२६ अंकले बढ्यो सेयर बजार, यी हुन् बढी कमाउने १० कम्पनी
काठमाडौं । मंगलबार सेयर बजार २६.०२ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ अंकमा पुगेमा पुगेको हो । मंगलबार नेप्से परिसूचकको यो नयाँ रेकर्ड पनि हो । आज २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर खरिद बिक्रीबाट कुल ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँ कारोबार भएको छ । यो दिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थीर छ । आज पाँचथर पावर कम्पनी लिमिटेड, रुरु जलविद्युत, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो, लिवर्टी इनर्जी, स्वावलम्बन लघुवित्त, ग्रिन लाइफ हाइड्रो, अपी पावर र सीईबीडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी धेरै कमाउने कम्पनीको सूचीमा छन् । आज पाँचथर पावर कम्पनी र रुरु जलविद्युत कम्पनीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
आईपीओ ल्याउन लागेको सानिमा लाइफले सेयर बजारमा मात्रै २१ करोड लगानी गर्ने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले कूल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न लागेको छ । इन्स्योरेन्सले आगामी साउन २० गतेदेखि सर्वसाधारणमा सो मात्राको आईपीओको निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । इन्स्योरेन्सले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता प्राथमिक सेयर जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । सेयर जारी गर्नुको उद्देश्य कम्पनीको जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा विक्रि गर्नुपर्ने व्यवस्थाका कारण सो मात्रा अर्थात प्रति सेयर एक सय अङ्कित दरका ६० लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । जसमार्फत बीमा कम्पनीको सञ्चालनमा सर्वसाधरणहरुलाई समेत संलग्न गराउने इन्स्योरेन्सको उद्देश्य हो । साथै, कम्पनीले आवश्यक पुँजी संकलन गर्न तथा आफ्नो सेवा विस्तार गरी बीमा व्यवसाय बढाउनको लागि सेयर जारी गर्न लागेको हो । २१ करोड सेयर बजारमा लगानी गर्ने आईपीओ जारी पश्चात इन्स्योरेन्सले ६० करोड रुपैयाँ संकलन गर्ने छ । जसमध्ये ३५ प्रतिशत अर्थात २१ करोड रुपैयाँ सेयर बजारमा लगानी गर्ने कम्पनीले जनाएको छ । त्यसमा पनि २५ प्रतिशत ऋणपत्र र १० प्रतिशत पब्लिक कम्पनीको सेयरमा लगानी गर्ने छ । र, बाँकी रहेको ६५ प्रतिशत अर्थात ३९ करोड रुपैयाँ भने विभिन्न संस्थाको फिक्स्ड डिपोजिट (एफडी) मा लगानी गर्ने छ । जसमध्ये वाणिज्य बैंकको मृद्दती निक्षेपमा ४०, विकास बैंकको मुद्दती निक्षेपमा १५ र वित्त कम्पनीको मृद्दती निक्षेपमा १० प्रतिशत रकम लगानी गरिने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, बीमा समितिबाट जारी गरिएको नयाँ लगानी नीतिले विभिन्न पूर्वाधारजन्य क्षेत्रहरु तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा लगानीको अवसर प्रदान गरेकोले त्यस्ता क्षेत्रहरुमा पनि लगानी विस्तारको लागि पहल गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब रुपैयाँ रहेको छ । एक अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पुँजी आईपीओ जारी पश्चात २ अर्ब रुपैयाँ पुग्ने छ । हालको प्रतिस्पर्धी बीमा बजारमा कारोवार शुरु भएको छोटो अवधिमा पनि कम्पनीको व्यवसायिक तथा वित्तीय अवस्था संतोषजनक रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ९ करोड ४५ लाख रुपैयाँ, आ.व. २०७५/७६ मा ४४ करोड ४४ लाख रुपैयाँ, आ.व. २०७६/७७ मा ८३ करोड ८७ लाख रुपैयाँ र आ.व. २०७७/७८ को चैत मसान्तसम्ममा अघिल्लो वर्षको तुलनामा करिब ७६ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा इन्स्योरेन्सको सञ्चित आय १० करोड ४८ लाख रुपैयाँ रहेको छ । सो अवधिमा प्रतिसेयर नेटवर्थ १०९.६७ रुपैयाँ र प्रतिसेयर आम्दानी ६.१० रुपैयाँ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको सञ्चित आय १७ करोड ४४ लाख रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ बढेर ११६.७६ रुपैयाँ र प्रतिसेयर आम्दानी ६.७६ रुपैयाँ पुग्ने कम्पनीको अनुमान रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३९.३३ रुपैयाँ र प्रतिसेयर आम्दानी १७.११ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ । कम्पनी सचिवसहित इन्स्योरेन्सको सञ्चालक समिति संस्थाको सञ्चालक समितिमा अध्यक्ष सहित ५ जना रहेका छन् । अध्यक्षमा कुमारप्रसाद कोइराला, सञ्चालकमा घनश्याम थापा, डा. सुवर्णदास श्रेष्ठ, बद्री विशाल घिमिरे र स्वतन्त्र सञ्चालकमा भरत बहादुर थापा रहेका छन् । र, आईपीओ जारी पश्चात कम्पनीको सञ्चालक समितिमा एक जना महिला सञ्चालक नियुक्त गरिने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, इन्स्योरेन्सको कम्पनी सचिवमा अर्याक रञ्जन बराल रहेका छन् । इन्स्योरेन्सको उच्च व्यवस्थापकीय तहमा ६ जना रहेका छन् । प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया, महाप्रबन्धकमा शिवराम तिमिल्सीना, नायब महाप्रबन्धकमा चुडामणी चापागाई, मुख्य प्रबन्धकमा गणेश चौलागाई, आर्यक रञ्जन बराल र गुणराज श्रेष्ठ रहेका छन् । यिनीहरु कसैको पनि संस्थामा लगानी छैन र अन्य कुनै सूचीकृत संगठित संस्थाको आधारभूत सेयरधनी रहेका छैनन् । १० वटा जीवन बीमा योजना सार्वजनिक काठमाडौंको कमलादीमा केन्द्रिय कार्यालय रहेको संस्थाले ७ वटा प्रदेश कार्यालय समेत ११८ वटा शाखा तथा उपशाखाबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ । सञ्चालनमा आएको छोटो अवधिमै कम्पनीले बजारमा १० वटा जीवन बीमा योजना ल्याईसकेको छ । इन्स्योरेन्सले हालसम्ममा सानिमा दिर्घायु, सानिमा सरल, सानिमा धनपति, सानिमा बाल सौगात, सानिमा दम्पत्ति, सानिमा शुभ लक्ष्मी, सानिमा धनसञ्चय, सानिमा वार्षिक धन फिर्ता, सानिमा कर्जा म्यादी र सानिमा जीवन श्री गरी कूल १० जीवन बीमा योजना सार्वजनिक गरी सञ्चालनमा ल्याईसकेको छ । कम्पनीले २०७४ मंसिर २२ गतेदेखि बीमाको कारोबार सञ्चालन गर्दै आएको छ । स्थापनाको छोटो अवधिमा संतोषजनक प्रगति गर्न कम्पनी सफल भएको र आगामी दिनहरुमा समेत स्वस्थ प्रतिस्पर्धात्मक ढंगबाट बीमा व्यवसाय बढाउँदै लैजान कम्पनी प्रतिवद्ध छ । आईपीओमा कहिलेसम्म र कति आवेदन दिन पाइन्छ ? उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक सर्वसाधारणले छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सक्ने छन् । उनीहरु सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एप मार्फत न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको क्यापिटलले जनाएको छ । त्यस्तै, जारी गनै लागेको आईपीओको लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा कम्पनी मध्यम रूपमा सुरक्षित रहेको जनाउने छ ।
सेयर बजार र बाँदर साहुको कथा
एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँका मानिसहरु सबै जना सोझा साझा थिए । सबै मिलेर बस्दथे । दैनिक मिहिनेतको र परिश्रमको कमाई घरमा ल्याएर परिवारको पालन पोषण गर्दथे । सानो सपना देख्दथे । त्यसैले सुखी र खुसी पनि थिए । अचानक एक दिन त्यस गाउँमा एउटा चलाख व्यापारी आयो । उसले त्यो गाउँका मानिसहरुलाई नजिकबाट नियालो । र, एक दिन सबैलाई गाउँको बीचमा रहेको पिपल चोकमा बोलाएर भेला गरायो । र, उनीहरुलाई व्यापारीले भन्यो– यो तिमीहरुको गाउँमा राम्रो र उन्नत जातको बाँदरहरु धेरै रहेछन् । यो त अमुल्य बाँदर हो । यसलाई शहरमा लगेर बेच्नु पर्दछ । राम्रो पैसा राम्रो दाम पाइन्छ । यस्तो राम्रो कमाउने मौका छोडेर तिमीहरु खेती किसानीमा दिनभरी किन लागेका ? दिनमा एक जनाले दश ओटा बाँदर समातेर मलाई दियौं भने म प्रतिबाँदर सय तिमीहरुलाई दिन्छु । दिनकै हजार कमाई हुन्छ तिमीहरुको भनेर त्यो बाठो व्यापारीले सोझा गाउँलेलाई सम्झायो । गाउँलेहरु पनि कमाउन पाइने भइयो भनेर मख्ख परे र खेती किसानी गर्न छोडेर बाँदर समाउन थाले । कसैले पाँच वटा समातेर ल्याए र पाँच सय पाए । कसैले सात वटा समाते र सात सय रुपैयाँ पाए । कसैकसैले पैसा चाढै कमाउने मनसायले एकै दिनमा पन्द्र वटासम्म समाए र पन्द्र सय रुपैयाँसम्म पाए । अब गाउँलेहरु खुसी हुँदै हौसिदै बिहानैदेखि परिवार सहित वरपर र जगंलसम्म गएर बाँदर समाउन थाले । र, बेलुका व्यापारीलाई जिम्मा दिए । पैसा लिदै मख्ख परे । अलि दिन पछि बाँदरको संख्या कम हुँदै गयो । सजिलै बाँदर पाइन छाडे । अनि फेरि व्यापारीले अब म प्रतिबाँदर दुई सय दिन्छु, समातेर ल्याओ भनेर बाँदरको मुल्य वढायो । गाउँलेहरु फेरि खुसी भए । र, जंगल जंगल चहारेर बाँदर समाउन थाले । गाउँलेहरुले त्यो क्षेत्रमा भएका सबै बाँदर समातेर व्यापारीलाई बेचिसके । अब जंगलमा बाँदर पाउनै छोड्यो । बाठो व्यापारीले बाँदरको मूल्य फेरि बढायो । र, प्रतिबाँदर पाँच सय रुपैयाँ दिने कुरा बतायो । तर, गाउँलेहरु बाँदर पाउन र समाउन गाह्रो हुने भएकोले निरास हुन थाले । यत्तिकैमा त्यो गाउँमा एक जना अर्को नयाँ व्यापारी अकस्मात आयो र सबै गाउँलेलाई आफूसँग प्रसस्त बाँदर रहेको र प्रतिबाँदर ४ सय रुपैयाँमै दिने कुरा सुनायो । र, उसैले ती बाँदर पहिलाको व्यापारीलाई बेच्दा प्रतिबाँदर सय रुपैयाँ फाइदा हुने भएकोले मौकाको फाइदा उठाउन आग्रह पनि गर्यो । गाउँलेहरु उसको कुरा सुनेर मख्ख परे । अनि प्रतिबाँदर ४ सय रुपैयाँको दरले हजारौं बाँदर किने । भोलिपल्ट पाँच सय पाउने आसमा पुरानो व्यापारी बसेको डेरामा जादा व्यापारी त रातिनै कुलेलम ठोकेर टाप भएछ । यो कुरा सुनाउन गाउँलेहरु आफूहरुलाई बाँदर बेच्न व्यापारीकोमा गए । ऊ पनि भागेछ । अनि मात्रै ती गाउँलेले आफ्नो गाउँका बाँदर आफैलाई बेचेर ती दुई व्यापारीले राम्रैसँग ठगेका थाहा पाएछन् । यो त एउटा कथा मात्र हो । तर, आज नेपालको सेयर बजार पनि नेप्से बढ्यो भन्दै खुसी हुँदै कतै तपाई हावाको भरमा र लहलहैमा लागेर त सेयर किनिरहनु भएको छैन ? आफूले किनेको र किन्न खोजेको कम्पनीको सेयर किन्नुभन्दा पहिले एकचोटि अवश्य सोच्नु होला । व्यापारीले बाँदरको मूल्य बढाए जसरी कसैले सेयरको मूल्य त बढाएको छैन ? सय रुपैयाँको बाँदर आफैले कृत्रिम अभाव सिर्जना गरेर प्रतिबाँदर ४ सय रुपैयाँ गरे जस्तै गरी तपाईंको पनि सय रुपैयाँको सेयर रिर्टनभन्दा धेरै मूल्य बढाएर तपाईंलाई नै भिडाउने प्रपन्च त कसैले रचिरहेको छैन ? प्रतिसेयर आम्दानी नहेरि हावाको भरमा कतै तपाई हजार, दुई हजारमा सेयर किनिरहनु भएको त छैन ? अहिले ध्यान पुर्याइएन भने बाँदर जंगलमा छोडे जसरी तपाईंले आफ्नो सेयर आफैले महंगोमा किनिरहनु भएको त छैन ? आखिर कम्पनीले त सयकै जवाफदेहिता वहन गर्ने हो नि । बुक भ्यालु नै तपाईंप्रतिको दायित्व हो । त्यसैले तपाईले किन्न खोजेको कम्पनी कस्तो छ ? विगतमा कस्तो प्रतिफल दिएको छ र हाल उसको प्रगति विवरण कस्तो छ ? जगेडा कोसको अवस्था के छ ? प्रतिसेयर आम्दानी, बुक भ्यालु लगायत नियमनकारी निकायको नीति कस्तो छ ? तपाई मार्केटमा कहिले इन गर्दै हुनुहुन्छ र कहिले आउट हुने ? अल्पकालिन वा दिर्घकालिन कस्तोमा लगानी गर्दै हुनुहुन्छ ? यस्ता पक्षबारे गहन अध्ययन र विश्लेषण आवश्यक हुन्छ । किनभने बजारमा कमाउन सहज छैन । तपाईंले कमाउनु भनेको कसैले गुमाउनु पनि हुन सक्छ । र, सबै जना कमाउनको लागि नै बजारमा आएका हुन्छन् ।
सेयर बजारमा रेकर्ड ब्रेक, बैंकिङ्ग समूहमा देखिन थाल्यो रौनक
काठमाडौं । साताको पहिलो दिनको सेयर बजार नयाँ उचाईमा पुगेको छ । आज कारोबार खुलेदेखि उकालोको बाटो तय गरेको बजारले अन्ततः यसअघिको रेकर्डलाई पछि पार्दै नयाँ कीर्तिमान राख्न सफल भएको छ । बजारमा नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६४ बिन्दुमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा १.८१ प्रतिशतले बढी हो भने हालसम्मकै दैनिक क्लोजिङ्को ऐतिहासिक बिन्दु हो । तर, यो बिन्दु दैनिक क्लोजिङ्को ऐतिहासिक भएपनि नेपाली पुँजीबजारको ऐतिहासिक बिन्दु भने होइन । किनभने यसअघि गत असार १ गतेको बजारमा (इन्ट्राडे मै) नेप्से परिसूचक ३०६४.०७ बिन्दुको उचाईसम्म पुगेको थियो । तर, पछि कारोबार बन्द हुँदा भने परिसूचक ३०२२.११ बिन्दुमा फर्केकाे थियाे । एक महिना यताकै उच्च कारोबार आजको बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन २२३ कम्पनीको १४ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत एक महिना यताकै उच्च कारोबार हो भने अघिल्लो कारोबारको तुलनामा ३ अर्ब १२ करोड रुपैयाँले बढी हो । गत एक महिना अघि अर्थात असार २ गतेको बजारमा १५ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयता हालसम्म सो मात्राको सेयर किनबेच भएको थिएन । बढी कारोबार गर्नेको टप टेनमा अधिकांश वाणिज्य बैंक पछिल्लो समय बजारमा बैंकिङ्ग समूहमा रौनक देखिन थालेसँगै कारोबार रकममा टेवा पुगेको छ । आइतबार बढी कारोबार गर्नेको टप टेनमा अधिकांश वाणिज्य बैंक रहेका छन् । उक्त सूचीमा वाणिज्य बैंक मात्रै ७ वटा रहेका छन् । जसमध्ये पनि तीन वाणिज्य बैंक बढी कारोबार गर्नेको शीर्ष स्थानमा रहेका छन् । नेपाल बैंकको ४९ करोड ७६ लाख, ग्लोबल आईएमई बैंकको ४९ करोड ४४ लाख र एनसीसी बैंकको ३४ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया, प्रभु, कुमारी र मेगा बैंक पनि बढी कारोबार गर्नेको टप टेनमा रहेका छन् । जसको २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, बजारमा ९ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।
भोलि बुधबार सेयर बजार बन्द
काठमाडौं । भोलि (साउन ६ गते) बुधबार सेयर बजार बन्द हुने भएको छ । सरकारले देशभर सार्वजनिक बिदाको घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो । गृह मन्त्रालयले एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद-उल-अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । उक्त निर्णय साउन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले यसअघि पनि सरकारले सार्वजनिक बिदा दिएको दिन सेयर कारोबार पनि बन्द गराउँदै आएको छ । यससँगै, अबको सेयर कारोबार साउन ७ गते बिहीबार मात्रै नियमित खुल्ने छ । मंगलबारको बजारमा उतारचढाव देखिएको छ । सो दिन नेप्से परिसूचक ९ अंकले घटेर २९८५ बिन्दुमा झरेको छ । बजारमा परिसूचकसँगै सेयर कारोबार पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब बढीको सेयर किनबेच भएको बजारमा मंगलबार जम्मा ७ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
दोस्रो पटक कम्युनिष्टलाई ढुकुटीका साँचो सुम्पिए देउवाले, सेयर बजारमा कस्तो असर पर्ला ?
