करपोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा लाग्यो नकारात्मक सर्किट
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले घटेर २७७० बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार पाल्पा सिमेन्टको भएको छ । पाल्पाको ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिलाइन्स स्पििनिङको ३४ करोड, करपोरेट डेभलपमेन्टको ३० करोड, सोलु हाइड्रोको २८ करोड र कुमारी बैंकको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार करपोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
एक्सेल डेभलपमेन्ट बैंकको नाफा १५.५७ करोड रुपैयाँ, लाभांश बाँड्ने क्षमता वृद्धि
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको यो त्रैमाससम्ममा उल्लेखनीय वित्तीय सुधार गर्दै १५.५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंक ६३.८३ लाख घाटामा रहेको अवस्थामा यो परिणामले बैंकको वित्तीय अवस्थामा थप सकारात्मक प्रगति देखिएको छ । अघिल्लो त्रैमासकको तुलनामा वितरणयोग्य नाफा १४.५३ करोड रुपैयाँले वृद्धि भई कुल जम्मा १५.०७ करोड रुपैयाँ कमाएको हो । जसबाट बैंकको लाभांश बाँड्ने क्षमता वृद्धि भएको छ । बैंकको प्रति सेयर आम्दानी १६.६१ रुपैयाँ पुगेको छ, जसले लगानीकर्ताहरूका लागि आकर्षक प्रतिफलको संकेत दिएको छ । त्यसैगरी, प्रतिसेयर नाफामा पनि सकारात्मक वृद्धि भई १५.३९ रुपैयाँ कायम हुनु सेयरधनीहरूका लागि थप सकारात्मक समाचार हो । त्यसैगरी, बैंकको पूँजी पर्याप्तता अनुपात १४ प्रतिशत कायम रहनुले वित्तीय जोखिम वहन गर्ने क्षमता बलियो रहेको देखाउँछ । यसबाट नियामकीय मापदण्डभित्र रहेर बैंकले सुरक्षित र सन्तुलित रूपमा कर्जा विस्तार गरिरहेको स्पष्ट देखिन्छ । बैंकको आधार ब्याजदर ५.६७ प्रतिशत मा कायम रहेका लागि थप राम्रो संकेत हो । यसले कर्जा ब्याजदरलाई प्रतिस्पर्धी बनाउँदै लगानी र व्यवसाय विस्तारमा सहजता ल्याउने अपेक्षा गरिएको छ । बैंकले पछिल्लो समय आक्रामक कर्जा विस्तार नीति अपनाउँदै बजारमा सक्रिय उपस्थिति जनाइरहेको छ । यस रणनीतिले आर्थिक गतिविधि बढाउन र ग्राहकहरूलाई सहज वित्तीय पहुँच उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । समग्रमा, बैंकको यो प्रदर्शनले संस्थागत स्थायित्व, व्यवस्थापनको दक्षता र भविष्यप्रति सकारात्मक संकेत प्रस्तुत गरेको छ । आगामी दिनमा पनि यस्तै सुधारको निरन्तरता रहने अपेक्षा गरिएको छ । कोशी प्रदेश कार्यक्षेत्र रहेको एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना ४७ वटा शाखा र ३ वटा एटिएमबाट २ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
विलासिताका वस्तुमा लाग्दै आएको कर घटाए राजस्व बढ्छ : उपाध्यक्ष मल्होत्रा
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तुमा लाग्दै आएको कर घटाउनुपर्ने बताएका छन् । हाल विलाशिताको वस्तु र सेवामा लगाइँदै आएको करको दर उच्च रहेको बताउँदै उनले त्यस्तो कर घटाउनुपर्ने बताएका हुन् । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटबारे ‘अर्थको अर्थ’ द्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्होत्राले त्यस्ता वस्तुमा लाग्दै आएको कर सरकारले घटाएर राजस्व वृद्धि हुनुका साथै अनौपचारिक अर्थतन्त्र औपचारिक दायरामा आउने समेत बताए । उपाध्यक्ष मल्होत्राले भने–‘अहिले नयाँ सरकार गठन भएको छ र सरकारले महत्वकांक्षी योजना अघि सारेको छ । योजना अनुसार अर्थतन्त्रको आकारलाइ १०० बिलियन आगामी ७ वर्ष भित्रमा कुल गार्हस्थ्य उत्पादन बढाउने र प्रतिव्यक्ती आयलाई ३ हजार डलर पुर्याउने छ, त्यो सफल हुनसक्छ । त्यसको लागि हामी पनि सरकारलाई साथ दिन तयार छौँ ।’ सरकारले राखेको आगामी ७ वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र र ३ हजार डलर प्रतिव्यक्ति आय पु¥याउने लक्ष्य महत्वाकांक्षी भएपनि पूरा गर्न सम्भव रहेको बताए । त्यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्नुपर्ने उनको भनाइ छ । मल्होत्राले हरेक वर्ष बजेटको आकार बढ्ने तर लक्ष्यअनुसार नउठ्ने गरेको बताउँदै आगामी बर्षको बजेट यर्थाथपरक हुनुपर्नेमा जोड दिए ।
