कृषि विकास बैंकको सञ्चालकमा आचार्य नियुक्त
काठमाडौं । सरकारले कृषि बिकास बैंकको सञ्चालक समिति सदस्यमा महेश आचार्यलाई नियुक्त गरेको छ । आचार्य अर्थमन्त्री प्रकाश शरण महतको मन्त्रिस्तरिय निर्णयबाट संचालक सदस्यमा नियुक्त भएका हुन् । नवनियूक्त सञ्चालक सरकारी सेवाको लामो अनुभव भएका व्यक्ति हुन् । हाल उनी अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त संचालक सदस्य महेश आचार्यलाई बैंक संचालक समिति बैठक नं.१०६७ का संचालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथ बैंकका कम्पनी सचिव समेतको उपस्थिती रहेको थियो । नेपाल सरकारको ५१ प्रतिशत सेयर स्वामित्व भएको कृषि विकास बैंक सार्वजनिक संस्थान हो । यसको सञ्चालक समितिमा नेपाल सरकारको प्रतिनिधि पनि हुने व्यवस्था भएकोले सोही व्यवस्था बमोजिम आचार्य सञ्चालक सदस्य नियुक्त भएका हुन् ।
सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचनासहित)
काठमाडौं । सामाजिक सुरक्षा कोषले विभिन्न पदमा ५१ कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै कोषले तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने जनाएको छ । कोषले उपनिर्देशकदेखि सहायक कम्प्युटर अपरेटर पदसम्मका लागि दरखास्त माग गरेका हो । लोकसेवा आयोगबाट लिइने विभिन्न पदका लागि तोकिएको दस्तुर तिरेर अनलाइनमार्फत पुस २६ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने कोषद्वारा जारी सूचनामा उल्लेख छ । तलब सुविधा कोषको प्रचलित नियमअनुसार हुने जनाइएको छ ।
नेपाल राष्ट्र बैंकले माग्यो ६७ जना कर्मचारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । केन्द्रिय बैंकले विभिन्न पदका लागि ६७ जना कर्मचारी मागेको हो । बैंकले प्रशासनतर्फ अधिकृत तृतीय स्तरको सहायक निर्देशक पदका लागि १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ सहायक निर्देशक पदकै लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जना सहायक निर्देशक मागेको हो । यस्तै, सहयाक द्धितिय स्तरको सहायक पदका लागि २० जना, कानुनतर्फ ४ जना र सूचना प्रविधि पदमा ११ जना कर्मचारी मागेको हो । रिक्त रहेका उक्त पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्ने राष्ट्र बैंकले जनाएको छ । योग्य नेपाली नागरिकहरूले आज पुस ६ गतेदेखि अनलाइन माध्यममार्फत दरखास्त फाराम पेश गर्नु पर्नेछ । पुस २६ गतेसम्म तोकिएको दस्तुर र माघ ४ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिनेछ ।