ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा शाह नियुक्त
काठमाडौं । ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा देबेन्द्र प्रताप शाह नियुक्त भएका छन् । माघ १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई उक्त पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक शाहले एक कार्यकालसम्म आफ्नो जिम्मेवार सम्हाल्ने छन् । यसअघि शाहले ४ वर्षसम्म नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए ।
जीवन बीमक संघ नेपाल स्थापना, अध्यक्षमा पाण्डे
काठमाडाैं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दे आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको नयाँ छाता संगठन जीवन बीमक संघ नेपालकाे स्थापना गरिएको छ । संघको अध्यक्षमा सूर्या लाइफ लाइन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छनोट भएका छन् । संघको उपाध्यक्षमा उपाध्यक्षमा मेट लाइफ एलिकोका सीइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफ इन्स्योरेन्सका सीइओ पोषक पौडेल, कोषाध्यक्षमा रिलाइन्य लाइफका सीइओ प्रविणरमण पराजुली रहेका छन् । त्यसैगरी, तदर्थ समितिको कार्यसमितिमा युनियन लाइफका सीइओ मनोजकुमार कर्ण, रिलायवलका सीइओ नारायणबाबु लोहोनी, सन नेपालका सीइओ राजकुमार अर्याल, बीमा संस्थानका प्रशासक कबिप्रसाद पाठक र ज्योति लाइफका डेपुटी सीइओ प्रकाश खत्री छन् । उक्त संघले जीवन बीमासँग सम्बन्धीत कठिनाइहरु साझा प्लेटफर्ममा छलफल गरेर नियमनकारी निकाय र सरकारसँग लबिङ गर्ने संघका अध्यक्ष पाण्डेले जानकारी दिए । नेपालमा जीवन बीमाको बजारलाई व्यवस्थित तरिकाले संचालन गर्नका लागि जीवन बीमा व्यवसाय गर्ने बीमकहरुका बीचमाआपसी छलफल तथा सहजीकरण मार्फत जीवन बीमा सम्बन्धी समस्या समाधान गर्न तथा नियमनकारी निकायलाई नीति निर्माण गर्न सहयोग पु¥याउने हेतुले मुनाफा रहित संस्थाको आवश्यकतामहशुस गरी संस्थादर्ता ऐन, २०३४ बमोजिम“जीवनबीमक संघ नेपाल”नामक संस्थाको स्थापना भएको संघले जनाएकाे छ । ।
आयमा कर छुटको सीमा बढाइदै, सामाजिक सुरक्षा कोषमा जानेलाई दोहोरो कर नलाग्ने
काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्तालाई कर छुटको सीमा बढाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उक्त व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् । त्यस्तै, सामाजिक सुरक्षा कोषमा बचत गर्ने योगदानकर्तालाई दोहाेराे कर नलाग्ने व्यवस्था गर्न लागेको छ । मन्त्रिपरिषदबाट निर्णय गराएर दोहोरो कर हटाउने र कर छुटको सीमा बढाउने तयारी भइरहेको मन्त्री खतिवडाले जानकारी दिएका हुन् । मासिक उच्चआय भएका कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा उनीहरुलाई दोहोरो कर लाग्ने भएकोले बैंकिङ क्षेत्रबाट यसको विरोध हुँदै आएको थियो । साथै, बैकिङ क्षेत्रका कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा जान मानिरहेका छैनन् । उच्चआय भएका बैंकरहरुले दोहोरो करबाट उन्मुक्तिको माग गरिरहेको बेलामा सरकारले मध्यम आय भएका कर्मचारीहरुलाई समेत लाभ मिल्ने गरी पारिश्रमिक आयमा कर छुटको सीमा वृद्धि गर्न लागेको अर्थमन्त्रीले जानकारी दिएका हुन् । हाल वार्षिक चार लाख पचास हजार रुपैयाँसम्मको पारिश्रमिक आयमा सरकारले कर छुट दिएको छ । उक्त सीमालाई कम्तिमा ६ लाख रुपैयाँ बनाउनु पर्ने माग उठिरहेको छ । चालु आवको बजेटमा कर छुटको सीमा वृद्धि नगर्दा कर्मचारीतन्त्रबाट सरकारको आलोचना भइरहेको छ ।