काठमाडौं । गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका काँग्रेस सभापति शेरबहादुर देउवा आफै भने पाँचौं पटक प्रधानमन्त्री बन्दै थिए । प्रधानमन्त्रीमा नियुक्त भएकै दिन उनले गृह, अर्थ, उर्जा र कानुन मन्त्रालयको नेतृत्व छनोट गर्न भ्याए । प्रधानमन्त्री देउवाले हिजो (आइतबार) प्रतिनिधिसभाबाट बहुमत पाएका छन् । आफूसहित ५ सदस्यीय मन्त्रिपरिषद गठन गरेका देउवाले चाढै नै मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री देउवाले अर्थमन्त्रालयको नेतृत्व सत्ता गठबन्धनको अर्काे दललाई दिएका छन् । सामान्यतः अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफ्नै पार्टीका विश्वास पात्रलाई दिने गरेको परम्परा दोस्रो पटक देउवाले नै तोडेका छन् । निवर्तमान प्रधानमन्त्री ओलीले पहिलो पटक प्रधानमन्त्री बनेको समयमा आफ्नो विश्वास पात्र विष्णु पौडेललाई अर्थमन्त्री बनाएका थिए । जबकि सो सरकार गठबन्धन सरकार थियो । उनको सत्ता साझेदार माओवादी पार्टीलाई अर्थमन्त्रालय दिएका थिएनन् । २०७४ को निर्वाचनपछि सरकारको दोस्रो पटक नेतृत्व गरेका ओलीले आफ्नै पार्टीका नेतालाई विश्वास नगरी राजनीति बाहिर रहेका टेक्नोक्र्याट डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएका थिए । तत्कालिन नेकपा र पछि एमालेमा विवाद हुनुका पछाडि ओलीले अर्थमन्त्रीमा राजनीतिक नेतृत्व बाहिरबाट टेक्नोक्र्याटलाई काँखी च्याप्नु पनि एक कारण हो भनेर विश्लेषण गरिदैछ । निवर्तमान प्रधानमन्त्री ओलीले डा. खतिवडाप्रति धेरै नै आशक्ति देखाएका थिए । खतिवडालाई अर्थमन्त्री बनाएपछि राष्ट्रियसभा सदस्यमा मनोनित गराएका थिए भने उनको २ वर्षे कार्यकाल सकिएपछि फेरि राष्ट्रियसभा सदस्य बनाउन हरसम्भव प्रयास गरेका थिए । डा. खतिवडालाई राष्ट्रियसभा सदस्य बनाउन नसकेपछि ओलीले उनलाई गैरसांसदकै रुपमा संविधानले दिउन्जेल अर्थमन्त्री नै बनाइरहेका थिए । संविधानले मन्त्री बनाउन दिदै नदिने भएपछि तत्कालिन प्रधानमन्त्री ओलीले डा. खतिवडालाई मन्त्री सरह सुविधा दिने गरी आफ्नो आर्थिक सल्लाहकार बनाएका थिए । पछि डा. खतिवडालाई अमेरिकाको लागि राजदुत बनाएर पठाइएको छ । डा. खतिवडालाई विदाई गर्नुपरेपछि ओलीले अर्थमन्त्रालयको जिम्मेवारी आफ्ना विश्वासपात्र विष्णु पौडेललाई दिएका थिए । अरु प्रधानमन्त्रीहरुले गठबन्धन सरकारमा पनि अर्थमन्त्रालयको जिम्मेवारी आफ्नै पार्टीका नेताहरुलाई बनाउने गरेका थिए । तर, देउवाले विगतमा एक पटक अर्थमन्त्रालयको जिम्मेवारी सत्ता साझेदार अन्य दललाई दिएका थिए । २०६० सालमा एमाले सहितको सरकारमा देउवाले आफू प्रधानमन्त्री बनेको बेलामा सत्ता साझेदार नेकपा एमालेका नेता भरतमोहन अधिकारीलाई अर्थमन्त्री बनाएका थिए । अधिकारीको निधन भइसकेको छ । अहिले देउवाले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । सत्ता साझेदार अन्य दललाई अर्थमन्त्री र त्यसमा पनि कम्युनिष्ट पार्टीका नेतालाई अर्थमन्त्रालयको जिम्मेवारी दिने पहिलो एकमात्र काँग्रेस नेता देउवा नै हुन् । शर्मालाई कसरी लेला पुँजी बजारले ? काँग्रेस सभापति देउवा नेतृत्वमा सरकार बनेपछि पुँजी बजारले स्वभाविक रुपमा लिएर सोही अनुसारको स्वाभाविक प्रतिक्रिया दिएको छ । र, अर्थमन्त्री जनार्दन शर्मालाई पनि स्वभाविक रुपमा लिएको केही दिनको गतिविधिले देखाउँछ । किनभने शर्माले अर्थमन्त्रालय संहालेपछि सेयर बजारमा धेरै उत्तारचढाव देखिएको छैन । सेयर बजार विश्लेषक प्रकाश तिवारी काँग्रेस नेतृत्वमा सरकार गठन भएकै आधारमा बजार धेरै बढ्न सक्ने अवस्था नभएको बताउँछन् । ‘११ सयको विन्दुमा रहेको परिसुचक झण्डै तीन गुणाले बढेर ३ हजारको हाराहारीमा आइपुगेको छ, त्यसैले बजार अर्थतन्त्रको पक्षपाती काँग्रेस नेतृत्वमा सरकार गठन भयो भनेर बजार थप बढ्न सक्ने अवस्था देख्दिनँ, कम्युनिष्ट अर्थमन्त्री आए भनेर बजार डराउनको लागि पनि काँग्रेस नेतृत्वको सरकार छ, त्यसैले बजारले बजार अनुसारको प्रतिक्रिया देखाएको छ, यस्तै देखाउने मेरो अनुमान छ,’ विश्लेषक तिवारीले भने । अहिले बजारमा सकारात्मक सन्देश प्रवाह भएको विश्लेषण लगानीकर्ताले गरिरहेको एक सेयर ब्रोकरले बताए । ‘प्रधानमन्त्रीले विश्वासको मत लिने दिन करिब सय अंकले बजार बढ्यो, बजार अर्थतन्त्रको पक्षपाति नेपाली काँग्रेस नेतृत्वको सरकारले बजारमा अनावश्यक हस्तक्षेप गर्दैन भन्ने लगानीकर्ताको विश्लेषण छ, त्यसैले अब बजार घटेपनि वा बढे पनि सरकार वा राजनीतिक बाहेकको बजारकै कारणले परिवर्तन आउने जस्तो देखिन्छ,’ ती ब्रोकरले भने । ती ब्रोकरको यो विश्लेषणसँग केही ठूला लगानीकर्ता पनि सहमत देखिएका छन् । ‘हामीले जुनसुकै सरकार आएपनि लगानी गरेर नाफा गर्न खोज्ने हो, त्यसैले यो पार्टी ठीक र यो बेठिक भन्ने कुरा भएन तर, काँग्रेस नेतृत्वको सरकार बनेको बेलामा पुँजी बजारमा सकारात्मक असर देखिएको विगतको अनुभव छ, निवर्तमान सरकारका अर्थमन्त्री बजार बढाउन कम्मर कसेर लागेका हुनाले अबका दिनमा धेरै बढ्न सक्ने अवस्था देखिएको छैन, बजारले आफ्नो स्वभाविक गति अनुसार बाटो तय गर्न लागेको देखिन्छ,’ ती लगानीकर्ताले भने । उनले ओली सरकारका दुबै अर्थमन्त्रीले बजारमा हस्तक्षेप गरेको सुनाए । ‘खतिवडा (पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा) जी पुँजी बजारलाई अनुत्पादक भन्दै कज्याउने काममा मात्रै लाग्नुभयो, विष्णु (पूर्व अर्थमन्त्री विष्णु पौडेल) जी नेप्से परिसुचक जसरी भएपनि ३ हजार विन्दुभन्दा माथि पुर्याउनु पर्छ भनेर बक्तव्यबाजी गरेरै लाग्नुभयो, यी दुबै कार्य बजारमाथिको हस्तक्षेप थियो, अर्थमन्त्रीले बजार घटाउने वा बढाउने होइन, उहाँहरुले नीतिगत स्थीरतको पक्षमा काम गरिदिए हुन्थ्यो भन्ने लाग्छ,’ ती लगानीकर्ता भने । पुँजी बजारको पक्षमा कुनै पनि नीति वा नियम बनाएर सकारात्मक सन्देश दिन सक्ने ठाउँ अब बाँकी छैन । अहिलेका नीतिगत व्यवस्थाहरु नै पुँजी बजारको लागि पर्याप्त रहेको देखिन्छ । आगामी आर्थिक वर्षको लागि आउने मौद्रिक नीतिले अहिले मार्जिन कर्जादेखि अन्य नीतिगत व्यवस्थामा कडाई गरेमा सेयर बजारमा केही संकुचन आउने देखिन्छ । तर, अर्थमन्त्री शर्माले पुँजी बजारमा अहिले कार्यान्वयनमा रहेका व्यवस्था नहटाउन राष्ट्र बैंकलाई निर्देशन दिए भन्ने चर्चा भने चलेको छ ।
सेयर बजारमा हरियाली, पौने २ घण्टामै ६० अंकले बढ्यो नेप्से
काठमाडौं । आइतबारको सेयर बजारमा हरियाली छाएको छ । नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा नेप्से परिसूचक ६० अंकले बढीले उकालो लागेको छ । नियमित कारोबार शुरु भएको पौने २ घण्टामै परिसूचक ६० अंक बढीले उकालो लागिसकेको छ । साउन ३ गते दिउँसो १२ बजेर ४२ मिनेट जाँदा नेप्से ६०.६१ अंकले बढेर २९४३.७२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.०९ प्रतिशतले बढी हो । यो अवधिसम्म ५ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिसम्म २१२ कम्पनीको ९३ लाख ७६ हजार ६७७ कित्ता सेयर किनबेच भईसकेको छ । जसमध्ये सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको सेयर कारोबार भएको छ । फाइनान्सको २५ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भईसकेको छ । त्यस्तै, बढी कारोबार हुनेको दोश्रोमा कामना सेवा विकास बैंक र तेश्रोमा नबिल बैंक रहेको छ । यी दुईको क्रमशः २४ करोड ७० लाख र २३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भईसकेको छ । यो समाचार तयार पार्दासम्म न्याङ्दी ग्रुप पावरको सेयर मूल्य १० प्रतिशतले बढी सकेको छ । कम्पनीको सेयर मूल्य ५७ रुपैयाँले बढेर प्रतिकित्ता ६२७ रुपैयाँ पुगेको छ । आइतबार कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह २३४.७५ अंकले बढेर १७ हजार २५२ बिन्दुमा पुगेको छ । सम्बन्धित समाचार आजदेखिको सेयर कारोबारमा तीन नयाँ नियम लागू हुने
अन्तिम दिन ११ अंकले बढेर आर्थिक वर्षलाई विदा गर्यो सेयर बजारले
काठमाडौं । नेपालको सेयर बजारका लागि ऐतिहासिक वर्ष बनेको चालु आर्थिक वर्षको अन्तिम दिन सामान्य अंकले बढेर बजार बन्द भएको छ । अन्तिम दिन पुँजी बजार मापक नेप्से परिसुचक ११.३३ अंकले बढेको छ । चालु आर्थिक वर्षमा नेप्से परिसुचकले ऐतिहासिक विन्दु पार गरेर ३ हजारभन्दा माथिको विन्दुमा पुगेको थियो । यस्तै, एकै दिन २० अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको रेकर्ड पनि सेयर बजारले यही चालु आर्थिक वर्षमा राख्यो । सेयर बजारप्रति चालु आर्थिक वर्षमा सर्वसाधारणको आकर्षण पनि धेरै बढेको छ । एउटै कम्पनीको आईपीओमा २२ लाखको हाराहारीमा आवेदन पर्न थालेको छ । अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या पनि ऐतिहासिक रुपमा बढेको छ । आज सेयर बजारमा २२३ कम्पनीका ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ८ अर्ब १४ करोड ३६ लाख १४ हजार रुपैयाँमा खरिद विक्री भए । आज ११.३३ अंकले बढेर नेप्से परिसुचक २८८३.३८ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीहरुको परिसुचक सेन्सेटिभ इन्डेक्स १.९३ अंकले बढेर ५४१.३१ विन्दुमा पुगेको छ । आजको बजारमा बैंकिङ, ट्रेडिङ, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड समुहका उपसुचक पनि बढेका छन् । होटल तथा टुरिजम, डेभलपमेन्ट बैंक, उत्पादनशील, अन्य, जीवन बीमा र इन्भेष्टमेन्ट समुहका सुचक भने घटेका छन् । न्यादी पावर कम्पनीका लगानीकर्ताको सम्पत्ती ९.४ प्रतिशतले बढेको छ । यस्तै, रैराङ हाइड्रोको ८.९१, गणपति माइक्रोफाइनान्सको ७.८८ र मञ्जुश्री फाइनान्सको सेयर मूल्य पनि करिब ८ प्रतिशतले बढेको छ ।
यस्तो छ शेरबहादुर र सेयर बजारको विगतकाे सम्बन्ध
काठमाडौं । नेपालको प्रधानमन्त्रीमा शेर बहादुर देउवा नियुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई हिजाे (असार २९ गते) मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । योसँगै, देउवा पाँचौं पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई नेपालको अर्थतन्त्रको मुख्य खम्बा मानिने पुँजी बजारले पनि हरियालीका साथ स्वागत गरेको छ । उनको नियुक्ती भएकै दिन बजार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन ४५ अंकले घटेको बजार मंगलबार भने एकाएक १६.३४ बिन्दुले बढेर २८७१.०३ बिन्दुमा पुग्यो । मंगलबार सेयर बजारमा जीवन बीमा बाहेक सबै समूहमा हरियाली छायो । यो पटकमात्रै होइन, देउवा प्रधानमन्त्रीमा नियुक्त भएको हरेक पटक नै सेयर बजारले उनलाई हरियालीका साथ स्वागत गरेको पाइएको छ । यसअघिको पुँजी बजारको इतिहास हेर्दा देउवा आजसम्म जति पटक प्रधानमन्त्रीमा नियुक्त भए, सोही दिनको सेयर बजारले पनि उनलाई साथ दिएको अर्थात स्वागत गरेको देखिन्छ । यसको मतलब उनलाई सेयर बजारले सजिलै पत्याउने गरेको भन्दा खासै फरक नपर्ला । देउवा र सेयर बजारको सम्बन्ध वि.स २०४८ मा गृहमन्त्री बनेका देउवा २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । यससँगै उनले २०५२ भदौ २६ गतेदेखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्रीमा रहेर नेतृत्व सम्हालेका थिए । यो अवधिमा सेयर बजारको अवस्था के कस्तो रह्यो भन्ने हाल कुनै तथ्यांक छैन । देउवा त्यसपछि पुनः दोस्रो पटक २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८गतेसम्म प्रधानमन्त्री रहे । असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए । यो अवधिम नेप्से परिसूचक न्युनतम १८८.२२ बिन्दुदेखि उच्चतम ३५२.२५बन्दुमा रहेको थियो । देउवा पुनः वि.स २०६१ जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री भए । तर, पूर्व राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए । नियुक्त भएको दिन परिसूचक सामान्य अंकले बढेर २०९.१४ बिन्दुमा पुगेको थियो भने पदमुक्त भएको दिन बढेर २४७.२५ बिन्दुमा पुगेको थियो । यस कार्यकालमा भने नियुक्त हुँदाभन्दा पदमुक्त हुँदा परिसूचक बढेको थियो । त्यस्तै, देउवा चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएको र पदबाट बाहिरिएको दुबै दिन परिसूचक बढेको थियो । उनी २०७४ साल जेठ २३ गते चोथौ पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सो दिनको नेप्से परिसूचक बढेर १६३७.३७ बिन्दुमा पुगेको थियो । जेठ २२ गते १६०२.६५ बिन्दुमा रहेको परिसूचक एकैदिन ३४.७२ बिन्दुले बढेको थियो । नियुक्त हुँदा १६०० बिन्दु माथि रहेको परिसूचक बाहिरिँदा भने घटेर १४०० बिन्दुभन्दा तल झर्यो । उनले २०७४ फागुन ३ गते सरकारको नेतृत्वबाट राजीनामा दिए । सो दिनभने नेप्से परिसूचक ३६.०१ अंकले बढेर १४२४.९५ बिन्दुमा पुगेको थियो । जबकी अघिल्लो दिन अर्थात फागुन २ गतेको बजारमा परिसूचक १३८८.९४ बिन्दुमा रहेको थियो । हालको पुँजीबजार भने पर्ख र हेरेको अवस्थामा रहेको छ । प्रधानमन्त्री देउवा नेतृत्व सरकारको अर्थमन्त्रीमा पूर्व उर्जा जलस्रोत तथा सिचाइँमन्त्री जनार्दन शर्मा नियुक्त भएका छन् । अहिले प्रधानमन्त्री वा अर्थमन्त्री नियुक्तीलाई सेयर बजारमा त्यति धेरै असर नपार्ने लगानीकर्ताको भनाई छ । नेपाल पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरी पनि सरकार र अर्थमन्त्रीमा जो व्यक्ति आए पनि बजारमा खासै असर नपर्ने बताउँछिन् । ‘अहिलेको सिनारियो जस्तै राजनीतिक उतारचढाव लगायत अन्य जे कुरा आए पनि बढीमा २/३ दिन हो प्यानिक गराउने, त्यसपछि भने बजार आफ्नै लयमा फर्किने गरेको पाइन्छ, विगतका अभ्यास पनि यस्तै छन्,’ उनले भनिन् । त्यस्तै, नेप्सेमा सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आउने समय पनि नजिकिँदैछ । यसले पनि बजार घट्ने सम्भावना कम छ । सेयरको स्वर्णिम समय बैशाखदेखि भदौसम्मको समय सेयर बजारका लागि स्वर्णिम देखिएको विगतका अभ्यासहरुले देखाउँदै आएको छ । एउटा गज्जवको प्रशंग त के भने नवनियुक्त प्रधानमन्त्री शेर बहादुर पनि यही समयमै प्रधानमन्त्रीमा नियुक्त भएको विगत छ । हालसम्म उनी बैशाखदेखि भदौ महिनाको समयभित्रै नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी पाँचै पटक प्रधानमन्त्री हुँदा नै सो समयभित्र नियुक्त भए । सेयर बजार बढ्ने समयमा प्रधानमन्त्रीको रुपमा नियुक्त हुनु नै शेरबहादुर देउवाका लागि सकारात्मक पक्ष हाे ।
