कालोपत्र सडक स्तरोन्नतिको काम चिसोका कारण रोकिएको छ । कागबेनी-छुसाङ सडक कालोपत्र गर्न आयोजनाले २८ करोड ८७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाअन्तर्गत २०७५ सालमा ठेक्का सम्झौता भएको कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लामो घमी खोला पुलको काम पनि चिसोका कारण रोकिएको आयोजनाले जनाएको छ । हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्ट्रक्सनले ६ करोड ८० लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी काम अघि बढाए पनि घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ । भौतिक प्रगति ८० प्रतिशत पुगेको घमी खोलामा गत असोजमा फाउन्डेसन निर्माण गरी स्लाप ढलान सकेको छ । एप्रोज रोड र पुल फिनिसिङको काम बाँकी रहे पनि अत्यधिक चिसो बढेकाले पुल निर्माणको काम स्थगित हुन पुगेको आयोजना प्रमुख शर्माको भनाइ छ । यसैगरी, कोरलानाका जोड्ने राष्ट्रय गौरवको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत थासाङ गाउँपालिका-२ कोवाङदेखि घरपझोङ-४ जोमसोमसम्मको १७ किलोमिटर सडक पनि चिसोका कारण अवरुद्ध हुन पुगेको छ । विसं २०७३/७४ देखि ठेक्का सम्झौता भई अस्फाल्ट कालोपत्र सडक निर्माण सुरु गरिएको भए पनि यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले निर्माणको काम पूरा हुन सकेको छैन । यद्यपि यहाँको सडकमा करिब ५ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । निर्माण कम्पनीले सक्रियता बढाएको भए पुस अगावै निर्माणको काम सकिने आयोजनाको विश्वास थियो । यसैगरी, कोरला सडक अन्तर्गत थासाङ गाउँपालिकामा निर्माणाधीन लार्जुङ खोला पुल र कैकु खोला पुल निर्माणको काम पनि चिसोले प्रभावित भएको आयोजना प्रमुख शर्माले उल्लेख गरे । अत्यधिक चिसोका कारण मुस्ताङमा दर्जनौं सङ्घीय, प्रादेशिक कार्यालय र स्थानीय निकायका विकास योजना ठप्प भएका हुन् । मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयद्वारा कार्यान्वयनको चरणमा रहेका पुरानो वहुवर्षीय योजना १२ र चालु वर्ष थपिएका १३ नयाँ योजनाको काम चिसोका कारण प्रभावित बनेको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर जगदीश जोशीले जानकारी दिए । सव-इञ्जिनियर जोशीका अनुसार घरपझोङ-२ मार्फास्थित आलबारी जाने सडकमा कटिङको काम भइरहेको भए पनि कार्यालयद्वारा कार्यान्वयनमा रहेका अधिकांश योजना चिसोका कारण स्थगित गर्नुपरेको उनले बताए । पुराना बहु वर्षीय योजना विभिन्न कारणले अवरुद्ध भएका र कतिपय निर्माणको चरणमा रहँदा चिसोले काम हुन सकेको छैन । नयाँ योजनामध्ये तीन बहुवर्षीय योजनाको प्रक्रियामा रहेको र कतिपय ठेक्का प्रक्रियामा छन् । ठेक्का सम्झौता भई सुरु भएका नयँ योजना पनि हिउँदयाम भएकाले पूर्वाधारको काम अघि बढाउन नसकिएको सवइञ्जिनियर जोशीको भनाइ छ । मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खानेपानी, जलस्रोत तथा सिँचाइ सव-डिभिजन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), एकीकृत सेवा कार्यालयलगायत मुस्ताङका पाँच स्थानीय तह र विभिन्न सङ्घसंस्थाको भौतिक पूर्वाधार निर्माणलगायत काम चिसोले प्रभावित बनेको हो । विकास निर्माण कार्य अन्तर्गत यहाँका प्रत्येक स्थानीय तहमा ५० भन्दाबढी साना ठूला पूर्वाधार योजना कार्यान्वयनमा छन् । तर यी सबै योजना अत्यधिक चिसोका कारण ठप्प बनेका छन् । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्ब गुरुङले बर्सेनि हिउँदयामको मौसममा चिसो र सम्भावित हिमपातको जोखिमले विकास निर्माण काम चाहेर पनि गर्न नसक्ने अवस्था रहेको बताए ।  ‘हिउँदयाममा यहाँका नागरिक पूरै जाडो छल्न बेँसी झर्छन्, यहाँका चिसोमा काम गर्नलाई पनि चिसोले उस्तै समस्या हुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘चिसो घटेपछि वैशाख महिनामा विकास निर्माणको काम अघि बढाउन सकिन्छ, चिसोले यहाँका स्थानीय नागरिक स्वयं प्रभावित हुन्छन् ।’ चिसोका कारण घरपझोङ, थासाङ, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित सबै विकास योजना ठप्प बनेको बताइएको छ । अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङका अधिकांश सरकारी कार्यालयका कर्मचारी पनि जिल्लामा बस्न छाडिसकेका छन् ।  मुस्ताङमा चिसो अत्यधिक बढे पनि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी सम्बन्धित कार्यस्थलमा रहेर शान्तिसुरक्षा प्रदानमा खटिएका छन् । माथिल्लो मुस्ताङ मानविहीन जस्तै अवस्थामा रहे पनि त्यहाँ कार्यरत दुर्गमका कर्मचारी नागरिकको रित्तो घर गाउँ कुरेर बसेका छन् । 

