करिब दुई दर्जनभन्दा बढी इन्टरनेट कम्पनी प्रतिस्पर्धामा
काठमाडौं । नेपाली बजारमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको बाढी नै देखिएको छ । हाल करिब दुई दर्जनभन्दा बढी इन्टरनेट कम्पनीहरू बजारमा प्रतिस्पर्धामा छन् । ती कम्पनीहरू सेवा गुणस्तर सुधारभन्दा पनि ग्राहक संख्या बढाउन प्रतिस्पर्धामा उत्रिएका देखिन्छन् । वर्ल्डलिंक, डिसहोम, नेपाल टेलिकमसहित करिब दुई दर्जन कम्पनीको बजारमा हालिमुहाली रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार इन्टरनेट सेवा प्रदायकमध्ये सबैभन्दा बढी बजार हिस्सा वर्ल्डलिंकको रहेको छ । प्राधिकरणका अनुसार मंसिरसम्मको तथ्यांकमा बजार हिस्साका आधारमा वर्ल्डलिंकका सबैभन्दा धेरै ग्राहक छन् । वर्ल्डलिंकका ग्राहक संख्या १० लाख ५५ हजार पुगेको छ । इन्टरनेट कम्पनीहरूमध्ये वर्ल्डलिंकपछि दोस्रो ठूलो बजार हिस्सा डिसहोमको रहेको छ, जसका ग्राहक ३ लाख ८२ हजार पुगेका छन् । बजार हिस्साको हिसाबले तेस्रो स्थानमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) रहेको छ । टेलिकमका ग्राहक ३ लाख ७४ हजार पुगेका छन् । चौथो स्थानमा भायनेट रहेको छ । बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक संख्या ३ लाख ४० हजार पुगेको छ । त्यसैगरी, पाँचौँ स्थानमा क्लासिक टेक रहेको छ । क्लासिक टेकले मंसिर मसान्तसम्म २ लाख ६८ हजार ग्राहक संख्या पुर्याएको छ । छैटौँ स्थानमा सुबिसु इन्टरनेट रहेको छ, जसका ग्राहक २ लाख ५५ हजार पुगेका छन् । सातौँ स्थानमा वेभसर्फर रहेको छ । वेभसर्फरका ग्राहक १ लाख ७६ हजार छन् । यस्तै, बजार हिस्साका आधारमा आठौँ स्थानमा टेकमाइन्स रहेको छ, जसका ग्राहक १ लाख २३ हजार छन् । नवौँ स्थानमा वाइफाइ नेपाल र दशौँ स्थानमा सिजी कम्युनिकेसन रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । इन्टरनेट कम्पनीहरू यसरी ग्राहक तानातानमा लागिरहे पनि उपभोक्ता भने इन्टरनेट सेवाप्रति सन्तुष्ट देखिँदैनन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवा प्रवाहमा देखिने समस्या समयमै समाधान नगरेको गुनासो उपभोक्ताबाट निरन्तर आइरहेको छ ।
महानगरले खुला मञ्चमा २ करोड ७० लाखमा ‘वरमुढा ग्रास’ रोप्दै
काठमाडौं । सर्वसाधारणको पहुँचलाई लक्षित गर्दै सैनिक मञ्चबाट दक्षिणतर्फको भागमा काठमाडौं महानगरपालिकाले वरमुढा ग्रास रोप्ने भएको छ । अहिले यो ठाउँ युवा र बालबालिकाहरूका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरूका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ । सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना कार्यान्वयन गर्न लागिएको हो । ६१ हजार २६३ वर्गमिटर यो चउरमा काम गर्न महानगरपलिकाले २ करोड ७० लाख रुपैयाँ खर्च गर्ने भएको छ । । बोलपत्रमार्फत छनोट भएको निर्माण पक्षलाई २०८३ मंसिर मसान्तसम्मको समय दिइएको छ । सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर ३ इञ्च मलिलो माटो राखिनेछ । यसमाथि घाँस रोपिनेछ । चउरमा ६ मिटर गहिराई र १ दशमलव २ मिटर व्यासका ८ वटा आकाशे पानी संकलन पिट हुनेछन् । महानगरले खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने अपेक्षा गरेको छ ।
रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व संकलन
रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व संकलन गरेको छ । हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको छ । ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सो जानकारी दिए। कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सोमबार भन्सार दिवस मनाएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुङ्गा, बालुवा हटाउने कार्य नेपाल इन्टर मोडल यातायात विकास समितिमार्फत भइरहेको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिए। उनका अनुसार हालसम्मको सरसफाइबाट करिब दुई सय ५० वटा ट्रक अट्ने वातावरण बनेको छ भने केही भागमा अझै सफाइ बाँकी छ । सो अवसरमा उत्कृष्ट कार्य गर्ने दुई व्यवसायी र चार जना कर्मचारीलाई सम्मान गरिएको थियो । व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा रु तीन अर्ब २१ करोड राजस्व बुझाउने सिजी मोटर सप्लायर्स तथा रु ७४ करोड बराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स काठमाडौँलाई सम्मान गरिएको हो । कर्मचारीतर्फ नायबसुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेशदत्त जोशीलाई सम्मान गरिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामीछिरिङ तामाङ, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, समाजसेवी मीना थापामगर, भन्सार एजेन्ट संघका अध्यक्ष सुरेन्द्रप्रसाद सुवेदी, नेपाल सीमापार व्यापार