टर्कीमा रहेका नेपालीद्वारा स्वदेश फिर्तीको आग्रह
काठमाडौं । टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै सो माग गरेका हुन् । ‘टर्की नेपाली समाज’ले टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूतावासलाई एक पत्रमार्फत लकडाउन जारी गरिएसँगै हजारौंको सङ्ख्यामा टर्कीमा अवैधानिकरूपमा रहेका नेपालीको अवस्था कठिन बन्दै गएको जानकारी गराएको छ । समाजका अध्यक्ष उज्वलकुमार घिसिङले वैधानिक श्रमिकले समेत रोजगारी गुमाउनुपर्ने वा बेतलबी बिदामा बस्नुपर्दाको पीडाले झन् निराशा सिर्जना गरिसकेको उल्लेख गरे । उनका अनुसार कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको कठिन अवस्थालाई ध्यानमा राखेर टर्की सरकारले अवैधानिक आप्रवासी कामदारका लागि जरिवाना मिनाहा र आममाफीको निर्णय गरी स्वदेश फिर्तीका लागि प्रक्रिया शुरु गरिसकेको छ । सुविधासहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारवाही हुने खतरा रहेको जनाउँदै समाजले स्वदेश फिर्तीका लागि पहल गरिदिन इस्लामावादस्थित नेपाली राजदूतावाससमक्ष अनुरोध गरेको छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत टर्कीमा रहेका नेपालीको अवस्था र स्वास्थ्यस्थितिका बारे चासो लिँदै सहयोगका लागि त्यहाँको सरकारसँग समन्वयमा रहेको जनाए । टर्कीमा रहेका नेपालीका समस्याबारे गैरआवासीय नेपाली सङ्घले पनि आवश्यक चासो लिई सहयोगका लागि पहल गरिरहेको सङ्घको ‘कोभिड–१९ उच्चस्तरीय समिति’ अन्तर्गतको स्वास्थ्य समितिका सदस्य अतुल कोइरालाले जानकारी दिए । रासस
साना व्यवसायीलाई १६० अर्ब वितरण गर्न माग, निजी क्षेत्रका कर्मचारीकाे तलव ५० प्रतिशत सरकारकाे जिम्मा
काठमाडाैं । ठूला उद्याेगी व्यवसायीले साना उद्याेगी तथा स्वराेजगारमुलक व्यवसायीकाे पक्षमा वकालत गरेका छन् । उनीहरूले साना उद्याेगी तथा स्वराेजगारमुलक व्यवसायीलाइ राह्रात पुग्ने गरी वार्षिक १ खर्ब ६० अर्ब रूपैयाँ वितरण गर्न माग गरेका छन् । त्यस्तै, निजी क्षेत्रमा कार्यरत कर्मचारीले पाउने तवबकाे ५० प्रतिशत भुक्तानीकाे जिम्मा सरकारले लिनु पर्ने निजी क्षेत्रकाे माग छ । निजी क्षेत्रका प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुले कोरोना भाईरसको महामारी तथा त्यस पश्चात गरिएको लकडाउनका कारण अर्थ व्यवस्थामा परेको प्रभाव तथा त्यसबाट श्रृजित असरहरुका वारेमा मुख्य सचिवको ध्यानाकर्षण गराउदै त्यसबाट उद्योग तथा व्यवसायलाई बचाउन उक्त माग गरेका हुन् । विद्यमान बन्दा बन्दिका कारण मुलुकका उद्योग, कलकारखाना बन्द प्रायः छन् । आपूर्ति व्यवस्था समेत अत्यन्त नाजुक अवस्थामा रहेको छ । देशको समग्र अर्थ व्यवस्थानै ओरालो लागेको अवस्था छ । मुलुकको यस्तो नाजुक अवस्था रहेको वेला देशका अग्रिणी निजी क्षेत्रका संस्थाहरू एकै स्थानमा आई अर्थ व्यवस्थालाई जोगाउन विभिन्न उपायको खोजि गरिरहेका छन् । अन्तराष्ट्रिय संघ संस्थाहरुसंगको सहकार्यमा गरिएका अध्ययनको निकर्षमा मुख्य सचिवको ध्यानाकर्षण र छलफल गरिएको हो । सो अवसरमा मुख्य सचिवलाई संयुक्त अध्ययन प्रतिवेदन समेत हस्तान्तरण गरिएको छ । सो प्रतिवेदनले सरकारलाई नीति निर्माणमा सहयोग पुग्ने विश्वास निजी क्षेत्रले लिएको छ । सो छलफलमा निजी क्षेत्रले दुई मुलभूत कुरालाई अगाडी बढाउन सरकारलाई सुझाएको छ । वित्तिय नीति मार्फत गरिव, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा स्वरोजगारहरुलाई सहयोग गर्न भनिएको छ । नेपालको कूल गाह्रस्थ उत्पादनको करिव ५ प्रतिशत त्यस्तो क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष हस्तान्तण गरिनु आवश्यक छ । नेपालकाे कूल गाह्रस्थ उत्पादन सवा ३२ खर्ब रूपैयाँ छ । त्यसकाे ५ प्रतिशत भएकाे १ खर्ब ६१ अर्ब रूपैयाँ हुन्छ । यसले समग्र मागमा कमी आउन नदिई अर्थ व्यवस्थालाई मन्दीमा जानबाट जोगाउन सकिने अध्ययनले देखाएको जनाईएको छ । यस्तै मौद्रिक नीति मार्फत नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई सहयोग गर्न भनिएको छ । यसका लागि सरकारले प्रत्यक्ष लगानी नगरी हाल विद्यमान मौद्रिक नीतिमा केहि हेरफेर गरि तरलताको अभाव हुन नदिने भनिएको छ । यसका लागि प्रवाह गरिएको कर्जाको व्याजलाई ५ प्रतिशतले कम गर्ने र सो नीतिलाई आगामी ३ वर्ष सम्म कायम गर्ने व्यवस्था गरिए नेपालका उद्योग तथा व्यवसाय बन्द हुनबाट जोगाउन सकिने राय प्रस्तुत गरिएको नेपाल उद्याेग परिसंघले जनाएकाे छ । नेपालका उद्योग व्यवसाय बन्द रहेको समयमा कारोवार बन्द रहेकोले कर्मचारीको तलव तथा ज्याला भुक्तान गर्न नसक्ने अवस्थामा रहेको तर्फ समेत मुख्य सचिवको ध्यानाकर्षण गराइएको थिए । उद्योगले बन्द रहेको अवधिका लागि ५० प्रतिशत ज्याला भुक्तानी गर्न सक्ने र बाँकी ५० प्रतिशत सरकारले अनुदान मार्फत दिनु पर्ने समेत उद्योगी व्यवसायीहरुको भनाई रहेको छ । मुख्य सचिवले नेपालको अर्थव्यवस्थाको ७० प्रतिशत प्रत्यक्षरुपमा निजी क्षेत्रको योगदान रहेको सरकारलाई ज्ञात रहेकोले यस तर्फ सरकारले गंभिर भएर नियाली रहेको बताए । “नेपाल सरकार निजी क्षेत्रको चाहाना बुझेर त्यस अनुसारनै नीतिहरु तय गरिरहेको छ, उद्योग व्यवसायलाई धरासायी हुन हामी दिदैनौ ” उनले भने । नेपालको आर्थिक बृद्धि दरलाई विगतको जस्तै कायम राख्न नसकिए पनि अन्य मुलुकहरुको तुलनामा तल झर्न नदिने र यसका लागि सरकारले निजी क्षेत्रसंगै सहकार्य गर्न चाहेको समेत उनले बताए । आवश्यक उद्योगहरु चल्न दिने तर्फ सरकार समारात्मक रहेको छ । यस विषयमा छिटै निर्णय हुने सक्ने समेत उनले जानकारी दिएका थिए । सो छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कर्मशका अध्यक्षहरु, तिन वटै संस्थाका वरिष्ठ उपाध्यक्षहरु लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
भारतबाट आएका सबैलाई र्यापिड डाइग्नोष्टिक टेष्ट गरिने
बैतडी । भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्यापिड डाइग्नोष्टिक (आरडिटी) टेष्ट गर्ने भएको छ । भारतबाट जिल्ला भित्रिएका चार हजार एक सय २२ जनाको आरडिटी गरिने भएको हो । चैत महिनामा भारतबाट फर्केका सबैको आरडिटी गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । चैत महिनामा मात्रै भारतबाट ४ हजार ८ सय २२ जना जिल्ला भित्रिएका थिए । तीमध्ये अहिलेसम्म सात सयको मात्रै आरडिटी र स्वाब टेष्ट भएकाले बाँकी सबैको पनि र्यापिड डाइग्नोष्टिक टेष्ट गरिने उनले बताए । चैत महिनामा भारतबाट जिल्ला भित्रिएकामध्ये दशरथचन्द नगरपालिकामा ५ सय ३१, पुर्चौंडीमा ३ सय ४३, मेलौलीमा ४ सय ४९, पाटनमा ४ सय ८२ र सुर्नयामा ४ सय ५ जना रहेका छन् । त्यस्तै डिलाशैनीमा २ सय ६५, दोगडाकेदारमा ४ सय १, पञ्चेश्वरमा ८ सय ९५, सिगासमा १ सय ३९ र शिवनाथ ९ सय १२ जना जिल्ला भित्रिएको बताइएको छ । चैत १० गते अघि जिल्ला भित्रिएका कोही पनि क्वारेन्टाइनमा बसेका छैनन भने उनीहरुको चेकजाँच समेत भएको छैन् । जिल्लामा अहिले एक हजार ६ सय र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) कीट मात्रै भएकाले थप कीट प्रदेश सरकारबाट मगाउने पहल भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । यस्तै कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय संयन्त्रको बैठकले पालिकास्तरीय क्वारेन्टाइन निर्माणका कामलाई पनि तीव्रता दिने निर्णय गरेको छ । यस्तै राष्ट्रिय गौरवका आयोजना र प्रदेश गौरवका आयोजना सञ्चालन गर्न दिने र त्यसको अनुगमन समेत गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । यस्तै राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत मात्रै गर्न पाउने व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको उनले बताए । यसैगरी विवाह व्रतबन्धजस्ता शुभकार्यमा ५ जना मात्रै सहभागी भएर गर्न पाउने निर्णय समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भइरहेका प्रयासलाई अझै प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । रासस