चेम्बरको विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका सार्वजनिक

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका सार्वजनिक गरेको छ ।  चेम्बरको अगुवाइमा नेपाल इमरजेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड (नेपा), इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज, इभेन्ट एण्ड भेन्यू एशोसिएसन नेपाललगायतका संस्थाको सहकार्यमा उक्त पुस्तिका सार्वजनिक गरिएको हो ।   पुस्तिकामा भूकम्प, बाढी, पहिरो, भू–क्षयलगायत प्राकृतिक विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी, प्रतिकार्य योजना, उद्धार व्यवस्थापन तथा अस्थायी आश्रयस्थल निर्माणजस्ता विषय समेटिएको छ ।  पुस्तिक सार्वजनिक समारोहमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले सुरक्षित भविष्य निर्माणका लागि राज्य, निजी क्षेत्र र समुदाय सबैको सामूहिक जिम्मेवारी अपरिहार्य रहेको बताए ।  

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरणसम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका संस्थापक तथा आधारभूत सेयरधनीहरूका लागि सम्पत्ति शुद्धिकरण निवारण (एएमएल) सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम आइतबार लाजिम्पाटस्थित होटल र्याडिसनको हलमा सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, संस्थापक सेयरधनीहरू तथा उच्च व्यवस्थापन तहका पदाधिकारीसहित करिब ६० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरण अन्तर्गत सम्पत्ति शुद्धिकरण शाखाका प्रमुख पदमप्रसाद सोडारी प्रमुख वक्ताका रूपमा सहभागी थिए । उनले संस्थापक सेयरधनी, सञ्चालक समितिका सदस्य तथा कम्पनीका उच्च व्यवस्थापनलाई सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन, नियम, नीति तथा निर्देशनबारे विस्तृत जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागी केही संस्थापक सेयरधनीहरूले आ–आफ्ना धारणा तथा जिज्ञासा प्रस्तुत गरेका थिए ।

वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १०औँ केन्द्रीय परिषद् तथा ११औँ केन्द्रीय महाधिवेशनले सुदन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । चितवनको सौराहामा हालै सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गङ्गाधर भट्टराई, उपाध्यक्षहरूमा खुलातर्फ रजनिस फुलारा, महिलातर्फ लसता श्रेष्ठ र मधेसीतर्फ अमित भगतलाई चयन गरेको हो ।     महासचिवमा सञ्जिवकुमार भडेल, उपमहासचिवहरूमा खुलातर्फ अरमेन्द्रकुमार यादव, महिलातर्फ रश्मी श्रेष्ठ र आदिवासी जनजातितर्फ सुरेश अवाल निर्वाचित भएका छन् । सचिवमा अतिन्द्र राउत, गोविन्दप्रसाद बस्तोला र विश्वबन्धु भण्डारी निर्वाचित भएको अध्यक्ष केसीले जानकारी दिए । कोषाध्यक्षमा प्रतिज्ञा भट्ट र सहकोषाध्यक्षमा राहुल कर्ण चयन भएका छन् ।      केन्द्रीय सदस्यतर्फ खुलाबाट प्रेम तिमिल्सिना, मुकेश तिवारी, राजु भट्टराई, सरोज न्यौपाने, सुजन पौडेल, सुरेशकुमार खत्री र शैलेस रिजाल चयन भएका छन् । भौगोलिक प्रतिनिधित्वअनुसार कोशी प्रदेशबाट मनोज चापागाईं, मधेस प्रदेशबाट बित्टु गुप्ता, बागमती प्रदेशबाट अनिलराज पाण्डे, गण्डकी प्रदेशबाट कृष्णप्रसाद सुवेदी, लुम्बिनी प्रदेशबाट प्रीतम राना, कर्णाली प्रदेशबाट रमेश खड्का र सुदूरपश्चिम प्रदेशबाट चन्द्रबहादुर बोगटी चयन भएका छन् ।      महिला आरक्षणतर्फ रमा पौडेल, कविता ज्ञवाली, जानकी कुमारी न्यौपाने र निलम शर्मा चयन हुनुभएको छ भने मधेसी आरक्षणतर्फ अजय प्रताप यादव र भवनाथ यादव चयन भएका छन् । आदिवासी जनजातितर्फ सुजन जोशी, अपाङ्गतर्फ विदुर दाहाल, दलिततर्फ नवल किशोर राम तथा पदेन सदस्य (युवा समिति अध्यक्ष) का रूपमा अङ्कित रावल चयन भएका छन् । संघमा एक हजार ३०० भन्दा बढी सदस्य आबद्ध छन् ।   