अर्थमन्त्रीका ९ महिनाः सेयर बजारका लागि सुखद्, उद्योगी व्यवसायीलाई राहतदेखि पपुलिष्ट बजेटसम्म
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारका एक जना महत्वपूर्ण सदस्य हुन् अर्थमन्त्री विष्णु पौडेल । ओलीका प्रिय पात्र समेत भनेर चर्चामा रहेका पौडेल आफ्नो ९ महिने कार्यकालबाट आज बाहिरिँदै छन् । गत वर्ष असोज २८ गते अर्थमन्त्रीमा नियुक्त भएका पौडेल आज (मंगलबार) पदमुक्त हुँदैछन् । सर्वोच्च अदालतले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छन् । उनी प्रधानमन्त्री भएसँगै अब एमाले सरकारका सबै मन्त्रीहरु स्वत: पदमुक्त हुनेछन् भने काँग्रेस, माओवादी र जसपाका नेताहरु मन्त्री बन्नेछन् । नेपाल सरकारको अर्थमन्त्रीको रुपमा नियुक्त भएपछि यो बिचमा पौडेल उपप्रधानमन्त्री, गृह, उद्योग र उर्जामन्त्री समेत बने । यो ९ महिनाको बिचमा उनले अर्थमन्त्रीका रुपमा के कस्ता काम गरे ? हामीले उनले गरेका कामहरुको चर्चा गरेका छौं । यस्ता छन् उनले गरेका कामः कात्तिक असोज २८ गते अर्थमन्त्रीमा नियुक्त भएपछि उनले पहिलो पटक तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतसँग बैठक राखे । सो बैठकले प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पताल निर्माण गर्ने र मंसीर १५ गते शिलान्यास गर्ने निर्णय गर्यो । त्यसका लागि आवश्यक बजेटको पनि उनले व्यवस्था गरे । कात्तिक १२ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेल, तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल लगायतको बैठक बस्यो । सो बैठकले २०७८ को असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गर्यो । पौडेलको अध्यक्षतामा कात्तिक २८ गते कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी अर्थ मन्त्रालयमा बैठक बस्यो । सो बैठकले सात दिनभित्र कोरोना बीमाको दाबी भुक्तानी दिने निर्णय गर्यो । सो निर्णयले धेरै कोरोनाबाट पीडीतहरुलाई थोरै भएपनि राहत महसुस भयो । तर, हालसम्म अधिकांश कोरोना पीडितले भुक्तानी पाइसकेका छैनन् । कात्तिक २० गते सबै संघीय र प्रदेश कार्यालयहरुमा विद्युतीय सरकारी लेखा प्रणाली र संघ र प्रदेशका सबै कार्यालयहरु तथा स्थानीय तहमा सार्वजनिक सम्पत्ती व्यवस्थापन प्रणाली लागू गर्ने निर्णय भयो । गत वर्ष कात्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनकै सिफारिसमा पुस्तकको भन्सार कर हटाउने, कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने, मन्त्रीहरुको तलबको ५० प्रतिशत कोरोना कोषमा जम्मा गर्ने, मितव्यिता सम्बन्धी कार्यविधि पारित, कोरोनाको खोप किन्नका लागि तयारी गर्न कमिटी बनाउने र मल कारखाना स्थापनाका लागि तयारी थाल्ने निर्णय भयो । यस्तै, बेरोजगार नागरिकलाई लक्षित गरी स्वरोजगारी र रोजगारीका कार्यक्रमहरु सम्बन्धित मन्त्रालयहरुसँगको परामर्शमा तयार पारी कार्यान्वयन गराउने, वैदेशिक रोजगारीमा गई फर्किएकाहरुको तथ्यांक संघीय मामिला मन्त्रालयमार्फत संकलन गर्ने निर्णय सो बैठकले गर्यो । कार्तिक २७ गते पनि मन्त्रिपरिषद्को बैठक बस्यो । सो बैठकले सहलगानी सम्बन्धी कार्यविधि स्वीकृत गर्यो । बैठकले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि स्वीकृत पनि स्वीकृत गर्यो । मंसिर शहरी विकास र वित्तीय क्षेत्रको स्थिरतालाई सहयोग र्पुयाउँदै आर्थिक पुनरुत्थानलाई बढावा दिन नेपाल सरकार र विश्व बैंकद्वारा ३५ करोड अमेरिकी डलर (करिब रु ४२ अर्ब) बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर सम्बन्धमा हस्ताक्षर भएको गर्यो । यस्तै, अर्थ मन्त्रालयद्वारा स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि ५७ अर्ब ९७ करोड बराबरको स्रोत सुनिश्चित गर्यो । मंसिर १० बाट कर्जा प्रवाहका लागि आवेदनका लागि सूचना प्रकाशन गर्ने निर्णय गर्यो । नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि २०७७ पारित भयो । यस्तै, मंसिरमा देशभर ३ सय ९ वटा आधारभूत अस्पतालको शिलान्यास समेत भयो । तीन वटा सरुवा रोग अस्पताल र १ अस्पतालको आकस्मिक कक्षको शिलान्यास पनि मंसिरमै भयो । पुस पुस पहिलो सातामा धितोपत्र बोर्ड, नेप्से र सिडिएससी लगायतका प्रमुखसँग बैठक बसेको थियो । पूँजी बजारको ब्रोकर कमिसन घटाउन निर्देशन अर्थमन्त्री पौडेलले दिए । नेपाल सरकार र विश्व बैंकबीच ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाका लागि साढे नौ अर्ब रुपैयाँ (आठ करोड अमेरिकी डलर) बराबरमा हस्ताक्षर भयो । नेपाल सरकार र एसियाली विकास बैंकबीच सम्झौता । भैरहवा विमानस्थल निर्माण लगायतका लागि १५० मिलियन अर्थात १७ अर्ब ७० करोड ऋण सहयोगमा हस्ताक्षर भयो । धितोपत्र बोर्डद्वारा ब्रोकर कमिसन घटाउने निर्णय सार्वजनिक पनि सोही महिना भयो । यस्तै, पुसमै विद्युतीय ग्रीड आधुनिकीकरणका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौता भयो । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक पनि पुसमा बस्यो । आर्थिक पुनरुत्थानका लागि ल्याइएका कर्जाहरुको अधिकतम पहुँच लक्षित वर्गमा पुर्याउने निर्णय समेत पुसमा बसेको निर्णयले गर्यो । माघ माघ महिनामा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गर्यो । यस्तै, माघ १६ गते पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरु सहित अर्थ मन्त्रालयमा छलफल गरेर कोरोनाका कारण कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्यो । माघ ७ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेल, तत्कालिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट , कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बैठक बसेर नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारी सम्बन्धी छलफल भयो । मल आयातमा सके बैठकले महत्वपूर्ण काम गर्यो । माघ १० गते अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गर्यो । २०७७ पुससम्ममा पूँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ (१४.४० प्रतिशत) र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ (३६.०८ प्रतिशत) । वित्तीय व्यवस्था २२ अर्ब ५७ करोड रुपैयाँ (१३.०६) प्रतिशत । यस्तै, माघ १९ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुसँग छलफल भयो । भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन दियो । सो काम अहिले अगाडि बढिसकेको छ । यस्तै रिक्त रहेको बीमा समितको अध्यक्षमा पूर्व सचिव सूर्यप्रसाद सिलवाललाई पनि माघमै नियुक्त गर्यो । माघ २७ गते निर्वाचनका लागि ७ अर्बको स्रोतको सुनिश्चिता गर्यो । माघमै बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक भयो । माघ २९ गते उनले गैरआवासीय नेपालीसंघ संघका पदाधिकाकारीसँग भेटघाट गरे र उनीहरुले देशको पूर्वाधार क्षेत्रमा लगानीका लागि स्थापना गरिने १० अर्बको कोषमा सरकारले ५ प्रतिशत लगानी गर्ने निर्णय भयो । फागुन अर्थ मन्त्रालयद्वारा १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासाका लागि स्वीकृत गर्यो । चैत चैतमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना र सञ्चालन गर्न सकिने सुझाव दिए । चैत्र ६ गते सरकार र विश्व बैंकबीच “समृद्धिका लागि वन” आयोजनाका लागि २ अर्ब ८० करोड रूपैंयाँ )२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौतापत्रमा हस्ताक्षर भयो । चैत्र २० गते कोभिड–१९ को खोपका लागि नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ बराबरको वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भयो । २०७८, वैशाख नेपालमा पूर्वाधार , उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डको स्थापनाको घोषणा भयो । अर्थमन्त्री पौडेलद्वारा लगानीदूतको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे । वैशाख ३१ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा पुन पदबहाली भए । जेठ कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयद्वारा ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति भयो । जेठ ३ गते कोभिडका बेला भन्सारलाई छिटो छरिता बनाउने सन्दर्भमा भन्सार विभाग र यस अन्तर्गतका निकायहरुसँग छलफल भयो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिए । जेठ ७ गते अर्थ मन्त्रालयद्वारा १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि अर्थ मन्त्रालयले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति भयो । जेठ १० गते अर्थ मन्त्रालयद्वारा अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति भयो । जेठ १३ गते अर्थ मन्त्रालयद्वारा कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको थप व्यवस्था गर्न ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित भयो । जेठ १४ गते अर्थ मन्त्रालयद्वारा आर्थिक सर्वेक्षण सार्वजनिक भयो । यस्तै, जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९का लागि १६ खर्ब ४७ अर्बको बजेट प्रस्तुत गरे । जसलाई धेरैले पपुलिष्ट बजेट भनेर चर्चा गर्दै आएका छन् । जेठ १९ गते खानीजन्य सामग्रीको निकासी सम्बन्धी अर्थ मन्त्रालयद्वारा प्रेस विज्ञप्ति जारी गरे । जेठ २१ उनलाई प्रधानमन्त्री ओलीले उपप्रधानको जिम्मेवारी दिए । जेठ २३ गते अर्थ मन्त्रालयद्वारा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल बैङ्कर्स एशोशियसनका पदाधिकारीहरूसँग छलफल गरेर स्टार्टअप व्यवसाय र कार्यस्थलमा आधारित तालिम तथा रोजगारी कार्यक्रम सम्बन्धी गृहकार्य गर्न कार्यदल गठन भयो । असार असार १० गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरे । उपप्रधानमन्त्री विष्णु पौडेललाई गृह मन्त्रालय सहित ४ मन्त्रालयको जिम्मेवारी दिइयो । अर्थ मन्त्री रहेका पौडेललले गृह सहित उद्योग, वाणिज्य तथा आपूर्ति तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाए । असार १८ गते अर्थ मन्त्रालयद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म रुपैयाँ खर्च गर्ने गरी सहमति भयो । तर, नयाँ सरकार आएसँगै निर्वाचन स्थगित भइसकेको छ । अर्थमन्त्री पौडेलको ९ महिने कार्यकाल सेयर बजारका लागि पनि सुखद नै बन्यो । यो अवधिमा सेयर बजारले पनि विभिन्न समयमा नयाँ रेकर्डहरु स्थापित गर्न सफल भयो । उद्योगी व्यवसायीहरु पनि उनीदेखि रुष्ट भएनन् । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यशैलीले आजित बनेका लगानीकर्ता र उद्योगी व्यवसायीका लागि अर्थमन्त्री पौडेल प्यारा बने । उनले विभिन्न नीतिहरु ल्याउँदा होस् बजेट नै ल्याउँदा किन नहोस् लगानीकर्ता र उद्योगी व्यवसायीको मर्म बुझेर ल्याए । परिणामस्वरुप उनीप्रति व्यवसायी खुसी भए । यो बिचमा विदेशी दातृ निकायहरुसँगको सम्बन्ध समधुर बनाउन पनि उनले उल्लेख्य भूमीका खेले । समग्र रुपमा अर्थमन्त्रीको यो ९ महिने कार्यकाल उनका लागि सुखद भएको महसुस सबैले गरेका छन् ।
सेयर बजारमा विकास बैंक खोज्दा ईपीएस पर्यो प्राथमिकतामा, कुनको कति ?
