राज्यले सम्मान गरेका यी २५ हस्ती, जसले देशको अर्थतन्त्रमा सवा तीन खर्बको योगदान गरे
काठमाडौं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई मंगलबार महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सीआईपी) सम्मान प्रदान गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सीआइपी अवार्डद्वारा सम्मान गरेका हुन् । देशको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघ संस्थालाई सीआईपी अवार्ड प्रदान गरिएको हो। उनीहरु देशको अर्थतन्त्रमा कूल ३ खर्ब १८ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ योगदान गरेका छन् । सरकारले व्यापार तथा निकासी प्रबर्धन केन्द्रले निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, पर्यटन क्षेत्र, कर दाखिला र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका कूल २५ जना व्यक्ति तथा संस्थालाई सम्मानित गरेको हो । सीआईपी अवार्ड २०२० बाट सम्मानित हुनेहरुमा तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा अग्रस्थान रहेका प्रथम पाँच वस्तुहरुको सबैभन्दा बढी वस्तु निकासी गर्ने निर्यातकर्ता तथा उद्योगी त्रिवेणी स्पिनिङ बाराका रामचन्द्र संघई, दि साँग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट इण्डस्ट्रीका दोर्जेग्याल्सेन लामा, काठमाडौं स्टार फेसनका राहुलमान श्रेष्ठ, एभरेष्ट तथा पश्मिना निटिङका सुर्यकुमार गुरुङ, रविन श्रेष्ठ, हरिकिरत सिँह बेदी, दिव्यराज सापकोटा, युक्ति गोल्छा, पेम्बा दोर्जे र विश्वराज बस्नेत छन् । उनीहरुले देशको अर्थतन्त्रमा क्रमशः ३ अर्ब ५६ करोड २९ लाख, ९४ करोड १७ लाख, ८२ करोड ८७ लाख, ४८ करोड १४ लाख, ६९ करोड ७१ लाख, १२ अर्ब ७० करोड ६७ दाख, ५ अर्ब ३ करोड, ३५ लाख, ४ अर्ब ९५ करोड ६० लाख , ४३ करोड, ६० लाख र ३९ करोड ३३ लाख रुपैयाँ योगदान गरेका छन् । यस्तै, न्यु प्यागोडा इन्टरप्राइजेजका मछिन्द्र पाण्डे, गौपी प्रसाद कँडेल, सुजन कुमार श्रेष्ठ, निमार्ण कुमार चौधरी, राजलक्ष्मी गोल्छा, दिपेश प्रधान, लिऊ शु कुवाङ र पवन कुमार गोल्याङ रहेका छन् । उनीहरुले पनि क्रमशः २२ करोड ४२ लाख, १७ करोड ३७ लाख, ८३ बरोड ८४ लाख, ३१ करोड ८५ लाख, ४ अर्ब ९५ करोड ६० लाख, १९ करोड ११ लाख, १० अर्ब ७१ करोड राष्ट्रको अर्थतन्त्रमा योगदान गरेका छन् । उनीहरुले सो रकमको वस्तु निर्यात गरेका हुन् । यस्तै ,बैंकिङ प्रणलीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनी आईएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले २ खर्ब ६१ अर्ब ९८ करोड ५१ लाख बराबरको विप्रेषण भित्र्याउन योगदान गरेका छन् । पर्यटन क्षेत्रमा सबैभन्दा बढी मुद्रा आर्जन गर्ने होटल व्यवसायी तारागाउँ रिजेनसी होटलका कार्यकारी सञ्चालक सुरेशलाल श्रेष्ठले १ अर्ब ३ करोड २५ लाख, युवा उद्यमी सुनिता शेर्पाले ८ करोड ८८ लाख, अक्षण गोल्याणले ८ अर्ब ७ करोड रुपैयाँ बराबरको सामान निर्यात गरी देशको अर्थतन्त्रमा योगदान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरलाई पनि देशको निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रबर्धनात्मक कार्य गरी आर्थिक विकासमा पुर्याएकाे योगदान वाफत सम्मान गरेको छ । उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उनीहरुले देशका विशिष्ट व्यक्तिसँग चाहेको समयमा औपचारिक भेटघाटको विशेष अवसर पाउने, विमानस्थलमा विशिष्ट कक्षमा लञ्चको व्यवस्था, वैदेशिक व्यापार मेलामा जान पाउने लगायतका अवसर पाउने बताए । उनले अब देखि निरन्तर रुपमा सीआइपी अवार्ड दिने पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई प्रमाणपत्र र परिचय पत्र प्रदान गर्दै अनुशासित र मर्यादित ढंगले व्यवसाय गर्न आग्रह गरे । सरकारले आर्थिक वर्ष ०७४/७५ को योगदानलाई आधार मानेर यो सम्मान दिइएकाे हाे ।
श्रममन्त्री र कोरियाका राजदूतबीच भेटवार्ता, ईपिएस कोटा बढाउन मन्त्रीकाे आग्रह
काठमाडौं । नेपाली श्रमिकमा लागि ईपिएस कोटा वृद्धि गर्न आग्रह गरेका छन् । सोमबार श्रममन्त्री रामेश्वर राय यादव र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच ई पार्क यंग्सिकबीच भएको भेटमा ईपिएस भाषा परीक्षालाई थप मर्यादित एवं व्यवस्थित गरी काेटा बढाएमा लिखित परीक्षा तथा सीप परीक्षा पास गरेका श्रमिक प्रतिक्षामा बस्न नपर्ने मन्त्री रायकाे भनाइ थियाे । कोरिया रहेका नेपाली कामदारहरुको आत्महत्याको बारे राजदूत एच ई पार्क यंग्सिकले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय कोरियामा नेपालीको बढ्दो आत्महत्या प्रति सरकारले व्यवस्थापनका गर्ने उनकाे भनाइ छ । नेपाली श्रमिकले गरेका कामका विषय प्रशंसा गर्दै ईपिएस भाषा परीक्षालाई थप मर्यादित एवं व्यवस्थित गर्न कम्प्यूटरमा आधारित परीक्षा (सिबीटी) संचालन गर्न आवश्यक पूर्वाधार निर्माण कार्य छिटो सम्पन्न हुने राजदूत यंग्सिकले जानकारी दिए । श्रममन्त्री राय यादवले आगामी दिनमा नेपाली श्रमिकहरुलाई कोरियाको पेन्सन प्रणालीमा समेट्न आग्रह गर्नुका साथै ईपिएस भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित गर्न नेपाल सरकार प्रतिवद्ध रहेको भन्दै तालिम प्रदायक संस्थाको क्षमता विकासका लागि कोरिया सरकारसँग सहयोगको लागि आग्रह गरेका छन् ।
वैदेशिक रोजगार विभागभित्रका स्वार्थ समूहको चिरफार गर्छुः महानिर्देशक दाहाल
विभागभित्रका समस्या नेपाली श्रमिक जो वैदेशिक रोजगारमा जाने क्रममा कहीँ गएर पनि नठगिउन भन्नकै लागि अनुगमन गर्ने काम वैदेशिक रोजगार विभागले गर्दै आएको छ । म्यानपावर कम्पनीहरु तथा एजेन्टलाई बढी उत्तरदायी बनाउने तथा वैदेशिक रोजगारमा जाने नेपाली युवालाई सहज ढंगबाट कसरी विदेश पठाउने, असल गन्तव्यको खोजी कसरी गर्ने भन्ने कुरो नै सबैभन्दा ठूलो चुनौतिको विषय हो । समाधानको उपाय हरेक काममा चुनौति हुन्छ । त्यसैले वैदेशिक रोजगारसँग सम्बन्धित संघ संस्थाहरुलाई बढी उत्तरदायी बनाउने, फास्ट्रयाकबाट पोलिसी निर्माण गरी त्यसको सहजिकरण गर्ने र श्रमिक तथा सम्बन्धित निकायका गुनासाहरु सुन्ने काममा ध्यान दिएर अगाडी बढेमा विभागले लक्ष्य अनुसारको उपलब्धी