काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल । जेड स्ट्रिटको साँघुरो गल्लीमा विदेशी पर्यटकहरू रिक्सामा यात्रा गरिरहेका छन् । कोही ढाडमा ठूलो ब्याकप्याक बोकेर नयाँ गन्तव्यतर्फ लागेका छन् । यही चहलपहलबीच एउटा आकर्षक सैलुन छ- रञ्जित ठाकुर बार्बर सप ।
भित्र एक युवक ग्राहकको कपाल मिलाइरहेका छन् । उनी हुन्, जनकपुरबाट तीन दशकअघि काठमाडौं आएका रञ्जित ठाकुर ।

रञ्जित १५ वर्षअघि पुर्ख्यौली पेसालाई निरन्तरता दिन दाजुको हात समाएर अपरिचित सहर काठमाडौं आएका थिए । सुरु–सुरुमा उनलाई यहाँका सबै कुरा नौला लाग्थे- सडकमा गुड्ने गाडी, मानिसहरूको भीड र आफूले काम गर्ने कैंचीसमेत ।
मधेसको तातो हावा छोडेर उनी काठमाडौंको चिसो वातावरणमा घुलमिल हुन आइपुगेका थिए । तर, उनलाई वातावरणसँग मात्र होइन, यहाँको जीवनशैलीसँग पनि अभ्यस्त हुनुपर्ने थियो । साथै, पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आफ्नो भविष्य निर्माण गर्ने चुनौती पनि उत्तिकै थियो ।

किशोरावस्थामै काम र जीवनको महत्त्व बुझेका रञ्जित परिवारको जिम्मेवारीले पनि चाँडै परिपक्व बने । त्यसैले केही गरेर देखाउने अठोट र परिवारको भविष्य बदल्ने सपना बोकेर उनी काठमाडौं आएका थिए ।
उनको आँखामा एउटै सपना थियो- ठूलो सहरमा संघर्ष गरेर परिवारको गुजारा चलाउने । त्यही सपना पछ्याउँदै अघि बढेका रञ्जित आज काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा लाखौँ रुपैयाँ मूल्यको आफ्नै बार्बर सप सञ्चालन गर्न सफल भएका छन् ।

काठमाडौं आउँदा रञ्जितको खल्तीमा पैसा थिएन । हातमा कुनै डिग्री पनि थिएन । उनीसँग थियो त केवल पुर्ख्यौली सीप- कपाल काट्ने कला ।
तीन दशकभन्दा बढी समयपछि तिनै रञ्जित आज काठमाडौंका सफल उद्यमीका रूपमा स्थापित छन् । कैंची र काइँयोको भरमा सुरु गरेको उनको व्यवसायिक यात्रा अहिले द्रुत गतिमा अघि बढिरहेको छ ।
दाजुसँग काठमाडौं आएपछि उनले ठमेलको पकनाजोलस्थित आफन्त (अङ्कल) को सैलुनमा दुई-तीन वर्ष काम गर्दै सीपलाई अझ निखारे ।
'त्यतिबेला म सानै थिएँ। काम सिक्ने भोक थियो,' उनी विगत सम्झिन्छन्. 'काम त आउँथ्यो, तर काठमाडौंजस्तो सहरका ग्राहकको अपेक्षा पूरा गर्न म अझै दक्ष भइसकेको थिइनँ । काम जान्नु मात्रै पर्याप्त हुँदैन, दक्ष बन्न धेरै अभ्यास र मेहनत गर्नुपर्छ ।

सुरुआती दिनमा ग्राहकको कपाल काट्दा कतै केही बिग्रेला कि भन्ने डरले उनलाई सधैं सताइरहन्थ्यो । नयाँ ठाउँ, नयाँ वातावरण र नयाँ ग्राहक भएकाले मनमा एक किसिमको त्रास थियो । तर, त्यही डर नै उनको सफलताको आधार बन्यो ।
‘त्यही डरले मलाई आज यो स्थानसम्म ल्याएको हो,’ उनी सुनाउँछन् ।
केही वर्ष आफन्त (अङ्कल) कै सैलुनमा काम गर्दै उनले सीपलाई अझ निखारे । त्यहीँबाट उनले कपाल काट्ने कला मात्र होइन, ग्राहकसँग व्यवहार गर्ने शैली, व्यवसाय सञ्चालन गर्ने तरिका र आम्दानी गर्ने सीप पनि सिके। बिस्तारै आफ्नो काममा दक्ष बन्दै गएपछि आफ्नै व्यवसाय सुरु गर्ने सोच पनि पलाउन थाल्यो ।

