बगंलादेशद्वारा हतियार प्रणालीमा एआई लागु नगर्न आह्वान

बगंलादेश । बगंलादेशका विदेशमन्त्री हसन महमुदले हतियार प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लागु नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले कृषि, चिकित्सा विज्ञान, अन्तरिक्ष अन्वेषण, जलवायु परिवर्तन र रोजगारी सृजनाका क्षेत्रमा एआई प्रयोग गर्न आग्रह गरे । हसनले सोमबार भियनामा आयोजित ‘ह्युम्यानिटी एट द क्रसरोड : अटोनोमस वेपन्स सिस्टम्स एन्ड द च्यालेन्ज अफ रेगुलेसन’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त धारणा राखेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेशमन्त्रीले स्वायत्त हतियार प्रणालीलाई प्रभावकारीरूपमा नियमन गर्न विश्वव्यापी मापदण्डहरू तय गर्न पनि सुझाव दिए । साथै मानवताको हितका लागि स्वायत्त हतियारलगायत कुनै पनि नयाँ हतियार त्याग्न सबैलाई आग्रह गरे । गाजाको अनिश्चित अवस्थामाथि प्रकाश पार्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्व र तनावको नयाँ मोर्चा खोल्न चेतावनी पनि दिए । रासस

चीनका कारखानाहरूको उत्पादन दोस्रो महिना पनि बढ्यो

बेइजिङ । चीनको कारखाना गतिविधि अप्रिलमामा लगातार दोस्रो महिना बढेको छ । मंगलबारको तथ्यांकले कमजोर घरेलु माग र खराब रियल स्टेट क्षेत्रसामु विशाल अर्थतन्त्रलाई गति दिन संघर्ष गरिरहेका अधिकारीहरूलाई केही राम्रो समाचार प्रदान गरेको छ । राष्ट्रिय तथ्यांक ब्युरो (एनबिएस) ले कारखाना उत्पादनको प्रमुख मापन पर्चेजिङ मेनेजर्स इन्डेक्स (पिएमआई) ५० दशमलव चारमा आएको छ । यो विस्तार र सङ्कुचनलाई अलग गर्ने ५० को स्तरभन्दा थोरैले बढीले हो । मार्चदेखि नै पिएमआई घटेका बेला उक्त तथ्यांकले ब्लुमबर्गका विश्लेषकहरूको ५० दशमलव तीनको पूर्वानुमानलाई पछाडि पारेको र सन् २०२३ को अन्त्यमा सुरु भएको पाँच महिनाको मन्दीपछि वृद्धिको निरन्तरतालाई देखाएको छ । सन् २०२२ को उत्तरार्धमा कठोर कोभिड नियन्त्रण कदमहरूपछि अधिकारीहरूले आर्थिक पुनरुत्थानलाई बढावा दिन संघर्ष गरिरहेका छन् । चीनले आफ्नो ऋणमा डुबेको रियल स्टेट बजारमा संकट सामना गरिरहेको छ । हालैका महिनाहरूमा घरको मूल्यमा गिरावट आएको छ भने खुद्रा बिक्री खराब घरेलु मागबाट प्रभावित भएको छ । यसैबीच विश्वव्यापी मन्दीका कारण विदेशमा मुलुकको उत्पादनको माग कमजोर भइरहेको छ । ‘उत्पादन क्षेत्र लगातार सुधार र वृद्धिको अवस्थामा छ,’ एनबिएसले एक विज्ञप्तिमा उल्लेख गरेको छ । बेइजिङले मार्चको प्रारम्भमा सन् २०२४ मा पाँच प्रतिशत वार्षिक वृद्धि हासिल गर्ने आफ्नो लक्ष्य घोषणा गरेको थियो । उक्त लक्ष्यलाई धेरै अर्थशास्त्रीले महत्त्वाकांक्षी मानेका छन् । अधिकारीहरूले हालैका महिनाहरूमा पूर्वाधार खर्च बढाउन र आर्थिक गतिविधिलाई पुनर्जीवन दिन मिश्रित परिणामहरूका साथ लक्षित उपायहरूको शृङ्खला र सार्वभौम बन्ड जारी गर्ने घोषणा गरेका छन् । सेवा क्षेत्रको गतिविधिको मापन गर्ने चीनको गैर–उत्पादक पिएमआई अप्रिलमा ५१ दशमलव दुईमा आएको छ । यो मार्चको ५३ र पूर्वानुमानभन्दा कम हो । आधिकारिक तथ्यांकअनुसार चीनले गत वर्ष पाँच दशमलव दुई प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ । महामारीका वर्षहरूका अतिरिक्त सन् १९९० को दशकपछि सबैभन्दा कम विस्तारको प्रतिनिधित्व गरे पनि यसलाई धेरै अर्थशास्त्रीले अत्यन्त धेरै मानेका छन् । एजेन्सी

गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल । मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा (आइएमएस) ले ग्रेटर मेट्रोपोलिटन क्षेत्रमा ८५ वर्षमा रेकर्ड गरिएको वर्षहरूमा बिहीबार अप्रिलको सबैभन्दा तातो दिन भएको बताएको छ । आइएमएसले बिहीबार दिउँसो ४० दशमलव सात डिग्री सेल्सियस मापन गरेको छ । यो सन् १९३९ मा मापन गरिएको ४० दशमलव चार डिग्री सेल्सियसभन्दा धेरै तातो थियो । यभने र नित्जन समुदायमा पनि यस्तै प्रकारको कीर्तिमान तोडिएको आइएमएसले बताएको छ । मौसमका बावजुद इजराइलीहरू पासओभर पर्वका लागि एक साताको बिदाको आनन्द लिँदै मुलुकका पार्कमा निक्लेका छन् । प्रकृति तथा पार्क प्राधिकरणले दिउँसोसम्म ५५ हजार मानिस पार्क तथा प्राकृतिक आरषामा प्रवेश गरिसकेको बताएको छ । प्राधिकरणले बाहिरबाट आउनेहरूलाई पर्याप्त मात्रामा पानी र सनस्क्रिन ल्याउन आग्रह गरेको छ । इजराइली तटका सबै समुद्री तटमा पनि मानिसहरूको खचाखच थियो । यसैबीच स्वास्थ्य मन्त्रालयले जनता विशेषगरी वृद्ध, रोगी तथा दीर्घकालीन रोग लागेकाहरूलाई घाममा ननिस्कन र अनावश्यक शारीरिक परिश्रम नगर्न आग्रह गरेको छ । रासस