भारतीय सेनामा नेपाली भर्ती स्थगित

काठमाडौं । नेपालले हालको लागि भारतिय सैनिकको लागि नेपालबाट हुने भर्ती स्थगित गरेको छ । भारतले सैनिक भर्ती गर्न लागु गरेको अग्निपथ योजनाबारे स्पष्ट नभएको भन्दै नेपालले यस्तो निर्णय गरेको हो । बुधबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई  मन्त्रालयमा बोलाएर परराष्ट्र मन्त्री नारायण खड्काले यस्तो बताएका हुन् । भारतले नयाँ भर्नाका लागि गत असार पहिलो सातादेखि अग्निपथ नामको नयाँ योजना ल्याएको थियो । यस योजनाअनुसार नयाँ भर्ती भएकाहरुले ४ वर्षमात्र सेवा गर्न पाउनेछन् जसपछि केहीलाई मात्रै पूर्णकालीन सैनिकका रूपमा काम दिइनेछ भने बाँकीलाई घर फर्काइनेछ । उनीहरूले पेन्सनको सुविधा पनि पाउने छैनन् ।

सांग्रिला डेभलपमेन्टका सीईओ श्रेष्ठले पाए निरन्तरता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको बैंक सञ्चालक समितिले उनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै सीईओ श्रेष्ठले आगामी भदौ १९ गतेदेखि बैंकमा दोश्रो कार्यकाल सम्हाल्ने छन् । बैंकले हाल ११२ शाखा कार्यालय र ३१ एटीएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कुमारी बैंकले माग्यो चार्टर्ड एकाउन्टेन्ट

काठमाडौं । कुमारी बैंकले चार्टर्ड एकाउन्टेन्ट मागेको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गर्दै चार्टर्ड एकाउन्टेन्टको लागि केही संख्यामा कर्मचारी मागेको हो । बैंकका अनुसार एचार्टर्ड एकाउन्टेन्टका लागि सिएपिपि आइआइ वा प्लस टु सरह आइसिएएन अथवा आसिएआई उतिर्ण गरेको हुनुपर्छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर भदौ १५ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ ।