सेयर बजारको समस्या मिलेर समाधान गरौं

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका गुनासोहरुलाई आगामी मौद्रिक नीतिमा सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले मौद्रिक नीतिमा आएका गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका हुन् । ‘मौद्रिक नीतिमा समावेश भएका गुनासोहरु यथोचित सम्बोधन गरेर पुँजीबजारको विकासमा सहजीकरण गर्नुपर्ने छ,’ उनले भने । बजार विकासको लागि नियमनकारी संस्थाहरुबीचको समन्वयनको खाँचो रहेको बताउँदै उनले सबै नियमनकारी संस्थाहरुलाई समन्वयन गरेर काम गर्न आग्रह गरेका छन् । उनले राष्ट्र बैंक, बीमा समिति र धितोपत्र बोर्डबीचको अन्तरसम्बन्ध समन्वयात्मक सहकार्य गर्नको आग्रह गरेका हुन् । पुँजीबजारमा नयाँ नेतृत्व आएपछि सकारात्मक प्रयासहरु भइरहेको र ती प्रयासमा थप तीव्रता दिन आवश्यक रहेको उनले बताए । हरेक नियमनकारी संस्थाहरुमा जवाफदेहीताको सहितको स्वायत्ता हुनुपर्ने छ । नेपाल सरकारअन्तर्गतका जुनसुकै नियमनकारी निकायका संस्थाहरुलाई जवाफदेहीताको सहितको स्वायत्ताको उपयोग गर्न अपिल गरेका छन् । धितोपत्र बजारको आजको समस्याको समाधान गर्नको लागि नेपालको पुँजीबजारललाई अन्तर्राष्ट्रिय प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता छ । त्यो आधुनिक प्रविधिको अभावमा नेपालको धितोपत्र बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेर्न सक्ने प्रयास गर्नुपर्छ । ‘म अर्थमन्त्रालय आएदेखि सबैभन्दा पहिला पुँजीबजार सुधार गर्ने विषय उठाएको थिएँ, र, समस्याहरुको पहिचान गर्न सचिवज्यूहरुसँगको व्यापक छलफल गरियो । र, पहिचान गरेर त्यसलाई नयाँ ढंगले अघि बढ्ने काम गरिएको छ’, उनले भने । बजारमा प्रविधिको आवश्यक रहेको छ, त्यसको लागि नियमनकारी संस्थाहरुलाई सहजीकरण गर्न अर्थमन्त्रालय तयार रहेको उनले बताए । भौतिक पूर्वाधारको विषयमा पनि अर्थमन्त्रालयले सहजीकरण गर्ने उनले बताए । सेयर बजारको समस्या समाधान गर्न बन्यो सुझाव समिति स्वचालित कारोबार प्रणालीलाई विश्वसनीय बनाई लगानीकर्तालाई सहज रुपमा कारोबार गर्ने वातावरण बनाउनु पर्ने बताउँदै उनले धितोपत्र बजारसम्बन्धी जनचेतनाका कार्यक्रम अपर्याप्त भएकोले लगानीकर्ताहरुले समस्या भोग्नुपरेको समेत बताए ।

सेयर बजारको समस्या समाधान गर्न बन्यो सुझाव समिति

काठमाडौं । सेयर बजारको समस्या समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन भएको छ । अर्थमन्त्रालयले जेठ २५ गते नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल बसेर चार सदस्यीय सुझाव समिति गठन गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डको ३० औंं वार्षिकोत्सवको अवसरमा बोल्दै सो जानकारी गराएका हुन् । उनका अनुसार धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा अर्थ मन्त्रालय र राष्ट्र बैंकको प्रतिनिधीसहित चार सदस्यीय समिति गठन गरिएको हो । यससँगै, उक्त समितिले दिएको सुझावको आधारमा सम्बन्धित निकायले गर्नुपर्ने कामहरु गरिने समेत उनले बताए । यता, पुँजीबजार सुधारका लागि भन्दै लगानीकर्ता तिलक कोइरालाको संयोजकत्वमा बनेको संघर्ष समितिले जेठ २३ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी आइतबार पनि खुल्ने, सेयर बजार शुक्रबार बन्द हुने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरू आइतबार पनि खुल्ने भएका छन् । नेपाल सरकारले आइतबार दिने भनेको सार्वजनिक विदा फिर्ता लिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्था आइतबार पनि खुल्ने भएका हुन् । सरकारले दुई दिन बिदा दिने निर्णय गर्दा अधिकांश बैंकहरु आइतबार बन्द भएका थिए भने शुक्रबार अन्य कार्यदिन जस्तै पुरा समय खुला भएका थिए । अब भने सरकारको थप नयाँ निर्णय अनुसार बैंकहरु शुक्रबार आधा दिन मात्रै खुल्ने र आइतबार पनि पूर्ण रुपमा खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता नारायण पोखरेलले अब बैंकहरू आइतबार खुल्ने बताएका हुन् । उनले सरकारले आइतबार सार्वजनिक विदा नदिने निर्णय गरेसँगै बैंकहरू पनि स्वतः खुल्ने बताए । त्यस्तै, आइतबार पूर्ण रुपमा बन्द हुँदै आएका बीमा कम्पनीहरु पनि अबदेखि आइतबार पनि खुल्ने छन् । अब असारदेखि सेयर बजार शुक्रबार बन्द हुने भएको छ । जेठ महिनादेखि शुक्रबार बन्द हुँदै आएको सेयर बजार असारदेखि भने सो दिन खुल्ने भएको हो । नेपाल सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार सेयर कारोबार खुलाएर आइतबार बन्द गराउँदै आएको थियो । तर, सरकार आफैले सो निर्णय खारेज गरेसँगै नेप्सेले पहिलाको जस्तै शुक्रबार सेयर कारोबार बन्द गराएर आइतबार खुलाउने निर्णय गरेको हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अब सेयर बजार पहिलेकै समय अनुसार कारोबार हुने बताए । उनले हालसम्म बोर्डले निर्णय गरी नसकेको बताउँदै पहिलेकै समयानुसार कारोबार गर्ने दिन तोक्ने तयारी भइरहेको बताए । पछिल्लो समय पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएसँगै त्यसको उपयोगलाई न्यूनीकरण गर्न भन्दै सरकारले जेठ १ गतेदेखि देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, उक्त निर्णयमा चौतर्फी दबाव आएसँगै सरकारले एक महिनामै सो निर्णय खारेज गरी पहिलाको जस्तै शनिबार एकदिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय पनि बढाएर बिहान साढे ९ बजेदेखि अपरान्ह साढे ५ बजेसम्म तय गरेको थियो । अब आइतबारदेखि बिहीबारसम्म कार्यालय समय भने बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र शुक्रबार भने दिउँसो ३ बजेसम्म मात्रै खुल्ने छन् । पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।

‘सेयर बजारमा लगानीकर्ताको खर्बौं डुब्यो, ४/१२ को क्याप हटाऔं’

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको क्याप हटाउन माग गरेका छन् । उक्त क्यापले गर्दा लगानीकर्ताको खर्बौंको सम्पत्ति डुबेको भन्दै उनले सो क्यापलाई हटाउन माग गरेका हुन् । नेपाल राजश्व परामर्श समितिले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व नीति तथा कर सुधार सम्बन्धि अन्तर्किया कार्यक्रममा उनले सो बताएका हुन् । नेपाल राष्ट्र बैंकले सेयर धितोमा ४ करोड र १२ करोडको सीमा तोकिदिएको हो । उक्त व्यवस्थासँगै पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । र, बजार घटेसँगै अधिकांश लगानीकर्ताहरुले आफ्नो अर्बौंको सम्पत्ति गुमाइसकेका छन् ।

जेठभर आन्दोलन गर्ने तयारीमा सेयर बजारका लगानीकर्ता, सबैभन्दा पहिला धितोपत्र बोर्ड जाने