४० करोड भुक्तानी नपाउँदा शिक्षण अस्पतालले स्वास्थ्य बीमा उपचार सेवा बन्द गर्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । अस्पतालले पाउनुपर्ने दाबी रकम बीमा बोर्डले उपलब्ध नगराएपछि बीमा उपचारका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै आगामी माघ १ गतेदेखि बीमा सेवा बन्द गर्ने जनाएको छ । अस्पतालका अनुसार स्वास्थ्य बीमामार्फत उपचार गराउने बिरामीको संख्या दिनहुँ बढ्दै जाँदा मासिक झन्डै ५ करोड रुपैयाँ हाराहारी खर्च हुने गरेको छ । तर बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुने र बाँकी अस्वीकृत हुँदै आएकाले अस्पतालको बीमा दाबी रकम करिब ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जनाएको छ । अस्पतालले निकालेको विज्ञप्तिमा भनिएको छ, 'अस्पतालमा आउने बिरामीहरूको उपचारका क्रममा बीमा बोर्ड र अस्पतालको दररेट शुल्क फरक रहेको छ। अस्पतालले बारम्बार अस्पतालको दररेटलाई अन्तिम दर मानिदिन विगत दुई वर्षदेखि आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको, साथै आफ्नै आन्तरिक स्रोतबाट दैनिक सम्पूर्ण खर्च व्यहोर्नुपर्दा मासिक दुई करोड रुपैयाँ घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ भएकाले यही २०८२ साल माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण उपचार सेवाहरू बन्द गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।' स्वास्थ्य बीमा बोर्ड र त्रिवि शिक्षण अस्पतालबीच २०७७ सालदेखि स्वास्थ्य बीमा उपचार कार्यक्रम सञ्चालन हुने सम्झौता भएको थियो । यसबीच पनि अस्पतालले पटक–पटक दाबी भुक्तानी नपाएको भन्दै कार्यक्रम रोक्दै आएको थियो ।  

९५ लाख ८५ हजारमा सडक ढलान, सौन्दर्यकरणका लागि १ करोड रुपैयाँ बजेट

दिक्तेल बजारको सडक ढलान सकियो, अब सौन्दर्यकरणको काम काठमाडौं । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न भएको छ । विक्रम संवत् २०७६ मा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याको अन्त्य भएको छ ।  कुनै समय धुलो र हिलोका कारण हिँड्न समेत नसकिने अवस्थामा रहेको दिक्तेल बजारको सडकले सबैलाई सास्ती दिएको थियो । लामो समयको प्रतीक्षा पश्चात् पूरै सडक ढलान भएपछि दिक्तेल बजारको मुहार नै फेरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए । साँघुरो, हिलाम्मे र धुलाम्मे अवस्थाको दिक्तेल बजारको सडक सङ्घ र प्रदेश सरकारले उपलब्ध गराएको छ चरणको बजेटले पूरै ढलान भएको हो । दिक्तेलस्थित शङ्धरसाख्वा चोकदेखि भानु चोकसम्मको सडक ढलान यही पुस २७ गते (आइतबार) सम्पन्न भएसँगै पूर्णता पाएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत भौतिक पूर्वाधार कार्यालय खोटाङको मूल्य अभिवृद्धि कर तथा पिएससहित ९५ लाख ८५ हजार ७८ रुपैयाँ लागतमा फास्ट एन्ड फास्ट कन्स्ट्रक्सन प्रालिले सडक ढलानको काम गरेको हो । निर्माण कम्पनीले २०८२ साल चैत २२ गतेभित्र सम्पन्न गर्ने गरी २०८२ साल मङ्सिर २२ गते सडक ढलानको सम्झौता गरेको थियो । सम्झौता भएको भोलिपल्टबाट नै ढलानको काम सुरु गरेको निर्माण कम्पनीले सम्झौता मितिभन्दा करिब तीन महिना अगाडि नै सम्पन्न गरेको भौतिक पूर्वाधार कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिए । दिक्तेल बजारको बाँकी सडक खण्ड यसअघि नै ढलान गरेर सञ्चालनमा ल्याइसकिएको थियो । जिल्लाका सबै प्रशासनिक कार्यालय रहेको दिक्तेल बजारको सडक ढलान सुरु भएको लामो समयसम्म पनि बजेट अभावमा पूरा नहुँदा राजनीतिक दलका नेताहरूको चर्को आलोचना हुँदै आएको थियो । धेरै वर्षअगाडि ढलान भएर सञ्चालन हुनुपर्ने दिक्तेल बजारको सडक ढिलै भए पनि सम्पन्न भएपछि जिल्लावासी हर्षित भएका छन् । तत्कालीन अवस्थामा स्थानीयवासीको असहयोगका कारण सडक ढलानका लागि आएको बजेट फिर्ता पठाउनु परेको थियो । दिक्तेल बजारवासी समेत रहेका निर्माण कम्पनीका प्रबन्ध/निर्देशक ध्रुव श्रेष्ठले सम्झौता समयअगाडि नै काम सम्पन्न गरेका छन् । जिल्लाको सदरमुकामसमेत रहेको सडकमा अब कसैले सास्ती भोग्नु नपर्ने भएको छ । कोशी प्रदेश सरकारले यस आर्थिक वर्षका लागि दिक्तेल बजारको सडक ढलानसँगै सौन्दर्यकरणका लागि १ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । प्रदेश सरकारबाट प्राप्त बजेटले ठेक्का प्रक्रियामार्फत राष्ट्रिय विभूति भानुभक्त आचार्यको सालिक पुनः निर्माणसँगै बजार क्षेत्रका विभिन्न ठाउँमा पूर्वाधार विकासका काम सुरु गरिएको छ ।  दिक्तेलमा स्थापित भानुभक्तको सालिक जीर्ण अवस्थामा पुगेकाले संरक्षण आवश्यक देखिएपछि हाल रहेको स्थानभन्दा केही पर सारेर आधुनिक ढङ्गले पुनः निर्माणको काम सुरु गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।  भानुभक्तको सालिक पुनः निर्माणका क्रममा सालिक वरपरका खाली ठाउँमा टाइल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण, चोकको साङ्केतिक चिह्न राख्ने तथा आदिकवि भानुभक्तका कविताका केही हरफ समावेश गरी सौन्दर्यकरण गरिने जनाइएको छ । जीर्ण बनेको भानुभक्तको सालिक पुनः स्थापनाका लागि स्थानीय टोल विकास संस्था तथा स्थानीयवासीसँग प्रत्यक्ष छलफल गरी सहमतिका आधारमा पुनः निर्माणकार्यको काम अघि बढाइएको बताइएको छ । भानुचोकमा भानुभक्तको सालिक पुनः निर्माणका लागि कार्यालयले गत कात्तिक २ गते बोलपत्र आह्वान गरेको थियो । भानुभक्तको सालिकसहित बजार सौन्दर्यकरणका लागि कार्यालयले १ करोड रुपैयाँको ठेक्का आह्वान गरे पनि सुदेवी कन्स्ट्रक्सन प्रालि हलेसी खोटाङले ८१ लाख ९ हजार २२९ रुपैयाँमा सम्झौता गरेर निर्माणको काम सुरु गरेको छ । भानुभक्तको सालिक पुनः निर्माण अन्तर्गतकै योजनाबाट जिल्ला प्रहरी कार्यालय खोटाङको प्रवेशद्वार अगाडिदेखि भानुचोक हुँदै लोकसेवा आयोगको कार्यालय तथा लोकसेवा आयोगको कार्यालयदेखि नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म सडक सुधार तथा निर्माणको काम गरिने जनाइएको छ । पूर्वाधारको काम सम्पन्न भएपछि दिक्तेल बजारको संरचनागत व्यवस्थापन, सौन्दर्यकरण तथा ऐतिहासिक, साहित्यिक र पर्यटकीय महत्व थप उजागर हुने अपेक्षा गरिएको छ । दिक्तेल बजारको सौन्दर्यकरणका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा आएका ललितकला क्याम्पस भोटाहिटी काठमाडौंबाट आएका विद्यार्थीले समेत विभिन्न प्रकारका चित्र निर्माण गरिरहेका छन् ।