संघका सहकोषाध्यक्ष सुमन श्रेष्ठ, सिन्धुपाल्चोक वाणिज्य संघका उपाध्यक्ष इन्द्र राउतलगायतले आ–आफ्ना धारणा राखेका थिए । सो अवसरमा रसुवागढी नाकालाई नीति–नियमअनुसार सञ्चालन गर्दै उत्तरी नाकाको गरिमा अझ उच्च बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा वक्ताहरूले जोड दिए । साथै सडक सुधार कार्ययोजना सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीन सरकारको सहयोगमा सुधार हुन लागेको सडकको पहिलो चरणमा असहज मोडहरू सिधा बनाउन सवारी चालकहरूले माग गरेका छन् । यसैबीच, हिउँदको सुक्खा होस् वा वर्षायामको हिलो पहिरो पन्छाई रसुवागढीखण्डमा सडक सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको जनाउँदै रसुवागढी जलविद्युत् केन्द्रलाई पनि कार्यक्रममा प्रशंसा गरिएको भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतमले जानकारी दिए । रासस
मुस्ताङ भन्सारबाट साढे ५ अर्ब राजस्व संकलन, बिवाईडीले भित्र्यायो ४ अर्ब २३ करोडका ईभी
अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा व्यवसायी र कर्मचारी सम्मानित काठमाडौं । मुस्ताङ भन्सार कार्यालयले व्यवसायी र कर्मचारीलाई सम्मान प्रदान गरेको छ । नेपाल-चीन उत्तरी कोरला नाका स्थित लोमान्थाङ-२ छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालयले ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा व्यवसायी र कर्मचारीलाई सम्मान प्रदान गरेको हो । जोमसोममा एक कार्यक्रम गरी कार्यालयका कम्प्युटर अपरेटर ओमप्रकाश महतोलाई सम्मान गरिएको छ । कठिन भूगोलमा रहेर लगनशील र कर्तव्यनिष्ठ भएर सेवाग्राही मैत्री कार्यसम्पादन गरेको भन्दै उनलाई भन्सार विभागले सम्मान अर्पण गरेको हो । कार्यक्रममा पुस मसान्तसम्म मुस्ताङ भन्सारबाट धेरै मूल्यको मालवस्तु निकासी गर्ने अष्ठ मङ्गल प्राइभेट कम्पनी र पैठारी गर्ने मेनल्यान्ड सिपिङ एण्ड लजिस्टिक कम्पनीलाई सम्मान गरिएको छ । साथै मुस्ताङ भन्सारबाट गत भदौ ३१ गतेदेखि हालसम्म बिवाईडी ब्राण्डका सवारी साधन बिक्री गर्ने साइमेक्स इन्क प्रालिले ४ अर्ब २३ करोड ४२ लाख रुपैयाँको मालवस्तु पैठारी गरेको र निकासीतर्फ अष्टा मङ्गल कम्पनीले ६ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार गरेको कार्यालयले जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भन्सार कार्यालयलाई थप गतिशील र सेवा मैत्री तुल्याउन आवश्यक रहेको बताए । भन्सार सेवालाई थप प्रभावकारी, जिम्मेवार र उत्तरदायी बनाउँदै थप सुधार गर्नुपर्ने र त्यसका लागि प्रविधिमा जोड दिनुपर्ने उनको भनाइ छ । माथिल्लो मुस्ताङस्थित न्हेचुङमा २०१३ सालमा भन्सार कार्यालय स्थापना भएको बताए । कार्यालयका निमित्त भन्सार प्रमुख रमेश खड्काले पछिल्लो समय सडक स्तरोन्नितिसँगै नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याइएपछि राजस्व वृद्धिका साथै व्यवसायीलाई समेत निकै सहज भएको बताए । कार्यक्रममा व्यवसायी प्रभु अधिकारी, मुस्ताङ उद्योग वाणिज्य सङ्घका सचिव तिलक विक लगायतले नाका पूर्ण सञ्चालनमा आए पनि व्यवस्थापनमा अझै सुधार गर्दै जानुपर्ने आवश्यकता औंल्याए । गत भदौ ३१ गतेबाट पूर्ण रूपमा सञ्चालनमा आएको यस नाकाबाट हालसम्म ५ अर्ब ५४ करोड ३ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको निमित्त प्रमुख खड्काले जानकारी दिए ।
रसुवा भन्सारले उठायो १.१६ अर्ब राजस्व, बढी कर तिर्ने सिजी मोटर र सोनामलाई सम्मान
काठमाडौं । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १ अर्ब १६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । साथै चीनबाट सामान बोकी आएका करिब २०० वटा माल वाहक कन्टेनरका सामग्रीको परीक्षण कार्य भइरहेको कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुङ्गा, बालुवा हटाउने कार्य नेपाल इन्टरमोडल यातायात विकास समितिमार्फत भइरहेको उनको भनाइ छ । उनका अनुसार हालसम्मको सरसफाइबाट करिब २५० वटा ट्रक अट्ने वातावरण बनेको छ भने केही भागमा अझै सफाइ कार्य बाँकी छ । ७४औँ भन्सार दिवसका अवसरमा उत्कृष्ट कार्य गर्ने २ जना व्यवसायी र ४ जना कर्मचारीलाई कार्यालयले सम्मान गरेको छ । व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा राज्यलाई ३ अर्ब २१ करोड रुपैयाँ राजस्व बुझाउने सिजी मोटर सप्लायर्स तथा ७४ करोड रुपैयाँ बराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स, काठमाडौंलाई सम्मान गरिएको हो । कर्मचारीतर्फ नायब सुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेश दत्त जोशीलाई सम्मानपत्र प्रदान गरिएको छ । रसुवागढी नाकालाई नीतिनियमअनुसार सञ्चालन गर्दै उत्तरी नाकाको गरिमा अझ उच्च बनाउन सबैपक्ष जिम्मेवार बन्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए । साथै सडक सुधार कार्ययोजना सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीन सरकारको सहयोगमा सुधार हुन लागेको सडकको पहिलो चरणमा असहज मोडहरू सिधा बनाउन सवारी चालकले माग गरेका छन् ।
