काठमाडौं । काठमाडौं र भक्तपुरको सिमाना जडीबुटी क्षेत्रमा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने प्रयास गर्दा तनाव उत्पन्न भएको छ । सुकुम्बासी बस्तीका नाममा ओगटिएको जग्गाबाट संरचना हटाउन पुगेको टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति असामान्य बनेको हो ।
भक्तपुरतर्फ पर्ने सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाउन सुरक्षाकर्मी र प्राविधिक टोली पुगेका थिए । सो क्रममा सुकुम्बासी बस्तीका केही स्थानीयले विरोध जनाउँदै एक्कासि ढुंगा प्रहार सुरु गरेका थिए ।
स्थानीयको ढुंगा प्रहारबाट सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही कर्मचारी घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ र उनीहरूको उपचार भइरहेको छ ।
अतिक्रमित संरचना हटाउने क्रममा केही उच्छृङ्खल समूहले ढुंगा प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । सुरक्षाकर्मीलाई लक्षित गरी प्रहार भएपछि केही टोली घाइते भएका प्रहरीले जनाएको छ ।
तनाव बढेपछि र स्थिति नियन्त्रण बाहिर जान सक्ने देखिएपछि प्रशासनले आजका लागि हटाउने कार्य स्थगित गरेको छ । प्राविधिक र सुरक्षा टोली अहिले घटनास्थलबाट फर्किएको छ ।
जग्गा खाली गराउने विषयमा स्थानीय र प्रशासनबीचको विवादले त्यस क्षेत्रमा केही समय सवारी आवागमन समेत प्रभावित भएको थियो ।