सुनको मूल्य तोलामा २८ सयले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला २१० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य आइतबार प्रतितोला दुई सय १० रुपैयाँले बढेर चार हजार ९९० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।   

दुगुनागढी किल्लामा बढ्दै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण

चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन सिमाना नजिक रहेको ऐतिहासिकस्थल दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरूपमा पुनर्निर्माण गरिएको छ ।  करिब २०० रोपनी क्षेत्रमा फैलिएको युद्धकिल्ला दुगुनागढी समुद्री सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा रहेको दुगुनागढीमा इतिहासको अध्ययनसँगै आनन्दको समय बिताउन स्वदेशीदेखि विदेशी पर्यटक दुगुनागढी पुग्ने गरेका छन् । आन्तरिक पर्यटक अमृतमान श्रेष्ठ इतिहास बुझ्दै गाउँले परिवेशमा रम्दै मनोरम वातावरणमा आनन्द लिन पाइने भएकाले पनि सिन्धुपाल्चोकको दुगुनागढी पर्यटकको रोजाइमा पर्न थालेको बताउँछन् । स्थानीय वृद्ध कृष्णबहादुर प्रधानका अनुसार प्रधानमन्त्री भएको नौ वर्षपछि १९१२ सालमा श्री ३ जंगबहादुर राणाको निर्देशनमा नेपाली सेनाले यो गढी निर्माण गरेको थियो, जतिबेला नेपाल भोटबीच खटपट चलिरहेको थियो ।  युद्धका बेला जंगबहादुर राणाले घुँडा टेकेर तिब्बतको सेनामाथि गोली प्रहार गरेको इतिहास छ । उनका अनुसार राष्ट्रकै पुरातात्तिवक सम्पदाभित्र पर्ने दुगुनागढीबाट नेपाल र तिब्बतबीच तीन पटकसम्म भएको युद्धको बेला भोटेकोसी गाउँपालिकाको लिस्तीमाईको दर्शन गरेर नेपाली फौज लडाइँमा गएका थिए ।  भोटसँगको युद्धमा नेपालीले यसै गढीको प्रयोगबाट सफलता हासिल गरेको प्राप्त शिलालेखमा उल्लेख छ । यो ठाउँमा देखिने जंगबहादुरको पाइलाको निशानले अहिले पनि त्यसबेलाको इतिहासलाई जीवित राखेको पर्यटक सरस्वती श्रेष्ठ बताउँछिन् । प्राचीन सभ्यतालाई प्रतिविम्बित गर्ने यो ठाउँको आफ्नै संस्कार, संस्कृति र पहिचान  भएको भोटेकोसी गाउँपालिका– ३ का वडाध्यक्ष निमासोना शेर्पाको भनाइ छ ।  चारैतिर हिमालले घेरिएको दुगुनागढी निकै मनमोहक र रमणीय छ । पुरानो इतिहास जोडिएको यो क्षेत्रलाई पर्यटकीय गन्तव्यसँगै इतिहास झल्काउने गरी काम भइरहेको शेर्पाको भनाइ छ । बढीजसो इतिहासका बारेमा चासो राख्नेहरू यहाँ पुगेपछि पुर्खाले जानेरै किल्ला बनाएका रहेछन् भन्दै मन्त्रमुग्ध हुन्छन् । यो स्थानमा एकपटक पुगेकाहरू पुनः साथीभाइ, परिवार र आफन्त लिएरसमेत जाने गरेका छन् ।  नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग/बाटो तथा कोटको पहिचान, संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न तथा सैनिक इतिहासको जगेर्ना गर्ने नेपाली सेनाले समेत विगत पाँच वर्षदेखि माउन्टेन ट्रेल रेस गर्दै आएको छ । रासस