काठमाडौं । पुँजी बजारका लगानीकर्ताहरुले यो महिनाभर आन्दोलन गर्ने भएका छन् । उनीहरुले पुँजी बजार सुधारका लागि भन्दै जेठ २३ गतेदेखि जेठ २९ गतेसम्म विभिन्न दवावमूलक कार्यक्रम गर्न लागेका हुन् । लगानीकर्ता तिलक कोइरालाको संयोजकत्वमा गठन भएको २५ सदस्यीय संघर्ष समितिले उक्त कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले जेठ २३ गते नेपाल धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने भएका छन् । उक्त प्रदर्शन सोमबार बिहान १०ः३० बजेदेखि हुने लगानीकर्ता कोइरालाले बताए । त्यसपछि जेठ २४ गते अर्थमन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र २९ गते पुँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । त्यस्तै, सरकारले साढे तीन वर्षअघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पुँजी बजारमा गम्भीर संकट आएको भन्दै लगानीकर्ता कोइरालाले आमरण अनसन बस्ने घोषणा गरेका छन् । १९ बुँदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशन बस्न लागेका हुन् । त्यसैले सो अनशनअघि लगानीकर्ताहरुले शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका हुन् । गत जेठ २१ गते काठमाडौंको भृकुटीमण्डपमा भएको एक सय जनाभन्दा बढी लगानीकर्ताहरुको भेलाले तिलक कोइरालाको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो । जसमा पवित्रा ज्ञवाली, रमेश ढकाल, गोपाल स्वामी, एसपी चौलागाँई, नानीबाबु खरेल, पूरुषोत्तम कडेल, एलपी साह, संजय थापा, देवबहादुर कार्की, लक्ष्मण बञ्जारा, सुमन भण्डारी, विनोद कार्की, पिताम्बर फूलेल, राजु ओझा, माधवप्रसाद गौतम, सुन्दर श्रेष्ठ, पुरुषोत्तम सापकोटा, गणेश उप्रेति, सुकदेव भण्डारी, कमल पंथी, सुदर्शन पाठक, पासाड. शेर्पा, मुरारी सिटौला, विदुर थापा र प्रल्हाद वस्ति सदस्य छन् । भेलाले पवित्रा ज्ञवालीलाई आर्थिक संंकलन संयोजकको जिम्मेवारी दिँदै २७ हजार रुपैयाँ कार्यक्रमका लागि सहयोग संकलन गरेको छ । यस्ता छन् लगानीकर्ता कोइरालाका १९ बुँदे माग : विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने । बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने। कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान ब्रोकरहरुको चुक्ता पुँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने । ब्रोकरहरुको शाखा बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने । गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वतस् इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वतस् रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याउनुपर्ने । बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने । राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिङ्ग ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने ब्यवस्था कडाईका साथ लागु गर्ने । मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १२ करोडभन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।

बजेटको बुँदा नम्बर ३३२ ले किन बढाउन सकेन सेयर बजार ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्नु अघिल्लो दिन पुँजी बजार मापक नेप्से परिसुचक २२२३.७८ विन्दुमा कारोबार बन्द भएको थियो । बजेट आउने अघिल्लो दिन शनीबार थियो भने बजेट आएको दिन अर्थात जेठ १५ गते आइतबार र गणतन्त्र दिवस थियो । त्यसैले बजेट आउने दिन सेयर बजार खुलेन । बजेट सार्वजनिक भएको दिनदेखि सेयर बजारको ओरोलो यात्रा अझ तीब्र गतिमा बढिरहेको छ । बजेट सार्वजनिक भएपछिको ४ करोबार दिनमा नेप्से परिसुचक १११.३१ अंकले घटेर २११२.४७ विन्दुमा आइपुगेको छ । सेयर बजार घटेकोप्रति अर्थमन्त्री जनार्दन शर्मा पनि चिन्तित रहेको कुरा हालैको एउटा प्रसंगले थप स्पष्ट गर्छ । बुधबार आर्थिक संघले बजेटमाथि गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले सेयर बजारका लागि आफूले निकै महत्वपूर्ण विषय समावेश गरेको दाबी गरेका थिए । यसका लागि उनले बजेटको बुँदा नम्बर ३३२ उद्दरण गरे । अर्थमन्त्री शर्माले बजेटको सो बुँदा पढ्न र त्यसपछि मात्रै पुँजी बजारको विषयमा धारणा बनाउन आग्रह समेत गरे । अर्थमन्त्री शर्माले पढ्न सिफारिस गरेको बजेटको सो बुँदामा ‘एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिनेछ’ भन्ने उल्लेख छ । यस्तो व्यवस्था पुँजीबजारका लागि महत्वपूर्ण भएको अर्थमन्त्रीको दाबी थियो । ‘यस्तो व्यवस्थाले पुँजीबजार र प्रतिस्पर्धा बढ्ने कुरा गरेको छ । गैरआवासिय नेपालीलाई सेयर बजारमा लगानीको बातावरण बनाउने र बैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निष्काशनमा १० प्रतिशत सेयर हिस्सा छुट्याइदिने कुराले सकारात्मक सन्देश दिने मेरो विश्वास छ’ अर्थमन्त्री शर्माले भनेका थिए । तर, अर्थमन्त्री शर्माले बजेट वक्तव्यको बुँदा नम्बर नै सिफारिस गरेको भोलिपल्ट नेप्से परिसुचक १८.२६ अंकले घट्यो । बजेटअघिदेखि नै घट्दै गरेको बजार बजेटपछि झन् बेगसँग किन घट्यो ? हामीले यो प्रश्न धितोपत्र बोर्डका एक अधिकारी, एक ब्रोकर र एक जना विश्लेषकसँग सोधेका छौं । धितोपत्र बोर्डका अधिकारी र ब्रोकरको नाम भने उनीहरुकै आग्रहमा हामीले खुलाएका छैनौं । पुँजी बजारका विश्लेषक मुक्ति अर्याल बजेटका कारण बजार घटेको हो भन्ने मान्दैनन् । ‘बजेटको कारण बजार घटेको होइन, बजेट ठिकै छ, राष्ट्र बैंकले लिएको कर्जामा ४÷१२ को सीमाले बजार आतंकित भएको थियो, त्यहाँबाट घट्न थालेको बजार अन्य कारण थपिएर झन प्यानिक हुदै गएको हो,’ अर्यालले भने । उनले दैनिक २० देखि २२ अर्ब रुपैयाँको कारोबार हुने र बजार पुँजीकरण ४४ खर्ब पुगेको बजार घटेर अहिलेको अवस्थामा आउँदा त्यसको चौतर्फि असर परेको बताए । ‘दैनिक २०÷२२ अर्बको कारोबार हुने गरेको थियो, बजार पुँजीकरण ४४ खर्ब पुगेको थियो, त्यसले त्यही परिमाणमा तरलता उत्पन्न गथ्र्याे, अहिले सबै संकुचित छ, फेरि बजार घटेर १८ सयमा आउँछ भन्ने हल्ला पनि फैलिरहेको छ, यस्ता कारणले बजार घटेको हो,’ विश्लेषक अर्यालले भने । उनले बजार बढेको बेलामा धेरै माथि पुग्छ र घटेको बेलामा अझ तल पुग्छ भन्नेहरु जहाँको बजारमा पनि हुने बताए । एक ब्रोकर भने बजार सुचनामा खेल्ने सेयर खेलाडीको कारण पनि अहिले बजार घटिरहेको बताउँछन् । ‘जीवन बीमा कम्पनीहरुको ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको २ अर्ब रुपैयाँ चुक्ता पुँजी हुन्छ भन्ने सेयरका ठूला खेलाडीलाई पहिल्यै थाहा थियो, नियामकबाट पनि त्यही प्रकारको निर्याय आयो, तर, पुँजी बृद्धिको योजना आएपछि बजार बढ्छ र बेच्छु भनेर बीमाको सेयर उठाएका लगानीकर्ताले बजार नबढेको कारण बेच्न पाएनन्, आफूले किनेको मूल्यभन्दा सस्तोमा पनि बेच्नुपर्ने अवस्थामा पुगे, यही कारण पनि बजार घटिरहेको छ,’ ती ब्रोकरले भने । उनले लगानीकर्ताको मनोवल बढाउने कोही नभएकोले पनि समस्या देखिएको बताए । ‘बजार घटिरहेको छ, धितोपत्र बोर्ड, नेप्से जस्ता संस्थाहरु अहिले लुकेर बसेका छन्, राष्ट्र बैंकले के के भनेर दिनै त्रर्साइरहेको हुन्छ, यस्तो बेलामा बजार बढ्दैन,’ ती ब्रोकरले थपे । उनले बजारमा विश्लेषकहरुको नाममा आतंक सिर्जना गरेको कारण पनि लगानीकर्ता होत्साही भएको बताए । ‘प्राविधिक विश्लेषणको नाममा कसैले यो बजार बढेर यहाँ पुग्छ भन्छ, अर्काेले फेरि अर्काे धर्काे देखाउँदै, होइन झरेर यहाँ आइपुग्छ भन्छ, उनीहरु बेलगाम छन्, कसैले नियमन गर्दैन, यस्ता कारणले पनि बजारमा नकारात्मक असर परेको छ,’ ती ब्रोकरले भने । धितोपत्र बोर्डका एक अधिकारी भने बजार घट्नुको कारण तरलता अभाव मात्रै भएको बताउँछन् । ‘ठूल्ठूला शास्त्र केही पढ्नै पर्दैन, नेपालको पुँजी बजारको १५–२० वर्षको डेटा लिएर बसे हुन्छ, जुनजुन बेला अधिक तरलता छ, त्यो बेला बजार बढेको छ, जुन बेला तरलता अभाव छ, त्यो बेला बजार घटेको छ, योभन्दा थप कुनै कारण छ भने बजार घटेपछि देखापरेका सहायक कारण मात्रै हुन्,’ बोर्डका ती अधिकारीले भने ।

