हिमालयन रिको डीसीईओमा उपासना पौडेल नियुक्त, बीमा क्षेत्रमा एक दशकभन्दा बढी अनुभव

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई डीसीईओ पदमा नियुक्त गरेको हो । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल पुनर्बीमा क्षेत्रमा प्रवेश गरेकी छिन् । यसअघि उनी युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । २०७८ बैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघिनै बाहिरिएकी हुन् । युनाईटेडको सीईओ बन्नुअघि उनले सोही कम्पनीमै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् । यससँगै उनले युनाईटेडमा डीसीईओ र सीईओ पदमा गरी करिब तीन वर्ष काम गरिन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । यो पनि पढ्नुहोस् : युनाइटेडमा उपासनाको डेढ वर्ष : पुरा नभएको त्यो इच्छा र सेयरधनीले पाएको खुसी

विरेन्द्र महतो सांसद भएपछि उपेन्द्र महतो बने माछापुच्छ्रे बैंकको अध्यक्ष

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले डा.महतोलाई अध्यक्षमा नियुक्त गरेको हो । डा. महतो गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत हुन् । डा.महतो नेपालका एक सफल उद्यमी पनि हुन् । साथै सोही बैठकले बैंकका निर्वतमान अध्यक्ष डा.विरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गरेको छ । मंसिर ४ गते भएकाे निर्वाचनमा  डा.विरेन्द्र महतो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टीका नेता समेत रहेका महताे सिरहा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सांसद भएपछि बैंक तथा वित्तीय संस्थाकाे अध्यक्ष वा सञ्चालक बन्न नपाइने कानुनी व्यवस्था छ । साेही कारण विरेन्द्र महताेले बैंककाे अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । डा. वीरेन्द्र प्रसाद महतो एक उद्यमी र सामाजिक कार्यकर्ता हुन् । उनले बेलारुस राज्य अर्थशास्त्र विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उपेन्द्र र वीरेन्द्र दाजु भाइ हुन् । भाइले राजीनामा दिएपछि दाइ माछापुच्छ्रे बैंककाे अध्यक्ष भएका हुन् ।

एनआइसी एशिया बैंकले माग्यो कर्मचारी

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदमा केही मात्रामा कर्मचारीको माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदका लागि बैंकले स्नातक तह उर्तिण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले क्युआर कोड स्क्यान गरी दरखास्त दिन सक्नेछन् ।