१२.७० अर्ब डलरमा अफ्रिकाकै ठूलो विमानस्थल इथियोपियामा ​​​​​​​बन्दै, ११ करोडलाई सेवा दिने

काठमाडौं । इथियोपियाले अफ्रिकाको सबैभन्दा ठूलो विमानस्थल बन्ने लक्ष्यसहित शनिबार राजधानी आदिस अबाबाको दक्षिणपूर्वमा पर्ने बिशोफ्टु सहरमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण औपचारिक रूपमा सुरु गरेको छ । निर्माण सम्पन्न भएपछि यो विमानस्थल महादेशकै सबैभन्दा विशाल हवाई यातायात केन्द्र हुने सरकारको दाबी छ । यस महत्त्वाकाङ्क्षी परियोजनाको कुल लागत करिब १२ अर्ब ७० करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यस विमानस्थलले वार्षिक ११ करोड यात्रुलाई सेवा दिन सक्नेछ । परियोजना सम्पन्न गर्न करिब ५ वर्ष लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय ध्वजावाहक इथियोपियन एयरलाइन्सको आंशिक लगानीमा निर्माण हुन लागेको बिशोफ्टु हबले हाल राजधानीमा सञ्चालनमा रहेको बोले अन्तर्राष्ट्रिय विमानस्थललाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ । बोले विमानस्थलले अहिले वार्षिक करिब २ करोड ५० लाख यात्रुलाई मात्र सेवा दिन सक्ने क्षमता राख्छ । प्रधानमन्त्री अबी अहमदले शनिबार यस परियोजनालाई ‘अफ्रिकाको उड्डयन इतिहासकै सबैभन्दा ठूलो पूर्वाधार परियोजना’ का रूपमा उल्लेख गर्दै यसको निर्माण सुरु भएको औपचारिक घोषणा गरे । उनले बहु-विमानस्थल रणनीतिले इथियोपियालाई भविष्यमा पनि अफ्रिकाको अग्रणी हवाई यातायात प्रवेशद्वारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको स्पष्ट पारे । उनका अनुसार यस परियोजनाले इथियोपियन एयरलाइन्सको विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ बनाउनेछ । साथै यसले अफ्रिकी मुलुकहरूबीचको हवाई सम्पर्क विस्तार गर्नुका साथै व्यापार र पर्यटनका मार्गहरूलाई थप मजबुत बनाउनेछ । दीर्घकालीन रूपमा इथियोपियालाई प्रमुख अन्तरमहाद्वीपीय हबको रूपमा उभ्याउने सरकारको विश्वास छ । यस विशाल विमानस्थल परियोजनाअन्तर्गत नयाँ हवाई अड्डालाई राजधानीसँग जोड्ने बहु-लेन मोटरवे निर्माण गरिनेछ भने ३८ किलोमिटर लामो उच्च-गतिको रेलमार्ग पनि समावेश गरिएको छ । प्रधानमन्त्री अहमदले उक्त रेलमार्गले प्रतिघण्टा २०० किलोमिटर (१२४ माइल) को गतिसम्म पुग्न सक्ने जानकारी दिए ।  परियोजनाको वित्तीय पक्षमा अफ्रिकी विकास बैंकले ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराइसकेको छ । साथै इथियोपियाली अधिकारीहरू एसियाली विकास बैंक, युरोपेली लगानी बैंक र अमेरिकी विकास वित्त निगमसँग थप लगानी जुटाउने विषयमा छलफलमा रहेको बताइएको छ । अम्हारा र ओरोमिया क्षेत्रहरूमा जारी सशस्त्र द्वन्द्वका बाबजुद पनि इथियोपियाले यस परियोजनामार्फत विदेशी पर्यटन आकर्षित गर्ने अपेक्षा राखेको छ । बिशोफ्टु क्षेत्रमा निर्माण हुन लागेको भविष्यको विमानस्थल ३५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिनेछ । इथियोपियन एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत मेसफिन तासेव बेकेलेले गत नोभेम्बरमा बताउनुभए अनुसार यस परियोजनाका कारण करिब २ हजार ५०० किसान विस्थापित भएका छन्, जसलाई सरकारले गत वर्ष करिब ३५ करोड अमेरिकी डलर खर्च गरेर पुनःस्थापना गरेको थियो । करिब १३ करोड जनसङ्ख्या भएको इथियोपिया अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । पछिल्ला वर्षहरूमा यस मुलुकले ठूला-ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइरहेको छ । गत वर्ष इथियोपियाले महादेशकै सबैभन्दा ठूलो बाँधको औपचारिक उद्घाटन गरेको थियो भने आदिस अबाबा लगायत अन्य प्रमुख सहरहरूमा व्यापक सहरी नवीकरण परियोजनाहरू पनि तीव्र गतिमा अघि बढिरहेका छन् ।