सेयर बजारको ओरालो यात्रामा लागेन ‘ब्रेक’, दुई दिनमै ८६ अंकले घट्यो परिसूचक

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । बजेट अघि निरन्तर ओरालो लागेको बजार बजेटपछि पनि दैनिक रुपमा घटीरहेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सावर्जनिक भएपछि दुई दिन (सोमबार र मंगलबार) सेयर कारोबार भएको छ । यो अवधिमा परिसूचक ८६ अंकले ओरालो लागिसकेको छ । सोमबार ५०.३३ अंकले घटेको बजार मंगलबार पनि ३५.५३ अंकले घटेको छ । र, मंगलबारको परिसूचक २१३७.९२ बिन्दुमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशतले घटी हो । सोमबारको तुलनामा मंगलबारको सेयर कारोबार पनि घटेको छ । सोमबार १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार १ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबार एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको एकैदिन ५ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार भएको बैंकको सेयर मूल्य भने ७.३० रुपैयाँले घटेर प्रतिकित्ता ७५२.७० रुपैयाँमा झरेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नबिल बैंक छ । बैंकको सेयर कारोबार भने प्रतिकित्ता ८७५ रुपैयाँसम्ममा भएको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १५ रुपैयाँले घटी हो । घटेको बजारमा पनि उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२३ प्रतिशतले बढेको छ । जुन अघिल्लो दिनको तुलनामा ११२.२० रुपैयाँले बढेर प्रतिकित्ता १४७५.८० रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य : दुई दिनमै प्रतिकित्ता ७७ रुपैयाँले घट्यो सोमबार जस्तै मंगलबारको बजारमा पनि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । मंगलबारको बजारमा मात्रै बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३३१ रुपैयाँमा झरेको छ । त्यस्तै, सो दिन कारोबारमा आएका समूहहरुमध्ये म्युचुअल फण्ड बाहेक सबै राताम्मे देखिएका छन् ।

बजेटपछिको सेयर बजार : ५० अंकले घट्यो परिसूचक, एनटीसीको सर्वाधिक कारोबार

काठमाडौं । बजेट सार्वजनिक भएपछिको पहिलो दिनको सेयर बजार हाफ सेञ्चुरीले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ५०.३३ अंकले घटेर २१७३.४४ बिन्दुमा झरेको छ । जुन गत शुक्रबारको तुलनामा २.२६ प्रतिशतले घटी हो । बजारमा कूल १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको हो । जसमध्ये सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । सर्वाधिक कारोबार भएको कम्पनीको सेयर मूल्य भने २४ रुपैयाँले घटेर प्रतिकित्ता ९३५ रुपैयाँमा अन्तिम किनबेच भएको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ३०६ अंकले घटेको छ । त्यस्तै, सोमबार ५ वटा कम्पनी बाहेक सबै कम्पनीको सेयर मूल्य घटेको छ । सेयर मूल्य बढ्नेमा बरुण हाइड्रोपावर, उपकार लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था रहेका छन् । जसमध्ये बरुणको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२४.४० रुपैयाँ पुगेको छ । त्यस्तै, उपकार लघुवित्तको सेयर मूल्य ८.२३ प्रतिशतले घटेर प्रतिकित्ता १०३.७० रुपैयाँमा झरेको छ । त्यस्तै, सबैभन्दा बढी सेयर मूल्य घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । लामो समयपछि बजारमा कारोबारमा आएको बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३६७.७० रुपैयाँमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४०.७९ रुपैयाँले घटी हो । बजेटपछिको पहिलो दिनको सेयर बजार घट्नुले लगानीकर्ताहरु बजेटप्रति सकारात्मक छैनन् भन्ने बुझिन्छ । बजेटले रियल सेक्टरलाई पुँजीबजारमा आउन बाध्यकारी कार्यक्रम ल्याएको छ । र, त्योभन्दा बाहेक बाँकी पुरानै विषय दोहोरिएकोले पनि त्यसको असर भोलिपल्टको बजारमा परेको पुँजीबजारका जानकार एक लगानीकर्ताले बताए ।

अर्थमन्त्री शर्माले घटाए सेयर बजारको पुँजीगत लाभकर

काठमाडौं । अर्थमन्त्री जनादर्न शर्माले धितोपत्र कारोबारमा लाग्ने पुँजीगत लाभकर घटाएका छन् । उनले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत पुँजीगत लाभकर घटाएर न्यूनतम ३ र अधिकतम ५ प्रतिशत बताएका हुन् । सरकारले धितोपत्र बजारमा गरिने दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न सो व्यवस्था गरेको हो । यससँगै अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गर्न सुझाव दिएको छ । हाल सरकारले अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशत कर लगाएको छ । बजारमा १८० दिनभन्दा कम अवधिका लागि गरिने लगानीलाई अल्पकालीन र सो अवधिभन्दा बढी समयका लागि दीर्घकालीन अवधि मानिँदै आएको छ ।

आर्थिक सर्वेक्षणमा बैंक, बीमा र सेयर बजार, एक वर्षमा कति भयो परिवर्तन ?

mofकाठमाडौं । सरकारले विद्युतीय कारोबार बढ्दै गएको बताएको छ । सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणका अनुसार नेपालमा विद्युतीय कारोबारको अवस्था बढेको हो । यस्तै, बैंक तथा मर्जरमा प्रोत्साहन गरेको कारण बैंक तथा वित्तीय संस्थाको संख्यामा कमि आएको पनि बताएको छ । यस्तै, सर्वेक्षण वित्तीय साक्षरता र पहुँच पनि बढ्दै गएको उल्लेख गरेको छ । सर्वेणले बैंकहरुको निक्षेप ४.१ प्रतिशतले र कर्जा १२.८ प्रतिशतले वृद्धि भएको देखाएको छ । सरकारले निष्कृय कर्जामा पनि सुधार भएको देखाएको छ । यस्तै गत आर्थिक वर्षको तुलनामा सेयर बजार पुँजीकरण पनि बढेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणले बीमा पहुँच तथा विस्तारमा पनि सुधार भएको देखाएको छ । यस्तो छ बैंक, बीमा र सेयर बजारको अवस्था

‘एमालेको अर्थमन्त्री हुँदा ३३ सय पुगेको सेयर बजार गठबन्धनको कारण २२ सयमा झर्यो’

काठमाडौं । नेकपा एमालेकी सांसद नबिना लामाले एमालेको अर्थमन्त्री भएको समयमा ३३ सय पुगेको सेयर बजार अहिले २२ सयमा झरेको बताएकी छन् । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा ३३ सयमा रहेको सेयर बजारको सूचक अहिले गठबन्धन सरकारको कारण २२ सयमा झरेको धारणा राखिन् । उनले गठबन्धन सरकार सेयर बजारमैत्री नबनेको बताइन् । उनले नीति तथा कार्यक्रममा सरकारले पुँजी बजारलाई प्रभावकारी बनाइने उल्लेख गरिएकाे भएपनि यो सरकार सेयरबजारमैत्री नभएको धारणा राखिन् । ‘हाम्रो मन्त्री हुँदा ३३ सयमा पुगेको सेयर बजार अहिले २२ मा झरेको छ, गठबन्धनकाे सेयर बजारमैत्री सरकार भएन, सबै कार्यक्रम हावादारी मात्रै भए,’ उनले भने । सासंद लामाले दाबी गरे अनुसार सेयर बजार सूचक ३३ सय बिन्दुमा भने पुगेको थिएन । सेयर बजार सुचांक ३२ सयको बिन्दुमा पुगेर फर्केको थियो । यस्तै, उनले रासायनिक मल उत्पादन गर्ने कार्यक्रम पनि हावादारी रहेको बताइन् । उनले भारतले गहुँ र चिनीको निर्यात रोकेको बताउँदै अब नेपालमा खाद्य संकट आउन सक्ने धारणा राखिन् । यस्तै, कृषि उत्पादन बढाउनतर्फ सरकार उदासिन देखिएको उनकाे भनाइ छ ।

