सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको बिदाइ

काठमाडौं । सेवानिवृत्त भई जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ ।  

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई संगठन प्रमुखको छडी र सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गरे ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका हुन् ।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ समेत गरे ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्त्वपूर्ण उपलब्धी तथा गौरव महसुस गरेको बताउँदै संगठनलाई परिवारको रूपमा लिई अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको साँचो अर्थ सिक्ने मौका मिलेको समेत बताए ।

संगठन सुधार केवल एक प्रमुखको कार्यकालमा शुरु भएर अर्को प्रमुखको कार्यकालमा सकिने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको बताउँदै महानिरीक्षक अर्यालले राष्ट्र, संगठन र जनताको सुरक्षासँगै मातहत सशस्त्र प्रहरी कर्मचारीहरूको हितलाई सर्वोपरि राखी काम गरेको उल्लेख गरे ।

उनले सशस्त्र प्रहरी बल नेपालको बर्दीले सज्जनलाई भर र अपराधीलाई डरको प्रतीकको रूपमा विकास गर्दै लैजानुपर्ने बताउँदै आफ्नो सेवाकालको दौरानमा साथ, सहयोग र उर्जा दिने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई हार्दिक धन्यवादसमेत दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको संक्षिप्त जीवनी तथा विशेष योगदानको बायोग्राफीसमेत प्रदर्शन गरिएको उक्त समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र बिल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।

Share News