सिटिजन्स बैंकमा काम गर्ने अवसर, यी दश पदका लागि माग्यो कर्मचारी
काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले प्रदेश प्रमुख, काठमाडौं भित्र र बाहिरका लागि शाखा प्रमुख, आइटि डिपार्टमेन्टका लागि सुपरभाइजर, आइटि डिपार्टमेन्ट (नेटवर्क)का लागि सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । साथै बैंकले कर्पोरेट कम्युनिकेशन डिपार्टमेन्ट (हेड) का लागि अफिसर एकजना, रिलेशनसिप अफिसर, अपरेशन इन्चार्ज, लिगल अफिसर, ब्रान्च अपरेशनका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ भने ह्युमन रिर्सोसेस डिपार्टमेन्टका लागि जुनियर अफिसरमा एकजना कर्मचारीको माग गरेको छ । बैकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालय तथा प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले मंसिर ७ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
फेसबुकको कम्पनी मेटाद्वारा ११ हजार कर्मचारी कटौती
एजेन्सी । फेसबुकको सञ्चालक कम्पनी आम्दानीमा भएको कटौतीका कारण १३ प्रतिशत कर्मचारी कटौती गर्न लागेको जनाइएको छ । नोभेम्बर ९ मा फेसबुकका मालिक मार्क जुकरबर्गद्वारा कर्मचारीहरुलाई लेखिएको पत्रमा फेसबुक निकै आम्दानीमा भइरहेको कमीका कारण निकै ठूलो संकटबाट गुज्रिरहेकोले १३ प्रतिशत अर्थात ११ हजार कर्मचारी कटौती गर्न लागिएको लेखिएको छ । यस्तै कदम ट्वीटरका नयाँ मालिक एलन मस्कले पनि भर्खरै अगाडि बढाएका छन् । कोरोना भाइरस महामहारीको समयमा मानिसहरुले सामाजिक सञ्जालको प्रयोग व्यापक मात्रामा गरेकाले बढी आम्दानी गरेको मेटाको विश्वभरी समाज र बजार खुलेसँगै आम्दानी घट्न थालेको छ । पछिल्लो समयमा आर्थिक मन्दीका कारण अनलाइन विज्ञापनको लागि निकै ठूलो चुनौती खडा भएको छ । पछिल्लो गर्मी मौसममा मेटाले इतिहासमा पहिलोपटक निकै ठूलो आम्दानी घट्न पुगेको छ । द हिन्दुबाट ।
विराटनगरमा कामको पर्खाइमा भोकै श्रमिक
विराटनगर । दैनिक ज्याला मजदुरी गर्न मोफसलका गाउँबाट विपन्न वर्गका श्रमिक प्रदेश नं १ को राजधानी विराटनगर आउने गरेका छन् । तर दिनैभरि कुरे पनि काम नपाइएपछि भोकै घर फकर्नु पर्ने श्रमिकको बाध्यता छ । कटहरी, जहदा, देवानगञ्ज, भुटाहा, डाइनिया, छिटाहालगायतका गाउँबाट विशेषगरी घर निर्माणको काम गर्न भन्दै विराटनगरको भूमि प्रशासन चोक, पञ्चमुखी हनुमान चोक, घाँस चोक, भट्टा चोकमा सयौँको सङ्ख्यामा श्रमिक बिहानैदेखि भेला हुने गर्छन् । बिहानको ८ बजेसम्म काममा लागिसक्नु पर्ने भएकाले श्रमिकलाई एकाबिहानै घरबाट निस्किसक्नु पर्ने बाध्यता छ । झिसमिसे उज्यालोमा नै बहुसङ्ख्यक श्रमिक नास्तासमेत नगरी घरबाट विराटनगर हिँड्छन् । काम पाएको दिनमा मात्र विपन्न वर्गका श्रमिकको घरमा चुल्हो बल्ने गरेको छ । काम नपाएको दिन भोकै घर फर्कनु पर्ने श्रमिकलाई बाध्यता छ । घरको निर्माणको काम लिने ठेकेदारले विराटनगरका विभिन्न स्थानबाट यस्ता श्रमिकलाई काममा लिएर जाने गरेका छन् । तर हिजोआज काम भेटिन छाडेको छ । चाडबाड र आउनै लागेको निर्वाचनका कारण घर निर्माणको कार्य सुस्त बन्दै गएको श्रमिकको ठम्याइ छ । बिहान भोकै विराटनगर आइपुग्नु र फेरि निराश भएर भोकै गाउँतर्फ नै पाइला चाल्नु बाहेकको कुनै विकल्प श्रमिकले देखेका छैनन् । जहदा गाउँपालिका–३ का शिवानन्द राजवंशी ज्यामी काम गर्न शनिबार बिहानै विराटनगर आए पनि काम भेटिएन । बिहानको १० बजेसम्म कुर्दा पनि काम दिन कोही पनि आएन । राजवंशीले विगत डेढ महिनादेखि कैयौँ पटक यसरी भोकै फर्कनुपरेको बताए । धनपालथान गाउँपालिका–१ का कृष्णकुमार रामले विराटनगरमा काम भेटे दिउँसो खाने गरेको नत्र भोकै घर फर्कने गरेको बताए । काम नपाउँदा समस्या बढेको रामको भनाइ छ । उनले किस्ता तिर्न धौ–धौ परेको, चामल सकिएको र घरका बालबालिकालाई समेत खुवाउन मुस्किल परेको बताए । बर्जु गाउँपालिका–५ का सद्दाम हुसैन डकर्मी काम गर्न शनिबार आएका थिए । हुसैनले काम नभेटेको तीन महिना भयो । उनले घर चलाउन मुस्किल भएपछि छरछिमेकबाट सापटी लिँदै जेनतेन जीवन धानिरहेका छन् । बर्जु गाउँपालिका–५ का शम्भु यादवले ठेकेदार पनि कामविहीन हुँदा आफूहरूलाई समस्या भएको बताए । उनका अनुसार तीन महिनादेखि विराटनगरमा घर निर्माणको काममा कमी आएको छ । स्थानीय सरकारले दैनिक ज्यालामा काम गर्ने श्रमिकको समस्या सम्बोधन गर्ने विषयमा कुनै चासो नलिएको हुँदा आफूहरू भोकभोकै बस्नु पर्ने अवस्था आइलागेको यादवको गुनासो छ ।