श्रीलङ्काद्वारा चीनसँग एक अर्ब डलर ऋण प्रस्ताव
कोलम्बो । श्रीलङ्काले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ । श्रीलङ्कासँग विदेशी मुलुकलाई यसै वर्षमात्र करिब ६ अर्ब अमेरिकी डलर ऋण भुक्तानी गर्नुपर्ने दायित्व छ । अर्थ मन्त्रालयका प्रवक्ता एमआर हसनले राजमार्ग निर्माण सम्बन्धी ऋणका शर्तहरु स्वीकृत हुने अपेक्षा गरिरहेको बताए । श्रीलङ्काले हालैका वर्षहरुमा चीनबाट सबैभन्दा बढी ऋण प्राप्त गरिरहेको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारले विपक्षी महिन्दा राजापाक्षले मुलुकलाई चिनीया ऋणको जालोमा पारेको आरोप लगाउँदै आएको छ । तर, आर्थिक दबाब झेल्दै आएको वर्तमान सरकारले पुनः चीनसँग ठूलो परिमाणमा ऋण लिन लागेको छ । चीनसँगको निकटतालाई लिएर राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेबीच राजनीतिक द्वन्द्व चर्किएको थियो । रासस/एपी
भटमास खरिद गर्न चीन तयार भएपछि ट्रम्पले भने-व्यापार वार्तामा प्रगति भो
वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीच वासिङ्टनमा जारी व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको दुबै देशका प्रतिनिधिहरुले बताएका छन् । चीन र अमेरिकाबीचको “व्यापार युद्ध” नाम दिइएको अमेरिकी करवृद्धि योजनाले विश्व अर्थतन्त्रमै पार्न सक्ने गम्भीर प्रभावलाई ध्यान दिई हाल दुबै मुलुकबीच वार्ता भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच जी–२० बैठकको अवसरमा अर्जेन्टिनाको ब्युनस आयर्समा भएको भेटवार्तामा दुबै मुलुकबीच तीन महिने व्यापार युद्धविराम घोषणा गरिएको थियो । आगामी मार्च १ तारिखभित्रै वार्ताद्वारा नयाँ सहमति नभए अमेरिकाले २०० अर्ब डलर बराबरका चिनीया सामानमा हाल लाग्दै आएको १० प्रतिशत करलाई वृद्धि गरी २५ प्रतिशतसम्म बनाउने घोषणा गरेको छ । दुबै देशका व्यापार प्रतिनिधिबीच वासिङट्न डिसीमा जारी वार्तामा उल्लेखनीय प्रगति भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चिनीया राष्ट्रपति सी चिनफिङले लेखेको पत्र निकै स्वागतयोग्य रहेको पनि बताए । चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले पनि दुबै देशका व्यापार प्रतिनिधिबीच दुई दिनको वार्तामा “महत्वपूर्ण प्रगति” भएको जनाएको छ । व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा एक प्रतिनिधिमण्डल वासिङ्टन आएको छ । अर्थशास्त्रीहरुको भनाइमा आगामी मार्च १ तारिखको समयसीमाभित्र दुबै मुलुकबीच सम्झौता नभए त्यसले विश्व अर्थतन्त्रमा ठूलै नोक्सानी गर्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको पत्र चिनियाँ प्रमण्डलले पढेर सुनाएको थियो । पत्रमा चिनीया राष्ट्रपतिले दुबै मुलुकबीचको सम्बन्ध अहिले “गम्भीर मोडमा” आएको चर्चा गर्दै परस्पर सम्मानका आधारमा दुबै मुलुकले मिलेर कार्य गरिने उल्लेख छ । जवाफमा राष्ट्रपति ट्रम्पले दुबै मुलुकबीचको सम्बन्ध ज्यादै राम्रो रहेको बताए । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टीभन मन्चिनले आगामी फेब्रुअरीको मध्यमा अर्को चरणको वार्ताका लागि चीनको भ्रमण गर्नेछन् । सिन्ह्वाका अनुसार, राष्ट्रपति ट्रम्पले व्यापार वार्ता सम्पन्न भएपछि चिनीया राष्ट्रपतिलाई भेट्ने बताएका छन् । त्यसपछि दुबै मुलुकबीच व्यापार सम्झौता हुनेछ । “सहमतिका बुँदाहरुलाई लिपिबद्ध गर्नु आवश्यक छ । हामीले अझै केही बुँदामा सहमति जनाइसकेका छैनौं । मेरो विचारमा त्यसमा सहमति हुनेछ । मेरो विचारमा म र राष्ट्रपति सीबीच भेटघाट हुनासाथ सबै बुँदामा सहमति हुनेछ,” राष्ट्रपति ट्रम्पले बताए । चीनको अर्थतन्त्रमा निकै मन्दी आइसकेको र बजार खुम्चिएका कारण पनि वार्ताको महत्व अझ बढेको छ । गत वर्ष, वासिङ्टन र बेइजिङले एकअर्का मुलुकका ३६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका थिए । चिनीया गलत व्यापार अभ्यासलाई लिएर राष्ट्रपति ट्रम्पले चीन विरुद्ध व्यापार युद्ध नै शुरु गरेका थिए । व्यापार वार्ताको समयावधि बढाउने सम्भावनका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “मार्च १ तारिखको समयसीमा बढाउने बारेमा हामीले कुरा गरेका छैनौं । मेरो विचारमा तोकिएकै समयभित्र दुई देशबीच सम्झौता हुन्छ ।” यसैबीच, चिनियाँ वार्ता टोलीको नेतृत्व गरिरहनुभएका चिनीया उपप्रधानमन्त्री लिउ हेले राष्ट्रपति ट्रम्पसँग बिहीबार भेटवार्ता गरेका छन् । उनले प्रति दिन थप पचास लाख टन भटमास (सोयाबिन) खरिद गर्न चीन तयार रहेको राष्ट्रपति ट्रम्पलाई जानकारी गराएका थिए । जवाफमा राष्ट्रपति ट्रम्पले चीनको यस कदमले अमेरिकी किसान खुशी हुने बताए । बेइजिङले यसअघि नै अमेरिकी सोयाबिन खरिद गर्न थालिसकेको छ । अमेरिकाबाट ठूलो परिमाणमा सोयाबिन चीन निकासी हुने गरेको छ । रासस/एएफपी
जापानमा बुढ्यौली उमेरका व्यक्तिको संख्या बढ्दै, श्रमिक अभाव
टोकियो । जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापनमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको अध्ययनहरुले देखाएका छन् । श्रम मन्त्रालयद्वारा शुक्रबार प्रकाशित पछिल्लो विवरणमा गत डिसेम्बरमा यो अनुपात अझ बढी थियो । हरेक १०० जनाका लागि औसतमा १६३ वटा रोजगार उपलब्ध थिए । धेरै वर्षदेखि जापानको श्रम बजारमा कामदारको अभाव अनुभव हुन थालेको थियो । जापानमा हाल बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दैछ भने न्यून जन्मदरले पनि समस्या निम्त्याएको छ । मुलुकको बेरोजगारी दर पनि गत डिसेम्बरमा निकै न्यून छ । मन्त्रालयका अनुसार अघिल्लो महिनाको तुलनामा शून्य दशमलब १ प्रशितले बेरोजगारी दर घटेर २ दशमलब ४ प्रतिशत भएको छ । जापानको अर्थतन्त्र गत वर्ष सेप्टेम्बर अघिका केही महिना केही सुस्त देखिए पनि हाल निकै सुधार भएको छ । पटकपटकको प्राकृतिक प्रकोपका कारण उपभोग्य वस्तुको खरिद र निर्यात दुबैमा असर परेको थियो । तर विश्लेषकहरुले विश्व अर्थतन्त्रमै सुधार आएका कारण गत वर्षको अन्तिममा अर्थतन्त्रमा सुधार भएको बताएका छन् । रासस/एएफपी