सन नेपाल लाइफद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मानका उद्देश्यले 'प्रयत्न निरन्तर, सम्मान र सबलीकरणको अवसर' शीर्षकमा एकदिने विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशअन्तर्गत राप्ती–भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा १७० भन्दा बढी बीमा सल्लाहकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिहरूद्वारा दियो प्रज्वलन तथा गमलामा पानी हालेर गरिएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर दिजय झाको प्रशिक्षण सत्र मुख्य आकर्षणका रूपमा रहेको थियो । उनले बिक्री कला, लक्ष्य निर्धारण, आत्मविश्वास विकास तथा बदलिँदो बीमा बजारमा सफल हुन अपनाउनुपर्ने रणनीतिबारे प्रभावकारी प्रशिक्षण दिएका थिए । सहभागीहरूले उक्त प्रशिक्षणलाई प्रेरणादायी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईंलगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो । अतिथिका रूपमा कर्णाली प्रदेश प्रमुख गोविन्द ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कर्णाली प्रदेश उपप्रमुख धिरेन्द्र शाही, नेपालगञ्ज क्लष्टर हेड कमल शाही, राप्ती–भेरी क्षेत्रीय प्रमुख तथा कार्यक्रम सञ्चालक दिपेन्द्र रावत, साथै विभिन्न शाखा प्रमुखहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले अभिकर्ताहरू कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको सशक्तिकरण नै कम्पनीको दीर्घकालीन सफलताको आधार भएको बताए। त्यसैगरी प्रमुख बजार अधिकृत गणेश चौलागाईंले अभिकर्ताहरूलाई निरन्तर सिकाइ, अनुशासन तथा ग्राहकप्रति जिम्मेवार दृष्टिकोणसहित अघि बढ्न आग्रह गर्दै यस्ता कार्यक्रमहरूले बजार प्रतिस्पर्धामा अग्रता दिलाउने विश्वास व्यक्त गरे । कार्यक्रमका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। विशेषगरी आफ्ना शाखाअन्तर्गत उत्कृष्ट व्यापार गर्न सफल सात जना अभिकर्तालाई उत्कृष्ट अभिकर्ताका रूपमा सम्मान गरिएको थियो । साथै सहभागीहरूबीच अनुभव आदानप्रदान तथा नेटवर्किङको अवसर समेत सिर्जना गरिएको थियो । कम्पनीले यस्ता कार्यक्रममार्फत अभिकर्ताहरूको दक्षता अभिवृद्धि गर्दै देशभर बीमा सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका देशभर १४८ शाखा तथा उपशाखाहरू सञ्चालनमा रहेका छन् ।
खराब कर्जा घटेसँगै सिद्धार्थ बैंकको नाफा २ अर्ब रुपैयाँ, लाभांश क्षमता २०.९८ प्रतिशत,
काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा २०.७८ प्रतिशत बढेको हो । समीक्षा अवधिमा बैंकले ६ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ४० करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब ८३ करोड रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ९४ करोड रुपैयाँ गरेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब २० करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब १५ करोड रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ३८ करोड रुपैयाँ थियो । चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा २ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता २०.९८ प्रतिशत रहेको छ । १८ अर्ब २९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्षको चैतमा ४.०४ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ३.७१ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी १७.६२ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १५.१३ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २१६.७३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २२.२५ गुणा छ ।
२ अर्ब नाघ्यो लक्ष्मी सनराइज बैंकको नाफा, खराब कर्जा पनि घटायो
काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा २ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा २३.२६ प्रतिशत बढेको हो । समीक्षा अवधिमा बैंकले ७ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ८९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १० अर्ब ८५ करोड रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ९५ करोड रुपैयाँ गरेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ५२ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १० अर्ब २४ करोड रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ५२ करोड रुपैयाँ थियो । चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ५१ करोड ६१ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १.९३ प्रतिशत रहेको छ । २६ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्षको चैतमा ५.८६ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ५.२९ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.१५ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी ९.०५ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७५.०८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २१.२४ गुणा छ ।
एनआईसी एशिया बैंकको नाफा १४ करोड रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा १०.४९ प्रतिशत घटेर १४ करोड ३ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २०.७८ प्रतिशत घटेर ६ अर्ब ३० करोड ८२ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १६.४५ प्रतिशत घटेर ७ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ र सञ्चालन नाफा ४७.८६ प्रतिशत घटेर ६७ करोड २९ लाख रुपैयाँ छ । चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा १३ अर्ब ६५ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकको निक्षेप ४.८० प्रतिशत बढेर ३ खर्ब ३४ अर्ब रुपैयाँ र कर्जा ७.८२ प्रतिशत घटेर २ खर्ब १ अर्ब रुपैयाँ लगानी गरेको छ । चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ६५.३९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि बढेको छ । गत वर्षको चैतमा ५.७५ प्रतिशत रहेको खराब कर्जा चालु आवमा बढेर ८.८५ प्रतिशतमा पुगेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १.२७ रुपैयाँ छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १.४१ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७२.९७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २९२.०४ गुणा छ ।
माछापुच्छ्रे बैंकको नाफा ५०.४३ प्रतिशत बढ्यो, खराब कर्जा पनि घटायो
काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८२/३ को तेस्रो त्रैमासमा खुद नाफा ५०.४३ प्रतिशत बढेर १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १० करोड २६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशत बढेर ४ अर्ब ३९ करोड ८३ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ७ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९.९३ प्रतिशत बढेर ६ अर्ब ९ करोड ३० लाख २१ हजार रुपैयाँ र सञ्चालन नाफा १६.६४ प्रतिशत बढेर २ अर्ब ४० करोड १ लाख ९८ हजार रुपैयाँ पुगेको छ । चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ७६ करोड २२ लाख ७३ हजार रुपैयाँ रहेको छ । १५ अर्ब ८ करोड६२ लाख ११ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड १६ लाख १७ हजार रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकको निक्षेप १५.९६ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ५६ करोड ३५ लाख २२ हजार रुपैयाँ र कर्जा १२.५७ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब २१ करोड १२ लाख ३२ हजार रुपैयाँ लगानी गरेको छ । चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ७७.६७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि घटेको छ । गत वर्षको चैतमा १.७६ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर १.२२ प्रतिशतमा झरेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेर १८.३० रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १२.१६ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १६८.१० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.७७ गुणा छ ।
१० केजीभन्दा कम तौलका 'बेकरी सर्टेनीङ्ग' उत्पादन र बिक्रीमा प्रतिबन्ध
