कर्मचारी सञ्चय कोषले माग्यो ३८ जना कर्मचारी

काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारीहरू मागेको छ । कोषले खुला तथा समावेशी प्रतियोगितामार्फत ३८ जना कर्मचारी मागेको हो । कोषका अनुसार प्रशासन, कानुन, प्राविधिक, सूचना प्रविधितर्फ आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्मका कर्मचारीलागि दरखास्त आह्वान गरेको हो । प्रबन्धक एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्नेछन् । आजदेखि २१ दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

बिमा प्राधिकरणको नवनियुक्त सञ्चालक राधा पोखरेलले लिइन् सपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष लिएकी हुन् । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा कोही व्यक्ति पीडित हुन नहुने, कुनै पनि व्यक्तिले अन्यथा गर्न नपाउने व्यवस्था हुनुका साथै बीमा क्षेत्रमा नयाँ योजनाका साथ अघि काम गर्न जरुरी रहेको बताएका थिए ।

नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्टलिष्ट, को-को सिफारिस भए ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम छनोट (सर्टलिष्ट) गरेको छ । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणि चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरेको हो । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभवको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तर्वार्ताका लागि छनोट गरिएको सीईओ सिफारिस समितिले जनाएको छ । साथै छनोट भएका उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि चैत ६ गते अर्थमन्त्रालयमा बोलाइएको छ । व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । नेप्सेको सीईओ बन्न १० जनाले आवेदन दिएका थिए । नेप्सेको सीईओ पदका लागि सर्टलिष्ट भएका ५ जनासहित युवराज दाहाल, प्रविण अधिकारी, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की र मुकन्दराज जोशीले सीईओका लागि आवेदन दिएका थिए । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले फागनु १२ गतेदेखि फागुन २५ गतेसम्म आवेदन आह्वान गरेको थियो । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले संयोजक सहसचिव सेवन्तक पोखरेललाई बनाएको छ भने सदस्यहरूमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल छन् । कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्स सीईओविहीन छ । कामु सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँलले सम्हाल्दै आएका छन् ।