एनबीआईले सिद्धार्थ बैंकका कर्मचारीलाई विभिन्न तालिमहरु उपलब्ध गराउने

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई)ले सिद्धार्थ बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने भएकाे छ । जसका लागि सिद्धार्थ बैंकले एनबीआईबाट ५० लाख रुपैयाँ बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । यी दुई संस्थाले कर्मचारीको दक्षता अभिबृद्धि सम्बन्धि विभिन्न तालिम कार्यक्रम संचालन गर्ने सम्झौता पत्रमा गरेका छन् । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर गरेका हुन् । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ७७ शाखा, ३ एक्स्टेन्सन काउन्टर १०३ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५५० भन्दा बढी पीओएस मार्फत् उच्चस्तरिय बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।

वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई निःशुल्क तालिम दिइने 

काठमाडौं । सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ । वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न यस तालिम दिन लागेको हो । वैदेशिक रोजगार प्रवद्रधन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना (सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालिम’ सञ्चालन गर्न लागेको हो । तालिम सञ्चालन गर्न योग्य इच्छुक फर्म, संघ, संस्था वा कम्पनीसँग आशयपत्र समेत माग गरिसकेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए । तालिमअन्तर्गत निर्माण क्षेत्र, होटल व्यवस्थापन, टेलरिङ/गार्मेन्ट र सुरक्षागार्ड गरी चार क्षेत्रमा एक महिनाको तालिम दिइने उनले बताए । बोर्डले सहायक इलेक्ट्रिसियन, प्लम्बर, मेशन, स्टिल, फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोेल्डिङ र हाउस पेन्टिङ, ‘कुक’, वेटर/वेटर, हाउसकिपिङ र कफि मेकर, टेलरिङ, गार्मेन्ट, सुरक्षा गार्डका लागि आशयपत्र माग गरेको छ । यसमध्ये मेशन, सटरिङ कार्पेन्टर र गार्मेन्ट, टेलरिङमा एक हजार ५०० जनासम्मका लागि आवासीय तालीम दिइने लक्ष्य राखिएको छ । तालिम लिएकाले विदेश गएपछि बढी तलब पाउने तथा स्वदशै पनि स्वरोजगार बन्नसक्ने अपेक्षा लिइएको छ । निर्देशक काफ्लेले आशयपत्र दिएकामध्येबाट पहिलो चरणमा केहीलाई सूचीकृत गरी त्यही मध्येबाट बोलपत्र आह्वान गरिने जानकारी दिए । सीप सिकेर वैदेशिक रोजगारमा जान चाहनेका लागि यो उत्तम अवसर भएकाले विदेशमा जान चाहनेलाई तालिममा सहभागी हुन उनको आग्रह छ । सकेसम्म सातै प्रदेशमा त्यस्ता तालिम सञ्चालन गर्नका लागि आफूहरूले प्रयत्न गर्ने उनको भनाइ छ । अदक्ष भएकै कारण अन्य देशका कामदारको तुलनामा वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली कामदारले निकै न्यून रकम पाउने गरेका छन् । यो तालीम पश्चात् अदक्ष र दक्ष कामदारका रूपमा तालिम प्राप्त गर्ने रोजगारीमा जानेछन् । रासस

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्स र डाक्टरलाई जागिर खुल्यो

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३५ जनाका लागि जागिर खुलेको छ । प्रतिष्ठानले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर नर्सदेखि प्राध्यापकसम्मका लागि जागिर खुलाएको हो । प्रतिष्ठानले १२ जना सहायक प्राध्यापक तथा प्राध्यापक मागेको छ त्यस्तै, फार्मेसी, नर्सिङ, ल्याबमा २३ जनाका लागि दरखास्त खुलाएको छ । सहायक प्राध्यापक देखि प्राध्यापकसम्मको आवश्यक शैक्षिक योग्यता पुगेकाहरुले कात्तिक ३० गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । आँखा रोग, जेरायोट्रिक मेडिसिन, मनोचिकित्सा, समुदाय स्वास्थ्य विज्ञान, शरिर रचना, सुक्ष्मजीव तथा रोग प्रतिरोध विज्ञान, विकृति विज्ञान, नवजात शिशु, चर्मरोग र जीव रसायन तथा मलिक्युर बिषय अध्ययन गरेकाहरुले आवेदन दिन सक्नेछन् । आवेदकहरुले २२५० रुपैंयाँदेखि ३००० रुपैंयाँ दस्तुर तिरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरखास्त दिन सक्नेछन् । त्यस्तै, ल्याब, नर्स र फार्मेसी अध्ययन गरेका आवेदकहरुले सहायक स्तरमा आवेदन दिनका लागि १५०० रुपैंयाँ र अधिकृत स्तरमा आवेदन दिनेले २००० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ ।