सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी खरिदका लागि सुलभ कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार सिप्रदीमार्फत टाटा ब्रान्डका विद्युतीय ट्याक्सी किन्न चाहने ग्राहकहरूले सिद्धार्थ बैंकबाट सहज ब्याजदरमा ५ वर्ष अवधिसम्मको कर्जा सुविधा पाउनेछन् । बैंकले दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको जनाएको छ । यस सम्बन्धमा थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ ।
नागार्जुन रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्छ : वनमन्त्री ठकुरी
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न रिसोर्टको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको मंगलबार उद्घाटन गर्दै शाहीले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्नेदेखि रिसोर्टहरुले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने गरेको बताएका हुन् । उनले नेपालमा पर्यटकहरु भित्र्याउनका लागि वातावरण बनाउन जरुरी रहेको बताए । अहिलेको सरकार निजी क्षेत्रलाई आर्थिक लगानीको वातावरण बनाउन अग्रसर रहेको बताए । लगानीको सुरक्षा र लगानी प्रवर्द्धन गर्नका लागि पेशा र व्यवसायको सुनिश्चितता गर्न सरकार प्रतिवद्ध रहेको बताए । देशको अर्थतन्त्रलाई विशेष टेवा दिने क्षेत्र भनेको पर्यटन, जलस्रोत, वन रहेको जानकारी दिए । मन्त्री शाहीले भने–‘नेपालमा पर्यटकहरुको ओइरो लाग्न सक्छ । देशको आर्थिकलाई विशेष टेवा दिने क्षेत्र भनेको पर्यटन, जलस्रोत, वन हो । पर्यटनका जतिपनि सम्भावना छन । ती सबै वन क्षेत्र, राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्र रहेका छन ।’ सो अवसरमा ओशो तपोवनका स्वामी आनन्द अरुणले नेपाललाई पर्यटनका लागि स्वर्ण भूमि भन्दै, विश्वभरका पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिक शान्तिको अद्वितीय अनुभव दिलाउन नेपाल सक्षम रहेको बताए । उनकाअनुसार नागार्जुन क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । पर्यटनका लागि ठूलो गन्तव्य बन्न सक्छ । अहिले पनि त्यहाँ रहेको तपोवनले ६०–८० देशका पर्यटकहरु ल्याउने गरेको छ । तर ठाउँ कम भएकाले कोठा पुग्दैन । उनले भने–‘नागार्जुन रिसोर्टले हामीलाई ठूलो सहयोग गर्ने छ । तपोवनमा अहिले ठाउँ छैन । मुस्लिमदेखि इसाइ कन्ट्रिसम्मका व्यक्तिहरु ध्यान र योग सिक्न नेपाल आउने गरेका छन । पर्यटन नेपालको ठूलो सम्पदा हो । जो हामीले एक्सप्लो नै गर्न सकिरहेका छैनौं ।’ उद्घाटन समारोहमा बोल्ने अन्य व्यक्तित्वहरुले रिसोर्टले आगामी दिनमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने तथा समग्र समुदायलाई लाभ पुर्याउने लक्ष्य रहेको स्पष्ट पारेका थिए । के छ नागार्जुन रिसोर्टमा ? नागार्जुन रिसोर्टमा हाल ६५ ओटा सुविधा सम्पन्न कोठा छन्, जसले पाहुनालाई उच्च स्तरको आवासीय सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ । रिसोर्ट व्यवस्थापन पक्षका अनुसार यहाँको प्रमुख आकर्षणहरूमा एयर कन्डिसन युक्त डिलक्स कोठाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्ने व्यवस्था, पर्याप्त पार्किङ, बच्चाहरूका लागि विशेष प्ले स्टेशन, कालुपाँडे डाँडासम्मको सजिलो हाइकिङ पहुँच, साथै स्थानीय स्वादमा बनेका बारबेक्यु, पिज्जा, मम लगायतका विविध परिकारहरू रहेका छन् । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ सञ्चालनमा आएको नागार्जुन रिसोर्टले नेपालको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई ‘लेट मि इन’ मा उपचार शुल्कमा छुट
काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकका ग्राहकहरूलाई काठमाडौं, नयाँ बानेश्वरस्थित लेट मि इनमा उपलब्ध कोरियन प्रविधियुक्त एस्थेटिक्स सेवाहरूमा छुट दिने सहमति भएको छ । सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी र खाता रहेका ग्राहकहरूले लेट मि इनको विविध सौन्दर्य र छाला सम्बन्धी उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इनका प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका हुन् ।
स्पेनमा घातक गर्मी : नयाँ रेकर्ड कायम
काठमाडौं । दक्षिणी युरोपमा अत्याधिक गर्मीको लहर जारी रहेको छ । स्पेनले सप्ताहन्तमा जुन महिनाको लागि अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेको छ । स्पेनी राज्य मौसम विज्ञान एजेन्सीले रिपोर्ट गरेको छ कि दक्षिणपश्चिमी प्रान्त हुएल्भाको एल ग्रानाडो शहरमा गत शनिबार ४६ डिग्री सेल्सियस पुगेको छ । यसले १९६५ मा सेभिलमा स्थापित ४५.२ डिग्रीको अघिल्लो जुन रेकर्डलाई उछिनेको छ । दक्षिणी स्पेनका अन्य भागहरूमा पनि अत्यधिक तापक्रम अनुभव गरिएको थियो । जसमा कोर्डोबामा ४४ डिग्री र सेभिल नजिकै ४३.९ डिग्री रेकर्ड गरिएको थियो । वर्षको पहिलो प्रमुख गर्मीको लहरमा १०० भन्दा बढी अनुगमन स्टेशनहरूले ४० डिग्रीभन्दा बढी तापक्रम दर्ता गरेका थिए । उत्तरपूर्वी स्पेनमा, बार्सिलोनाले ३७.३ डिग्रीको नयाँ रेकर्ड राखेको छ । गर्मीको लहर हप्ताभरि नै रहने अनुमान गरिएको छ । पूर्वी तट, दक्षिणपश्चिम र बेलेरिक टापुहरूको लोकप्रिय पर्यटकीय क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रमको पूर्वानुमान गरिएको छ ।
करिब दुई रोपनी जमिनमा लगाइएको काँक्रोखेतीबाट साढे दुई लाख कमाई
रामपुर । पाल्पा रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यसपटक काँक्रोखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । काँक्रोबाट छोटो समयमा नसोचेको आम्दानी भएपछि उनीहरु उत्साहित बनेका छन् । काममा निरन्तरको मेहेनत र व्यवसायमा आउने उतारचढावमा धैर्य गर्न सकियो भने राम्रै आयआर्जन गर्न सकिन्छ भन्ने थापा दाजुभाइले उदाहरण प्रस्तुत गरेका छन् । करिब दुई रोपनी क्षेत्रमा लगाइएको कर्मा जातको काँक्रोका स्वादले ग्राहकको मन जित्न सफल भएको छ । बिरुवा लगाएको दुई महिनाभित्र करिब रु दुई लाख ५० हजार बढी आम्दानी भएपछि व्यवसायमा थप हौसला बढेको दिलबहादुरले बताए । गत वैशाख ९ गते लगाएको बिरुवाले हालसम्म उत्पादन लेखाजोखा गर्दा चार हजार किलोभन्दा बढी काँक्रो बिक्री गरेको उनीहरु बताउँछन् । जेठ–असारमा रामपुर क्षेत्रमा काँक्रोको माग राम्रो खपत हुने भएकाले यहीँ समयलाई मध्यनजर गर्दै खेती गरिएको