रञ्जितका लागि काठमाडौंका सुरुआती दिन सहज थिएनन् । नयाँ सहरमा संघर्ष त थियो नै, त्यसमाथि समाजका केही व्यक्तिको संकीर्ण सोच र विभेदपूर्ण व्यवहार पनि उनले सहनुपर्यो ।
कहिले ग्राहकले कपाल काटेपछि पैसा नतिरी हिँडिदिन्थे । कहिले पसलमै आएर अश्लील र अपमानजनक शब्द प्रयोग गर्थे । झगडा बढ्ला भन्ने डरले उनी प्रायः मौन बस्थे । त्यतिबेला उनीसँग सहेर आफ्नो काममा लागिरहनुबाहेक अर्को विकल्प थिएन । उनले सधैं विवादभन्दा कामलाई नै प्राथमिकतामा राखे ।
‘मधेसबाट आएको भनेर ‘मधेसिया’, ‘धोती’ र ‘भैया’ भन्दै हेप्थे । चित्त त दुख्थ्यो, तर म झगडा गर्न होइन, काम गर्न आएको थिएँ । त्यसैले सबै कुरा सहेर आफ्नै काममा लागिरहेँ,’ रञ्जित ती तीता अनुभव सम्झिन्छन् ।

माओवादी द्वन्द्वको समयमा काठमाडौंको जनजीवन त्रासले ढाकिएको थियो । राजनीतिक अस्थिरतासँगै स्थानीय गुण्डागर्दीको डरले व्यवसाय सञ्चालन गर्न पनि सहज थिएन । यस्तो चुनौतीपूर्ण समयमा रञ्जितले पनि अनेक दुःख र दबाब सामना गरे ।
गलत नियत भएका केही मानिसहरूले दुःख दिने प्रयास गर्थे । तर, उनले कहिल्यै हिम्मत हारेनन् । बिहान ६ बजेदेखि राति ९ बजेसम्म ग्राहकको सेवामा खटिरहने उनको दैनिकी वर्षौंसम्म निरन्तर रह्यो। आज पनि ग्राहक आएसम्म पसल नबन्द गर्ने बानी उस्तै छ ।
‘अहिले पनि म राति ९ बजेसम्म ग्राहकको प्रतीक्षामा बस्छु। सेवा नै मेरो व्यवसायको आधार हो,’ उनी भन्छन् ।