प्रभु क्यापिटलले त्रिविका विद्यार्थीलाई दियो सेयर बजारको तालिम

काठमाडौं । प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सेयर बजार सम्बन्धी तालिम दिएको छ । क्यापिटलले उक्त विश्वविद्यालयको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीको लागि ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम दिएको हो । क्यापिटलले जेठ ०९ गतेदेखि जेठ ११ गतेसम्म तालिम दिएको हो । सो वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा सेयरबजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सो वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र रिसर्च हेड अविरल नेपालले सञ्चालन गरेका हुन् ।

दोहोरो अंकले बढ्यो सेयर बजार, तीन शीर्षकमा अपर तामाकोशीको अग्रता

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार पनि दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार १४.३७ अंकले बढेर २२३१.५७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले बढी हो । परिसूचक बढेको बजारमा कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब ८ करोडको सेयर कारोबार भएको बजारमा बुधबार १ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता सेयर खरिदबिक्री भएको छ । बुधबारको बजारमा अपर तामाकोशी हाइड्रोपावर विभिन्न ३ शीर्षकमा अग्रस्थानमा रहेको छ । कम्पनी कारोबार रकम, कारोबार कित्ता र कारोबार संख्याको आधारमा अग्रस्थानमा रहेको छ । बजारमा अपरको ८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । संस्थाको १ हजार २२५ पटकको कारोबारमा १ लाख ५७ हजार १६७ कित्ता सेयर किनबेच भएको हो । बुधबार कम्पनीको अन्तिम कारोबार भने प्रतिकित्ता ५२९.९० रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा २१ रुपैयाँ अर्थात ४.१३ प्रतिशतले बढी हो । बजारमा बलेफी हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य बढेको छ । पहिलो कारोबारमा कम्पनीको सेयर मूल्य ५.९२ प्रतिशतले बढेर प्रतिकित्ता ११०.९० रुपैयाँ पुगेको छ । सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । बैंकको सेयर मूल्य ७.१३ प्रतिशतले घटेर प्रतिकित्ता ३९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बुधबार कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये सबैभन्दा बढी अंकले बढ्नेमा निर्जीवन बीमा कम्पनी र कम अंकले बढ्नेमा म्यूचुअल फण्ड र होटलस् एण्ड टुरिजम रहेका छन् । निर्जीवन बीमा समूह १३४ अंकले बढेको छ भने म्यूचुअल फण्ड र होटलस् एण्ड टुरिजम दुबै ०.०७ अंकले बढेका छन् । सरकारले आगामी आर्थिक वर्षमा पुँजीबजारका नियामकको क्षमता अभिवृद्धि गर्ने, उत्पादनशिल क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि गर्ने तथा पुँजी बजार र बीमालाई उत्पादनसँग जोड्ने नीति लिएसँगै त्यसको सकारात्मक प्रभाव बजारमा परेको देखिन्छ ।

सबैलाई सेयर बजारबारे जानकारी दिन्छु, पालिकालाई नै ब्लूचिप बनाउँछु : अध्यक्ष तिवारी

काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी निर्वाचित भएका छन् । निर्वाचित भएसँगै पालिकाको विकास गर्ने रोडम्यापको तयारमा तिवारी जुटेका छन् । तिवारी ५ हजार २३४ मत ल्याई अध्यक्ष पदमा निर्वाचित भए । पुँजी बजार जानकार तथा युवा लगानीकर्ता समेत रहेका तिवारी र्याडिसन होटल र हाथवे फाइनान्सका सञ्चालक हुन् । भ्रष्टाचाररहित प्रशासन तथा गुणस्तरीय विद्यालय शिक्षा र घरदैलोमा स्वास्थ्य सेवा कार्यकालको प्राथमिकता रहेको तिवारी बताउँछन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका तिवारीले अगाडि गर्ने काम, योजना, पूर्वाधार विकासमा उनको सोच र पालिकाको विकाससँगसँगै सेयर बजारमा उनको आगामी यात्रा लगायत विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् : अर्जुनचौपारी गाउँपालिका अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ, पहिलो काम केबाट सुरु गर्नुहुन्छ ? अहिले गाउँपालिकाको समग्र विषयमा रहेर अध्ययन गर्दैछु । पालिकाको आवश्यकता तथा स्रोत साधन के हो, दीर्घकालीन महत्वको विषय के छ, कुन क्षेत्रमा कस्तो अवस्था छ भन्ने जस्ता विषयमा जानकारी लिँदैछु । स्थानीय तहले काम गर्न खोज्दै गर्दा अरू कारणले पनि परिणाम नआएको हुन सक्छ । यस्ता विषयको पहिला अध्ययन गरी ३ वटा श्रेणीबाट काम अगाडि बढाउँछु । अति आवश्यक र अल्पकालीन कामहरू तुरुन्तै गर्छु । दीर्घकालीन काममा समय लाग्ने र खर्च बढी लाग्ने गर्छ । खर्च गर्नको लागि पालिकाको स्रोत साधन र बजेटको बारेमा थाहा पाउनु जरुरी छ । दीर्घकालिन योजनाहरू अगाडी बढाउनेको लागि खर्चको व्यवस्थापन गर्न प्रदेश र केन्द्र सरकारको सहयोगको पनि आवश्यकता पर्छ । सो योजना पनि कसरी अगाडी बढाउने र अघिल्ला निर्वाचित जनप्रतिनिधिले सुरु गरेका योजनाहरू पनि कतिपय पुरा भएका छैनन् । ती कामको पनि अध्ययन गरी अगाडि बढाउनु पर्ने हुन्छ । गाउँपालिका अवश्य ब्लूचिप पालिकाका रूपमा बन्नेछ । नागरिकले सहज रूपमा स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर, जसको आर्थिक अवस्था कमजोर छ, उसलाई सामाजिक सुरक्षा व्यवस्था गर्न र नागरिकका न्यूनतम आवश्यकता पुरा भएपछि पालिकालाई ब्लूचिपको रूपमा अगाडि बढाउने योजना बनाएको छु । देशभरका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले पहिलो काम भनेर जनताबीच यो काम गर्छु भन्छन् । कतिले पानीको उद्घाटन गरेर पनि सुरु गरेको देखिन्छ । म सम्पूर्ण विषयको अध्ययन गरिसकेर मात्र प्रभावकारीदेखि महत्वकांक्षीसम्मका योजनाहरू अगाडि बढाउने छु । अर्जुनचौपारी गाउँपालिका ब्लूचिप पालिका बन्छ कि बन्दैन होला ? गाउँपालिका अवश्य ब्लूचिप पालिकाका रूपमा बन्नेछ । नागरिकले सहज रूपमा स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर, जसको आर्थिक अवस्था कमजोर छ, उसलाई सामाजिक सुरक्षा व्यवस्था गर्न र नागरिकका न्यूनतम आवश्यकता पुरा भएपछि पालिकालाई ब्लूचिपको रूपमा अगाडि बढाउने योजना बनाएको छु । झन्झट र भ्रष्टाचारमुक्त पालिकाको वडा प्रशासन बनाउने छु । पालिकाले दिने सेवा सुविधा जनतालाई सहज रूपमा प्रदान गर्नेछौं । शैक्षिक गुणस्तरसँगै सिकाइको कुराहरू पनि अगाडि बढाउने छौं । विद्यार्थीहरूलाई वित्तीय साक्षरता र सामान्य सेयर बजारको बारेमा पनि सिकाउछौं । प्राइभेट स्कुलभन्दा सरकारी विद्यालयमा विद्यार्थीको रोजाइको केन्द्र बनाउने सोचमा छु । पाँच वर्षभित्रमा गाउँपालिकाका अतिविपन्न परिवारको पनि वार्षिक आय एक लाख रुपैयाँसम्म हुने वातावरणको सिर्जना गर्ने छु । त्यसको लागि गाउँपालिकाले उनीहरूलाई सिप सिकाउने वा रोजगारी दिने जस्ता कुनै पनि तरिका बताएर भए पनि सो ठाउँसम्म पुर्याउछौं । तपाईं राम्रो अध्ययन र विश्लेषण क्षमता भएको पुँजी बजारको युवा लगानीकर्ता हो, अहिले राजनीतिमा होमिनु भएको छ, अब लगानीकर्ताको रूपमा पनि रहनु हुन्छ कि एक राजनीतिज्ञको रूपमा अघि बढ्नुहुन्छ ? म राजनीतिमा लाग्दै गर्दै जब आफ्नो आवश्यकता पूरा गर्न सकिदैन, तब स्रोतको दुरुपयोग गर्नुपर्छ भन्ने बुझाइ थियो । म हिँड्ने, खाने, परिवार पाल्ने, छोराछोरी पढाउने खर्च मेरो स्रोतबाट जुटाउन सकिनँ भने पदको विरुद्ध गर्नु पर्याे । मानिसले सेवा सुविधाको भोग नगरी पनि बस्न सक्दैन । मेरा छोराछोरीलाई राम्रो पढाउँ, गाडी चढौं, राम्रो कपडा लगाऊ भन्ने मेरो पनि सोच हुन्छ । यसको लागि म पुरै समय राजनीतिज्ञ बने भने मेरो आम्दानीको स्रोत हुँदैन । सेयर बजारमा मेरो जीविकोपार्जन गर्नको लागि मैले गरेको लगानीबाट आउने अतिरिक्त आम्दानीको स्रोतले मलाई पुग्छ । अब कहिले काही फुर्सदमा गर्ने लगानी र त्यसबाट आउने रिटर्नले मेरो परिवारलाई एउटा स्ट्याण्डर्ड लाइफ जिउन पुग्छ । अहिले मैले सार्वजनिक पद धारण गरेको छु । त्यसबाट आर्थिक लाभ लिएर वा अनियमितता गरेर मेरो परिवार चल्नु पर्दैन भन्ने आत्मविश्वासका कारण म राजनीतिमा आएको हुँ । राजनीतिसँगै सेयर बजारको काम अगाडि बढाउने छु । मैले सेयर बजारमा दीर्घकालीन लगानी गरेको छु । राजनीति भनेर हिँडे भने मेरो आम्दानीको स्रोत पनि हुँदैन । अहिले म पहिला जस्तो सक्रिय भई लगानी गर्दिन । किनभने मलाई समय पुग्दैन । १० प्रतिशतभन्दा बढी समय सेयर बजारलाई दिन सक्दिन । त्यसकारणले गर्दा पनि मेरो पोर्टफोलियोलाई त्यही अनुसार म्यानेज गरेको छु । मैले लाभांश दिने कम्पनीहरू मात्र राखेको छु । त्यसले दिने र मलाई वार्षिक रूपमा कम्पनीहरुबाट आउने प्रतिफलले नै मलाई पुग्छ । सेयर बजारमा लागेको मान्छे २ मिनेट समय पाउँदा पनि परिसूचक हेर्ने मन लाग्दो रहेछ । तपाईं पुँजी बजारको सक्रिय लगानीकर्ता, अब गाउँपालिकाका नागरिकहरूलाई पनि सेयर बजार लगानी सिकाउने योजना बनाउनु भएको छ कि के गर्नुहुन्छ ? पालिकाका नागरिकहरूलाई पनि सेयर बजारको बारेमा जानकारी दिने वा लगानी गर्न सिकाउने सोच बनाएको छु । यहाँ धेरैलाई सेयर बजारको बारेमा जानकारी छैन । जानकारी भएकाहरूले राम्रोसँग बजारको बारेमा बुझी लगानी गर्दै आएको र राम्रो प्रतिफल पनि प्राप्त गरेको पाइन्छ । पालिकाका बालबच्चालाई एक किसिमको सेवा शिक्षा, यहाँका बौद्धिक वर्गको लागि भिन्न तरिबाट सेयर बजारको बारेमा सिकाउने छु भने शैक्षिक योग्यता कम भएका मानिसहरूको लागि आईपीओको बारेमा सिकाउने योजना बनाएको छु । तपाईंलाई पुँजी बजारको अहिलेका अवस्था कस्तो लाग्छ ? पुँजी बजार हो, घट्ने बढ्ने हुन्छ नै । अहिले बजार घटिरहेको अवस्था छ । नेपालको आर्थिक अवस्था नै संकटग्रस्त अवस्थामा छ भन्ने समाचारहरू सुन्छौं । अर्थतन्त्रको अवस्था सकारात्मक खालको देखिँदैन । त्यसकारणले पनि पुँजी बजारमा समस्या परेको देखिन्छ । देशको अर्थतन्त्र क्रमिक रुपमा सकारात्मक हुँदै गएपछि सेयर बजार पनि बढ्दै जान्छ । अर्थतन्त्रमा सुधार आएपछि मात्र सेयर बजार बढ्न थाल्छ । अर्थतन्त्र अब सुधार आउँदैछ भन्ने माहोलको सिर्जना भयो भने लगानी गर्न थाल्छन् र लगानी गर्दै जादा बजार पनि बढ्दै जान्छ । अहिले नै अर्थतन्त्रमा पनि सुधार आउँछ र बजार पनि बढी हाल्छ भन्ने अवस्था चाहिँ देखिँदैन । गाउँपालिकामा देख्नुभएको प्रमुख समस्या के हो ? काठमाडौं बसेर गाउँका समस्या यस्ता छन् भन्नु र गाउँमा आएर गाउँका समस्याहरू बुझ्नुमा धेरै भिन्नता छ । काठमाडौंमा बसेर राजनीति गर्छु र गाउँ यस्तो बनाउँछु भनेर मैले बनाएको योजनाहरूमा रि-मोडलिङ गरिरहेको छु । पालिकाको आवश्यकता, जनचेतनाको स्तरदेखि यहाँ धेरै कुराहरू फरक छन् । यी कुराहरूको पूर्णरूपमा अध्ययन गरी समेटेर जाँदा राम्रो हुन्छ भन्ने हो । हामी काठमाडौंमा पानीको हाहाकार छ भन्ने बुझ्छौं । गाउँमा खोलानाला छन् । मेरो नै कार्यकक्षको नजिकै खोला छ । तर, त्यो खोलाभन्दा २० मिटर परका घरको मान्छेले पानी खान पाएको छैन । पाइपमा पानी लगेर खाने अवस्था छ । तर, पहिरो आएर पानीका पाइप बगाइदियो भने पानी खान कहाँ जाने भन्ने अवस्था छ । योजना नबनाई अन्दाधुन्द डोजर चलाएर यहाँ सडकको निर्माण धेरै भएका छन् । २/३ किलोमिटर सडक खनेर २/३ वटा घरमा पुर्याएका छौं । त्यस्ता सडकहरूलाई पिच गर्न सक्ने अवस्था रहँदैन । अव्यवस्थित रूपमा पालिकामा बाटोहरू खनिएका छन् । बस्तीलाई एकीकृत गर्नतर्फ लागेका नै छैनौं । गाउँपालिकाको मूल समस्याको रुपमा बसाइसराई रहेको छ । अहिले विकास हामीले गर्दै गर्याें भने पनि गाउँगाउँमा विकास पुग्ला । तर गाउँगाउँमा मान्छे हुने अवस्था छैन । पढेका लेखेका मान्छेहरू काठमाडौं, पोखरा लगायतका अन्य ठाउँ जान्छन् । त्यहाँबाट पनि विदेश जान्छन् । युवा जनशक्ति सबै खाडी मुलुकमा छन् । गाउँमा गयो भने राम्रो राम्रो घरहरू सबै खाली छन् । गाउँमा वृद्धा, बालबालिका र महिलाबाहेक खासै देखिँदैन । यहाँको मूल समस्या नै यही हो । गाउँमा शिक्षाको स्तर एकदमै कमजोर छ । मादक पदार्थ सेवन गरी स्कुलमा पढाउने शिक्षक गाउँमा अझै छन् । विद्यालयमा पढाउने शिक्षकले पुरै समय राजनीति गर्छन्, पढाउँदैनन् । कर्मचारीहरु नै राजनीति गर्छन् । पालिकामा समस्या धेरै छन् । समस्याको समाधान गर्दै अगाडि बढ्ने छौं । यहाँ नागरिकहरुका इच्छा आकाङ्क्षाहरु धेरै छन् । अहिले गाउँ, गाउँ जस्तो रहेन । पहिला पहिला गाउँमा विकास गर्ने मान्छे आउँदा हामी आफैले लागिपरेर भए पनि काम गर्थ्यौं । अहिले गाउँमा कुनै केही कार्यक्रम लिएर गयो भने सबैभन्दा पहिला कति पैसा आउँछ भन्छन् गाउँका मान्छेहरू । घर अगाडिको नाली एउटा ढुङ्गा खसेको छ, त्यो चाहिँ गाउँपालिका वा सरकारले फलिदिए हुन्थ्यो भन्छन् । पानीको पाइप बगायो भने पहिला गाउँका मान्छे नै जान्थे, अहिले गाउँका मान्छे जान छोडिसके । हामी आफैले गर्ने हो भन्ने खालको सोच चाहिँ हराउँदै गएको र गाउँमा गाउँले प्रवृत्ति हराउँदै गएको आयतिक बजारे प्रवृत्ति हाबी हुँदै गएको देखिन्छ यहाँ । सार्वजनिक सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउनु हुन्छ ? ‘हामी शासक हैन, सेवक बन्ने छौं’ भन्ने मेरो मूल नारा हो । धेरै निर्वाचित जनप्रतिनिधिको मनोविज्ञान के छ भने अब म भयंकर ठूलो मान्छे भएँ, मलाई जनताहरूले मान्नुपर्छ भन्ने खालको छ । जनताको सेवाको लागि हामी जनप्रतिनिधिहरू सधै खटिने छौं । जनतालाई अनावश्यक र शैक्षिक योग्यता छैन भनेर दुख दिने नियतले कुनै कर्मचारीले नियतवश काम गर्छ भन्ने त्यस्ता कर्मचारीलाई म आफै गएर प्रतिवाद पनि गर्छु । र, जागिरको हस्तक्षेप पनि गर्छु । पर्यटन प्रवर्द्धन, खानेपानी तथा सरसफाइको उचित व्यवस्थापन तथा समतामूलक समाजको निर्माण गर्ने प्रतिबद्धता जनता सामु गरेर अगाडि बढेको छु । अघिल्ला निर्वाचित अध्यक्षले पालिकामा कस्तो काम गरेको पाउनुभयो ? उहाँहरुले कति पनि काम गर्नुभएन भन्दिनँ । विकास भन्ने बित्तिकै सडक हो भन्ने मात्र भयो । तर, नागरिकले चाहेको सडक मात्रै हैन । स्थानीयको समस्यालाई बुझेर उहाँहरूले काम गर्न सक्नु भएको छैन । बजेट पास नै नगरी बजेट बाढेको देखिन्छ । पैसा गएको देखिन्छ तर त्यसको उपलब्धी भने छैन । करोडौं लगानी गरेर बनेका परियोजनाहरू अलपत्र अवस्थामा छन् । भ्यूटावरमा हाम्रो पनि पालिकाको लगानी छ । खर्चको आवश्यकता नभएको ठाउँमा पनि खर्च भएको देखिन्छ ।

सेयर बजारमा १८ बीमा कम्पनीको लगानी : ज्योतिले ११५ प्रतिशत बढाउँदा अन्यले कति ?

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीले साढे ८ अर्ब रुपैयाँ बढी लगानी सेयर बजारमा गरेका छन् । जुन पुस मसान्तको तुलनामा ५ करोड १९ लाख रुपैयाँले बढी हो । कम्पनीहरुले अघिल्लो त्रैमास अर्थात पुस मसान्तसम्ममा ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी दोश्रो बजारमा सूचीकृत कम्पनीको सेयरमा गरेका थिए । सञ्चालित १९ कम्पनीमध्ये १८ कम्पनीले सो मात्राको लगानी गरेका हुन् । बीमा समितिको तथ्यांक अनुसार सञ्चालित मेटलाइफ एलिको बाहेक अन्य कम्पनीले सो मात्राको लगानी गरेका हुन् । लगानी गरेका कम्पनीमध्ये रकमको आधारमा सबैभन्दा बढी लगानी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) को छ । कम्पनीले चालु आवको ९ महिनामा मात्रै २ अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी गरेको छ । जुन गत तीन महिनायताकै ८९.२४ प्रतिशतले बढी हो । एलआईसीले गत पुससम्मको १ अर्ब ५३ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेको थियो । त्यस्तै, नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्सले हालसम्म १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । बजारमा सबैभन्दा कम लगानी गुराँस लाइफ इन्स्योरेन्सको छ । इन्स्योरेन्सले हालसम्म ६९ लाख २५ हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जुन पुसमसान्तको तुलनामा स्थिर छ । त्यस्तै, गत पुसदेखि चैतसम्मको लगानी प्रतिशत हेर्ने हो भने अधिकांशले लगानी बढाएका छन् । र, तीन वटा कम्पनीको लगानी स्थिर छ भने ५ वटा कम्पनीले भने घटाएका छन् । लगानी घटाउनेमा नेपाल लाईफ, रिलायबल लाईफ, आईएमई लाईफ, प्रभु लाईफ र सिटिजन लाईफ रहेका छन् । यी कम्पनीले क्रमशः ५७.३७, ४०.६०, ३८.०४, ३७.७६ र ३.५५ प्रतिशतले सेयरमा लगानी घटाएका छन् । यता प्रतिशतको आधारमा सबैभन्दा बढी लगानी बढाउनेमा ज्योति लाइफ इन्स्योरेन्स छ । ज्योतिले गत तीन महिनाको अवधिमै ११५ प्रतिशतले सेयर लगानी बढाएको छ । गत पुससम्म ६ करोड ५२ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको इन्स्योरेन्सले चैत मसान्तसम्ममा १४ करोड २ लाख रुपैयाँ बराबरको लगानी गरेको देखिन्छ । पुसयता लगानी बढाएको कम्पनीमध्ये सबैभन्दा कम प्रतिशतले बढाउनेमा सूर्या लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सले पुसदेखि यता २.६५ प्रतिशतले लगानी बढाएर चैतसम्ममा ३३ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ । राष्ट्रिय बीमा संस्थान, सानिमा लाईफ र गुराँस लाईफ इन्स्योरेन्सको सेयर लगानी भने स्थिर छ । जसमध्ये राष्ट्रिय बीमा संस्थानले १८ करोड ६५ लाख, सानिमाले २ करोड ६४ लाख र गुराँसले ६९ लाख रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा गरेका छन् । जुन पुसदेखि यता स्थिर छ । घटबढ छैन । जीवन बीमा इन्स्योरेन्स कम्पनीहरुले नेप्सेमा सूचीकृत कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको छ । सोहि अनुसार उनीहरुले दोश्रो बजारमा लगानी गर्दै आएका छन् । कसले कति गरे ?

४५ मिनेटमा ४८ अंकले घट्यो सेयर बजार

काठमाडौं । सेयर बजार ४८ अंकले घटेको छ । ११ बजेर ४५ मिनेट जाँदा सेयर बजारमा ४८.२८ अंकको गिरावट आएको हो । यो समाचार तयार पर्दासम्म सेयर बजारमा ४ लाख ८५ हजार २ सय ४४ कित्ता सेयर खरिद बिक्रीबाट २४ करोड १७ लाख ६२ हजार रुपैयाँ लाख रुपैयाँ कारोबार भएको छ । आज (मंगलबार) सेयर बजारमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमसएस) मा पनि समस्या देखिएको छ । टीएमएसमा समस्या देखिँदा लगानीकर्ताले खरिद बिक्रीमा पनि समस्या भएको छ ।

जेठदेखि शुक्रबार पनि सेयर बजार खुल्ने

काठमाडौं । जेठदेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । यसअघि हरेक शुक्रबार बन्द हुँदै आएको सेयर बजार आगामी जेठदेखि शुक्रबार पनि खुल्ने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी छलफलमा बोर्ड अध्यक्ष हमालले सो कुरा बताएका हुन । उनले यसअघि शुक्रबार बन्द हुँदै आएको सेयरबजार सञ्चालनका लागि बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिईसकेका जानकारी दिए । नेपाल सरकारले हरेक हप्ता दुई दिन सार्वजनिक बिदा दिने भएपछि सेयर कारोबार खुल्ने दिनको परिमार्जन गरिएको हो । सरकारले २०७९ जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णय अनुसार नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको साटो शुक्रबार सेयर कारोबार खोल्ने विषयमा छलफल गर्दैआएको थियो । हरेक साता दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समयमा पनि केही परिमार्जन गरेको छ । नयाँ निर्णय अनुसार सरकारले कार्यालय समय बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म तोकेको छ । हालसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कार्यालय समय तोकिएको थियो । हाल सेयर बजार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्दै आएको छ ।

अबदेखि शुक्रबार पनि सेयर बजार खुल्ने

काठमाडौं । अबदेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । यसअघि हरेक शुक्रबार बन्द हुँदै आएको सेयर बजार आगामी जेठदेखि भने शुक्रबार पनि खुल्ने भएको हो । नेपाल सरकारले हरेक हप्ता दुई दिन सार्वजनिक बिदा दिने भएपछि सेयर कारोबार खुल्ने दिनको परिमार्जन गरिएको हो । सरकारले २०७९ जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यससँगै नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको साटो शुक्रबार सेयर कारोबार खोल्ने विषयमा छलफल भइरहेको नेप्सेका सीईओ कृष्ण बहादुर कार्कीले बताए । ‘सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ, त्यसैले सेयर बजार पनि आइतबार बन्द हुन्छ, यसको सट्टा शुक्रबार खोल्छौं,’ नेप्सेका सीईओ कार्कीले बताए । हरेक साता दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समयमा पनि केही परिमार्जन गरेको छ । नयाँ निर्णय अनुसार सरकारले कार्यालय समय बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म तोकेको छ । हालसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कार्यालय समय तोकिएको थियो । सरकारले कार्यालय समय पनि परिवर्तन गरेसँगै सेयर कारोबारको समय पनि परिमार्जन हुन्छ की भन्नेमा अन्यौलता छ । तर सेयर कारोबार समय परिवर्तन गर्ने विषयमा भने केही पनि छलफल नभएको सीईओ कार्कीले बताए । हाल सेयर बजार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्दै आएको छ । ‘समय परिवर्तन गर्ने विषयमा हालसम्म छलफल भएको छैन, सायद परिवर्तन हुँदैन होला,’ उनले विकासन्युजलाई बताए । उनका अनुसार यो नयाँ निर्णय आगामी जेठ १ गतेदेखि नै लागू छ । तर नियामक निकाय धितोपत्र बोर्डले निर्णय गरेपछि मात्रै नेप्सेले कार्यान्वयनमा ल्याउने समेत उनको भनाई छ ।

सेयर बजारमा छायो हरियाली, दुई घण्टामै ६२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आइतबारको सेयर बजारमा हरियाली छाएको छ । कारोबार शुरु भएदेखि नै आइतबारको बजार उकालो लागेर हरियाली भएको हो । बजारमा सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक ६२.२१ अंकले बढीसकेको छ । कारोबार खुलेको २ घण्टाको अवधिमै परिसूचक सो मात्रा अर्थात २.६८ प्रतिशतले बढेर २३८७.६६ बिन्दुमा पुगेको छ । दिउँसो १२ बजेर ५७ मिनेट जाँदासम्म बजारमा ८२ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार भएको छ । दुई घण्टाको अवधिमा कम्पनीको ५ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । त्यस्तै, यो समाचार तयार पार्दासम्म दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भइसकेको छ । बेष्ट फाइनान्स कम्पनी र ग्रीन भेन्चर्सको सेयर मूल्य क्रमशः १० र ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४०८.१० र ३९६.८० रुपैयाँमा किनबेच भइरहेको छ । उता कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ ।

सेयर बजारमा इतिहास कायम भएको वर्ष २०७८ : डिम्याट खोल्नेको संख्या सवा ५१ लाख पुग्यो