उनीहरुको भनाइ छ । दिलबहादुरले भने, 'यसपटक काँक्रो उत्पादन धेरै राम्रो भयो, बजारमा सजिलैसँग बिक्री भएको छ, व्यापारबाट हामी सन्तुष्ट बनेका छौँ, मेहेनत गरियो भने उत्पादन राम्रो हुने रहेछ भन्ने अनुभव पाएका छौँ, स्थानीय बजारमै राम्रो खपत भइरहेको छ, हालको बजारमा चलेको बिक्री मूल्य पाउँदा हामी खुसी छौँ ।' बिरुवा लगाएको ३५ दिनबाट उत्पादन बिक्री गर्न थालेको लालबहादुरले जानकारी दिए । प्रतिकिलो रु ७० का दरले धमाधम काँक्रो बिक्री गरेर राम्रो आम्दानी भित्रिएको उनी बताउँछन् । उनले भने, 'दिनहुँ काँक्रो टिप्ने बिक्री गर्दैमा दुई जनालाई भ्याइनभ्याईजस्तै हुन्थ्यो, बजार नपाएर समस्या होला भन्ने पिरलो छैन, उत्पादन गर्न सकियो भने स्थानीय बजारमा नै बिक्री भइरहन्छ, यहाँको बजारको मागअनुसार अझै पनि पुर्याउन सकिएको अवस्था छैन ।' वैदेशिक रोजगारीबाट फर्केर कृषि व्यवसायमा आबद्ध थापा दाजुभाइले जग्गा भाडामा लिएर खेती गरिरहेका छन् । रामपुर नगरपालिका–४ स्थित देवीस्थानमा इँटाभट्टा उत्पादन गरेर छाडिएको पत्थरिलो जग्गालाई खेतीयोग्य जमिनमा परिणत गराएर थापा दाजुभाइले तरकारीखेती सुरु गरेका हुन् । सो पत्थरीलो जग्गामा ‘हाम्रो आधुनिक कृषिफार्म’को नाममा फामै दर्ता गरेर युवाले हराभरा तरकारी फलाएको देख्दा यहाँका स्थानीयवासी दङ्ग छन् । थापा दाजुभाइको व्यवसाय अवलोकन तथा तरकारी लगाउने नयाँ प्रविधि, बीउबिजन, बजारीकरणलगायतका ज्ञान सीप सिक्न जानेको चहलपहल हुन थालेको छ । व्यापारी तथा ग्राहक पनि फार्ममै पुगेर तरकारी खरिद गर्ने गर्छन् । युवाले सुरु गरेको यो फार्म हिजोआज कृषि सिकाइ केन्द्रजस्तै बनेको छ । उनीहरूको व्यवसायको सिको गर्दै कृषि व्यवसायमा युवाको आकर्षण बढेको छ । समयअनुसार व्यवसाय गर्न सकियो भने बजारको समस्या नपर्ने व्यवसायीको अनुभव छ । रामतुलसी नमूना माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कृषि बाली विज्ञान विषयका विद्यार्थी पनि बेलाबेलामा आफ्नो विषयसँग सम्बन्धित शिक्षणका लागि यहाँ आएर प्रयोगात्मक सिकाई आर्जन गरिरहेका हुन्छन् । रासस
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
धर्मेन्द्र झा/सिबी अधिकारी काठमाडौं । माछाको फुल, तीते करेला र भ्यान्टाको समिश्रणबाट बनाइएको करेली माछाको तरकारी आहा ! कति आकर्षक जिब्रोमै झुन्डिने स्वाद ! वरिष्ठ सेफ गोविन्द नरसिंह केसीले पस्केको थाली सेटमा माछाको विशेष तरकारी हेर्दा जति आकर्षक थियो खादा पनि उत्तिकै जिब्रोमा झुन्डिने स्वादिलो थियो । असारको पन्ध्र । अपरान्ह समय । बाहिर सिमसिमे पानी अनि सिलौटो बजेटभित्र मीठो सङ्गीतका साथमा नेपाली रैथाने खानाको परिकारको स्वादले वातावरणलाई थप रौनकता प्रदान गरेको थियो । खानाको प्रदर्शनी र तरङ्गिएको बास्नाले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । विशिष्ट व्यक्ति र आगन्तुक पाहुनासहित सेफहरूले पस्केका खानाको परिकारमा सबै झुम्मिएका थिए । बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अनामनगर स्थित सुप्रसिद्ध सिलौटो कटेजमा नेपाली खाना प्रवर्द्धन अभियान र अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक कलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करण सङ्गीतमय वातावरणमा सहभागी हुँदै, मार्सी चामलको परिकारको खाना खाइयो, साह्रै मीठो, कति स्वादिलो आहा !’ राष्ट्रिय धान दिवसको अवसर पारेर यही असार १५ गते सिलौटोमा आयोजित भोजनलिपि स्वादको चौथो संस्करणमा प्रस्तुत गरिएको पाककलामा आधारित माछाको परिकारले पाहुनाको ध्यान खिचेको थियो । सबैको जिब्रोमा स्वाद गडिएको थियो । साधना कला केन्द्रका कलाकारले मादल, बासुरीको सुमधुर धुनले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो । विभिन्न प्रजातिका माछाको फुल सङ्कलन गरेर सेफ केसीले माछाको आकर्षक परिकार बनाएका हुन् । साल्मन, बुझवा, सोल, जलकपुरलगायत माछाको फुलको तरकारी बनाइएको सेफ केसीले बताए । सेफ कँडेल र खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करणमा प्रदर्शित खाना स्वादिष्ट हुनुका साथै आकर्षक देखिन्थ्ये । नेपाली रैथाने खानालाई आकर्षक रूपमा सजाइएको दृष्य रोचक थियो । सोल्टी होटलमा ३१ वर्ष सेफका रूपमा काम गर्नुभएका नेपालका पहिलो सेफ केसीको नेतृत्वमा भोजनलिपि स्वाद पस्किइएको हो । स्वदेशी तथा विदेशी राष्ट्रप्रमुख, विश्वचर्चित र ख्यातिप्राप्त ‘सेलिब्रेटी’लाई खानाको परिकार पस्किएका केसीले नेपाली खानाको विश्वव्यापी प्रवर्द्धनका लागि अभियानलाई साथ दिन अभिभावकीय भूमिका निर्वाह गरेको बताए । ‘भोजनलिपि स्वादको यस संस्करणअन्तर्गत पाहुनाको विशेष आग्रहबमोजिम माछाको फुलको तरकारी पस्किएको छु, यसलाई सहभागी सबैले रुचाइदिनुभयो । यो जीवनकै बेग्लै र फरक स्वाद लिएको प्रतिक्रिया दिनुभएको छ, यसले आफूलाई पनि हौसला मिलेको छ,’ उनले भने । माछाको फुलको तरकारीसहित करेला र भ्यान्टाको मिश्रणबाट बनेको परिकार प्रस्तुत गरिएको थियो । केसी आफैँले कालीमाटीबाट माछा माग गरेर पाककला प्रस्तुत गरेका हुन् । उनले भने, ‘वितरकसँग तीन दिन अगाडि माछा माग गरेका थियौँ । यो अत्यन्तै स्वास्थ्यवर्द्धक र स्वादिलो परिकार हो । युरोपियन संस्कृतिमा ‘सी फुड’ अर्थात् माछालाई ‘ब्रेन्ड फुड’ पनि भनिन्छ । माछालाई सही किसिमले सदुपयोग गरिएमा मस्तिस्क तिखो हुने विश्वास गरिन्छ ।’ सेफ केसीले भने, ‘माछाको फुललाई निकालेर केही समय फ्रिजमा राखिन्छ । थोरै नुन र बेसार हालेर उसिन्नुपर्छ । यसलाई करिब १५ देखि ३५ मिनेटसम्म पकाइन्छ । त्यसपछि चिसो पानी र आइस हालेर पुनः फ्रिजमा राखी माछाको पातलो जालो निकालेर टुक्रा पारिन्छ । सोही साइजको करेला र भ्यान्टा काटेर मिसाइन्छ । तोरीको दाना, करी पत्ता, सजिवनलगायत मसलाको प्रयोग गरिन्छ ।’ सिलौटोमा सबै मसला पिनेर स्वाद तयार गरिन्छ । नेपाली वास्तुकला झल्किने, नेपाली संस्कृतिसँग सम्बन्धित नेपाली रैथाने खानाको प्रवर्द्धन गरिएको उल्लेख गर्दै सेफ केसीले सेफ कँडेलको भोजनलिपि स्वादको सोच र अवधारणालाई सार्थक बनाउन आफूले सक्रिय साथ दिएको उल्लेख गरे । पहिलो रोजाइ डोमा लड्डु भोजनलिपिको चौथो संस्करणमा सेफहरूले माछाको तरकारीबाहेक लौका र गाँजरलाई गलाएर सखरको समिश्रणमा बनेको डोमाको लड्डुको बेग्लै आकर्षण थियो । स्वादिष्ट र स्वास्थ्यवर्द्धक लड्डु पाहुना तथा ग्राहकको पहिलो रोजाइमा परेको थियो । गाजर र लौकलाई करिब ६ घण्टाको मेहेनतमा बनाइएको डोमाको लड्डु पानको पातमा सजाइएको थियो । यस्तै मार्सी चामलको भात, ढिँडो, खस्रो च्याख्ला, खुट्टीको सुप, खसीको मासु, लोकल कुखुराको मासु, हाँसको छोयला, सिस्नोको सुप, हाँसको छोयला, फापर र आलुलाई मिसाएर बनाइएको रिकीपुरको विशेष प्रस्तुति थियो । मार्सी भात र कड्कनाथ करी, च्याँख्ला, डिँडोसँग खसीको करङ, नङ्ग्रे सपेटो, इन्द्रेणी मोमो, हाँसको छोइला, रिकीकुर, कन्चेम्वा, गोरस (मही), दही फ्रुट र चिउरा, करेसाबारी फलफूल सलादको प्रदर्शनी आकर्षक र रुचिकर थियो । भोजनलिपि स्वादका संस्थापक सेफ कँडेलले प्रदर्शनीको खाना हिमाल, पहाड र तराईका साथै जातजातिलाई समेटेर बनाइएको बताए । उनका अनुसार रिकीकुर, थकालीलगायत खानाको परिकार पस्किने प्रयास गरिएको हो । चौथो संस्करणसम्म आइपुग्दा आफूमा हौसला बढेको भन्दै यसले स्वस्थ्यवर्द्धक खानाको प्रवर्द्धनमा मद्दत पुगेको उनको भनाइ छ । लड्डु, ढिँडो, च्याख्ला रिकीकुरलगायत परिकार कार्यक्रमको आकर्षण थिए । चौथो संस्करणमा राजनीति, समाजसेवी, सञ्चारजगतलगायत क्षेत्रको प्रतिनिधित्वसँगै खानाको परिकारप्रतिको हौसलाले आगामी दिनका संस्करणलाई थप आकर्षक बनाउन ऊर्जा मिलेको सेफ कँडेलले बताए । उनले नेपालमा दक्ष सेफ जनशक्तिको अभाव रहेको बताउँदै अहिले पनि कतिपय रेष्टुरेन्ट र होटलमा तालिमप्राप्त सेफको अभाव खड्किएकाले अभियानमार्फत दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सिलौटो कटेजका सञ्चालक मिन भण्डारीले असारे झरीमा पनि धेरैभन्दा धेरै पाहुनाको सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताए । उनले किसानले उत्पादन गरेका सामान ल्याएर मौलिक परिकार बनाई खानाको प्रवर्द्धन गरिरहेको उल्लेख गर्दै भोजनलिपि स्वाद अभियानसँग संस्थाले सहकार्य गरेर जाने प्रतिबद्धता जनाए । उनका अनुसार सिलौटोले रैथाने परिकारको स्वादको सुनिश्चितताका लागि सिलौटोमा पिँधेको अचार, लोकल खसीको मासु, आगोमा कसौँडीमा पकाएको पक्कु, मसला आफैँ पिस्ने र माछा पोखरीबाटै ल्याएर पकाउने गरिएको छ । नेपाली खाना प्रवर्द्धन अभियानका संयोजक देवीप्रसाद सापकोटाले चौथो संस्करणसम्म आइपुग्दा कार्यक्रम प्रभावकारी भएको तथा खानाको स्वाद र गुणस्तरमा पनि सुधार आएको बताए । भोजनलिपि स्वाद स्वदेश तथा विदेशमा सञ्चालन गर्ने तयारी रहेको उनले उल्लेख गरे । नेपाली खाना प्रवर्द्धन अभियान र सिलौटो कटेजले आयोजना गरेको कार्यक्रममा विभिन्न जिल्लामा उत्पादित कृषि उपजबाट बनेका परिकार प्रस्तुत गरिएको थियो । नेपाली साङ्गीतिक धुनसहित प्रस्तुत संस्करणमा खानाका विभिन्न १५ प्रकारका परिकार राखिएको थियो । अभियानको संयोजनमा यसअघि तीन वटा भोजनलिपि स्वाद संस्करण आयोजना भइसकेको छ । हालसम्म करिब ४० जिल्लाका कृषि उपजका परिकार प्रस्तुत गरिएको थियो । अभियानले विस्तारै देशका ७७ जिल्लाका कृषि उपजलाई समावेश गर्ने लक्ष्य लिएको छ । अन्तर्राष्ट्रिय स्वादका अध्येता सेफ कँडेलले पाककलासम्बन्धी विश्वस्तरीय पुस्तक ‘टिमुर’ प्रकाशन गरिसकेका छन् । सेफ खड्कासँगको सहलेखनमा भोजनलिपि ‘कुकबुक’ प्रकासोन्मुख रहेको कँडेलले जानकारी दिए । नेपाली पाककला क्षेत्रका ख्याति प्राप्त गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मण भण्डारी, शिवहरि घिमिरे र नयाँ पुस्ताका पूर्ण श्रेष्ठ, इङ्वा सुब्बालगायत विभिन्न सेफहरूसँगको अनुभव आदानप्रदानले पनि भोजनलिपि स्वाद कार्यक्रमलाई थप प्रभावकारी बनाएको बताइएको छ ।रासस
सेयरजस्तै लगानीको उपकरण सुन, नबिल बैंकले दिन्छ ८.९ प्रतिशत ब्याजमा ‘सुन कर्जा’
काठमाडौं । ‘नेपाली समाज जस्तै भारत, थाइल्याण्ड, भियतनामलगायत दक्षिण पूर्वी एसियाका मुलुकमा पनि सुनचाँदीको सांस्कृतिक र सामाजिक मूल्य मान्यता छ । चाडपर्वदेखि विवाह समारोहमा सुनको सांस्कृतिक र सामाजिक मान्यतालाई नकार्न सकिँदैन । हामी आफैले सुन उत्पादन गर्दैनौं, आयातित सुनलाई नै विभिन्न ढाँचामा ढालेर प्रयोग गर्ने हो । सुन आयातमा अर्बाैं विदेशी मुद्रा बाहिरिन्छ,’ नबिल बैंककी रिटेल लेण्डिङ हेड चाँदनी श्रेष्ठले भनिन्, ‘त्यसैले हामीसँगै भएको सुनलाई वित्तीय उपकरण (फाइनान्सियल टूल)मा परिणत गरौं । नबिल बैंकले हामीसँगै भएको सुनलाई वित्तीय स्रोतको रूपमा प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ ।’ हो, नेपालमा सुन उत्पादन हुँदैन । नेपाल राष्ट्र बैंकले कोटा सिस्टममा बैंकहरूलाई सुन आयात गर्न दिएको छ । विदेशबाट सुन आयात गर्दा अर्बाैं विदेशी मुद्रा बाहिरिने गरेको छ । नबिल बैंकले नेपालीहरूसँग घरमै थन्किएर रहेको सुनलाई नगदमा रूपान्तरण गर्न खोजिरहेको छ । सुनलाई धितो राखेर कुनै पनि उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सकिने गरी बैंकले सुन कर्जा प्रवाह गरिरहेको श्रेष्ठको भनाइ छ । ‘लकरमा बसेको आइडल गोल्ड छ, तपाईं हामीले त्यतिकै घरमा सुन राखिरहेका छौं । अब आयात हुने सुनलाई होइन, घरमा राखिएको, बैंकको लकरमा राखिएको सुनलाई आइडल सम्पत्तिको रूपमा मात्रै नलिएर वित्तीय उपकरणको रुपमा विकास गर्न सकिन्छ,’ उनले भनिन्, ‘आफूसँग भएको सुनलाई धितो राखेर कर्जा लिएर त्यो पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ । जस्तो कुनै व्यापार व्यवसाय, एसएमई, साना तथा घरेलु उद्यममा सुन धितो राखेर लगानी गर्न सकिन्छ । छोराछोरीको उच्च शिक्षाको लागि त्यो रकम प्रयोग गर्न सकिन्छ।’ श्रेष्ठका अनुसार सुनलाई जसरी आइडल सम्पत्तिको रूपमा लिइएको छ, त्यो सुनलाई वित्तीय उपकरणको रुपमा विकास गर्न सकियो भने त्यसले अर्थतन्त्रमा समेत योगदान पुर्याउने छ । सुन कर्जा गर्जाे टार्नका लागि लिने गरिएको छ । घरमा थन्किएर बसेको, बैंकको लकरमा रहेको सुन कहिलेकाहीँ चाडपर्व, विवाह समारोहमा लगाउने बाहेक त्यो सुनले प्रतिफल दिँदैन । त्यसैले उक्त सुनलाई धितोमा राखेर कर्जा लिई व्यापार व्यवसायमा लगानी गर्न सकियो भने त्यसबाट प्रतिफल पनि प्राप्त हुने उनको भनाइ छ । अनौपचारिक माध्यमबाट सुन कर्जा लिँदा महँगो पर्ने भएकाले बैंकले सस्तो ब्याजदरमा कर्जा दिइरहेको छ । ‘जस्तो सुन पसलमा ऋण लिन जाँदा उच्च ब्याज हुन्छ । कहिलेकाहीँ विश्वास पनि कम हुन्छ । तर, बैंकमा धितो राखेर कर्जा लिएपछि सुन सुरक्षित हुने भयो । लकरको पैसा पनि तिर्नु परेन । बैंकले ग्राहकको सुनलाई सुरक्षित रूपमा धितोको रूपमा राखिदिन्छ,’ उनले भनिन्, ‘अनौपचारिक च्यानलबाट कर्जा लिनुभन्दा बैंकमा कर्जा लिँदा धेरै सस्तो ब्याजमा पाइन्छ । अहिले एकल अंक ब्याजदरमा नै कर्जा उपलब्ध छ । जबकि अनौपचारिक माध्यमबाट कर्जा लिँदा २४/२५ प्रतिशतसम्म ब्याजदर तिर्नु परेको हुन्छ ।’ विगतमा सुनलाई सांस्कृतिक र सामाजिक मान्यताका रूपमा मात्रै लिइन्थ्यो । तर, पछिल्लो सुनलाई धितो राखेर कर्जा लिने र त्यो रकमलाई प्रयोग गर्ने अभ्यास बढिरहेको श्रेष्ठले बताइन् । चाडपर्व, विवाह समारोहमा प्रयोग हुने सुन अहिले वित्तीय उपकरणका रूपमा परिचालन भइरहेको छ । ‘अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कसरी तलमाथि भइरहेको छ, यसको रेट अफ रिटर्न के छ ? सुनको वृद्धि कस्तो छ, प्रतिफल कति छ ? सबै एसेसमेन्ट गर्न सकिने हुँदा सुनलाई प्रयोग गर्न सकिन्छ । जसरी सेयरलाई लगानी उपकरणको रूपमा लिइन्छ, त्यसरी सुनलाई पनि लगानी उपकरणको रुपमा लिइरहेका छन्,’ उनले भनिन्। नबिल बैंकमा सुन कर्जा नबिल बैंकले २२ क्यारेट र २४ क्यारेटको सुनलाई मात्रै धितोको रूपमा स्वीकार गर्छ । ग्राहकहरूले आफूसँग भएको सुन धितो राखेर बैंकबाट सहज रुपमा कर्जा लिन सकिने रिटेल लेण्डिङ हेड श्रेष्ठ बताउँछिन् । उनका अनुसार सुन धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म बैंकले कर्जा दिइरहेको छ । बैंकको आधार दर ५.९ प्रतिशत छ । आधार दरमा ३ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गरी कर्जा दिइरहेको उनले बताइन् । १० लाख रुपैयाँसम्मको कर्जालाई बिल अनिवार्य छैन । तर, १० लाखभन्दा माथिको कर्जालाई बिल अनिवार्य गरिएको छ । मिसावट हुने सम्भावना रहेकाले २४ क्यारेट सुनमा १० प्रतिशत र २२ क्यारेट सुनमा २० प्रतिशत हेयर कट गरिन्छ । त्यसपछिको मूल्यमा ७० प्रतिशतसम्म कर्जा दिइन्छ । प्रतितोला २ लाख रुपैयाँ मूल्यका आधारमा एक तोला सुन धितो राख्दा ग्राहकले १ लाख २६ हजार रुपैयाँसम्म कर्जा पाउने उनले बताइन् । साथै बैंकसँग सुन खरिद कर्जा योजना पनि छ । ग्राहकसँग सुन छैन र आफ्नो आवश्यकता वा सन्तानका लागि सुन जोड्ने इच्छा छ भने सुन खरिद कर्जा योजनामार्फत आवश्यक पर्ने सुन खरिद गरेर भविष्यका लागि सुन जोड्न सकिने उनको भनाइ छ । सुन खरिद गर्नका लागि बैंकले १० लाख रुपैयाँसम्म कर्जा दिने गरेको छ । जसको लागि बैंकले सुनचाँदी व्यवसायीसँग सम्झौता गरेको छ । जस्तो ग्राहक र सुनचाँदी व्यवसायी बैंकमा आउनु पर्ने हुन्छ । बैंकको सुन जाँचकीले सुन जाँच गरेपछि गुणस्तर र परिमाणलाई नियमानुसार ७० प्रतिशतसम्म कर्जा दिने गरिएको छ । सो भ्यालूका आधारमा बैंकले १० लाख रुपैयाँ नबढ्ने गरी कर्जा दिइरहेको छ । त्यो पैसा ग्राहकले सुन व्यवसायीलाई दिनेछ । यदि १० लाख रुपैयाँको सुन खरिद गरिएको छ भने मासिक इएमआई १२ हजार हाराहारी रुपैयाँ मात्रै रहेको श्रेष्ठको भनाइ छ । सुन कर्जामा मुख्य जोखिम तौल र गुणस्तर (क्वालिटी)मा हुने गरेको उनले बताइन् । अनुभवी सुन जाँचकी राखेको भएपनि कथमकदाचित सुन जाँचमा तलमाथि भयो भने बैंकले ठूलो नोक्सानी बेहोर्नु पर्ने उनको भनाइ छ । जस्तो तीन तोला भनेर लिएको सुन २ तोला ८० लाल मात्रै निस्कियो भने बैंकलाई घाटा हुन सक्ने भएकाले धेरै सजग हुनुपर्ने उनले बताइन् । १० लाख रुपैयाँसम्मको कर्जामा कर्जा सूचना केन्द्रबाट सीआईसी लिन नपर्ने हुँदा कर्जा सरल रुपमा प्राप्त गर्न सकिने बैंकको भनाइ छ । बैंकले हालसम्म १ अर्ब भन्दा बढी सुन धितो कर्जा प्रवाह गरेको छ । उक्त कर्जा १ हजार भन्दा बढी ग्राहकले लिएका छन् । काठमाडौं उपत्यकासहित देशभरका शाखा कार्यालयबाट सुन कर्जा सहज रुपमा उपलब्ध भइरहेको उनले बताइन् ।
जनकपुरधाम शाखाबाट ३६ करोड बराबरको रासायनिक मल बिक्री
महेन्द्रनगर । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम शाखाले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म ३६ करोड ३९ लाख ६३ हजार रुपैयाँको रासायनिक मल बिक्री वितरण गरेको छ । कम्पनीका अनुसार हालसम्म १४ करोड ३० लाख २२ हजार रुपैयाँको युरिया, २२ करोड २४ लाख ६५ हजार रुपैयाँको डिएपी र ८४ लाख ७५ हजार रुपैयाँको पोटास बिक्री वितरण गरेको कार्यालयका निमित्त कार्यालय प्रमुख बेचन साहले बताए । कार्यालयका अनुसार आव २०८१/८२ देखि हालसम्म कम्पनीले आठ हजार एक सय ७२ मेट्रिकटन युरिया प्राप्त गरेको प्रमुख साहले भने । यसैगरी डिएपी पाँच हजार दुई सय ५८ मेट्रिकटन र पोटास दुई सय ९७ मेटन प्राप्त गरेको हो । प्रमुख साहका अनुसार प्राप्त रासायनिक मलबाट कम्पनीले हालसम्म युरिया आठ हजार चार सय आठ दशमलव एक सय ५० मेट्रिकटन, डीएपी चार हजार आठ सय ३५ दशमलव एक सय ५० मेट्रिकटन र पोटास दुई सय ४९ दशमलव दुई सय मेट्रिकटन मलखाद्य बिक्री वितरण गरिएको छ । प्रमुख साहका अनुसार गत वर्षको बाँकी मौज्दात युरिया ९६२ दशमलव पाँच सय मेट्रिकटन, डीएपी ८३ दशमलव सात सय ५० मेट्रिकटन र पोटास ९८ दशमलव पाँच सय मेट्रिकटन रहेको थियो । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा युरियाप्रति बोरा आठ सय ५०.५० पैसा, डिएपी २३ हजार रुपैयाँ र पोटास १७ हजार रुपैयाँ बिक्री मूल्य रहेको निमित्त प्रमुख बेचन साहले जानकारी दिए । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखाले धनुषा जिल्ला र महोत्तरी जिल्ला गरी दुई सय नौ डिलरमार्फत उक्त मल वितरण गर्दै आएको छ । मलखाद्य निर्देशिका, २०७७ बमोजिम प्रत्येक पालिकामा स्थानीय मलखाद्य वितरण व्यवस्थापन समिति छ । उपमेयर वा उपाध्यक्षको प्रमुख संयोजक र सदस्यमा प्रशासकीय अधिकृत, कृषि शाखा प्रमुख कृषि सदस्य सचिव रहेको समितिले रासायनिक मलको दर रेट, कालो बजारी नियन्त्रण, बिक्री वितरण व्यवस्थापन गर्ने जिम्मा लिएको छ । प्रदेश भूमि व्यस्थापन तथा सहकारी मन्त्रालय बाट सम्बन्धित जिल्लामा पर्ने पालिकाले तोकेको कोटा बमोजिम कृषि सामग्री कम्पनी लिमिटेड डिलरमार्फत मलखाद्य दिने गरेको साहले भने । प्राप्त विवरणअनुसार हालसम्ममा डिएपी मलको कोटा थप गरिने निर्णय भई आउने तरखरमा रहेको प्रमुख साहको भनाइ छ । धान, गहुँ मकैका साथै तेलहन बालिका लागि सो मल बिक्री वितरण गरिएको छ ।