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बेकरी सर्टेनीङ्गको उत्पादन, प्याकेजिङ्ग र बिक्रीवितरणमा नयाँ मापदण्ड लागू गरेको छ । विभागको आज अर्थात् २०८३ वैशाख १४ गतेको निर्णयानुसार अबदेखि कुनै पनि उद्योगले १० केजीभन्दा कम तौलको प्याकेटमा बेकरी सर्टेनीङ्ग उत्पादन र बिक्री गर्न पाउने छैनन् । उपभोक्ताको हित र गुणस्तरलाई ध्यानमा राख्दै यो कदम चालिएको विभागले जनाएको छ । विभागले हाल बजारमा उपलब्ध रहेका १० केजीभन्दा कम तौलका सबै बेकरी सर्टेनीङ्गका प्याकहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । फिर्ता गरिएका सामग्रीहरूको विवरण विभाग वा सम्बन्धित क्षेत्रको मातहतका कार्यालयहरूमा बुझाउनुपर्ने प्रावधान समेत राखिएको छ। नयाँ नियमको उल्लंघन गरी सानो परिमाणका प्याकेटमा बिक्रीवितरण गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ । यस निर्णयले बेकरी उद्योगहरूलाई ठूला प्याक प्रयोग गर्न र गुणस्तर नियन्त्रणमा थप जिम्मेवार हुन आग्रह गरेको छ ।
नर्भिक हस्पिटलको बुक–बिल्डिङ ‘रोड शो’ सम्पन्न, संस्थागत लगानीकर्ता आकर्षित
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले बुक–बिल्डिङ प्रक्रिया मार्फत सेयर निष्कासन गर्ने तयारीस्वरूप आयोजना गरेको ‘रोड शो’ कार्यक्रम सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको आयोजनामा भएको उक्त कार्यक्रममा संस्थागत लगानीकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले नर्भिकको वर्तमान सञ्चालन अवस्था, वित्तीय सबलपक्ष र आगामी रणनीतिक विस्तारका योजनाहरू प्रस्तुत गर्दै लगानीकर्ताहरूलाई अस्पतालको दिगो विकासबारे प्रस्ट पारेका थिए । सो अवसरमा लगानीकर्ताहरूले मूल्य निर्धारण र मूल्याङ्कन पद्धतिका बारेमा आफ्ना धारणा राख्दै नर्भिकले अवलम्बन गरेको मूल्य खोजी प्रक्रिया पारदर्शी र व्यावसायिक रहेको भन्दै खुसी व्यक्त गरे । लक्ष्मी सनराइज क्यापिटलले सहभागीहरूलाई बुक-बिल्डिङको संरचना, नियामक प्रावधान र मूल्य निर्धारणका आधारहरूका बारेमा विस्तृत जानकारी गराएको थियो। यस रोड शोको सफल समापनले नेपालको पुँजी बजारमा पारदर्शी र बजार(आधारित मूल्य निर्धारण प्रक्रियालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । इच्छुक योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य खुलाई ५ कार्य दिनभित्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आफ्नो सिलबन्दी आशय पत्र बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
बीमा कम्पनीहरूलाई ई-बिलिङ प्रणाली लागू गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई ई-बिलिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ । प्राधिकरणले बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढीकरण, कारोबारको पारदर्शिता अभिवृद्धि, कर अनुपालन सुनिश्चितता तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्पनीहरुलाई ई- बिलिङ प्रणाली लागू गर्न निर्देशन दिएको हो । प्राधिकरणका उपनिर्देशक हृदेश्वर पण्डितद्वारा जारी गरेको पत्रमा भनिएको छ, ‘ बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढीकरण, कारोबारको पारदर्शिता अभिवृद्धि, कर अनुपालन सुनिश्चितता तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सबै प्रकारका बीमा शुल्क तथा अन्य भुक्तानीका लागि अनिवार्य ई-बिल/इनभ्वाइस जारी गर्ने व्यवस्था गर्नहुन निर्णयअनुसार लेखिएको छ ।’
राष्ट्र बैंकले १७ जना कर्मचारीलाई दियो दीर्घ सेवा पदक, क-कसले पाए ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ । राष्ट्र बैंकले सोमबार ७१औं वार्षिकोत्सब कार्यक्रमको आयोजना गर्दै २० वर्ष सेवा अवधि पूरा गरेका १७ जना कर्मचारीलाई सो पदक प्रदान गरेको हो । राष्ट्र बैंकले डेपुटी गभर्नर किरण पन्डितसँगै कार्यककरी निर्देशकहरु सत्येन्द्र तिमिल्सिना, दीर्घ रावल र अनुज दहाललाई दीर्घ सेवा पदक प्रदान गरेको हो । निर्देशकहरुमा सुदिप फुयाल, निभा, ईश्वरी प्रसाद भट्टराई, रमेश आचार्य, डा. राजन कृष्ण पन्त, इन्द्रा चम्लागाईं, माधव दंगाल, सत्येन्द्रराज सुवेदी, आर्या जोशी, बासुदेब भट्टराई, अशोक घिमिरे, शरण कुमार अधिकारी र गिरिजाप्रसाद कोइरालाले दीर्घ सेवा पदक प्राप्त गरेका छन् ।
