लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे
काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष घिमिरेले नियुक्त भएकै दिन अर्थात माघ २ गतेदेखि उक्त पदको कार्यभार सम्हालेका छन् ।
बागलुङका दुई स्थानीय तहमा औद्योगिकग्राम स्थापना गरिँदै, पाैने दुई करोड विनियोजन
गलकाेट । बागलुङ जिल्लाका दुई स्थानीय तहमा औद्योगिकग्राम स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलले आवश्यक पूर्वाधार निर्माणका गर्न रु एक करोड ८४ लाख विनियोजन भएको छ । जिल्लाको बागलुङ नगरपालिका र ताराखोला गाउँपालिका छनोटमा परेका थिए । औद्योगिकग्रामभित्र उद्योग स्थापना गर्न आवश्यक जग्गाको छनोट, सडकको व्यवस्था, विद्युत् प्रसारण लाइन तथा आवश्यकताअनुसार सवस्टेशन, ट्रान्सफर्मर, र वैकल्पिक ऊर्जाको स्रोत, गोदाम घरलगायतका संरचना आवश्यक पर्दछन् । कृषि तथा पैदावरमा आधारित र स्थानीयस्तरको मागमा आधारित उद्योग सञ्चालन गर्न उद्योग ग्रामको प्राथमिकतामा पर्दछ । स्थानीय स्रोत तथा साधनको प्रयोग गरी स्थानीयतहका नागरिकलाई रोजगारी सिर्जना गर्नका लागि औद्योगिक ग्रामले भूमिका खेल्नेछ । औद्योगिक ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ३०, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा सात बिघा जमिन हुनुपर्ने व्यवस्था गरिएको छ । औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशुस्याहार केन्द्र, अग्निनियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह, पार्किङ, प्राथमिक स्वास्थ्य केन्द्र संरचना तयार गर्नुपर्ने हुन्छ । औद्योगिक ग्राम बनिसकेपछि स्थानीय तह वा निजी तथा साझेदारीमा उद्योग सञ्चालन गर्न सकिने व्यवस्था रहेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए । “स्थानीय तहले उपयुक्त लागेका कृषि, वन पैदावार तथा सेवा मूलक उद्योग सञ्चालन गर्न सकिनेछ”, उनले भने, “स्थानीयलाई धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेखालका उद्योग स्थापना गर्नेछौँ ।” ताराखोलामा उत्पादन हुँदै आएको अल्लोको कपडा तथा नेपाली कागजको औद्योगिक ग्राममा उद्योग स्थापना गरी निर्यात गर्ने योजनामा रहेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिएका छन् । बागलुङ नगरपालिकाले नगरभित्रको कालाखोला बगरमा ८५ रोपनी जग्गा तथा ताराखोला गाउँपालिकाले भुस्कालमा ९० रोपनी जग्गा व्यवस्थापन गरेको छ । रासस
प्रभु इन्स्योरेन्सका सीईओ सन्चित बज्राचार्यको कार्यकाल थपियो
काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्चित बज्राचार्यको कार्यकाल थपिएको छ । सीईओ बज्राचार्यको पहिलो ४ वर्षे कार्यकाल पुरा भई माघ १ गतेदेखि नयाँ कार्यकाल थपिएको हो । यससँगै उनले आगामी ४ वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । लामो समयदेखि प्रभु इन्स्योरेन्समा आवद्ध रहेका बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् । साथै, उनीसँग सरकारी लगायत अन्य विभिन्न क्षेत्रको २५ वर्षको कार्य अनुभव रहेको छ ।