बागलुङको गौरवको आयोजना ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माणमा साढे २ करोड खर्च
काठमाडौं । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म २ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक संरचना तयार हुने गरी तीव्र गतिमा निर्माण भइरहेको हो । यसअघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा ७० लाख रुपैयाँ खर्च गरिसकेको छ । आँखै अघि देखिने दुई दर्जन हिमशृङखला र बागलुङ बजारको दृश्यले बागलुङको डोयलाई पर्यटकीय केन्द्र बनाउनका लागि नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको थियो । ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको हो । २५ करोड रुपैयाँको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख गरिएको छ । गत वर्ष पहिलो चरण अन्तर्गत ७० लाख रुपैयाँको र चालु आवमा दोस्रो चरण अन्तर्गत २ करोड ५० लाख रुपैयाँको काम भइरहेको बागलुङ-९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए । उनका अनुसार अहिले ब्लु हिलमा निर्माण गर्ने २० फिट शिवको मूर्ति राख्नका लागि आवश्यक दुई तला पक्की भवन बनाउने काम भइरहेको छ । डोयको निलो पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न नगरपालिकाले बजेट विनियोजन गरी लगानी गरिरहेको छ । यस वर्ष २ करोड ५० लाख रुपैयाँको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न निर्माण कम्पनी क्वालिसट रिन्युयबल इनर्जीले तीव्रताका साथ काम गरिरहेको छ । प्राकृतिक क्षेत्रमा धार्मिक पूर्वाधार बनाएर पर्यटक भित्र्याउने उद्देश्य राखिएको बागलुङ नगरपालिकाले जनाएको छ । पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गत वर्षदेखि नगरकै गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर काम अघि बढाएको थियो । मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेपछि नगरपालिकाले लगानी गरिरहेको बागलुङ-९ का वडाध्यक्ष थापाले जानकारी दिए । ‘नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृति प्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठूलो पूर्वाधार बने पनि स-साना पूर्वाधार पछि बन्छन्,’ उनले भने, ‘पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।’ ब्लु हिल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २४ करोड ५६ लाख २२ हजार रुपैयाँको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको थियो । यस क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकन स्थल, जिमहल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गर्ने डीपीआरमा उल्लेख छ । दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पुर्याउन नगरपालिकाको ठूलो लगानी भइरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले बताए । नगरपालिकाको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आन्तरिक बजेटबाट ठूलो लगानी गरिरहेको बताउँदै ब्लु हिलमा थामि नसक्नु धार्मिक पर्यटक भित्रिने उनले विश्वास व्यक्त गरे । ‘नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय प्राकृतिक रूपमा सुन्दर र हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ । प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने गरी पक्की संरचना निर्माणले गति लिएको छ । अहिले एकसाथ १६ वटा खम्बा खडा गरिएको छ,’ नगर प्रमुख श्रेष्ठले भने, ‘ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी नामकरण गरेका छौँ । मौसम खुलेको समयमा यहाँ आउने जो-कोहीले हरियाली पहाडबाट धौलागिरि, माछापुच्छ्रे, निलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमालसँगै बागलुङ बजार देख्न सकिन्छ ।’ समुद्री सतहबाट करिब २ हजार २०० मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेपछि ब्लु हिलले चर्चा पाउन थालेको छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार योजनाले पूर्णता पाउन भने समय लाग्नेछ ।
कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षा हुने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा तराई भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना छ ।
बजाजको ‘ग्रान्ड एक्सचेन्ज मेला’ मा आकर्षक छुट, ४५ मिनेटमै फाइनान्स सुविधा
काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गरेको छ । आइतबतार (आज)बाट सुरु भएको यो मेला १७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर ल्याएर नयाँ बजाज मोटरसाइकलसँग साट्न सक्ने बजाज शोरुम टेकुका सुमन प्रसाईंले जानकारी दिए । ‘हामीले विभिन्न भ्यालुएटरहरूको माध्यमबाट पुराना बाइकको बजारकै उत्कृष्ट मूल्यांकन दिइरहेका छौं ताकि ग्राहकले आफ्नो साधनको उचित मूल्य पाउन सकून्,’ उनले भने । एक्सचेन्ज मेलामा नयाँ बाइक खरिद गर्दा ग्राहकले ७ हजार रुपैयाँदेखि ८ हजारसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै हेल्मेट र लेग गार्डजस्ता आवश्यक एक्सेसरीजहरू पनि निःशुल्क प्रदान गरिनेछ । मेलामा सहज फाइनान्सको पनि व्यवस्था गरिएको छ । ग्राहकले न्यूनतम ४० प्रतिशत डाउन पेमेन्ट गरेर नयाँ बाइक खरिद गर्न सक्नेछन् । ४० प्रतिशत डाउन पेमेन्टमा १२.९९ प्रतिशत, ५० प्रतिशतमा ११.९९ प्रतिशत र ६० प्रतिशत डाउन पेमेन्टमा ९.९९ प्रतिशतको आकर्षक ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध छ । कम्पनीका अनुसार आवश्यक कागजात पूरा भएको अवस्थामा केवल ४५ मिनेटभित्रै फाइनान्स प्रक्रिया सम्पन्न हुनेछ । नयाँ पल्सर २२० एफ मुख्य आकर्षण मेलाको मुख्य आकर्षणको रूपमा नयाँ पल्सर २२० एफ रहेको छ । नयाँ अपडेटसहित सार्वजनिक भएको यो मोडलमा फ्युल इन्जेक्सन, बीएस ६ इन्जिन, र ब्लुटुथ कनेक्टिभिटीसहितको स्मार्ट मिटर जस्ता अत्याधुनिक फिचरहरू छन् । यो विभिन्न नयाँ र आकर्षक रङहरूमा उपलब्ध छ । यसबाहेक मेलामा प्लाटिनादेखि डोमिनार ४०० सम्मका सबै मोडल, एन-सिरिजका नयाँ बाइकहरू र चेतक इलेक्ट्रिक स्कुटर पनि उपलब्ध छन् । मेला सुरु भएसँगै ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको छ ।
प्राधिकरणको नेतृत्व फेरी फेरिए, पहिलो पटक महिला अध्यक्ष
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो जिम्मेवारी दिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत छिन् । प्राधिकरणको अध्यक्ष बनेपछि अब उनले मन्त्रालयको काम छोड्छिन् वा दुवै निकायलाई सँगै अगाडि बढाउँछिन् भन्ने हेर्न बाँकी छ । पौडेल प्राधिकरणको अध्यक्ष बन्ने पहिलो महिला हुन् । यसअघि प्राधिकरणमा पुरुषमात्रै अध्यक्ष बनेका थिए । हालसम्म प्राधिकरणले एक दर्जन अध्यक्ष पाइसकेको छ । पौडेल प्राधिकरणको तेह्राैं अध्यक्ष हुन् । सरकारले अर्को कर्मचारीलाई प्राधिकरणको जिम्मेवारी दिएर प्राधिकरणको स्वायत्ततामाथि प्रहार गर्दै आएको आरोप पनि लाग्दै आएको छ । यसअघि गत असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले जनकराज शर्मालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । उनले असोज १० गते सपथ खाएर कार्यभार सम्हालेका थिए । उनी अर्थमन्त्रालयका सहसचिव हुँदा प्राधिकरणको अध्यक्ष बनेका थिए । त्यसअघि अर्थात् असार ३० गते केपी शर्मा ओली नेतृत्वको सरकारले सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षमा नियुक्त गरेको थियो । गत असार ३० गते सरकारले प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझाको योग्यतामाथि छानबिन गर्ने निर्णय गरेसँगै ओझा स्वतः निलम्बनमा परेका थिए । तत्कालीन सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । त्यसपछि ओझा अदालत पुगेको थिए । उनको योग्यतासम्बन्धी विवाद सर्वोच्च अदालतमा समेत विचाराधीन छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले दुई अध्यक्ष फेरिसकेको छ । बीमा ऐन, २०७९ को दफा ४ को १ मा बीमा व्यवसायको नियमनकारी निकायको रूपमा रहेको नेपाल बीमा प्राधिकरण अविछिन्न र उत्तराधिकारवाला एक स्वशासित संगठित संस्था हुने व्यवस्था छ । सोही ऐनको दफा ५ मा प्राधिकरणको काम, कर्तव्य र अधिकारको चर्चा गर्दै प्राधिकरण बीमा सम्बन्धमा नेपाल सरकारको सल्लाहकारको रूपमा काम गर्ने व्यवस्था छ । ऐनको दफा १४७ को उपदफा ३ ले प्राधिकरणलाई जिल्ला अदालत सरहको अधिकार पनि प्रदान गरेको छ । अर्थात् बीमा सम्बन्धी विभिन्न मुद्दाहरू प्राधिकरण आफैले सुनुवाइ गरेर त्यसउपर कारवाही तथा दण्ड जरिवाना समेत गर्न सक्ने अधिकार ऐनले दिएको छ । बीमा ऐन, २०७९ को दफा ७ को १ मा समितिको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकारसमक्ष नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयका सचिव र बीमा क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सदस्य रहेको एक समिति रहने र सो समितिले सिफारिस गरेको तीन जना व्यक्तिबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्न सक्ने व्यवस्था छ । तर, अर्थमन्त्रालयले भने विभिन्न कमजोरीको फाइदा उठाउँदै एकपछि अर्को आफ्ना कर्मचारीलाई प्राधिकरणको अध्यक्ष बनाएर इतिहास रच्ने प्रयत्न गरिरहेको छ । अहिलेसम्म कुनै नियमनकारी निकायमा नभएको अभ्यास गर्दै एक वर्षमा ६ जनालाई प्राधिकरणको अध्यक्ष बनाएर इतिहास रच्ने दौडमा अर्थमन्त्रालय देखिएको हो । एउटा स्वायत्त र अर्धन्यायिक नियमनकारी निकायमा मन परेको व्यक्तिलाई अध्यक्ष बनाएर पठाउने अर्थमन्त्रालयको गलत अभ्यासले ऐनको त धज्जी उडाएको नै छ, बीमा क्षेत्रको अभिभावकको भूमिकामा रहेको प्राधिकरणको गरिमा पनि धूमिल बन्दै गएको छ । बीमा विज्ञहरूले अर्थमन्त्रालयले प्राधिकरणलाई एउटा शाखाको रूपमा व्यवहार गरेको तर्क गर्छन् । अर्थमन्त्रालयले एकपछि अर्को कर्मचारीलाई प्राधिकरणमा पठाएर बीमा बुझ्ने परीक्षण र प्रशिक्षण शाखाको काम गराएको बीमा विज्ञहरू बताउँछन् । एक वर्षमा ६ जना अध्यक्षमध्ये तीनजना अध्यक्षहरू अर्थमन्त्रालयकै सहसचिव हुन् र एक सचिव रहेका छन् । पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंले सफलताका साथ आफ्नो चार वर्षीय कार्यकाल पूरा गरेपछि प्राधिकरणमा किचलो मच्चिएको हो । उनको बहिर्गमनपछि सरकारले प्राधिकरणको अध्यक्षमा सूर्यप्रसाद सिलवाललाई नियुक्त गरेको थियो । उनको पनि कार्यकाल समाप्त हुनै लाग्दा उनीमाथि भ्रष्टाचारको आरोप लाग्यो । उनी निलम्बनमा परे । अन्ततः उनले सफाइ पाए पनि त्यतिबेलासम्म उनको कार्यकाल समाप्त भइसकेको थियो । सिलवाल निलम्बनमा परेपछि सरकारले प्राधिकरणको अध्यक्षमा अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि भन्दै अर्थमन्त्रालयका सहसचिव मदन दाहाललाई जिम्मेवारी दियो । प्राधिकरणजस्तै नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरमध्येबाट एक जनालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिने व्यवस्था छ । तर, अर्थमन्त्रालयले बीमा प्राधिकरणमा आफ्ना कर्मचारीलाई जिम्मेवारी दिने गरेको छ । सिलवाल निलम्बनमा परेपछि सरकारले रिक्त पदपूर्तिको लागि सिफारिस समिति गठन गर्यो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो । सिफारिस समितिले पठाएको तीन जनाको नाममध्ये सरकारले गत फागुन १२ गते शरद ओझालाई अध्यक्षमा नियुक्ति गर्यो । अध्यक्षमा नियुक्तिको सुरुवातमै विवादित बन्न पुगेका ओझा छोटो अवधिमै निलम्बनमा परे । योग्यता नपुगे पनि झुटो प्रमाण पेश गरेर नियुक्ति लिएको भन्दै अख्तियारमा उजुरी परेपछि उनी निलम्बनमा परे । मन्त्रिपरिषदले आफूलाई पदमुक्त गर्न गरेको निर्णय खारेजी र पुनर्बहालीको माग गर्दै ओझाले अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै मन्त्रिपरिषदको निर्णयहरू कार्यान्वयन नगरी यथावस्थामा राख्न भदौ २३ गते अल्पकालीन आदेश पनि दिएको थियो । सर्वोच्चको अल्पकालीन आदेशलाई आधार बनाउँदै निलम्बित ओझा गत भदौ ३१ गते कार्यालयमा हाजिर समेत भए । तर, अन्तरिम सरकारले असोज २ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकारबाही गर्न नदिन आदेश दियो । नियुक्ति भएको चार महिनामै ओझा निलम्बनमा परेपछि सरकारले अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि भन्दै अर्थमन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको थियो । त्यसको दुई महिनापछि अन्तरिम सरकारले प्राधिकरणको नयाँ अध्यक्षमा अर्थमन्त्रालयकै सहसचिव जनकराज शर्मालाई अध्यक्षको जिम्मेवारी दियो । उनले प्राधिकरणमा काम गरेको तीन महिना राम्रोसँग नबित्दै अन्तरिम सरकारले नै सचिव पौडेललाई प्राधिकरणको जिम्मेवारी दिएको हो । काम चलाउ अध्यक्षले प्राधिकरण सुस्त बनेको प्राधिकरणका कर्मचारीहरूको गुनासो छ । प्राधिकरणबाट हुने काम कारवाही छिटो छरितो रूपमा अघि बढ्न नसकेको कर्मचारीहरू बताउँछन् ।
नेशनल लाईफले दियो कोशी प्रदेशका अभिकर्तालाई एकदिने तालिम
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध भई कार्यरत अभिकर्ताहरूलाई एकदिने व्यावसायिक तालिम प्रदान गरेको छ । कम्पनीले प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको अवधारणासहित सञ्चालन गरेको मासिक योजना 'मन्थन २०८२' अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनोट भएका १२० जना अभिकर्तालाई इलामको फिक्कलस्थित होटल एकोममा तालिम दिइएको हो । तालिम अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले प्रदान गरेका थिए । उनले बीमा क्षेत्रको प्रतिष्ठित उपाधि एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायबारे विभिन्न उदाहरणसहित अभिकर्ताहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताको पेशागत क्षमता अभिवृद्धिका लागि कम्पनीले निरन्तर रूपमा विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । सोही उद्देश्यका साथ मासिक योजना ‘मन्थन २०८२’ अघि बढाइएको उनको भनाइ थियो । त्यस अवसरमा कोशी प्रदेशका विभिन्न शाखामा उत्कृष्ट कार्य गरी शाखास्तरीय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरेकी थिइन् । तालिममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट सिक्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए । सम्मानित अभिकर्ताहरूले पनि आफूले गरेको मेहनतको कदर भएको महसुस भएको प्रतिक्रिया दिएका थिए ।
नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको छ । यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रङ्गरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा सङ्ख्या थप्ने, एक ठाउँमा एकै प्रकारका कुर्सी राखेर एकरूपता कायम गराउने, आकर्षक र प्रयोगमैत्री बनाइनेछ । सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई भन्छन्, 'उमेर समूह, शारीरिक अवस्थाजस्ता पैदल यात्रुको आवश्यकतालाई सहजता बढाउने काम थालेका छौँ । यसअघि राखिएका ठाउँबाट कुर्सी हटाउने कुनै योजना छैन । एकरूपता कायम गराउन साटफेर हुन भने सक्छ ।' यसअन्तर्गत सिंहदरबार भद्रकाली सडकखण्डमा राखिएका फलाम र काठ मिश्रित कुर्सीहरू मर्मत थालिएको छ । यस ठाउँमा दुई प्रकारका कुर्सी थिए । यीमध्ये पुराना बेञ्च मर्मतसम्भार र रङ्गरोगन गरेर यथास्थानमा राखिने विभागका प्रमुख राईले जानकारी दिए । यसअघि राखिएका ठाउँबाट कुर्सी यताउता सार्ने गरिएको थियो । यसलाई पनि व्यवस्थापन गर्नेगरी काम गरिने उनको भनाइ छ । कामपाका सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले सार्वजनिक कुर्सी व्यवस्थापनको काम गरिरहेका छन् । यसमध्ये पनि आयोजनाले प्राथमिकता दिएको छ । २०८१ साल असोजमा महिनामा सहरका विभिन्न ठाउँमा १४० वटा सार्वजनिक कुर्सी राखेको थियो । यी कुर्सीहरू एक दशमलव पाँच मिटर लम्बाइ र आधा मिटर चौडाइका छन् । यी सार्वजनिक खरिद प्रक्रियाबाट हरेक कुर्सी करसहित हरेक कुर्सीको मूल्य १८ हजार ६५५ परेको छ । यसमध्ये भद्रकालीदेखि सिंहदरबार सडकखण्डअन्तर्गत पैदल मार्गमा ११ वटा कुर्सी राखिएका हुन् । यसबाहेक बागमती र बागमती नदीका करिडोर, गुह्येश्वरी, कोटेश्वर, कालमोचनलगायत ठाउँमा राखिएका थिए । दोस्रो चरणमा ४९ प्राप्त भएका छन् । यी कुर्सीहरू नापी विभाग, तीनकुने कोटेश्वर खण्ड, रत्नपार्क, माइतीघर बबरमहल, कलपोखरीलगायत स्थानमा राखिनेछन् । ट्याक्टिकल अर्वानिजमअन्तर्गत तेस्रो प्याकेजमा १५० वटा कुर्सी प्राप्त हुनेछन् । यी कुर्सीहरू माग र आवश्यकताका आधारमा विभिन्न स्थानमा राखिने कामपाले जानकारी दिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणमा कर्मचारी क्षमता विकास गर्दै सिद्धार्थ प्रिमियर
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी रोकथाम (एएमएल/सीएफटी) सम्बन्धी कर्णाली र सुदूरपश्चिम प्रदेशस्तरीय तालिम सम्पन्न गरेको छ । कैलालीको धनगढीमा आयोजित उक्त तालिममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले विज्ञ स्रोत व्यक्तिका रूपमा प्रशिक्षण प्रदान गरेका थिए । तालिममा कम्पनीका कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत रहेका सबै शाखा कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक नवराज पराजुली तथा विभागीय प्रमुख सुदर्शन आचार्यले तालिमको आवश्यकता र महत्वबारे जानकारी गराएका थिए । तालिममा बीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान तथा रोकथाम, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरू लगायतका विषयमा सहभागीहरूलाई विस्तृत जानकारी दिइएको थियो । कम्पनीले यस्ता तालिममार्फत नियामकीय अनुपालन सुदृढ गर्दै बीमा व्यवसायलाई सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्य लिएको जनाएको छ ।
सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलामा ३ लाख ९ हजार पुग्यो
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । पछिल्ला तीन दिनदेखि सुन र चाँदीको मूल्य लगातार बढ्दै नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले वृद्धि भई नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्यले पनि सोमबार नयाँ रेकर्ड बनाएको छ । चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।
गरिमा विकास बैंकले चार्टर्ड एकाउन्टेन्ट सदस्यलाई बिना धितो १५ लाखसम्म कर्जा दिने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एसीएएन) मा आबद्ध चार्टर्ड एकाउन्टेन्टहरूलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा संघसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार एसीएएनमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातका आधारमा ७५ हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, आवश्यक प्रक्रिया पूरा गरेपछि बिना धितो अधिकतम १५ लाख रुपैयाँसम्मको व्यक्तिगत व्यावसायिक (प्रोफेसनल) कर्जा पनि उपलब्ध गराइनेछ । त्यसैगरी, गरिमा विकास बैंकले चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई आकर्षक ब्याजदरमा आवास