जनताको स्वीकृति बिना कर नलगाइने, करका सबै प्रस्ताव संसदमा पेस गर्नुपर्ने
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्न र जन अपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन् । संसद् दिवस, २०८२ को अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, सङ्घीय संसदका वर्तमान तथा पूर्व सदस्यहरू, प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधिलाई शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले संसदलाई अझ प्रभावकारी, उत्तरदायी र जन उत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गरे । संसद दिवसको ऐतिहासिक अवसरमा संसदीय लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदप्रति भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले राजनीतिक योद्धाको योगदानको स्मरण पनि गरे । नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाइन्छ । आज लोकतन्त्र, संविधान वाद, जनताको अधिकार तथा जनताप्रति जनप्रतिनिधिको उत्तर दायित्वको स्मरण गर्ने दिन पनि भएको सभामुख घिमिरेको भनाइ छ । संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक प्रमुख संस्था भएको उल्लेख गर्दै उनले लोकतन्त्रको मूल आत्मा जनताको सहभागितामा निहित भएको बताए । सन्देशमा भनिएको छ, ‘शासन व्यवस्थामा नीति निर्माण, कानून निर्माण तथा कार्यान्वयनको प्रभावकारी निगरानी जस्ता महत्वपूर्ण कार्य संसदमार्फत सम्पन्न गरिन्छ, संसदले व्यवस्थापकीय कार्यविधिको माध्यमबाट जनताको अभिमत अनुरूप नीति र कानून सुनिश्चित गर्दछ ।’ उनले जनताको स्वीकृति बिना कर नलगाइने भन्ने लोकतान्त्रिक सिद्धान्तको सम्मान गर्दै संविधानले करसम्बन्धी सबै प्रस्तावहरू सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गरे । लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मर्म नै संवाद, सहकार्य र सहमति भएको जनाउँदै विविध राजनीतिक दलहरूबीच विचार, दृष्टिकोण र प्राथमिकताहरू फरक-फरक भए तापनि साझा राष्ट्रिय सरोकारका विषयमा दलीय सहमति आवश्यक र अपरिहार्य भएको उनको भनाइ छ। संसद वादविवादको नभएर संवादको थलो बन्नुपर्ने उनले जोड दिए ।
ग्लोबल आइएमई बैंकको ‘धान खेती कर्जा’ सार्वजनिक, २० लाख रुपैयाँसम्म कर्जा पाइने
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत कृषकले धानको बीउ, रासायनिक तथा जैविक मल, कृषि उपकरणहरू तथा अन्य आवश्यक कृषि सामग्रीहरू खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । खेतियोग्य जमिनको सदुपयोग गर्न धान खेती गरी कृषकको आम्दानी बढाई कृषि पेशालाई मर्यादित र व्यवसायिक बनाइ कृषकहरूलाई प्रोत्साहन गर्नको लागि यो कर्जा योजना सार्वजनिक गरिएको हो । साथै राष्ट्रिय धान दिवसको अवसरमा बैंकले टोखा नगरपालिका वडा नं। १, राधा कृष्ण मन्दिर नजिकै रहेको फाँटमा बैंकका कर्मचारी तथा स्थानीयको सहभागितामा धान रोपाई आयोजना गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसहित बैंकका कर्मचारी तथा स्थानीयहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपाल सरकारको रणनीति अनुसार धानको उत्पादन वृद्धि गर्न, कृषिको आधुनिकीरण तथा व्यवसायीकरण गरी कृषकको मनोबल वृद्धि गर्न बैंकले यस प्रकारका कार्यक्रमहरु आयोजना गर्ने गरेको उल्लेख गर्नुभयो । साथै उनले बैंकले आजै सार्वजनिक गरेको धान खेती कर्जाले पनि कृषकहरूलाई धान खेती गर्न प्रोत्साहित गर्ने र धानको उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य, एक करोड ३० लाख खर्च गर्ने
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कुल र रातो बङ्गला फाउन्डेसन पाटनढोका ललितपुरसँग सहकार्य गर्ने समझदारी भएको छ । नगरपालिकाभित्र सञ्चालित २२ वटा आधारभूत तहका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कुल र फाउन्डेसनसँग तीन वर्षसम्म सहकार्य गर्ने समझदारी भएको हो । स्कुल र फाउन्डेसनले तीन वर्षसम्म एकजना अधिकृतस्तरको कर्मचारी, विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री र शिक्षकका लागि विभिन्न चरणको तालिम उपलब्ध गराउने त्रिपक्षीय समझदारीपत्रमा उल्लेख छ । नगरपालिकाको ४५ दशमलव २२ र रातो बङ्गलाको ५४ दशमलव ७८ प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले जानकारी दिइन् । त्रिपक्षीय समझदारीअनुसार तीन वर्षको अवधिमा एक करोड २९ लाख ८२ हजार ८८० रुपैयाँको शैक्षिक कार्यक्रम सञ्चालन हुने उल्लेख छ । पहिलो वर्ष ७३ लाख ५४ हजार ९८० रुपैयाँ, दोस्रो वर्ष २६ लाख ९६ हजार ५२० रुपैयाँ र तेस्रो वर्ष २९ लाख ३१ लाख ३८० रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन हुने जनाइएको छ । शैक्षिक गुणस्तर सुधारमा साझेदारी गर्ने विषयमा नगरप्रमुख राई, रातो बङ्गला स्कुलका निर्देशक शान्ता दीक्षित र फाउन्डेसनका टोलीप्रमुख एलिना रञ्जितले समझदारीपत्रमा हस्ताक्षर गरेकी हुन् । यसरी त्रिपक्षबीच भएको समझदारीपत्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरी, रातो बङ्गला स्कुलका कार्यक्रम संयोजक अर्चना जोशी, रातो बङ्गला फाउन्डेसनका लेखाप्रमुख हरिप्रसाद पुडासैनी र हलेसी तुवाचुङ नगरपालिका–५ का अध्यक्ष रुपेन्द्रकुमार राई साक्षी बसेका छन् । नगरपालिकाको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गला फउन्डेसनसँग सहकार्य गरिएसँगै शिक्षा क्षेत्रमा नयाँ आयाम थपिएको नगरप्रमुख राईले बताइन् । 