काठमाडौं । आज (बिहीबार) लगाानीकर्ताको मुख्य लगानीको क्षेत्र विकास बैंक देखिएका छन् । विकास बैंकहरुमा पनि प्रति सेयर आम्दानी (ईपीएस) बढी भएका बैंकहरुमा लगानीकर्ताको आकर्षण बढेको हो । बिहीबार मात्रै सेयर बजारमा विकास बैंक सब-इन्डेक्स सबैभन्दा बढेको छ । आज विकास बैंकको सब–इन्डेक्स हिजो बुधबारको तुलनामा ८९ दशमलब ५७ अंक अर्थात २ दशमलब १२ प्रतिशतले बढेको छ । नेप्सेमा सुचिकृत १६ वटै विकास बैंकहरुको सेयर मूल्य बुधबारको तुलनामा अधिकतम १८ रुपैयाँसम्म बढेको छ । विशेष गरेर सबैभन्दा बढी ईपीएस भएका विकास बैंकहरुको सेयरमूल्य आज धेरै बढेको देखिएको हो । विकास बैंकहरुको सेयर मूल्य बुधबारको तुलनामा १ रुपैयाँदेखि १८ रुपैयाँसम्म बढेको देखिएको छ । आज सबैभन्दा बढी सेयरमूल्य बढ्नेमा महालक्ष्मी विकास बैंक देखिएको छ । जसको प्रतिसेयर आम्दानी १६.१० रुपैयाँ छ । यस्तै, सबैभन्दा बढी ईपीएस भएको कामना सेवा बैंकको आज सेयर मूल्य आज १२ रुपैयाँले बढेको छ । गरिमा विकास बैंकको १० रुपैयाँ बढेर ५१४ रुपैयाँ सेयर मूल्य कायम भएको छ । ज्योति विकास बैंकको १० रुपैयाँ बढेर ४४५ रुपैयाँ कायम भएको छ । तर, ईपीएस कम भएको कर्पोरेट डेभलपमेन्ट बैंकको सयर मूल्य आज ३० रुपैयाँले घटेको छ । जसको इपीएस ६.७१ रुपैयाँ मात्रै छ । आज कर्पोरेटको सेयर मूलय ८ सय रुपैयाँमा झरेको छ । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य ११ रुपैयाँले बढेको छ । बैंकको सेयर मूल्य ६२५ रुपैयाँ पुगेको छ । जसको ईपीएस २७.८७ रुपैयाँ छ । कुन विकास बैंकको ईपीएस कति ? विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सबैभन्दा बढी ईपीएस भएको विकास बैंकका रुपमा कामना सेवा विकास बैंक रहेको छ । जसको प्रति सेयर आम्दानी २९.४७ रुपैयाँ रहेको छ । आज सो बैंकको सेयरमूल्य ५२५ रुपैयाँ पुगेको छ । यस्तै, दोस्रो बढी ईपीएस हुने विकास बैंककाे रुपमा मुक्तिनाथ विकास बैंक छ । बैंकको ईपीएस २७.८७ रुपैयाँ रहेको छ । यस्तै, गरिमा विकास बैंकको ईपीएस २४.६० रुपैयाँ रहेको छ । यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको ईपीएस १९.३६ रुपैयाँ छ । आज सो बैंकको सेयर मूल्य ७७९ पुगेको छ । आज एक्सेलको सेयर मूल्य ५ रुपैयाँ बढेको छ । महालक्ष्मी विकास बैंकको सेयर मूल्य ४२३ छ । यो बैंकको ईपीएस भने १६.१० रुपैयाँ छ । के हो ईपीएस ? प्रतिसेयर आम्दानी (ईपीएस) लगानीकर्तालाई प्रतिफल दिने आधार हो । लगानीकर्ताले कम्पनीको ईपीएसकै आधारमा पनि लगानी गर्ने गरेका छन् । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफल नै प्रति सेयर आम्दानी हो । प्रति सेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पूँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय विवरणमा राख्छ । कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीले लगानीको प्रतिफल कति दिन्छ भन्ने आधारमा लगानी गर्ने अभ्यास छ । तर, ईपीएस नै लगानीका लागि सबैथोक हुन सक्दैन । कतिपय थोरे ईपीएस भएका कम्पनीको सेयर मूल्य धेरै पनि छ । आज सेयर बजारमा भने बढी ईपीएस भएका विकास बैंकमा नै लगानीकर्ताको आकर्षण देखिएको हो ।
पुँजी बजारले गरेको माग राष्ट्र बैंकले पूरा गरिदिए सेयर बजारमा फेरि उछाल आउने
काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको अन्तिम तयारीमा छ । राष्ट्र बैंकले ढिलोमा पनि साउन पहिलो साता आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति ल्याउँदैछ । चालु आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले उद्योगी, व्यवसायी लगायत निजी क्षेत्रलाई विशेष राहतका कार्यक्रम ल्याएको थियो । गत वर्षको कोभिड महामारीको पहिलो लहरले थला परेको अर्थतन्त्र उकास्न राष्ट्र बैंकको नेतृत्वदायी र अग्रणी भूमिका देखिएकोले यसपाली पनि त्यसै प्रकारको अपेक्षा सरोकारवालाले गरेका छन् । यसपाली नेपालको पुँजी बजारले पनि मौद्रिक नीतिसँग केही विशेष अपेक्षा गरेको छ । पुँजी बजारका लगानीकर्ताले मौद्रिक नीतिसँग विशेष गरेर ३ वटा विषयमा सकारात्मक नीतिगत व्यवस्थाको आशा गरेका छन् । ‘सेयर धितो कर्जामा अहिले गणना हुने गरेको १८० दिनको औसत मूल्यलाई पहिलाको जस्तै गरी १२० दिनको औसत मूल्य गणना गर्ने व्यवस्था मिलाइदिनु पर्यो, सेयर धितो कर्जामा धितो मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था छ, यसलाई बढाएर कम्तिमा पनि ७५ प्रतिशत बनाइदिनु पर्यो र पुँजी बजारसँग सम्बन्धित विषयमा निर्णय गर्दा यो क्षेत्रको सुधार र स्थायित्व हुने गरी दीर्घकालिन सोचका साथ सरोकारवाला नियामक र नीति निर्माणहरुले एकमत भएर निर्णय गरिदिनु पर्यो भन्ने हाम्रो सुझाव छ,’ नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार भन्छन् । आफूहरुले दिएको सुझावको आधारहरु पनि रौनियारले प्रस्तुत गरे । ‘पहिला विगत १२० दिनको औसत मूल्यका आधारमा सेयर धितोको मूल्यांकन हुने व्यवस्था थियो, अहिले परिवर्तन गरेर १८० दिनको औसत मूल्य भनिएको छ, खाइपाइ आएको सुविधा कटौति गर्न पाइदैन, त्यसैले पहिलाको जस्तै गरी १२० दिनको औसत मूल्यकै आधारमा धितो मूल्यांकन गर्ने व्यवस्था गरिदिनुस् भन्ने हाम्रो कुरा हो,’ अध्यक्ष रौनियारले भने । यस्तै, उनले अहिलेको मार्जिन कर्जाको सीमा ७० प्रतिशतबाट बढाएर ७५ प्रतिशत बनाउनु पर्ने बताए । आफूहरुले विगतमा ८० प्रतिशत हुनुपर्छ भनेर माग गरेको भएपनि त्यसमा पनि सम्झौता गरेर ७५ प्रतिशत कायम गर्न आफूहरु तयार रहेको उनको भनाई छ । ‘अहिले बैंकिङ क्षेत्रबाट सेयर धितोमा ९२ अर्ब रुपैयाँ कर्जा गएको छ भनिन्छ, बैंक वित्तीय संस्थाहरुले ५ खर्ब रुपैयाँसम्म सेयर धितो कर्जा दिन सक्ने अवस्था छ, बैंक वित्तीय संस्थाहरुले कर्जा दिन सक्ने अवस्था भएपनि राष्ट्र बैंकको नीतिगत व्यवस्थाले रोकेको छ, त्यसैले सेयर धितो मूल्यांकनको कम्तिमा पनि ७५ प्रतिशत कर्जा दिने व्यवस्था गरौं भनेका हौं,’ रौनियारले भने । इन्भेष्टर फोरमले पुँजी बजारलाई तत्काल प्रभाव पार्ने प्रकारका निर्णयहरु नगर्न पनि राष्ट्र बैंकलाई सुझाव दिएको छ । अहिले पुँजी बजारको आकार ४० खर्ब रुपैयाँ बराबर भएको एकै दिन २० अर्ब रुपैयाँसम्मको कारोबार भएको, मासिक १ अर्ब रुपैयाँ हाराहारीमा पुँजीगत लाभकर उठिरहेको र कुल जनसंख्याको १५ प्रतिशतले सेयर बजारमा हात हालिसकेकोले यो क्षेत्रलाई गम्भीर रुपमा लिनुपर्ने फोरमको भनाई छ । ‘आगामी वर्षको बजेटको साढे २ गुणा ठूलो र कुल गार्हस्थ उत्पादनको ८५ प्रतिशतको हाराहारीमा नेपालको पुँजी बजार पुगेको छ, ३७ लाख जनताले डिम्याट खाता खोलेका छन् भने ७ लाखले अनलाइन कारोबारको अनुमति लिएका छन्, दैनिक १ अर्ब रुपैयाँको हाराहारीमा पुँजीगत लाभकर उठिरहेको छ, यस्तो बजारलाई तत्काल बढ्ने वा तत्काल घट्ने जस्ता असर पर्न नदिने गरी दीर्घकालिन सुधार र स्थायित्व हुने प्रकारका नीतिगत व्यवस्थाहरु गर्नुपर्छ, हामीले मौद्रिक नीतिको लागि दिएको सुझाव पनि यही हो,’ फोरमका अध्यक्ष रौनियारले भने । अहिलेको व्यवस्थामा पुनरावलोकन गरी सेयर धितो कर्जा धितो मूल्यांकनको ७५ प्रतिशतसम्म दिन पाउने र अहिलेको१८० दिनको कारोबार मूल्यलाई आधार मान्ने व्यवस्था हटाएर १२० दिनमा झार्ने हो भने पुँजी बजारमा अहिलेको भन्दा १० देखि १५ प्रतिशत लगानी सिर्जना हुने अनुमान लगानीकर्ताको छ । एफएनसीसीआई निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सेयर बजारसँग सम्बन्धित व्यवसायीको सुझाव अनुसार अगाडि बढ्न राष्ट्र बैंकलाई आग्रह गरेको छ । ‘अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण क्षेत्रको रुपमा रहेको तथा आम सर्वसाधारणको चासोका रुपमा रहेको सवारी, रियलस्टेट र सेयर कर्जाको विकास, विस्तार एवं सुरक्षाका लागि सम्बन्धित क्षेत्रका व्यवसायीहरुसँग छलफल गरी आवश्यक व्यवस्था गर्नुपर्ने,’ एफएनसीसीआईको सुझावमा उल्लेख छ । बैंकहरुको माग वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संस्था नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले दिएको सुझावले पनि पुँजी बजारमा सकारात्मक असर पर्ने देखिन्छ । एनबीएले बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स दिनुपर्ने सुझाव दिएको छ । कतिपय देशहरुमा बैंकहरुले धितोपत्र ब्रोकरको कार्यहरु गर्दै आएका भन्दै एनबीएले नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार सोका लागि केही बैंकहरुले सहायक कम्पनीहरु समेत खोलिसकेको अवस्थाको स्मरण गराएको छ । ‘सहायक कम्पनीहरुले देशका कुना कुनामा छरिएका वाणिज्य बैंकहरुका शाखा मार्फत् ग्रामीण क्षेत्रमा पनि पुँजी बजारलाई विस्तार गर्न सक्दछन् तर, वाणिज्य बैंकका सहायक कम्पनीले हाल नियमानुसार निवेदन दिएर पनि ब्रोकर लाइसेन्स पाउन नसकेको अवस्था छ, यसका लागि राष्ट्र बैंकबाट समेत पहल भएमा वित्त बजारलाई सहयोग पुग्ने देखिन्छ,’ एनबीएको सुझावमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र बजारमा खरिद गरेको १ वर्ष व्यतीत भएका सेयर वा डिबेञ्चर लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउने व्यवस्थामा पुनर्बीचार गर्न पनि एनबीएले सुझाव दिएको छ । अहिलेको व्यवस्थाले कुनै निश्चित कम्पनीको वित्तीय अवस्थाका कारण सो कम्पनीको सेयर वा डिबेञ्चरमा गरेको लगानीबाट भविष्यमा उचित प्रतिफल प्राप्त हुन नसक्ने अवस्थामा समेत सो लगानी विक्री नगरी बैंककै स्वमित्वमा राखिरहनुपर्ने अवस्था सिर्जना हुने भएकाले पुनर्बीचार गर्नुपर्ने एनबीएको तर्क छ । एनबीएले १ वर्ष व्यतीत भएका (अल्पकालिन बाहेक) सेयर वा डिबेञ्चर बिना बन्देज बिक्री गर्न पाउने व्यवस्था गर्न सुझाव दिएको छ । एनबीएको सुझाव कार्यान्वयनमा आए पुँजी बजारमा आपूर्ति कम भइ सेयरको मूल्य बढ्ने हुन सक्छ । विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागी लगानी गरिएको ‘घ’ वर्गको वित्तीय संस्थाको संस्थापक सेयर तोकिएको प्रक्रिया बमोजिम नियामक निकायको स्वीकृति पश्चात् साधारण सेयरमा परिणत भएमा उपरोक्त साधारण सेयर बराबरको लगानी बिक्री÷विनिवेश गर्नु पर्ने व्यवस्थालाई ऐच्छिक बनाउन पनि एनबीएले सुझाव दिएको छ । विकास बैंक विकास बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसनले दिएका सुझाव पनि पुँजी बजारलाई हौस्याउने प्रकारको देखिएको छ । एसोसिएसनले दिएको सुझावमा बिकास बैंकका लागि हकप्रद सेयर जारी गर्न दिने व्यबस्था मिलाउनु उपयुक्त हुने भनिएको छ । विकास बैंकहरुको संख्या नेपाल राष्ट्र बैंकले ल्याउन चाहेको अबस्थामा आइसकेको, मर्जर वा प्राप्तिको माध्यबाट थप पुँजी जुटाउने अवस्था लगभग नरहेको, बोनस सेयर वा संचित नाफाले मात्र व्यवसाय बिस्तारलाई अप्रयाप्त हुने देखिएको र चुक्ता पुँजी बृद्धि गर्दा बिकास बैंकहरु थप सबल भइ बैंकिङ् प्रणालीलाई नै सबल गराउन सहयोग पुग्ने देखिएकोले हकप्रद जारी गर्न दिनुपर्ने एसोसिएसनको तर्क छ । नेपाली लगानीकर्ताहरु कुनै पनि संस्थाले हकप्रद जारी गर्न लाग्यो भन्ने थाहा पाए भने त्यही संस्थाको सेयरमा झुम्मिने गरेका उदाहरण धेरै छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको सुझाव अनुसार विकास बैंकहरुलाई हकप्रद जारी गर्ने बाटो राष्ट्र बैंकले खुलायो भने उनीहरुको सेयर मूल्य बढ्ने देखिन्छ । खरिद गरिएको सेयर होल्ड गर्ने समय नयूनतम ३ महिना गर्नु उपयुक्त हुने सुझाव एसोसिएसनले दिएको छ । सेयर खरिद गर्न पाउने तर उपयुक्त समयमा बेच्न नपाउने व्यवस्था उपयुक्त नहुने भएकोले कोर क्यापिटलको १ प्रतिशत मात्र बिक्री गर्न पाउने हालको व्यवस्था हटाउनु उपयुक्त हुने सुझाव एसोसिएसनको छ । बैंक तथा वित्तीय संस्थाले संस्थापक सेयरमा गरेको लगानी पछि साधारण सेयरमा परिणत भएपनि विपन्न वर्गमा गरिएको लगानीमा गणना गर्न दिनु उपयुक्त हुने र त्यस्तो साधारण सेयर २०७८ पुस मसान्तभित्र बेचिसक्नु पर्ने भन्ने व्यवस्था हटाउनु उपयुक्त हुने सुझाव डेभलपमेन्ट बैंकर्स एसोसिएसनको छ । यस्तै, एसोसिएसनले सेयर कारोबारका लागि विकास बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स दिन माग गरेको छ । हाल सेयर कारोबारका लागि शहरी क्षेत्रभन्दा वाहिर शहरोन्मुख क्षेत्र लगायत ग्रामीण क्षेत्रहरुमा वसोबास गर्ने व्यक्ति तथा संस्थाहरु समेत इच्छुक भई कारोवारमा सहभागी हुने क्रम वढ्दै गइरहेको, ग्रामीण क्षेत्रमा समेत संजाल भएका विकास बैंकहरुलाई आफ्नो सहायक कम्पनी खोली सेयर कारोबार गर्न ब्रोकरको लाइसेन्स दिने नीतिगत व्यवस्था भएमा ग्रामीण क्षेत्रमा वसोवास भएका व्यक्तिहरु लाभान्वित हुने देखिएको एसोसिएसनको भनाई छ । पुँजी बजारसँग सम्बन्धित निकाय र संस्थाहरुले मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई दिएको सुझाव कार्यान्वयन भए सेयर बजारमा सकारात्मक प्रभाव पर्ने र सेयर बजारमा उछाल आउने देखिन्छ ।
बैंकहरुको पुँजी बृद्धि वहसः राष्ट्र बैंकको गृहकार्य कि सेयर बजार बढाउने मेलो ?
काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बृद्धिको हल्लाले बजार पिटेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकहरुको न्यूनतम चुक्ता पुँजी यति पुर्याउँदै छ र उति पुर्याउँदै छ अनुमान सामाजिक संजालदेखि संचार माध्यमहरुमा समेत आउन थालेका छन् । अहिलेका गभर्नर महाप्रसाद अधिकारी डेपुटी गभर्नरको जिम्मेवारीमा रहेको अन्तिम वर्ष वाणिज्य बैंकहरुको चुक्ता पुँजी ४ गुणाले बढाएर कम्तिमा ८ अर्ब रुपैयाँ हुनै पर्ने व्यवस्था गरिएको थियो । गभर्नर अधिकारीले आफ्नो कार्यकालको दोस्रो मौद्रिक नीति सार्वजनिक गर्ने समय नजिकिदै गर्दा फेरि चुक्ता पुँजी बृद्धिको बहसले प्राथमिकता पाएको छ । चुक्ता पुँजी बृद्धि नेपाल राष्ट्र बैंक आफैले चलाएको बहस हो । राष्ट्र बैंकले केही साताअघि बैंक तथा वित्तीय संस्थाहरुका संचालक समिति अध्यक्षहरु, संचालकहरु र उच्च व्यवस्थापन तहका अधिकारीहरुलाई १३ बुँदे प्रश्नावली पठाएको थियो । सो प्रश्नावलीको उदेश्य राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या कम गर्न खोजेको र त्यसको लागि आधार तयार पार्ने पहल गरे जस्तो देखिन्छ । राष्ट्र बैंकले बैंक संचालक समिति र उच्च व्यवस्थापन तहका अधिकारीहरुलाई प्रश्न पठाएपछि बैंकहरुको संख्या कम गर्न लागेको भन्ने विश्लेषण पनि बजारमा हुन थालेको छ । राष्ट्र बैंकले अहिलेसम्म लिएको मर्जर तथा एक्वीजीसन नीतिले विकास बैंक र फाइनान्स कम्पनीको संख्या घटाए पनि वाणिज्य बैंकहरुको संख्या खासै घटेन । कतिपय विश्लेषकहरुले वाणिज्य बैंकहरुको संख्या नघटेको कारण बजारमा अहिले अस्वस्थ प्रतिस्पर्धा भइरहेको टिप्पणी गर्ने गरेका छन् । ‘बजारमा कर्जा खोसाखोसको अवस्था छ, व्यवसाय बढाउनु पर्ने बाध्यताका कारण १ करोड रुपैयाँ कर्जा दिँदा हुने परियोजनाको लागि २ करोड रुपैयाँ कर्जा दिने गरिएका उदाहरण भेटिएका छन्, मर्जर तथा एक्वीजीसन नीतिले फाइनान्स कम्पनी र विकास बैंकको संख्या निकै घटायो, यो क्षेत्रमा अहिले समस्या कम देखिन्छ, अहिले बढी समस्या देखिएको वाणिज्य बैंकहरुमै हो, त्यसैले संख्या बढी हो भन्ने अनुभव गरिएको छ,’ एक पूर्व बैंकरले भने । बैंकहरुको संख्या बढी भएको हो कि राष्ट्र बैंकलाई नियमन गर्न गाह्रो भएको कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको हो भन्ने प्रश्नमा भने उनी दोस्रो कारणलाई कारक मान्छन् । ‘विगतमा राष्ट्र बैंकले मर्जर र एक्वीजीसन नीति सार्वजनिक गरेपछि पनि वाणिज्य बैंकहरुको लाइसेन्स दिइरहेको थियो, बैंक वित्तीय संस्थाको संख्या २ सयको हाराहारीमा पनि राष्ट्र बैंकले नै पुर्याएको हो, अहिले घटाएको पनि राष्ट्र बैंकले नै हो, फेरि घटाउन खोजिदैछ, यसलाई नीतिगत अस्थीरता भनेर एक प्रकारको आरोप लगाउन सकिने भयो भने अर्काे कुरा राष्ट्र बैंकले प्रभावकारी नियमन गर्न नसक्ने देखेपछि संख्या घटाउन लाग्यो भनेर पनि बुझ्न सकिने भयो,’ ती पूर्व बैंकरले भने । उनले संख्या घटाउने भनेर नियामक निकायले सार्वजनिक रुपमा भन्नुभन्दा आफ्नो बलियो उपस्थिति देखाएर गलत काम गर्न नदिने विकल्पमा जानु उपयुक्त हुने धारणा राखे । ‘कुनै बैंकको चुक्ता पुँजी २५ अर्ब रुपैयाँभन्दा बढी हुने भइसक्यो, धेरै बैंकहरुले १५ अर्ब रुपैयाँभन्दा बढीको चुक्ता पुँजी पुर्याइसकेका छन्, राष्ट्र बैंकले कम्तिमा ८ अर्ब रुपैयाँ हुँदा पुग्छ भनेको अवस्थामा बैंकहरुले सोभन्दा बढी किन पुर्याए ? किनभने उनीहरुलाई व्यवसाय विस्तारको लागि आवश्यक रहेछ भन्ने महसुस भयो, त्यसैले राष्ट्र बैंकले ४÷५ वर्षको अन्तरालामा चुक्ता पुँजी बढाउने व्यवस्था गर्नुभन्दा प्रुडेन्ट बैंकिङ भएको छ कि छैन भनेर प्रभावकारी नियम गर्नु उपयुक्त हुन्छ होला,’ ती पूर्व बैंकरले थपे । एक वाणिज्य बैंकका संचालकले भने चुक्ता पुँजी बृद्धिको लागि राष्ट्र बैंकले कस्तो अवधारणा ल्याउछ भन्ने विषय प्रमुख रहेको बताए । ‘वाणिज्य बैंकको लागि न्यूनतम चुक्ता पुँजी ५० करोड रुपैयाँ हुनुपर्छ भनेको बेलामा मैले १ करोड रुपैयाँ लगानी गरेको थिएँ होला, त्यसबाट बढाएर २ अर्ब रुपैयाँ पुर्याइयो, फेरि बढाएर ८ अर्ब रुपैयाँ पुर्याइयो, अब फेरि बढाउने ? मसँग अरु पैसा छैन भने कहाँबाट ल्याएर हाल्ने ? बैंकहरुले कमाएको नाफा बाढ्न नपाउने र त्यसैबाट पुँजी बढाउने भन्ने व्यवस्था गरियो भने ठिकै होला, फेरि पनि पैसा हाल भनियो भने अहिलेको अवस्थामा त्यति राम्रो सन्देश जान्छ जस्तो मलाई लाग्दैन,’ ती संचालकले भने । उनले पनि बैंकहरुको संख्या घटाउनको लागि राष्ट्र बैंकले प्रयास गर्नु ठीक नहुने धारणा राखे । राष्ट्र बैंकले आफ्नो नियामकीय र सुपरीवेक्षण क्षमता बढाएर बैंकहरुलाई अवस्थ प्रतिस्पर्धा गर्न नदिने हो भने सक्ने बैंक आफै बाँच्ने र नसक्नेहरु आफै पाटर्नर खोजेर मर्जर वा एक्वीजीसनमा जाने उनको भनाई छ । यस्तो गर्नु राम्रो हुने उनले सुझाए । राष्ट्र बैंककै केही अधिकारीहरु व्यक्तिगत रुपमा भने अहिले बैंकहरुको पुँजी बढाउने समय नभएको बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कस्तो नीति ल्याउने भन्ने तह हुने भएकोले आफूहरुको व्यक्तिगत धारणा सार्वजनिक गर्दा सकारात्मक सन्देश प्रवाह नहुने ती अधिकारीको भनाई छ । ‘हामी अहिले कोभिड महामारीको चपेटामा छौं, अहिलेको आवश्यकता भनेको बैंक स्वयमको र अन्य क्षेत्रको विजनेस रिकभरी हो, अहिले बैंकहरुको चुक्ता पुँजी बढाउने भन्दा कस्तो सन्देश प्रवाह हुन्छ ? यसले हाम्रा तत्कालिन र दीर्घकालिन योजना र रणनीतिहरुलाई कति फाइदा पुग्छ ? यस्ता विषय हेरेर उपयुक्त कदम चाल्नुपर्ने अवस्था छ,’ उनले भने । ती अधिकारीका अनुसार बैंकहरुको चुक्ता पुँजी बढाउँदा अहिले देखिएको समस्या समाधान हुन्छ भन्ने आधार यकिन नभई यस्तो निर्णय गर्नु हुँदैन । ‘अहिले हाम्रो अर्थतन्त्रले सस्तो व्याजदरमा प्रसस्त कर्जा खोजेको छ, अर्थतन्त्रमा थप लगानीको आवश्यकता छ, यस्तो बेलामा बैंकहरुको पुँजी बढाउने वा थप पैसा हाल्न लगाउने हो भने आफै सस्टेन गरेको बैंकिङ क्षेत्रमा थप पुँजी केन्द्रीकृत हुने जोखिम एकातिर छ भने अर्काेतिर बैंकहरुको पुँजी बढाउँदा व्याजदर सस्तो हुन्छ ? कर्जा प्रवाह बढ्छ ? तरलता उपलब्धता बढी हुन्छ ? मेरो बिचारमा अहिले पुँजी बढाएर यी समस्याको समाधान हुँदैन,’ उनले थपे । नेपाल राष्ट्र« बैंकका प्रवक्ता देवकुमार ढकालले राष्ट्र« बैंकहरुले बैंक तथा वित्तीय संस्थाहरुको संख्या कति हुनु पर्छ भन्ने विषयलाई लिएर बैंकरको धारणा लिएको बताए । ‘हामीले बैंकहरूको संख्या कति हुनु पर्छ भन्ने विषयलाई आधार बनाएर प्रश्नावली पठाएका हौं, अब मौद्रिक नीति मार्फत के कस्तो व्यवस्था गर्न सकिन्छ, हामी अध्ययनमा छौं, अहिले नै यसरी नै जान्छौं भन्न सकिन्नँ,’ उनले भने । सेयर बजार बढाउने मेलो बैंकहरुको चुक्ता पुँजी बढाउने बहस व्यापक रुपमा सेयर बजारमा चलेको छ । अहिले बैंकहरुलाई हकप्रद सेयर जारी गर्न रोकिएको छ । तर, बैंकहरुको चुक्ता पुँजी बढाउने नीतिगत व्यवस्था भयो भने हकप्रद सेयर जारी गर्ने बाटो खुल्ने र त्यसले सेयर बजार बढाउन सहयोग गर्ने बजारका केही खेलाडीको आंकलन छ । ‘बैंकहरुको पुँजी बढाउने नीतिगत व्यवस्था भयो भने त हकप्रद जारी गर्ने बाटो खुल्छ नै, बैंकहरुले हकप्रद जारी गर्ने भए भने सेयरको मूल्य बढ्छ, अहिले बैंकहरुको सेयरको मूल्य खासै नबढ्दा त बजारको अवस्था यस्तो भने उनीहरुको मूल्य बढ्यो भने नेप्से ५ हजारभन्दा माथि पुग्छ, बजार बढ्दा सबैलाई फाइदा हुन्छ नि,’ ती लगानीकर्ताले भने ।
सेयर बजारमा साना तथा नयाँ लगानीकर्ताले गर्ने केही गल्तीहरु
मानिसको जीवन जन्मेदेखि नमरुञ्जेलसम्म सिकाई प्रक्रियामै रहेको हुन्छ । र, सय प्रतिसत परिपक्कता भन्ने कुरा कुनै व्यक्तिमा पनि हुदैन । सेयर बजारमा पनि अनुभवी र जानकार लगानीकर्ताहरुले पनि गल्ती गरिरहेका हुन्छन् । तथापि उनीहरुले गर्ने गल्ती धेरै कम हुन्छ । र, ती गल्तीहरुबाट पाठ सिकिरहेका हुन्छन् । तर, साना तथा नयाँ लगानीकर्ताले गर्ने गल्ती धेरै हुन्छन् । सो गल्ती गरेबापत ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । तसर्थ, साना तथा नयाँ लगानीकर्ताहरुले लगानी गर्दा विशेष ध्यान दिनु आवश्यक हुन्छ । तसर्थ, म यहाँ सामान्य रुपमा साना तथा नयाँ लागानीकर्ताहरुले गर्ने केही गल्तीहरुको बारेमा केही कुरा राख्न चाहन्छु । १. सामान्य जानकारी बिना बजार प्रवेश गर्नु धेरै नयाँ लागानीकर्ता सेयर बजार सम्बन्धी सामान्य जानकारी बिना नै बजार प्रवेश गरेको पाइन्छ । तपाईंले सेयर बजार प्रबेश गर्दा ठेलीका ठेली पुस्तक पढ्नु पर्छ भन्ने होइन । तर, यदि तपाई सफल हुन चाहनु हुन्छ भने सामान्य जानकारी हुनुपर्छ । जस्तो, सेयर बजार कसरी चल्दछ ? सेयर मूल्यमा के के कुराले असर पुर्याउँछ ? कम्पनीको आधारभूत विश्लेषण कसरी गर्ने ? इत्यादि । तसर्थ, सेयर बजारमा छिर्नु अगाडी बजार सम्बन्धी जानकारी मात्र लिएर छिर्नु पर्दछ । २. सेयर बजारबाट चाहिनेभन्दा बढी र छिटो प्रतिफलको आशा गर्नु हामीलाई थाहा छ, सेयर बजारमा जोखिम र प्रतिफल बढी हुन्छ । तर, चाहिनेभन्दा बढी र छिटो प्रतिफलको आशा गरेर सेयर बजारमा छिर्दै हुनुहुन्छ भने त्यो तपाईंको लागि घातक हुन सक्छ । त्यसैले एउटा तथ्यपरक प्रतिफल र सो प्रतिफल प्राप्त गर्न लाग्ने समयको विचार पुर्याउनु होस् । यसै सन्दर्भमा एउटा रोचक प्रसंग उल्लेख गर्न चाहन्छु । एकचोटी वारेन बफेटलाई कसैले सोध्यो– तपाईले यति सरल उपाय (राम्रो कम्पनीको सेयर लामो समयको लागि होल्ड गर्ने) भन्दिनु भएको छ कि सेयर बजारमा राम्रो प्रतिफल प्राप्त गरि कसरी धनी हुने । तर, पनि मानिसहरु सो सरल उपाय अबलम्बन गर्दैनन् । त्यसको उत्तरमा बफेट भन्छन्– किनकि मानिसहरुलाई जे कुरा पनि छिटो चाहिएको छ । भनाईको तात्पर्य के हो भने सेयर बजारमा आजको भोलि केही हुदैन । त्यसको लागि तपाईंले केही समय दिनुपर्छ र उचित प्रतिफलको मात्र आशा गर्नु पर्दछ । ३. आफ्नो जोखिम क्षमतालाई बेवास्ता गर्नु हामीलाई थाहा छ, जोखिम र प्रतिफल एउटा सिक्काका दुई पाटा हुन् । त्यसकारण कुनै पनि लगानीकर्ताको उदेश्य भनेको जोखिमलाई कम गरेर प्रतिफललाई बढाउनु हो । नेपालीमा एउटा उखान छ– घाटी हेरेर हाड निल्नु । त्यसैले सेयर बजारमा लगानी गर्दा प्रतिफल र सो बापत ब्योहर्नु पर्ने जोखिमको सधै हेक्का गर्नु