लोक सेवा आयोगले माग्यो २७३ कर्मचारी

काठमाडौं । लोक सेवा आयोगले विभिन्न कार्यालयका लागि राजपत्रांकित तृतीय श्रेणी पदमा २७३ कर्मचारी मागेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवामा कर्मचारी मागेको हो । आयोगले खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन मागेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी मागेको हो । इच्छुक योग्यता पुगेका व्यक्तिहरूले पुस १७ गतेसम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेलले नियुक्त भएका छन् । अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेललाई नेप्सेको अध्यक्षको जिम्मेवारी दिएका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई जिम्मेवारी दिएका हुन् । वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख बराललाई भने मन्त्रालयले फिर्ता बोलाएको छ । बरालले गत असार ३ गतेदेखि नेप्सेको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए । नवनियुक्त अध्यक्ष पौडेलले भने हालसम्म पदभार ग्रहण गरेका छैनन् तर अध्यक्षमा नियुक्त भएको चिठ्ठी भने पाइसकेका छन् ।

सिन्धु विकास बैंकको डीसीईओमा गणेश कुमार केसी नियुक्त

काठमाडौं । सिन्धु विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । मंसिर २६ गते बसेको बैंक संचालक समितिको बैठकले केसीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त डीसीईओ केसीले पौष १ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।