जेनजी आन्दोलनमा क्षति भएका सवारीको कर र नवीकरण दस्तुर छुट

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सवारीसाधनको कर र नवीकरण दस्तुर मिनाहा गरिने बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको उद्घाटन गर्दै उनले आफ्नो प्रदेश अन्तर्गत पूर्ण रूपमा नष्ट भएका सवारीको चालु आर्थिक वर्ष २०८२/८३ को कर तथा नवीकरण दस्तुर छुटसहित निःशुल्क दर्ता खारेजी गरिने जानकारी दिए ।  उनले आंशिक क्षति भएका सवारीसाधन प्रयोग नहुन्जेलसम्म कर छुट दिने प्रक्रिया अघि बढाइएको बताए । सेवा लिन नसकेर जरिवानामा परेका सेवाग्राहीका लागि जरिवाना मिनाहा गर्ने प्रक्रियासमेत सुरु गरिएको बताउँदै मुख्यमन्त्री बानियाले बागमती प्रदेशका यातायात कार्यालयमा सेवा विस्तार र डिजिटाइजेसनको केही काम भइरहेकाले आफ्ना सेवा प्रवाहलाई थप डिजिटल, पारदर्शी र सहज बनाइने उल्लेख गरे ।  अनलाइन र डिजिटल प्रविधिमार्फत घरैबाट सेवा लिने वातावरण बनाइने उनले प्रतिबद्धता व्यक्त गरे । उनले नागरिकले सेवा लिनका लागि लाइन बस्नुपर्ने अवस्था अन्त्य गरिने बताए । उनले यातायात व्यवसायीलाई थप व्यवस्थित बनाउन तथा सवारी दुर्घटनामा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सवारीसाधन नवीकरण गर्दा बिमाको प्रिमियमसमेत असुल गरिने व्यवस्था गर्न लागिएको जानकारी दिए । यातायात कार्यालयमा बिचौलियालाई निषेध गरी सेवा पारदर्शी बनाउने अभियान स्वरूप ‘बिचौलिया निषेध क्षेत्र’ घोषणा गर्ने तयारी भइरहेको जनाउँदै मुख्यमन्त्री बानियाले अनलाइन भुक्तानी प्रणालीमा सेवाग्राहीलाई जोडेर घरमै बसेर सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाइने बताए । मालसामान ढुवानी, ओसारपसारमा ट्रक व्यवसायीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले स्वदेशी व्यवसायीले भारतीय सवारीसाधनसँग प्रतिस्पर्धा गर्न कठिन रहेकाले संरक्षणका लागि तीन तहका सरकारसँग समन्वय गरी आवश्यक योजना निर्माण गरिने धारणा राखे । 

आयल निगमको खुद नाफा १३ अर्ब ६४ करोड, आईपीओ जारी गर्ने

काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्षमा १३ अर्ब ६४  करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । शनिबार निगमको ५६औं वार्षिकोत्सव समारोहमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार निगमले १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जनाएको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगमको वित्तीय अवस्था सुदृढ बन्दै गएको जानकारी दिए । उनका अनुसार सो अवधिमा निगमले कुल ३ खर्ब ६७ अर्ब रुपैयाँको व्यावसायिक कारोबार गरेको थियो भने राज्यलाई १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व योगदान पुर्‍याएको छ । निगमको यो सफलताको मुख्य श्रेय विसं २०७१ देखि लागू गरिएको स्वचालित मूल्य प्रणाली लाई दिइएको छ । डा. भट्टले यस प्रणालीलाई निगमको इतिहासकै कोशेढुङ्गा संज्ञा दिँदै यसैका कारण संस्था आर्थिक रूपमा मजबुत बनेको बताए । यस्तै, पूर्वाधार विकासमा भएको प्रगतिले पनि निगमलाई थप बलियो बनाएको छ । मोतिहारी-अमलेखगञ्ज ७२ किलोमिटर पेट्रोलियम पाइपलाइन र अमलेखगञ्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारण गृह सञ्चालनमा आएपछि ढुवानी खर्चमा बचत भएको छ । यसबाट उपभोक्ताले प्रतिलिटर २ रुपैयाँ सस्तोमा इन्धन पाउन सम्भव भएको निगमको दाबी छ । निगमले वार्षिक रूपमा पेट्रोल ६३ हजार किलोलिटर, डिजेल २ लाख २२ हजार किलोलिटर, हवाई इन्धन १८ हजार किलोलिटर र ४६ हजार टन एलपी ग्यास आपूर्ति गर्दै आएको छ ।  निगमले अमलेखगञ्ज, भैरहवा र थानकोट डिपोहरूमा फ्लो मिटरु जडान गरी तेल चोरी र चुहावट नियन्त्रणमा कडाइ गरेको छ । ईआरपी प्रणालीमार्फत व्यवसायीले मोबाइलबाटै तेल अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ, जसले मानवीय हस्तक्षेप कम गरी पारदर्शिता बढाएको कार्यकारी निर्देशक भट्टले बताए । निगमले अब परम्परागत इन्धनको व्यापारबाट माथि उठेर क्लिन इनर्जीतर्फ मोडिने लक्ष्य राखेको छ । यसै वर्षदेखि पेट्रोलमा इथानोल मिसाउने सरकारको नीति कार्यान्वयन गरिनेछ ।   यस्तै, काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा हरित हाइड्रोजनको व्यावसायीकरण गरी सन् २०४५ सम्म नेट जिरो कार्बन उत्सर्जनको लक्ष्यमा सघाउने योजना रहेको जनाएको छ ।  निगमलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरी सर्वसाधारणका लागि सेयर जारी गर्ने विषयमा अध्ययन भइरहेको छ । यस्तै, ४ सय ५० किलोको ठूलो ग्यास सिलिन्डर प्रचलनमा ल्याउने तयारी पनि निगमले गरेको जनाएको छ ।  करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारीका भरमा देशभर दैनिक ७५ लाख लिटर पेट्रोलियम र १ हजार ५ सय टन ग्यास वितरण गर्नु चुनौतीपूर्ण रहेको डा. भट्टले उल्लेख गरे ।  दुर्गमका ३७ स्थानमा नयाँ पेट्रोल पम्प खोल्ने र कर्णालीमा नयाँ डिपो निर्माण गर्ने प्रक्रिया समेत अघि बढाइएको छ । साथै, सुरक्षा जोखिममा रहेका सिनामङ्गल, भैरहवा र धनगढीका डिपोहरूलाई उपयुक्त स्थानमा स्थानान्तरण गरिने भएको छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सचिवहरू डा. रामप्रसाद घिमिरे र मधुसुदन बुर्लाकोटी, तथा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी लगायतको उपस्थिति थियो ।  वक्ताहरूले निगमले पछिल्लो समय प्रविधि र आर्थिक सुशासनमा हासिल गरेको उपलब्धिलाई प्रशंसा गर्दै आगामी दिनमा अझै पारदर्शी बन्न सुझाव दिएका छन् ।