पर्दछ । र, आफूले बहन गर्न सक्ने जोखिम मात्र लिनु पर्छ, जुन प्रायः साना तथा नयाँ लगानीकर्ताले ध्यान दिएको पाइदैन । तसर्थ, अरुको लहलहैमा लागेर लगानी गर्नु हुदैन । बरु आफ्नो क्षमता अनुसार गर्नु पर्दछ । ४. निर्णय प्रक्रियामा आफ्नो भावनालाई नियन्त्रण गर्न नसक्नु भनिन्छ, सेयर बजारमा सबैभन्दा घातक कुरा भनेको व्यक्तिको भावना हो । त्यसमा पनि डर र लोभ हो । त्यसकारण जहिले पनि लगानीकर्ताले आफ्नो भावना नियन्त्रण गर्न सक्नु पर्छ, जुन नयाँ लगानीकर्ताले आफ्नो निर्णय प्रक्रियामा प्रायः नियन्त्रण गरेको पाइदैन । किनभने सेयर बजार कहिले बढ्छ र कहिले घट्छ । त्यसैले बजार बढ्दा आफूले चाहेको प्रतिफलमा बिक्री गर्न सक्नु पर्यो भने बजार घट्दा धेरै दुःखी भएर धेरै घाटा खाएर बिक्री गर्नु भएन । भनिन्छ, कुनै पनि व्यक्तिले घाटाले पुर्याउने चोट सधै बढी महसुस गर्दछ, नाफाले दिने खुशी भन्दा । मान्नुस्, तपाईंलाई सय रुपैयाँको घाटा भयो र अर्काे कुनै व्यक्तिलाई सय रुपैयाँको चिठ्ठा पर्यो भने तपाईंको घाटाको पिडा बढी हुन्छ, त्यो अर्काे चिठ्ठा पर्ने व्यक्तिको खुसीभन्दा । भनिन्छ, घाटाको पिडा दुईगुणा बढी हुन्छ लाभको तुलनामा । त्यसकारण प्रत्येक व्यक्तिले घाटाबाट सधै टाढा रहन चाहन्छ । त्यो विशेषतालाई ‘बिहेभियरल इकोनोमिक्स’मा ‘लस एभरर्सन’ भनिन्छ । तसर्थ, जोखिमबाट टाढा हुनु राम्रो कुरा हो । तर, चाहिनेभन्दा बढी डर पस्यो भने त्यसले राम्रो अबसर लिनबाट पनि बन्चित गर्न सक्छ । तसर्थ, सेयर बजारमा लगानी गरिसकेपछि धेरै लोभ पनि गर्न भएन र धेरै डर पनि पाल्न भएन । ४. सेयर खरिद गर्दा बढी ऋणको प्रयोग गर्नु लगानीकर्ताले नेपाली सेयर बजारमा सेयर खरिद गर्दा ऋणको बढी प्रयोग गरेको पाइन्छ । धेरै ऋण लिएर सेयर खरिद गर्दा यदि बजार प्रतिकुल अवस्थामा आयो भने धेरै घाटा पर्न जान्छ । तसर्थ, आफ्नो क्षमता अनुसार मात्र ऋण लिनु पर्छ । ५. समाचारप्रति बढी नै प्रतिक्रिया जनाउनु नयाँ लगानीकर्ताले समाचार (मिडिया) प्रति बढी नै प्रतिक्रिया जनाइएको पाइन्छ । हामीलाई थाहा छ, मिडियाको मुख्य उदेश्य भनेको पाठकलाई आफूतिर आकर्षित गर्नु हो । त्यसरी पाठकलाई आकर्षित गर्नको लागि डर र उत्तेजना जस्ता समाचार प्रेषित गर्नु पर्छ । तसर्थ, यस्ता मिडियाका समाचारको आधारप्रति नै विश्वस्त भएर सेयरमा लगानी गर्न हुदैन । लगानी गर्दा मिडियाबाट टाढा बसी आफ्नो स्वविवेकमा लगानी गर्नु पर्दछ । ६. नराम्रो सेयरलाई बेच्न नसक्नु हामीले सेयर बजारमा लगानी गर्दा कहिले काँही, नराम्रा सेयर खरिद गर्न पुग्छौं । तसर्थ, नयाँ तथा साना लगानीकर्ताको मानसिकता के हुन्छ भने जब लगानी उठ्छ, तब बिक्री गरुलाँ । त्यस्तो मानसिकतालाई ‘कग्निटिभ डिस्टर्सनस्’ भनिन्छ । अर्थात, व्यक्तिको मानसिकताले भन्छ, यो कुरा ठिक हो तर, वास्तविकमा त्यो कुरा साचो हुदैन । भनाइको मतलब, त्यस्तो नराम्रो सेयरको मूल्य बढ्ला र बिक्री गरुलाँ भन्ने हुन्छ । तर, त्यस्ता नराम्रा सेयरको मूल्य बढ्ने त कुरै आउदैन । पछि धेरै ठूलो घाटा बेहोर्न पर्छ । तसर्थ, त्यस्ता सेयरलाई बिक्री गरेर त्यो पैसा कुनै राम्रो सेयरमा लगानी गर्नु भयो भने केही समयपछि त्यो घाटा पूर्ति गरेर पनि राम्रो नाफा कमाउन सक्नुहुन्छ । ७. औसत विधि सेयर बजारमा एउटा निकै प्रचलित र प्रभावकारी रणनीति छ, जसलाई औसत विधि भनिन्छ । साना तथा नयाँ लगानीकर्ताले सो रणनीति प्रयोग गरेको पाइन्छ । भनाइको मतलब तपाईले आज कुनै कम्पनी को १०० कित्ता सेयर रु ५०० मा खरिद गर्नु भयो र केही समयपछि त्यो सेयर को मूल्य घटेर रु ४८० मा आइपुग्यो भने तपाईंले फेरि केही सेयर त्यो मूल्यमा खरिद गर्नुहुन्छ । र, यसरी मूल्य घट्दै जादा तपाई किन्दै जानुहुन्छ । त्यसो गर्दा घट्दो बजारमा तपाईंको औसत खरिद मूल्य प्रतिसेयर घट्दै जान्छ । तसर्थ, यो औसत विधि रणनीति राम्रा कम्पनीको लागि राम्रो हुन्छ । तर, नराम्रा कम्पनीमा गर्नुभयो भने ठूलो क्षति हुनसक्छ । साना तथा नयाँ लगानीकर्ताले नराम्रा कम्पनीमा पनि यो विधिको प्रयोग गरेको पाइन्छ । तसर्थ, साना तथा नयाँ लगानीकर्ता यो विधि प्रयोग गर्दा सचेत हुनु आवश्यक छ । ८. सेयर खरिद गर्दा अनुसन्धान नगर्नु कुनै पनि सेयर खरिद गर्दा सो कम्पनीको बारेमा अनुसन्धान नगरिक नै लगानी गर्नु अर्काे नयाँ तथा साना लगानीकर्ताको गल्ती हो । किनभने कुनै कम्पनीको सेयर खरिद गर्दै हुनुहुन्छ भने त्यो कम्पनीको वित्तीय अवस्था कस्तो छ, व्यवस्थापन कस्तो छ, बजारमा कम्पनीको साख कस्तो छ, कम्पनीको उदेश्य के हो, विगतमा कम्पनीको लाभांश कस्तो छ, आदिको अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ । यी माथि उल्लेखित बाहेक पनि अरु केहि गल्ती गर्न सक्छन् । जस्तै, साथीभाइको सरसल्लाहमा खरिद बिक्री गर्नु, बजारलाई भविष्यवाणी गर्न खोज्नु, विज्ञको सल्लाहलाई पूर्ण रुपमा मान्नु आदि । र अन्त्यमा, सेयर बजारमा लगानी गर्दा आफ्नो स्वविकेकको प्रयोग गर्नुहोला ।
अराजक सेयर बजारमा सेवोनको अफसाइड र साउदको आत्मघाती गोल
काठमाडौं । अहिले युरोकप र कोपा अमेरिका फुटबल चलिरहेको छ । रातभरी युरोकप हेर्न पाइन्छ, विहानी पख कोपा अमेरिका । फुटबल प्रेमीहरुका लागि ‘दशैं’ बराबर । सबैलाई थाहा भएकै कुरा हो, फुटबलमा दुई टोलीका गरी एक पटकमा २२ खेलाडीले खेल्छन् । विपक्षी खेलाडीलाई झुक्क्याउने, छक्क्याउने, बल खोस्ने, आफ्ना खेलाडीलाई मात्रै पास दिने जस्ता हर्कत स्वभाविक हुन्छन् । सबै खेलाडीको ध्यान आफूले राम्रो खेल्दै आफ्नो टीमलाई जिताउने हुन्छ । त्यसैले उनीहरु मैदानभित्र आफ्नो र आफ्नो टीमको प्रभुत्व कायम गर्न चाहन्छन् । जीत निकाल्न खोज्छन् । सामान्यतः दुबै पक्षका १०/१० जना गरी २० जना खेलाडी मैदानको चारैतिर दौडिरहेका हुन्छन् । दुबैतिरका गोलकिपर विपक्षीले गोल गर्न नसकोस् भनेर रोक्नको लागि गोलपोष्ट कुरेर बस्छन् । तर, त्यही खेलमा एक व्यक्ति सबै खेलाडीभन्दा पनि बढी दौडिरहेको हुन्छ, सिठ्ठी फुक्दै । यसरी दौडिने व्यक्ति रेफ्री हो । रेफ्रीले मैदानमा रहेका २२सै जना खेलाडीप्रति ध्यान दिइरहेको हुन्छ । कसैले गल्ती गर्ने पो हो कि, खेल भावनाको साथ खेल भइरहेको छ कि छैन, कुन खेलाडीले कसरी खेलिरहेको छ भन्ने जस्ता कुरा रेफ्रीले हेरिरहेको हुन्छ । फुटबल खेल रेफ्रीको नियन्त्रणमा हुन्छ । रेफ्रीले अफसाइड भन्यो भने अफसाइड, रातो वा पहेलो कार्ड दियो भने दियो, दियो । त्यसैले मैदानमा रेफ्रीले जे निर्णय गर्यो त्यही नै सबैका लागि स्वीकार्य । रेफ्रीले खेल खेल्दैन, खेलाउँछ । खेलको नियम पालना गराउँछ । नियम उल्लघंन गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही ठोक्छ । रेफ्री नियामक हो । उसले नियमन गर्छ । यसैगरी बजारका खेलाडीहरुलाई नियमन गर्नुपर्ने हाम्रा नियामकहरु कतिपय अवस्थामा खेलाडी बन्छन् । आफै खेल्न थालेपछि नियामकहरुले कहिले अफसाइड गोल गर्छन् त कहिले आत्मघाती गोल । हिजो (असार १ गते) पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेवोन) ले अफसाइड गोल गर्यो र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतले आत्मघाती गोल । पहिला सेवोनको कुरा गरौं । हिजो सेवोनले ५१ कम्पनीमा लगानी गर्नु जोखिमयुक्त हुन्छ भन्दै विज्ञप्ति नै प्रकाशित गर्यो । चैत मसान्तसम्मको कारोबारका आधारमा सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणका केही सुचक लिएर सेवोनले जोखिमयुक्त कम्पनी पहिचान गर्यो । सेवोनले सार्वजनिक गरेको ५१ कम्पनीका सेयरमा ‘भित्री कारोबार, सर्कुलर कारोबार र कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा विस्तृत अध्ययन कार्य अगाडि बढाइएको व्यहोरा जानकारी’ गराइएको छ । सेवोनले नाम सार्वजनिक गरेका यी ५१ वटा कम्पनीले धितोपत्र सम्बन्धी कसुर गरेका प्रारम्भिक जानकारी प्राप्त भएको हो ? सायद होला । नभए सेवोनले नामै सार्वजनिक किन गरिरहन्थ्यो होला र । जोखिमयुक्त भनिएका ५१ कम्पनीको सुचीमा सरकारी लगानीका कम्पनीहरु पनि छन् । सुचीमा समावेश भएका कम्पनीहरु नेपाल इन्फ्रास्टक्चर बैंक, नागरिक लगानी कोष, राष्ट्रिय बीमा कम्पनी, माथिल्लो तामाकोशी जलविद्युत, जलविद्युत लगानी तथा विकास जस्ता कम्पनीले भित्री कारोबार गरे कि सर्कुलर ट्रेडिङ वा कर्नरिङ ? सरकारी कम्पनी भएर धितोपत्र सम्बन्धी कसुर गर्नेहरुलाई कारबाही गर्ने कि नाम मात्रै सार्वजनिक गर्ने ? सेवोनले उल्लेख गरे जस्तो गल्ती ती ५१ वटा कम्पनीहरुले गरेका हुन् कि बजारले ? सेवोनले यस्ता प्रश्नको जवाफ दिएको छैन । सेवोनले बजारमा नियमन र अनुगमन गर्न पाउँछ, गर्नुपर्छ । बजारलाई बजारको रुपमा विकास गर्न सहजीकरण गर्नुपर्छ । तर, नियमन र अनुगमनको नाममा ‘भित्री कारोबार, सर्कुलर कारोबार र कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुर’ गर्नेहरुलाई कारबाही गर्ने कि नाम सार्वजनिक गरेर ‘हिरो पल्टेर’ बस्ने ? यो कार्य सेवोनले नियामकीय जिम्मेवारी पूरा गरेको होइन, गए राति पर्चुगल र हंगेरीको खेलमा हंगेरीले गरे जस्तै अफसाइड गोल हो । रेफ्री (नियामक) आफै खेलमा सहभागी भएकोले झण्डा उठाएर अफसाइड भयो भन्ने रेफ्री कोही भएन । त्यसैले दर्शक (बजार) ले हुटिङ गर्दै भनिरहेका छन्- सेवोनको हिजोको विज्ञप्ति अफसाइड गोल हो, खेलमा झेल भयो । सेवोनलाई सम्झाउनु पर्ने भएको छ- तपाईं खेलाडी होइन, रेफ्री हो, खेलाडी नबन्नुस्, रेफ्री बन्नुस् । सेवोनका कार्यकारी निर्देशक निरज गिरीसँग व्यक्तिगत रुपमा मेरो केही गुनासो पनि छ । उहाँले म जस्ता धेरै पत्रकारसँग धेरै पटक भन्नुभएको छ- हामी मेरिट बेस्डमा होइन, डिस्क्लोजर बेस्डमा नियमन गर्छाैं, गर्नुपर्ने पनि त्यही हो । हिजोको विज्ञप्तिलाई आधार मान्दा सेवोनले मेरिट बेस्डमा नियमन गरेको हो कि डिस्क्लोजर बेस्डमा निरज सर ? सेवोनले सार्वजनिक गरेका जोखिमयुक्त ५१ कम्पनी कसरी जोखिमयुक्त देखिएछन् भन्ने तथ्य हेर्दा अझ रमाइलो लाग्ने अवस्था रहेछ । कतिपय कम्पनीको नेटवर्थ ऋणात्मक भएकोले सो कम्पनी जोखिमयुक्त भनिएको रहेछ । निर्माणाधिन जलविद्युत कम्पनीको नेटवर्थ ऋणात्मक नै हुन्छ, होइन र ? नेटवर्थ ऋणात्मक हुँदैमा कम्पनी जोखिमयुक्त भैहाल्ने हो र ? जोखिमयुक्त कम्पनी पहिचान गर्न सेवोनले उल्लेख गरेका कतिपय सुचक त उदेकलाग्दा छन् । जस्तो कि रसुवागढी हाइड्रोको पीई रेसियो १०९२.