'हामी शैक्षिक गुणस्तर सुधारमा निरन्तर लागिपरेका छौँ । पछिल्लो समय केही अनुभव गर्न सकिनेगरी सुधार पनि हुन थालेका छन्,' उनले भनिन्, 'तीन वर्षका लागि रातो बङ्गला फाउन्डेसनसँग सहकार्य गर्ने अवसर पाएका छौँ । यसले शैक्षिक गणस्तर सुधारमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।' हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीसमेत रहेको यो नगरपालिकाले विभिन्न कार्यक्रमका साथ सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान सञ्चालन गर्दै आएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कक्षा–८ को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसइई) जस्तैगरी सञ्चालन, धुलोरहित कक्षाकोठा निर्माण, शिक्षकका लागि आवश्यक तालिम तथा प्रशिक्षण, समय–समयमा शैक्षिक उत्प्रेरक झिकाएर उत्प्रेरणा प्रदानलगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ‘दशबुँदे घोषणापत्र’ समेत जारी गरेर कार्यान्वयनमा ल्याइएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वलाई प्रभावकारी बनाउँदै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–कर्मचारीको कार्यक्षमता तथा दक्षतालाई प्रवर्द्धन गर्न नगरपालिका, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक तथा प्रधानाध्यापक र विद्यालय कर्मचारीबीच कार्यसम्पादन करार सम्झौता गर्ने र विद्यालयमा कार्यरत सबैको कार्यविवरण सबैले देख्ने ठाउँमा राख्ने घोषणापत्रमा उल्लेख गरिएको छ । नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, अभिभावक र कर्मचारीले सामुदायिक विद्यालय शिक्षा सुधारको नैतिक धरातल बलियो बनाउन सार्वजनिक पदधारण गरेका व्यक्तिले ‘मेरो विद्यालय म आफैँ बनाउँछु, मेरा सन्तान मेरै कार्यक्षेत्रका सामुदायिक विद्यालयमा पढाउँछु’ भन्ने कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । कक्षा ११ र १२ का विधार्थीलाई रैथाने सीप, कला र उद्यमशीलतासँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक महिनाको अन्तिम शुक्रबार ‘बुक फ्री डे’ कार्यक्रम सञ्चालन गरी कार्यान्वयनमा ल्याउने तथा ‘गुणस्तरीय शिक्षा समृद्ध हलेसीः हामी सबैको जिम्मेवारी’लाई आत्मसात् गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा उल्लिखित बुँदालाई स्वेच्छिक रूपमा पालना गर्दै कार्यान्वयनमा ल्याउने प्रतिबद्धतासहित नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकका विभिन्न पेसागत सङ्घ, सङ्गठनका प्रमुख तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नगरभित्रका ९० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारीले सहीछाप गरेका छन् । १४ वटा माध्यमिक विद्यालय सञ्चालनमा रहेको यो नगरपालिकाबाट यस वर्षको एसइई परीक्षामा ५४ दशमलव ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । रासस
कुटाइ खाँदै बैंकर, टिकटकमा पोख्छन् पीडा
काठमाडौं । ‘बिहानै जान्छु ८ बजे, फर्किन्छु घर राति, आफैले लोन दिएको मान्छे निस्किएपछि घाती । पहिला पहिला अफिस आउँदा भन्थ्यो कति राम्रो, लोन दिएसी थाहा भयो मान्छे रैछ चाम्रो ।। फोन पनि उठाउँदैन, हुन्छ किस्ता लेट, फाउन गयो चैत गयो, गयो वैशाख जेठ । फाउन गयो चैत गयो, गयो वैशाख जेठ, अचेल त झन् घरमै जाँदा पनि हुन्न भेट ।। तिर पैसा यसरी चल्दैन भन्छ पैसा रुखमा फल्दैन कपालु कोरेर, कसरी जाऊँ घर एनपीएल छोडेर । कसरी जाउँ घर एनपीएल छोडेर...’ माथिको गीत टिकटकमा नबिन अस्मिता नामको आइडीबाट साभार गरिएको हो । असार महिना लागेपछि बैंकरहरूले के कस्ता पीडा भोगिरहेका छन् भन्ने विषय टिकटकको गीतबाट झल्किएको छ । टिकटक भिडियोमा थकित युवा (बैंकर) पानी पिउँदैछन् । त्यही बेला युवतीले बेबी कस्तो लागिरहेको छ, असार महिना ? घर आउने पनि ठेगान छैन भन्दै प्रश्न गर्दै छिन् । युवतीले गरेको प्रश्नमा ती युवाले सुरिलो भाकामा गीतमार्फत असार महिनामा बैंकरहरूले भोगिरहेको जवाफ दिएका छन् । उनले गीतमार्फत सुनाएको पीडा सबै बैंकरहरूको साझा हो । चालु आर्थिक वर्ष २०८१/८२ को असारमा बैंकरहरू कर्जा असुलीको चापमा छन् । यतिबेला बैंकरहरूलाई ऋण असुलीका लागि भ्याईनभ्याई छ । आर्थिक वर्षको अन्त्यतिर गालि खानु, धम्की खानु बैंकहरूका लागि सामान्य जस्तै बनेको छ । तर, पछिल्लो समय कर्जा असुलीका लागि ताकेता गर्दा बैंकरहरू आफै कुटिन थालेका छन् । गत बिहीबार (असार १३ गते) ग्लोबल आइएमई बैंकको लम्की शाखा प्रमुख हरिशचन्द्र भट्ट कार्यालयमै कुटिए । बैंकबाट लिएको कर्जा चुक्ता तथा किस्ता नियमित गर्न फोन गरेका थिए । तर, ऋणी अमित भण्डारीले बैंकको शाखा कार्यालयमै गएर उनीमाथि गालीगलौज र कुटपिट गरे । ‘व्यक्तिगत रिसइबी केही थिएन । बैंकको कारोबारका लागि हो । ऋणीलाई फोन गर्दा धम्की, गालीगलौज गर्नु भयो र अफिसमा आएर कुट्नु भयो । हातपात नै गर्नुभयो,’ पीडित भट्टले भने । क्लोजिङको समयमा यस्ता गतिविधिले नकारात्मक सन्देश गएको उनको भनाइ छ । व्यवसायी र बैंकरबीच सहकार्य हुनुपर्नेमा द्वन्द्वको स्थिति आउँदा समग्र स्थिति नै बिग्रने उनले बताए । ‘ब्याज नतिरेपछि नियमित गर्नूहोस् भन्दा कुटाइ खानुपर्ने अवस्था आउनु राम्रो होइन । पछि उहाँले नै आगामी दिन यस्तो हर्कत नगर्ने भनेर माफी माग्नु भएपछि मिलापत्र गरियो,’ शाखा प्रमुख भट्टले भने । बैंकरहरूले राम्रो गर्न खोज्दा पनि समस्या भइरहेको उनले सुनाए । उनले भने, ‘कर्जा दिएपछि कर्मचारीले कर्जा चुक्ता गर्न, ब्याज तिर्न ताकेता गर्नैपर्यो । पब्लिकको पैसाबाट कर्जा दिएको हो । तर, अकाउन्ट रेगुलर गर्नुपर्यो भन्दा कुटाइ खानु परेको छ ।’ बैंकरमाथि उद्योग वाणिज्य संघका पदाधिकारी समेत रहेका व्यक्तिबाट कार्यालय समयभित्रै गालीगलौज तथा कुटपिट भएको प्रति बैंकर्स क्लब लम्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै लम्कीस्थित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका कर्मचारीको स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरणमाथि निर्घात हस्तक्षप भएको क्लबको ठम्याइ छ । चालू आर्थिक वर्ष अन्त्यमा आइपुग्दा बैंकरहरू ऋण असुलीमा सक्रिय छन् । विगत केही वर्षदेखि बैंकिङ क्षेत्रमा खासै उत्साहजनक नभएपनि यसपटक भने राम्रो गर्ने तयारीमा बैंकरहरू जुटेका छन् । विगतमा बैंकिङ क्षेत्रमा विभिन्न गतिविधिले गर्दा खासै उत्साहजनक हुन सकेको थिएन । तर, पछिल्लो समय व्यापार व्यवसाय बढ्न थालेपछि भने मनोबल पनि बढेको बैंकरहरूको भनाइ छ । यतिबेला बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापकहरूले कर्मचारीको विभाग नै परिवर्तन गरेर रिकभरीमा जोड दिइरहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकरहरूलाई कर्जा असुली (रिकभरी)मा जोड दिन आन्तरिक निर्देशन दिएपछि विगतमा निक्षेप संकलनमा खटिने कर्मचारीलाई समेत अहिले कर्जा असुलीमा खटाइरहेको एक बैंकरले विकासन्यूजसँग बताए । ‘हामीलाई केन्द्रीय बैंकदेखि लिएर नियामकीय निकायबाट रिकभरीमा आक्रामक रूपमा अगाडि बढाउन निर्देशन आएको छ । कर्जा असुलीमा सुस्त भयो भन्ने राष्ट्र बैंकका अधिकारीहरूको बुझाइ रहेको छ । त्यसैले हामी पनि रिकोभरीमा लागिरहेका छौं,’ एक बैंकरले भने, ‘त्यसैले अहिले साना ठूला ऋणीलाई ताकेता गर्ने काम भइरहेको छ । खराब कर्जालाई साइजमा ल्याउने गरी काम भइरहेका छन् ।’ बैंकहरूले जथाभावी ब्याजदर बढाए भनेर दुर्गा प्रसाईं लगायतका समूहले भ्रम फैलाएर बिगारेकाले माहोल सुधारका लागि बैंकरहरू लागिरहेका छन् । तरलता र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज हुँदा बैंकरहरुको मनोबल बढेको भएपनि ग्राहकहरूको मनोबलमा खासै उत्साह नछाएको उनको भनाइ छ । नेपाल बैंकर्स संघ सुदूरपश्चिमका अध्यक्ष पुकार सुवेदीले समय नै खराब रहेकाले कर्जा असुली पनि चुनौतिको विषय बनिरहेको बताउँछन् । समग्र देशभर नै समस्या रहेकाले सुदूरपश्चिम त्यसबाट अछुतो नरहेको उनको भनाइ छ । ‘चुनौतीपूर्ण समय छ । यो प्रदेशमा मात्रै नभएर सबै प्रदेशले चुनौती भोगिरहेका छन् । चुनौतीको बीचमा काम गरिरहनु परेको छ,’ उनले भने । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता किरण पण्डित बैंकरहरूले समन्वय र सहकार्य गरेर कर्जा असुली प्रक्रिया अपनाउनुपर्ने बताउँछन् । ऋणी पनि बैंकको ग्राहक भएकाले संरक्षण गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘ऋणी पनि बैंककै ग्राहक हो । ग्राहकको संरक्षणको जिम्मा बैंकरहरूको हो । रिकभरी हुन्छ भन्ने हिसाबले नै ग्राहकलाई कर्जा दिएको होला । हिजोअस्ति वास्ता नगर्ने असार मसान्तमा मात्रै वास्ता गर्ने भन्ने हुँदैन । ग्राहकसँग नियमित सम्पर्कमा बस्नुपर्छ,’ उनले भने, ‘बैंकर रिलेसनसिन म्यानेजर पनि हो । त्यो रिलेसन म्यानेज गर्दै जानुपर्छ । त्यसकारण समन्वयात्मक ढंगबाट अगाडि बढ्नु पर्छ । कोही पनि आक्रामक भएर जानु हुँदैन ।’
राष्ट्रपति ट्रम्पले स्टिलमा लगाएको करले अमेरिकी कारखानामा सामानको अभाव
काठमाडौं । अमेरिकाको चर्को गर्मीमा स्नोम्यान र स्लेजले सजाइएका धातुका कन्टेनरहरूको माग बढेको छ तर उनीहरू बन्ने उद्योग तथा फर्महरू राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को इस्पात करका कारण कन्टेनर निर्माणका लागि चाहिने स्टिलको अभावको सामना गरिरहेका छन् । बाल्टिमोरको उत्तरपूर्वमा मेरिल्याण्डको बेलक्याम्पमा रहेको ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’ का कार्यकारी अधिकृत रिक ह्युथरले १४ वर्षको उमेरमा आफ्नो परिवारको व्यवसायमा कसरी काम गर्न थाले भन्ने कुरा कोट्याउँदै भने, 'म मेरो टिनका क्यान उत्पादन कम्पनीलाई आगामी पुस्तासम्म जीवित राख्न कटिबद्ध रहेको छु तर ट्रम्पको करवृद्धिले यो कार्यलाई जटिल बनाइरहेको छ ।' 'हामी अहिले अस्तव्यस्तताबीच बाँचिरहेका छौं,' उनले एएफपीसँग भने । गत जनवरीमा राष्ट्रपतिको पुनः जिम्मेवारी सम्हालेपछि ट्रम्पले आयातित स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउनुभएको थियो । यसले इन्डिपेन्डेन्ट क्यानको गतिविधिमा असर गरेको छ । ह्युथरले कम्पनीमा क्यान बनाउने स्टिलको मूल्य अत्यधिक बढेपछि नयाँ खरिद रोकिएको अभाव बढेको बताउनुभयो । नयाँ कर नीतिका कारण कम्पनीले क्यानको मूल्य समायोजन गरेर बजारमा सामान पठाउनुको विकल्प नरहेको बताउनुभयो । इस्पात प्लेटको अभाव ह्युथरको कारखानामा कुकीज, सुक्खा फल, कफी र दूध पाउडरजस्ता दैनिक खाद्य सामग्रीको सुरक्षित भण्डारणका लागि कन्टेनर बनाउन टिनको लेप लगाइएका पाताहरूको प्रयोग गरिन्छ । उनको जस्तो कम्पनीका लागि अमेरिकामा निर्मित टिनप्लेट पर्याप्त छैन । उनले भने, 'टिनका भाँडा (क्यान) बनाउन हामी केवल २५ प्रतिशत टिनप्लेट संयुक्त राज्य अमेरिकाबाट प्राप्त गर्नसक्छौँ । हाम्रो इस्पातको ७० प्रतिशत हिस्सा हामी छिमेकबाट खरीद गर्न आवश्यक छ ।' ह्युथर अमेरिकी उत्पादन आधार बढाउने पक्षधर भए तापनि विश्वव्यापीकरण यति भएको छ कि ट्रम्पको विधिहरूले सामान अभाव बढाउने चिन्ता उनलाई छ । ट्रम्पले ठूला करको एक श्रृङ्खलाको घोषणा गरेका छन् । ती मध्ये केहीलाई व्यापार वार्ताका लागि दवाव दिन कतिपय देशले उत्पादन नगर्ने र विदेशबाट आयात गर्नेपर्ने वस्तुहरूमा पनि प्रशासनले कर लगाएको छ । अहिले विभिन्न चार निर्माणस्थलमा लगभग ४०० व्यक्तिहरूलाई प्रत्यक्ष रोजगार दिइरहेको इन्डिपेन्डेन्ट क्यान उदोगले वर्तमान उथलपुथलको बावजुद कुनै पनि उत्पादनलाई कम गर्ने सम्भावना नरहेको बरू उल्टै यसको माग बढिरहेकाले उत्पादनलाई बढाउनुपर्ने आवश्यकता उनले औँल्याए । ह्युथरले ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालमा स्टिलमा गरिएको कर वृद्धिका कारण आयोवामा कम्पनीको एउटा प्लान्ट गत वर्ष आंशिक रूपमा बन्द भएको बताए । मूल्य वृद्धि 'यदि राष्ट्रपतिले घोषणा गरिएको इस्पातमा ५० प्रतिशतसम्म कर लगाइएमा आफ्नो उदोगले अन्ततः २० प्रतिशतभन्दा बढी मूल्यहरू बढाउनु पर्नेछ किनकि टिनप्लेटले उसको उत्पादन लागतको एक भागको प्रतिनिधित्व गर्दछ,' ह्युथरले भने । अर्थव्यवस्थाको बारेमा चिन्ता र पर्याप्त व्यवसाय नभएको कारण केही क्रेताहरूले यस वर्ष आफ्नो अर्डरमा २० देखि २५ प्रतिशतले कटौती गरिसकेका उनले बताए । ह्युथरले कोभिड–१९ सङ्कटको आफ्नो अनुभवलाई उद्धृत गर्दै भने, 'अहिले अमेरिकीहरू अमेरिकी सामान किन्न इच्छुक देखिन्छन् तर अभावले मागलाई सम्बोधन गर्न असहज भइरहेको छ ।' उनले भने, 'महामारीको समयमा चीनसँगको आयात बन्द भएको र बन्दरगाहहरू बन्द भएकोले हाम्रो व्यापार ५० प्रतिशतले बढ्यो तर कच्चा सामग्रीको अभावमा माग पूरा गर्न असमर्थ हुनुपरेको थियो । जब महामारी समाप्त भयो, ग्राहकहरू चीनबाट खरिद गर्न थाले । आज यदि मानिसहरू हामीकहाँ आउन चाहन्छन् भने, हामी उनीहरूको माग सम्बोधन गर्ने प्रयास गर्नेछौँ । यसका लागि हामीले कम्तीमा दुई वर्षको सम्झौता गर्न आवश्यक छ ।' रासस
टेरामक्स खरिद प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएका छन् । बस्नेतले विशेष अदालतमा उपस्थित भई बयान दिन पाउने गरी निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान लिने प्रक्रिया अघि बढाइएको छ । बयानपछि आजै थुनछेक बहस हुने तयारी छ । बस्नेत मन्त्री भएका बेला नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक बजेट र कार्यक्रममा टेरामक्स प्रविधि खरिदको निर्णय पारित गरिएको थियो । मुद्दा दायर भएपछि उनी सांसद पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिने क्रममा बस्नेतले उक्त प्रविधि कल डिटेल हेर्ने वा कसैको गोपनीयता भंग गर्ने उद्देश्यका लागि नभई, भीओआईपी (कल बाइपास) नियन्त्रणका लागि मात्रै स्वीकृत गरिएको जिकिर गरेका थिए ।
