नेको इन्स्योरेन्सका सीईओ खड्काले पाए निरन्तरता
काठमाडौं । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार खड्काले निरन्तरता पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले उनको थप कार्यकालको लागि स्वीकृति दिएको हो । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ खड्काको कार्यकाल थप्ने निर्णय गरी स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको थियो । उक्त प्रस्तावलाई प्राधिकरणले असार १९ गते स्वीकृत गरेको छ । यससँगै सीईओ खड्काले नेको इन्स्योरेन्समा दोश्रो कार्यकाल सम्हाल्ने भएका छन् । २०७६ साउनमा सीईओमा नियुक्त भएका सीईओ खड्काको पहिलो कार्यकाल आगामी साउनको तेश्रो सातादेखि सकिँदै छ । चार वर्ष अवधिको पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले नै सञ्चालक समितिले उनको कार्यकाल थप्ने निर्णय गरेको हो । इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्नु अघि खड्का नेको इन्स्योरेन्सको डेपुटी सीईओ थिए । वि.सं २०५० सालमा तत्कालिन इन्डोसिज बैंक, हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा असिस्टेन्टबाट बैंकिङ करियर शुरु गरेका खड्काले १२ वर्ष सोही बैंकमा काम गरे । अधिकृतमा काम गर्दै गर्दा सो बैंक छाडेका उनले त्यसपछि प्राइम कमर्सियल बैंकमा असिस्टेन्ट म्यानेजरको रुपमा प्रवेश गरेका हुन् । प्राइममा साढे दुई वर्ष काम गरेपछि खड्का स्टाण्डर्ड फाइनान्समा डिजीएम भए । स्ट्याण्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा मर्ज भएपछि त्यहाँ खड्का चिफ म्यानेजर थिए । २०७१ सालमा सल्लाहकार बनेर नेको इन्स्योरेन्स प्रवेश गरेका खड्काले डेढ वर्ष सोही पदमा रहेर कार्य सम्पादन गरे । त्यसयता उनी डेपुटी सीईओ थिए ।
नेको इन्स्योरेन्सको सञ्चालकमा नीलिमा श्रेष्ठ
काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालकमा नीलिमा श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालकमा नियुक्त गरेको हो । उनी तराई भिलेज इन्भेष्टमेन्ट प्रा. लि. को तर्फबाट सञ्चालक समितिको बाँकी कार्यकालको लागि नियुक्त भएकी हुन् । नवनियुक्त सञ्चालक श्रेष्ठले असार १५ गते नै पद बहाली गरेकी हुन् ।
भक्तपुरमा ‘रोजगार मेला’ आयोजना गर्ने
काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘मेरो वृत्ति मेरो खोजी, मेरो सीप भविष्यको दीप’ भन्ने नाराका साथ ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार’ मेला आयोजना गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लामै पहिलो पटक स्थानीय जनशक्तिलाई तत्कालै स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागिएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले यही असार १६ गते मध्यपुरथिमि नगरपालिका–२ स्थित आदर्श माध्यमिक विद्यालय सानोठिमीमा आयोजना हुने मेलामा स्थानीय नागरिकलाई तत्कालै रोजगार उपलब्ध गराउने र आफ्नो सीपलाई पहिचान गर्न नसकेका युवालाई उपयुक्त मार्ग निर्देशन गर्न परामर्श सेवा दिने बताए । उनले भने, ‘दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाता र उपयुक्त रोजगारीको खोजीमा रहेका जनशक्तिलाई एकै ठाउँमा ल्याई आ–आफनो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने, विद्यालय तहको पढाइ सकेर अब के गर्ने भनेर अन्योल भएका र लक्ष्य पहिचान गर्न नसकेका युवा विद्यार्थीलाई उपयुक्त मार्ग निर्देशन गर्ने उद्देश्यले नगरपालिकाले रोजगार मेला आयोजना गर्न लागेको हो ।’ नगरपालिकाभित्र भविष्य खोज्दै गरेका विद्यार्थी तथा युवालाई लक्षित गरी मेला आयोजना गर्न लागिएको नगरप्रमुख श्रेष्ठले बताए । ‘आगामी शिक्षा के लिने, आफ्नो सीप पहिचान कसरी गर्ने, कुन सीप लिने, हातमा सीप भएकाहरुले के गर्नेलगायत विषयमा परामर्श दिँदै उनीहरुको वृत्ति विकासमा टेवा पुर्याउन मेलाले सहयोग गर्नेछ’, उनले भने । मेलामा युवा विद्यार्थीलाई वृत्ति विकाससम्बन्धी परामर्श सेवा दिइने, सीपमूलक तालिम दिने संस्थाको प्रदर्शनी गरिने, तालिमबारे जानकारी एवं रोजगारसम्बन्धी सूचना दिइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमसम्बन्धी जानकारी दिइने, स्थानीय उत्पादनको प्रदर्शनी गरिने, स्थानीय रोजगारीको पहिचान तथा जानकारी दिइने र रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार मेला सुरु हुनुपूर्व प्याब्सनलगायत केही संस्थाले कोटा तोकेर रोजगारीको सुनिश्चितता गरिसकेका छन् । पत्रकार सम्मेलनमा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मेलामा विभिन्न उद्योग, व्यवसाय एवं रोजगारदाता कम्पनीका १६, मध्यपुरथिमि नगरपालिकाबाट तीन, प्राविधिक शिक्षालयबाट नौ, स्थानीय उत्पादन (मध्यपुर माक्स मेकिङ र हस्तकला) बाट दुई, होटल व्यवसायी दुई, अस्पताल दुई, बैंक तथा वित्तीय संस्था एक, वर्ल्डलिंकको एक, इन्स्योर परियोजनाको एक गरी कूल ३७ वटा स्टल राखिने जानकारी दिए । ‘एक दिनका लागि आयेजित मेलामा करिब पाँच हजारले सहभागिता जनाउने अनुमान गरेका छौँ’ उनले भने । मेलाबाट कम्तीमा दुई हजार युवाले वृत्तिपरामर्श सेवा प्राप्त गर्ने, स्थानीयस्तरमा रहेका उद्योग तथा व्यवसाय एवं रोजगारदातामार्फत दुई सय भन्दा बढी युवाले रोजगारी पाउने अपेक्षा गरिएको उपप्रमुख श्रेष्ठको भनाइ थियो । मेला आयोजना मूलसमारोह समितिका संयोजक एवं नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले रोजगारदाता कम्पनीले मेलामै अन्तरवार्ता लिई रोजगारीको सुनिश्चितता गर्ने, उद्यम व्यवसाय सुरु गर्न चाहनेका लागि उपयुक्त परामर्श दिने, सफल उद्यमीको कथा, अनुभव तथा सिकाइको आदानप्रदान गरिने बताए । रासस