राष्ट्र बैंकको वार्षिकोत्सवमा कर्मचारीको विरोध र धर्ना
काठमाडौं । नेपाल राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवका अवसरमा बैंकभित्र औपचारिक उत्सव चलिरहँदा बाहिर भने कर्मचारीहरूले चर्को विरोध प्रदर्शन र धर्ना दिएका छन्। नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको नेतृत्वमा उत्रिएका कर्मचारीहरूले बैंकको उच्च व्यवस्थापनले गैरजिम्मेवार व्यवहार देखाएको भन्दै वार्षिकोत्सव कार्यक्रमलाई पूर्ण रूपमा बहिष्कार गरेका हुन् । विशेष गरी आर्थिक वर्ष २०८२/८३ को कार्य सम्पादनमा आधारित बढुवा प्रक्रियामा व्यवस्थापनले अनावश्यक ढिलासुस्ती गरेको र पारदर्शी ढंगले काम नगरेको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन् । धर्नामा सहभागी कर्मचारीहरूले ‘बढुवा होस् जालझेल नहोस्’ ‘हाम्रो श्रमको सम्मान गर, बढुवामा अपमान नगर’ ‘भित्री सेटिङ बन्द गर र पारदर्शी बढुवा लागू गर’ जस्ता चर्का नाराहरू लेखिएका पम्प्लेटहरू प्रदर्शन गर्दै बैंकको मूल ढोकामा धर्ना दिएका थिए । आफ्नो वृत्तिविकास र श्रमको उचित मूल्याङ्कन हुनुपर्ने माग राख्दै आन्दोलित भएका कर्मचारीहरूले व्यवस्थापनले जालझेलपूर्ण तरिकाले बढुवा प्रक्रिया रोकेको आरोप लगाएका छन् ।
कर्मचारीलाई घरजग्गा किन्न सस्तो ब्याजमा ऋण
काठमाडौं । सरकारले निजामति कर्मचारीका लागि घरजग्गा खरिद गर्न सस्तो ब्याजमा ऋण दिने व्यवस्था गर्न लागेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा तयार पारेर सुझाव माग गर्दै सरकारले निजामति कर्मचारीका लागि बैंकबाट सस्तो ब्याजमा ऋणको व्यवस्था गर्ने उल्लेख गरेको हो । सरकारले निजामती कर्मचारीलाई जग्गा खरिद तथा आवास निर्माणका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन आवश्यक व्यवस्था गर्न सक्ने मस्यौदामा उल्लेख छ । तर, यस्तो सुविधा निजामती कर्मचारीले सेवाअवधिभर एक पटक मात्र लिन सक्ने व्यवस्था गरिन लागिएको छ ।
सरकारले कर्मचारीका दुई सन्तानलाई स्नातकसम्म पढाइदिने, उपचार सरकारी अस्पतालमा
काठमाडौं । सरकारले निजामित कर्मचारीका दुई जना सन्तानलाई पढाउने व्यवस्था गर्न लागेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा तयार पारेर सुझाव माग गर्दै सरकारले निजामति कर्मचारीका दुई जना सन्तानलाई पढाउने प्रस्ताव गरेको हो । सरकारले ऐन प्रारम्भ भएपछि निजामती कर्मचारीका बढीमा दुई सन्ततिलाई स्नातक तहसम्म अध्ययन गर्न आवश्यक पर्ने खर्चको निमित्त शैक्षिक बीमा योजना लागु गर्न सकिने प्रस्ताव गरेको हो । उनीहरुको पढाइ खर्च बीमामार्फत ने व्यवस्थापन गर्ने तयारी सरकारको छ । सरकारले निजामती कर्मचारीलाई दुर्घटना बीमाको व्यवस्था पनि गर्ने मस्यौदामा उल्लेख छ । निजामती कर्मचारीले आफ्नो धर्म, संस्कृति, परम्पराअनुसार मनाउने चाडपर्वका लागि खाइपाइ आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक आर्थिक वर्षमा एकपटक चाडपर्व खर्चको रूपमा पाउने व्यवस्था पनि मस्यौदामा उल्लेख छ । निजामती कर्मचारीको मासिक तलबबाट १० प्रतिशतका दरले हुने रकम कट्टा गरी सो रकममा नेपाल सरकारले सतप्रतिशत रकम थप गरी कर्मचारी सञ्चय कोषमा जम्मा गरि दिने व्यवस्था पनि मस्यौदामा उल्लेख छ । नेपाल सरकारले निजामती कर्मचारीको योगदानमा आधारित सावधिक जीवन बीमा गर्नेछ भने । उक्त बीमा योजना बमोजिमको सावधिक जीवन बीमाको व्यवस्थापन गर्न एक सावधिक जीवन बीमा कोषको स्थापना गरिने उल्लेख छ । निजामती कर्मचारीले सेवा अवधिभरमा अधिकृत सातौं तह वा सोभन्दा माथिको पदको कर्मचारी भए बाह्र महिना बराबरको अधिकृत छैटौं र सहायक पाँचौं तहको कर्मचारी वा सोसरह वा सोभन्दा बढी तलब सुविधा पाउने सहायक पहिलो तहको कर्मचारी भए अठार महिना बराबरको र अन्य कर्मचारी भए एक्काइस महिना बराबरको खाइपाइ आएको तलब रकमसम्म उपचार खर्च पाउने व्यवस्था छ । सरकारले निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि स्वास्थ्य बीमा सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बिमा योजना लागु गर्ने, सेवा अवधिभरमा