कुवेतमा रहेका १४ जना नेपाली कोरोना संक्रमित
काठमाडौं । कुवेतमा १४ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । १ हजार ४ सय ५ जना कोरोना संक्रमित रहेको कुवेतमा १४ जना नेपाली कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको कुवेतस्थित नेपाली राजदुत दुर्गाप्रसाद भण्डारीले बताए । ‘पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ, हालसम्म १ हजार ४ सय १ कोरोना संक्रमित र ३ जनाको मृत्यु भएको छ । भने १४ जना नेपालीमा कोरोना भाइरसको संक्रमित छन्’ राजदूत भण्डारीले भने । संक्रमित नेपाली कति जना पुरुष र कति महिला हुन भन्ने तथ्य जानकारी नआई नआएको राजदूत भण्डारीले जानकारी दिएका छन् । वैदेशिक राेजगारीका लागि कुवेतमा करिव ७० हजार नेपाली कायरत छन् । चीन वुहानबाट फैलिएको कोरोना भाइरसले हालसम्म विश्वमा २० लाख २५ हजार ४ सयभन्दा बढी मानिस संक्रमित भएका छन् भने १ लाख ३१ हजार ४ सय ९६ जनाको मृत्यु भईसकेको छ । त्यस्तै ५ लाख ४ हजार ४ सयभन्दा बढी मानिस उपचार पछि निको भएका छन् ।
कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
काठमाडौं । दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना महामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप हुने भएको हो । इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्न पाउने नियम छ । उक्त नियमअनुसार चार वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ । अवधि पूरा भएर पनि कोरोना माहामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५ सय प्रवासी मजदुर (इ–९) लाई यो निर्णयले सहज बनाएको छ । यसअघि फेब्रुअरीमा पनि ५० दिन भिसा थप्ने निर्णय भएको थियो । रासस
कोरोनाबाट विदेशमा १४ नेपालीको मृत्यु, ६ सय ६५ मा सङ्क्रमण पुष्टि
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ । सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६ सय ६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घसंस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको उनले जानकारी दिए । अमेरिकामा पाँच सय, बेलायतमा एक सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक/एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड–१९ एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । रासस