ज्योति क्यापिटलको अध्यक्षमा बराल नियुक्त
काठमाडाैं । ज्योति क्यापिटलको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् । क्यापिटलको पौष १ गते आईतबार सम्पन्न सञ्चालक समितिको ४५ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश बराललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको हो । बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा १४ वर्ष भन्दा बढीको अनुभव बोकेका प्रकाश बराल मिति २०८० पौष १ गते देखि लागू हुनेगरी यस ज्योति क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् । प्रकाश बरालसंग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा कार्य गरेकोे अनुभव रहेको छ । यसका साथै, एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालकको भूमिका निर्वाह गर्नुभएका श्री बरालको अन्य विभिन्न संस्थाहरुमा समेत सफल कार्य गरेको अनुभव रहेको छ । भारतको आई.सि.ए.आईबाट चार्टर्ड एकाउन्टेन्सी गरेका प्रकाश बरालले त्रिभुवन विश्वविद्यालयबाट एल एल.बि को साथै अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् । नव नियुक्त सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नुहुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।
आयल निगमको निमित्त कार्यकारीमा नागेन्द्र शाह
काठमाडौं । नेपाल आयल कर्पोरेसनको निमित्त प्रबन्ध निर्देशकमा नागेन्द्र शाह नियुक्त भएका छन् । कर्पोरेसनका प्रमुख उमेश थानीले राजीनामा दिएपछि अर्को व्यवस्था नभएसम्मको लागि शाहले निमित्त कार्यकारीको जिम्मेवारी पाएका हुन् । निगमलाई मन्त्रालयले सिनियर कर्मचारीको सूची मागेको थियो । सोअनुसार निगमले शुक्रवार नागेन्द्र शाह, वीरेन्द्र गोइत र दिपक बरालको नाम पठाएको थियो । निगमको ‘सिनियरिटी’ मा शाहपछि गोइत र बरालको नाम पठाइएको जानकारी गराइएको छ ।
१५ हजार युवालाई सफ्टवेयर डेभलपमेन्ट तालिम दिँदै महानगर, ५ हजारलाई स्वरोजगार बनाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सफ्टवेयर डेभलपमेन्ट तालिम सुरु गरेको छ । चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत महानगरले ३४ विधामा १५ हजार युवालाई सीपमूलक तालिम दिने भएको छ । तीमध्ये ५ हजार व्यक्तिलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित तालिम कार्यक्रम थालिएको महानगरले बताएको हो । राष्ट्रिय सभा गृहमा तालिम शुभारम्भ गर्दै सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भने, ‘काठमाडौँ कोही पनि युवाले बेरोजगार बस्नु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । हामीले प्रदान गरेको निःशुल्क तालिम रोजगारमूलक तथा स्वरोजगारमूलक हो । हामी युवालाई आफैँ उद्यम गर्न सक्षम बनाउँछौँ । रोजगार क्षेत्रमा जान चाहनेलाई योग्य बनाउँछौं ।’ तालिमबाट व्यक्तिमा भएको सिप रोजगारका लागि योग्यता मापन गर्न सक्ने क्षमता हुनेछ । कार्यक्रममा समितिका सदस्य महेश नेपालीले भने, ‘क्षमता भएका तर योग्यताका लागि पेश गर्नु पर्ने प्रमाण पत्र नभएका युवालाई तालिमबाट प्रतिस्पर्धी र योग्य जनशक्ति बनाउँछौं । यसरी सिकेको सिप स्वरोजगारबाट आयमा रुपान्तरण गर्न सकिनेछ ।’ त्यस क्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले महानगर गौरव र स्वर्णिम योजनाबाट अपेक्षा गरिएको उपलब्धीका विषयमा चर्चा गर्दै, तालिमबाट बजारका लागि प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य पूरा गराउन कार्यक्रम थालनी भएको उल्लेख गरे । पहिलो ब्याचको तालिमको नतिजा अन्य तालिममा पनि प्रतिबिम्बित हुने भएकोले यसलाई सफल बनाउन प्रशिक्षक र प्रशिक्षार्थी दुवैको समान भूमिका हुने उनको भनाइ थियो । प्रशिक्षार्थीको सक्रियताले नतिजा मापन हुने उल्लेख गर्दै कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख बिमला कोइरालाले भनिन्, ‘महानगरपालिकाले तालिम दियो । कस्तो हुँदो रहेछ हेरौँ भनेर तालिम लिने होइन । लिएको तालिमबाट म केही गर्छु भन्ने सोच राख्नुपर्छ । यसकारण तपाईँहरुको इच्छाशक्तिलाई सक्रिय बनाउनुपर्छ ।’ २ महिने तालिमका लागि २४४ जनाले आवेदन दिएका थिए । उनीहरुमध्ये सूचकका आधारमा छानिएका ४० जनालाई २ सिफ्टमा विभाजन गरेर तालिम आयोजना गरिएको फोकल पर्सन शान्ता पहाडीले जानकारी दिइन् । सफ्टवेयस विकास तालिम पाठ्यक्रमको उद्देश्य सहभागीलाई सफ्टवेयर विकास सम्बन्धी एकीकृत ज्ञान र सिप प्रदान गर्नु हो । १२५ घण्टे यो तालिममा ७५ घण्टा अन द जब तालिममा आधारित हुन्छ । सिकाइको २० प्रतिशत सिद्धान्त र ८० प्रतिशत प्रयोगात्मक कक्षा हुनेछ । कम्प्युटर बिज्ञान, सूचना प्रविधि, इञ्जिनियरिङ्जस्ता विषयमा भर्खर स्नातक तह उत्तीर्ण गरेका, अन्य गैर प्राविधिक क्षेत्रबाट प्राविधिक क्षेत्रमा आउन तीब्र इच्छा भएका कोडिङ् तथा प्रविधिको विकासमा लाग्न जोश भएका व्यक्तिहरुलाई तालिममा सहभागी गराइएको छ । मोडलिङ्, व्रेम स्ट्रमिङ्, दृश्य संकेतको प्रयोग, व्यक्तिगत कार्यशाला तथा सामुहिक कार्यशाला, प्रदर्शन तालिमका विधि हुन् । प्रोग्रामिङ्को आधारभूत ज्ञान, कम्प्युटर साक्षरता, तालिम लिएर केही गर्न सक्छु भन्ने प्रतिवद्धता, अंग्रेजी भाषाको ज्ञान भएका, इन्टरनेट र व्यक्तिगत कम्प्युटर वा ल्यापटपमा पहुँच भएका आवेदकलाई तालिममा छनोट गरिएको हो । यसरी तालिम पाएका ९० प्रतिशत सहभागी रोजगारी क्षेत्रमा गएको वा स्वरोजगार भएको, रोजगारमा गएकाहरुको कार्य सम्पादनबाट रोजगारदाता सन्तुष्ट भएको, अहिलेभन्दा ५० प्रतिशत बढी आम्दानी गर्न थालेको तालिम सफलताको सूचकका रुपमा राखिएको छ । सिपमूलक तालिमका ३४ बिधामध्ये १० विधामा सरकारी तालिम प्रदायक कार्यालयसँगको सहकार्य हुनेछ । यसमा इलेक्ट्रिसियन, प्लम्बरिङ्, कम्प्युटर हार्डवेयर, मोटरसाइकल मर्मत तालिम, हलुका सवारी साधन मर्मत तालिम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) सँगको सहकार्यमा हुनेछ । यस्तै फास्टफुड, चाइनिज, इन्डियन कुकिङ्, बारिस्ता, बार टेन्डिङ् वेटर वेट्रेस र पर्यटक पथ प्रदर्शक (टुरिष्ट गाइड) तालिम नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसँगको सहकार्यमा हुनेछ । तालिमबाट उत्पादन भएका जनशक्तिलाई अवसर प्रदान गर्ने विषयमा यस अघि उद्योग तथा वाणिज्य क्षेत्र, विकास साझेदारसहित क्षेत्रगत छलफल भइसकेको छ । यसरी तालिम दिएका युवालाई अर्को स्वर्णिम योजना ‘श्रम वैङ्क’ मा आवद्ध गराएर रोजगारदातालाई आवश्यक परेका जनशक्ति प्राप्त गर्न सक्ने व्यवस्था मिलाइनेछ । बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरु, विदेशवाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका), सिप नजानेका, सिप जानेका तर स्तरोन्नति गर्नुपर्ने अवस्थामा रहेका व्यक्ति तालिमका लक्षित वर्ग हुन् । तालिमका लागि सार्वजनिक सूचनामार्फत आव्हान गरिएको थियो । तालिम लिन इच्छुकले कुनै न कुनै विधामा अवसर प्राप्त गर्न सकनु भनेर फाराम भर्दा आफूलाई रुचि लागेको क्षेत्रमध्ये पहिलो रुचि भएको विधालाई १ त्यसपछिा दोस्रो रुचिको क्षेत्रलाई २ गर्दै क्रमशः ३, ४ र ५ नम्बर दिन लगाइएको छ । यसमा आफूले राजेका ५ विधामध्ये कुनै न कुनै विधामा तालिम प्राप्त गर्न सकिन्छ ।