कुवेत र कतारबीच १५ वर्षे सम्झौता, प्रतिवर्ष ३० लाख टन ग्यास आपूर्ति गर्ने
काठमाडौं । कुवेतको सरकारी तेल कम्पनीले कतारबाट प्राकृतिक ग्यासको आपूर्तिका लागि १५ वर्षको सम्झौताको घोषणा गरेको छ । यद्यपि कम्पनीले सम्झौताको लागत खुलासा गरेको छैन । कतार इनर्जीले सम्झौताअन्तर्गत प्रतिवर्ष ३० लाख टन तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति गर्ने कुवेत पेट्रोलियम कर्पोरेसन (केपिसी) ले विज्ञप्तिमार्फत बताएको छ । केपिसीका प्रमुख कार्यकारी शेख नवाफ साउद अल-सबाले भने, ‘छोटो समयमै कतार इनर्जीसँगको यो दोस्रो दीर्घकालीन सम्झौताले हाम्रो दीर्घकालीन सहयोगलाई पुष्टि गर्दछ ।’ कुवेतले सन् २०२० मा राज्यको स्वामित्वमा रहेको कतारी ऊर्जा फर्मसँग यस्तै प्रकारको सम्झौता गरेको थियो । शेख नवाफले सम्झौताले ऊर्जा सङ्क्रमणका लागि कुवेतको दीर्घकालीन रणनीति अनुरूप ऊर्जाको स्वच्छ स्रोत उपलब्ध गराउने बताए । जुनको मध्यदेखि तेल समृद्ध कुवेतले गर्मीमा बढ्दो विद्युत् खपतलाई सम्बोधन गर्न आवासीय र औद्योगिक क्षेत्रहरूमा बिजुली राशन लागु गरेको छ । नयाँ सम्झौताअन्तर्गत कुवेतको अल-जौर रिफाइनरीमा एलएनजी डेलिभरी सन् २०२५ देखि सुरु हुने तालिका रहेको केपिसीले बताएको छ । कतार इनर्जीका प्रमुख कार्यकारीसमेत रहेका कतारका ऊर्जामन्त्री साद अल-काबीले भने, ‘यो नयाँ दीर्घकालीन साझेदारी हो, यो कुवेतको दिगोपन लक्ष्यहरू विशेषगरी विद्युत् उत्पादन क्षेत्रमा समर्थन गर्ने एक केन्द्रीय तत्व हो ।’ कतार अमेरिका, अस्ट्रेलिया र रुससँगै विश्वको शीर्ष तरलीकृत प्राकृतिक ग्यास उत्पादकमध्ये एक हो । फेब्रुअरीमा कतारले उसको नर्थ फिल्ड प्रोजेक्टबाट उत्पादन विस्तार गर्ने योजना घोषणा गर्दै सन् २०३० भन्दाअघि क्षमतालाई प्रतिवर्ष १४ करोड २० लाख टनसम्म बढाउने बताएको थियो ।
चिनियाँ विद्युतीय सवारीमा शतप्रतिशत शुल्क लगाउने
काठमाडौं । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार चिनियाँ विद्युतीय कार आयातमा शतप्रशित कर लगाउने घोषणा गरेका छन् । यो उत्तरी अमेरिकामा चिनियाँ राज्य-अनुदानित कारहरूको बाढीलाई रोक्ने अमेरिकी उपायसँग मेल खान्छ । विद्युतीय सवारी साधन (इभी) को विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता चीनमाथि वातावरणीय श्रम मापदण्डजस्ता क्षेत्रहरूमा ‘अन्य मुलुकजस्तै समान नियम पालना नगरेको’ आरोप लगाउँदै उनले चीनबाट आयात हुने स्टिल र आलुमिनियम उत्पादनमा पनि २५ प्रतिशत अतिरिक्त कर लगाइने बताए । संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ (इयु) ले हालैका महिनाहरूमा चिनियाँ इभीमाथि क्रमशः शतप्रतिशत र ३८ प्रतिशत कर लगाएका छन् । क्यानाडाको अटो निर्माण उद्योगले १ लाख २५ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । ओटावाले इभीमा आफ्नो सङ्क्रमणलाई समर्थन गर्न तथा घरेलु विद्युतीय बेट्रीको आपूर्ति शृङ्खला बलियो बनाउन अर्बौं डलर लगानी गरेको छ । ओटावाले उसको महत्त्वपूर्ण खनिज उत्खनन क्षेत्रमा नयाँ चिनियाँ लगानीमाथि पनि रोक लगाएको छ । ‘चिनियाँ इभीको अत्यधिक उत्पादन र उसको अटो क्षेत्रका लागि राज्यको ठूलो अनुदानका कारण हामीले कारबाही गर्न आवश्यक छ, हामी दौडमा तल जान नचाहेसम्म हामी उभिनुपर्छ र हामीले यही गरिरहेका छौँ,’ प्रधानमन्त्री ट्रुडोले भने ।
डेरी फर्मलाई साढे २ लाख डलर बढी जरिवाना
वेलिंटन । ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ । भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झुटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही गरिएको हो । न्युजिल्यान्डको वाणिज्य आयोगले डेरी कम्पनी मिल्कियो फुड्स लिमिटेडलाई आफ्नो नौनी घ्यू उत्पत्तिको बारेमा झुटो दाबी गरेको आरोपमा सोमबार दुई लाख ६१ हजार ४५२ अमेरिकी डलर जरिवाना गरेको छ । ह्यामिल्टनस्थित उक्त फर्मले भारतबाट घ्यू तथा दूधजन्य सामान आयात गर्ने र ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’ डेरी उत्पादनजस्ता दाबीका साथ ग्राहकलाई आफ्नो घ्यू उत्पादनबारे झट्टा प्रचार गरी ग्राहकलाई भ्रममा पारेको वाणिज्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्यूजिल्याण्डको कृषि–सञ्चालित उद्योगले उच्च गुणस्तरको डेरी निर्यातमा गर्व गर्दछ र विदेशी ग्राहकहरू यसको समृद्ध चरनबाट प्राप्त हुने दूध र मक्खनको लागि लालायित हुने गर्छन् । वाणिज्य आयोगका प्रवक्ता भेनेसा होर्नले भने, ‘मिल्कियोले न्युजिल्याण्डमा निर्मित उत्पादनहरू पहिचान गर्न एक विश्वसनीय प्रतीक (फर्नमार्क लोगो) को प्रतिष्ठाको फाइदा उठाउँदै अन्य उत्पादनलाई बढावा दिएको पाइएपछि जरिवाना गरिएको हो । ’ कम्पनीले ‘फर्नमार्क लोगो’ प्रयोगका लागि स्वीकृति प्राप्त गर्न गलत र अपूर्ण जानकारी पनि प्रस्तुत गरेको थियो । मिल्कियोले न्युजिल्यान्डको ‘शुद्ध व्यवसाय ऐन (फेयर ट्रेडिङ एक्ट) को धारा १५ उल्लंघन गरेको स्वीकार गर्दै उचित अनुमति बिना फर्नमार्क लोगो र लाइसेन्स नम्बर प्रयोग गरेको स्वीकारेको छ । होर्नले भने, ‘यो सजायले न्युजिल्यान्ड ब्रान्डलाई झुटो दाबी गर्न खोज्ने अरूका लागि चेतावनीका रूपमा काम गर्नुपर्छ ।’ एजेन्सी