नौ करोड ५० लाखमा ५४ घरलाई मौलिकस्वरूपमा रूपान्तरण गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले नरःदे (हाँडीगाउँ) को प्राचीनता फर्काउन नौ करोड ५० लाख रुपैयाँमा ५४ वटा घरको अग्रमोहडाको मौलिक स्वरूपमा रूपान्तरण गर्न थालेको छ । हाँडीगाउँको प्राचीनता नरःदे हो, यसको पुनःरुत्थानका लागि गुरुयोजनाबाटै काम गरिरहेको कामपाको भनाइ छ । आधुनिक भवन निर्माण प्रक्रिया र जीवनशैलीले रूपान्तरण भएको हाँडीगाउँको प्राचीनता फर्काउन कामपा केन्द्र र वडा कार्यालयबाट क्षेत्रगत र चरणगत काम भइरहेका छन् वडा पाँचका वडाध्यक्ष वीरेन्द्र प्रजापतिले जानकारी दिए । अध्यक्ष प्रजापतिका अनुसार यस क्रममा कृष्णमन्दिरदेखि डबली हुँदै भवँर कुःसम्मको करिब ३०९ मिटर सडक दायाँबायाँका भवनहरूको अग्रमोहोडालाई मौलिकस्वरूपमा रूपान्तरणको काम सुरु हुन लागेको छ । यस क्रममा पाटी, फल्चा, मन्दिर, सामुदायिक भवन तथा सडक तथा पेटीको पुनःरुत्थान गरिनेछ । मौलिक शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानोजस्ता भाग महत्वपूर्ण मानिन्छन् । घरको गारोमा प्रयोग गरिएका इँटा बाहिरबाट देखिने खालका हुन्छन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुट्टेदार परम्परागत झ्यालहरू हुन्छन् । छिँडी, मातः, च्वतं र बुईंग गरी चार तला तथा छानासहितको घर मौलिक घरको ‘डिजाइन’ हो । किराँतकालीन टुँडालदेवीको जात्रा र लिच्छवीकालीन नारायण जात्रासहित वर्षौंदेखि सञ्चालन हुने गरेका जात्रा, पर्व, धार्मिक, सामाजिक तथा सांस्कृतिक परम्परामा यो मार्गको अनिवार्य प्रयोग हुने गरेको छ । यस क्षेत्रमा कृष्ण मन्दिर, नारायण मन्दिर, दुई वटा बुद्ध चैत्य, जरु (परम्परागत इनार), महादेव मन्दिर, अक्षय तृतीयाका दिन सर्वत पानी वितरण गर्ने, दाफा भजन गाउनेसहित विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलाप सञ्चालन हुने सत्तलहरू छन् । ‘यो क्षेत्र उपत्यकामा पूर्वलिच्छवि, वर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थान हो’, वडाध्यक्ष वीरेन्द्र प्रजापतिले भने, ‘हाँडीगाउँको प्राचीनता फिर्ता गराउन कृष्णमन्दिरबाट ढोकावहाल, भुँवर कु, कोटाल टोल, गहनापोखरी, न्हाल्मा टोल हुँदै ढल्कोभित्रको भाग पुरानो सहर हो ।’ गहना खोज्ने पोखरी, कुमार कार्तिकेय र भीमसेनको मन्दिर, कृष्ण मन्दिर, टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल) द्योछें (दथुटोलमा) यहाँका प्राचीन पहिचान हुन् । मनमानेश्वरी, सत्यनारायण मन्दिर, भारवीको धारा, अंशुवर्माको वडापत्र डबली, न्याल्मलोंह र चौखटको चोक्ट्या नारायणको चोक कैलाशकुट भवनको चमत्कारी तलाउ, भाटभटेनी (मौता द्यः), चारनारायण मन्दिर यसै क्षेत्रमा पर्छन् ।