पाउने उपचार खर्चमध्ये केही लिई वा नलिई उपचार खर्च लिन बाँकी रहेको भए त्यस्तो बाँकी रकम एकमुष्ट लिन पाउने व्यवस्था मस्यौदामा उल्लेख गरेको छ । कुनै निजामती कर्मचारी सरकारी कामको सिलसिलामा दुर्घटना, आकस्मिक रोग, प्राकृतिक विपद् वा द्वन्द्वमा परी घाइते भएमा वा अङ्गभङ्ग भएमा त्यस्तो कर्मचारीको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्नेछ । यसरी उपचार गराउँदा उपलब्ध भएसम्म सरकारी अस्पतालमा गराउनु पर्ने व्यवस्था प्रस्ताव गरेको छ । तर, सरकारी अस्पतालमा उपचार सम्भव नभएको अवस्थामा अन्य अस्पतालमा उपचार गर्न बाधा नपर्ने उल्लेख गरेको छ । सरकारले निजामती कर्मचारीलाई जग्गा खरिद तथा आवास निर्माणका लागि सस्तो व्याजदरमा ऋण उपलब्ध गराउन आवश्यक व्यवस्था गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरेको छ । तर यस्तो सुविधा निजामती कर्मचारीले सेवाअवधिभर एक पटक मात्र लिन सक्ने मस्यौदामा उल्लेख छ । अधिकृत एघारौं तह वा सोभन्दा माथिको निजामती कर्मचारीलाई नेपाल सरकारले तोके बमोजिम सवारी साधन सुविधा उपलब्ध गराइने, नेपाल सरकारले विभिन्न कोषहरुसँग आवद्ध गरी निजामती कर्मचारीको लागि सवारी सुविधा कार्यक्रम लागु गर्न सक्ने र कुनै निजामती कर्मचारीको सेवामा छँदै मृत्यु भएमा निजको परिवारलाई विशेष आर्थिक सुविधास्वरुप एकमुष्ट रकम प्रदान गरिने उल्लेख मस्यौदामा छ ।
एभरेष्ट बैंकको नाफा ३.३२ अर्ब रुपैयाँ, १७.५३ प्रतिशत कर्जा बढायो
काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा ३.७१ प्रतिशत घटेर ३ अर्ब ३२ करोड ९३ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १.३२ प्रतिशत बढेर ६ अर्ब ८३ करोड ३४ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ७४ करोड ३९ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ३२.४९ प्रतिशत बढेर १ अर्ब ४५ करोड २६ लाख ३९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९.२२ प्रतिशत बढेर ८ अर्ब ९३ करोड १० लाख ३५ हजार रुपैयाँ र सञ्चालन नाफा ३.५३ प्रतिशत घटेर ४ अर्ब ९० करोड ३६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ९ करोड ६४ लाख ५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब १७ करोड ६९ लाख ४ हजार रुपैयाँ, सञ्चालन नाफा ५ अर्ब ८ करोड ३३ लाख ५३ हजार रुपैयाँ थियो । चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ४ करोड ८५ लाख ५९ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अबए ६७ करोड ८७ लाख ८२ हजार रुपैयाँ थियो । १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ५० करोड ८८ लाख ९ हजार रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले ३ खर्ब २ अर्ब ४३ करोड ३४ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ८७ करोड ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड ८४ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप १.२० प्रतिशत अर्थात् ३ खर्ब ६१ अर्ब रुपैयाँ र कर्जा लगानी १७.५३ प्रतिशत अर्थात् ३७ अर्ब ४३ करोड रुपैयाँ बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ८५.८८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि घटेको छ । गत वर्षको चैतमा ०.६४ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ०.६१ प्रतिशतमा झरेको छ । बैंकका अनुसार आधार दर ४.५७ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ५.४५ प्रतिशत थियो । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि बढेर ३२.३५ रुपैयाँमा सीमित भएको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी ३५.६१ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २४४.२७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २१.५९ गुणा छ ।
काल्सबर्ग क्लासिक २०२६ (गोकर्ण संस्करण) मा तेन्जिङ छिरिङ विजयी
काठमाडौं । काल्सबर्ग गल्फ क्लासिक (गोकर्ण संस्करण) मा तेन्जिङ छिरिङ विजयी भएका छन् । शून्य ह्यान्डिक्यापमा खेलेका तेन्जिङले ३९ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जितेका हुन् । यस जितसँगै उनले मलेसियामा गल्फ यात्रा, गल्फ ब्याग तथा अन्य उपहारहरू प्राप्त गरे । उनले बोगी-रहित उत्कृष्ट खेल प्रदर्शन गर्दै ८, ११ र १३औं होलमा बर्डी बनाए । सन्‍योग शाही ३७ अंकसहित काउन्टब्याकका आधारमा उपविजेता बने । सात ह्यान्डिक्यापमा खेलेका उनले अगाडिको नौ होलमा १६ र पछाडिको नौ होलमा २१ अंक जोडे । ताशी छिरिङले बेस्ट ग्रस र मोस्ट बर्डीज दुवै उपाधि जिते । उनले ३९ ग्रस अंकसहित बेस्ट ग्रस जित्दा पाँच बर्डी बनाउँदै मोस्ट बर्डीजको उपाधि समेत हात पारे । महिलातर्फ सुष्मा सिंह ३८ अंकसहित विजेता बनिन् । उनले पनि पुरुष विजेतासरह मलेसियामा गल्फ यात्रा सहितका पुरस्कार प्राप्त गरिन् । तारा कार्की चित्रकार ३३ अंकसहित उपविजेता बनिन् । ६० वर्ष वा सोभन्दा माथिका सिनियर खेलाडी तर्फ बाबु शेर्पा ३६ अंकसहित विजेता बने । उनले अगाडिको नौ होलमा १५ र पछाडिको नौ होलमा २१ अंक जोडे । शंकर मान रोक्काले ‘क्लोजेस्ट टु द पिन’ अवार्ड जिते भने डार्टानिएन गिर्केले ‘लङ्गेस्ट ड्राइभ’ जिते । गोरखा ब्रुअरी प्रालिको प्रायोजनमा आयोजित प्रतियोगितामा कुल १११ खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगिता ३/४ ह्यान्डिक्यापसहित स्टेबलफोर्ड ढाँचामा खेलाइएको थियो । विजेताहरूलाई गोरखा ब्रुअरीका वित्त निर्देशक अमर वैद्य, सेल्स निर्देशक काजिमान सुब्बा, मार्केटिङ निर्देशक रोजन् अमात्य, कानुनी तथा कम्प्लायन्स निर्देशक प्रतिमा बर्मा, पिपल एण्ड कल्चर निर्देशक दिनेश मान श्रेष्ठ, ब्रान्ड म्यानेजर ईशा पौडेल, साथै गोकर्ण गल्फ क्लबका अध्यक्ष सुध्रिढ घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे ।
सामाजिक सञ्जालमा राजनीतिक दलबारे टिप्पणी गर्ने कर्मचारीलाई हटाइने, प्रचारमा पनि रोक
काठमाडौं । सरकारले सामाजिक सञ्जालमा अनेक टिप्पणी गर्ने निजामति कर्मचारीलाई बर्खास्त गर्ने प्रस्ताव गरेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा तयार पारेर सुझाव माग गर्दै सरकारले यस्तो प्रस्ताव गरेको हो । निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा सामाजिक द्वेष वा कलह बढ्ने, हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा कुनै टिप्पणी गर्न वा यस परिच्छेद विपरीत हुने गरी कुनै कुरा व्यक्त गर्न गर्न नहुने प्रस्ताव सरकारले गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रस्तावित विधेयकको मस्यौदामा निजामती कर्मचारीले आफ्नो नियमित कार्यसम्पादनका विषयमा आफूलाई केन्द्रमा राखी अतिशयोक्तिपूर्ण प्रचार प्रसार गर्नु वा गराउनु नहुने विषय पनि उल्लेख गरेको छ । तर, सम्पादित कार्य तथा असल अभ्यास जनसाधारणसमक्ष जानकारी गराउन यस व्यवस्थाले बाधा पुर्याएको नमानिने मस्यौदामा उल्लेख छ । निजामती कर्मचारीले आफूलाई मर्का परेको विषयमा आफैले वा वारेसद्वारा सम्बन्धित निकाय वा अधिकारीसमक्ष निवेदन दिन बाहेक अरू व्यक्ति वा समूहको तर्फबाट प्रतिनिधित्व गर्न नहुने प्रस्ताव पनि अघि सारेको छ । निजामती कर्मचारीले सेवाग्राहीको कामसँग सम्बन्धित विषय प्रक्रिया र काम सम्पादन गर्न लाग्ने समय समेतको स्पष्ट जानकारी सेवाग्राहीलाई यथासमयमा गराउनु पर्ने विषय मस्यौदामा उल्लेख छ । यस्तै, कुनै पनि निजामती कर्मचारीले अन्य मुलुकको स्थायी आवासीय अनुमति लिन वा सोका लागि आवेदन दिन नहुने उल्लेख गरेको छ भने कुनै निजामती कर्मचारीको सगोलको पति वा पत्नीले स्थायी आवासीय अनुमति प्राप्त गरेमा सो प्राप्त गरेको मितिले साठी दिनभित्र सम्बन्धित निजामती कर्मचारीले आफू कार्यरत कार्यालयमा सोको विवरण पेस गर्नु पर्ने व्यवस्था प्रस्ताव गरेको छ । सङ्घीय निजामती सेवा वा अन्य सरकारी सेवाको राजपत्राङ्कित विशिष्ट वा प्रथम श्रेणीको पदबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले राजीनामा स्वीकृत भएको वा सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक, कुटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति पाउने नपाउने मस्यौदामा उल्लेख गरिएको छ । यस्तै, संघीय निजामती सेवाको पदबाट सेवा निवृत्त भएको व्यक्तिले सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म