४५ ले ऋणात्मक छ रे ! यो भनेको के हो ? एउटा मान्यता के छ भने पीई रेसियो २० सम्म भएको कम्पनीको सेयर राम्रो मानिन्छ । त्योभन्दा जति कम भयो त्यति राम्रो । पीई रेसियो १०९२.४५ ले ऋणात्मक भनेको रसुवागढीको सेयर किन्न जानेलाई विक्रेताले चिया खाजा खान दिन्छन्, बाटो खर्च हालेर पठाइदिन्छन् भन्न खोजिएको हो ? यस्ता केटाकेटी तथ्य सार्वजनिक गरेर सेवोनले आफ्नै बेइज्जत किन गरेको होला ? दोस्रो बजारमा सेयर किन्नुअघि पीई रेसियो कति हुनुपर्छ, नेटवर्थ कति भएको कम्पनी किन्ने, ईपीएस कति हुनुपर्छ भन्ने लगानीकर्ताहरुले बनाएको एउटा मान्यता मात्रै हो । नियामकले त्यस्ता मान्यताहरुलाई मात्रै आधार बनाउन मिल्छ ? जस्तो कि सेवोनले प्राइस टू बुक भ्यालु (पीबी) रेसियो किन नहेरेको ? यो पनि त पीई रेसियो जस्तै अर्काे मान्यता हो । पीबी रेसियो ५ गुणासम्म भयो भने राम्रो हो भन्ने मानिन्छ । सोल्टी होटललाई पीई रेसियोको आधार जोखिमयुक्त कम्पनी घोषणा गरिदिने कि उसको ट्रयाक रेकर्ड पनि हेर्ने भन्ने अर्काे तर्क सेवोनले कसरी खारेज गर्छ ? सेवोनले सार्वजनिक गरेका जोखिमयुक्त कम्पनी गत चैत मसान्तमा प्रकाशित भएका अपरिष्कृत वित्तीय विवरणमा आधारित छन् । यी विवरण नियामकको लागि आफैमा कत्तिको औचित्यपूर्ण हुन् ? अपरिष्कृत वित्तीय विवरण र अन्तिम लेखापरीक्षणको विवरणमा फरक आउने सम्भावना वा आएका उदाहरण सेवोनलाई थाहा छ कि छैन ? अर्काे कुरा, सेवोनले विगतका सुचकको आधारमा कम्पनीहरुलाई जोखिमयुक्त भनेको छ । लगानी गर्ने भनेको विगतलाई हेरेर मात्रै होइन, भविष्यलाई हेरेर पनि हो । भविष्यको लागि गरिने लगानीहरुले सेवोनको हिजोको विज्ञप्तिबाट केही पाउँदैनन् । तर, सेवोनलाई सम्झाउँदै भन्नुपर्ने भएको छ- तिमी नियामक निकाय हौं, नियामक जस्तै बन, बजारलाई बजारको रुपमा अघि बढाउन सहजीकरण गर, बजारमा हुन सक्ने र भए गरेका गलत क्रियाकलापको प्रभावकारी अनुगमन गरेर हदैसम्मको कारबाही गर, यो प्रकारको खेलाँची वा केटाकेटी काम नगर । सही काम नै गर्न खोजिएको हो भने पनि गलत तरिकाले गर्न पाइदैन, सकिँदैन । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले त यो प्रकरणमा आत्मघाती गोल नै गरे । गए राति फ्रान्ससँगको खेलमा जर्मनीले गरे जस्तै आत्मघाती गोल भयो साउदको । सेवोनको विज्ञप्तिपछि साउदले सार्वजनिक संचारमाध्यमहरुमा बोल्दै सेवोनप्रति आक्रोस पोखे । साउद बजार संचालक नेप्सेको प्रमुख कार्यकारी अधिकृत मात्रै हुन् । बजार संचालकले नियामकलाई चुनौति दिन मिल्दैन । फेरि नेप्से फ्रन्टलाइन रेगुलेटर पनि हो । नेप्से आफैले नियामकलाई टेर्दैन भने उसले नियमन गर्ने कम्पनीहरुले नेप्सेलाई किन टेर्ने ? सार्वजनिक पदमा बसेका व्यक्तिहरुले आफ्ना असन्तुष्टी वा असहमती जाहेर गर्ने तरिका हुन्छन् । ‘सेवोनले जोखिमयुक्त भनेका ५१ कम्पनीको सेयर मूल्य घट्यो भने सेवोनले क्षतिपूर्ति दिनुपर्छ’ भन्ने अभिव्यक्ति दिएर प्रमुख कार्यकारी अधिकृत साउदले आफ्नो मर्यादा नाघेका छन् । मुख्य नियामक सेवोन र फ्रन्टलाइन रेगुलेटर नेप्सकै हालत यस्तो छ भने बजारका अन्य सरोकारवाला कस्ता होलान् भनेर सहजै अनुमान गर्न सकिन्छ । कुनै कम्पनीको मूल्यप्रति शंका, बजारको अबको ट्रेण्ड कस्तो होला भन्ने जस्ता विश्लेषण प्रकासन प्रसारण गर्दा सम्बन्धित पत्रकार तथा संचारमाध्यमलाई झम्टन आइलाग्ने ‘लगानीकर्ता’ चिनिएकै छ । दैनिक २० अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको बजारलाई यस्तो अराजक हुन नदिन कस्ले कहाँबाट कहिलेदेखि काम गर्ने होला ? सम्बन्धित समाचार इन्साइडर ट्रेडिङको आरोपमा ९ वटा सरकारी कम्पनीलाई पनि डाम्यो सेवोनले, ती कम्पनी भन्छन्ः भ्रमपूर्ण कुरा धितोपत्र बोर्डले भन्योः यी ५१ कम्पनीका सेयर दोस्रो बजारमा कारोबारका लागि जोखिमयुक्त नेपाली सेयर बजारमा पनि हुन लागेको हो गेमस्टप र एएमसी जस्तै फण्डा ? राधीको सेयरमा मागको बाढी, बोनस र हकप्रदपछि हरियाली कि सुख्खा खडेरी ?
सेयर बजारमा कर्नरिङ्ग/सर्कुलर ट्रेडिङ्ग भएको संकेत पाएपछि बोर्डले भन्यो- लगानीकर्ता थप चनाखो हुनु
काठमाडौं । दोश्रो बजारमा सेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग भएका गुनासाहरु आएसँगै नेपाल धितोपत्र बार्डले लगानीकर्तालाई थप सजग हुन आग्रह गरेको छ । पछिल्लो समय बजारमा कारोबार वृद्धिसँगै उक्त कृयाकलाप भएको गुनासा आएकाले लगानीकर्ताहरु चनाखो हुन बोर्डले जानकारी गराएको छ । त्यस्तै, उक्त गुनासाहरुको सम्बन्धमा बोर्डले अध्ययन शुरु गरेको जानकारी गराउँदै बोर्डका प्रवक्ता निरज गिरीले उक्त अध्ययन सम्पन्न हुन केही समय लाग्न सक्ने बताएका छन् । यससँगै उक्त क्रियाकलामा संलग्न नहुन सबैलाई सजग गराउँदै बोर्डले लगानीकर्तालाई विभिन्न पक्षलाई ध्यानमा राखेर मात्रै लगानी गर्न बोर्डले आग्रह गरेको छ । बोर्डले सूचीकृत कम्पनीको प्रतिसेयर आम्दानी, प्रति सेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, कितावी मूल्यमा बजार मूल्यको अनुपात, परिसूचक तथा कम्पनीको बजार मूल्य सम्बन्धी प्राविधिक विश्लेषण र संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न लगानीकर्ता अनुरोध गरेको छ । नेपाली सेयर बजारमा पनि हुन लागेको हो गेमस्टप र एएमसी जस्तै फण्डा ? सेयर बजार बढेको अवस्थामा लगानीकर्ताहरुको जोखिमको स्तरपनि बढ्दै जाने भएकाले लगानीकर्तालाई थप चनाखो हुन प्रवक्ता गिरीले आग्रह गरेका छन् । विभिन्न समयमा बजारमा घटबढ देखिसकिएकोले लगानीकर्ताले लगानी गर्दा विभिन्न पक्षहरुको विश्लेषण गरी जोखिम बहन गर्न सक्ने क्षमताअनुसारको लगानी गर्नुपर्ने उनको सुझाव रहेको छ । बोर्डको प्राथमिकतामा ७ कामः नयाँ ब्रोकरलाई भित्र्याउनेदेखि एसएमईको लागि छुट्टै प्लेटफर्म स्थापना गर्नेसम्म बाेर्डले शुरू गर्याे अध्ययन [pdf id=278812]
नेपाली सेयर बजारमा पनि हुन लागेको हो गेमस्टप र एएमसी जस्तै फण्डा ?
काठमाडौं । गत माघको दोस्रो सातातिर अमेरिकी कम्पनी गेमस्टपको सेयर मूल्य सम्बन्धी विषयमा विश्व संचारमाध्यमको ध्यान आकर्षित भएको तपाईंलाई स्मरण छ ? एक पटक सम्झौं न त, के भएको थियो भनेर । भिडियो गेमको विक्री गर्ने अमेरिकी कम्पनी गेमस्टप (जो दोस्रो बजारमा सुचिकृत भएर कारोबार हुने गरेको छ) को सेयर मूल्य प्रतिकित्ता १ डलरको हाराहारीमा थियो । हेजफण्डहरुले सर्टसेल गरेर गेमस्टपको सेयर कारोबारबाट राम्रोसँग कमाइरहेका थिए । नेपालमा सर्टसेल कारोबार हुँदैन । सर्टसेल भनेको आफूसँग अहिले नभएको कम्पनीको सेयर बिक्री गर्ने सुविधा हो । आफूसँग नभएपनि बिक्रीकर्ताले दोस्रो बजारबाट सेयर किनेर खरिदकर्तालाई विक्री गरे बराबरको सेयर उपलब्ध गराउँछ । सर्टसेलमा फाइदा हुने भनेको कुनै पनि कम्पनीको सेयरमूल्य घटेको अवस्थामा हो । जस्तो कि आज कुनै हेजफण्डले कुनै कम्पनीको सेयर १० डलरमा सर्टसेल गर्यो । दिनभरमा त्यो कम्पनीको सेयरमूल्य ९ डलर भयो भने उसले त्यहि दिन बजार बन्द हुनु अघि नै किनेर खरिदकर्तालाई दिने हो । यसोगर्दा बिक्रीकर्ताले एकदिनमै १ डलर नाफा गर्न पायो । तर, त्यो कम्पनीको मूल्य बढ्यो भने बिक्रीकर्तालाई नोक्सान र खरिदकर्तालाई फाइदा हुन्छ । सर्टसेलको मोटामोटी चरित्र यही हो । हेजफण्डहरुले यही विधिका आधारमा गेमस्टप कम्पनीको सेयरको सर्टसेलबाट कमाइरहेका थिए । त्यही बेला सामाजिक सञ्जाल रेडिटमा गेमस्टपको सेयर मूल्यबारे चर्चा चल्यो । अनि लाखौंको संख्याका रेडिट प्रयोगकर्ताहरुले रेडिटको आर/वालस्ट्रिटबेटस् नामक फोरमसँग सहकार्य गरे । सो फोरममा गेमस्टपको सेयर सबैले खरिद गर्ने अभियान चलाउने सहमति भयो । असंगठित रुपमा रहेका साना लगानीकर्ता (थोरै रकम लगानी गर्नेहरुलाई साना लगानीकर्ता भनिएको) हरुले गेमस्टपको सेयर खरिद गर्ने अभियान चलाए । सबैले सो कम्पनीको सेयर किन्न थाले । यो अभियान त्यतिबेला व्यापक रुपमा चल्यो, जतिबेला हेजफण्डहरु आक्रामक रुपमा गेमस्टपको सेयर विक्री गरिरहेका थिए । रेडिटमा यो अभियान चलेपछि गेमस्टपको सेयरमूल्य आकाशिन थाल्यो । सो कम्पनीको सेयरमूल्य १७ सय प्रतिशतसम्म बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आफूले सर्टसेल गरेको कम्पनीको मूल्य असाध्यै बढेर आफूहरुले ठूलो परिमाणमा नोक्सानी व्यहोर्न थालेपछि हेजफण्डहरु फेरि गेमस्टपको सेयर किन्न बाध्य भए । फलतः कम्पनीको सेयर मूल्य अझै बढ्यो । यो अभियानको कारण हेजफण्ड लगानीकर्ताले ३ अर्ब ३० करोड अमेरिकी डलरभन्दा बढी घाटा खानु परेको बिजनेस इन्साइडर नामक न्युजपोर्टलले उल्लेख गरेको छ । मेल्भिन क्यापिटल नाम गरेको हेज फण्ड त झण्डै टाट नै पल्टियो । टाट पल्टिबाट जोगिन मेल्भिनले २ अर्ब ७५ करोड अमेरिकी डलर सहयोग लिएको थियो । गत जनवरी २७ मा गेमस्टपको सेयर मूल्य प्रतिकित्ता ३४७.५१ डलर पुग्यो । जबकि सो कम्पनीको सेयर मूल्य त्यसअघि प्रतिकित्ता २० डलरभन्दा बढी कहिल्यै भएको थिएन । अहिले पनि गेमस्टपको सेयरमूल्य प्रतिकित्ता २४८.३६ डलर छ । अहिले अमेरिकी अर्काे कम्पनी एएमसी गेमस्टपको बाटोमा छ । अमेरिकामा चेनको रुपमा फिल्महलहरु संचालन गर्ने कम्पनी एएमसी इन्टरटेनमेन्ट होल्डिङ्स इन्कको सेयर मूल्य पनि गेमस्टपकै जस्तो गरी बढिरहेको छ । गत मे महिनाको ७ तारिकमा प्रतिकित्ता ९.५१ डलर रहेको सो कम्पनीको सेयरमूल्य बढेर ६२.५५ डलरसम्म पुग्यो । नेपालमा के हुँदैछ फण्डा ? गत जुन ४ मा सेयर बजारबारे जानकार दिपिल मुनंकर्मीले नारायणी डेभलपमेन्ट बैंकको अपरिष्कृत वित्तीय विवरण राख्दै ट्वीटरमा ‘इपीएस-४, नेटवर्थ ३६.१५, रिटेन्ड लस २१.