मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा


सेयर धितो कर्जामा कडाई, अब ऋण लिन १८० दिनको औसत मूल्य गणना गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा कडाई गरेको छ । बैंकले आज(जेठ ४ गते) चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर धिताेमा कर्जा दिँदा १८० दिनको औसत मूल्य गणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकाे हाे । यसअघि बैंक तथा वित्तीय संस्थाहरूले १२० दिनको औसत मूल्य गणना गरी सेयर कर्जा दिइरहेका थिए । नयाँ व्यवस्थासँगै अब बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्तालाई सेयर धितो कर्जा दिँदा १८० दिनको औसत मूल्य गणना गरी सेयर मूल्यको ७० प्रतिशतसम्म कर्जा दिन पाउने भएका छन् । राष्ट्र बैंकले सेयर मूल्यांकनकाे समय बढाए पनि सेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्थालाई भने निरन्तरता दिइएको छ । ‘बैंक तथा वितीय संस्थाहरुले प्रवाह गर्ने कर्जामध्ये सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षण बापत् सेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई निरन्तरता दिइएको छ ।’, राष्ट्र बैंककाे मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामा उल्लेख छ ।

राष्ट्र बैंकको विश्लेषणः दोस्रो लहर झन खतरनाक, ४ प्रतिशत आर्थिक वृद्धि गर्न कठीन

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.० प्रतिशतले वृद्धि हुन कठीन रहेकाे बताएकाे छ । राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै आर्थिक वृद्धिदर ४ प्रतिशत हुनेमा शंका गरेकाे हाे । चालुआर्थिक वर्षमा ४.० प्रतिशतले विस्तार हुने केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमानमा राष्ट्र बैंकले यस्ताे शंका गरेकाे हाे । आर्थिक वर्ष २०७६/७७ मा नेपालकोअर्थतन्त्र २.१ प्रतिशतले संकुचन भएको थियो । कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरसम्बन्धी राष्ट्र बैंकले २०७८ वैशाख महिनाको ५ देखि १४ गतेसम्म सम्पन्न गरेको सर्वेक्षण अनुसार २०७७ असारको तुलनामा आर्थिक गतिविधिमा उल्लेख्य सुधार भने आएको देखिएको बताएको छ । २०७७ असारमा गरिएको सर्वेक्षणले ४.१ प्रतिशत उद्योग/व्यवसाय मात्र पूर्ण सञ्चालनमा रहेको देखाएकोमा २०७७ मंसिर तथा तथा २०७८ वैशाखमा गरिएको पुनरावृत्ति सर्वेक्षणले क्रमशः ५४ प्रतिशत तथा ८१.२ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको छ । यद्यपि कोभिडको दोस्रो लहरको संक्रमणसँगै व्यापार/व्यवसायहरु पुनः प्रभावित भएका छन्। आर्थिक वर्ष २०७७/७८ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा नौ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ३.४६ प्रतिशत रहेको छ । वार्षिक विन्दुगत आधारमा २०७७ चैतमा उपभोक्ता मुद्रास्फीति ३.१० प्रतिशत रहेको छ । चैतसम्म विप्रेषण सन्तोषजनक रहेपनि विश्वब्यापी रुपमा कोभिड-१९ को दोस्रो लहर फैलिएको र एक बर्षभन्दा बढी समयसम्म रोजगारीमा जाने नेपालीको संख्या नबढेकोले रेमिट्यान्स आयात प्रभावित हुने राष्ट्र बैंकको अनुमान छ । राष्ट्र बैंकले पहिलाे लहरकाे काेराेनाभन्दा दाेस्राे लहरले थप समस्या पार्ने अनुमान गरेकाे छ ।

लघुवित्तले १५% भन्दा बढी व्याज लिन नपाउने व्यवस्था कार्यान्वयन, गाउँपालिकामा एउटा शाखा हुनैपर्ने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिका तेस्रो त्रैमासिक समीक्षा गर्दै उक्त व्यवस्था कार्यान्वयनमा आएको बताएकाे हाे । त्यस्तै, इजाजतपत्र प्राप्त ‘क’, ख’, ग’ र थोक कर्जा प्रवाह गर्ने घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्ग कर्जाको रूपमा लघुवित्त वित्तीय संस्थाहरूलाई प्रवाह गर्ने कर्जामा ०.५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाइने व्यवस्था पनि कार्यान्वयनमा आएको बैंकले जानकारी गराएकाे छ । लघुवित्त वित्तीय संस्थाहरुले काठमाडौं उपत्यका बाहिरका महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानमा २०७७ पुस मसान्त पश्चात दुई शाखा खोली सञ्चालनमा ल्याएमा काठमाडौं उपत्यकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएको स्थानीय तहका वडामा एक शाखा खोल्न पाउने व्यवस्था गरिएको छ । साथै, काठमाडौं उपत्यका बाहिर खोलिएका दुई शाखामध्ये कम्तिमा एक शाखा गाउँपालिकामा खोलिएको हुनुपर्ने छ ।

उद्योगीले अक्सिजन उद्योग सञ्चालन गर्न आधारदरमै ऋण पाउने, ५० करोडसम्मको पुनरकर्जा सुविधा

काठमाडौं । अब अक्सिजन उत्पादन गर्न चाहने उद्योगी तथा व्यवसायीलाई बैंकहरुले आधारदरमै ऋण उपलब्ध गराउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै सो सुविधा दिएको हो । कोरोना भाइरसको कारण अक्सिजनको माग बढेपछि राष्ट्र बैंकले अक्सिजन उद्योग स्थापनाको लागि सहुलियत दरमा ब्याजदर दिने नीतिगत निर्णय गरेको बताएको छ । नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दर मिलाएको गभर्नर महाप्रसाद अधिकारीले बताए । हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्टको लागि ५० करोड रुपैयाँसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि रु २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने राष्ट्र बैंकले बताएको छ ।

निषेधाज्ञा अवधिभर बैंकहरुले जरिवाना लिन नपाउने, किस्ता तिर्ने ग्राहकले छुट पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा अवधिभरको जरिवाना लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो । यसैगरी कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउने समेत राष्ट्र बैंकले बताएको छ । कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले गर्न सक्ने व्यवस्था मिलाइने छ । निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिने पनि व्यवस्था राष्ट्र बैंक्ले गरेकाे छ ।