अन्तरसरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदार बाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताको रूपमा कार्य गर्न, अवकाश हुने पछिल्लो एक वर्ष भित्र बहाल रहेको निकायको कार्यक्षेत्रसँग सम्बन्धित रहेको संस्था वा त्यस्तो निकायले नियमन गर्ने संस्थाको कर्मचारी वा परामर्शदाताको रुपमा काम गर्न नपाउने विषय प्रस्ताव गरिएको छ । तर निजामती सेवाको सुधार सम्बन्धी कार्यमा नेपाल सरकारले कुनै निवृत्त निजामती कर्मचारीको अनुभव र विज्ञताको उपयोग गर्न बाधा पर्ने नपर्ने उल्लेख गरेको छ । तर, त्यस्तो काम गर्ने व्यक्तिले यो ऐनबमोजिमको सेवा सुविधा लिन नपाउने उल्लेख छ । निजामती कर्मचारीले कुनै पनि राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन, प्रचारप्रसार गर्न, जुलुसमा भाग लिन, चन्दा दिन वा कसैका लागि मत माग्न वा निर्वाचनमा कुनै प्रकारको प्रभाव पार्न नहुने विषय मस्यौदामा प्रस्ताव गरिएको छ । तर, प्रचलित कानून बमोजिम मताधिकार प्रयोग गर्न बाधा नपर्ने उल्लेख छ । निजामती कर्मचारीले प्रदर्शन गर्न, बन्द हड्तालमा भाग लिन, थुनछेक गर्न, बाधा अवरोध गर्न, घेराउ गर्न दबाब दिन, कलम बन्द गर्न, तालाबन्दी गर्न वा अन्य कुनै तरिकाबाट सरकारी काममा बाधा पुयाउन वा सो कार्य गर्ने उद्देश्यले अरूलाई उक्साउन समेत नहुने विषय मस्यौदामा प्रस्तावित गरिएको छ ।
जडीबुटीमा सुकुम्बासी बस्ती हटाउने क्रममा तनाव: डाेजरमाथि ढुंगा प्रहार, सुरक्षाकर्मी घाइते
काठमाडौं । काठमाडौं र भक्तपुरको सिमाना जडीबुटी क्षेत्रमा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने प्रयास गर्दा तनाव उत्पन्न भएको छ । सुकुम्बासी बस्तीका नाममा ओगटिएको जग्गाबाट संरचना हटाउन पुगेको टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति असामान्य बनेको हो । भक्तपुरतर्फ पर्ने सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाउन सुरक्षाकर्मी र प्राविधिक टोली पुगेका थिए । सो क्रममा सुकुम्बासी बस्तीका केही स्थानीयले विरोध जनाउँदै एक्कासि ढुंगा प्रहार सुरु गरेका थिए । स्थानीयको ढुंगा प्रहारबाट सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही कर्मचारी घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ र उनीहरूको उपचार भइरहेको छ । अतिक्रमित संरचना हटाउने क्रममा केही उच्छृङ्खल समूहले ढुंगा प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । सुरक्षाकर्मीलाई लक्षित गरी प्रहार भएपछि केही टोली घाइते भएका प्रहरीले जनाएको छ । तनाव बढेपछि र स्थिति नियन्त्रण बाहिर जान सक्ने देखिएपछि प्रशासनले आजका लागि हटाउने कार्य स्थगित गरेको छ । प्राविधिक र सुरक्षा टोली अहिले घटनास्थलबाट फर्किएको छ । जग्गा खाली गराउने विषयमा स्थानीय र प्रशासनबीचको विवादले त्यस क्षेत्रमा केही समय सवारी आवागमन समेत प्रभावित भएको थियो ।
तीते करेला किलोको ७० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २५ र आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु १६०, टाटे सिमी प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु २०, परवर (लोकल)प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिन्डो प्रतिकिलो रु ५०, घिरौँला प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ६५, सखरखण्ड प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ७०, बकुला प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ६०, चुकन्दर प्रतिकिलो रु ५०, कोइराला प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु १९०, सेलरी प्रतिकिलो रु १८०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३९०, केरा दर्जन रु २५०, अनार प्रतिकिलो रु ४००, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकोडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु ५००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु २००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १३०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ९०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।