गृह मन्त्रालयले माग्याे १ लाख १५ हजार म्यादी प्रहरी
काठमाडौं । गृह मन्त्रालयले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी मागेको छ । आइतबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्ति म्यादी प्रहरीको लागि मागेको हो । म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ । आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । यसको लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै सबै जिल्ला प्ररही कार्यालयमा आवेदन दिनुपर्ने छ ।
राष्ट्रिय बीमा कम्पनीको सीईओमा शेखर बराल नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेखर बराल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । श्रोतका अनुसार खुला प्रतिस्पर्धाबाट छनोट भएका तीन जनामध्ये सञ्चालक समितिले बराललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ बरालसँग बीमा क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनले लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओको कार्यभार सम्हालिसकेका छन् । यसअघि कम्पनीको सीईओको कार्यभार सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझाले सम्हालिरहेका थिए । उनलाई अर्थमन्त्रालयले फिर्ता बोलाएसँगै कम्पनीले बराललाई नयाँ सीईओको रुपमा नियुक्त गरेको हो । ६ महिनाको लागि राष्ट्रिय बीमा कम्पनीमा पठाएको अर्थमन्त्रालयले अवधि नसकिँदै उनलाई मन्त्रालय फिर्ता बोलाएको छ ।
दमकका लघुउद्यमीले पाए ५८ वटा मेसिन
झापा । दमक नगरपालिकाले नगरभित्रका विपन्न समुदायका उद्यमीलाई मेसिन हस्तान्तरण गरको छ । आइतबार एक कार्यक्रममा दमक वडा नं २, ४, ७ र १० का लघुउद्यमीलाई ५८ वटा मेसिन वितरण गरिएको हो । नगरपालिकाले धिमाल जातिको पेटानी बुन्ने मेसिन, लुगा तथा जुत्ता सिलाउने मेसिन, केक बनाउने मेसिन, बङ्गुरको दाना बनाउने मेसिन वितरण गरेको हो । दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई र सामाजिक विकास समिति सभापति शारदा सापकोटाले ती वितरण गरेका थिए । नगर प्रमुख थापाले दमकमा उत्पादित वस्तुको बजारीकरणका लागि नगरपालिकाले सहयोग पुर्याउने बताए । दमक नगरपालिकाले दुईदेखि तीन महिना तालिम लिएकालाई सङ्घीय सरकारअन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा मेसिन वितरण गरेको हो । रासस