२७ करोड’ भनेर ट्वीट गरे । मुनंकर्मीको ट्वीट कोट गर्दै वित्तीय विश्लेषक मुक्ति अर्यालले लेखे-मानिसहरु यस्तो स्टक पनि खरिद गर्छन् । के देखेर किन्छन् ? नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य तीन महिना अगाडि प्रतिकित्ता ५१५ रुपैयाँ थियो । अहिले बढेर प्रतिकित्ता ८४५ रुपैयाँसम्म पुगेको छ । अर्काे उदाहरण राधी विद्युत कम्पनीलाई लिन सकिन्छ । राधीको सेयरमूल्य एक वर्षअघि प्रतिकित्ता १६९ रुपैयाँ थियो । अहिले बढेर प्रतिकित्ता १३ सय रुपैयाँसम्म पुग्यो । त्यस्तै, नेटवर्थ नै नेगेटिभ भएको कम्पनी खानीखोला हाइड्रोपावरको सेयरमूल्य तीन महिनाअघि प्रतिकित्ता ११९ रुपैयाँ थियो । अहिले बढेर प्रतिकित्ता ३०५ रुपैयाँसम्म पुग्यो । केही दिन अघि मात्रै नेपाल स्टक एक्स्चेञ्जले सो कम्पनीको सेयर कारोबार बन्द गराएको छ । बन्द गराएको कारण भने कम्पनीले आफ्नाे वित्तीय विवरण समयमै प्रकाशित गरेन भन्ने हो । पछिल्लो समय वित्तीय सूचक राम्रो नभएका कम्पनीहरुको सेयर मूल्य पनि बढेको छ । सामाजिक सञ्जालहरुमा कहिले अब जलविद्युत क्षेत्रमा लगानी गरौं भन्ने त कहिले अब बैंकिङतिर सिफ्ट हुनुपर्छ है भन्ने प्रकारका सन्देशहरु प्रवाह भइरहेका पछिल्लो समय व्यापक देख्न पाइन्छ । पछिल्लो समय केही कम्पनीहरुको मूल्यमा देखिएको अस्वभाविक बृद्धिले नेपालमा पनि गेमस्टप वा एएमसी जस्तै कुनै चक्कर त चलिरहेको छैन ? नेपालको सेयर बजारलाई नजिकबाट अध्ययन गरिरहेका अधिवक्ता ज्योति दाहाल ‘सर्कुलर ट्रेडिङ’ भने देखिएको अनुभूत गर्छन् । ‘हाम्रो बजारमा इन्साइडर ट्रेडिङ हुने गरेकै छ, सबैले थाहा पाउने गरी इन्साइडर ट्रेडिङ हुँदा पनि आवश्यक अध्ययन गरेर कारबाहीको दायरमा ल्याइएको घटना ज्यादै कम छ, तर अहिलेको बजारमा भने इन्साइडर ट्रेडिङ भन्दा पनि सर्कुलर ट्रेडिङले बढी काम गरेको देख्छु,’ दाहालले भने । ‘सर्कुलर ट्रेडिङ’ भनेको एउटा कुनै समूहले निश्चित कम्पनी छनोट गरेर आफ्नै टीमभित्र सोही कम्पनीको सेयर खरिद विक्री गरिरहने कार्य हो । यस्तो गर्दा कुनै समय मूल्य बढाउने र कुनै समय घटाउने कार्य गरेर अन्य लगानीकर्तालाई आकर्षित गर्ने गरिन्छ । वित्तीय विश्लेषक मुक्ति अर्याल भने अहिलेको बजारमा ‘सर्कुलर ट्रेडिङ’ वा ‘इन्साइडर ट्रेडिङ’ भन्दा पनि सस्तो सेयरको खोजीले बढी काम गरेको अनुभव सुनाउँछन् । ‘नेपालमा पनि सामाजिक सञ्जालहरुमा विभिन्न ग्रुप बनाएर विभिन्न प्रकारका डिसकसनहरु हुने गरेको देख्छु, गेमस्टप वा एएमसीको सेयरमा जस्तै मूल्यमा प्रभाव पार्ने गरी त्यस्ता ग्रुपहरुमा छलफल पनि हुने गरेका छन् तर, त्यस्ता ग्रुपहरुमा कन्फ्युजिङ र कन्फ्लिक्टिङ कुराहरु आउने, एउटै कुरामा सबैको एकमत नहुने जस्ता अवस्था देखिएका छन्, त्यसैले हाम्रो बजारमा सस्तो सेयर खोज्ने प्रबृत्ति बढी भएकोले वित्तीय सूचक नराम्रा भएका कम्पनीहरुको पनि मूल्य बढेको हुन सक्छ,’ अर्यालले भने । नेपालमा कसरी बढिरहेको छ नराम्रा सूचक भएका कम्पनीको मूल्य ? अहिले नेपाली पुँजी बजारमा नराम्रो वित्तीय सूचक भएका कम्पनीहरुको पनि सेयर मूल्य बढिरहेको छ । तर, बजारमा चलेका हल्ला र भएका गतिविधि हेर्ने हो भने अरुलाई आकर्षित गर्न त्रास र आश सिर्जना गर्ने प्रयास भइरहेको देखिन्छ । यसका लागि केही कम्पनीको बारेमा चलेका हल्ला सुनौं । जस्तो कि लुम्बिनी विकास बैंकको सेयरमूल्य तीन महिनाअघि प्रतिकित्ता २४९ रुपैयाँ थियो । अहिले बढेर प्रतिकित्ता ५४५ रुपैयाँ पुगेको छ । लुम्बिनी विकास बैंकसँग डिप्रोक्स लघुवित्तको करिब १० लाख कित्ता सेयर छ । यस्तै, समता र नाडेप लघुवित्तको सेयर पनि छ । लुम्बिनीले लघुवित्तको सबै सेयर बेच्छ र अर्काे वर्ष शतप्रतिशत बोनस सेयर दिन्छ, त्यसैले यसको सेयर मूल्य कम्तिमा पनि हजार नघाउनु पर्छ । यही हल्लाले लुम्बिनीको सेयर मूल्य बढिरहेको लगानीकर्ताहरु बताउँछन् । गोर्खाज फाइनान्सको बारेमा चलेको हल्ला अझ रोचक छ । गोर्खाज फाइनान्सको सेयर मूल्य तीन महिना अघि प्रतिकित्ता ४०८ रुपैयाँ थियो । अहिले बढेर प्रतिकित्ता १०५५ रुपैयाँसम्म पुगेको छ । किन मूल्य बढेको भन्दा बजारको हल्ला छ कि गोर्खाज फाइनान्स कम्पनीले यो वर्ष नाफा गरेर ३० प्रतिशत बोनस दिन्छ । त्यो कसरी दिन्छ भन्ने आधार दिनेहरु भन्छन्- यो कम्पनीको चुक्ता पुँजी ८७ करोड रुपैयाँ हो । सर्वसाधारणसँग यसको सेयर करिब ३९ लाख जति छ । अहिले संक्रिय लगानीकर्ता २० लाख जति पुगेका छन् । त्यो भनेको एक जना लगानीकर्ताको भागमा बढीमा ५० कित्ता सेयर न हो, त्यसैले यसको मूल्य बढ्छ । जबकि गोर्खाज फाइनान्स गत पुस मसान्तसम्ममा संचित नोक्सानीमा थियो । गत चैत मसान्तमा प्रकाशित भएकाे वित्तीय विवरणमा सो कम्पनी २ करोड रुपैयाँ संचित नाफामा पुगेको छ । केही कम्पनीहरुका सूचना नै अपत्यारिला र सरासर ठगी गर्ने उद्देश्यले पनि आउन थालेका छन् । जस्तो कि आज एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको ईपीएस १२२.७५ रुपैयाँ छ भन्ने सन्देश प्रवाह भयो । वास्तवमा सो कम्पनीको ईपीएस जम्मा ३२.७५ रुपैयाँ मात्रै छ । जलविद्युत कम्पनीहरुको हल्ला पनि रोचक छ । जस्तो कि राधी जलविद्युत कम्पनीले ३६.५ प्रतिशत बोनस सेयर दिन्छ । त्यसपछि सो कम्पनीले १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्छ । त्यसैले राधीको सेयर किन्नुपर्छ । अरु जलविद्युत कम्पनीको सेयर मूल्य बढ्ने कारण रमाइलो नै छ । हल्ला के छ भने अब विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई ऋण तिर्न पनि हकप्रद जारी गर्न पाउने व्यवस्था गर्न लाग्यो । यस्तो व्यवस्थापछि कम्पनीहरुले हकप्रद जारी गर्छन्, अनि फाइदा हुन्छ । त्यसैले जलविद्युत कम्पनीको सेयर किन्नुपर्छ । यी केही प्रतिनिधि हल्लाहरु आफैमा हल्ला मात्रै हुन् । कुनै आधार र प्रमाणविनाका हल्लाले लगानीकर्ता ठगिने सम्भावना रहन्छ । जलविद्युत कम्पनीहरुको लागि ऋण तिर्न हकप्रद जारी गर्न पाउने भन्ने सूचना साधारण सेयरधनीको लागि खासमा अप्रिय हुनुपर्ने हो । तर, उल्टै सेयर मूल्य बढिरहेको छ । जुन, आफैमा अस्वभाविक लाग्छ ।
बैंक वित्तीय संस्थाहरुले सेयर बजारमा लगानी गरेर चलखेल नगरेको पुष्टि भयोः सरोजकाजी तुलाधर
काठमाडौं । वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा लगानी गरेर चलखेल गर्छन् भन्ने आरोप गलत सावित भएको बताएका छन् । शुक्रबार बैंकिङ फाइनासन्स एण्ड इन्स्योरेन्स इन्सिच्युट अफ नेपालले आगााी आर्थिक वर्षको बजेट र मौद्रिक नीति सम्बन्धि सरोकारवालाहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा लगानी गरेर चलखेल गर्ने गरेको निराधार आरोप पछिल्लो समयको सेयर बजारको उछालले गलत पुष्टि गरेको बताएका हुन् । ‘सेयर बजारमा बैंक तथा वित्तीय संस्थाले चलखेल गरेको अनावश्यक आरोप खेप्दै आउनु परेको थियो, हामीलाई जनताको निक्षेप लिएर सेयर बजारमा लगानी गरेको समेत आरोप लाग्यो, तर अहिले राष्ट्र बैंकले अल्पकालिन लगानी गर्न नमिल्ने व्यवस्था गरेसँगै बैंक वित्तीय संस्थाले लगानी गर्न पाएका छैनन्, तर सेयर बजारको उछाल कायमै छ, जुन आरोप गलत पुष्टि भएको छ,’ उनले भने । सेयर बजारको उतारचढावमा बैंक तथा वित्तीय संस्थाको प्रत्यक्ष रुपमा कुनै सेयर बढाउनको लागि भूमिका नहुने पनि उनको भनाई छ । बैंक वित्तीय संस्थाले कोर बिजनेस छोडेर सेयरमा लगानी बढे भन्ने आरोपमा सत्यता नभएको उनले प्रस्ट पारे । राष्ट्र बैंकले नीतिगत व्यवस्थामा परिवर्तन गरेसँगै बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा सेयर नकिनेपनि अहिले १७ अर्बसम्मको कारोबार पुगेको छ । यस्तै, उनले कर लाभका लागि मात्रै हुने मर्जर तथा एक्विजिसनको प्रवृतिलाई बजेटले अन्त्य गरेको पनि बताए । ‘अब बैंक–बैंक र फाइनान्स–फाइनान्स कम्पनीबीच मर्जर तथा एक्विसजन गरे मात्रै ट्याक्स बेनिफिट पाइन्छ, जुनसुकै बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसन गरे पनि पाउने ट्याक्स नपाइने भएको छ, यो राम्रो व्यवस्था हो,’ उनले भने ।
सेयर बजारका लगानीकर्ता छुट्टिए, पुँजीगत लाभकर कसलाई कति ?
काठमाडौं । सरकारले सेयर बजारका अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई छुट्याईदिएको छ । आर्थिक वर्ष २०७८/७९को आर्थिक विधेयकमार्फत सरकारले पुँजीगत लाभकरमा लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन गरी दुई भागमा विभाजन गरेको हो । उक्त विधेयक मार्फत सरकारले अल्पकालीन लगानीकर्तालाई बढी अर्थात ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई कम अर्थात ५ प्रतिशत(हालकै बमाेजिम) कर लाग्ने व्यवस्था गरेको छ । हाल अल्पकालीन र दीर्घकालीन दुबै लगानीकर्तालाई ५ प्रतिशत मात्रै पुँजीगत लाभकर लगाउने व्यवस्था रहेको छ । नयाँ व्यवस्थासँगै अल्पकालीन लगानीकर्ता अर्थात सेयर किनेकाे दिनदेखि ३ सय ६५ दिन(एक वर्ष)भित्र बिक्री गर्ने गर्ने लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ भने एक वर्षपछि सेयर बिकी गर्ने दीर्घकालीन लगानीकर्ताले हालकै जस्ताे ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने भएकाे छ । पुँजीबजारका लगानीकर्तालाई कस्तो लाग्यो बजेट ? सरकारले आज अर्थात जेठ १५ गते मात्रै आर्थिक विधेयक सार्वजनिक गरेको हो ।
‘राष्ट्र बैंकको निर्देशनले सेयर बजारमा ब्रेक’
काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा नेपाल पुँजी बजार लगानीकर्ता संघको गम्भिर ध्यानाकर्षण भएको छ । बैंकले गरेकाे विभिन्न निर्देशनले लगानीकर्तालाई तर्सित बनाएको र मौलाउँदै गएको सेयर बजारलाई ब्रेक लगाउने संघकाे धारणा रहेकाे छ । लघुवित्तमा बैंकलाई लगानीमा कडाई गर्नु राम्रो भएपनि निर्देशन कडा रुपमा ढिलो आउनुमा संघको गम्भिर आपत्ती रहेको संघका अध्यक्ष राधा पाेखरेलले बताएकी छिन् । बैंकहरुले २०७८ जेठ १० गतेसम्म किनेको लघुवित्तको सेयर २०७८ पुस मसान्तसम्म बिक्री गरिसक्नु भन्ने निर्देशन र निर्देशन पूर्नमूल्याङकन गरी बैंक तथा वित्तीय संस्थाले किनेको लघुवित्तको सेयर २०८० साल असार मसान्तसम्म बिक्री गरिसक्नु भन्ने निर्देशन अभिलम्ब जारी गरिनु पर्छ भन्ने संघकाे धारणा रहेको उनी बताउँछिन् । ‘अहिलेको समयमा राष्ट्र बैंकलाई बेमौसमी बाजा बजाउनु थियो भने आम लगानीकर्ताले यति ठूलो कारोबार पश्चात ‘खाए खा नखाए घिच’ भन्ने निर्देशन दिएर आम लगानीकर्तालाई तर्सित बनाएकोमा संघको घोर आपत्ति रहेको छ । पछिल्लो समयमा मौलाउँदै गएको सेयर बजारलाई ब्रेक लगाउने राष्ट्र बैंकबाट निर्देशन आएको हो भन्ने संघको धारणा रहेको छ’, उनले बताइन् । त्यस्तै, अण्डर भ्यालुड भएका राम्रा कम्पनीको सेयरमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले पहिल्यै देखिनै प्रोत्साहन गर्नुपर्छ भन्ने संघको धारणा रहँदै आएको बताउँदै उनले राष्ट्र बैंकको पछिल्लो कदमबाट आम लगानीकर्ता त्रसित नहुन र विवेकपूर्ण ढंगले आफ्नो कारोबार गर्न संघकाे तर्फबाट अपिल गरेकी छिन् । (अध्यक्ष पाेखरेलले सामाजिक सञ्चालमार्फत व्यक्त गरेकाे धारणा)