कोरिया जान नाम निकालेका नेपालीलाई रोक्यो कोरोना भाइरसले, अब के होला ?

काठमाडौं । राेजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा भएका नेपाली कामदार राेकिएका छन् । चीनबाट शुरू भएको र अहिले धेरै देशमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरियाले नेपाली कामदार लिन समय सारेकाे हाे । इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले ७ दिन अगाडी नै हुनुपर्ने फ्लाइट राेकिएकाे र अब कहिले हुन्छ भन्ने जानकारी नआएको बताए । सन् २०१७ र २०१८ इपिएसमा नाम निकालेका ४५ जना नेपाली सबै प्रक्रिया पुरा गरेर बसेका छन् । ‘कोरियाले फ्लाइट दियो भने आगमी १८ र १९ गते सबै प्रक्रिया पुरा गरेर बसेका ४५ जना नेपाली कामदार जाने छन, अरु बाँकी इपिएसमा नाम निकालेका कामदारहरुको भने नेपाल सरकार र कोरिया सरकारले छलफल गरेर निर्णय गर्ने छ,’ खनालले भने । दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल पनि गरेको छ । विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ । कोरियामा संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेका छन् । दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दूतावासले कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच गर्न पनि नेपालीलाई सुझाएको छ । अवैध रूपमा रहेका कामदारलाई पनि कोरिया सरकारले केही नगर्ने सहमति गरेकाले उपचारका लागि अस्पताल जान दूतावासले आग्रह गरेको छ । इपिएस कार्यालयको तथ्याङ्क अनुसार प्रत्येक वर्ष झण्डै ५० हजार नेपाली युवाले आवेदन भर्ने गरेका छन् । तर कोरिया जान पाउनेको संख्या कम रहेको छ । सन् २००७ मा नेपाल सरकार र कोरिया सरकारबीच भएको द्वीपक्षीय सम्झौताका आधारमा सन् २००८ देखि इपिएस प्रणालीमार्फत नेपाली युवा कामका लागि कोरिया जान थालेका हुन्न ।

गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिनेछुः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडाैं  । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा भएको छलफल तथा अन्तक्र्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताए । नेपाल भ्रमण वर्ष २०२० को पनि स्पेनमा उद्घाटन गर्दै उनले विदेशी नागरिकलाई नेपाल पठाउन गैरआवासीय नेपालीलाई आग्रह गरे । “गैरआवासीय नेपालीहरुको सामाजिक, सांस्कृतिक र आर्थिकसहितको अधिकारसम्बन्धी कानून बनेको छ । संसद्मा विचाराधीन नागरिक विधेयक पनि छिट्टै पास हुन्छ”, उनले भने । सो विधेयक गैरआवासीय नेपालीका पक्षमा सकारात्मक भएको उनको भनाइ थियो । सो अवसरमा गैरआवासीय नेपाली नागरिकता विधेयक, स्पेन र नेपालको कूटनीतिक सम्बन्ध र भ्रमण वर्षका बारेमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत फुटी शेर्पाले स्पेनमा रहेका नेपाली समुदायको समस्या समाधानका लागि राजदूतावास निरन्तर लागिपरेको बताउँदै भ्रमण वर्ष प्रचारप्रसारका लागि पनि विभिन्न सङ्घसस्थासँग सहकार्य गर्दै योजना बनाई लागिपरेको जानकारी दिए । गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय समितिका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली नागरिकले नेपालमा लगानी गर्न निकै झन्झटिलो भएकाले लगानी वातावरण सहज बनाइदिन नेपाल सरकारले चासो दिनुपर्नेे बताएका छन् । परराष्ट्रमन्त्री ज्ञवाली जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३ औंँ उच्चस्तरीय बैठकमा भाग लिन स्विट्जरल्याण्ड आउने क्रममा स्पेनमा पनि आएका हुन् । रासस

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा विष्णु अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल बन्ने भएका छन् । परिसंघमा उपाध्यक्षहरु मध्येबाट एक वरिष्ठ उपाध्यक्ष चयन गर्ने र वरिष्ठ उपाध्यक्ष पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । हाल परिसंघमा अनुज अग्रवाल, विष्णु अग्रवाल, निर्माण चौधरी, कृष्ण प्रसाद अधिकारी, राजेश अग्रवाल, सुलभ अग्रवाल, विरेन्द्रराज पाण्डे उपाध्यक्ष छन् । ७ जना उपाध्यक्ष मध्ये वरिष्ठ उपाध्यक्षमा अनुज, विष्णु, राजेश र सुलभको विशेष रुचि थियो । उनीहरु मध्ये गभर्निङ काउन्सिलमा विष्णुलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको स्रोतले जनायो । प्रकृया पुरा गरी घाेषणा गर्ने भने बाँकी रहेकाे स्राेतले बतायाे । परिसंघका विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुनेवाला अध्यक्ष हुन् । अध्यक्ष सतिशकुमार मोरको कार्यकालपछि वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल स्वतः अध्यक्ष बन्ने छन् । नियमित साधारणसभा भएमा एक वर्षपछि परिसंघकाे अध्यक्ष अग्रवाल बन्ने छन् । विष्णु अग्रवाल परिसंघको स्थापनादेखि नै सक्रिय र विषेश योगदान गरेको व्यक्ति हुन् । उनी एमएडब्लु इन्टरप्राइजका प्रबन्ध निर्देशक हुन् । यामाहा, जीप, स्कोडा, फियाट लगायत सवारी साधानको व्यापारमा केन्द्रीत एमएडब्लु इन्टरप्राइजले जेसीवी, स्कोट्स, म्यानलगायतको हेवि इक्वीप्टमेन्टको व्यापार समेत गर्दै आएको छ । एमएडब्लुले म्यूजिकल इन्स्र्टूमेन्ट वि एण्ड टीको पनि व्यापार गर्छ । त्यस्तै, अग्रवाल एमएडब्लु इन्भेष्टमेन्ट, एमएडब्लु इन्जिनियरिङ कम्पनीका पनि प्रबन्ध निर्देशक छन् । उनी युनाईटेड फाइनान्स लिमिटेडको संस्थापक र सञ्चालक दुबै हुन् । उनी नेपालका लागि चेक गणतन्त्रको अबैतनिक राजदूत पनि हुन् ।