१० करोड बढीमा बिक्री भए स्याङ्जाका सुन्तला, एक जना किसानका हातमा पर्यो ३५ लाखसम्म

वालिङ । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै दश करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा दश करोड रुपैयाँभन्दा बढी भित्रिएको हो । वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्यांकका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट रु दश करोडभन्दा बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष तारा अर्यालले जानकारी दिए ।  वडाका जिमिरे, लोलुंगा, बलमाटा, तिलाहार, पाङसाङ, पासिन्डाँडा, कोलडाँडा, धोवादीलगायत टोलका स्थानीय सुन्तला व्यावसायी कृषकहरूले न्यूनतम एक लाखदेखि अधिकतम ३५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका उनले बताए ।  सुन्तला उत्पादक कृषकले ठेक्का तथा प्रतिकेजी किलोको ७० रुपैयाँका दरले बोटबाटै बिक्री गरेका हुन् । 'सुन्तला उत्पादक कृषकहरूले बिक्री गरेको परिमाण, मूल्यका आधारमा जानकारी लिँदा सुन्तला बिक्रीबाट दश करोडभन्दा बढी आम्दानी भएको पाइयो', उनले भने, 'वडामा सुन्तलाको बगैँचा विस्तार गर्ने क्रम जारी रहेकाले आगामी वर्षहरूमा उत्पादन वृद्धि हुँदै जाँदा आम्दानी पनि स्वतः वृद्धि हुनेछ ।' सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि कोदो, मकै हुने बारीहरूमा सुन्तला बगैँचा विस्तार गर्ने क्रम बढ्दै गएको छ । सुन्तलाको पकेट क्षेत्रको रूपमा रहेको भीरकोट–७ मा तीन वर्षअघि बगैँचा विस्तार गरिएको थियो ।  आम्दानीसित जोड्नका लागि थप ५०० रोपनी क्षेत्रफलमा १५ हजार ५०० बिरुवा रोपिएको थियो । यहाँका कृषकहरूलाई सुन्तलाखेतीप्रति थप आकर्षित गर्नका लागि सुन्तला बगैँचा व्यवस्थापन शिविर, उपकरण हस्तान्तरण, रोग कीरा नियन्त्रणसम्बन्धी सहजीकरण तथा परामर्श दिइएको उनले बताए ।  'यहाँ उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढसहित स्थानीय बजारमा खपत हुने गरेको छ', उनले भने, 'ज्याला, ढुवानीसहित हाल प्रतिकेजी रु ७० का दरले बोटबाटै व्यापारीले लैजाने भएकाले बजारको कुनै समस्या छैन ।' भीरकोट–७ जिमिरेका सुन्तला कृषक देवीलाल अर्यालले यस वर्ष १५ लाखभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । उनले अहिले प्रतिकेजी रु ७० का दरले सुन्तला बगैँचाबाटै बिक्री गरिरहेका छन् । सोही वडाको लोलुंगाका ७१ वर्षीय लालप्रसाद कोइरालाले पनि यस वर्ष १५ लाखभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । यहाँका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट धेरैजसो सुन्तला बिक्री भइसकेको छ भने केही बिक्री हुनेक्रममा छन् । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोड मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कूल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष  २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । रासस

कागजात दुरूपयोग गरि इसेवा मार्फत करोडौँ रकम कारोबार गर्ने कीर्तिपुरका उप्रेती पक्राउ

काठमाडौं । प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं कीर्तिपुर नगरपालिका–७ का १९ वर्षीय क्रमिक उप्रेती पक्राउ पर्नेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, 'अनाधिकृत व्यक्तिले वाइड–स्पेस इन्टरनेशनल प्राइभेट लिमिटेडका नाममा आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान)लगायतका कागजातहरूको दुरूपयोग गरी ई सेवा ‘मर्चेन्ट वालेट’ र ई सेवा ‘वालेट’ खोली गैरकानुनी रूपमा आर्थिक कारोबार गरेको भन्ने बेहोराको उजुरीका आधारमा पक्राउ गरिएको हो ।' यसैगरी उक्त उजुरीउपर प्रारम्भिक अनुसन्धान गर्दा ई सेवा मर्चेन्ट आइडी २२२२०२००१८२१७५२७ बाट रु ५६ लाख ३३ हजार ६०३ दशमलव ७६ र ई सेवा वालेटबाट रु ५६ लाख ३१ हजार ६०३ दशमलव ७६ बराबरको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ। उनले सट्टेबाजीलगायतका प्रयोजनका लागि रु एक करोड १२ लाखभन्दा बढीको अवैध कारोबार गरेको प्रहरीको भनाइ छ। प्रहरीले निजको साथबाट ल्यापटप एक थान, विभिन्न मोडेलका मोबाइल दुई थान, एनसेल सिमकार्ड १६ थान, नमस्ते सिमकार्ड तीन थान, स्मार्ट सिमकार्ड एक थान, पेन ड्राइभ एक थान तथा मेमोरी कार्ड एक थानसमेत गरिएको जनाएको छ। पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको प्रवक्ता आचार्यले बताए ।