हासिल गर्छ । ५ प्रथामिकता सर्वप्रथम त विभागका काम कारबाहीहरुलाई छिटोछरितो ढंगबाट निर्णय तथा भरसक गुनासो कम गर्ने कोसिस गर्छु । म्यानपावर तथा वैदेशिक रोजगारीमा जाने मानिसले तोकिएको देशहरुमा शून्य लागतमा कसरी विदेशमा कामदार पठाउने भन्ने विषय पनि गम्भीर रुपमा उठेको छ । सो विषयलाई ध्यान दिई अनुगम गरी सम्बन्धित संघ संस्था तथा म्यानपावर कम्पनीहरुलाई शून्य लागत (जिरो कस्ट) को नियमभित्र कसरी ल्याउने भन्ने विषय हामी सोचिरहेका छौं । जागरुतामूलक कार्यक्रम गर्ने, पछिल्लो समय हेर्दा स्माट पढेलेखेका मानिस नै विभागमा ठगिए भन्दै आउने गरेको भेटिएकोले वैदेशिक रोजगारीका विषयमा थप तालिम तथा परामर्श दिनु आवश्यक छ भन्ने पुष्टी हुन्छ । यो विषयमा पनि मैले प्राथमिकतमा राखेको छु । अनलाइन प्रणालीको प्रयोगलाई निरन्तर अगाडी बढाउने छौं । अनलाइनको प्रयोगले श्रमिक र वैदेशिक रोजगारीसँग सम्बन्धित कार्यालयमा सहजता भएपनि यो प्रविधिको प्रयोगका बारेमा जानकारी गराई सही प्रयोगको गर्नका लागि विगतका दिनमा पूर्व महानिर्देशकज्यूले यसमा धेरै काम गरेर जानु भएको छ । त्यही कार्यविधिलाई पछ्याउँदै हामी कसरी काम गर्ने र पूरै फेसलेस सर्भिसलाई स्थापना गर्ने भन्ने विषयमा ध्यान दिनुपर्छ । मेरो प्राथमिकता यो विषयमा पनि छ । म्यानपावर कम्पनीहरुलाई हामीले कसरी बढी नियमन गर्ने भन्ने विषयदेखि वैदेशिक रोजगारमा हेर्दा कामदार पठाउने भनिए तापनि कतिपय उजुरी हेर्दा मानव तस्करी भइरहेका देखियो । म्यानपावर कम्पनीको नाममा गरिएको मानव तस्करीलाई अपराधको श्रेणीमा राखेर त्यस्ता घटनाहरुलाई पहिचान गरी दण्ड दिनुपर्छ । विभागले जति दण्ड गर्न सक्यो, त्यति नै यस्ता घटनाहरु न्यून हुन्छ् जस्तो मलाई लाग्छ । बैदेशिक रोजगार विभाग भनेको अर्धन्यायिक निकाय पनि हो । यहाँ आउने सबै केसमा ठगिएका हुदैनन् । यसकारणले यहाँ वास्तवमा ठगिएर आएका हुन् वा नाटक गरिरहेका छन् सो पहिचान गरेर पिडितलाई न्याय दिलाउनु विभागको दायित्व हो । विकसित देशमा रोजगारी श्रम गन्तव्य विस्तार गर्नका लागि शुरुमा त ट्रयाङ्गल रिलेशनसीप विस्तार हुनु जरुरी छ । नेपाल सरकारको मातहतमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय एउटा हो भने परराष्ट्र मन्त्रालय र सम्बन्धित देशबीच संवाद गरेर कहाँ के समस्या भइरहेका छन् ती समस्या फुकाउनु पर्नेछ । शास्त्रीय कुटनीतिका विषयमा कति प्रभावकारी छौं भन्ने अर्काे विषय हो । श्रम सम्बन्ध स्थापित हुन दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापित गर्नु पर्ने हुन्छ । श्रमिकका लागि वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नियोगकोबीच सम्बन्ध स्थापित गर्नु पर्छ । आगामी दिनमा जापानको रोजगारीको राम्रो अवसर मैले देखेको छु । कोरियोको जस्तै गरी सरकार सरकारबीच सम्बन्ध स्थापित गरेर नेपाली कामदार जापान पठाउन सकिन्छ । यस्तै, युरोपका विभिन्न देशको समन्वयमा रोजगारीको गन्तव्य खोज्न तथा त्यस्तै अन्य खाडी देशमा केकस्तो अवस्था छ भनेर बुझ्न सकिन्छ । खास कुरा कहाँ कहाँ नेपाली कामदारको माग भइरहेको छ, कहाँ कहाँ राम्रो अवसर छ, त्यसको खोजी गरी कतिपय देशमा दुई सरकारबीचको सम्बन्ध स्थापित गरेर कामदार पठाउनु पर्छ । नेपाल सरकारले वैदेशिक रोजगारमा जाने कामदारमा रहेका क्षमता, योग्यतालाई कदर गरेर आगामी दिनमा तालिम प्रदान गर्ने हो भने नेपाली कामदारको माग संसारभर रहन्छ । पछिल्लो समय रोमनियामा वैदेशिक रोजगारीको माग रहेको सुनेको छु । कतिपय त्यस्तै यूरोपेली मुलुकमा हामी त्यहाँ पुग्नै सकेका छैनौं । त्यहाँको नियोग र सरकारसँग हामीले सम्बन्ध स्थापित गर्नु पर्नेछ । कामदारलाई दक्ष्य बनाउने अहिलेसम्म नाम मात्रका तालिम केन्द्र पनि छन् । यस्ता तालिम केन्द्र रहेसँगै समस्या बढ्दै जाने सम्भावना रहन्छ । अवका दिनमा वास्तवमा श्रमिकलाई लक्षित गरी तालिम प्रशिक्षण केन्द्र बनाउनु पर्छ । देशमा रहेका श्रमिकलाई उनको क्षमता अनुसारको शीप प्रदान गर्ने तथा गन्तव्य मूलुकका रहेका क्रियाकलापप्रति चेतना जगाउने काम गर्नुपर्नेछ । वैदेशिक रोजगारमा जाँदा शीप नसिकी जाँदा नेपाली युवाले पाएका दुःखलाई ध्यानमा राखी प्रशिक्षण केन्द्र खोल्नु पर्ने आवश्यकता छ । प्रविधि तथा आईटीसँग घुलमिल हुन सक्ने क्षमता श्रमिकमा स्थापित गराउनु पर्छ । पूरै कार्यकाल रहेँ भने… वैदेशिक रोजगार विभागमा पूरै कार्यकाल रहेँ भने यहाँका सबै समस्याको समाधान गरिसक्छु । यहाँ जे जस्ता समस्या छन्, ती समाधान गर्न नसकिने तहका छैनन् । बाहिरबाट हेर्दा र यहाँ आएपछिको भिन्नता बाहिरबाट हेर्दा यो विभागप्रति मेरो बेग्लै प्रकारको धारणा थियो । यहाँ आएपछि फरक अनुभूति गरिरहेको छु । यहाँ समस्या तथा चुनौति धेरै छन् । तर, समाधानै गर्न नसकिने भने होइन । यो विभागलाई सुधार गर्नु जरुरी छ र सकिन्छ पनि । यहाँ केही त्यस्ता स्वार्थ समुहहरुको गतिविधिलाई सहेर अगाडी बढ्नुभन्दा पनि त्यसलाई चिरफर गरेर काम गर्नुपर्छ । यहाँ आएका उजुरी तथा मुद्दाका विषयमा वादी र प्रतिवादीलाई जोडेपछि के हो सत्य भन्ने कुरा थाहा हुन्छ । वैदेशिक रोजगार विभागमा आएपछि न्याय पाउछु भन्नेभन्दा पनि विभागमा आएर उजुरी गरेपछि त्यसलाई सजाय गराउँछु भन्ने मनोविज्ञान पनि पाएको छु । नेपालमा महिलाका विषयमा र वैदेशिक रोजगारका विषयमा कडा कानुन बनेको छ । त्यसकारण पनि नबुझी रोजगारी जाने र केही समय काम गरेर वा झैझगडा तथा अन्य कारण नेपाल फर्किएर विभाग धाउनेहरु पनि भेटिन्छन् । त्यसकारण वैदेशिक रोजगारमा ठगी, चेकबाउन्सका विषय जनतामा केन्द्रित छ । यी सबै कुरामा ध्यान दिएर विभागले आफ्नो कामको गति बढाएमा असम्भव भन्ने कुरा केही छैनन् । जुन मैले विभागमा आएसँगै सोचेका कुरा हुन् । आगामी दिनमा विभागले उक्त कामलाई निरन्तर रुपमा अगाडी बढाउँदै जान्छ । योग्यता र क्षमता अनुसारका विषयमा श्रम गन्तव्यमा पुगेर कसरी सरल ढंगले काम गर्न सक्छन् भन्ने विषयमा केन्द्रित हुनु विभागको मुख्य उद्देश्य हो । (बैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक कुमार दाहालसँग विकासन्युजका लागि सुनिता पुडासैनीले गरेको कुराकानीमा आधारित)