दुई करोड ५५ लाखको लागतमा फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै
काठमाडौं । जिल्ला सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका छन् । सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङ हेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्र भइरहेको छ । दुई करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी उनले दिइन् ।
कृषि कर्जा सुरक्षण योजनाबारे सरोकारवाला सुझाव लिँदै अन्तर्क्रिया सम्पन्न
काठमाडौं । युएनडीपीको सहकार्यमा निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको 'एग्री सीजीएस प्रोडक्ट्स डिजाइन स्टेकहोल्डर्स फिडब्याक' विषयक आधा दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको रोयल सिङ्गी होटलमा सम्पन्न कार्यक्रममा कोषका पदाधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, कर्जा विभागका विभागीय प्रमुखलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अर्थतन्त्रको दिगो विकासका लागि कृषि क्षेत्रमा संस्थागत कर्जाको पहुँच विस्तार गर्न र सो क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम न्यूनीकरण गरी लगानी बढाउन नयाँ कृषि कर्जा सुरक्षण योजना तर्जुमा गर्ने विषयमा सरोकारवालाको राय–सुझाव लिन यो अन्तर्क्रिया आयोजना गरिएको हो । कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कार्यक्रममा प्रस्तावित कृषि कर्जा सुरक्षण योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै, वर्तमान अवस्था र तत्काल विस्तार गर्नुपर्ने क्षेत्रबारे जानकारी गराएका थिए । सहभागीहरुले सुरक्षण शुल्क र क्षतिपूर्ति दाबीको प्रतिशत निर्धारण अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार वैज्ञानिक रुपमा गर्नुपर्ने सुझावसमेत दिएका थिए । कृषि क्षेत्रमा संस्थागत कर्जा प्रवाह बढाउँदै वित्तीय पहुँच विस्तारमा सघाउन युएनडीपीले प्राविधिक सहयोग गरिरहेको कोषले जनाएको छ ।
साढे ५४ करोडमा एकैपटक ६२ ठाउँमा वासस्थान निर्माण गर्दै नेपाली सेना
काठमाडौं । नेपाली सेनाले एकैपटक देशभर ६२ ठाउँमा ब्यारेक, गणहरूमा भवन, वासस्थान लगायत निर्माण कार्य गर्ने भएको छ । काठमाडौंसहित देशभर रहेका विभिन्न ब्यारेक, गण, वाहिनी अड्डा शिक्षालय, निवेश, तालिम केन्द्र, हेड क्वार्टरमा भवन, सैनिक वासस्थान, शौचालय लगायत निर्माण गर्ने भएको हो । स्थपित निर्देशनालय जंगी अड्डाका अनुसार देशभर ६२ ठाउँमा भवन, सैनिक वासस्थान, शौचालय लगायत निर्माण गर्न ५४ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको ठेक्का आह्वान गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा देशभरका विभिन्न ठाउँमा तोकिएको निर्माण कार्य गर्न बोलपत्र आह्वान गरेको छ । निर्माण कार्यको गर्न इच्छुकले १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । विगत दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा नेपाली सेना अन्तर्गतका निकायहरूमा निर्माण कार्य गरेर सन्तोषजनक कार्यसम्पादन गरेको हुनुपर्नेछ । बोलपत्र दाताले आफ्नै खर्चमा साइट भिजिट गर्नुपर्नेछ । निर्माण व्यवसायीले सम्झौता बमोजिमको काम शुरु नगरेमा, काम शुरु गरी बीचैमा छोडेमा वा सम्झौता बमोजिम कामको प्रगति नगरेमा त्यस्तो सम्झौता जुनसुकै बखत अन्त्य गरी जमानत जफत गरिने सेनाको कार्यालयले जनाएको छ । सैनिक गट्ठाघर व्यारेक, भक्तपुरका लागि थ्रीएक्स ग्रुप घर, उपत्यका पृतना तालिम शिक्षालय थानकोट ब्यारेकका लागि अधिकृत वासस्थान, ईन्द्रध्वज गण लक्ष्मणडाँडा सिन्धुपाल्चोक, युद्धकवच गण सितापाइला, केन्द्रीय एम.ई.एस.त्रिपुरेश्वरका लागि पदिक वासस्थान, नं. १ वाहिनी अड्डा बालाजुका लागि कार्यालय भवन, स्वयम्भु बारुदखानाका लागि जवान वासस्थान निर्माण गर्ने नेपाली सेनाले जनाएको छ । विद्युत तथा यान्त्रिक सेवा निर्देशनालय तोपखाना ब्यारेकका लागि महिला सैनिक वासस्थान, भैरवनाथ गण लक्ष्मी निवास महाराजगंजका लागि मुख्य प्रवेशदवार (बुर्जा), नं १ सैन्य तालिम केन्द्र मैथली क्याम्प त्रिशुलीका लागि महिला सैनिक बेड, उत्तर पश्चिम पृतना तालिम शिक्षालय लेखफर्सा ब्यारेक सुर्खेतका लागि अधिकृत वासस्थान, कालीशक्ति गण (ई) मोरङ्गका लागि पदिक वासस्थान, भिमदल गण धनकुटाका लागि पदिक वासस्थान, सुदुरपश्चिम पृतना तालिम शिक्षालय कैलालाीका लागि अधिकृत वासस्थान र देविदल गण मालाखेतीका लागि महिला सैनिक बेड निर्माण गर्नुपर्नेछ । यी स्थानमा निर्माणका लागि न्यूनतम ठेक्का रकम भने खुलाइएको छैन ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा अन्य प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राजनीतिमा सक्रिय भएको विद्या भण्डारीको घोषणा, एमालेको सदस्यता नवीकरण
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’ उनले आफ्नो कुनै ठूलो महत्वाकांक्षा नरहेको पनि बताइन् ।
बजेटमा रहेका करसम्बन्धी केही प्रावधानहरू उद्योग, व्यवसाय र रोजगारीविरुद्ध छन् : सांसद महत
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा रहेका केही करसम्बन्धी प्रावधानहरूले उद्योग, व्यवसाय र रोजगारीमा प्रतिकूल असर पार्ने बताएका छन् । शनिबार प्रतिनिधि सभामा बोल्दै उनले वायर रडमा कर ५ प्रतिशतबाट १० प्रतिशत पुर्याइएकोप्रति आपत्ति जनाए । उनले त्यसले औद्योगिक क्षेत्र कमजोर बनाउने र रोजगारी घटाउने जोखिम रहेको बताए । सांसद महतले सुनलाई विलासी वस्तुको रूपमा नहेरी सुनचाँदीका गहना–गरगहनामा लगाइएको विलासी कर खारेज गर्न माग गरे । साथै सुन आयातका लागि रहेको कोटा प्रणाली हटाएर खुला आयातको व्यवस्था गर्नुपर्ने सुझाव समेत उनले दिए । त्यस्तै आयुर्वेदिक औषधिमा भ्याट लगाउने प्रस्ताव पुनर्विचार गर्नुपर्ने उल्लेख गर्दै महतले भ्याटको दायरा विस्तार गर्दा नस्वास्थ्यसँग जोडिएका क्षेत्रप्रति सावधानी अपनाउनुपर्ने बताए । जलविद्युत् आयोजनाजस्ता पूर्वाधार विकासका लागि आयात हुने सामग्रीमा मात्र १ प्रतिशत कर लगाइएको भए पनि त्यसबाट पर्याप्त राजस्व उठ्न नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।