काठमाडौं । २२ अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको सेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका छन् । यस्तै, ४२ लाख ३५ हजार ३९३ वटा मेरो सेयरको एकाउण्ट खोलिएको छ । कूल आठ अर्ब ३६ करोड १५ लाख ४३ हजार ६८४ कित्ता सेयर अभौतिकीकरण गरिएको छ । यो विवरणले पनि नेपालको सेयर बजारमा भएको विस्तार र विविधिकरणको चित्रण गर्दछ । दोस्रो बजारमा सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा हालसम्म ३३० कम्पनी सूचीकृत भएका छन् । नेप्सेमा अझै पनि बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीको बोलवाला देखिन्छ । वर्ष, २०७८ ले सेयर बजार नयाँ उचाइमा पुग्न सक्छ भन्ने एउटा रेकर्ड कायम गरेको छ । मिश्रित एवं पूँजीवादी अर्थ राजनीतिक प्रणाली अवलम्बन गरेका धेरै देशमा सेयर बजारमार्फत पूँजी सङ्कलन गर्ने र लगानी विस्तार गर्ने गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण लगानीका अन्य स्रोतमा भएको बञ्चितीकरणले पनि सेयर बजारमा असाध्यै ठूलो उभार आएको थियो । नेप्सेको विवरणअनुसार २०७८ भदौ २ गते नेप्से तीन हजार २०० को अङ्क नजिक पुगेको थियो । यो बिन्दु हालसम्मकै उच्च हो । त्यस दिन बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९० हजार बराबर पुगेको थियो । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) ४१ खर्ब बराबर छ तर, बजार पूँजीकरण जीडीपीभन्दा तीन खर्ब बढी भएको थियो । त्यस दिन बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९० हजार बराबर पुगेको थियो । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) ४१ खर्ब बराबर छ तर, बजार पूँजीकरण जीडीपीभन्दा तीन खर्ब बढी भएको थियो । विसं २०७७ चैत ३१ को अन्तिम कारोबार दिन नेप्से परिसूचक दुई हजार ७१४.७९ अङ्कमा बन्द भएको थियो । गत वर्षको पहिलो कारोबार दिन अर्थात् २०७८ वैशाख २ गते नेप्से परिसूचक २०.६७ अङ्कले बढेर दुई हजार ७३५.४६ मा बन्द भएको थियो । अनेकन उतारचढावका बीच नेप्से परिसूचकले गत भदौ २ गते सबैभन्दा उच्च बिन्दुको इतिहास कायम गर्‍यो । त्यसदिन नेप्से परिसूचक तीन हजार १९८.६० मा पुगेको थियो । सेयर बजारमा थोरै पूँजी लगानी गर्नेले समेत राम्रै नाफा कमाएका थिए । तर, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यक्तिगत रुपमा चार करोड र परिवारका थप तीन जनाले १२ करोड बराबर मात्रै सेयर धितो कर्जा लिन पाउने बन्दोबस्ती गरेपछि सेयर बजारमा राम्रै हलचल भयो । सेयर लगानीकर्ताका विभिन्न समूहले केन्द्रीय बैङ्क सेयर बजार मैत्री नभएको भन्दै असन्तुस्टि व्यक्त गरे । सेयर बजारलाई उत्पादनशील क्षेत्र मान्ने कि अनुत्पादक क्षेत्र मान्ने भन्ने बहस सधैंजसो चलिरहेको छ । केन्द्रीय बैंकको लगानी सीमाले पनि सो बहसलाई सतहमा ल्याइदियो । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना गैरकानुनी सेयर कारोबारमा संलग्न भएको पाइएपछि यसै वर्ष बर्खास्तीमा परे । सर्वोत्तम सिमेन्ट कम्पनीको साधारण सेयर बुक बिल्डिङ विधिबाट बिक्री गर्ने प्रयोजनका लागि बोर्डमा आवेदन दिनु अगावै अध्यक्ष ढुङ्गानाले छोरी रेविकाको नाममा १० हजार कित्ता सेयर खरिद गरेको समाचार सार्बजनिक भयो । नियमक निकायको प्रमुखले नै सेयर खरिद गरेको भन्दै चौतर्फी रुपमा आलोचना भयो । अर्थ मन्त्रालयले ढुङ्गानालाई के कसो भएको हो भन्ने जिज्ञासा राख्दै पत्राचार गर्‍यो । मन्त्रालयले आन्तरिक रुपमा मात्रै नभई विशेष छानबिन समिति नै गठन गरेर ढुङ्गानामाथि अनुसन्धान गर्‍यो । अनुसन्धानबाट ढुङ्गानाले गैरकानुनी रुपमा सेयर खरिद गरेको पुष्टि भयो । अन्ततः उहाँ आफ्नो पदबाट हट्नुपर्‍यो । नेपालको सेयर बजारको इतिहासमा नियमक निकायको प्रमुख नै बर्खास्तीमा परेको पनि यो पहिलो पटक देखियो । त्यतिमात्रै नभई, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पनि सर्वोत्तम सिमेन्ट प्रकरणले राजीनामा दिन बाध्य बनायो । साउदले समेत श्रीमतीको नाममा सेयर खरिद गरेको पाइएको थियो । नियामक र बजार व्यवस्थापकको रुपमा रहेको नेप्सेका प्रमुखलाई नै कारबाहीको दायरामा ल्याउने विषय सेयर बजारका लागि कालो इतिहासको रुपमा स्थापित भयो । विसं २०७७ को असार मसान्तमा १७ लाखको हाराहारीमा रहेको हितग्राही खाता हालसम्म आइपुग्दा ५१ लाख बढी पुग्नु पनि सेयर बजार क्रमशः विस्तारित हुँदै गएको छ भन्ने अर्थमा लिन सकिन्छ । धितोपत्र बजारमा लगानीकर्ता क्रमशः प्रविधिमैत्री बन्दै गएका छन् । आव २०७७/७८ मा साधारण सेयरको प्राथमिक निष्काशनमार्फत २२ सङ्गठित संस्थाले १५ अर्ब १९ करोड, हकप्रद सेयरमार्फत सात सङ्गठित संस्थाले १४ अर्ब पाँच करोड, ऋणपत्रमार्फत २३ कम्पनीको ६९ अर्ब ६० करोड र सामूहिक लगानी कोषमार्फत नौ वटा योजनाको नौ अर्ब ९० करोड गरी एक खर्ब आठ अर्ब ७४ करोड बराबरको पूँजी परिचालन गरिएको थियो । चालू आवको हालसम्म कूल १४ कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति दिइएको छ । ती कम्पनीले ३७ करोड ९२ लाख पाँच हजार ८०५ कित्ता सेयर तीन अर्ब ७९ करोड २५ लाख ८० हजार ५०० मूल्यमा बिक्री गर्नेछ । बोर्डमा विभिन्न २३ कम्पनीले साधारण सेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको अवस्था छ । वर्षभर नै आशा जगाएको बजारले पछिल्ला केही महिनामा भने निराश बनाएको लगानीकर्ताको टिप्पणी छ । यद्यपि, वर्ष २०७८ को सेयर कारोबार हुने अन्तिम दिन गत बुधबार अर्थात् चैत ३० गते भने आशा जगाएर बन्द भएको थियो । त्यसदिन नेप्से ३०.२४ अङ्कले उकालो लागेर दुई हजार ४१५.२४ मा बन्द भएको छ । यस आधारमा हेर्दा पनि बजार पूँजीकरण झण्डै १० खर्ब बराबरले ओरालो लागेको देखिन्छ । त्यसबाट सेयर लगानीकर्ताले १० खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । नेप्सेमा पछिल्ला दिन जलविद्युत् कम्पनीको बोलवाला बढ्दै गएको देखिन्छ । कूल ४७ वटा जलविद्युत् कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । सबैभन्दा धेरै सेयर भएको मानिएको माथिल्लो तामाकोशी समेत १० शीर्ष बजार पूँजीकरण भएको कम्पनीको रुपमा यसै वर्ष स्थापित भएको थियो । नेपाल टेलिकम हालसम्म पनि धेरै बजार पूँजीकरण भएको कम्पनीको रुपमा नेप्सेमा सूचीकृत छ । केन्द्रीय बैंकको नीति, बैंक तथा वित्तीय संस्थाको तरलताको अभावजस्ता कारणले बजार सुस्ताएको छ । इतिहास कायम गरेको नेप्सेले यस वर्ष अर्को नयाँ इतिहास कायम गर्ने विश्वास पनि व्यक्त गरिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक फरक प्रसङ्गमा विश्व सेयर बजार र एकाधिकार पूँजीपतिको अर्थराजनीतिक विषयमा गरेको टिप्पणीलाई लिएर केही दिन नेपालको सेयर बजारसमेत प्रभावित भयो । गत पुसमा सम्पन्न माओवादीको आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमा पनि साना सेयर लगानीकर्ताको हितमा सेयर बजारले काम गर्न नसकेको विषय समेटेका थिए । सेयर बजार विरोधी अभिमत आएको भन्दै केही लगानीकर्ताले त्यसमा असन्तुष्टि जनाए । अध्यक्ष ‘प्रचण्ड’ले विश्व सेयर बजारको सन्दर्भमा उल्लेख गरेको विषय नेपालको सेयर बजारसँग सम्बन्धित नभएको भन्दै स्पष्टीकरण नै दिनुपर्‍यो । बोर्डमा सरकारले रमेशकुमार हमाललाई नियुक्त गरेको छ । यस्तै, नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । सेयर बजारको विकास र विस्तारमा सरकारले विशेष ध्यान दिएको अर्थमन्त्री जनार्दन शर्माले पटक–पटक दोहोर्‍याएका छन् । वास्तविक क्षेत्रलाई सेयर बजारमा ल्याउन आफू प्रयासरहत रहेको बोर्डका अध्यक्ष हमालले प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । बैंक तथा वित्तीय संस्थाको सेयरले मात्रै बजार विस्तार हुन नसक्ने उल्लेख गर्दै उनले वास्तविक क्षेत्रलाई सेयर बजारमा ल्याउने, बजारको आधुनिकीकरण गर्ने र लगानीका नयाँ क्षेत्रको पहिचान गर्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइसकेको तथ्य सार्वजनिक गरेको छ । त्यस्तै, नेप्सेका प्रमुख कार्यकारी अधिकतले बजारमा हुने अनाधिकृत कारोबार, इन्साइडर ट्रेडिङ रोक्न आफूले प्रयास थालिसकेको बताएका छन् । वर्षभरि नै सेयर बजारमा अलिक चलाख लगानीकर्ताको बोलवाला देखिएको थियो । नेप्से परिसूचक लगातार उकालो लाग्दा नाफा कमाइयो भनेर बसेका लगानीकर्ता पछिल्ला दिनमा आइपुग्दा धेरै गुमाउन पुगेको अवस्था छ । नेप्से उकालो लाग्दा बजारमा प्रवेश गर्ने लगानीकर्ता ओरोलो लागेको बजारमा भने प्रवेश गरेका छैनन् । तरलताको सहजता एवं लगानीमैत्री वातावरण बन्ने अपेक्षामा लगानीकर्ता यतिबेला पर्ख र हेरको अवस्थामा पुगेका छन् । यस्तै, साधारण सेयरमा आवेदन दिनेको सङ्ख्यामा पनि उल्लेख्य प्रगति हुनु, गाउँ गाउँमा समेत सेयर बजारको बारेमा चासो बढ्नु तथा प्रविधिमैत्री बन्दै जानुले पनि नेपालको सेयर बजार नयाँ उचाइमा पुगेको छ । वर्ष, २०७८ मा कायम गरेको भन्दा नयाँ उचाईमा बजार पुग्ने र ठूलो पूँजी परिचालन हुने अपेक्षामा सरकार र लगानीकर्ता समेत व्यग्र प्रतिक्षारत छन् । देशको आर्थिक अवस्था सङ्कटग्रस्त हुने दिशामा पुगेको भन्ने आशङ्का बीच नेपालको सेयर बजारले वर्ष २०७९ लाई सकारात्मकरुपमा स्वागत गर्ने धेरैको अपेक्षा छ । बोर्डका अध्यक्ष हमालको शब्दमा बजारमा नयाँ लगानीको अवसर खोज्दै जाँदा त्यसले पक्कै पनि सकारात्मक प्रभाव पार्नेछ । किनकि, रातपछि दिन आउँछ र उज्यालो घाम लाग्छ भने जस्तै ‘बियरिस ट्रेण्ड’मा रहेको सेयर बजारले पक्कै पनि ‘बुलिस ट्रेण्ड’ पछ्याउने नै छ । किनकि, यसै वर्ष, स्थानीय तह र सङ्घीय संसद्को निर्वाचन हुँदैछ । कोरोनाको कहर क्रमशः अन्त्य भएको छ । सरकारले नयाँ आर्थिक नीतिको तर्जुमा गर्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा क्रमशः तरलताको सङ्कट हट्दै जाने अपेक्षा गरिएको छ । गैरआवासीय नेपालीले सेयर बजारमा लगानीका लागि तयार भएका छन् । सरकारले विलासी वस्तुको आयातमा रोक लगाएको छ । बजारसमेत मनोवैज्ञानिक रुपमा सबल बन्दै गएको छ । यी र यस्ता कारणले नेपालको सेयर बजारमा सुनौलो घाम उदाउने विश्वास व्यक्त गर्न सकिन्छ । रासस