कर्जा तथा सवारी साधन कर्जा समेत प्रदान गर्ने जनाएको छ । हाल बैंकले 'अब आफ्नै घर' भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गर्दै आएको छ । हाल गरिमा विकास बैंक लिमिटेडको देशभर १२६ वटा शाखा कार्यालय, ५१ वटा एटिएम तथा नवीनतम डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ५० हजार ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकका कर्मचारीलाई कुट्नुपर्छ भन्ने अभिव्यक्ति दिएका संग्रौला पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा ‘नागरिक बचाउ महाअभियान’अन्तर्गत ऋणी एशोसिएशनका केन्द्रीय संयोजक देवीप्रसाद संग्रौलालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । झापाको अर्जुनधारा नगरपालिका-११ घर भएका ४४ वर्षीय संग्रौलाले युट्युब च्यानललगायतका माध्यमबाट बैंकका कर्मचारीलाई कुटपिट गर्नुपर्ने र ‘भण्डारखाल’ जस्तो काण्ड मच्चाउनुपर्ने भन्दै अभिव्यक्ति दिएका थिए । सार्वजनिक शिष्टाचार र नैतिकता विपरीत हिंसा दुरुत्साहन गर्ने अभिव्यक्ति दिएपछि ब्यूरोले उनलाई कार्यालयमै झिकाएर सोधपुछ गरेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । प्रहरी समक्ष बयान दिने क्रममा संग्रौलाले कानुनी राज्यको उल्लङ्घन गर्दै बैंक विरुद्ध बोल्नु आफ्नो गल्ती भएको स्वीकार गरेको प्रवक्ता अवस्थीले बताए । पक्राउ संग्रौलाले आगामी दिनमा कानुनलाई शिरमा राखेर बोल्ने र समाज तथा राज्यलाई असर गर्ने अभिव्यक्ति नदिने प्रतिबद्धता जनाउँदै नेपाल सरकारसँग लिखित रूपमा माफी मागेको ब्यूरोले जनाएको छ । प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा कानुन विपरीतका अभिव्यक्ति दिने र श्रव्य दृश्य सामग्री प्रसारण गर्ने माथि निगरानी बढाएको छ ।
काठमाडौं बिजनेश एक्स्पो माघ १४ देखि सुरु, करिब २०० भन्दा बढी स्टल राखिने
काठमाडौं । काठमाडौं बिजनेश एक्स्पो माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) को आयोजनामा काठमाडौं महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रा.लि.को सह-आयोजनामा एक्स्पो हुन लागेको हो । काठमाडौं उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउँदै स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो महोत्सव आयोजना गर्न लागिएको हो । यस महोत्सवले घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ र दृश्यता प्रदान गर्ने विश्वास लिइएको छ । करिब २०० भन्दा बढी अत्याधुनिक तथा व्यवस्थित व्यवसायिक स्टलहरू समावेश हुने यस महोत्सवमा स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड फेस्टिभल, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विविध प्रस्तुति, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायतका बहुआयामिक गतिविधिहरू सञ्चालन गरिनेछ । महोत्सवमा १ लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । यस महोत्सवमार्फत स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, व्यवसायिक नेटवर्किङ प्रवर्द्धन, रोजगारीका अवसर सृजना तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिइएको छ । साथै काठमाडौं महानगरपालिकाको ‘एक वडा – एक नमुना उत्पादन’ अवधारणालाई सहकार्य गर्दै बजार प्रवद्र्धनमा समेत विशेष जोड दिइनेछ । महोत्सवमा कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन तथा मेसिनरी, फर्निचर, फूड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल तथा टुर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, सौन्दर्य, निर्यात–आयात तथा जिल्लागत विशेष उत्पादनहरू लगायतका विविध क्षेत्रका प्रदर्शकहरूको सहभागिता रहनेछ । अवलोकनकर्ताहरूमा सर्वसाधारण, व्यवसायी, उद्यमी, युवा उद्यमी, विद्यार्थी, स्टार्टअप, पर्यटक, फुड लभर्स, अन्तर्राष्ट्रिय पाहुना, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय सहभागिता रहने विश्वास लिइएको छ ।
निजी क्षेत्र कर छल्न चाहँदैन, न त नियम तोड्न चाहन्छ : अध्यक्ष अग्रवाल
काठमाडौं । निजी क्षेत्रले नेपालको भन्सार प्रणाली ‘अनिश्चित, ढिलो र असंगत’ भएको भन्दै यसमा तत्काल सुधार गरी पारदर्शी व्यापारका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ । ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले भन्सार सुधार आजको आवश्यकता मात्र नभई भोलिको अर्थतन्त्रको आधार भएकोमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका कमलेश अग्रवालले भने, ‘निजी क्षेत्र कर छल्न चाहँदैन, न त नियम तोड्न चाहन्छ । तर, वर्तमान प्रणालीले पारदर्शी व्यापार गर्न कठिन बनाएको छ ।’ उनले छिटो, पारदर्शी र विश्वासयोग्य भन्सार प्रणालीले मात्र राजस्व स्वतः बढाउने, अवैध व्यापार घटाउने, लगानी आकर्षित गर्ने र रोजगारी सिर्जना गर्ने बताए । हालैका ‘जेनजी’ आन्दोलनजस्ता घटनाहरू आर्थिक समृद्धि र रोजगारी अभावकै परिणाम भएको उनको भनाइ थियो । अग्रवालले भन्सारलाई राष्ट्रिय अर्थतन्त्रको ग्रास रुटको संज्ञा दिँदै कुल राजस्वमा भन्सारको योगदान करिब ४८ प्रतिशत रहेको तथ्य औंल्याए । उनले सरकारलाई केही ठोस सुझावसमेत दिएका छन् । जसमा सन् २०१९ मा गठन भएर पनि निष्क्रिय रहेको भन्सार सहजीकरण समितिलाई तत्काल पुनःगठन गरी कार्यान्वयनमा ल्याउन माग गरेका छन् भने, भर्खरै लागू भएको अनलाइन भ्यालुएसन सिस्टम सकारात्मक भए पनि यसको सफल कार्यान्वयनका लागि निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । यस्तै, सिमापारबाट हुने अवैध व्यापार रोक्न भन्सारका दरहरू घटाउन, मूल्य अभिवृद्धि कर (भ्याट) लाई आवश्यक र विलासिता गरी दुई तहमा विभाजन गर्न र नेपाली उत्पादनमा लाग्दै आएको अन्तःशुल्क हटाउन माग, एजेन्सी, बहुराष्ट्रिय कम्पनी वा एलसीमार्फत आयात भएका कम जोखिमयुक्त मालवस्तुलाई तत्काल जाँचपास दिने ‘रिस्क–बेस्ड’ प्रणाली लागू गर्न आग्रह गरे । सोही कार्यक्रममा चेम्बर अफ कमर्सले भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीलाई सम्मान गरेको थियो । नयाँ भन्सार ऐनको मस्यौदा, अनलाइन भ्यालुएसन प्रणालीको देशव्यापी विस्तार, चीनतर्फको कोरोला नाका सञ्चालन र भारतसँग प्रि–एराइभल इन्फरमेसन एक्सचेन्जजस्ता महत्त्वपूर्ण काममा योगदान पु¥याएबापत उनलाई सम्मान गरिएको हो । कार्यक्रममा अर्थमन्त्री र भन्सार विभागका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
४ जनालाई अजरबैजान पठाउने भन्दै ठगी गर्ने विश्वकर्मा पक्राउ
काठमाडौं । अजरबैजान पठाउने भन्दै चार जनालाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भोजपुरका महेन्द्र विश्वकर्मालाई पक्राउ गरेको हो । अजरबैजान लैजाने भन्दै ४ लाख रुपैयाँ ठगी गरी लामो समयसम्म झुक्याएकाले उनलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिका ३१ बाट उनलाई पक्राउ गरिएको हो । भोजपुर हतुवागढी ९ का विश्वकर्मालाई अनुसन्धानका लागि कारवाही गर्न वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको कार्यालयले जनाएको छ ।
बैंकका कर्मचारीलाई कुटपिट गर्ने भन्दै अन्तर्वार्ता दिने प्रसाईं समूहका संग्रौलाले साइबर ब्यूरोमा माफी मागे
काठमाडौं । सामाजिक सञ्जालमा भ्रम छर्ने र बैंकका कर्मचारीमाथि कुटपिट गर्नुपर्छ भन्दै अन्तर्वार्ता दिने एकजनाले नेपाल प्रहरीको साइबर ब्यूरोमा माफी मागेका छन्। नागरिक बचाउ महाअभियान नेपालका ऋणी एसोसिएसनका केन्द्रीय संयोजक ४४ वर्षीय देवीप्रसाद संग्रौलाले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कुटपिट गर्नुपर्ने भन्दै अन्तर्वार्ता दिएका थिए । उनले ‘अर्थ सरोकार’ युट्युब च्यानलमा अन्तर्वार्ता दिएका थिए । संग्रौलाले सामाजिक सञ्जालहरूमा बैंकका कर्मचारीहरूलाई कुट्ने पिट्ने, भण्डारखाल जस्तो काण्ड मच्चाउनु पर्ने भन्दै अभिव्यक्ति दिएका थिए । ब्यूरोमा उनले कानुनी राज्यमा कानुनको उलंघन गरी बैङ्कका विरुद्धमा बोल्नु मेरो गल्ती भएको बताएका छन् । संग्रौलाले आगामी दिनमा कानुनलाई शिरमा राखी सच्चिएर बोल्ने र समाज तथा राज्यलाई असर पर्ने कुनै पनि अभिव्यक्ति नदिने प्रतिज्ञासमे व्यक्त गरेका छन् । ‘एक पटकका लागि नेपाल सरकारसँग क्षमा याचना चाहन्छु,’ उनले भनेका छन् । ब्यूरोले सामाजिक सञ्जाल लगायत अन्य डिजिटल प्लेटफर्महरूमा कानुन विपरीतका अभिव्यक्ति दिने तथा श्रव्य दृश्य सामग्रीहरू प्रसारित गर्नेमाथि समेत यस ब्यूरोले निगरानी गरिरहेको जनाएको छ । सामाजिक नैतिकताविरुद्ध यस्ता गतिविधिमा संलग्न भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने ब्यूरोले उल्लेख गरेको छ ।
९ कम्पनीमा सकारात्मक सर्किट, १३ अर्ब ७८ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से )परिसूचक ५७ अंकले बढेर २७७२ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २४० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३१ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ग्रीन भेन्चरको ३९ करोड, शिवम् सिमेन्टको ३२ करोड, युनाइटेड मोदीको ३० करोड र बन्दिपुर केबलकारको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दिपुर केबलकार, हिमस्टार ऊर्जा, माबिलुङ इनर्जी, रिलाइन्स फाइनान्स, आँखु खोला र त्रिशुली जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । आइतबार सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । बैकिङ १.७९ प्रतिशत, डेभलपमेन्ट बैंक १.६८ प्रतिशत, फाइनान्स १.७३ प्रतिशत, होटल तथा टुरिजम ३.३५ प्रतिशत, हाइड्रोपावर २.७४ प्रतिशत र लगानी २.८४ प्रतिशतले बढेका छन् ।