रञ्जितले आफ्नो कामलाई कहिल्यै रोकेनन् । वर्षौंको निरन्तर मेहनत र इमानदार सेवाकै परिणामस्वरूप आज उनी काठमाडौंमा चार वटा बार्बर सैलुन सञ्चालन गरिरहेका छन् । दैनिक १० देखि १२ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् ।
‘मानिसलाई सफा-सुग्घर देखिन मन पर्छ। सेवा राम्रो दिएपछि पैसा त आइहाल्छ नि,’ उनी मुस्कुराउँदै भन्छन् ।
वर्षौंसम्म उनको जीविकाको आधार बनेका कैंची र काइँयो आज पनि उस्तै प्रिय छन् । फरक यति मात्रै हो, समयसँगै प्रविधिले पनि उनको कामलाई साथ दिएको छ । पहिले कैंची र काइँयोमै सीमित रहेको काम अहिले आधुनिक हेयर क्लिपर र अन्य उपकरणको प्रयोगले छिटो, सहज र प्रभावकारी बनेको छ ।
‘मेसिन आएपछि समय बच्न थालेको छ। काम गर्न पनि सजिलो भएको छ, हकलाई पनि सहज भएको छ,’ उनी भन्छन् ।
सानो सैलुनदेखि ४० लाख रुपैयाँको वार्षिक कारोबारसम्म
कक्षा ५ सम्म मात्रै पढेका रञ्जितको व्यावसायिक यात्रा धेरैका लागि प्रेरणादायी छ । काठमाडौंका विभिन्न स्थानमा उनका चार वटा आफ्नै सैलुन छन्, जहाँ १० जनाले रोजगारी पाएका छन् । वार्षिक करिब ४० लाख रुपैयाँ कारोबार गर्ने रञ्जितको लक्ष्य अब व्यवसायलाई विस्तार गर्दै १० वटा सैलुन सञ्चालन गर्ने छ ।
तर, व्यवसाय विस्तारको यात्रामा उनलाई एउटा समस्याले भने निरन्तर पिरोलिरहेको छ- दक्ष र स्थायी जनशक्तिको अभाव । 'यहाँ सीप सिकेपछि धेरैजसो विदेश गइहाल्छन् । नेपालीहरूलाई स्वदेशमै ५० हजार कमाउनुभन्दा विदेशमा दुःख गर्न सजिलो लाग्छ,' उनी गुनासो गर्छन् ।
व्यापारको सूत्र र भाडाको मार
रञ्जितको सैलुनमा नेपाली र विदेशी ग्राहकका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ । नेपाली ग्राहकका लागि कपाल काटेको ५०० रुपैयाँ र दाह्री मिलाएको ३०० रुपैयाँ लिइन्छ । विदेशी ग्राहकका लागि भने कपाल काटेको १ हजार र दाह्रीको ५०० रुपैयाँ शुल्क छ ।
‘काठमाडौंमा घरभाडा र महँगी दुवै निकै बढेको छ । एउटा सामान्य सैलुन सञ्चालन गर्न पनि करिब १५ लाख रुपैयाँ लगानी चाहिन्छ । त्यसैले विदेशी ग्राहकसँग केही बढी शुल्क लिनु हाम्रो बाध्यता पनि हो,’ उनी स्पष्ट पार्छन् ।
अधुरो पढाइको पीडा
४७ वर्षीय रञ्जितलाई आज पनि एउटा कुराले भने बारम्बार घोचिरहन्छ- अधुरो पढाइ । ‘यदि राम्रोसँग पढ्न पाएको भए व्यवसाय अझ व्यवस्थित ढंगले सञ्चालन गर्न सक्थेँ होला भन्ने लाग्छ,’ उनी भन्छन् ।
सायद त्यही कारण उनी आफ्ना दुई छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन चाहन्छन् । आफूले पढ्न नपाउँदा धेरै संघर्ष गर्नुपरेको अनुभवले सन्तानले भने त्यही बाटो हिँड्न नपरोस् भन्ने उनको चाहना छ ।
काठमाडौं आएको तीन दशकभन्दा बढी समयमा उनले आफ्नै घर बनाएका छन्, व्यवसायलाई स्थापित गरेका छन् र सुखी परिवारको सपना पनि पूरा गरेका छन् । आज उनलाई धेरै पैसा कमाउने लोभभन्दा पनि परिवारसँग शान्त र सुखी जीवन बिताउनु नै सबैभन्दा ठूलो उपलब्धि र अन्तिम चाहना लाग्छ ।

‘जहाँसुकै जानुस्, इमानदारी हरायो भने अवसर पनि हराउँछ । अन्ततः मानिस आफैं पनि हराउँछ । आफ्नै माटोमा इमानदारीका साथ पसिना बगाउन सकियो भने विदेशभन्दा बढी यहीँ कमाउन सकिन्छ,’ उनी दृढतापूर्वक भन्छन् ।
रञ्जितले व्यवसायको सुरुआत कालधारा चोकको एउटा सानो सैलुनबाट गरेका थिए । त्यही सानो पसलमा उनले ११ वर्षसम्म निरन्तर पसिना बगाए । समयसँगै व्यवसाय विस्तार भयो, तर बढ्दो महँगीले व्यवसाय सञ्चालनको चुनौती पनि उत्तिकै बढाएको छ ।
'पहिलेको समय र अहिलेको समय उस्तै लाग्छ, तर खर्च आकाशिएको छ । आज एउटा सटरको मासिक भाडा नै ५० हजारदेखि एक लाख रुपैयाँसम्म पुगिसकेको छ । काम त उही हो, तर महँगी भने धेरै टाढासम्म पुगिसकेको छ,' उनी भन्छन्।